Tag: विश्व कप छनोट

  • केनको ह्याट्रिकमा इङ्ल्यान्ड विजयी, पोल्यान्डको छैठौं जित

    केनको ह्याट्रिकमा इङ्ल्यान्ड विजयी, पोल्यान्डको छैठौं जित

    काठमाडौं । कप्तान ह्यारी केनको ह्याट्रिकप्रेरित इङ्ल्यान्डले सन् २०२२ मा कतारमा हुने फिफा विश्व कप अन्तर्गत युरोपेली छनोटमा शानदार जित निकालेको छ । वेम्वली स्टेडियममा शुक्रबार राति भएको खेलमा केनको ह्याट्रिकसँगै थ्री लायन्सले अल्वानियामाथि ५-० गोलको फराकिलो जित निकालेको हो ।

    इङ्ल्यान्डको जितमा कप्तान केनले १८, ३३ र ४५औं मिनेटपछि थपिएको १ मिनेटमा एक गोल गर्दै ह्याट्रिक पूरा गरे । ह्यारी म्याग्युएरले नवौं तथा जोर्डन हेन्डरसनले २८औं मिनेटमा गोल गरेका थिए ।

    जितसँगै इङ्ल्यान्डले विश्वकपमा सोझै छनोट हुने सम्भावना बलियो बनाएको छ । समूह आईको अर्को खेलमा पोल्यान्डले १० खेलाडीमा सीमित बनेको एन्डोरालाई ४-१ ले पराजित गरेको छ ।

    पोल्यान्डको जितमा कप्तान रोबर्ट लेवान्डोस्कीले दुई तथा कामिल जोविएक र अर्काडिअस मिलिकले १/१ गोल गरे । एन्डोराका मार्क भालेसले १ गोल फर्काए ।

    एन्डोराका रिकार्ड फर्नान्डेज पहिलो मिनेटमानै सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । जितपछि इंग्ल्यान्ड समूह ‘आई’ मा ९ खेलबाट २३ अंक जोडेर शीर्षस्थानमा छ । पराजित अल्वानिया १५ अंक सहित तेस्रो स्थानमा छ ।

    यता, जितपछि पोल्याण्ड ९ खेलबाट २० अंक सहित दोस्रो स्थानमा छ । समान खेलबाट एन्डोरा ५ अंक जोडेर पाँचौ स्थानमा छ ।

  • विश्व कप छनोटमा अर्जेन्टिना अझै अपराजित, उरुग्वेविरुद्ध डी मारियाको निर्णायक गोल

    विश्व कप छनोटमा अर्जेन्टिना अझै अपराजित, उरुग्वेविरुद्ध डी मारियाको निर्णायक गोल

    काठमाडौं । एन्जल डी मारियाको निर्णायक गोलमा अर्जेन्टिनाले कतार विश्व कपको दक्षिण अमेरिका छनोटमा उरुग्वेलाई पराजित गरेको छ।

    शनिबार बिहान उरुग्वेको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोलको नतिजामा पराजित गर्दै  छनोटमा आठौं जित हासिल गरेको हो ।

    अर्जेन्टिनाको जितमा कप्तानसमेत रहेका एन्जेल डी मारियाले खेलको सातौं मिनेटमा निर्णायक गोल गरे । नियमित कप्तान लियोनल मेस्सी भने खेलको ७६औं मिनेटमा मात्रै मैदान प्रवेश गरेका थिए ।

    जितसँगै अर्जेन्टिनाले १२ खेलबाट ८ जित र ४ बराबरसहित २८ अंक जोड्दै दोस्रो स्थानमा छ । अर्जेन्टिना जारी छनोटमा अपराजित छ ।

    दक्षिण अमेरिकी छनोटबाट ६ खेल अघिनै ब्राजिल विश्वकपमा छनोट भएको छ । अर्जेन्टिनाले समेत तेस्रो स्थानको इक्वेडरभन्दा ८ अंकले अग्रता बनाएको छ ।

    पराजित उरुग्वे भने १३ खेलबाट ४ जित, ४ बराबर र ५ हारका साथ १६ अंक बनाएर तालिकाको छैठौं स्थानमा छ ।

     

  • युवा जोश र बोल्ड बोससहित २० वर्षपछि इराकविरुद्ध मैदानमा उत्रिँदै नेपाल

    युवा जोश र बोल्ड बोससहित २० वर्षपछि इराकविरुद्ध मैदानमा उत्रिँदै नेपाल

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीले २० वर्षपछि भोलि इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ । आफ्नो नेतृत्वमा पहिलो अन्तर्राष्ट्रिय खेलका लागि नयाँ स्वरूपको नेपाली टोलीसहित कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बसरा पुगिसकेका छन् ।

    विश्वकपका छनोटका बाँकी खेलको तयारी स्वरूप भोलि नेपालले फिफा बरियतामा आफूभन्दा १ सय ३ स्थानमाथि रहको इराकसँग खेल्न लागेको हो । चार खेलको तालिका बोकेर भ्रमणमा निस्किएको नेपाली टोलीले इराकविरुद्धको मैत्रीपूर्ण खेलपछि विश्वकप तथा एसियन कप छनोटका बाँकी तीन खेल कुवेतमा खेल्ने छ ।

    समूह ‘बी’ मा रहेको नेपालले यसअघिका पाँच खेलबाट ३ अंक मात्रै जोडेको छ । अबका खेलको नतिजामा धेरै आशावादी हुन नसकिए पनि प्रशिक्षक अब्दुल्लाहले गरेको वाचा र खेलाडी छनोटमा गरेको बोल्ड निर्णयले नेपाली फुटबलमा केही न केही फरक पर्ने अपेक्षा नेपाली फुटबलप्रेमीले गरेका छन् ।

    यसअघि नेपालले इराकसँग तीन खेल खेलेको छ र तीनैवटामा हार व्यवहारेको छ । नेपाल र इराकको पछिल्लो भिडन्त विश्वकप छनोट २००१ मा भएको थियो । पहिलो खेल ९-१ को नतिजामा नेपाल हारेको थियो । इराकको राजधानी बगदादस्थित अल साहब रंगशालामा भएको खेलमा नेपालका लागि निराजन रायमाझीले गोल गरेका थिए ।

    सोही वर्ष कजाखस्तानमा भएको खेलमा नेपालले ४-२ को साँघुरो हार बेहोरेको थियो । उक्त खेलमा नेपालका लागि निराजनसँगै हरि खड्काले पनि १-१ गोल गरेका थिए । त्यसभन्दा अगाडि नेपालले इराकसँग १९८२ मा खेलेको थियो । उक्त खेलमा पनि नेपाली टोली ३-० ले पराजित भएको थियो ।

    प्रशिक्षक अब्दुल्लाहको परीक्षा

    इराकविरुद्धको खेल नयाँ प्रशिक्षक अब्दुल्लाहका लागि एउटा कठिन एवम् महत्त्वपूर्ण परीक्षा यसकारण पनि हुने छ कि उनले नेपाल आएलगत्तै ठूला वाचाहरू गरेका छन् । जितको अपेक्षा कम भए पनि आफूले भनेजस्तो ‘सुन्दर फुटबल’ नेपाली टोलीबाट निकाल्ने चुनौति उनलाई छ ।

    नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको रूपमा चैत २२ गते सार्वजनिक भएका अब्दुल्लाहले नेपालले अब डिफेन्सिभ फुटबल नखेल्ने बताएका थिए । उनले पहिलो पटक मिडियामा सार्वजनिक हुँदै नेपाली खेलाडीहरूमा धेरै सम्भावना रहेको र आफूले त्यसलाई निखार्ने दृढ लक्ष्य लिएको सुनाएका थिए । उनी आफ्नो रणनीतिमा स्पष्ट देखिएका थिए र बारम्बार नेपालले अब सुन्दर फुटबल खेल्नेमा जोड दिएका थिए ।

    अरू केही वाचा नगरे पनि सबै नेपालीले आफ्नो टिममा गर्व गर्ने वातावरण सिर्जना गर्ने संकल्प गरेका अब्दुल्लाहले टोली छनोटमा आफ्नो ‘बोल्डनेस’ को छनक दिएका छन् । तर, उनको छनोट र प्रभावको मुल्याङ्कन अबका खेलले मात्रै प्रष्ट्याउने छ ।

    प्रशिक्षक अब्दुल्लाहले ३-४-३ फर्मेसेनमा ब्युटिफुल-अट्याकिङ फुटबल खेल्ने बताएका थिए । नेपालका लागि तीन वर्षयता राष्ट्रिय टिम, अन्डर-१९ र यु २३ मा ५१ जनाले खेलेको र ती खेलाडीको एक-एक रिपोर्ट आफूसँग भएको दाबी गरेका अब्दुल्लाहले अहिले आफूसँग भएको टोलीबाट पनि त्यो प्रमाणित गरिसकेका छन् ।

    नेपाल र इराकबीच करिब दुई दशकमा खेल हुने गरेको छ र यसपटक पनि यस्तै भयो । २००७ मा एसियन कप च्याम्पियन बनेको इराक अहिले फिफा बरियतामा ६८औं स्थानमा छ भने नेपाल १७१ स्थानमा छ ।

    तर, यसअघिको तुलनामा नेपाल र इराक फरक अवस्थामा मैदानमा भिड्दैछन् । यद्यपि, दुवै टोली विश्वकप छनोटको तयारीमा छन् । नेपाल इराकविरुद्धको खेलपछि विश्वकप-एसियन कप छनोटका लागि कुवेत जानेछ । तर, त्यसअघि कुवेतसँग मिल्दो-जुल्दो वातावरण भएको इराकविरुद्धको खेलले नेपाललाई विश्वकप छनोटका लागि फाइदा हुनसक्छ ।

    नेपाली राष्ट्रिय टोलीका कप्तान किरण कुमार लिम्बुले पनि यो मैत्रीपूर्ण खेल नेपालका लागि एक अवसर भएको बताउँदै यसले फाइदा हुने बताएका छन् । ‘इराकविरुद्ध खेल्न पाउनु नेपालका लागि राम्रो अवसर हो,’ गोलकिपर किरणले भने, ‘यो खेलबाट हामीलाई विश्वकप छनोटमा पनि फाइदा हुन्छ ।’

    कुवेती प्रो-लाइसेन्स होल्डर प्रशिक्षक अल्मुताइरीले तयार गरेको नेपाली टोलीमा ६ जना नयाँ अनुहार छन् । उनले अप्रिलमा भएको थ्री नेसन्स कप विजेता नेपाली टोलीबाट १३ खेलाडी परिवर्तन गरेका छन् ।

    गोलकिपर दीप कार्कीले अहिलेसम्म राष्ट्रिय टोलीमा डेब्यू गरेका छैनन् । उनीसँगै गोलकिपर विशाल सुनार, डिफेन्डर गौतम श्रेष्ठ, मिडफिल्डर कमल थापा, सुरज जेउ ठकुरी, आयुष घलान र मनिष डाँगी पनि पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।

    अहिले विदेश भ्रमणमा निस्किएको नेपाली राष्ट्रिय टोलीका खेलाडीको औसत उमेर २३ वर्षको छ । यो सम्भवत नेपालको अहिलेसम्म कै युवा टोली हो ।

    टोलीमा भएका रोहित चन्द र कप्तान किरण सिनियर खेलाडी हुन् भने विशाल राई, नवयुग श्रेष्ठ, अञ्जन विष्ट र अनन्त तामाङ नेपालका लागि धेरै समयदेखि खेल्दै आएका छन् ।

    नेपालको पछिल्ला ६ खेलको नतिजा

    २०१९ नोभेम्बर १९ कुवेत १-० नेपाल

    २०२० नोभेम्बर १३ बंगलादेश २-० नेपाल

    २०२० नोभेम्बर १७ बंगलादेश ०-० नेपाल

    २०२१ मार्च २५ किर्गिस्तान यु२३ ०-० नेपाल

    २०२१ मार्च २७ बंगलादेश ०-० नेपाल

    २०२१ मार्च २९ बंगलादेश १-२ नेपाल

    विश्वकप छनोटमा नेपालका बाँकी खेल

    जुन ३ नेपाल भर्सेज चाइनिज ताइपेइ

    जुन ७ नेपाल भर्सेज जोर्डन

    जुन ११ नेपाल भर्सेज अस्ट्रेलिया

    इराक-नेपाल हेड टू हेड

    कूल खेल-३

    इराक विजयी-३

    नेपाल विजयी-०

    १९९२ एसियन गेम्समा इराक ३-० नेपाल

    २००१ विश्वकप छनोटमा इराक ९-१ नेपाल

    २००१ विश्वकप छनोटमा इराक ४-२ नेपाल

    इराकले गरेको गोल संख्या- १३

    नेपालले गरेको गोल संख्या- ३

    नेपालका लागि गोल कर्ता खेलाडी निराजन रायमाझी- २, हरि खड्का-१

    भोलि हुने खेल

    शनिबार : इराकविरुद्ध नेपाल ।

    भेन्यु: अल्फायहा रंगशाला ।

    समय: स्थानीय समय साँझ ७ बजेर ३० मिनेट (नेपालमा राति १०:१५ बजे)

    खेल बन्द रंगशालामा खेल हुने ।

    अहिलेको नेपाली टोली:

    गोलकिपर्स: किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

    डिफेन्डर्स: रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकाश खवास

    मिडफिल्डर्स: विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

    अट्याकर्स: अभिषेक रिजाल, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

  • नेपालले विश्व कप छनोटका सबै खेल कुवेतमा खेल्ने

    नेपालले विश्व कप छनोटका सबै खेल कुवेतमा खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीले विश्व कप २०२२ तथा एएफसी एसियन कप २०२३ छनोटका बाँकी खेल कुवेतमा खेल्ने भएको छ ।

    एसियाली फुटबल महासंघले आज सार्वजनिक गरेको तालिकाअनुसार कोरोना भाइरसका कारण स्थगित भएका बाँकी खेल मे ३१ देखि जुन १५ सम्म कुवेतमा हुने भएका हुन् । एएफसीले समूह ‘ए’ खेलहरू चीनमा, समूह ‘बी’ का कुवेत, समूह ‘सी’का बहराइन, समूह ‘डी’का साउदी अरब, समूह ‘ई’का कतारमा, समूह ‘एफ’का जापानमा, समूह ‘जी’का यूएई र समूह ‘एच’का दक्षिण कोरियामा हुने तय भएको छ ।

    नेपालले अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइसँग खेल्न बाँकी छ ।