सुवास नेम्वाङ भन्छन्– महासचिव जहाँ छन्, आधिकारिक पार्टी त्यही हो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ओली पक्ष)का नेता सुवास नेम्वाङले महासचिव विष्णु पौडेल जहाँ छन्, त्यही पार्टी नै आधिकारिक हुने धारणा राखेका छन् ।

अध्यक्ष, महासचिव र माइन्यूट भएको पार्टी नै आधिकारिक भएको तर्क गर्दै नेता नेम्वाङले प्रश्न गरे– महासचिवले बैठक बोलाउने हो, महासचिवले नबोलाएको बैठकका निर्णय कसरी वैध हुन्छन् ?

अ‍ोली पक्षीय नेकपाको प्रदेश १ को भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले आफूहरु पार्टी एकताकै पक्षमा रहेकाले कसैलाई कारबाही नगरेको पनि प्रष्ट पारे ।

‘हाम्रो पार्टीको अध्यक्ष केपी ओली हुनुहुन्छ,’ उनले भने, ‘महासचिव विष्णु पौडेल हुनुहुन्छ । दोस्रो अध्यक्ष पुष्पकमल दाहाल अहिले पनि हुनुहुन्छ । वरिष्ठ नेताहरु पनि यथावत् हुनुहुन्छ। हामीले कसैलाई कारबाही गरेर निकालेका छैनौं । किनभने, हामी पार्टी एकताको पक्षमा छौं ।’

उनले प्रधानमन्त्री ओलीले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको कुरा गरिरहेका बेला पार्टीमा फुट आएको भन्दै त्यसको जवाफ जनताले खोजिरहेको बताए।

नेम्वाङले भने– नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको तयारी गरिरहेका बेलामा पार्टीमा यस्तो अवस्था किन आयो ? यसको जवाफ हामी विस्तारै पाउने छौं।

नेम्वाङले ओलीलाई अस्वीकार गरेर के गर्न खोजिएको भन्दै त्यसको जवाफ जनताले खोजिरहेको बताए । भने– केपी ओलीलाई अस्वीकार गरेर गर्न खोजिएको के हो ? देशले यसको जवाफ खोजिरहेको छ।

उनले निर्वाचन आयोगले आचार संहिता जारी नगरेसम्म वर्तमान सरकारले पूर्णरुपमा काम गर्ने पनि बताएका छन् । कतिपयले सरकारलाई काम चलाउ भइसकेको भन्ने टिप्पणी गरेको भन्दै उनले भने– यो सरकारले सबै काम गर्न पाउँछ, यसबारे संविधानको धारा ७७ मा प्रष्ट उल्लेख छ ।

Comments

One response to “सुवास नेम्वाङ भन्छन्– महासचिव जहाँ छन्, आधिकारिक पार्टी त्यही हो”

  1. ganga karki Avatar
    ganga karki

    galt padhnu va xa sir. party ka bahumat sadsya jata xan tyo nai aupacharik party ho

Leave a Reply

Your email address will not be published. Required fields are marked *