इटहरीलाई कर्मथलो बनाएका संगीतज्ञ राम धामी रहेनन्

काठमाडौं -वरिष्ठ संगीतकार तथा गायक राम धामीको निधन भएको छ । संगीतकार धामीको ५५ वर्षको उमेरमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा साँझ निधन भएको हो ।

सुरुमा कोेरोना संक्रमण भएर अस्पताल भर्ना भएका धामीलाई पछि निमोनियासमेत देखिएपछि आईसीयुमा राखेर उपचार गरिएको थियो । कोरोनाको रिपोर्ट नेगेटिभ आए पनि निमोनियाका कारण स्वास्थ्यमा थप समस्या आएको थियो ।

इटहरीस्थित संगीत साधना प्रतिष्ठानका अध्यक्ष तथा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका प्राज्ञसमेत रहेका धामी मोफसलमै बसेर संगीत सिर्जना र प्रशिक्षणमा लागिपरेका थिए । थारु भाषाका अब्बल गायकसमेत मानिने धामीले संगीत शिक्षा दिएका गायक-गायिका नेपाली संगीत क्षेत्रमा छाइरहेका छन् ।

‘राम धामीको निधनले इटहरीलगायत समग्र पूर्वको संगीत क्षेत्रमा नै ठूलो क्षति पुगेको छ ।’ गायक विक्रम धमलाले भने, ‘यस क्षेत्रले एक जना सांगीतिक अभिभावक गुमाएको छ, यसको परिपूर्ति हुन निकै गाह्रो हुन्छ ।’

धामीले संगीत सिर्जना गरेका गीतमा राजेशपायल राई, स्वरुपराज आचार्य, आभा मुकारुङ लगायत दर्जनौ गायक-गायिकाले स्वर दिएका छन् । उनका ‘जिन्दगी तँ जस्तो छस्’, ‘अँधेरीमा जूनका कुरा’ लगायत गीत लोकप्रिय छन् । संगीतकार धामीको पार्थिव शरीरलाई विहान संगीत साधना प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि राखेर इटहरी नगर परिक्रमापछि अत्येष्टि गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *