काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि थप कारबाही गर्ने संकेत गरेका छन्। प्रचण्ड–माधव पक्षले ओलीलाई पार्टी अध्यक्षबाट हटाए पनि सदस्यबाट भने हटाएको छैन । अध्यक्ष नेपालले आजको स्थायी कमिटी बैठले थप कारबाही गर्न सक्ने संकेत गरे।
‘ओली नेकपाका अध्यक्ष होइनन् उनको गुट हो,’ नेपाल बुद्धिजीवी संगठनले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘उहाँले अहिले पनि अनेकौं गलत काम गर्दै हिन्नुभएको छ । अहिलेसम्म पार्टी सदस्य त हुनुहुन्छ अब उहाँको गतिविधि हेर्दा थप कारबाही गर्नुपर्ने देखिएको छ।’
उनले गणतन्त्र विरोधीलाईलाई सत्ता र पार्टीमा पुर्याएर आफूले गल्ती गरेको टिप्पणी गरे। ‘हामीले पनि जिम्मेवारी लिनुपर्छ, मैले गल्ती गरेँ गणतन्त्र विरोधीलाई सत्ता र पार्टीमा पुर्याएर सुध्रिन्छ्न् कि भनेर गरियो,’ नेपालले भने, ‘अहिले आफैंलाई घाँडो भएको छ । उहाँलाई ५ वर्षकै प्रधानमन्त्री भनेर हामीले जिम्मेवारी दिएकै थियौं तर त्यसको अवमूल्यन गरियो ।’
नेपालले अहिले आफू र प्रचण्ड मात्रै पार्टीको आधिकारिक अध्यक्ष भएको दावी गरे। उनले भने–म र प्रचण्ड कमरेड भएको पार्टी नै आधिकारिक हो। हामीले अहिलेदेखि नै सहमतिअनुसार आलोपालो बैठकको अध्यक्षता गर्न थालीसकेका छौं । हाम्रो विचार, सोच र चिन्तन मिलेको छ।’
प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी छ।

Leave a Reply