Tag: म्यान्मार

  • म्यान्मारमा दुखेको मानवता

    म्यान्मारमा दुखेको मानवता

    गएको मार्च २८ मा म्यान्मारमा ‘सशस्त्र प्रहरी बल दिवस’ परेको थियो । त्यसैदिन जुन्ता सरकारको विरोध र प्रजातन्त्रको पुनस्र्थापनाका लागि निस्किएको विशाल जुलुशमाथि सेनाले निर्मम हमला गर्‍यो र १२० जना प्रदर्शनकारी र सर्वसाधारणको हत्या गर्‍यो । यसरी आफ्ना नागरिकको निर्ममतापूर्वक हत्या गरेको सैनिक सरकारले शनिबार नै प्रहरी दिवसको अवसरमा भव्य भोजको आयोजना गरेको थियो ।

    यता मृतकका परिवार र अरु सयौँ घाइते नागरिकको रुवावासी र विचल्ली थियो । टेलिभिजन दृश्यहरु र सामाजिक सञ्जालमा पोष्ट गरिएका फुटेजहरुमा राजधानी शहर रक्ताम्मेजस्तै देखिन्थ्यो । सुरक्षाफौजले एकैदिन एकै शहरको जुलुशमा निर्मम रुपमा गोली प्रहार गरी यतिधेरै नागरिकको ज्यान लियो भने अरु सयौँलाई अङ्गभङ्ग गरायो । तर उता त्यसै साँझ सैनिक सरकारको भने भव्य रात्रिभोज चलिरहेको थियो । त्यसको भोलिपल्टका एकाध स्वदेशी र अरु विदेशी सञ्चारमाध्यममा यी दृश्यका बयानसहितका बडो कारुणिक कथाहरु आए । आफ्नै नागरिकको हत्या गरेर बर्मेली सैनिकले मनोरञ्जन लिएको भनी विदेशी सञ्चारमाध्यमहरुले टिप्पणी पनि गरे ।

    संयुक्त राष्ट्रसंघले दुई दिनमात्र अघि विज्ञप्ति प्रकाशन गरेर म्यान्मारमा सुरक्षाकर्मीहरूको आक्रमणबाट त्यहाँ कम्तीमा ५१ बालबालिकाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट भएको हिंसामा परी अप्रिल १३ सम्म उनीहरुको मृत्यु भएको सो विज्ञप्तिमा उल्लेख छ । केही समयअघि सुरक्षाकर्मीले १ जना बच्चाको आफ्नै आमाबुबाको हातैमा हत्या गरेको समाचारले त नेपाली मिडियामा पनि ठूलो चर्चा पाएको थियो । त्यस्तै नागरिकलाई यहाँको सुरक्षा फौजले ताकेरै गोली हान्ने गरेका फुटेजहरु सामाजिक सञ्जालको बाटो भएर नेपालसम्म आइपुगेका छन् । ती दृश्य बडो दर्दनाक र निर्मम छन् ।

    म्यान्मारमा जारी पछिल्लो आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट ७ सयभन्दा बढी नागरिक मारिएका र त्यसमध्ये कम्तीमा ५१ जना बालबालिका रहेका राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजार्रिकले जनाएका छन् । त्यस्तै सो आन्दोलनमा लागेको आरोपमा झण्डै १ हजार बालबालिकालाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन् । त्यस्तै यहाँको सेनाले ३ हजार जनालाई नियन्त्रणमा दिएको छ भने २३ जनालाई त आन्दोलनमा लागेकै कारण मृत्युदण्डको सजाय सुनाइएको छ ।

    बर्मेली जनतामाथि भएको यो क्रुुर आक्रमण मानवताविरोधी अपराध भएको सबैको टिप्पणी छ । यसबाट अन्तर्राष्ट्रिय जगत् पनि स्तब्ध छ । संयुक्त राष्ट्रसंघ, अमेरिका र बेलायतलगायत धेरै देशले नरसंहारको निन्दा गर्दै चर्को विरोध पनि गरेका छन् । यस्तो मानवताविरोधी अपराध भइरहेका बेलामा पनि यस विषयमा विश्वका कतिपय देश विभाजित अवस्थामा देखिनु दुर्भाग्यपूर्ण छ । प्रजातन्त्रको चीरहरण गर्ने सैनिक शासकको यो हर्कतलाई केवल नागरिक हत्याको कसीमा राखेर हेर्नुपर्ने अवस्था यहाँको आन्दोलनले सिर्जना गरेको छ ।

    गत १ फेबु्रअरीमा म्यान्मारको सेनाले जननिर्वाचित सरकारलाई हटाएर सैनिक ‘कू’ गर्‍यो । नेसनल लिग फर डेमोक्रेसी (एनडिएल) पार्टीको सरकारलाई हटाएर जुन्ताले शासन आफ्नो हातमा लिएको घोषणा गर्‍यो । त्यसलगत्तै त्यहाँकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलगायतका सबै नेतालाई कतिलाई जेल हाल्यो भने केहीलाई आफ्नै निवासमा नजरबन्दमा राख्यो । त्यतिबेलासम्म सेनाले यसअघिको जस्तो शान्त हुन्छ, नागरिकले आफ्ना कदमविरुद्ध कडा रुपमा प्रश्न उठाउलान् भन्ने सोचेको थिएन ।

    सबै कुरा ठीक हुन्छ भन्ने सेनाको अनुमान विपरीत त्यहाँका नागरिकले भने आन्दोलन छेडे । त्यहाँ अहिले पनि सैन्य सरकारको अन्त्य गरी देशमा प्रजातन्त्रको बहालीका लागि बृहत् आन्दोलन जारी छ । जुनकुरा पहिले पनि सत्ता हत्याउन सिपालु यहाँको सेनाका लागि नयाँ पाठ भएको छ । अहिले दिनहुँ यहाँका नागरिक लाखौँको सङ्ख्यामा सडकमा निस्किएर जुन्ता सरकारको विरोध गरिरहँदा सैन्य अधिकारीहरु भने तिनै नागरिकमाथि गोलाबारुदको वर्षा गरी हत्या गर्ने बाहेकको अरु केही सोच्न पनि सकेका छैनन् ।

    अहिले पनि यहाँका सुरक्षाकर्मीले नागरिकमाथि अमानवीय आक्रमण गरिरहेका छन् । बितेको साढे दुई महिनामा यहाँका ७ सयभन्दा बढी नागरिकको मृत्यु भइसकेको छ । सैन्य हरकत सहन नसकेर हजारौँ व्यक्ति विस्थापित भएका छन् भने सयौँलाई सैन्य बलमा बेपत्ता पारिएको छ । त्यस्तै सुरक्षाकर्मीको ज्यादतिका कारण अङ्गभङ्ग हुनेको सङ्ख्या हजारौँ पुगेको छ । सेनाको गोलीको तारो निहत्था नागरिक, बालबालिका, वृद्धवृद्धा समेत भएका छन् । यतिमात्र होइन मृत्यु संस्कारमा बसेकाहरूसमेत आक्रमणको निसानामा परेका छन् । यता आक्रमणबाट बच्न देश छाडेर भाग्नेहरूलाई सेनाले जान दिएको छ । मानौँ कि आफ्ना विरोधी सबैले देश छोडुन् भन्ने मानसिकतामा सेना देखिएको छ ।

    याहँका नागरिक प्रदर्शनकारीको बटम लाइन सैनिक शासनको अन्त्य र लोकतन्त्रको पुनर्बहाली छ । यो आन्दोलन जारी रहँदा सैनिक जुन्ताले भने प्रदर्शनकारीमाथि थप आक्रमणको धम्की दिइरहेको सुनिन्छ । जनताको लोकतन्त्र पुनर्बहालीको अडान र सैनिक निरंकुशताको क्रुरता हेर्दा बर्माका आगामी दिन अझै अप्ठेरा देखिँदैछन् । यसले थप नरसंहारलाई निम्ता त दिँदैन भन्ने त्रास देखिन्छ । म्यानमारमा गएको साढे दुई महिनादेखि दिनहुँ भइरहेको मानवअधिकार उल्लंघन र मानवताविरुद्धको अपराध रोक्न कडा रूपको अन्तर्राष्ट्रिय हस्तक्षेप नहुने हो भने त्यहाँ रक्तपात अझ बढ्ने सङ्केतहरु देखिँदैछन् ।

