Tag: संविधान

  • मन्त्री ढकालको आरोप- प्रधानमन्त्रीमा देउवाको दावी एमाले र जसपा विभाजन गराउने चाल (भिडियो)

    मन्त्री ढकालको आरोप- प्रधानमन्त्रीमा देउवाको दावी एमाले र जसपा विभाजन गराउने चाल (भिडियो)

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दावी गरेको टिप्पणी गरेका छन् ।

    दलीय व्यवस्थामा अरु दलका सांसदको समर्थन छ भन्नु गैरलोकतान्त्रिक भएको भन्दै उनले कांग्रेसले अरु पार्टीको आन्तरिक मामिलामा भाँजो हाल्ने काम गरेको आरोप लगाए । ढकालले भने, ‘आगामी आम निर्वाचनमा जसपा र नेकपा (एमाले) लाई विभाजनमा लानको निम्ति आफू प्रधानमन्त्री हुने सर्तमा नै यी पार्टीहरु विभाजन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अरु पार्टीको आन्तरिक जीवन र मामिलामा हात हाल्ने, भाँजो सिर्जना गर्ने र पार्टी विभाजित गर्ने मनसायका साथ नेपाली कांग्रेसजस्तो आफूलाई बहुलवादी लोकतन्त्रको लागि नेतृत्व गरेर आएको छु भन्ने पार्टी अरुको घर झगडा गराएर यो खालको काममा लाग्नेकुरा एकदम गलत कुरा हो । दलीय व्यवस्थामा अरु दलको समर्थन मलाई छ भन्ने हाक्काहाक्की कसरी नेपाली कांग्रेसका नेतृत्वले भन्न सक्छ ? यो भन्दा गैर लोकतान्त्रिक कुरा अरु केही हुनसक्छ जस्तो मलाई लाग्दैन ।’

    मन्त्री ढकालले संविधानको धारा ७६ को उपधारा ५ को निर्दलीय कोणबाट व्याख्या गर्न नहुने बताए । देशमा बहुदलीय शासन प्रणाली रहेको उल्लेख गर्दै यस प्रणालीभित्र निर्दलीय आचरण अनुरुपको राजनीति गर्न खोज्नु प्रतिगमन भएको उनको भनाइ छ । ढकालले भने, ‘धारा ७६(५) को जुन दावीको कुरा आयो, त्यसलाई मान्छेहरुले निरपेक्ष र निर्दलीय कोणबाट व्याख्या गर्न खोजेका छन् । बहुदलीय शासन प्रणाली हाम्रो देशमा छ । यसले गर्दा दलीय शासन प्रणाली भित्र निर्दलीय आचरण र आकांक्षा अनुरुपको राजनीति फर्काउँछु भनेर जसले नेतृत्व गर्छ । त्यसले अग्रगमनको कुरा गर्नु नै वास्तवमा प्रतिगनमनको साधनमा चढेर अग्रगमनको कुरा गर्ने कुरा यो आफैँमा विरोधाभाषपूर्ण कुरा हो ।’

    ताजा जनादेशमा जानुको विकल्प नभएको भन्दै निर्वाचनको विकल्प नभएको उनले प्रष्ट्याए ।

  • अदालतसँग अर्को संविधान छैन, संसद विघटन असंवैधानिक भन्छ : गगन थापा

    अदालतसँग अर्को संविधान छैन, संसद विघटन असंवैधानिक भन्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतसँग अलग्गै संविधान नभएकाले ढिलो भएपनि संसद विघटनको विरुद्धमा फैसला हुने विश्वास व्यक्त गरेका छन् ।

    कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरुसंग कुराकानी गर्दै नेता थापाले कांग्रेसले आफैले बनाएको संविधान पढेर नै संसद विघटनलाई असंवैधानिक भनेको बताए । ‘हाम्रै नेतृत्वको संविधान पढेर कांग्रेसले संसद विघटनलाई असंवैधानिक भनिसकेको छ ।

    अदालतसंग भएको पनि त्यही संविधान हो । त्यसैले अदालतले ढिलो गरेपनि असंवैधानिक नै भन्छ भन्ने विश्वास छ’, थापाले भने । उनले अदालतको आदेश जे आएपनि कांग्रेसको धारणा प्रतिनिधिसभा विघटन असंवैधानिक हो भन्ने नै रहेको बताए ।

    ‘अदालतको विषयमा बोल्न हुँदैन भन्ने हो भनेपनि हामी बोलिसक्यौ । यो असंवैधानिक छ भनेर हामीले भनिसक्यौ । अदालतको आदेश जे आएपनि कांग्रेसको निष्कर्ष बदलिदैन’, थापाले भने ।

    उनले अदालतबाट संसद पुनःस्थापना भएपछि संसदबाटै नयाँ राजनीतिक कोर्स हुने र संविधानविरुद्ध काम गर्नेहरुलाई दण्डित गर्ने बताए ।