काठमाडौं । नेपाल प्रेस डटकमको सम्पादकमा चिरञ्जीवी पौडेल नियुक्त भएका छन् । नेपाल इ.प्रेस मिडिया प्रालिले पौडेललाई बुधबारबाट सम्पादक नियुक्त गरेको हो ।
विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील पौडेल यसअघि अनलाइन खबरमा एसोसिएट एडिटर र नयाँ पत्रिका दैनिकमा समाचार सम्पादक थिए । उनले राजनीति, अन्तर्राष्ट्रिय मामला, अर्थतन्त्र, खेलकुद, मनोरञ्जनलगायतका विधामा कलम चलाउँदै आएका छन् ।
पौडेललाई नेपाल प्रेस व्यवस्थापनले बुधबार कार्यालयमा औपचारिक स्वागत गर्यो । नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेल, अध्यक्ष विन्दुराज लम्साल, प्रमुख कार्यकारी अधिकृत गणेश निरौलालगायत सम्पूर्ण टिमले उनलाई स्वागत गरेका थिए ।
त्यस अवसरमा प्रधानसम्पादक पौडेलले सम्पादक पौडेलको आगमनसँगै नेपाल प्रेसले नयाँ उँचाइ हासिल गर्ने विश्वास व्यक्त गरे । सम्पादक पौडेलले सम्पूर्ण व्यावसायिक धर्म निर्वाह गर्दै नेपाल प्रेसलाई माथि उठाउन प्रयास गर्ने बताए ।


Leave a Reply