नेकपा ओली पक्षका स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले १४ वर्ष जेल मात्र नभइ सेलसमेत बस्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतन्त्रविरोधी भनेर अपमान गर्न नमिल्ने बताए ।
देशमा संकट उत्पन्न हुने देखेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निर्णय गरेर संसद विघटन गरेको उनले बताए ।
अहिले ओलीको विरोध गरिरहेकाहरुले अबको पाँच वर्षपछि जयजयकार गर्दै घरको विशिष्ट ठाउँमा फोटा राखेर सम्मान गर्ने पोखरेलले बताए । सडकमा आन्दोलन गरिरहेका प्रचण्ड माधव समूहका नेताहरुलाई चुनावमा होमिन सुझाव दिएका छन् ।
बिहीवार कपिलवस्तुमा निर्माण भएको आरटिओ रोडको विजयनगर गाउँपालिका ५ खडैचामा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारको महत्वपूर्ण कार्यको रुपमा हुलाकी सडक रहेकोले यो सडक निर्माणपश्चात नागरिकको दैनिकीमा समेत परिवर्तन हुने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वधार विकास मन्त्री बैजनाथ चौधरीले पहिलो वर्ष प्रदेश सरकारले सबैभन्दा ठूलो बजेट आरटिओ सडकलाई विनियोजन गरेर काम सम्पन्न गरेको बताए ।
जिल्लाको पश्चिमी क्षेत्रमा तीन वटा जलाशय निर्माण गरी सिंचाइको लागि वातावरण सिर्जना गर्ने प्रदेश सरकारको योजना शुरु भएको बताए । खोलानालामा लिफ्ट सिंचाइको कामहरु तीव्ररुपमा अघि बढेको बताउँदै पहिलो वर्ष ५४ वटा पुल निर्माण, दोस्रो वर्ष ३३ वटा र अहिले २७३ वटा पुलको डीपीआर काम शुरु भएको चौधरीले बताए ।
विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले आरटिओ सडक निर्माणले स्थानीयलाई सहज भएको बताए । प्रदेश सरकारले सडक निर्माणमा लगानी गरेकोमा थापाले सरकारलाई धन्यवाद दिएका छन् ।

Leave a Reply