    सुकी अगुवाइको सरकारका पछिल्ला केही वर्ष बाहेक म्यान्मार लामो समयदेखि सैनिकले नै निरंकुश शासन चलाएको छ । यस्तो सरकारको हातबाट मानवअधिकारको संरक्षण र लोकतन्त्रको रक्षाको कुरा आउने पनि भएन । तर त्यतिबेलाको सैनिक सरकारले गरेको थिचोमिचोभन्दा अहिलेको यो आन्दोलन फरक देखिएको छ । सायद प्रजातन्त्रको लहर मध्यपूर्व हुदै संसारभरि छाएकोले पनि होला म्यानमारका नागरिक अहिले भने देशमा प्रजातन्त्रको माग गर्दै डटेरै सैनिक शासनका विरुद्ध उत्रिएका छन् । यो माहोल सायद सैनिकले नै आफ्ना पहिलेका सहज सत्तारोहणका तुलनामा फरक नै देखेको हुनुपर्छ ।

    सन् १९४८ सम्म बेलायती उपनिवेशमा रहेको बर्मा दोस्रो विश्वयुद्धपछि मात्र स्वतन्त्र भएको हो । ब्रिटिस उपनिवेशबाट मुक्त भएपनि म्यान्मारमा प्रजातन्त्र सुदृढ हुन भने सकेन । यहाँ सन् १९६२ मा सैनिक शासन लागू गरियो र सेना प्रमुख नि बिनको नेतृत्वमा सन् १९६२ देखि सन् १९७४ सम्म प्रत्यक्ष सैनिक शासन लागू भयो । त्यसपछि सन् १९७४ देखि १९८८ सम्म यहाँ एकदलीय शासन आयो । सन् १९८८ देखि सन् २०११ सम्म पनि सेनाले नै एकछत्र शासन गर्यो ।

    नागरिक विरोधको प्रतिवाद गर्दै आएको सेनाले सन् १९९० मा भने बहुदलीय निर्वाचन गरायो । तर निर्वाचनमा प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको नेसनल लिग फर डेमोक्रेसी पार्टीले अत्यधिक बहुमत प्राप्त गरेपछि पुनः सेनालाई टाउको दुख्यो । जनमतले दिएको यो परिणाम सैनिक जुन्ताले स्वीकार्न सकेन र सत्ता हस्तान्तरण पनि गरेन । त्यसपछि लामो समयसम्म नेत्री सुकीलाई नजरबन्दमै राख्यो र सैनिक सरकारलाई निरन्तरता दियो ।

    यहाँ सन् २०१५ र २०२० मा भएका आमनिर्वाचनमा सुकीकै दलले विजय प्राप्त गरेको थियो । त्यसयता सोही दलको प्रजातान्त्रिक सरकार थियो । नेसनल लिग फर डेमोक्रेसी पार्टीको जनमत सन् २०२० को नोभेम्बरमा भएको निर्वाचनमा नराम्ररी खस्कने बुझाइ सेनाको थियो । किनभने रोहिंग्या शरणार्थीहरुको उठिबासपछि नेत्री सुकी विवादमा आएकी थिइन् । उनलाई विवादमा ल्याउन र नोवेल शान्ति पुरस्कार खोस्न लगाउन सेनाले पनि मलजल गरेकै थियो । तर निर्वाचन परिणाम भने उल्टो आयो । उक्त पार्टीले नै अत्यधिक मत प्राप्त गरेपछि सेना फेरि असन्तुष्ट बन्यो र निर्वाचनपछिको संसद्को पहिलो बैठकको आह्वान गरिएको दिन १ फेब्रुअरीमा निर्वाचित सरकारलाई अपदस्थ गरेर सैनिक शासन लादियो ।

    त्यस यतादेखि त्यहाँ जनविद्रोह जारी नै छ । प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलगायत लोकतन्त्रवादी नेताहरूलाई विभिन्न मुद्दा लगाएर नियन्त्रणमा लिइएको छ । अनि यता नरसंहार जारी राखिएको छ । तर अहिलेसम्मको अवस्था हेर्दा जनता मान्ने पक्षमा देखिँदैनन् । अघिल्ला ‘कू’ हरुको तुलनामा अहिले म्यानमारको जुन्ता सरकारलाई महङ्गो पर्ने देखिन्छ ।

    यतिखेर म्यानमारमा मानवअधिकार दुखेको छ । यहाँ दिनहुँ नरसंहार जारी छ । यो विषय म्यान्मारको निजी र आन्तरिक मामिला मात्र होइन भनेर बुझ्न अब भने विश्वले ढिला गर्नुहुदैन । यो म्यान्मारको निजी मामिला नभएर अन्तर्राष्ट्रिय चासो, चिन्ता र सरोकारको विषय हो । म्यान्मारको सैनिक जुन्ताले संयुक्त राष्ट्रसंघले पारित गरेको रिजोलुसनलाई समेत पूर्णतः अस्वीकार गर्दै जनतामाथि दमन जारी राखेको छ । यस्तो अवस्थामा विश्वले म्यान्मारलाई दबाब नदिने हो भने यहाँ झन् ठूलो नरसंहार हुनसक्नेतर्फ विश्व समुदायको ध्यान पुग्नु जरुरी छ ।

  • म्यान्मार सैनिकद्वारा नेपालीभाषी दम्पतीको गोली हानी हत्या

    म्यान्मार सैनिकद्वारा नेपालीभाषी दम्पतीको गोली हानी हत्या

    काठमाडौं । म्यान्मारका सुरक्षाकर्मीको गोली प्रहारबाट नेपालीभाषी दम्पत्तिको निधन भएको छ । मंगलबार बिहान उनीहरुको शव नजिकको सडक किनारमा भेटिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

    मारिनेहरुमा नेपालीभाषी किसन गौतम र उनकी पत्नी हरिमाया छिन् । गोर्खा समुदायसँग आबद्ध उनीहरुले त्यहाँ गाइपालन व्यवसाय गर्दै आइरहेका थिए ।

    भारत सीमावर्ती म्यानमारको सहर तमुमा उनीहरुको हत्या भएको जनाइएको छ । मारिनुअघि उनीहरु कन्टेनरमा दूध भरेर बजारमा विक्री गर्न लैजाने तयारी गर्दै थिए ।

    उनीहरुको शवलाई त्यहाँका केही समाजसेवी समूहले उद्दार गरेर नजिकको अस्पताल लगेका थिए । उनीहरुको मंगलबार अपरान्ह हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको छ । उनीहरुका एक छोरी र दुई छोरा थिए । 

    म्यानमारमा सेनाविरुद्धको प्रदर्शनमा मारिनेको संख्या ७ सय नाघेको छ ।

  • म्यान्मारमा सुरक्षाकर्मीद्वारा थप ८० प्रदर्शनकारी मारिए

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा थप ८० प्रदर्शनकारी मारिए

    म्यान्मार । शुक्रबार यहाँ सुरक्षाकर्मीहरुद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको समाचारमा जनाइएको छ ।

    अनुगमनमा खटिएका अधिकारकर्मीहरुले सुरक्षाकर्मीको आक्रमणमा परी ८२ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।मृतकहरूको शव सेनाले लिएर गएकाले मृतकको सङ्ख्या अझ बढी हुन सक्ने पनि उनीहरुले बताएका छन् ।

    प्रदर्शनकारीहरु विरुद्ध सुरक्षाकर्मीहरूले ठूला हतियार प्रयोग गरेको र केही हलचल हुनेबित्तिकै गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।

    म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सत्तामा बसिरहनका लागि सेनाले दिनानुदिन हिंसाको सहायता लिएको देखिएको छ ।

    सेनाले सत्ता हातमा लिए यता म्यानमारभरि विरोध प्रदर्शनहरू हुँदै आएका छन् । हालै भएको निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउँदै सेनाले फेरि चुनाव गर्ने बाहनामा सत्ता कब्जा गरेको हो । चुनावका लागि भन्दै सेनाले देशमा एक वर्षका लागि सङ्कटकाल घोषणा पनि गरेको छ ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक र निर्वाचन अधिकारीहरुले भने निर्वाचन निश्पक्ष नै भएको दावी गरेका छन् । सेनाले नतिजा अस्विकार गरिरहेको बेला नयाँ संसदको बैठक बस्न लागेकै दिन सेनाले सत्ता कब्जा गरिएको घोषणा गर्दै नेताहरुलाई थुनामा राखेको हो ।
    सेनाको कदमको विश्वभरीबाट विरोध भइरहेको छ भने शान्तिपूर्ण लोकतान्त्रिक राजनीतिक निकासका लागि दबाब बढिरहेको छ ।

  • म्यान्मारको जुन्ता सरकारद्वारा १२० भन्दा बढी कलाकार पक्राउ

    म्यान्मारको जुन्ता सरकारद्वारा १२० भन्दा बढी कलाकार पक्राउ

    यांगुन । म्यान्मारको जुन्ता सरकारले सैनिक विद्रोहको विरोध गरिरहेका १२० जना भन्दा बढी कलाकारलाई नियन्त्रणमा लिएको छ । सरकारले पछिल्लो समयमा सैनिक विद्रोहका विरुद्धमा विभिन्न कलाकारिता प्रस्तुत गरको भन्दै उनीहरुलाई पक्राउ गरेको बिहीबार बताइएको छ ।

    ती कलाकारहरु मध्येका प्रमुख हुन् यहाँका एकजना गायक र मोडेल पाइङ ताखोन । उनी म्यान्मार र थाइल्याण्डमा समेत चर्चित गायक, मोडेल र कलाकार हुन् । उनले पछिल्लो समयमा म्यान्मारको सैनिकले विद्रोह गरेर सत्ता हत्याएको विरोधमा कार्यक्रम गर्दै आएका थिए । अहिले म्यानमारमा विरोध प्रदर्शन जारी छ र यसमा कलाकारहरुले विभिन्न कला पनि प्रस्तुत गर्ने गरेका छन् ।

    उनीसहित उनका अरु सहयोगी तथा कलाकारहरुलाई पनि म्यानमारको सेनाले पक्राउ गरेर थुनामा राखेको बताइएको छ । यहाँ गत फेब्रुअरी १ मा सरकारलाई अपदस्थ गरी सेनाले सत्ता लिएको छ ।

    त्यसका विरुद्धमा म्यान्मारमा शुरुदेखि नै विरोध भइरहेको छ । सैनिक सरकारका विरुद्धमा यहाँका लेखक, पत्रकार, कलाकार तथा समाजका विभिन्न क्षेत्र र बर्गका नागरिकहरुले सडक संघर्षलाई जारी राखेका छन् ।

    उनी म्यानमारको याङ्गुनबाट दक्षिणी शहरमा बस्दै आएका थिए । आमाको घरमा बसिरहेका उनलाई पक्राउ गर्नका लागि आठ ओटा सैनिकका ट्रकमा करिब ५० जना सेना आएका थिए । ती कलाकारकी बहिनी थिथि लिविनले सो समाचार फेसबुकमा पोष्ट गरेकी बताइएको छ । उनलाई बिहीबार बिहानै निवासमै आएर सेनाले पक्राउ गरी लगेको थियो । ती कलाकार विरामी नै रहेका बेलामा सेनाले पक्राउ गरेको र उनलाई कहाँ लगेर राखेको छ भन्ने बारेमा केही थाहा पनि नभएको पनि उनकी बहिनीले बताएकी छिन् ।

  • जापानद्वारा म्यान्मारलाई दिने नयाँ सहायता रोक्ने घोषणा

    जापानद्वारा म्यान्मारलाई दिने नयाँ सहायता रोक्ने घोषणा

    टोकियो । जापानले म्यान्मारमा प्रजातान्त्रिक प्रक्रिया अबरुद्ध गरी सेनाले सत्ताविद्रोह गरेको भन्दै नयाँ आर्थिक सहायता दिन बन्द गरेको छ ।

    तर सेना र प्रहरीका कमान्डरहरुलाई अन्य देशले प्रतिबन्ध गरे पनि जापान त्यस्तो प्रतिबन्ध भने नलगाएको विदेश मन्त्रालयले जनाएको छ ।

    म्यान्मारका लागि जापान सबैभन्दा ठूलो दातृ मुलुक हो । जापानका विदेश मन्त्री तोसिमिचु मोटेगीले आर्थिक सहायता रोकेर म्यान्मारलाई प्रस्ट सन्देश दिन खोजेको बताएका छन् ।

    संसदमा मङ्गलबार सम्बोधन गर्दै विदेश मन्त्री मोटेगीले भने, “म्यान्मारका निम्ति सबैभन्दा बढी आर्थिक सहायता उपलब्ध गराउने जापान प्रमुख राष्ट्र हो । अब नयाँ सहायता म्यान्मारलाई दिइने छैन । हामीले प्रस्ट अडान राखेका छौं ।”

    संयुक्तराज्य अमेरिका, बेलायत र युरोपेली युनियनले सत्ताविद्रोहमा संलग्न प्रहरी र सेनाका वरिष्ट कमान्डरका साथै सेनाको नियन्त्रणमा रहेका व्यापारिक एवं व्यवसायिक कम्पनीमाथि विभिन्न किसिमका प्रतिबन्धहरु घोषणा गरिसकेका छन् ।

    तर जापानको म्यान्मारसँग बलियो आर्थिक तथा म्यान्मारको सेनासँग रहेको लामो समदेखिको सम्बन्धका कारण जापानले केही नरम नीति लिएको छ ।

    स्थानीय सञ्चार माध्यमका अनुसार नयाँ सहायता मात्र रोकिने छन् । हाल सञ्चालनमा रहेका आयोजनामा हुने लगानी भने यथावत् रहनेछ ।

    म्यान्मारमा प्रजातन्त्रको पुनर्वहालीका लागि भएको प्रदर्शनमा हालसम्म ५०० भन्दा बढी व्यक्ति मारिइसकेका छन् । विश्वका शक्तिशाली मुलुकहरुले म्यान्मारको सैन्य विद्रोहलाई लिएर निन्दा एवं भत्र्सना गरिरहेका छन् ।

    जापानले म्यान्मारको सैन्य सत्ता विद्रोहलाई लिएर आलोचना गर्नुका साथै लोकतन्त्रको पुनर्वहालीका लागि आह्वान गरेको छ ।

    म्यान्मारमा केही हजार जापानी नागरिक र सयौं जापानी कम्पनीहरु रहेको विश्वास गरिन्छ । म्यान्मारमा हाल विदेशी लगानीका दृष्टिबाट जापान पाँचौं ठूलो लगानीकर्ता मुलुक हो ।

  • म्यान्मारसँगको अमेरिकी व्यापार सम्झौता स्थगित, लोकतान्त्रिक सरकार पुनर्वहाली गर्न माग

    म्यान्मारसँगको अमेरिकी व्यापार सम्झौता स्थगित, लोकतान्त्रिक सरकार पुनर्वहाली गर्न माग

    वासिङ्टन । संयुक्तराज्य अमेरिकाले म्यान्मारमा लोकतान्त्रिक सरकार पुनर्वहाली नहुँदासम्म म्यान्मारसँगको व्यापार सम्झौता स्थगित गरेको छ । गत फेब्रुअरी १ मा म्यान्मारको सेनाले सत्ताविद्रोह गरी शासनसत्ता आफ्नो हातमा लिनुका साथै लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि निर्ममतापूर्वक बल प्रयोग गरेको छ ।

    सेनाले निर्वाचित सरकारलाई विस्थापित गरेको छ भने नेतृ आङ सान सू की र अन्य नेताहरुलाई नजरबन्दमा राखेको छ ।

    अमेरिकी व्यापार प्रतिनिधि केथेरिन ताईले जारी विज्ञप्तिमा संयुक्तराज्य अमेरिकाले लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारको तत्काल पुनर्वहाली भएको हेर्न चाहन्छ भनिएको छ ।

    संयुक्तराज्य अमेरिका बर्मेली सेनाले निहत्था नागरिकमाथि गरिरहेको हिंस्रक आक्रमणप्रति कडा शब्दमा निन्दा एवं भत्र्सना गर्दै विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण प्रदर्शनकारी, विद्यार्थी, कामदार, श्रमिक नेताहरु, स्वास्थ्यकर्मी, र बालबालिकाको हत्याले अन्तर्राष्ट्रिय समुदायलाई हतप्रभ बनाएको छ ।”

    साथै विज्ञप्तिमा संयुक्तराज्य अमेरिकाले म्यान्मारसँग सन् २०१३ मा गरेको व्यापार तथा लगानी संरचना सम्झौतालाई तत्काल निलम्बन गरेको उल्लेख छ ।

    उक्त सम्झौता बमोजिम दुई मुलुकले म्यान्मारको अर्थतन्त्रलाई विश्व व्यापारसँग एकीकृत गर्ने प्रयास स्वरुप व्यापार र लगानीका विषयमा सहकार्य हुँदै आएको छ । म्यान्मारको सेनाले लोकतान्त्रिक शासन व्यवस्थालाई समर्थन जनाएपछि उक्त सम्झौता गरिएको थियो ।

    तर अमेरिकी व्यापार प्रतिनिधि ताईको सोमबारको घोषणाबाट दुई मुलुकबीचको व्यापार भने तत्काल रोकिने छैन ।

