१५ दिन भित्र आयोजनाको काम भए नभएको विवरण पठाउन सहरी विकास मन्त्री साहको निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले कुनै पनि परियोजना ठेक्का गर्दा ठेकेदारले पेश गरेको कार्यतालिका बमोजिम काम भए नभएको तथा त्यसमा सम्बन्धित निकायको तर्फबाट भएका कामकारवाहीको विवरण १५ दिन भित्र पठाउन निर्देशन दिएका छन् ।

मन्त्री साहले आइतबार एक परिपत्र जारी गर्दै मन्त्रालय मातहतका निकायबाट सम्पूर्ण आयोजनाको विस्तृत विवरण माग गरेका हुन् । खरिद सम्झौता गरेबमोजिम काम नभई रुग्ण बनेका आयोजनालाई रुग्ण हुन नदिन गरिएका प्रयास तथा ठेकेदारलाई नियम बमोजिम कारवाही लगायतका कार्यको विवरण समेत माग गरिएको मन्त्री साहको सचिवालयले जनाएको छ । रुग्ण तथा निर्माणाधीन आयोजनाको निर्माण कार्यलाई प्रभावकारी बनाउन यस्तो निर्देशन दिइएको सचिवायलयको भनाइ छ ।

निर्देशन पछि प्राप्त हुने विवरणबाट आयोजनाको स्थिति र शहरी विकास मन्त्रालय मातहतका निकायको क्षमता तथा काम कारवाहिको स्थिती पनि थाहा हुने विश्वास मन्त्री साहको छ । त्यसै बमोजिम निर्माण कार्यलाई प्रभावकारी बनाउन कदम चाल्ने तयारीमा मन्त्री साह रहेको मन्त्री साहको सचिवालयको बुझाइ छ ।

कुनै पनि आयोजना खरिद सम्झौता भएपछि ठेकेदारले काम सम्पन्न गर्ने कार्यतालिका पेश गरेको हुन्छ । त्यसै बमोजिम तोकिएको समयभन्दा अगावै काम सम्पन्न गरे प्रोत्साहन रकम तथा ढिलाई गरे १० प्रतिशतसम्म जरिवाना तिराउनुपर्ने कानुनी व्यवस्था छ । काममा ढिलाई भए सुरुमा ताकेता पत्र काट्ने, त्यसपछि मोबिलाइजेसन रकम कट्टा गर्न, अझ अटेर गरे धरौटी रोक्का गर्ने र अन्तिममा ठेक्का रद्द गर्ने प्रक्रिया सरकारी पक्षले अपनाउने गरेको छ । तर प्रायजसो आयोजनामा कुनै प्रक्रिया नै नअपनाई रुग्ण भएको पाइन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *