Tag: स्काउट

  • विवादै विवादमा नेपाल स्काउट र उम्किने बाटो

    विवादै विवादमा नेपाल स्काउट र उम्किने बाटो

    संस्था जन्मनु मात्रै पनि सफलता होइन । संस्था एक पल्ट हिँड्नु मात्रै पनि सफलताको मानक होइन । कुनै पनि संस्था आफ्नै गतिमा हिँडिरहनु चैँ विशेष कुरा रहेछ । कुनै संस्था जन्मन्छन् तर स्थिर रहन्छन् । कतिपय निष्प्राण प्रायः रहन्छन् ।

    कुनै कुनै संस्थामात्रै गतिशील बनिरहन सक्छन् । नेपाल स्काउट ७० वर्षदेखि अनवरत हिडिरहेको संस्था हो । यसो त, स्काउट यति धेरै बर्षदेखि चल्न सकेको छ भन्ने थाहा पाउन पात्रो पल्टाउनु पर्दैन । उमेर बताइराख्नु पर्दैन । एउटा गौरवपूर्ण विगतको फेहरिस्त स्काउटको नाममा नै जोडिन्छ । हरेक स्काउटलाई यस्तो गौरवपूर्ण संस्थाको सदस्य हुँ भन्नु घमण्डभन्दा पनि पुर्णतः आत्मविश्वासको प्रतित हुन्छ ।

    राजतन्त्रसहितको प्रजातन्त्रमा स्थापना भएर संघीय गणतन्त्रसम्मको यात्रा गर्दा स्काउटले एउटा संस्थाको रुपमा रोचक आरोह अवरोह छिचोलेको छ । धेरै कठिन अवस्थाहरु झेलेको छ । यसको आधार स्थापनाकालदेखि नै तयार भएको थियो । त्यसमा पछि थपिएका अग्रजहरुको लगन, पसिना र उमेर पनि थप भएकाले पछाडि फर्केर हेर्दा जो कसैलाई पनि उर्जा मिल्छ, सन्तुष्टि मिल्छ ।

    तर, अहिलेको अवस्था हेर्दा लाग्छ, स्काउटले पहिले कहिलै भोग्नु नपरेको अफ्ठ्यारोमा छ । निस्कन गाह्रो दलदलमा फस्न गइरहेको छ । यसबाट सबैजसो सच्चा स्काउटहरुको उर्जामा प्रश्नचिन्ह लागेको छ ।

    विगतको यत्रो लामो कालखण्ड भोगेर, ठूला ठूला राजनीतिक आन्दोलन र परिवर्तनहरु भोगेर परिपक्क भएको स्काउट यो अवस्थामा किन छ ? जवाफ प्रष्ट छ – नेपाल स्काउटमा भएको चरम राजनीतिले स्काउटको यो अवस्था हुदै गएको हो । अझ भनौँ, राजनीतिले संरक्षण गरेको माफियारुपी धमिराले स्काउटलाई संस्थाकारुपबाट, स्काउट हुनुको आत्मविश्वासबाट क्षयीकरण गर्दै लगेको छ । यही कारणले गर्दा अनुशासित भनेर प्रशिद्धी कमाएको संस्था एकाएक विवाद चर्किएको अवस्थामा छ ।

     

    आखिर माफिया को हुन् ?

    नेपालमा धेरैको मुखबाट सुनिन्छ – माफियाले देश बिगारे । देश माफियाले चलाए । सबैले महसुस गरेको कुरा हो, माफियाहरू राज्य सञ्चालनमा सक्रिय छन् । राज्यका विभिन्न अंग र तहमा छन् । त्यसरी नै स्काउटमा पनि माफिया छन् ।

    माफिया भन्नाले फिल्ममा देखिने जस्तो खलनायक होइन, बरु एउटा समूहको निहित स्वार्थलाई ध्यानमा राखेर गर्ने व्यवस्थित अपराधी, अनैतिक र भ्रष्टाचारी चैँ हो । माफियाहरु आफ्नो शक्ति आर्जन दलबलबाट मात्र गर्दैनन्, कानून र व्यवस्थाका छिद्रहरु खोतलेर मुसा झैँ प्रवेश गर्छन् र संस्था वा समाजमा टाल्न गाह्रो पार्ने गरेर भ्वाङ बनाउँछन्, दुख दिन्छन् ।

     

    यिनीहरुले आफूलाई सहि सावित गर्न जुनसुकै किसिमका झुटा जालझेलपूर्ण काम गर्ने, नागरिक र राज्यलाई ढाट्ने, छल्ने, राज्यको साधन स्रोतको असीमित दुरुपयोग गर्दै आफ्नो व्यक्तिगत र आफ्नो सञ्जालको फाइदाका लागि प्रयोग गर्ने गर्छन् । माफियाहरूले राज्यको कमजोरी तथा कानुनी छिद्रहरूको फाइदा लिँदै आफ्नो साम्राज्य विस्तार गर्छन् ।

    यस्तै छिद्रको प्रयोग गरेर स्काउटमा माफियाराज चल्न लाग्दै थियो । देशैभर ’स्युडो स्काउट’ बनाइएको थियो ।  अभीष्ट नै स्काउटको स्रोत प्रयोग गरेर आफू बलियो र झन् बलियो हुनु थियो । यो बाटोले स्काउट सकियोस् वा रहोस्, उनीहरुलाई मतलब हुने कुरा भएन ।

    सकिनुभन्दा अगाडिसम्म पनि तिनले आफू सही बाटोमा नै हिँडेको जस्तो भ्रम दिन पनि ति सक्षम बन्न सक्छन् । तर बुझ्नु पर्ने कुरा चै, बाटो मलामीको पनि हो, जन्तीको पनि हो । गन्तव्य कहाँ बनाएको छ भन्ने चै फरक कुरा हुन्छ ।

    त्यसै भनिएको होइन – अति सर्वत्र बर्जयते । अति सुन्दरी हुँदा सीता हरिनु पर्यो । घमण्डले खस्रे भ्यागुतो जस्तो फुल्दा रावण नासिनु पर्यो । अति दानी हुँदा कर्ण काटिनु पर्यो । अति बलशाली हुँदा हनुमानले आफ्नो शक्ति अरुबाट थाहा पाउनुपर्ने अवस्था आइलाग्यो । माफियाराजको परिस्थिति नेपाल स्काउटमा अतिकै अवस्थामा छ । तर, परिस्थितिलाई स्विकार नगरि पोकर फेसको भावमा माफिया पुनः सक्रिय हुन खोज्दै छन् ।

    ‘पोकर फेस’ स्थिर भावको एउटा सङ्केत हो । जुन अनुहारमा व्यक्तिभित्रको भाव झल्किँदैन । जुवाघरमा जुवा खेलाउने व्यक्तिलाई ‘पोकर’ भनिन्छ । र, जुवा खेलाउँदै गर्दा आफ्नो अनुहारको भाव पढेर कुनै जुवाडेले बाजी थाप्ने या नथाप्ने निणर्य नगरुन् भनेर तिनले आफ्नो मनको भाव अनुहारमा प्रतिबिम्वित हुन दिँदैनन् । तिनको अनुहार बडो स्थिर र गम्भीर देखिन्छ । ‘पोकर’हरूको अनुहार शान्त र भावरहीत देखिन्छ, तर ती भित्रबाट सधैं उद्वेलित र तनावग्रस्त हुन्छन् । हो, नेपाल स्काउटका कथित संयोजक ठ्याक्कै यस्तै ’पोकर फेस’ भएका व्यक्ति हुन् ।

    दृश्यमा जे देखिए पनि तिनीहरुमा अहंकारको राग बढी छ । त्यो रागले उनीहरुलाई नै सबै भन्दा धेरै व्याकुल बनाएको छ ।

    हामीले खोजेको परिवर्तन भनेको ठूला गाडीहरु लैनचौरभित्र पसुन् । गाडीको अघिल्लो सिटमा प्रमुख मर्यादाक्रममा बसुन् । कार्यालयमा आज सम्पादन हुने कामको बैठक त्यहीँ सकियोस् । एकले अर्कालाई हाकिम हैन, साथी हो भन्ने हार्दिक भावना विकास होस् । तर, त्यतातिर जाने त परै जाओस्, सोच्नु पनि अपराध जस्तो ठान्दैछन् माफियाहरु । मालिक र नोकर जस्तो सम्बन्ध, स्वामी र दास जस्तो भक्ति स्काउटको सिद्धान्तको बर्खिलाप हो भन्ने सम्म हेक्का राख्दैनन् ।

    एक पटक कन्फ्युसियसलाई सोधियो – ‘‘तपाईंलाई राष्ट्रिय सरकारको प्रमुख बनाइयो भने पहिलो काम के गर्नुहुन्छ ?’’ प्रश्न झर्न नपाउँदै उनको उत्तर थियो – ‘‘निसन्देह पहिलो काम भाषाको सुधार हुनेछ ।’’

    आफ्नो आशय थप प्रष्ट पार्दै उनले भनेका थिए – ‘‘भाषा ठीक भएन भने जे भन्न खोजिएको हो, ठीक अर्थ लाग्दैन । अर्थ नखुलेपछि त्यो काम पनि हुन पाउँदैन । गरिनुपर्ने काम हुन नसकेपछि नैतिक मान्यता र कला अधोगतिमा जान्छ । यसको परिणाम न्याय व्यवस्थाको स्थिति बिग्रन्छ । यसबाट मानिस भयावह अन्योलमा पर्छन् । त्यसो हुँदा जे भनिने हो, त्यसमा स्वेच्छाचारिता अपनाइनु हुँदैन । सबै भन्दा यो महत्वपुर्ण विषय हो ।’’ विद्यमान नेपाल स्काउटका ऐन, नियम र निर्देशिका हेरौँ । तिनका भाषा र आशय हेरौँ । लाग्छ, कन्फ्युसियसले हाम्रै ऐन, नियम र निर्देशिका हेरेर प्रतिक्रिया दिएका थिए ।

    गर्नुपर्ने धेरै छन् तर प्राथमिकता व्यक्तिपिच्छे फरक छन् । एउटाले भनेको अर्कोलाई चित्त बुझ्दैन । सबैलाई चित्त बुझ्ने वस्तु त संसारमा सृष्टि भएकै छैन । प्रत्येकका कुरा सुन्दा लाग्छ ऊनै सर्वोत्कृष्ट हो । हिजोका हुक्के, चम्चे, धुपौरे, नन्दी, भृङ्गी सबैका मठाधीशका कुरा सुन्यो भने उनीहरूले गरेको त्यागको उत्कर्षले ऊबेला नेपाल स्काउट स्वर्ग थियो भन्ने बनाइदिन्छन् ।

    यी भ्रमहरु भन्दा माथि उठेर छातीमा हात राखेर आफूले आफैँलाई सोधौँ – नेपाल स्काउट समयसापेक्ष अघि नबढ्ने र सबैको पहुँचमा पुग्न नदिने दुष्प्रयास गर्दै गर्दा आफ्नो स्थान कहाँ पुग्ला भनेर गरिएको हो ? आफ्नो अनुकूलतामा व्यक्तिलाई देवत्वको उपाधि दिने र प्रतिकूलताको कालान्तरमा खुइल्याउने प्रवृत्ति स्काउटको नियम बन्दै आएको छ । त्यो प्रवृत्तिको मतियारको भूमिका निर्वाह केही माफियाका अरौटेभरौटेले गर्दै आएका छन् ।

    स्काउटमा खालखालको समूह छ । स्काउट बिग्रिएको चिन्ता तातो चियामा पोख्ने अनि सत्ताको अगाडि पुगेपछि सियाको तेल छर्किएर चितामा विर्सजन गर्नेको संख्या कम छैन ।

    मानवीय कर्म नभएर राजनीतिको कार्डले पनि नभ्याएर जातजाति र क्षेत्रीयतालाई पनि गोटी बनाइयो । कार्पेट माथिको फोहोर मिल्काउने चेष्टा कसैले गरेन, बरु कार्पेटमुनिको फोहोर निकालेर आँखामा हाल्ने दुष्प्रयास गरियो ।

    जेलमा बसेको एउटा कैदीलाई सिर्कनो र खुर्सानीमध्ये एक रोज्न लगाइएछ । खुर्सानीले राल सिंगान भएपछि उ भन्दो रहेछ, यो भन्दा त सिर्कनो बेस । अनि सिर्कनोले तिघ्राबाट छर्छरी रगत आएर पोल्न थालेपछि उसलाई फेरि लाग्दो रहेछ, यो भन्दा त खुर्सानी जाति । स्काउटमा भएको परिवर्तनको प्राप्ति यो सत्यभन्दा पर हुने अवस्था नै रहेन । मैमात्र ठीकको अन्त्य नै सुशासनको प्राप्ति हो । एउटा सपना भाँचिएसँगै अरु अनन्त सपना जोडिन्छन् । जसले मानिसलाई आशामुखी हुन प्रेरित गर्छ । एउटा सपना टुक्रिने अरु नजोडिने हो भने मानव सभ्यता उहिल्यै डाइनासोर भइसक्ने थियो । सुखद् भविष्यको त्यान्द्रोले मानिसलाई सत्कर्ममा डोर्याउने त हो ।

    लैनो गाईको फाँचोमा पुगे पनि किर्नोले खाने रगत नै हो, दूध हैन । कानुन मान्ने र नमान्नेको भिन्नता पनि यही नै हो । प्रायः मानिसहरू टाकुरा चढ्ने सपना त देख्छन् तर घर अगाडिको तगारो नाघेर अघि बढ्ने हिम्मत गर्न सक्दैनन् । स्काउटहरुले सो हिम्मत गर्ने दिन गर्वका साथ भन्नैपर्छ – नेपाल स्काउट नयाँ कोर्समा प्रवेश गर्छ । हिम्मत गरेर स्काउटका माफियाहरुलाई परास्त गर्नै पर्छ ।

    पोखरीमा पानी हुन्जेल माछाले कमिला सिध्याउँछ । जब पोखरीको पानी सुक्,छ त्यही कमिलाले माछा सिध्याउँछ । पर्खन सक्नुपर्छ । समयअनुसार पालो सबैको आउँछ । सत्तालाई पनि सिकारको बिलो ठानियो भने हविगत उही दोहोरिन्छ । पात खाइयो भने त अर्को वर्ष पिपिरा पिपिरी पलाउला तर जरै ढालियो भने ‘न रहे बाँस न बजे बाँसुरी’ हुन बेर लाग्दैन । स्काउटको जरो भन्नु नै अनुशासन र बिधि हो ।  स्काउटको जरै ढाल्दैछन् ।

    आलोचना गर्न ज्ञान फराकिलो चाहिन्छ । प्रशंसा गर्न मन फराकिलो चाहिन्छ । तर नेपाल स्काउटमा पछिल्लो निणर्य आलोचनाको नाममा जे भइरहेको छ, त्यो ईष्याले भैरहेको छ । प्रशंसाको नाममा जे भइरहेको छ, त्यो चाकडीले भइरहेको छ । अनावश्यक बखेडा नगरी असाँचो नयाँ विकल्पहरुलाई छोड्नु पर्छ । संस्था युवाको हातमा पुग्नु जरुरी छ । त्यसको सम्भावना चाँदनीको घेरा देखिन थालेको छ । म नभए केही हुँदैन भन्ने मानसिकता र दम्भ अब कसैले नपाले हुन्छ । भाले नबासे पनि उज्यालो भएरै छाड्छ ।

    भनाइ छ-

    जो जान्दैन र जान्दिन भन्ने पनि जान्दैन, उ मूर्ख हो ! उसलाई छुट्याउ ।
    जो जान्दछ तर जान्दछु भन्ने जान्दैन, ऊ सुषुप्त हो ! उसलाई ब्युँझाउ ।
    जो जान्दैन तर जान्दिन भन्ने जान्दछ, ऊ साधारण हो ! उसलाई सिकाउ ।
    जो जान्दछ र जान्दछु भन्ने पनि जान्दछ, ऊ विद्वान हो ! उसलाई पछ्याउ ।

    – लेखक नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक हुन् ।

  • स्काउटमा लफडा, अदालतको आदेश ठूलो कि मन्त्रालयको ? (भिडियोसहित)

    स्काउटमा लफडा, अदालतको आदेश ठूलो कि मन्त्रालयको ? (भिडियोसहित)

    काठमाडौं । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशबाट पुनर्वहाली भएका नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीलाई काम गर्न नदिन एउटा समूहले स्काउट कार्यालयमा लफडा गरेको छ ।

    युवा तथा खेलकुद मन्त्रीले पठाएको भन्दै राजिव खत्रीको नेतृत्वमा गएको एउटा समूहले स्काटउनको कार्यालय र राष्ट्रिय संयोजक भण्डारीको कार्यकक्षमा  लफडा गरेपछि प्रहरीले उनीहरुलाई फर्काएको छ । शुरुमा सो समूह प्रहरी लिएर भण्डारीलाई निकाल्न भन्दै गएको थियो ।

    तर भण्डारीले सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश देखाएपछि प्रहरीले अर्को समूहलाई फर्काएको हो । केपी ओली सरकारले नियुक्त गरेका भण्डारीको टिमलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले हटाएको थियो ।

    सरकारले रविन दाहाललाई संयोजक र राजिव खत्रीलाई सहसंयोजक नियुक्त गरेको थियो । उनै खत्रीको नेतृत्वमा बुधवार लफडा भएको हो । दाहाल भने केहीबेरपछि स्काउट कार्यालयबाट हिँडेका थिए ।

    आफूलाई हटाउने निर्णय गैरकानूनी भएको भन्दै भण्डारी अदालत गएका थिए । अदालतले भण्डारीलाई हटाउने र दाहाल नियुक्त गर्ने निर्णय तत्काल कार्यन्वयन नगर्न भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

    अदालतको आदेपछि भण्डारीले पुनर्वहाली गरेका छन् ।उनलाई काम गर्न नदिन मन्त्रालयबाटै बाहुबलीहरुको समूह हुलहुज्जत गर्न पठाइएको आरोप भण्डारी पक्षले लगाएका छ ।

    दुवै पक्षबीच निकैबेर भनाभन चलेको थियो । भण्डारीले अदालत भन्दा ठूलो कोही नभएको भन्दै आफू मन्त्रीसँग सम्बन्धित नभएको बताएका थिए । खत्रीले भने आफूलाई मन्त्रीले पठाएको भन्दै कार्यालय नछाड्ने अडान लिएका थिए ।

    उनीहरुले भण्डारीलाई निकाल्न प्रहरी लिएर गएका थिए । तर प्रहरीले सो समूहलाई अदालतको आदेशभन्दा बाहिर जान नसकिने बताएको थियो । सर्वोच्चले अन्तरिम आदेश दिन पर्ने वा नपर्ने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई बिहीबार बोलाएको छ ।

    खत्रीले भने भण्डारी नै गैरस्काउटको दलबलसहित कार्यालय पसेपछि लफडा भएको बताउँछन् । हामीलाई सरकारले नियुक्त गरे संगै नियमित काम गर्दै आएका छौ।सम्मानित अदालतबाट आएको अन्तरिम आदेश बारे जानकारी नै छैन । नेपाल स्काउट विपक्षी पनि छैन र पत्र पनि न मन्त्रालयबाट न अदालतबाट आएको छ भने कसरी उहाँहरूलाई स्विकार्ने ? खत्री भन्छन्, ‘हामी वैठक बसी रहेको समयमा लोक भण्डारी गैरस्काउट दलबलसहित भित्र पस्नु भएको हो । यो हुन सक्छ भन्ने पहिल्यै लागेको थियो । हामीले नै प्रहरीलाई खबर गरेका कारण कुनै अप्रिय घटना भएन ।’

     

  • प्रधानमन्त्री देउवा स्काउट सिध्याउने र सम्पत्ति कब्जा गर्ने गिरोहका फन्दामा परेको भण्डारीको आरोप (भिडिओ)

    प्रधानमन्त्री देउवा स्काउट सिध्याउने र सम्पत्ति कब्जा गर्ने गिरोहका फन्दामा परेको भण्डारीको आरोप (भिडिओ)

    काठमाडौं । सरकारले खारेज गरेको नेपाल स्काउटका राष्ट्रिय तदर्थ समिति संयोजक लोकबहादुर भण्डारीले अहिलेको सरकार असक्षम र अदूरदर्शी रहेको भन्दै स्काउट सिध्याउन खोज्ने गिरोहको फन्दामा प्रधानमन्त्री परेको आरोप लगाएका छन् ।

    सोमवार काठमाडौंमा आयोजित नेपाल स्काउट विशेष पत्रकार सम्मेलनमा भण्डारीले संस्थामा आफूले पूरा जिम्मेवारी निभाएको तर स्काउटको ऐन, कानून बनाउने कुरामा सरकार असक्षम र अदूरदर्शी रहेको बताए ।

    स्काउटलाई अघि बढ्नै नसक्नेहरुले आफूलाई निकाल्नकै लागि निकालेको भन्दै उनले सरकारको यो निर्णय स्काउटलाई अघि बढ्नै नदिने झुन्डहरुलाई खुशी बनाउनका लागि भएको समेत दावी गरे ।

    भण्डारीले सरकारले गैरकानूनी ढंगले खारेज गरेकोमा अब कसरी जाने भन्ने कानूनी सल्लाह भइरहेको बताए ।

    भण्डारीले भने– मैले मागेको त्यो ऐन क्याबिनेटको विधायन समितिमा गएर अड्किएर बसेको छ, यो केही कार्यकर्तालाई देखाउने, हिजोदेखि स्काउटलाई बढ्नै नदिने केही झुन्डहरुलाई खुशी बनाउन गरिएको निर्णय हो, अहिलेसम्म यत्रो शंकट पर्दा फेसबुकमा लेखेर बस्नेहरु छन् तर बाहिर निस्केर सहयोग गरेका छैनन्, अहिले आउन खोज्ने लिडरहरु बालबालिकाकै चरित्रलाई टर्चर दिन खोज्ने गरिरहेका छन्, म अब कानूनि सल्लाह लिन्छु, यसमा जे ठहर्छ त्यही अनुसार अघि बढ्छु ।

    भण्डारीले प्रधानान्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जिम्मेवारी पूरा गर्न नसकेर कार्य समिति खारेज गरेको भन्नु अस्वभाविक र आश्चर्यजनक रहेको बताए । देशको प्रधानमन्त्रीले तथ्यहीन आधारमा निर्णय लिनु दुःखद् भएको समेत उनले बताए ।

    भण्डारीले भने–‘७० वर्षको इतिहासमै सबैभन्दा बढी कार्यप्रगति र तुलनात्मक रुपमा परिणाममुखी एवं ऐतिहासिक महत्वका कार्यहरु गर्दै नेपाल स्काउटलाई एउटा नयाँ उचाइमा पुर्याउने हालको मेरो नेतृत्वको राष्ट्रिय तदर्थ समितिलाई नेपाल स्काउटका संरक्षक एवं प्रमुख स्काउट समेत रहनुभएका सम्माननीय प्रधानमन्त्रीज्यूले जिम्मेवारी पूरा गर्न नसकेकाले जिम्मेवारीबाट अलग गरिएको भन्ने निर्णय गर्नु अस्वभाविक र आश्चर्यजनक छ, म सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, तपाईको आँखामा छारो हालिएको छ, तपाईलाई मिथ्यांकको गाथा सुनाएर म र मेरो नेतृत्वमा रहेको समितिलाई केवल राजनैतिक पूर्वाग्रहमा हटाउन खोजिएको हो ।

    आफूलाई सामाजिक सञ्जालमा आक्रमण भइरहेको र व्यक्तिगत जीवनको विषयवस्तुलाई जोडेर आफूमाथि प्रहार भइरहेको भण्डारीले बताए ।

