खुले तालनगरिका मल्टिप्लेक्स, नौ महिनापछि मिडटाउन सिनेमाज् संचालनमा

नेपालको दोस्रो ठूलो फिल्म बजार पोखराका फिल्म हल मंगलबारदेखि संचालनमा आएका छन् । मिडटाउन सिनेमाज् र क्यूएफएक्स आउटलेटले नौ महिनापछि प्रदर्शन सुचारु गरेका हुन् ।

कोरोना भाइरस महामारीको कारण सरकारले गत चैत ११ बन्दाबन्दी गरेपछि ती हल बन्द थिए । गत शुक्रबारदेखि व्यसायीले एकपक्षीयरुपमा हल संचालन गरेका हुन् ।

सरकारले भने फिल्म हल संचालन फुकुवा गरेको छैन । आधिकारिकरुपमा हल संचालन नहुँदा सेन्सर लगायतका काम रोकिएपछि तत्काल नयाँ फिल्म लाग्नेछैनन् । चल्दाचल्दैका र पुराना हिट फिल्मलाई रि–रिलिज गरेर हल चल्दैछन् ।

चलचित्र पत्रकार संघ कास्कीले मंगलबार आयोजना गरेको प्रेसमिटमा मिडटाउन सिनेमाज्ले स्वास्थ्य मापदण्ड पालना गर्दै हल संचालनमा ल्याएको जानकारी दियो । प्रबन्ध निर्देशक निकेश द्धाले दर्शकको स्वास्थ्यलाई ख्याल गर्दै हल संचालन गरिने जनाए ।

दिउँसो १ बजे, अपरान्ह ३ः४५ बजे र साँझ ६ बजे फिल्म प्रदर्शन गरिने भएको छ । ‘सुरुमा पैसा कमाउनेभन्दा पनि माहौल बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित हुनेछ’ द्धाले नेपाल प्रेससँग भने, ‘दर्शकलाई हलसम्म तान्नको लागि बानी पार्ने जमर्को गर्दैछौं ।’

सरकारले आफ्नो पीडा नसुनेकाले बाध्य भएर सिनेमा घर चलाएको द्धाको भनाइ छ । ‘बैंकबाट ऋण लिएर हल चलाएका छौं । अब किस्ता कसरी तिर्ने ?’ द्धाले प्रश्न गरे । आफ्नो हल संचालन नहुँदा ४५ जना कर्मचारीको रोजगारी गुमेको उनले जनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *