Tag: राजनीति

  • लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेको हुँ: मुख्यमन्त्री यादव

    लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेको हुँ: मुख्यमन्त्री यादव

    जनकपुरधाम । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लोकतन्त्रको संस्थागत विकासका लागि आफूले मुख्यमन्त्री पद स्वीकार गरेको बताएका छन्  ।
    आज जनकपुरधाममा पत्रकार सम्मेलन  गरी उनले आफू वर्तमान संविधानअनुसार  मुख्यमन्त्री बनेको जानकारी दिँदै  मधेसका समस्या समाधान गर्न पद स्वीकार गरेको स्पष्ट पारे ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभामा सबैभन्दा ठूलो राजनीतिक दल भएकाले संविधानको धारा १६८ को उपधारा  (३) बमोजिम मुख्यमन्त्री भएको बताए।
    उनले मधेसका समस्या समाधान गर्न सबै राजनीतिक दलको सहयोग आवश्यक भएको बताए मुख्यमन्त्री यादवले विध्वंसात्मक गतिविधि त्याग्न सम्बद्ध पक्षलाई अनुरोध गर्दै वस्तुनिष्ठ समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई अनुराधे गरे ।
  • नारायणकाजीको दिक्दारी- जेनजी विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन्

    नारायणकाजीको दिक्दारी- जेनजी विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन्

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले जेनजी व्रिदोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै नचेतेको टिप्पणी गरेका छन्। मधेश प्रदेशले मुख्यमन्त्रीलाई होटेलमा शपथ गराएपछि उनले यस्तो बताएका छन्।

    उनले भनेका छन्, ‘हिजो मधेस प्रदेशमा तत्कालीन प्रदेश प्रमुख मार्फत एक होटेलमा जुन प्रकारले कथित मुख्यमन्त्रीलाई शपथ गराइयो, यसले के स्पष्ट गर्दछ भने राजनीतिक पार्टी र नेताहरू यत्रो जेनजी विद्रोह पछि पनि चेतेका छैनन्।’

    जेनजी विद्रोहको एउटा प्रमुख मुद्दा राजनीति र राजनीतिक पार्टीहरूको शुद्धीकरण र रूपान्तरण नै भएको बताए।

    उनले थपेका छन्,‘यो कुरालाई लत्त्याएर अघि बढ्न खोज्ने प्रवृत्ति प्रमुख राजनीतिक पार्टी र नेताहरूमा अहिले पनि विभिन्न घटनाहरूमा देखिएका छन्, जुन ज्यादै घातक छ ।’

    जेनजी आन्दोलनकारी र यो विद्रोहको सकारात्मक पक्षलाई समर्थन गर्ने सबैले पुनः एक पटक राजनीतिक पार्टीहरूको शुद्धीकरण तथा रूपान्तरणको मुद्दालाई सार्थक एवं परिणाममुखी बनाउन जोडदार रूपमा आवाज उठाउनु पर्ने उनले बताए।

  • विद्यार्थी संगठनबीच एकताका लागि क्रान्तिकारीले बनायो कार्यदल

    विद्यार्थी संगठनबीच एकताका लागि क्रान्तिकारीले बनायो कार्यदल

    काठमाडौं । १० वाम दलको एकतालाई स्वागत गर्दै माओवादीनिकट अखिल क्रान्तिकारीले विद्यार्थी संगठनबीचको एकतालाई व्यवस्थित गर्न कार्यदल बनाएको छ ।

    अध्यक्ष विजयप्रकाश शर्माको अध्यक्षतामा बसेको केन्द्रीय कार्यलय बैठकले कात्तिक २९ गते पेरिसडाँडामा पदाधिकारी बैठक बोलाएको छ। त्यस्तै उपत्यकास्तरीय भेला कात्तिक ३० गते आरआरमा गरिने भएको छ ।

    बैठकले क्रान्तिकारी, अनेरास्ववियू लगायत एकतामा आबद्ध दलका विद्यार्थी संगठनबीचको एकताको समन्वय गर्न उमेश कडेल, मदन ढकाल, दीपा जैसी र कृष्ण सुनार सम्मिलित कार्यदल बनाएको छ ।

    यस्तै संगठनात्मक कार्यदलमा अटल आचार्य, विराज थापा, ममता अधिकारी र अभिमन्यू यादव छन् ।

    सोमबारको बैठकमा तत्कालीन पार्टी उपमहासचिव शक्तिबहादुर बस्नेत संगठनका फ्रयाक्सन इन्चार्ज हिमाल शर्मा र सहइन्चार्ज पञ्चा सिंह उपस्थित थिए ।

  • प्रतिगामी षडयन्त्रविरुद्ध एमालेले आज ७५३ पालिकामा जनप्रदर्शन गर्ने

    प्रतिगामी षडयन्त्रविरुद्ध एमालेले आज ७५३ पालिकामा जनप्रदर्शन गर्ने

    काठमाडौँ । नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज मंगलबार देशभरका ७ सय ५३ पालिकामा जनप्रदर्शन हुँदैछ । प्रतिगामी षडयन्त्रविरुद्ध एमालेले देशैभर जनपरिचालन गर्ने निर्णय गरेअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रुपमा जनप्रदर्शनका कार्यक्रम गर्न लागेको हो ।

    यसअघि कात्तिक २२ गते देशका ६ हजार ७ सय ४३ वटै वडामा वडा भेला भइसकेका छन् । भेलामा भदौ २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, संसदको गैरसंवैधानिक विघटन र एमालेको आगामी बाटोका बिषयमा कार्यकर्ताहरुलाई प्रष्ट पारिएको एमालेले जनाएको छ । आज मंगलबारको कार्यक्रममा कतिपय पालिकाले मोटरसाइकल र्यालीमार्फत एमालेको शक्ति प्रदर्शन गर्दैछन् भने कतिपय पालिकाका केन्द्रमा नारा जुलुससहितका कार्यक्रम राखिएको छ । कार्यक्रममा जनतालाई जगाउने नाराहरु पार्टी केन्द्रले तय गरेको छ ।

    प्रदर्शन भव्य बनाउन हरेक सहभागीले एमालेको झण्डासहित जनप्रदर्शनमा सहभागी हुने, जनप्रदर्शन घना बस्ती भएको ठाउँमा गर्ने, जनप्रदर्शनको अन्त्यमा छोटो कोणसभा गर्ने र कोण सभामा वर्तमान राजनीतिक अवस्थाका बारेमा स्पष्ट पार्न नेताहरुलाई एमालेले निर्देशन गरेको छ । जनप्रदर्शनका तस्विर, भिडियो र मुख्य विषयवस्तु हरेक सदस्यले सामाजिक सञ्जालमा शेयर गर्न र सञ्चार माध्यमहरुमा पठाउन पनि एमालेले यसअघि नै पार्टी महासचिव शंकर पोखरेलले निर्देशन गरिसकेका छन् ।

    आजको जनप्रदर्शन कात्तिक २९ गते जिल्लास्तरीय आमसभा, मंसिर ६ गते काठमाडौँमा हुने जनप्रदर्शन र आगामी महाधिवेशनको प्रचारको रुपमा पनि रहने एमालेले जनाएको छ ।

  • आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

    आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

    काठमार्डाैँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज मंगलबार बिहान साढे ११ बजे पार्टी कार्यालय ललितपुरको सानेपामा बस्दैछ ।

    आइतबार र सोमबार स्थगित दुई दिन स्थगित भएको केन्द्रीय समिति बैठक पार्टी कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    असोज २८ गतेदेखि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चलिरहेको छ । बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे छलफल भइरहेको छ । महाधिवेशन कहिले गर्ने भन्नेबारे बैठकमा नेताहरूका फरक–फरक धारणा छ । पार्टी नेता तथा पूर्वमन्त्री मो. आफताब आलमको निधनपछि केन्द्रीय समिति बैठक दुई दिन स्थगित गरिएको थियो ।

  • बिहारमा आज दोस्रो चरणको विधानसभा चुनाव

    बिहारमा आज दोस्रो चरणको विधानसभा चुनाव

    काठमाडौँ । भारतको बिहारमा आज मंगलबार दोस्रो र अन्तिम चरणको विधानसभा निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान तालिका भएकाले मतदाता मतदानमा सहभागी हुँदैछन् । १२२ सिटका लागि १ हजार ३ सय २ उम्मेदवार चुनावीमैदानमा छन् ।

    ३ करोड ७० लाखभन्दा बढी मतदाता मतदानमा सहभागी हुने अपेक्षा गरिएको छ। तीमध्ये १ करोड ७५ लाख महिला छन् । ४५ हजार ३ सय ९९ मतदान केन्द्रमा मतदान व्यवस्था मिलाइएको छ । ४० हजार ७३ मतदान केन्द्र ग्रामीण क्षेत्रमा छन् ।

    नवादा जिल्लाको हिसुआ क्षेत्र सबैभन्दा बढी मतदाता भएको भूगोल हो । यहाँ मात्रै ३.६७ लाख मतदाता छन् । त्यस्तै लौरिया, चनपटिया, रक्सौल, त्रिवेणीगंज, सुगौली र बनमखी निर्वाचन क्षेत्रहरूमा प्रत्याशीको संख्या सबैभन्दा बढी अर्थात् २२–२२ जना छन् । बिहारमा मतदानका कारण नेपालमा सीमा जोडिएका मधेशका थुप्रै जिल्लामा नेपाल भारत आउजाउ पनि निषेध गरिएको छ ।

    नेपाल सीमासँग जोडिएका पश्चिम चम्पारण, पूर्वी चम्पारण, सीतामढी, मधुबनी, सुपौल, अररिया र किशनगंज लगायतका जिल्लामा मतदान हुन लागेको हो ।

  • लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन मंसिर ८ गतेदेखि बस्ने

    लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन मंसिर ८ गतेदेखि बस्ने

    रुपन्देही। लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन मंसिर ८ गते बस्ने भएको छ ।

    मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन मंसिर ८ गते सोमबारका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए।

    बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ,’ प्रवक्ता पन्थीले भने, ‘संवैधानिक व्यवस्थाअनुसार सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।’

    हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा स्थानीय तहका कर्मचारीहरूको सेवा९सुविधासम्बन्धी संशोधन गर्न बनेको विधेयक र लुम्बिनी अध्ययन अनुसन्धान प्रशिक्षण प्रतिष्ठान विधेयक दर्ता भइसकेका छन् । त्यसै गरी, दलित अधिकार सम्बन्धी विधेयक र बडघर सम्बन्धी विधेयक दर्ता गर्ने तयारी छ ।

    त्यसै गरी विभिन्न समितिका प्रतिवेदनहरू र महालेखा परीक्षकको प्रतिवेदन पनि दर्ता भई हिउँदे अधिवेशनमा छलफलका लागि प्रस्तुत हुनेछन् । लुम्बिनीमा गत भदौ ३१ गते वर्षे अधिवेशन अन्त्य भएको थियो । यो सातौँ अधिवेशन हो ।

  • जेनजी रिभोलुसनका संयोजक अर्जुन शाहीले पत्रकार सम्मेलनमार्फत ‘षड्यन्त्रको पर्दाफास’ गर्दै

    जेनजी रिभोलुसनका संयोजक अर्जुन शाहीले पत्रकार सम्मेलनमार्फत ‘षड्यन्त्रको पर्दाफास’ गर्दै

    काठमाडौं । जेनजी रिभोलुसन नेपालका संयोजक तथा आन्तरिक सरकार गठन गर्ने वार्ता समितिका सहसंयोजक अर्जुन शाहीले आज पत्रकार सम्मेलन गरेर आफूविरुद्ध भएको षड्यन्त्रको पर्दाफास गर्ने बताएका छन् ।

    केही दिनअघि पक्राउ परेका शाही रिहा भएपछि आफूविरुद्ध क-कसले षडयन्त्र गरे भनेर पत्रकार सम्मेलनमार्फत जानकारी दिन लागेका हुन् । शाहीले आफूलाई फसाउन जेनजी आन्दोलनको उपलब्धि हत्याउन एकाएक जेनजी अगुवा बनेर आएका केही हाइज्याकरहरु संलग्न रहेको बताए ।

    जेनजी आन्दोलन र त्यसको उपलब्धिबाट नेता बन्न खोजेका केही अभियन्ताले आफूलाई साइड लगाउन प्रयास गरेको र नयाँ तथा पुराना दलका नेता मिलेर फसाउन खोजे पनि आफू कानूनबमोजिम नै बाहिर आएको दाबी गरे ।

    केही जेनजी अगुवा भन्नेले पहिचानवादी राजनीतिका नाममा जातीय विखण्डन ल्याउन खोजिरहेको र कतिपयले आफूलाई नै सर्वेसर्वा बनाएर सरकारलाई दबाब दिइरहेकाले आन्दोलनको मुख्य घटक जेनजी रिभोलुसन राजनीतिबाहिर रहेर एजेण्डामा काम गर्ने उनको भनाइ छ ।

  • अलोकतान्त्रिक सरकारबाट भएको प्रतिनिधि सभा विघटनसमेत अलोकतान्त्रिक र असंवैधानिक

    अलोकतान्त्रिक सरकारबाट भएको प्रतिनिधि सभा विघटनसमेत अलोकतान्त्रिक र असंवैधानिक

    विराटनगर । नेकपा एमालेका पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले अहिलेको सरकार चुनाव गराउने पक्षमा नरहेको बताएका छन् ।

    सुरक्षा निकायबाट खोसिएका हतियार, भागेका अपराधी खुलेआम बाहिर राखेर सरकारले कस्तो चुनाव गराउँछ भनेर उनले प्रश्न गरे । प्रेस चौतारीले झापाको दमकमा सोमबार गरेको भेटघाट कार्यक्रममा उनले अहिलेको सरकार नै असंवैधानिक रहेको दाबी गर्दै यस्तो सरकारबाट लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियाको अपेक्षा गर्न नसकिने बताए ।

    निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका नेता दाहालले भने, ‘अहिलेको सरकारले गठन गरेको छानबिन आयोगको समेत औचित्य र कानूनी आधार छैन ।’ उनले अलोकतान्त्रिक सरकारबाट भएको प्रतिनिधि सभा विघटनसमेत अलोकतान्त्रिक र असंवैधानिक रहेको बताए । उनले भने, ‘एमाले संसद पुनःस्थापनको मागसहित जनताको बीचमा गएको छ ।’ उनले अहिलेको राजनीतिक र संवैधानिक गतिरोधको अन्त्य संसद पुनःस्थापना बाटै हुने बताए ।

    जेन्जीले अघि सारेका मागसमेत संसद पुनःस्थापनापछि गठन हुने सरकारले नै पूरा गर्ने उनको दाबी छ । उनले केपी ओली नेतृत्वको सरकारले सुशासनको पक्षमा दर्बिलो काम गरिरेहेको अवस्थामा जेन्जी आन्दोलनमा घुसपैठ गरेर हिंसाको माध्यमबाट विस्थापन गरिएको बताए ।

    भेटमा एमाले केन्द्रीय सदस्य रोमनाथ ओलीले संसद पुनःस्थापनको पक्षमा जिल्लामा सशक्तरुपमा जनपरिचालन भइरहेको जानकारी दिए ।

    कार्यक्रममा प्रदेश सभा सदस्य होमबहादुर थापा, एमाले झापा उपाध्यक्ष शिव ढुंगेल, सचिव तुलसी कार्की, नगर अध्यक्ष राम पौडेल, अनेमसंघ अध्यक्ष लिला दाहाललगायतको आतिथ्यता रहेको थियो ।

  • प्रभु साहको तर्कः वर्तमान व्यवस्था राजनीतिक लुट एवम् भ्रष्टाचारको ओढार

    प्रभु साहको तर्कः वर्तमान व्यवस्था राजनीतिक लुट एवम् भ्रष्टाचारको ओढार

    काठमाडौँ । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले वर्तमान संविधान खारेजीको माग गरेका छन् । मधेश प्रदेशमा मु्ख्यमन्त्री नियुक्ति विषयलाई लिएर उनले वर्तमान संवैधानिक व्यवस्था असफल भएको बताएका छन् । उनले यो व्यवस्था अनैतिक राजनीतिक लुट र भ्रष्टाचारको ओढारमा सीमित भएको तर्क गरेका छन् ।

    उनले भनेका छन्, ‘मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिले फेरि एकपटक पुष्टि भयो कि वर्तमान संवैधानिक व्यवस्था असफल मात्र हैन अनैतिक राजनीतिक एवम् लुट–भ्रष्टाचारको ओढार हो ।’ उनले समस्याको मुख्य जडको रूपमा रहेको गलत संवैधानिक प्रावधानलाई छोडेर एक अर्कालाई मात्र दोषारोपण गर्नु फेरि अर्को बेइमानी हुने बताउँदै गलत संवैधानिक व्यवस्थाको विरोध गर्न र नक्कली संविधान निर्मातालाई दण्डित गर्न आग्रह गरेका छन् ।

    उनले भनेका छन्, ‘देशवासीसँग विनम्र आग्रह छ, वर्तमान लुटकारी व्यवस्थामाथी पुनर्बिचार गर्नुस् । खासगरी संविधान निर्माताहरूलाई भन्न चाहन्छु, तपाईंहरूले आफनो गल्ती स्वीकार्नुस् र आत्मलोचित भई समयमै संविधान खारेजीको पक्षमा आउनुस् । यसैमा सबैको भलाई छ ।’

  • मधेश सरकारमा सहभागी मन्त्रीलाई तत्काल फिर्ता हुन राप्रपाको निर्देशन

    मधेश सरकारमा सहभागी मन्त्रीलाई तत्काल फिर्ता हुन राप्रपाको निर्देशन

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेश सरकारमा सहभागी मन्त्रीलाई तत्काल फिर्ता हुन निर्देशन दिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारबाट फिर्ता नभए कारवाहीको चेतावनी दिएका छन् ।

    एमालेका सरोज यादव मुख्यमन्त्री नियुक्त भएलगत्तै राप्रपा सांसद कन्चन बिच्छा मन्त्री नियुक्त भएकी थिइन् । अध्यक्ष लिङ्देनले यो प्रकरणलाई गम्भीररुपमा लिएको जनाएका छन् ।

    उनको वक्तव्यमा भनिएको छ, ‘मधेश प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

    उनले थपेका छन्, ‘यो अनुशासनको गम्भीर उल्लंघन हो। राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ। अन्यथा विधान बमोजिम कारबाही हुने जानकारी गराउँछु।’

  • कांग्रेस महामन्त्री गगन थापाको दाबीः महाधिवेशनपछिको नेतृत्व नै आमनिर्वाचनमा जान योग्य

    कांग्रेस महामन्त्री गगन थापाको दाबीः महाधिवेशनपछिको नेतृत्व नै आमनिर्वाचनमा जान योग्य

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतको निर्वाचनले नयाँ संसद ल्याउने र अहिलेको संविधानलाई पनि सही मार्गमा ल्याउने बताएका छन् । उनले निर्वाचनअघि नै कांग्रेसको महाधिवेशन हुनु पर्ने कुरा पनि दोहो¥याएका छन् । महाधिवेशनबाट आउने नेतृत्वले नै निर्वाचनको सामना गर्ने उनको तर्क छ । उनले फेसबुकमा निर्वाचन र संविधानबारे लेखेका छन्, ‘फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ, संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन ।’

    उनले नेपाली कांग्रेस पार्टीका तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पनि यही विषय प्रस्तुत गरेको र कांग्रेसको निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेको बताए । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय पनि यही भएकाले कांग्रेस अहिले कतै अलमलमा नपरेको थापाको भनाइ छ । निर्वाचन र संविधानबारे प्रष्ट कांग्रेस निर्वाचन अघि नै पार्टी महाधिवेशन गराउनु पर्नेमा उनले भनेका छन्, ‘अधिवेशनबाट आउने नेतृत्वले नै निर्वाचन लड्न योग्य बनाउँछ ।’
    उनले लेखेका छन्, ‘फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ। संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन।
    नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेका छौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय हो। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल यो विषयका सन्दर्भमा होइन। यस सन्दर्भमा हामी स्पष्ट छौँ ।
    निर्वाचनअघि अधिवेशन गर्नु पर्छ, किनकि अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो । अहिलेको छलफल र अलमल यही विषयमा मात्र हो, फागुन २१ गतेको निर्वाचनका बारेमा होइन । नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ। यसमा कसैले पनि द्विविधा नराखौँ ।’

  • राष्ट्रिय मुक्ति पार्टीको धारणा–सभामुखलाई महाभियोग लगाऔँ, प्रदेश प्रमुख हटाउन डेलिगेसन जाऔँ

    राष्ट्रिय मुक्ति पार्टीको धारणा–सभामुखलाई महाभियोग लगाऔँ, प्रदेश प्रमुख हटाउन डेलिगेसन जाऔँ

    काठमाडौँ । ठूलो दलको हैसियतमा मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि उनी विवादित भएकी छिन् ।

    सोमबार कानून व्यवसायीहरुसँग परामर्शपछि सरकार गठन आह्वान गर्ने तयारीमा रहेकी भण्डारीले त्यसो नगरी सोमबार बिहान हठात् प्रदेश राजधानी बाहिर होटलमा धारा १६८ उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गरेपछि उनलाई हटाउनु पर्ने आवाज उठेको छ ।

    रष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव झाले मधेश प्रदेशमा संविधानको घोर उल्लंघन भएको बताउँदै सभामुख रामचन्द्र मण्डलमाथि महाभिवयोग लगाउन र प्रदेश प्रमुख भण्डारी हटाउन मधेशको सर्वदलीय डेलिगेसन राष्ट्रपतिकहाँ जानु पर्ने सझुाएका छन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘झुठ, फरेब, धोकाधढी गरेरै सत्ता सञ्चालन गरेका राज्यधारीहरुले फेरि एकपटक मधेश प्रदेशमा संविधानको घोर उलंघन र लोकतान्त्रिक मूल्यमान्यताको धज्जी उडाएका छन् । दुईवटा काम सँगै गरौँ, पहिलो सभामुखमाथि महाअभियोग लगाउँ र सर्वदलीय डेलिगेसन राष्ट्रपति कहाँ पुगि प्रदेश प्रमुख हटाउन लगाऔं । साथै सबै मिलेर एमालेविहीन मधेश प्रदेशको संकल्प लिउँ। विधि प्रक्रिया नमान्ने पार्टी चाहिदैँन।’

  • एमालेमा फर्किनेहरुलाई महाधिवेशन आयोजकदेखि जिल्लामा समेत वरियतामा प्राथमिकता

    एमालेमा फर्किनेहरुलाई महाधिवेशन आयोजकदेखि जिल्लामा समेत वरियतामा प्राथमिकता

    काठमाडौँ । नेकपा एमालेले पार्टी छाडेकाहरुलाई ‘घर फर्क अभियान’ चलाएको छ । यो क्रममा सोमबार काठमाडौँमा हुने कार्यक्रममा एमाले छाडेर बाहिर बसेका एक सय भन्दा बढी नेता कार्यकर्ता फर्कँदैछन् ।

    पार्टीमा फर्किनेहरुलाई विशेष किसिमले स्वागत गरिने एमाले नेता महेश बस्नेतले बताए । उनले भने, ‘फर्किन चाहनेहरुलाई विभिन्न दबाब र प्रलोभन दिइएकाले नाम गोप्य राखिको छ ।’

    सोमबार दिउँसो राष्ट्रिय सभागृहमै ‘घर फर्क राष्ट्रिय अभियान’ आरम्भ हुँदैछ । काठमाडौँको कार्यक्रमपछि जिल्लामा पनि पार्टीमा फर्काउने अभियान चलाइने एमालेले जनाएको छ । फर्किएकालाई ११ औं महाधिवेशनमा सहभागी हुने प्रयोजनका निम्ति पार्टीले केही न केही व्यवस्था गर्ने संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको भनाइ छ । उनका अनुसार सदस्यता नवीकरण र महाधिवेशन प्रतिनिधि चयनको प्रक्रियामा सहभागी हुने अवसर पनि दिइने छ ।

    सामान्यतया महाधिवेशनको मिति तोकिएपछि सदस्यता नवीकरण र स्थानान्तरण बन्द हुन्छ । तर, पार्टीमा फर्किएर काम गर्न चाहनेहरूका हकमा कुनै न किसिमले सहज बनाउने निर्णय गरिने अधिकारीले बताए ।

    उनका अनुसार, केही नेता आयोजकका रूपमा महाधिवेशनमा सहभागी हुने छन् । फर्किनेहरूलाई पार्टी छोड्दाको हैसियतभन्दा तल नपारिने नीति लिइएको एमालेस्रोतले जनाएको छ ।

  • अघिल्लो दिनसम्म धारा २ बारे ध्यानाकर्षण, भोलिपल्ट धारा ३ अनुसार मन्त्री

    अघिल्लो दिनसम्म धारा २ बारे ध्यानाकर्षण, भोलिपल्ट धारा ३ अनुसार मन्त्री

    काठमाडौँ । कामचलाउ मुख्यमन्त्रीसँगै बिदा भएर उपचारका लागि काठमाडौँ हिँडेकी मधेश प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले बर्दिबासको होटल पानसमा ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि मधेशको राजनीतिले देशै तरंगित पारेको छ । निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले नै मधेशमाथि धोका भएको प्रतिक्रिया दिइसकेका छन् । यता, उनै सोनलले दोस्रोपटक धोका पाएका छन् ।

    आइतबारसम्म सोनलसहितको गठबन्धनमा संविधानको धारा १६८ उपधारा २ अनुसार सरकार बनाउन अपिल गर्दै प्रदेश प्रमुख कार्यालय पुगेको नेपाल संघीय समाजवादी पार्टीकी सांसद बिमला अन्सारी सोमबार बिहानै उपधारा ३ अनुसार बनाइएको सरकारमा विनाविभागीय मन्त्री बनेकी छिन् ।

    उनीसँगै बर्दिवासको कालापानीस्थित होटल पानसमा एमालेका लखन दास तत्मा र राप्रपाकी सांसद कञ्चन बिच्छा पनि विना विभागीय मन्त्री बनेका छन् । उनीहरुले मुख्यमन्त्री यादवपछि विनाविभागीय मन्त्रीको शपथ खाएका छन् ।

  • मधेशमाथि धोका भयोः सोनल

    मधेशमाथि धोका भयोः सोनल

    काठमाडौँ । मधेश प्रदेशमा निवर्तमान मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले मधेशका जनतामा माथि प्रदेश प्रमुखले धोका दिएको प्रतिक्रिया दिएका छन् ।
    उनले केहीबेरअघि फेसबुकमा सानो भिडियो क्लिप राख्दै भनेका छन्, ‘मधेश प्रदेशको जनतासँग धोका भयो । स्वास्थ्य उपचारका नाममा निस्केकी मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मिता समाप्त पार्ने खेल गरिन् । एक त महिला अर्को स्वास्थ्यको कुरा गरिन् ।’
    उपचारका लागि काठमाडौँ जाने भन्दै सोमबार बिहान सोनलले नै प्रदेश प्रमुख भण्डारीलाई बिदाइ गरेका थिए ।
  • गणेशमान सिंहः राजाले प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा अस्वीकार गर्ने राजनेता

    गणेशमान सिंहः राजाले प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा अस्वीकार गर्ने राजनेता

    काठमाडौँ । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज सोमबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

    नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल व्यक्तित्व हुन् । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको प्रस्तावमा उनले समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।

    विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मेका नेता सिंहको विसं २०५४ असोज २ गते निधन भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मेका सिंहले विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

    राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायत नेतालाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल गणेशमान प्रवास जानुअघि तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय थिए । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरेका थिए । केही सहयोगीका साथ विसं २००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारु नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका छ ।

    प्रजातन्त्र स्थापनाका लागि भएको विसं २००७ को क्रान्तिका एक अगुवाका रुपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरे । देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक रुपमा बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रुपमा रहे । नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील भए ।

    विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले विसं २०१७ मा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दी गृहमा कारावास जीवन बिताए । विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे । २०३३ सालमा बिपीसँगै राष्टि«य एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय भए ।

    तत्कालीन पञ्चायती सरकारले बिपीसँगै मृत्युदण्डको माग गरिएका आठ वटा मुद्दामा विशेष अदालतबाट सफाइ पाए । गणेशमानले विसं २०३६ को विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरे । बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रुपमा गणेशमानले विसं २०४२ को सत्याग्रह आन्दोलनको नेतृत्व गरे । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारु व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान विसं २०४६ मा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बनेका थिए ।

    नेता सिंहलाई विसं २०१७ पुस १ गतेको कूपछि विसं २०२५ सम्म बिपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । विसं २०२५ मा जेलमुक्त भएपछि बिपीसँगै भारत निर्वासनमा गएका नेताहरुलाई विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा दोस्रोपटक थुनियो ।

    विसं २०६१ भदौ २४ गते बन्दीगृहलाई बिपी सङ्ग्रहालयमा रुपान्तरण गरिएको थियो । गणेशमान जयन्तीका अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घ संस्थाले आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् ।

  • अञ्चना विशंखेले छोडिन जनार्दनको साथ, नेकपामै समाहित

    अञ्चना विशंखेले छोडिन जनार्दनको साथ, नेकपामै समाहित

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य अञ्जना विशंखले जनार्दन शर्माको साथ छोडेकी छन् ।

    माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लगायत १० वटा दल मिलेर नेपाली कम्युनिष्ट पार्टी बन्दा विशंखे एकता प्रक्रियाबाट बाहिरिएका माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको पत्रकार सम्मेलनमा देखिएकी थिइन् ।

    तर, विशंखले आइतबार बिहान माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाडामा पुगेर नेपाली कम्युनिष्ट पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा पेश गर्ने कागजातमा हस्ताक्षर गरेकी पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालय स्रोतले जनाएको छ ।

    एकतामा असहमति जनाएका जनार्दन शर्मालाई साथ दिने तेस्रो बरियताको नेतामा विशंखे थिइन् । शर्माले पार्टीको पदाधिकारीबाट सचिव राम कार्कीले साथ दिएका छन् ।

  • सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः मन्त्री खरेल

    सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः मन्त्री खरेल

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाइनुपर्नेमा जोड दिएका छन् ।

    सिंहदरबारमा आज सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सव एवं सार्वजनिक सेवा प्रसारण तथा ‘एनटिभी वल्र्ड’ को शुभारम्भ समारोहमा उनले पिएसबीमार्फत दिइने विषयवस्तु प्रभावकारी हुनुपर्ने बताए ।

    उनले भने, “पिएसबीको नारा ‘जष्टिफाई’ हुन जरुरी छ । यसले प्रस्तुत गर्ने सामग्रीमा नवीनता र सिर्जनशीलता झल्कनुपर्छ । पिएसबीमा जनताको सहज पहुँच सुनिश्चित गर्नुपर्छ ।”

    उनले विविध चुनौतीकाबीच पिएसबीको सुरुआत भएको भन्दै यसको दिगोपना र कन्टेन्ट विविधतामा जोड दिए । विदेशमा बसोबास गर्ने नेपाली तथा विदेशीको दृष्टिमा राष्ट्रको पहिचान र गौरव झल्कने सामग्री पिएसबीले समेट्न जरुरी भएको बताए ।

    मन्त्री खरेलले नेपालमा मात्र नभई विश्वभर आमसञ्चारका माध्यम चुनौतीपूर्ण अवस्थामा रहेका भन्दै पिएसबीलाई ‘मोबाइल डिजिटल प्लेटफर्म’ मार्फत रेडियो र टिभीका दर्शकस्रोता बढाउने गरी प्रसारण हुनुपर्नेमा जोड दिए।

    “हिजोको जस्तो भित्तामा टेलिभिजन राखेरर चल्दैन । बदलिँदो समय र प्रविधि तथा उपकरणअनुरुप अब सुधार गर्नैपर्छ । एनटिभीका पाँचवटै च्यानलमार्फत जनताको विश्वास जित्ने, ‘लाइक, भिवरसीप’ बढाउनुपर्छ । निजी क्षेत्रसँग प्रतिस्पर्धी पनि हुनुपर्छ”, उनले भने।

    कार्यक्रममा मन्त्री खरेलले पछिल्लो समय आमसञ्चारमाध्यमलाई टिक्न कठिन भएको, प्रविधि र जनशक्ति व्यवस्थापन गरेर व्यावसायिक बन्न विविध चुनौती थपिँदै आमसञ्चारको दिगोपना र व्यवसायीकीकरणका निम्ति सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।

  • ओली नै भावी अध्यक्ष र प्रधानमन्त्री- लेखराज भट्ट

    ओली नै भावी अध्यक्ष र प्रधानमन्त्री- लेखराज भट्ट

    कैलाली । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले अहिलेको अवस्थामा निर्वाचन हुन नसक्ने स्पष्ट पारेका छन्। प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको चौतारी खुल्ला संवादमा उनले सरकारको रवैया, प्रहरीको खस्कँदो मनोबल र बाहिर रहेका हतियारहरूका कारण अहिले निर्वाचन हुने अवस्था नरहेको बताएका हुन् ।

    ‘२ हजारभन्दा धेरै प्रहरीका हतियार खोसिएका थिए १२ सय हतियार र एक लाख भन्दा बढी बुलेट बाहिर छ । कस्तो मान्छेको हातमा हतियारमा पुगेको छ । त्यसैमाथि प्रहरीको मनोबल बढ्न सकेको छैन ’ उनले भने ‘सरकारले मात्रै भन्दैमा अहिले निर्वाचन हुने अवस्था छैन ।’

    नेपाल प्रहरीलाई सशक्त नबनाउँदासम्म र पुराना पार्टीहरूलाई बाहिर राखेर छलफल नै नगरी निर्वाचन हुन नसक्ने उनको भनाइ थियो । प्रमुख निर्वाचन आयुक्त नियुक्ति हुन भइरहेको ढिलाइ निर्वाचन समयमा नहुने सङ्केत रहेको भट्टले बताए ।

    उनले अहिलेको सरकार नै असंवैधानिक रहेको भन्दै संविधान विघटनको अधिकार सरकारसँग नरहेको दाबी गरे । जटिल अवस्थामा प्रधानमन्त्रीको व्यवस्था सांसदभन्दा बाहिरबाट हुने गरी संविधान संशोधन नगरेर बनाइएको प्रधानमन्त्रीको औचित्य नरहेको उनले बताए ।

    ‘संसद् विघटन गर्ने जिम्मा यो सरकारलाई छैन । विशिष्ट परिस्थित भएको हुँदा संविधान संशोधन गरेर सांसदबाहेकका जो व्यक्ति पनि प्रधानमन्त्री हुनुपर्छ भन्ने उल्लेख गर्नु पर्ने थियो त्यसो नगरी सरकार बनाएर असंवैधानिक काम भएको छ, त्यसैले पार्टीले पुनर्स्थापनाको माग उठाएको हो ’ भट्टले भने।

    २४ गतेको आन्दोलनलाई ढाल बनाई २३ गतेकै घटनालाई योजनाबद्ध रूपमा सञ्चालन गरिएको उनको दाबी थियो ।

    ‘२४ गतेको विनाश निम्त्याउनकै लागि २३ को षड्यन्त्र गरियो, ’ उनले भने, ‘यो कुनै स्वतःस्फूर्त आन्दोलन होइन, पुस्ताको नाममा गरिएको विध्वंस हो । ’
    भट्टले जेनजी पुस्ताको नाममा हिंसा भड्काउने र स्कुल ड्रेसमा विद्यार्थीहरूलाई सडकमा उतार्नुको पछाडि विभिन्न स्वार्थ लुकेको आरोप लगाए ।

    उनले भने, ‘जेनजी पुस्ताको माग सुशासन र भ्रष्टाचारविरुद्ध थियो, तर त्यसलाई गलत दिशामा मोडियो। ’

    सुधन गुरुङको भूमिका माथि प्रश्न गरेका उनले छानबिन आयोग पनि पूर्वाग्रही भएको आरोप लगाए । भ्रष्टाचार गरेको भए कानुनी कारबाही भोग्न तयार भएको भन्दै उनले आफ्नो व्यक्तिगत र पैतृक सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाट गर्नेहरू कानुनी दयरामा आउनु पर्ने बताए ।

    आगामी महाधिवेशनको तीव्र तयारी रहेको भन्दै वर्तमान अध्यक्ष केपी शर्मा ओली लेनै फेरि एक पटक पार्टीको नेतृत्व गर्ने उनको भनाइ थियो।

    ‘अबको प्रधानमन्त्री र ११ महाधिवेशनमार्फत अध्यक्ष पनि केपी शर्मा ओली नै हुने भन्ने विधान महाधिवेशनको सन्देश हो’ उनले भने, ‘ सहमति गर्ने कि लोकतान्त्रिक विधि भन्नेबारे छलफल भएको छैन ।’

    विभिन्न देशी विदेशी शक्तिहरू एमालेमाथि खनिए पनि जनताको भरोसा अझै पार्टीमा रहेको उनको भनाइ थियो ।

    ‘एमाले माथि दशकौँदेखि प्रहार हुँदै आएको छ । कमजोर पार्न नसकेपछि हिंसा भड्काउने खेल भयो । तर एमाले सचेत छ, देश सकाउने योजना सफल हुन दिइने छैन’ भट्टले भने ।

    उनले पार्टी अब ग्रामीण विकास, सुशासन र समृद्धिको एजेन्डा लिएर अघि बढ्ने बताए ।

    आयात घटाई निर्यात बढाउने, युवा उद्यम र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिए । प्रेस चौतारीका प्रदेश अध्यक्ष नरेन्द्र कार्कीको अध्यक्षतामा गरिएको खुल्ला संवादको सहजीकरण प्रदेश महासचिव भानुभक्त आचार्यले गरेका थिए ।कार्यक्रममा भट्टसहित एमाले केन्द्रीय पोलिटब्युरो सदस्य नारदमुनी राना र प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसी लगायतको सहभागी रहेको थियो ।

  • सुकुम्बासी बस्तीमा दुर्गा प्रसाईको भाषण–तपाईको वस्तीमा डोजर ल्याए बालेनको घर भत्काउन जानुस्

    सुकुम्बासी बस्तीमा दुर्गा प्रसाईको भाषण–तपाईको वस्तीमा डोजर ल्याए बालेनको घर भत्काउन जानुस्

    काठमाडौं । मंसिर ७ गते आन्दोलनको घोषणा गरेका मातृभूमि बचाउ अभियानका प्रमुख दुर्गा प्रसाईले सुकुम्बासी बस्ती भत्काउन काठमाडौं महानगरका मेयर बालेन शाहको प्रयास सफल हुन नदिने बताएका छन् ।

    आइतवार विहान मनोहराको सुकुम्बासी बस्तीमा कोणसभा गर्दै प्रसाईले बालेन र राजु पाण्डेविरुद्ध लड्न आफूले सहयोग गर्ने बताए । उनले बालेनमाथि विभिन्न आरोप लगाउँदै सुकुम्बासी बस्तीमा महानगरको डोजर आउनुभन्दा पहिले बालेनको घरमा पुगेर श्रीमती र परिवारलाई बाहिर निकाल्न उक्साए ।

    प्रसाईले भने–घर जलाउन र मान्छे निकाल्न उनीहरुले सिकाएका हुन् । तपाईहरुकोमा भत्काउन आयो भने तपाईहरु हुरुरु उसको घरतिर जानुस् । श्रीमतीलाई बाहिर निकाल्नुस् । तपाईहरुको बच्चालाई निकाल्छ भने उसको बच्चामात्रै बच्चा हो ? उसको पनि भत्काउने हो । यो सरकारी जमिन बालेनको बाउको होइन र राजु पाण्डेको बाउको पनि होइन । जसले लछारपछार गर्छ उसको स्वास्नीलाई पनि लछारपछार गर्नुस् ।

    अब छाड्ने होइन,मंसीर ७ को तयारीमा लाग्नुस् । प्रसाईले बालेनसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन २ करोड खाएको आरोप समेत लगाएका छन् । दलहरुले सुकुम्बासीहरुलाइ भोट बैंक मात्र बनाएको बताउँदै उनले आफूले भोट नमाग्ने बरु सबैलाइ पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिए । सम्पूर्ण दल र बालेनलाई आफूले ठेगान लगाउने चेतावनी उनले दिए। सुकुम्बासी बस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदैछ । अल्टिमेटम सकिएसँगै बस्ती खाली गराउने महानगरको योजना छ ।

  • आलमको निधनः रौतहटका तीन पालिकाले दियो सार्वजनिक बिदा

    आलमको निधनः रौतहटका तीन पालिकाले दियो सार्वजनिक बिदा

    रौतहट । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनमा तीन पालिकाले शोक बिदा दिएको छ ।

    आइतबार पालिकाहरुले शोक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा दिएका हुन् । रौतहट क्षेत्र नम्बर २ मा पर्ने राजपुर, ईशनाथ र परोहाले शोक बिदा दिएको छ ।

  • रास्वपाको विस्तारित बैठकः घोषित मितिमै निर्वाचनमा जोड, महाधिवेशन धकेलियो

    रास्वपाको विस्तारित बैठकः घोषित मितिमै निर्वाचनमा जोड, महाधिवेशन धकेलियो

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक शनिबार राति सौराहामा सकिएको छ । शुक्रबार र शनिबार दुई दिन चलेको बैठकले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आधार तयारीका लागि दलहरूसहित सरकारलाई ध्यानाकर्षण गराएको छ ।

    छिटफुट असन्तुष्टि रहे पनि निर्वाचन प्रक्रियामा सक्रिय सहभागी भई लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ पार्न सम्पूर्ण राजनीतिक दलहरूलाई आह्वानसमेत गरेको छ । घोषित निर्वाचनको परिणाम देश र जनताको सर्वोपरी हित एवम् राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा हुनेगरी जनमत निर्माणमा लाग्न पार्टीका सम्पूर्ण संरचना, सदस्य एवं शुभेच्छुकलाई आह्वान गरेको छ ।

    रास्वपा प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीले अगाडि सारेका दृष्टिकोण, एजेण्डा र उम्मेदवारको पक्षमा मतमार्फत जनविश्वास व्यक्त हुनेगरी प्रभावकारी योजना निर्माण एवं परिचालनमा केन्द्रित हुन पार्टी संरचना र पङ्क्तिलाई विशेष आग्रह गर्दछौँ ।’

    जेनजी आन्दोलनक्रममा भएका मानवताविरोधी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न मागसमेत रास्वपाले गरेको छ । विज्ञप्तिमा आउँदा दिनमा राज्यका निकायमा जेनजी आन्दोलनको भावना र म्यान्डेटअनुसार उनीहरूको सहभागिता सुनिश्चित गर्न पनि माग गरिएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली जनताको प्रिय र विश्वासयोग्य शक्ति बनाउन पार्टीभित्र आन्तरिक लोकतन्त्रको सुदृढीकरण र समावेशितालाई थप व्यवस्थित र प्रोत्साहित गर्ने, पार्टी रुपान्तरणको पक्षमा व्यक्त भएका आवाज र प्रस्तावलाई विधि–प्रक्रियाअन्तर्गत नै सम्बोधन गर्ने तथा निर्णय प्रक्रियामा सबै तहका समिति र सदस्यहरूको सहभागिता सुनिश्चित गर्ने वातावरणलाई क्रमशः फराकिलो बनाउने निर्णय गरेको छ । देशमा बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि ध्रुवीकरण अपरिहार्य रहेकाले यसका लागि समान विचार भएका परिवर्तनकारी शक्तिहरूसँग संवाद, सहमति र सहकार्यमा जोड दिन केन्द्रीय समितिलाई विशेष आग्रह बैठकले गरेको छ ।

    फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने भएकाले पूर्वघोषित मिति (फागुन ७–९)मा महाधिवेशन गर्न नसकिने वस्तुगत परिस्थिति महसुस गर्दै छ महिनाभित्र महाधिवेशन गर्नेगरी तालिका ल्याउन केन्द्रीय समितिलाई बैठकले आग्रह गरेको छ । बैठकमा देशको पछिल्लो समग्र परिस्थिति, अप्रत्याशित रूपमा विकसित राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा सदस्यको घोषित निर्वाचन, जनजीविकाका सवाल र पार्टीको आन्तरिक जीवन एवं तत्कालीन कार्यभारबारे छलफल भएको थियो ।

    केन्द्रीय समितिका सदस्यसहित देशभरबाट आमन्त्रित पाँच सय १२ प्रतिनिधि सहभागी रहेको विस्तारित बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति डा स्वर्णिम वाग्लेले चुनावी बाचापत्रको अवधारणा, महामन्त्री कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन, सहमहामन्त्री विपिनकुमार आचार्यले उम्मेदवार छनोट रुपरेखा र सचिवालय सदस्य दीपक बोहराले हस्ताक्षर अभियानसम्बन्धी प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनबारे समूहगत छलफल भएको थियो ।

    विस्तारित बैठकमा केन्द्रीय सदस्य डा तोसिमा कार्की, केन्द्रीय सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठ तथा चितवन, झापा, रुपन्देही जिल्ला समितिले लिखित सुझाव पेस गरेको विज्ञप्तिमा जनाइएको छ ।

  • पालिकास्तरीय जनपरिचालन व्यवस्थित र भव्य बनाउन एमाले महासचिव पोखरेलको पाँच निर्देशन

    पालिकास्तरीय जनपरिचालन व्यवस्थित र भव्य बनाउन एमाले महासचिव पोखरेलको पाँच निर्देशन

    काठमाडौँ । नेकपा एमालेले प्रतिगामी षड्यन्त्रविरुद्ध गरेको पालिकास्तरीय जनपरिचालन कार्यक्रम भव्य र व्यवस्थित बनाउन पाँच निर्देशन जारी गरेको छ । पार्टी महासचिव शंकर पोखरेलले पालिकास्तरीय जनपरिचालनका लागि पाँच बुँदे निर्देशन जारी गरेका हुन् ।

    सामाजिक सञ्जालमा महासचिव पोखरेलले कार्यकर्तालाई जनपरिचालनमा सहभागी हुने संख्याका आधारमा पार्टीको झण्डा, ब्यानर र प्लेकार्ड तयार गर्न, घना बस्ती भएको क्षेत्र छनौट गर्न निर्देशन दिएका छन् । यस्तै, जनप्रर्दशनअन्त्यमा छोटो र अत्यन्त प्रभावकारी कोणसभा गर्न उनले सुझाव दिएका छन् । जनप्रदर्शनक्रमका भिडियो–फोटो सामाजिक सञ्जालमा व्यापक शेयर गर्न र त्यस्ता सामग्री आमसञ्चार माध्यममा पठाउन पनि महासचिव पोखरेलले निर्देशन गरेका छन् ।

    एमालेको असोज २९ देखि ३१ गतेसम्म भएको केन्द्रीय कमिटी बैठकले प्रतिगामी षडयन्त्रविरुद्ध देशभर जनपरिचालन गर्ने निर्णय गरेको थियो । कात्तिक २२ गते एमालेले देशभरका सबै वडामा भेला गरेको छ ।

  • मतदाता नामावली दर्तामा युवा पुस्ताको उत्साहित

    मतदाता नामावली दर्तामा युवा पुस्ताको उत्साहित

    रुपन्देही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड लागेको छ । नाम दर्ता गराउनेमा अधिकांश युवापुस्ता छन् ।

    जिल्ला निर्वाचन कार्यालयमा कात्तिक १९ गतेसम्ममा चार हजार २ सय ८८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालले जानकारी दिइन् । यसमध्ये दुई हजार ५ सय ८४ पुरुष र एक हजार ७ सय ४ महिला छन् । नयाँ दर्ता गर्नेमध्ये युवापुस्ता धेरै रहेको उनले बताइन् । उनका अनुसार नाम दर्ता गराउन आउनेमा करिब ८० देखि ९० प्रतिशत युवायुवती छन् । ‘जिल्ला निर्वाचन कार्यालयले गर्ने नियमित काममध्ये मतदाता नामावली दर्ता र अद्यावधिक हो । नियमित रूपमा दैनिक ३० जना आउनुहुन्थ्यो । तर निर्वाचनको माहोलले धेरै जना दर्ता गर्न आउनुभएको देखिन्छ, उत्साह छ । अहिले दैनिक दुई सय जना हाराहारीमा नयाँ नामावली दर्ता भइरहेको छ,’ उनले भनिन् । निर्वाचनको मिति नजिकिँदै जाँदा नयाँ नामावली दर्ता गर्नेको भीड रहेको उनको भनाइ छ ।

    जिल्लामा असोज १० गतेदेखि मतदाता नामावली नयाँ दर्ता र अद्यावधिक कार्य सुरु भएको उनले जानकारी दिइन् । दर्ता गर्न आउने रुपन्देही जिल्ला बाहिरका पनि छन् । ‘हामीले यहाँ दर्ता गरेको सबै रुपन्देहीका मात्र मतदाता हुनुहुन्छ भन्ने हुँदैन । बाहिरी जिल्लाका पनि रुपन्देहीबाट दर्ता गर्न मिल्छ । बाहिरी जिल्लाबाट रुपन्देहीको हकमा कति दर्ता गर्नुभएको छ । त्यसैगरी अद्यावधिकबाट (ठाउँसारी) गरेर कति आउनुहुन्छ, त्यसमा चाहिँ निर्भर रहन्छ,’ उनले भनिन्।

    जिल्लामा २०८२ साल कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पुगेका छ लाख ४४ हजार ३ सय ५६ मतदाता छन् । तीमध्ये तीन लाख ३० हजार ७ सय ४१ पुरुष र तीन लाख १३ हजार ६ सय ७ महिला रहेको कार्यालयले जनाएको छ । निर्वाचन आयोगका अनुसार २०८२ कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक (त्रुटि सच्याउने र ठाउँसारी) गर्न सकिन्छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता भइसकेको भए पुनः दर्ता गर्नुपर्दैन ।

  • नेकपा एकीकृत समाजवादीमा संयोजक तोकिए घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीमा संयोजक तोकिए घनश्याम भुसाल

    काठमाडौं । एकता विवादका कारण विभाजित नेकपा एकीकृत समाजवादीको पुनर्गठन पक्षधरले पार्टी संयोजकमा घनश्याम भुसाललाई तोकेको छ । विभाजनपूर्व उनी पार्टी महासचिव थिए ।

    शनिबार राति ६७ जना केन्द्रीय सदस्यको भर्चुवल (जुम) मिटिङले उनलाई संयोजक तोकेको बैठकमा सहभागी केन्द्रीय सदस्य अमृतसागर बस्नेतले बताए । पार्टीको नाम, झण्डा र चुनाव चिह्न यथावत राख्ने, यद्यपि कानूनी र संसदीय व्यवस्थाका विषयलाई अध्ययन गर्दै आवश्यकताका आधारमा अगाडि बढ्ने निर्णय मिटिङले गरेको छ ।

    विशेष महाधिवेशनअघि मंसिरमै राष्ट्रिय भेला आयोजना गरिने भएको छ । त्यसको मिति आजभोलिमै तोकिने बस्नेतले बताए । कतिपय नेता–कार्यकर्तामा रहेको अन्यौलता चिर्न सबैले पहल गर्ने जुम मिटिङले निर्णय गरेको उनले बताए ।

  • आन्तरिक असन्तुष्टिले सरकार ढलेको प्रतिपक्षीको जिकिर

    आन्तरिक असन्तुष्टिले सरकार ढलेको प्रतिपक्षीको जिकिर

    जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)ले २५ दिनमै राजीनामा दिनु परेपछि विपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेले आन्तरिक असन्तुष्टिले सरकार ढलेको प्रतिक्रिया दिएका छन् ।

    नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले सरकारमा सहभागी दलहरुबीच देखिएको विवाद मिल्न नसक्दा सरकार ढलेको बताए । उनले आफूहरु सरकारले विश्वासको मत पाउँछ भन्नेमा विश्वस्त रहेको तर सरकार ढलेको बताए । उनले भने, ‘आफ्नै कारणले ढलेको हो, संसदीय प्रक्रिया अवलम्बन गर्नु पर्छ, जुन दल भए पनि हारजित स्वभाविक हो । आफ्नो बन्दा संघीयताको रक्षा हुने र हट्दा संघीयता जाने कुरा उचित होइन ।’ उनले आफूहरु पनि सरकारमा सहभागी भएको तर विपक्षमा बस्ने अवस्था आउँदा विपक्षमा बसेको बताए ।

    नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले प्रजातान्त्रिक पदति अवलम्बन गरेको पार्टी भएको बताउँदै सरकारमा सहभागी दलहरु नै अन्तद्र्वन्द्वमा फसेका कारण यस्तो अवस्था आएको बताए । उनले आफूहरु सरकारको विपक्षमा बस्ने निर्णय गरेको र यो स्वाभाविक रहेको बताए ।

  • जसपा नेपाल छाडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

    जसपा नेपाल छाडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका सम्पूर्ण नेता एवं कार्यकर्तालाई जसपा नेपालमा फर्किन आह्वान गरेका छन् ।

    विभिन्न कारण र कालखण्डमा पार्टी छाडेका नेता कार्यकर्तालाई संकोच र अप्ठ्यारो नमानी आफ्नो पुरानै घरमा फर्किन आह्वान गर्दै स्वागतका लागि जसपा नेपालको ढोका खुला रहेको यादवले अपिल गरेका हुन् ।

    ललितपुरको इमाडोलमा अध्यक्ष यादवको अध्यक्षतामा बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकले पनि विगतका दिनमा संगठन छाडेका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आह्वान गर्दै आउनेलाई स्वागत गर्ने निर्णय गरेको हो ।

    ‘पार्टी स्थापनाकालदेखि विगतमा जे जस्तो कारणले असन्तुष्ट भएर पार्टी छाडे पनि उहाँहरु सबैलाई जसपा नेपालमा स्वागत छ, आफ्नो पुरानै घरमा फर्किन आह्वान गर्दछु, यादवले भने, ‘जसपा नेपाल हामी सबैको साझा संगठन भएकाले जुनै कारणले पार्टी परित्याग गरे पनि पुनः फर्किन कसैले दुःख, धक, संकोच वा अप्ठ्यारो मान्नुपर्दैन ।’

    पार्टी परित्याग गरेका नेता कार्यकर्तालाई सम्पर्कमा आउन अपिल गर्दै सबैको क्षमता, दक्षता, भूमिका र योग्यताअनुसार पार्टीमा उचित स्थान र जिम्मेवारी दिइने उनले बताए ।

    मुलुकमा विकसित परिदृष्यलाई मध्यनजर गर्दै पार्टीलाई थप संगठित, समावेशी र बृहत् बनाउने उद्देश्यले पार्टी छाडेकालाई पुरानै घर फर्काउने अभियान जसपा नेपालले प्राथमिकताका साथ सञ्चालन गर्ने बताइएको छ ।

  • उमेशजंगको आक्रोश- चार वर्ष सुतेर बस्ने, अहिले महाधिवेशन रोक्न खोज्ने ?

    उमेशजंगको आक्रोश- चार वर्ष सुतेर बस्ने, अहिले महाधिवेशन रोक्न खोज्ने ?

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझी महाधिवेशन रोक्न खोजेको भन्दै आक्रोश पोखेका छन् । जारी केन्द्रीय समिति बैठकमा बोल्दै महाधिवेशनको तयारी नगरेको भन्दै पार्टी नेतृत्वमाथि चर्को असन्तुष्टि व्यक्त गरे ।

    उनले भने, ‘अहिले महाधिवेशनबारे विवाद किन ? चार वर्ष अगाडि मंसिर २७ गते आउँछ भन्ने थाहा थिएन । कार्यसमितिमा रहेकाहरूलाई ? किन सुतेर बस्नुभयो ? अनि अहिले रोक्नुपर्ने ? गर्दा के हुने ?  त्यसैले प्रक्रियाबाट अधिवेशन गर्नुपर्छ । कसैले भाँड्न पाइँदैन । सहमतिमा अधिवेशन गरेर निर्वाचन लड्ने हो । निर्वाचनमा कांग्रेस नलडे को लड्छ।’

    फागुनमा निर्वाचन पनि नहुने, संसद् पुनर्स्थापना पनि नहुने बताए । उनले थपे, ‘संसद् पुनर्स्थापना गर्न तपाईँहरूले उजुरी नहाल्ने, अरूले गर्दिनुपर्ने  ? सांसदहरूले केन्द्रीय समितिमा जानकारी गराउनु पर्दैन ससदबारे ? तपाईंहरु सरकारमा जाने के भएर ढल्यो सरकार ?’

  • एमाले नेता शाहीलाई माधव नेपालले नेकपामा भित्र्याए

    एमाले नेता शाहीलाई माधव नेपालले नेकपामा भित्र्याए

    काठमाडौं । नेकपा (एमाले) का पूर्व केन्द्रीय सदस्य तथा मुगु खत्याड गाउँपालिकाका पूर्व अध्यक्ष उब्जनबहादुर शाही नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन्।

    बिहिबार नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेताहरू प्रकाश ज्वाला, चन्द्रबहादुर शाही, ठगेन्द्रप्रकाश पूरीलगायतले शाहीलाई स्वागत गरेका हुन्।

    त्यस्तै नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार यदुबम्श झा पनि नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदैछन्।

    सहसंयोजक नेपालसँग नेता झाले एमाले परित्याग गरेर नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन तयार भइसकेको जानकारी गराइसकेको बताइएको छ।

  • पार्टी बैठकमा मोहनको चेतावनी- फागुन २१ को चुनावलाई सहज नसाेच्नू

    पार्टी बैठकमा मोहनको चेतावनी- फागुन २१ को चुनावलाई सहज नसाेच्नू

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यले फागुन २१ को चुनावलाई सहज रूपमा नसोच्न आग्रह गरेका छन्।

    सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै कांग्रेस सहभागी सरकारविरुद्ध जनता सडकमा आएकाले उल्लेख गर्दै उनले शंकाले हेरिरहेको बताए ।

    उनले भने, ‘कार्यवाहक सभापतिदेखि पदाधिकारीमा रहेका सबैले बुझ्नुभएकै छ। कसले जित्छ कसले हार्छ भन्ने कुरा होइन। विधान अनुसार नै विशेष महाधिवेशनको माग गरिएको छ। त्यसलाई कसरी सम्बोधन गर्ने ? त्योबारेमा नेतृत्वले सोच्नुपर्छ।’

    उनले फागुन २१ को निर्वाचनअघि नयाँ नेतृत्व र नीति लिएर जनतामा जानुको विकल्प नभएको बताए।

  • एमाले रुकुम पूर्वमा जनपरिचालनसहित महाधिवेशन तयारीको निर्णय

    एमाले रुकुम पूर्वमा जनपरिचालनसहित महाधिवेशन तयारीको निर्णय

    रुपन्देही ।नेकपा (एमाले) रुकुम पूर्वले जनपरिचालनसहित महाधिवेशन तयारीका निर्णय गरेको छ ।

    जिल्ला अध्यक्ष लीलामणि गौतमले रुकुमकोटमा सम्पन्न जिल्ला कमिटी सचिवालयको सातौँ बैठकबाट केन्द्रीय कमिटीको दसौँ बैठकले तय गरेको नीति अनुरूप प्रतिगामी गतिविधिलाई परास्त गर्दै मुलुकलाई संवैधानिक व्यवस्थातर्फ उन्मुख गराउने उद्देश्यले जिल्लाभर जनपरिचालन कार्यक्रम गर्ने निर्णय गरेको जनाए ।

    कार्यक्रमअनुसार कार्तिक २२ गते ३१ वटै वडामा वडा स्तरीय जनभेला, कार्तिक २५ गते सिस्नेको पोखरा, भूमेको लुकुम र पुथा उत्तरगंगाको तकसेरामा पालिका स्तरीय जनसभा र कार्तिक २९ गते रुकुमकोटमा जिल्ला स्तरीय जनसभा गर्ने निर्णय गरिएको उनको भनाइ छ ।

    यसैगरी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट र तयारीका विषयमा पनि बैठकले निर्णय गरेको छ। मङ्सिर १३ गते रुकुमकोटमा प्रतिनिधि छनोट हुने र त्यस क्रममा पार्टी सदस्यता नवीकरण, जिम्मेवारी पूरा गर्ने अवस्था, बैठकमा उपस्थिति, कार्यक्रम सहभागिता तथा जरा केन्द्रित अभियानमा प्राप्ताङ्कका आधारमा छनोट गरिने भएको छ।

    बैठकमा कार्यालय सचिव हरिहर पौडेल, सिस्ने गाउँ कमिटी अध्यक्ष देवीलाल गिरि, भूमे गाउँ कमिटी अध्यक्ष धनकुमार पुन र पुथा उत्तरगंगा गाउँ कमिटी अध्यक्ष लक्ष्मण बुढामगरले आफ्ना–आफ्ना क्षेत्रका रिपोर्ट प्रस्तुत गरेका थिए।

    बैठकमा जिल्ला अध्यक्ष गौतमले पार्टी केन्द्रीय कमिटीबाट जारी अन्तरपार्टी निर्देशन १३ र २०८२ असोज २९ देखि ३१ गतेसम्म सम्पन्न केन्द्रीय बैठकका निर्णयहरू प्रस्तुत गर्दै तिनलाई रुकुम पूर्वमा कडाइका साथ कार्यान्वयन गर्ने जनाए ।

    बैठकमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य नन्दलाल शर्मा, केन्द्रीय सल्लाहकार परिषद् सदस्य चूडामणि गौतम, प्रदेश सचिवालय सदस्य निर्माण बुढा, सदस्यहरू टोपबहादुर ओली, रुजिधन घर्ती र सल्लाहकार बलबहादुर केसीले समेत वर्तमान राजनीतिक परिस्थिति, सङ्गठन सुदृढीकरण र आगामी कार्यदिशाबारे सुझाव दिएका थिए।

    बैठकले कलबहादुर खड्का सिस्ने, विष्णु देवकोटा सिस्ने, चन्द्रकला खड्का सिस्ने र बिजुली बुढा पुथा उत्तरगंगालाई जिल्ला कमिटी सचिवालय सदस्यमा मनोनीत गरेको छ।

  • नेपाली कम्युनिष्ट पार्टीले पदाधिकारीको उमेर हदसँगै २० प्रतिशत जेनजी सहभागिता सुनिश्चित गर्ने 

    नेपाली कम्युनिष्ट पार्टीले पदाधिकारीको उमेर हदसँगै २० प्रतिशत जेनजी सहभागिता सुनिश्चित गर्ने 

    काठमाडौं । विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिष्ट पार्टी’ ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भएको छ ।
    बुधबार आयोजित पार्टी एकता घोषणा तथा एकताको राष्ट्रिय सम्मेलनमा प्रस्तुत घोषणापत्रमा पार्टीका सबै कमिटीमा ३५ प्रतिशत महिला, २० प्रतिशत जेनजी नवयुवा तथा युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुस्लिम समुदायबाट प्रतिनिधित्व गराइने उल्लेख छ ।
    घोषणापत्रअनुसार जनवादी केन्द्रीयताको सिद्धान्तका आधारमा सामूहिक नेतृत्व एवं व्यक्तिगत उत्तरदायित्व वहन गर्नेगरी पार्टीको निर्माण र सञ्चालन गरिनेछ भने पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद राखिएको छ ।
    राज्यसत्ता सञ्चालनमा आमजनताको संस्थागत सहभागिता र सरकारको काममा निगरानी गर्ने व्यवस्था सुनिश्चित गरिनेछ । जनअपेक्षाअनुरूप काम नगर्ने जनप्रतिनिधिलाई प्रत्याश्वान गर्ने व्यवस्था गरिनेछ ।
    पहिलो चरणमा सामान्यतः तीनखम्बे अर्थतन्त्रका रूपमा सार्वजनिक क्षेत्र, सामूहिक वा सहकारी क्षेत्र र निजी क्षेत्रमा उद्योगधन्दा विकास गरिनेछ । सार्वजनिक क्षेत्रको क्रमशः विस्तार गर्दै लगिनेछ । वित्तीय एकाधिकार तथा दलाल पुँजीवादको शोषण र हस्तक्षेपबाट मुक्त एवं सार्वजनिक, सहकारी र निजी क्षेत्रको समन्वय, सहकार्य र गतिशील भूमिकासहितको समाजवादी अर्थतन्त्र निर्माण गरिनेछ ।
  • प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति यादवबीच शिष्टाचार भेट

    प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति यादवबीच शिष्टाचार भेट

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो । प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताइन् ।

    त्यस क्रममा पूर्वराष्ट्रपति यादवले सबै राजनीतिक दल चुनावमा जानैपर्ने र चुनावबाट कोही पनि भाग्न नहुने धारणा राखे । उनले सरकारका तर्फबाट चुनावका लागि भइरहेको तयारी र विभिन्न पक्षसँग गरिएको संवादको सह्राना गरे ।

    पूर्वराष्ट्रपति यादवले भने, ‘राजनीतिक दलहरु चुनावमा जानैपर्छ। मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा लैजान चुनाव नै सर्वोत्तम बाटो हो ।’

    उनले सुरक्षा व्यवस्था सुदृढ गराउन सबै सुरक्षा निकायहरुबीचको समन्वयमा जोड दिए । दलहरुले पनि चुनावको अपरिहार्यता बुझेको कारण आउँदो फागुन २१ मा हुने चुनावमा सबैले भाग लिने कुरामा आफू विश्वस्त रहेको पूर्वराष्ट्रपति यादवले बताए ।

    भेटमा अर्थमन्त्री रामेश्वर खनाल सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललगायतको उपस्थिति थियो । मंगलबार मात्रै गृहमन्त्री ‌ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति यादवको ललितपुरस्थित निवासमै पुगेर भेट गरेका थिए । सरकारले आगामी फागुन २१ को निर्वाचनको वातावरण बनाउन विभिन्न पक्षहरुसँग संवाद तीव्र रुपमा अघि बढाएको छ ।

  • पिएस गुरुङको दाबी – भदौ २३ र २४ को घटना राष्ट्रिय स्वाधीनतामाथिको संगठित हमला थियो

    पिएस गुरुङको दाबी – भदौ २३ र २४ को घटना राष्ट्रिय स्वाधीनतामाथिको संगठित हमला थियो

    ओखलढुङ्गा । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भदौ २३ र २४ गते देशभर घटेका घटनाहरू प्रतिक्रान्तिकारी र प्रतिगमनकारी कदम भएको बताएका छन् । उनले उक्त घटनाबाट मुलुकको संविधान र राजनीतिक स्थायित्वमा ठूलो आघात पुगेको बताए ।

    प्रेस चौतारी नेपाल ओखलढुङ्गाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकार असंवैधानिक भएको बताए । उनले भने, ‘असंवैधानिक रूपमा बनेको सरकारले निर्वाचन गर्ने ६ महिनाको म्यानडेट पाएको भए पनि त्यो सरकार निर्वाचन गराउने पक्षमा देखिँदैन । किनभने मुलुकको ठूलो राजनीतिक दलको नेतालाई स्थानहद तोकेर, पक्राउ पुर्जी जारी गरेर निर्वाचन हुन सक्दैन ।’

    गुरुङले मुलुकमा निर्वाचन हुने सम्भावना क्षीण हुँदै गएको बताउँदै वर्तमान संविधान नै संकटमा परेको दाबी गरे । उनका अनुसार यस्तो अवस्थामा एमालेले संसद् पुनर्स्थापनाको माग गर्दै सडक आन्दोलनको तयारी थालेको छ । ‘संसद् पुनर्स्थापना भयो भने धेरै कुरा लिकमा आउँछ, त्यसकारण हामी संसद् पुनर्स्थापनाको मुद्दालाई लिएर जनताको बीचमा जाने निर्णयमा छौँ,’ उनले भने ।

    उनले दलका नेताहरूमाथि मुद्दा लगाएर, चुनावी मैदानबाट हटाएर निर्वाचन गराउने योजना नै संविधान विपरीतको काम भएको टिप्पणी गरे । ‘राजनीतिक दलका नेताहरूमाथि मुद्दा लगाएर, चुनावमा जान नदिएर, चुनावमा उठ्नै नमिल्ने बनाएर कुनै पनि हालतमा चुनाव हुन सक्दैन,’ उनको भनाइ थियो ।

    उपमहासचिव गुरुङका अनुसार एमालेले वडास्तरदेखि काठमाडौंसम्म जनसभा, जनपरिचालन, भेला र प्रचार अभियानमार्फत संसद् पुनर्स्थापनाको मुद्दा जनस्तरमा लैजानेछ । उनले अदालतले यदि निर्वाचनमा जाने फैसला गर्‍यो भने पनि एमालेले त्यसलाई उपयोग गर्ने बताए ।

    उपमहासचिव गुरुङले भदौ २३ र २४ को सत्तापलट भनिएको घटनालाई जेनजी आन्दोलनको परिणाम नभई विदेशी शक्तिको नियोजित चलखेलको परिणाम भएको दाबी गरे । उनका अनुसार नेपालको सरकार अपदस्त गर्न, संसद् विघटन गर्न र राष्ट्रिय स्वाधीनतामा प्रहार गर्न बाह्य शक्तिहरूले रणनीति तयार पारेका थिए ।

    ‘जेनजीको नाममा पश्चिमी शक्ति र छिमेकी देशका केही शक्तिहरूले मिलेर सरकार अपदस्त र संसद् विघटन गराए,’ उनले भने, ‘नेपालको सुरक्षा संयन्त्रलाई नै निकम्मा बनाइयो, देश जलाउने काम भयो । राज्यका अङ्गहरूले देश बचाउने भूमिका निर्वाह गर्न सकेनन् ।’

    उपमहासचिव गुरुङअनुसार २३ र २४ भदौका घटनाहरू केवल तत्कालीन सरकारविरुद्धको आन्दोलन होइन, राष्ट्रिय स्वाधीनतामाथिको संगठित प्रहार थियो । ‘राज्यका यी अङ्गहरूको संविधान र देश बचाउने भूमिकामा जे हुनुपर्थ्यो, त्यो भएन’, गुरुङले भने ।

    गुरुङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रियता र स्वाधीनताप्रतिको अडानलाई भत्काउनकै लागि भदौ २३ र २४ का घटना गराइएको दाबी गरे । उनका अनुसार तत्कालीन प्रधानमन्त्री ओलीले मुलुकको सार्वभौमिकतामाथि सम्झौता नगर्ने अडान लिँदा विदेशी शक्तिहरू असन्तुष्ट बनेका थिए । ‘केपी ओलीको राष्ट्रियता प्रति अडान र आत्मसम्मानका कारण नै विदेशी स्वार्थले उहाँको सरकार ढाल्ने योजना बनायो,’ गुरुङले भने, ‘सबै प्लानिङका साथ बदला लिने काम भएको हो ।’

    उनले विश्वभर विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत सरकार पल्टाउने गतिविधि भइरहेको उदाहरण दिँदै नेपालको अवस्थासमेत त्यसैको परिणाम भएको बताए ।

    गुरुङका अनुसार देशमा संकटको घडीमा राज्यका मूल अङ्गहरू सेना र प्रहरी निष्क्रिय बनेका छन् । उनले भने, ‘सेना, प्रहरी, अदालत सबै काम गर्न नसक्ने अवस्थामा पुगेका छन् । भनेको नमाने मारिदिन्छु भन्ने धम्की दिइएको छ । ‘

    उपमहासचिव गुरुङले विगतमा राजसंस्थाको सुरक्षामा खटिने सेनाले अहिले संविधान र सरकारको सुरक्षा गर्न नसकेको टिप्पणी गरे । ‘राजालाई बचाउन नसक्ने सेनाले यस पटक सिंहदरबार र सर्वोच्च अदालत जल्दा पनि बचाउन सकेन ।’ उनको भनाइ थियो ।

    गुरुङले थपे, ‘देश जलिरहेको बेला सेना र प्रहरी रमिता हेरेर बसे, सबै कुरा जलिसकेपछि मात्रै बाहिर निस्कियो ।’

    गुरुङले अहिलेको राजनीतिक सङ्कटबाट देशलाई बाहिर निकाल्ने क्षमता नेकपा (एमाले) बाहेक अरू कुनै पार्टीमा नभएको दाबी गरे । उनले भने, ‘अन्य राजनीतिक दलहरू उठ्नै नसकेको अवस्थामा पनि एमालेले आफ्नो महाधिवेशन तोकिसकेको छ । देशको समस्या समाधानमा एमाले नै निर्णायक बन्नेछ ।’
    उपमहासचिव गुरुङले नेकपा (एमाले) लाई बलियो पार्टी बनाएर संविधान र राष्ट्रियता जोगाउने अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

    ‘यो अस्थिरता, भ्रम र विदेशी प्रभावको घेराबाट देशलाई निकाल्ने जिम्मेवारी एमालेले नै लिनेछ,’ गुरुङले भने ।

    उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था अहिलेको संकटको समाधान नभई अझ ठूलो अस्थिरताको सुरुवात हुने बताए । ‘यो प्रत्यक्ष राष्ट्रपतिको माग जेनजीले गरेको होइन, जेनजीको नाममा शासन प्रणाली आफ्नो पक्षमा राख्न खोज्ने र नेपालमा अस्थिरता माच्चाउने शक्तिको योजना हो,’ उनले भने ।

    गुरुङका अनुसार देशमा प्रत्यक्ष राष्ट्रपतिको बहस ल्याएर सत्ता नियन्त्रण र अस्थिरता सिर्जना गर्ने शक्तिहरू सक्रिय छन् । स्वार्थअनुसार शासन चलाउन र मुलुकलाई फेरि अराजक दिशामा लैजान खोज्नेहरूकै योजना हो यो ।