    यही कारण संयुक्तराज्य अमेरिकाले म्यान्मारमाथि अलग्गै प्रतिबन्धहरु लगाउँदैछ । उदाहरणका लागि, संयुक्तराज्य अमेरिका र बेलायतले म्यान्मारको सेनाको नियन्त्रणमा रहेका दुई ठूला व्यापारिक कम्पनीहरु म्यान्मार इकोनोमिक होल्डिङ्स लिमिटेड र म्यान्मार इकोनोमिक कर्पोरेसनमाथि प्रतिबन्ध लगाइसकेका छन् ।

    ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले म्यान्मारको निर्यात व्यापारमा नियन्त्रण गर्न थालिएको र केही बर्मेली व्यवसायलाई कालोसूचीमा राखिएको जानकारी दिएकी छिन् ।

    म्यान्मार र संयुक्तराज्य अमेरिकाबीचको व्यापार त्यति ठूलो छैन । गत वर्ष अमेरिकाले म्यान्मारतर्फ करिब ३३ करोड ८० लाख डलरको सामग्री निर्यात गरेको थियो भने करिब एक अर्ब डलर बराबरको आयात गरेको थियो ।

    तर अमेरिका र अन्य विकसित मुलुकहरु म्यान्मारका तयारी पोशाकका प्रमुख खरिदकर्ता रहेका छन् । यी कारखानाहरु अधिकांश विदेशीले खोलेका छन् । यी कारखानाले गरिबीको चपेटामा परेको म्यान्मारमा लाखौंलाई रोजगारी उपलब्ध गराएका थिए ।

  • म्यान्मार कू : सेनाविरोधी प्रदर्शनमा सोमबारसम्म १३८ जनाको मृत्यु

    म्यान्मार कू : सेनाविरोधी प्रदर्शनमा सोमबारसम्म १३८ जनाको मृत्यु

    न्यापिटअ– म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ ।

    राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले नियमित पत्रकार सम्मेलनमा सेनाको गोली लागेर आइतबार एकै दिन ३८ जनाको मृत्यु भएको जानकारी दिए । उनले यी हत्याकाण्ड याङ्गुनको हाइलाङ थायेर क्षेत्रमा भएको पनि राष्ट्रसङ्घीय मानव अधिकारी कार्यालयको भनाई उद्धृत गर्दै बताए ।

    म्यान्मारमा शनिबार पनि १८ जनाको ज्यान गएको थियो ।

    उनले भने -“राष्ट्रसङ्घ महासचिवले शान्तिपूर्ण प्रदर्शनमा सहभागीमाथि भएको यस किसिमको हिंसात्मक कारबाही कुनै पनि हालतमा स्वीकार्य छैन । म्यान्मारका जनताको आधारभूत अधिकार निरन्तर उल्लङ्घन भइरहेकामा राष्ट्रसङ्घ निन्दा गर्दछ ।”

    राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय समुदायलाई म्यान्मारका जनताको पक्षमा ऐक्यबद्धता जनाउन पनि आग्रह गरेका छन् ।

    यसैबीच, म्यान्मारको सेनाले ठूलो संख्यामा प्रदर्शनकारी मारिएपछि याङ्गुनका विभिन्न क्षेत्रमा सैनिक कानुन लगाएको छ । निक्की एसियाका अनुसार यस क्षेत्रमा प्रदर्शनकारीले चिनियाँहरुको स्वामित्वमा रहेका धेरैवटा कारखानामा आगजनी गरिदिएका थिए ।

    सेनाले गत फेब्रुअरीमा सत्ता आफ्नो हातमा लिएपछि सेना विरुद्ध दिनहुँ प्रदर्शनहरु भइरहेका छन् । सेनाले आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गर्नुका साथै संसदको नयाँ निर्वाचनलाई पनि खारेज गरिदिएको छ ।

    यसैबीच, जापानको भ्रमणमा रहनु भएका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले म्यान्मारमा सेनाले गरेको ज्यादती निकै भयानक रहेको र त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।

  • म्यान्मारमा सेनाको गोली लागेर थप छ जनाको मृत्यु

    म्यान्मारमा सेनाको गोली लागेर थप छ जनाको मृत्यु

    याङ्गुन -प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा छ जनाको मृत्यु भएको छ ।

    सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ यता म्यान्मारभित्र विषम परिस्थिति उत्पन्न भएको छ । म्यान्मारमा दश वर्षसम्मको लोकतन्त्रको अनुभवपछि सेनाले पुनः सत्ता कब्जा गरेको हो ।

    म्यान्मारमाथि अन्तर्राष्ट्रिय दबाब पनि बढ्दो छ र बेलायतले शुक्रबारको बैठकमा राष्ट्रसंघ सुरक्षा परिषदको बैठक पनि डाकेको छ । पश्चिमा मुलुकहरुले म्यान्मारका सैनिक नेतृत्वमाथि प्रतिबन्धहरु घोषणा गरेका छन् ।

    अस्पताल स्रोतका अनुसार मध्य म्यान्मारको शहरमा चार व्यक्तिको गोली लागेर मृत्यु भएको छ । देशको दोस्रो ठूलो शहर मन्डालेमा पनि दुई व्यक्तिको गोली लागेर मृत्यु भएको अस्पताल स्रोतले एएफपीलाई बताएको छ ।

    एक चिकित्सकले नाम नबताउने शर्तमा मन्डालेमा मारिएका एक व्यक्तिको टाउकामा गोली लागेको बताएका छन् । देशको मिङ्यान शहरको प्रदर्शन पनि निकै हिंसात्मक बनेको थियो । ती चिकित्सकका अनुसार सुरक्षाकर्मीले अश्रुग्यास, रबरको गोली प्रहार गरेका थिए । उक्त घटनामा कम्तीमा १० जना घाइते भएका छन् ।

    म्यान्मारको सबैभन्दा ठूलो शहर याङ्गुनमा बुधबार पनि प्रदर्शनहरु जारी छन् ।

    सैनिकले सत्ता कब्जा गरेपछि आइतबार सबैभन्दा रक्तपातपूर्ण रहेको थियो । राष्ट्रसंघका अनुसार देशका विभिन्न भागमा आइतबार एकै दिन कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

    देशका विभिन्न भागमा सुरक्षा फौजले पत्रकारहरु र नागरिक समाजका व्यक्तिहरुलाई पनि धरपकड गरेको छ ।

  • सैन्य ‘कू’पछि पहिलोपटक म्यान्मारका विदेशमन्त्री आसिएनको बैठकमा सहभागी

    सैन्य ‘कू’पछि पहिलोपटक म्यान्मारका विदेशमन्त्री आसिएनको बैठकमा सहभागी

    याङ्गुन- म्यान्मारका विदेशमन्त्री यु वाना मुङ एलविन आसिएन (एसोसिएन अफ साउथ इस्ट एसियन नेसन्स)का विदेशमन्त्रीको एक भर्चुअल बैठकमा सहभागी भएको समाचारमा जनाइएको छ ।

    मंगलबार भएको सो बैठकमा उनी सहभागी भएको कुरा म्यानमारका सरकारी सञ्चारमाध्यमहरुले जानकारी दिएको सिन्ह्वाले जनाएको छ । उनी राज्य प्रशासन परिषदका प्रमुख तथा म्यानमारको प्रतिरक्षा सेवाका कमाण्डर इन चिफ जनरल मिन अङ एचलाइङद्वारा हालै विदेशमन्त्रीमा नियुक्त भएका हुन् ।

    त्यहाँका सैनिकले गत फेब्रुअरी १ मा सत्ता विद्रोह गरेर म्यान्मारका राष्ट्रपति यु विन मियान्त र राज्य सल्लाहकार तथा विदेशमन्त्री आङ सान सुकीलाई नजरबन्दमा राखेर यहाँ सैनिक शासनको घोषणा गरेको थियो ।

    त्यहाँको सैनिकले सत्ता हत्याएको छ र गत फेब्रुअरी १ देखि म्यानमारमा सैनिक शासनको घोषणा गर्नुका साथै एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । त्यहाँको प्रजातान्त्रिक दलका सबैजसो केन्द्रीय तहका नेताहरुलाई यहाँको सरकारले नजरबन्दमा राखेको छ ।

    मंगलबार भएको सो भर्चुअल बैठकमा आसिएनका सबैजसो विदेशमन्त्रीहरुले म्यान्मारलाई शान्ति र रचनात्मक कार्यका लागि सहयोग गर्ने बताएका थिए । सो कुरा म्यान्मारका सरकारी सञ्चारले जानकारी दिएका हुन् ।