Tag: व्यापार घाटा

  • व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन प्रधानमन्त्रीको निर्देशन

    व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी तथा व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिएका छन्।

    प्रधानमन्त्री निवास बालुवाटामार आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री देउवाले सो निर्देशन दिएका हुन् ।

    प्रधानमन्त्री देउवाले सो बैठकमा निर्देशन दिँदै भने, ‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईहरुले व्यापार घाटा घटाउने गरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहोस् ।’

    प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र सम्भावना भएका क्षेत्रमा लगानी बढाउने गरी अघि बढ्न पनि निर्देशन दिए । उनले मन्त्रालय एवं मातहतका सबै सरकारी कार्यालयहरुलाई स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने गरी नीति तय गर्न पनि निर्देशन दिए ।

    प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउन विद्युत्को खपत बढाउनुपर्ने भन्दै विद्युतीय सवारी साधनका साथै विद्युतीय चुलोलगायतको प्रयोग बढाउने खालका नीतिहरु अघि बढाउन पनि सम्बद्ध सबै अधिकारीहरुको ध्यानाकर्षण गराए।

    प्रधानमन्त्री देउवाले भने, ‘‘हाम्रो प्रचुर सम्भावना रहेको क्षेत्र जलस्रोत हो, अब हामीले पेट्रोलियम पदार्थ खरिदमा जाने ठूलो रकम कम गर्न पनि विद्युतीय सवारी साधान प्रयोग गर्नुपर्ने र विद्युत्को खपत बढाउनुपर्ने अवस्था छ ।’

    उक्त समीक्षा कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका साथै राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन तथा सङ्घीय मामिला मन्त्रालयलगायतका प्रतिनिधिहरु पनि सहभागी थिए ।

  • व्यापार घाटा मन्थनः के आयात गर्ने, के नगर्ने ?

    व्यापार घाटा मन्थनः के आयात गर्ने, के नगर्ने ?

    नेपालको अर्थतन्त्रमा अहिले बढ्दो व्यापार घाटाबारे व्यापक चर्चा हुन थालेको छ । तथ्यांकमा हेर्दा हो पनि । आयात र निर्यातको अन्तराल दिनानुदिन फैलँदो छ । तर, देशको समग्र अर्थतन्त्रको विकासक्रममा हुने सबै व्यापार घाटा हानिकारक मात्र हुदैनन् । यसलाई समग्र देशको आर्थिक अवस्था र अन्य आर्थिक सूचकहरूसँग समेत तुलना गरेर हेर्नुपर्ने हुन्छ ।

    नेपालको सन्दर्भमा व्यापार घाटा के हो ? अर्थतन्त्रका लागि कस्तो व्यापार घाटाले सकारात्मक र कस्तो व्यापार घाटाले नकारात्मक असर पार्दछ ? व्यापार घाटालाई फाइदाजनक बनाउन हामीले के गर्नुपर्ने हुन्छ ? यीनै विषयको सेरोफेरोमा यो आलेख तयार पारिएको छ ।

    व्यापार घाटा भनेको के हो ?

    सामान्य अर्थमा व्यापारिक कारोबारमा हुने घाटालाई व्यापार घाटा भनिन्छ, जहाँ खरिद गरेको मुल्यभन्दा कम मुल्यमा मालवस्तुहरू बिक्री गरिएको हुन्छ । तर, राष्ट्रको अर्थतन्त्रका सन्दर्भमा हेर्दा यति मात्रले यसको अर्थ पूरा हुँदैन । यसमा आयात र निर्यातको तथ्यांकहरूलाई तुलना गरेर हेरिन्छ ।

    सामान्य विवाहजस्ता चाडपर्वमा मात्र किन्ने र त्यो पनि सकभर घरमा रहेको पुरानोलाई नै नयाँ बनाएर सुनको प्रयोग गर्ने संस्कारमा हुर्किएका हाम्रो लागि प्रतिमहिना आयात भएको सुनको परिमाणले के कहाली लाग्दैन ? अझ नेपालकै झापा-मोरङमा उत्पादन भएको सुपारी निकासी गर्न नपाएको गुनासो आइरहेका बेला के नेपालका गुट्खा उद्योगको आवश्यक कच्चा पदार्थ र हाम्रो खपतका लागी सुपारीको करौडौं टनको आयात परिमाण जायज हो त ?

    देशबाट बाहिर पठाएको अर्थात निकासी वा निर्यात गरिएको मालवस्तु वा सेवाको मुल्यभन्दा बाहिर वा विदेशबाट देशभित्र मगाइएको वा आयात गरिएको मालवस्तु वा सेवाको मुल्यमा आएको फरक नै अर्थतन्त्रका हिसावले व्यापार घाटा/नाफा हो । यसरी देशबाहिर पठाएको वस्तु वा सेवाको मुल्य बाहिरबाट देशभित्र मगाइएको वस्तु वा सेवाको मूल्यभन्दा बढी भएमा नाफा हुन्छ, अन्यथा घाटा । वास्तवमा यही घाटा अर्थतन्त्रमा भनिने व्यापार घाटा हो । व्यापार घाटामा देशमा मगाउनु पर्ने मालवस्तु वा सेवाका लागि तिर्नुपर्ने विदेशी मुद्रा देशबाहिर पठाएको मालवस्तु वा सेवाबाट प्राप्त हुनेभन्दा कम भइ विदेशी मुद्राको नोक्सानी हुन्छ ।

    व्यापार घाटाका प्रभावहरू

    सामान्य त शब्दबाटै स्पष्ट हुन्छ व्यापार घाटा अर्थतन्त्रका लागी राम्रो संकेत होइन । तर, राज्यको अर्थतन्त्रलाई चलायमान बनाउन र दीर्घकालीनरूपमा आर्थिक विकासका लागि निश्चित समयको व्यापार घाटा अनिवार्य शर्त पनि हो । वर्तमानको व्यापार घाटाले भविष्यमा नाफा आर्जनको आधार खडा गर्ने हुँदा यस्तो व्यापार घाटालाई पनि सोहीरूपमा बुझ्नुपर्ने हुन्छ । त्यसैले राष्ट्रिय अर्थतन्त्रको सन्दर्भमा यस्तो व्यापारघाटालाई त्यसको स्वरुप र प्रवृत्तिका आधारमा सकारात्मक र नकारात्मकरूपमा दुई फरक किसिमले चर्चा गर्नु उपयुक्त देखिन्छ ।

    सकारात्मक व्यापार घाटा

    दीर्घकालीन रूपमा समग्र देशको आर्थिक अवस्था सुदृढ बनाउने र तत्काल घाटा भए पनि भविष्यमा नाफा दिलाउने व्यापारघाटालाई राष्ट्रिय अर्थतन्त्रको विकास तथा निर्माणका लागि सकारात्मक तथा फाइदाजनक मानिन्छ । यसले आन्तरिक स्रोत-साधनको बढोत्तरी गरी समग्र देशको आर्थिकस्तर वा अवस्था बढाउँछ । बेरोजगारी समस्या समाधान गरी आन्तरिकरूपमा रोजगारी सृजना गर्दछ र समयक्रममा यस्तो व्यापार घाटाले निकासी बढाएर भविष्यमा नाफा हुने वाताबरण बनाउँछ ।

    आफ्नो श्रम बेचेर पठाएको विदेशी मुद्रायस्ता अनावश्यक वस्तुमा खर्च गर्दा तत्काल देशको राजस्व बढे पनि यसले व्यापार विचलन बढाउने, छाया अर्थतन्त्र फष्टाउने र आर्थिक अपराध बढ्न गइ समग्र देशको आर्थिक अवस्था नै नकारात्मक बनाउँदै लैजाने देखिन्छ ।

    देशको दीर्घकालीन उत्पादन र रोजगारी बढाउने, ठूला-ठूला उद्योगको यन्त्र उपकरणहरू, त्यसका कच्चा पदार्थहरू र नागरिकहरूको दक्षता अभिवृद्धी गर्ने तथा शिक्षा-स्वास्थमा सुधार गर्ने साधनहरूको आयात देशका लागि हितकर हुन्छ । यसबाट पनि घाटा बढने र तत्कालका लागी विदेशी मुद्राको व्यवस्थापन गर्न समस्या पर्ने नै हुन्छ । तर, नेपालजस्तो मुलुकका लागि दीर्घकालीन स्रोत–साधन जुटाउन र समग्र राष्ट्रको आर्थिक विकासका लागी यसलाई अनिवार्य आवश्यकता पनि मानिन्छ । त्यसैले यस्तो व्यापार घाटालाई सकारात्मक व्यपारघाटाको रुपमा व्याख्या गर्ने गरिन्छ ।

    नकारात्मक व्यापार घाटा

    यस्तो व्यापार घाटाले तत्कालीन मात्र नभइ दीर्घकालीन रुपमा समेत देशको आर्थिक अवस्थालाई झन् बिगार्ने र जर्जर बनाउने कार्य गर्दछ । यसबाट उत्पादन बढ्नुको साटो झन् झन् घटाउने काम हुन्छ । उपभोगमुखी संस्कार र प्रवृत्ति बढ्दै जान्छ । देशमा विदेशी मुद्राको अभाव तत्काल र दीर्घकालमा झन् बढी देखिन्छ, जसका कारण देशको सामान्य प्रशाानिक खर्च धान्नसमेत वैदेशिक ऋण लिनुपर्ने र देश परनिर्भर बन्दै जाने अवस्था बन्छ । देशका लागि आवश्यक र दीर्घकालमा सकारात्मक प्रभाव पार्ने मालवस्तुभन्दा तत्कालका आवश्यकता पूरा गर्ने र राजस्व बढी उठ्ने विलासी र अनुत्पादक क्षेत्रमा प्रयोग हुने अनावश्यक मालवस्तुको आयात बढदै जान्छ । यसबाट आन्तरिक उत्पादनभन्दा विलासी संस्कार बढ्दै जाने र अव्यवस्थित शहरीकरण तथा उपभोगमुखी संस्कार बढ्दै जाँदा आन्तरिक उत्पादनहरू झन्-झन् खुम्चिँदै जाने र देशमा परनिर्भरता बढ्दै जान्छ ।

    नेपालको सन्दर्भमा व्यापार-घाटा

    नेपाल अहिले पनि अल्पविकसित मुलुक हो । भलै, सन् २०२६ भित्र देशको आर्थिक अवस्थामा व्यापक सुधार गर्ने अपेक्षासहित संयुक्त राष्ट्रसंघले नेपाललाई भर्खरै विकासशील मुलुकमा स्त्तरोन्नती गरेको छ । नेपालको वर्तमान अवस्था नियाल्दा हाम्रो आयातहरूमा दीर्घकालीनरुपमा देशको आन्तरिक उत्पादन बढाउनेभन्दा अनावश्यकरुपमा तत्कालका लागी विलासी वस्तुहरूको उपभोग बढाउने र देशको राजस्व बढाउनमात्र ध्यान दिई अनावश्यक र विलासी वस्तुहरूको आयात बढाउन ध्यान दिएको देखिन्छ ।

    दीर्घकालीनरुपमा आन्तरिक उत्पादन बढाउने उधोगधन्दाका यन्त्र उपकरण र विकास-निर्माण अगाडि बढाउने र दक्षता वृद्धि गर्ने क्षेत्रमा आवश्यक मालवस्तु र सेवा क्षेत्रमा आयात बढाउनु पर्दछ ।

    अझ कतिपय वस्तुको आयात त हाम्रो आन्तरिक खपतका लागि नभइ भारतजस्ता छिमेकी मुलुकमा सोझै पैठारी गर्न नपाइने वा नेपालमा आयात भएर तस्करी गरी भारत पठाउँदा पनि भारतमा सोझै पैठारी गर्दाभन्दा लागत कम पर्ने भएकाले नेपालमा आयात भैरहेको देखिन्छ । हाम्रो नीतिगत संरचना पनि दीर्घकालीन देशको फाइदा भन्दा तत्काल राज्यलाई प्राप्त हुने राजस्वमा बढी ध्यान दिने खालको भएकोले जसरी पनि बढी राजस्व उठाउन मात्र ध्यान केन्द्रीत भएको जस्तो देखिन्छ । करोडौं मुल्य पर्ने महंगा र विलासी गाडीहरू अहिले हाम्रो आवश्यकता हो कि होइन ? नेपालको जनसंख्याभन्दा झण्डै दोब्बर परिमाणमा पैठारी हुने छातादेखि प्रतिव्यक्ति क्वीन्टलभन्दा बढी पर्ने गरी सुपारी र मटरको पैठारी हाम्रो आवश्यकता हो त ? अनि नेपालमा १० प्रतिशत पनि उपभोग नहुने, अस्वभाविक परिमाणमा हाम्रो विदेशी मुद्रा खर्च हुनेगरी पोस्तादानाको आयात गर्न कोटा किन दिनुपर्ने ?

    सामान्य विवाहजस्ता चाडपर्वमा मात्र किन्ने र त्यो पनि सकभर घरमा रहेको पुरानोलाई नै नयाँ बनाएर सुनको प्रयोग गर्ने संस्कारमा हुर्किएका हाम्रो लागि प्रतिमहिना आयात भएको सुनको परिमाणले के कहाली लाग्दैन ? अझ नेपालकै झापा-मोरङमा उत्पादन भएको सुपारी निकासी गर्न नपाएको गुनासो आइरहेका बेला के नेपालका गुट्खा उद्योगको आवश्यक कच्चा पदार्थ र हाम्रो खपतका लागी सुपारीको करौडौं टनको आयात परिमाण जायज हो त ? यसतर्फ बेलैमा सम्वन्धित निकायको ध्यान जानु पर्ला । होइन भने हाम्रा नागरिकहरूले खाडी मुलुकको गर्मीमा आफ्नो श्रम बेचेर पठाएको विदेशी मुद्रायस्ता अनावश्यक वस्तुमा खर्च गर्दा तत्काल देशको राजस्व बढे पनि यसले व्यापार विचलन बढाउने, छाया अर्थतन्त्र फष्टाउने र आर्थिक अपराध बढ्न गइ समग्र देशको आर्थिक अवस्था नै नकारात्मक बनाउँदै लैजाने देखिन्छ ।

    हामीले के गर्नुपर्ला ?

    उल्लेखित तथ्य र आधार समेतबाट हामीले हाम्रो यथार्थ आवश्यकता पहिचान गर्नुपर्दछ । यसको साथै हाम्रो आन्तरिक उत्पादन बढाउने र स्वास्थ-शिक्षाजस्ता मानव आवश्यकता पुरा गर्ने आन्तरिक उत्पादन नहुने तथा दक्षता बढाउने वस्तुहरूको पहिचान पनि गर्नुपर्दछ । यसपछि अतिआवश्यक र यस्ता वस्तुहरूको प्राथमिकता निर्धारण गरी व्यापारघाटा भए पनि पैठारीमा प्राथमिकता दिनु पर्दछ । यसबाट दीर्घकालीनरुपमा आन्तरिक उत्पादन बढाउने उधोगधन्दाका यन्त्र उपकरण र विकास-निर्माण अगाडि बढाउने र दक्षता वृद्धि गर्ने क्षेत्रमा आवश्यक मालवस्तु र सेवा क्षेत्रमा आयात बढाउनु पर्दछ ।

    अनावश्यक विलासी तथा व्यापार विचलन हुने तथा दीर्घकालीनरूपमा उपभोगमुखी संस्कार बढाउने खालका मालवस्तुहरूको पैठारी निरुत्साहित गरी आन्तरिक स्रोत र साधनको प्रयोग गरेर उत्पादन हुने निकासीमुलक उद्योगहरू पहिचान गरेर त्यसतर्फ लगानी बढाउने र तत्काल व्यापार घाटा भए पनि यस्ता मालवस्तुहरूको आयात बढाउने नीतिगत व्यवस्था गरी सोहीअनुसार अगाडि बढ्नु नै अहिलेको हाम्रो आवश्यकता हो ।

  • व्यापार घाटा कम गर्न ३ महिनाभित्र कार्ययोजना बनाइने

    व्यापार घाटा कम गर्न ३ महिनाभित्र कार्ययोजना बनाइने

    काठमाडौं । सरकारले नेपालको व्यापार घाटा काम गर्ने कार्ययोजना ३ महिनाभित्र निर्माण गरिने भएको छ ।

    बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नेपालको व्यापार घाटा काम गर्न कार्ययोजना निर्माण गरिने बताएका छन् ।
    हाल नेपालको वैदेशिक व्यापार घाटा १ अर्बभन्दा धेरै रहेको छ ।

  • साउनमा निर्यात ११६ प्रतिशत वृद्धि, व्यापारघाटा करिब ७१ प्रतिशतले बढ्यो

    साउनमा निर्यात ११६ प्रतिशत वृद्धि, व्यापारघाटा करिब ७१ प्रतिशतले बढ्यो

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ खर्ब ५० अर्बबराबरको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा आयात, निर्यात र व्यापार घाटा बढेको पाइएको हो ।

    गत आर्थिक वर्ष यस्तो आयात ८५ अर्ब ८० करोडको थियो । अर्थात गत वर्षको तुलनामा आयात ७५.६६ प्रतिशतले बढेको छ । यसैगरी निर्यात गत वर्षको अवधिको तुलनामा ११५.८५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो महिनामा ९ अर्ब ६३ करोडको वस्तु निर्यात भएकोमा चालु आर्थिक वर्ष सोही अवधिमा २० अर्ब ७६ करोडको निर्यात भएको छ ।

    गत आर्थिक वर्षमा वैदेशिक व्यापारतर्फ ९५ अर्ब ४२ करोड भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ७१ अर्ब अर्थात ७९.७१ प्रतिशतले बढेको छ ।

    वैदेशिक व्यापारसँगै व्यापारघाटा पनि बढेको छ । गत वर्षको साउन महिनामा कुल ७६ अर्ब १८ करोड व्यापारघाटा रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ७०.५९ प्रतिशतले बढ्दै १ खर्ब २९ अर्ब पुगेको छ । आयात-निर्यात र व्यापारघाटामा नेपाल भारतसँग बढी निर्भर देखिएको छ ।

    चालु आर्थिक वर्षको साउनमा नेपालले भारतसँग ८९ अर्ब ४८ करोडको वस्तु आयात गरेको छ भने १६ अर्ब ८६ करोडको निर्यात गरेको छ । भारतसँगको व्यापारघाटा ७२ अर्ब ६१ करोड पुगेको छ । नेपालको भारतसँग आयातमा ५९.३२ प्रतिशत, निर्यातमा ८१.२१ निर्भरता देखिएको छ । साउनमा नेपालको कुल वैदेशिक व्यापारमध्ये भारतसँगको व्यापार घाटा ६२.३० प्रतिशत छ ।

    यसैगरी नेपालले चीनबाट २० अर्ब ९७ करोडको वस्तु आयात गर्दा निर्यात ८२ करोड ७८ लाखबराबर छ । यसरी चीनसँग नेपालको व्यापारघाटा १२ अर्ब ५९ करोड रहेको छ । नेपालसँग अन्तर्राष्ट्रिय व्यापार गरेका १०२ मुलुकमध्ये १२ देशबाहेक सबैसँग नेपालको व्यापारघाटा छ । सबैभन्दा धेरै व्यापारमा फाइदा भएको मुलुक संयुक्त अधिराज्य बेला हो । बेलायतबाट नेपालले १७ करोड रुपैयाँको वस्तु आयात र २९ करोडको वस्तु निर्यात गरेको तथ्यांकमा देखिएको छ ।

    अफगानस्तान, अर्मानिया, कम्वोडिया, कोरेसिया, जर्जिया, आइसल्याण्ड, पोर्चुगल, सेन्ट हेलेना, स्लोभाकिया, स्लोभेनिया र स्वीडेनसँग भने व्यापार घाटा छैन ।

    नेपालले सबैभन्दा धेरै पेट्रोलिय पदार्थ, फलामे डण्डी, सवारीसाधान तथा पाटपुर्जालगायतका वस्तु आयात गर्ने गरेको छ ।

  • नेपालको निर्यात २० वर्षयताकै उच्च, व्यापार घाटा भने २७ प्रतिशत वृद्धि

    नेपालको निर्यात २० वर्षयताकै उच्च, व्यापार घाटा भने २७ प्रतिशत वृद्धि

    काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा नेपालको कुल व्यापार घाटा २७.२७ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आवमा निर्यात भने ४४.४३ प्रतिशतले वृद्धि भई १ खर्ब ४१ अर्ब पुगेको छ । अघिल्लो आवमा यस्तो निर्यात ९७ अर्ब ७ करोड थियो ।

    सरकारले २० वर्षअघि नेपालको निर्यात १ खर्ब पुर्‍याउने लक्ष्य राखेको थियो । तर आर्थिक वर्ष २०७७/७८ को वैशाखमा आएर यो लक्ष्य पूरा भएको छ । नेपालबाट सबैभन्दा धेरै भटमासको तेल, पाम आयल, गार्मेन्ट, धागो, अलैंचीलगायतका वस्तु निर्यात हुन्छ ।

    गत आर्थिक वर्षमा १३ खर्ब ९८ अर्ब रूपैयाँ बराबरको वस्तु विदेशबाट आयात भएको छ । २०७६/७७ मा भने यो १० खर्ब ९ अर्ब छ ।

    आव २०७७/७८ मा कुल वैदेशिक व्यापार १६ खर्ब ८० अर्बको भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो २७.२७ प्रतिशतले वृद्धि भएको छ । कुल व्यापार घाटामध्ये सबैभन्दा धेरै भारतसँग ८ खर्ब ६५ अर्ब छ । त्यस्तै, दोस्रोमा चीनसँग २ खर्ब ३३ अर्ब रहेको छ ।

    भारतबाट ९ खर्ब ७१ अर्ब वस्तु आयात हुँदा नेपालबाट भने १ खर्ब ६ अर्बबराबरको निकासी भएको छ । चीनसँग भने २ खर्ब ३३ अर्ब रूपैयाँको वस्तु आयात हुँदा १० अर्ब बराबरको निर्यात भएको छ । सबैभन्दा धेरै वस्तु आयातमा फलामको कच्चा पदार्थ, पेट्रोलियम पदार्थ र सवरी साधन लगायतका छन् ।

    अघिल्लो आर्थिक वर्ष कोरोना महामारीको कारण वस्तु कम आयात हुँदा व्यापार घाटा घटेको थियो । जसले गर्दा विदेशी मुद्राको सञ्चिति र भुक्तानी सन्तुलन बढेको थियो । व्यापार घाटा घटेको कारण वस्तु आयातमा कमी भई सरकारले उठाउने भन्सार र मूल्य अभिवृद्धि करलगायतमा कमी आएको थियो ।

    आर्थिक वर्ष २०७७/७८ को सोज महिनादेखि वैशाख १५ गतेसम्म आर्थिक गतिविधि चलायमान हुँदा वैदेशीक व्यापार पुनः वृद्धि भएको थियो । यद्यपि वैशाखदेखि पुन: शुरू भएको निषेधाज्ञाको कारण सरकारले लिएको लक्ष्य अनुसार भन्सार राजस्व भने प्रभावित भएको छ ।

    भारतले नेपालबाट वस्तु निर्यात वृद्धि हुँदा रोक्ने गरेको छ । नेपालको व्यापार घाटा कम गर्न सहयोग गरेको पाम आयल नेपालबाट धेरै निकासी भएको भन्दै भारतले २ पटकसम्म निर्यात रोक्यो । अहिले पनि त्यो कायमै छ ।

    नेपालमा भने आयात बन्देजतर्फ खासै चासो देखाउँदैन् । तर, सुपारी, मरिच, केराउ, छोकडा आयात भने अहिले रोक लगाइएको छ ।
    सरकारले एन्टिडम्पिङ ल कार्यान्वयन ल्याएपछि नेपालमा नै उत्पादन हुने वस्तु आयात गर्दा अहिले भएको भन्दा थप भन्सार शुल्क तिर्नु पर्छ भने गुणस्तरीय सामानमात्रै ल्याउन पाइने छ । छलफलकै क्रममा रहेकोले उक्त कानून भने लागू भएको छैन ।

    आयात, निर्यात दुवैमा वीरगञ्ज भन्सार अगाडि

    आ.व २०७७/७८ मा २८ वटा भन्सार विन्दुमध्ये सबैभन्दा धेरै वीरगञ्ज भन्सारबाट ५ खर्ब ११ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको छ । यसैगरी भैरवाह भन्सारबाट २ खर्ब ८१ अर्ब , बिराटनगर भन्सारबाट १ खर्ब ८९ अर्ब, सुख्खा बन्दरगाहबाट १ खर्ब ८९ अर्ब, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ खर्ब ४३ अर्ब, नेपालगञ्ज भन्सारबाट ६८ अर्ब ९४ करोड, रसुवा भन्सारबाट १७ अर्ब, मेची भन्सारबाट ४४ अर्ब बराबरको वस्तु आयात भएको छ । त्यस्तै वस्तु निर्यात गर्ने भन्सार विन्दुहरूमध्ये वीरगञ्ज भन्सार पहिलो स्थानमा रहेको छ ।

    गत आर्थिक वर्ष यस विन्दुबाट मात्रै ५३ अर्ब ७६ करोड बराबरको वस्तु निर्यात भएको छ । यसैगरी विराटनगर भन्सारबाट ३६ अर्ब ७६ करोड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २५ अर्ब ४१ करोड रूपैयाँको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।

  • नवनियुक्त अर्थमन्त्रीले भने- व्यापार घाटा न्यूनीकरणका लागि अभियान चलाऔं (भिडियो)

    नवनियुक्त अर्थमन्त्रीले भने- व्यापार घाटा न्यूनीकरणका लागि अभियान चलाऔं (भिडियो)

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदभार ग्रहण गर्दै पूँजी बजारलाई उत्साहित बनाउन सरकारको ध्यान केन्द्रित हुने बताएका छन् । उनले आफूलाई कसैको अनुहारभन्दा पनि काम चाहिने भएकाले कर्मचारीलाई सोही अनुरूप अघि बढ्न निर्देशन दिएका छन् ।

    उनले थप लगानीको अवसर सिर्जना गर्न समेत सरकारको ध्यान केन्द्रित हुने बताए । तर त्यसको लागि प्रतिवद्धता, पारदर्शिता र इमान्दारिता चाहिने उनको भनाइ थियो ।

    सरकारको कामलाई पारदर्शी बनाई जवाफदेही भएर आफ्नो क्षेत्रमा दक्षता पूर्वक काम गर्न समेत उनले निर्देशन दिएका छन् । अहिले व्यापार घाटा बढिरहेकाले यसको न्यूनीकरणका लागि अभियान नै चलाएर अघि बढ्न कर्मचारीलाई निर्देशन दिए ।

    उनले देशमा रहेको गरिबी न्यूनिकरणका लागि ठोस कार्ययोजना ल्याउने समेत बताए । नेपालको कमजोर आर्थिक अवस्थाका कारण आर्थिक वृद्धिदर समेत ऋणात्मक रहेको भन्दै त्यसलाई उकास्न सरकार लागिपर्ने बताए ।

    ‘सरकारको आम्दानीले खर्च धान्न सक्ने अवस्था छैन भने खर्च गर्ने स्रोतको उपलब्धता समेत समयमै जुटाउन कठिन छ,’ । साथै असारको अन्तिममा आएर पूँजीगत खर्च बढि हुने प्रचलनलाई समेत रोक्नु आवश्यक रहेको उनको भनाइ थियो ।

    यसैगरी देशमा व्याप्त कोरोना न्यूनिकरणका लागि आवश्यक स्रोत साधन परिचालन र व्यवस्थापन अहिलेको चुनौती रहेको रहेको उनले बताए ।

     

  • अमेरिकाको व्यापार घाटा मार्चमा ७४ अर्ब डलर

    अमेरिकाको व्यापार घाटा मार्चमा ७४ अर्ब डलर

    अमेरिकाको अर्थतन्त्रमा पछिल्ला केही महिनादेखि सुधार आइरहे पनि गत मार्च महिनामा व्यापार घाटा ७४.४ अर्ब डलरमा पुगेको छ । विदेशी सामानको आयात बढेसँगै व्यापार घाटा बढेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

    गत फेब्रुअरी महिनामा रहेको व्यापार घाटा ७०.५ अर्ब डलरको तुलनामा मार्चमा यस्तो घाटा ५.६ प्रतिशतले वृद्धि भएको अमेरिकी वाणिज्य विभागले जनाएको छ ।

    आयात ६.३ प्रतिशतले वृद्धि भएर २७४.५ अर्ब डलर पुगेको छ भने निर्यातमा पनि ६.६ प्रतिशतले सुधार आएर २०० अर्ब डलर पुगेको छ । डलर खाताका आधारमा निर्यात भन्दा आयात निकै बढी भएको छ ।

    राजनीतिक रुपमा निकै संवेदनशील मान्ने गरिएको चीनसँगको व्यापार घाटामा सुधार आएको छैन, बरु चीनसँगको व्यापार घाटा ११.६ प्रतिशतले वृद्धि भएर २७.७ अर्ब डलर भएको छ । स्वाभाविक रुपमा अमेरिकाको चीनसँगको व्यापार घाटा अंक सबैभन्दा बढी छ ।

    यस वर्षका पहिलो तीन महिना अर्थात् जनवरी, फेब्रुअरी र मार्च महिनामा अमेरिकी व्यापार घाटा कूल २१३ अर्ब डलर भएको छ जुन गत वर्षको सोही अवधिको भन्दा झण्डै ६४ प्रतिशतले बढी छ । उक्त अवधिमा कोरोनाभाइरस महामारीका कारण अमेरिकाका धेरैजसो स्थानमा कडा प्रतिबन्ध र लकडाउन गरिएका थिए ।

    संयुक्तराज्य अमेरिकाको सन् २०२० मा ६८१ अर्ब डलर व्यापार घाटा थियो । यो अंक सन् २००८ यताकै सबैभन्दा बढी हो ।

  • व्यापार घाटा बढ्दो – ८ महिनामा ८० अर्बको निर्यात, ९ खर्ब ४३ अर्बको आयात

    व्यापार घाटा बढ्दो – ८ महिनामा ८० अर्बको निर्यात, ९ खर्ब ४३ अर्बको आयात

    काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा विदेशबाट ९ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको बस्तु आयात भएको छ । सोही अवधिमा नेपालबाट भने ८० अर्ब रुपैयाँ बराबरको मात्रै सामान निर्यात भएको छ ।

    चालू आर्थिक वर्षको ६ महिनासम्म व्यापार घाटा खुम्चिँदै गएकोमा ८ महिनामा आइपुदा नेपालको वैदेशिक व्यापार घाटा वृद्धि भएको हो । फागुनमा महिनामा आयात र निर्यात दुवै वृद्धि भएको तथ्याङक विभागले प्रकाशित गरेको तथ्याङकले देखाएको छ ।

    नेपालले आर्थिक वर्ष २०७७/७८ को फागुन महिनासम्ममा ८ खर्ब ६३ अर्ब रुपैयाँ व्यापार घाटा बेहोरेको छ । जुन, अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८ खर्ब ४९ अर्बमा सीमित थियो । माघसम्ममा नेपालको व्यापार घाटा ७ खर्ब ३३ अर्ब रुपैयाँ रहेको थियो ।

    सो अवधिको अघिल्लो वर्षमा ७ खर्ब ३८ अर्ब रुपैयाँ थियो । चालू आर्थिक वर्षको ८ महिनामा आएर विदेशबाट नेपालतर्फ आउने आयातको परिणाम बढेको छ । तथ्यांक अनुसार अघिल्लो वर्षको ८ महिनामा नेपालले ९ खर्ब २४ अर्ब रुपैयाँको आयात गरेको थियो ।

    यस वर्षको फागुन महिनासम्ममा नेपालले विदेशबाट ९ खर्ब ४३ अर्ब रुपैयाँको आयात गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा १.६३ प्रतिशतको वृद्धि हो । नेपालबाट विदेशतर्फ जम्मा ८० अर्ब ७७ करोड रुपैयाँको निर्यात भएको छ ।

    अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.१८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष नेपालबाट विदेशतर्फ ७४ अर्ब ९० करोड रुपैयाँको निकासी भएको थियो ।

    ८ महिनामा नेपालबाट भारततर्फ प्रशोधित भटमासको तेल, चिया र अलैँचीलगायत बस्तुको निकासी वृद्धिहुँदा समग्र निर्यातमा भने केही सुधार देखिएको छ ।

  • व्यापार घाटा झन्डै ११ प्रतिशत घट्यो, खुसी हुने कि दु:खी !

    व्यापार घाटा झन्डै ११ प्रतिशत घट्यो, खुसी हुने कि दु:खी !

    काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को पाँच महिना व्यापार घाटामा १०.९१ प्रतिशतले कमी आएको छ । भन्सार विभागले बुधबार प्रकाशित गरेको मंसिर महिनासम्मको यो तथ्यांकले देशलाई फाइदा होइन उल्टै घाटा पुर्‍याएको बताउँछन्, पूर्व मुख्य सचिव विमल कोइराला ।

    कोइरालाका अनुसार कोरोनाको महामारीपछि भएको व्यापार घाटा कमले उल्टै देश विकासलाई असर पारेको छ । अहिले व्यापार घाटा कम हुनुको मुख्य कारण कोभिड–१९ महामारी नै हो । कोभिडका कारण देश विकासका लागि चाहिने औद्योगिक सामान, कच्चा पदार्थ, इन्जिनियरिङ सामग्रीहरू अन्य मुलुकबाट न्यून मात्रमा आयात भएका छन् ।
    देशका उद्योगधन्दा, कलकारखाना पूर्ण क्षमतामा चलेका छैनन् । नयाँ उद्योग व्यवसाय खुलेका छैनन् । यस्तो परिस्थितिमा देश विकासमा चाहिने सामग्रीको आयात कम भई व्यापार घाटा कम हुनु राम्रो कुरा होइन । यसले देशलाई दूरगामी असर गर्नेछ ।

    भन्सार विभागको तथ्यांकअनुसार आव २०७७/७८ को साउनदेखि मंसिरसम्म ९.५९ प्रतिशतले आयातमा कमी आएको छ । आयातमा कमी आइरहेको बेला निर्यातमा भने वृद्धि भएको छ । निर्यातमा वृद्धि र आयात कम हुँदा व्यापार घाटामा करीब ११ प्रतिशतले कमी आएको हो ।

    कोइराला भन्छन्, ‘हामीले उपभोग गर्ने दाल, चामल, पीठो, तेल, नुन जस्ता सामग्रीको आयातमा कमी भई व्यापार घाटा कम भएको अवस्थामा भने देश आत्मनिर्भरतातर्फ जान्छ । र, यसले देशलाई ठूलो फाइदा पुर्‍याउँछ । तर, अहिलेको तथ्याङ्कले उपभोग्य र विलासिताका सामानमा वृद्धि देखाउँछ । यो हुनु भनेको देश विकासका लागि बाधक हो ।’

    आव २०७७/७८ को यो पाँच महिनामा ५० अर्ब ५ करोड ५६ लाख ८ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको छ । आव २०७६/७७ मा सोही समयमा नेपालबाट अन्य मुलुकमा ४७ अर्ब ६१ करोड ६८ लाख ३५ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको थियो । यो निर्यातमा ५.१२ प्रतिशतले वृद्धि भएको हो ।

    ‘निर्यातमा वृद्धि हुनु अत्यन्त राम्रो कुरा हो । तर, अझै पनि हामीले आफैं उत्पादन गरेर प्रशस्त निर्यात गर्न सकिरहेका छैनौं । अहिले भएको भटमासको तेललाई हेरौं । भटमास उत्पादन हाम्रो होइन । अन्य देशबाट ल्याएर यसलाई रिफाइन गरेर निर्यात गरिन्छ । जुन सबैभन्दा धेरै नेपालबाट निर्यात हुनेमा पर्छ । भटमास आफ्नो उत्पादन हुन्थ्यो त हामीले अझ धेरै आम्दानी गर्न सक्थ्याैं’, कोइरालाले भने ।

    आव २०७७/७८ को मंसिरसम्ममा ५ खर्ब २५ अर्ब ४९ करोड ८१ लाख ४२ हजार रुपैयाँ बराबरको सामान नेपाल भित्रिएको छ । गत आवको मंसिर महिनासम्ममा नेपालमा विभिन्न मुलुकबाट ५ खर्ब ८१ अर्ब २५ करोड ७१ लाख १९ हजार रुपैयाँ बराबरको सामान आयात गरिएको थियो ।

    आव २०७६/७७ को मंसिरसम्ममा कुल कारोबार ६ खर्ब २८ अर्ब ८७ करोड ३९ लाख ५४ हजार रुपैयाँ बराबरको रहेको थियो । आव २०७७/७८ मा ५ खर्ब ७५ अर्ब ५५ करोड ३७ लाख ५१ हजार रुपैयाँ बराबरको कुल कारोबार भएको छ ।
    नेपालमा सबैभन्दा धेरै गत आवमा ४३ अर्ब ७ करोड ७८ लाख ६१ हजार बराबरको मिनरल फ्यूल, मिनरल तेललगायत सामग्री भित्रिएको छ । त्यसैगरी, यो पाँच महिनामा इलेक्ट्रिक मेशिनरी र इक्वीपमेन्टका साथमा यसका पार्टस्हरू ३६ अर्ब २४ करोड ६९ लाख ७६ हजार रुपैयाँ बराबरको नेपाल भित्र्याइएको छ ।

    यसैगरी भारतबाट मात्र नेपालमा यो पाँच महिनाको अवधिमा ३ खर्ब ४५ अर्ब ६९ करोड ९२ लाख ८५ हजार रुपैयाँ बराबरको सामान आयात भएको छ । त्यसैगरी चीनबाट सोही अवधिमा ७७ अर्ब ४६ करोड २२ लाख ५५ हजार रुपैयाँ बराबरको सामान आयात गरिरहेको छ ।

    व्यापार घाटा कम हुनुमा सरकारले गरेको नीतिगत व्यवस्था जस्तै सवारी कर्जामा कडाई, मुद्रा सटही सुविधामा कमीले पनि व्यापार घाटा कम गर्न सहयोग पुर्‍याएको छ ।

    सरकारले यो पाँच महिनामा १ खर्ब १६ अर्ब १३ करोड २० लाख २१ हजार रुपैयाँ बराबरको राजश्व उठाएको छ ।