पाँच लाखमा बनेको डिजिटल गेट तीन दिनमै बिग्रियो, अनियमितताको शंका

सुर्खेत । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पाँच लाख रुपैयाँ खर्च गरेको बनाएको डिजिटल गेट तीन दिनमै बिग्रिएको छ ।

मन्त्रालयले असार २२ गते स्लाइडिङ गेट ओपनर सिस्टम जडान गरेको थियो । आईटी होम प्रालि बिजुलीबजार, नयाँबानेश्वर काठमाडौंले निर्माण गरेको उक्त गेट रकम भुक्तानी लिएको तीन दिन अर्थात् २६ गते नै बिग्रियो ।

कानून मन्त्रालयले डिजिटल गेट निर्माणका लागि कोटेशनको माग गरेको थियो । त्यहाँ कार्यरत कर्मचारीले मन्त्री तथा अन्यलाई जानकारी नै नदिई गोप्य रूपमा गेटको काम शुरु गराएको र काठमाडौंको आईटी होम कम्पनीलाई सेटिङमा कोटेशन मगाएर कम रेट देखाउँदै निर्माणको जिम्मा दिएका थिए ।

मन्त्रालय स्रोतका अनुसार लेखा अधिकृत मोहनकुमार जैसवालको र कम्पनीको मिलेमतो भएको शंका गरिएको छ । ‘निर्माण कार्य सम्पन्न भएको एक साता नबित्दै डिजिटल गेट बिग्रिनुको मुख्य कारण कमिशन नै भएको ठम्याइ छ’ मन्त्रालयकै एक कर्मचारीले नेपाल प्रेससँग भने, ‘हामीले हेर्दा सबै कागजात मिलेका छन् । यसमा हामीले प्रश्न गर्ने ठाउँ देखिएन । पाँच लाख खर्चेर बनाइएको उक्त गेट अहिले पूर्ण रूपमा बन्द भएको देख्दा सरकारी सम्पत्तिको दोहन कर्मचारीहरू कसरी गर्दा रहेछन् भन्ने थाहा पाएँ ।’

कोटेशनमै मिलेमतो !

मन्त्रालयले डिजिटल गेट निर्माणका लागि गोप्य कोटेशनबाट छनोट गरेको थियो । तीनै वटा कोटेशन बिजुलीबजारमा नै कार्यालय खोलेका निजी कम्पनीका बुझाइएको छ । युनिभर्सल आईटी सोलुसन्स प्रालिको ठेगाना पनि बिजुलीबजार नै रहेको छ । यो कम्पनीले उक्त काम गर्नका लागि भन्दै ४ लाख ९४ हजार ९४० रुपैयाँ लाग्ने विवरण पेश गरेको छ ।

सोही बजारमा रहेको ड्रिम टेक्नोलोजीको पनि कोटेशन पेश भएको छ । यो कम्पनीले उक्त कार्यका लागि भन्दै ४ लाख ९७ हजार ५९५ रुपैयाँ लाग्ने कोटेशन पेश गरेको छ । आईटी होम प्रालिको कार्यालय पनि सोही स्थानमा उल्लेख छ । यद्यपि दर्तामा भने वडा नं. ३३ उल्लेख छ । कर्मचारीको मिलेमतोका कारण यही कम्पनीले उक्त निर्माण कार्यको जिम्मा पाएको थियो । यो कम्पनीले ४ लाख ९३ हजार २४५ रुपैयाँमा काम गर्ने कोटेशन बुझाएको थियो ।

यो कम्पनीले मन्त्रालयमा निर्माण गरेको गेट बिग्रिएको छ । एसी स्लाइडिङ गेट, स्विङ गेट ओपनर सिष्टम खरीदमा ९५ हजार, सिङ्गल इन्फ्रारेड विम सेन्सर १५ हजार लागत मूल्य उल्लेख छ तर यी दुवैले काम गर्न छोडेका छन् । यी सामग्री फिट गर्नका लागि ५६ हजार ५०० लागेको आईटी होम प्रालिको भनाइ छ । अन्यत्र डेढ लाख पनि नपर्ने डिजिटल बोर्डको मूल्य कोटेशनमा २ लाख ५४ हजार रुपैयाँ उल्लेख छ ।
कम्पनीले निर्माण गरेको दोस्रो दिनमा नै मन्त्रालयमा भुक्तानीका लागि बिल पेश गरेको थियो । कम्पनीले मन्त्रालयबाट ४ लाख ९३ हजार २४५ रुपैयाँ भुक्तानी लिइसकेको छ ।

कम्पनीका सञ्चालक उमेशकुमार यादवले एक–दुई दिनमा नै प्रतिनिधि पठाएर बनाउन लगाउने बताए । ‘मलाई ४० हजार रुपैयाँ घाटा लागेको छ । तपाईं दिनुहुन्छ ?’ आफू पनि पत्रकार भएको बताउँदै उनले प्रश्न गरे, ‘तपाईं तिर्ने भए आउनुस् मैले सामान कहाँबाट ल्याएको हो देखाइदिन्छु ।’

उनले उक्त गेट बनाउने जिम्मा आफ्नै भएको बताउँदै एक–दुई दिनमा नै त्यो गेट निर्माण गरिदिने प्रतिबद्धता भने जनाए ।

मन्त्रालयका सचिव शोभाकान्त पौडेलले गेट निर्माणबारे के भएको हो आफूले जानकारी लिने बताए । म आउनु भन्दा अगाडि नै त्यस्तो काम भएको हो । उनले भने, ‘यसबारेमा के भएको हो म सुर्खेत गएपछि बुझ्छु ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *