तराई–मधेश समृद्धि कार्यक्रम लागु भएका स्थानीय तहलाई प्रस्ताव पेश गर्न आव्हान

काठमाडौं । सरकारले तराई–मधेश समृद्धि कार्यक्रम लागु भएका तराई–मधेशका २२ जिल्लाका २ सय ७७ स्थानीय तहलाई आयोजना तथा कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव पेश गर्न आव्हान गरेको छ ।

तराई–मधेश समृद्धि कार्यक्रम केन्द्रीय समन्वय इकाईले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत कार्यक्रम लागु भएका स्थानीय तहलाई मन्त्रालयमार्फत परिपत्र गर्दै १ महिना भित्र प्रस्ताव पेश गर्न परिपत्र गरेको हो । तराई–मधेश समृद्धि कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ अनुसार आगामी आर्थिक वर्ष २०७८-०७९ का लागि निर्देशिकामा तोकिएका शर्त र मापदण्ड भित्र रहेर प्रस्ताव पेश गर्न परिपत्रमा भनिएको छ ।

तर चालु आर्थिक वर्ष ०७७-०७८ मा कार्यक्रम स्वीकृत भई कार्यान्वयनमा रहेका स्थानीय तहले माग प्रस्ताव पेश गर्दा कार्यान्वयनको प्रगति अनिवार्य रुपमा पठाउनुपर्ने र आगामी आर्थिक वर्षको आयोजना तथा कार्यक्रमको स्वीकृतिको आधार प्रगति प्रतिवेदनलाई बनाइने कार्यक्रम निर्देशक बिकाउ यादवले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार २०७७ माघ १ गतेदेखि २०७७ माघ ३० गतेभित्र तराई–मधेश समृद्धि कार्यक्रम केन्द्रीय समन्वय इकाईको वेबसाइटमा रहेको रिपोर्टिङ सफ्टवेरमा प्रविष्ट गर्न सम्बन्धित स्थानीय तहलाई आग्रह गरिएको छ ।

परिपत्र अनुसार निर्देशिकाको दफा–५ मा उल्लेखित लागत सहभागिता व्यहोर्ने गरी आयोजना तथा कार्यक्रम सञ्चालन गर्न इच्छुक निर्देशिकाको दफा–४ मा तोकिएका तराई–मधेशका २२ जिल्लाका २ सय ७७ स्थानीय तहबाट निर्देशिकाको दफा–७ मा तोकिएका कार्यक्रम सञ्चालनका क्षेत्र दफा ७ ‘झ’ मा तोकिएका विवरण र शर्त अनुसार निर्देशिकाको अनुसूची–२ मा उल्लेख भएका वर्ग र समूदायसँग प्रत्यक्ष सरोकार राख्ने तथा लाभान्वित हुने प्रकृतिका कार्यक्रममध्येबाट आयोजना सञ्चलनका लागि निर्देशिकाको अनुसूचि–३ मा उल्लेखित अयोजना तथा कार्यक्रम माग फारत सहितको आयोजना तथा कार्यक्रम प्रस्ताव पेश गर्नुपर्नेछ ।

तराई–मधेश समृद्धि कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ तराई–मधेश समृद्धि कार्यक्रम केन्द्रीय समन्वय इकाइको वेबसाइट र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटबाट हेर्न सकिने छ ।

Comments

One response to “तराई–मधेश समृद्धि कार्यक्रम लागु भएका स्थानीय तहलाई प्रस्ताव पेश गर्न आव्हान”

  1. JIwan Avatar
    JIwan

    chuche map khai yo kp press le nai halna xodac aba tayo gov ko k asa

Leave a Reply

Your email address will not be published. Required fields are marked *