    लामो समयदेखि नेपाल स्काउटको सम्पत्ती कब्जा गरेर भाडा समेत नतिरिरहेको खड्का ल्याण्ड डेभलपमेण्ट प्रा.लि.लाई नियमित भाडा तिराउन र गैरकानूनिरुपमा कब्जा गरेको जग्गा फिर्ता गराउन खोज्दा विभिन्न प्रलोभन देखाएको र आफू प्रलोभनमा नपरेपछि खड्का ल्याण्ड डेभलपमेण्ट प्रा.लि. र स्काउटकै केही व्यक्ति आफूविरुद्ध लागेको समेत भण्डारीले खुलासा गरे ।

     

  • राहत र उद्धारका लागि स्काउट टोली मेलम्चीमा

    राहत र उद्धारका लागि स्काउट टोली मेलम्चीमा

    काठमाडौं । मंगलबार रातिको वर्षा र बाढीका कारण क्षतिग्रस्त भएको मेलम्ची आसपासका जनतालाई उद्धार तथा राहतका लागि नेपाल स्काउटको छुट्टाछुट्टै २ टोली मेलम्ची पुगेका छन् ।

    विपद् व्यवस्थापन तालीम प्राप्त स्काउटको टोली २००० प्याकेट तयारी चाउचाउ, १०५ थान त्रिपाल र अत्याधुनिक उद्धार सामग्री सहितको टोली मेलम्ची पुगेको हो । उद्धार र राहत टोलीमा काठमाडौं, ललितपुर, भक्तपुर र दोलखा जिल्लाका १७ जना स्काउट सहभागी छन् ।

  • बालबालिकाको प्रश्न प्रधानमन्त्रीलाई– तपाईंका लागि हामी को हौं ? (भिडियाे)

    बालबालिकाको प्रश्न प्रधानमन्त्रीलाई– तपाईंका लागि हामी को हौं ? (भिडियाे)

    काठमाडौं । नेपाल स्काउटले इस्वी सनकाे हरेक नयाँ वर्षका दिन स्काउटर बालबालिकालाई एउटा मौका मिलाइदिन्छ–देशको कार्यकारी प्रमुखलाई प्रत्यक्ष भेटेर प्रश्न गर्ने र आफ्ना भावना पोख्ने ।

    गत वर्षदेखि स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले स्काउटका संरक्षक समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भविष्यका कर्णधारसँग अन्तरक्रियाको लागि राजी गराएका थिए ।

    जनवरी पहिलो दिनमा यसपटक पनि बालबालिका प्रधानमन्त्रीसँग प्रश्न गर्न र केही भावना व्यक्त गर्न बालुवाटार पुगे । उनीहरुले धित मरुन्जेल प्रश्न राखे । छानिएका प्रश्नकर्ताको पालो सकिएपछि प्रधानमन्त्रीले ‘अरु कोही ?’ भन्दै प्रश्न मागे ।

    बालबालिकाले उनलाई एसिड आक्रमण विरुद्धको कानून ल्याएकोमा धन्यवाद दिए । सँगसँगै बलात्कार विरुद्धको कानूनले मात्र अपराध घट्ला र ? भन्ने प्रश्न पनि गरे ।

    एकजना बालकले प्रश्न गरे–प्रधानमन्त्रीज्यू तपाईंको लागि हामी बालबालिका को हौं ?
    मेरा लागि आँखाको नानी जस्तै हौ । मुटुका धड्कन, मेरा प्यारा सन्तति, भविष्यका कर्णधार जे भने पनि हुन्छ । मैले सबैभन्दा बढी मन पराउने नै केटाकेटी हुन् । म उनीहरुमा धर्तीको भविष्य देख्छु ।

    प्रधानमन्त्रीसँग बालबालिकाले राजनीतिदेखि अपराधसम्म र आफ्नो विरोध गर्नेहरुलाई के भन्नुहुन्छ जस्ता प्रश्न पनि सोधे । सबै प्रश्नको विस्तृतमा जवाफ दिएका प्रधानमन्त्रीले बालबालिकाले राजनीति गर्न नहुने र इन्टरनेट माध्यमबाट हुने कुलतमा फस्न नहुने सुझाव पनि दिए ।

    नेपाल प्रेसले प्रत्यक्ष प्रसारण गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रमको विस्तृत प्रश्नोत्तरको भिडियो यहाँ हेर्न सकिन्छ ।