माधव नेपालप्रति सूर्य थापाको कटाक्ष– बिन्तीपत्र इतिहासकै पुनरावृत्ति

काठमाडौं । निर्वाचन आयोगको निर्णयलाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेता माधवकुमार नेपालप्रति कटाक्ष गर्दै ‘बिन्तीपत्र इतिहासकै पुनरावृत्ति’ भएको टिप्पणी गरेका छन्।

आइतबार निर्वाचन आयोगले विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहले गरेका निर्णय कानूनसम्मत नभएको निर्णय गरेको थियो। उक्त निर्णयपछि प्रचण्ड–माधव पक्षले केपी शर्मा अ‍ोलीमाथि गरेको कारबाही र नेता नेपाललाई अध्यक्षमा चयन गरेको निर्णयले वैधता नपाउने देखिएको छ।

थापाले आयोगको यस्तो निर्णयप्रति लक्षित गर्दै अध्यक्ष बन्ने नेता नेपालको चाहना यसपालि पनि अधुरै रहेको टिप्पणी गरेका हुन्। ‘पहिले दरबारको पश्चिम ढोकामा सभक्ति बिन्तीपत्र चढाउँदा प्रधानमन्त्री बन्न नपाएको इतिहासकै पुनरावृत्ति’ थापाले फेसबुकमा लेखेका छन्, ‘अहिले कार्की बैंक्वेटमा आयोजित प्रचण्डपथीय भेलाबाट स्वघोषित अध्यक्ष बनेको १ महिना ४ दिनमै अवैध घोषणा ।’

नेता नेपाललक्षित गरेर उनले थप लेखेका छन्– बुद्धिले अरूलाई खा, रिसले आफूलाई खा भनेको यस्तै भएर होला । एकीकृत पार्टीको तेस्रो अध्यक्ष बन्न भन्दा मनले मानेन, तेल दिंदा नखाने कोल चाट्ने गर्दा त यस्तै हुन्छ नै।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *