प्रचण्ड–माधव समूह निर्वाचन आयोगमा (भिडियो)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी‍ (नेकपा) का  पुष्पकमल दाहाल प्रचण्ड –माधव कुमार नेपाल समूह पार्टीको आधिकारिकता माग गर्दै निर्वाचन आयोग पुगेको छ ।

बिहीबार नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत पार्टीका केन्द्रीय कमिटी सदस्य तथा विघटित प्रतिनिधिसभाका सांसदहरुसहितको टोली पार्टीको आधिकारिकता माग गर्दै निर्वाचन आयोग पुगेको हो ।

उक्त समूहले आफ्नो पक्षका २९५ केन्द्रीय समिति सदस्यको हस्ताक्षर र बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णयको आधिकारिक प्रतिलिपि निर्वाचन आयोगलाई बुझाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

पेश गरिएका कागजातलाई नेपालको संविधान, राजनीतिक दल सम्बन्धी कानूनका आधारमा हेरेर छिट्टै नेकपा विवादको कानूनी निरुपण गरिने वचन प्रमुख निर्वाचन आयुक्तले दिनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

सो अवसरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपामा वैधानिकताको प्रश्न आएको भन्दै आफूहरु आधिकारिक भएको बताए । केन्द्रीय कमिटीका करिब दुई तिहाइको हाराहारीका सदस्यहरु आफूहरुतिर रहेको बताउँदै अध्यक्ष प्रचण्डले सबै सशरीर उपस्थित भएको र आगामी दिनमा पनि निर्वाचन आयोगले चाहे २९५ सदस्य नै सशरीर उपस्थित हुन सकिने बताए ।

सशरीर उपस्थित हुनुभन्दा ठूलो कुनै प्रमाण हुन नसक्ने जिकिर गर्दै प्रचण्डले पार्टीको आधिकारिकता, चुनाव चिन्ह र केन्द्रीय सदस्यहरुको नामावलीलाई वैधानिक व्यवस्था अनुसार छिट्टै निर्क्याेल तथा निर्णय गरिदिन निर्वाचन आयोगसमक्ष माग गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *