Tag: बुद्ध एयर

  • बुद्ध एयरको सिण्डिकेटले कर्णालीका नागरिक मारमा, यात्रु आक्रोशित

    बुद्ध एयरको सिण्डिकेटले कर्णालीका नागरिक मारमा, यात्रु आक्रोशित

    सुर्खेत । बुद्ध एयरको सिण्डिकेट र मनलाग्दी भाडादरप्रति कर्णालीका नागरिकले आक्रोश पोखेका छन् । काठमाडौंबाट सुर्खेतको एकतर्फी भाडा पाँच हजारबाट बढाएर १३ हजारसम्म बढाएपछि यहाँका यात्रुले आक्रोश पोखेका हुन् ।

    गुण एयरले उडान बन्द गरेपछि एक मात्र उडान भर्दै आएको बुद्ध एयरले मनलाग्दी भाडा असुलेको हो ।

    नेपाली कांग्रेसका प्रदेश कार्य समिति सदस्य गोविन्द कोइरालाले भाडादर अत्यन्तै महंगो भएको भन्दै सामाजिक सञ्जालमार्फत् आक्रोश पोखेका छन् । उनले लेखेका छन्– बुद्ध एअरको सुर्खेत–काठमाडौं–सुर्खेत भाडा आतंक बन्द गर् ! गुणसँग प्रतिस्पर्धा हुँदा ५००० भन्दा तल झर्न सक्ने, तर एकलौटी हुँदा १३३५० कसरी भयो ? कर्णाली जागौं !

    त्यस्तै यात्रु लवविक्रम शाह भन्छन्– बद्धद्द एयरको भाडा घटाउने कुरामा सहमति हुँदै नेपालगंजबाट कर्णाली प्रदेशका हुम्ला, जुम्ला, मुगु, डोल्पा उड्ने जहाज सुर्खेतबाट नै उडाउने व्यवस्था तत्काल गरियोस ! कर्णालीका यात्री लुम्बिनी प्रदेश गएर फेरि कर्णालीमै जाने नियतिको अन्त्य होस् ।

    सुर्खेतबाट राजधानीको यात्रा गर्दा अधिकांश यात्री नेपालगन्जबाट यात्रा भर्नुपर्ने अवस्था आएको छ । ‘नेपालगन्जबाट ३२ सयदेखि नै यात्रा गर्न पाइने तर सुर्खेतबाट १३ हजार भन्दा बढी तिर्नुपर्ने ?’ स्थानीय रमेश अधिकारी गुनासो गर्छन्, ‘बुद्ध एअरले कर्णालीलाई लुट्न थालेको छ । यो अति भयो अब नागरिक जुर्मुराउन जरुरी भइसकेको छ ।’ उनले प्रदेश सरकारले भाडादर कम गराउन कुनै पहल गर्न नसकेको समेत आरोप लगाए ।

    बुद्ध एअर सुर्खेतका प्रमुख नरबहादुर बस्नेतले कहिलेकाहीं भाडा महंगो हुने गरेको स्वीकारे । उनले भने– अचाक्ली महंगो त भन्न मिल्दैन । निर्धारण गरिएको भाडा नै लिने हो ।

  • बुद्ध एयरको जहाज भरतपुरमा आपतकालीन अवतरण (भिडिओसहित)

    बुद्ध एयरको जहाज भरतपुरमा आपतकालीन अवतरण (भिडिओसहित)

    काठमाडौं । बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ । भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुनःभरतपुरमै अवतरण गरेको हो ।

    काठमाडौ जान लागेको युफोर ३६० नाइनएनएइई जहाज १० मिनेटमै अवतरण गराइएको हो । उडेको ३ मिनेटमै सीटमुनिबाट धुँवा फैलिन थालेपछि विमानस्थलमै जहाज अवतरण गराइएको हो ।

    नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ः१६ बजे आकाशमा उड्नेवित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो । जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन् ।

    भरतपुर विमानस्थलका सूचना अधिकारी  विकले जहाजमा धुँवा आउनुको कारण पहिचान भैसनसकेको बताए । उनले कुनै मानवीय क्षति नभएको र जहाजमा ठूलो खराबी नआएको दावी गरे ।

    बुद्ध एयरको बीच क्राफ्ट जहाजमा १८ यात्रु र चालक दलका सदस्य रहेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले यात्रु र चालक दल सबै सकुशल रहेको बताए । कुनै समस्या हुनसक्ने भन्दै दमकल तयारी अवस्थामा राखिएको छ । यससँगै यहाँबाट हुने हवाई उडान प्रभावित भएको छ ।

    यतिबेला जहाजलाई धावनमार्गमा परिक्षण तथा आगो निभाउने काम भैरहेको छ । जहाजमा खराबी आएपछि यतिबेला अन्य उडान प्रभावित भएको छ ।

  • बुद्ध एयरले क्यानलाई प्रतिवेदन बुझायो, जहाजको खराबी हैन्, इण्डिकेटरको संकेत पालना भएन

    बुद्ध एयरले क्यानलाई प्रतिवेदन बुझायो, जहाजको खराबी हैन्, इण्डिकेटरको संकेत पालना भएन

    काठमाडौं । बुद्ध एयरले गत सोमबार विराटनगर उडेको विमानमा आएको समस्या जहाजको समस्या नभएको बताएको छ । बुद्ध एयरले आज नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई बुझाएको प्रतिवेदनमा सो कुरा उल्लेख छ ।

    प्रतिवेदनमा क्याप्टेनले अनावश्यक यात्रुलाई त्रसिद गरेको र इण्डिकेटरको संकेतलाई याद नगरी उडान भर्दा समस्या आएको बताएको छ । बुद्ध एयरले क्याप्टेन अनन्त डंगोलको संयोजकत्वमा छनबिन समिति गठन गरेको थियो । बाहिरी सूचनामा बढी भरपर्दा समस्या आएको कम्पनीको भनाइ छ ।

    गत सोमबार विहान काठमाडौंबाट विराटनगर उडेको वुद्ध एयरको ‘९ एन– एएनआई’ कलसाइनको एटीआर–७२ जहाज विराटनगरमा विमानसथलमा ल्याण्ड हुन नसकी काडमाडौंमा आएर अवतरण गरेको थियो ।

    विराटनगरमा पाइलटले अवतरणका लागि ल्याण्ङि गियर खोल्न खोज्दा नखुलेपछि २ घण्टासम्म आकाशमा घुमेको थियो । त्यसपछि पुनः पाइलट याङ शेर्पाले जहाजलाई काठमाडौं नै ल्याएर सकुशल अवतरण गरेका थिए । सो जहाजमा चालक दलका ४ सदस्यसहित ७७ यात्रु थिए ।

  • बुद्ध एयर प्रकरण: पर्यटन मन्त्रालयले भन्यो- कहिलेकाहीँ समस्याहरु देखिनु स्वभाविक, कारबाही गर्न मिल्दैन

    बुद्ध एयर प्रकरण: पर्यटन मन्त्रालयले भन्यो- कहिलेकाहीँ समस्याहरु देखिनु स्वभाविक, कारबाही गर्न मिल्दैन

    काठमाडौं । नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान उपसमितिले हवाइजहाजमा देखिएका प्राविधिक समस्याका सम्बन्धमा छलफल गरेको छ ।

    शुक्रबार सिंहदरवारमा बसेको उपसमितिको बैठकले पछिल्लो समय हवाइजहाजमा देखिएका प्राविधिक समस्याहरुको बारेमा छलफल गरेको हो । छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले केही दिनअघि बुद्ध एयरमा देखिएको समस्या त्रुटिवश भएको बताए ।

    उनले बुद्ध एयरमा भएको घटनाको अहिले अनुसन्धान भइरहेको बताए । सहसचिव लामिछानेले विमान मिसिनबाट चल्ने भएकोले कहिलेकाहीँ केही समस्याहरु देखिनु स्वभाविक भएको तर्क गरे ।

    उपसचिव लामिछानेले भने, ‘अस्ति बुद्ध एयरको जुन एउटा घटना भयो,अहिले हामी सबै त्यसको इन्भेष्टिगेशनको चरणमा छौँ, अनुसन्धान पूरा भएपछि भन्ने ठाउँ त भइ नै हाल्छ,कति कुराहरु पाइलटले मात्रै फेस गरेको हुन्छ र त्यत्तिकै पनि समाधान हुन्छ,कति अप्रेटरकोमा आउँछ, त्यहाँबाट समाधान हुन्छ,साना घटनाहरुलाई हामी इरर भन्छौँ, अस्तिको कुरा इरर हो ।’

    छलफलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले प्राधिकरणले आफ्नो क्षेत्रबाट कतै पनि कमजोरी नगरेको बताए । उनले नागरिक उड्ययन प्राधिकरणलाई हीत हुने गरेर राम्रो सुझाव आए सहस्र स्वीकार्ने बताए ।

    महानिर्देशक क्षेत्रीले भने, ‘हाम्रो पार्टबाट हामीले कहीँ कतै कमजोरी छोडेका छैनौँ,विगतको घटनाहरु म भन्न चाहन्न,तर अहिले राजुजीको जुन टीम छ, प्लस हामीले बाहिरबाट पनि ल्याएका छौँ, उहाँहरुले आफ्नो काम गरिरहनुभएको छ, यस्तो मिटिङबाट राम्रो सुझाव आए हामी अलाउड गर्न तयार छौँ ।’

    त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका सहयोगी राजु श्रेष्ठले बुद्ध एयरको बारेमा अनुसन्धान भइरहेकोले केही भन्न नमिल्ने बताए । उनले जहाज किन्ने बेलामा हरेक जहाजको पार्टपूर्जा, ल्याण्डिङको आयु तोकेको हुने भन्दै त्यसै आधारमा रहेर छानबिन टोलीले अनुसन्धान गरिरहेको बताए ।

    उनले भने, ‘हालसालैको जुन घटनाको कुरा आयो,घटनाको छानबिन रिपोर्ट नआएसम्म त्यसमा हामी त्यति कमेन्ट गर्दैनौँ, छानबिनमै रहेकोले त्यसबारेमा चर्चा, परिचर्चा गर्दैनौँ,जहाजको मर्मत सम्हारको कुरामा जहाजलाई निर्माण गर्ने क्रममा जहाजको सबै पार्टपूर्जाको लाइफ तोकेको हुन्छ, ल्याण्डिङ, त्यसको पार्टपूर्जामा समय तोकिएको हुन्छ,त्यसपछि त्यो जहाजको जन्मकुण्डली भयो, यो जहाजको उमेर यति हो ।’

    यति एयरलाइन्स प्रा.लि.का अप्रेसन्स म्यानेजर गोविन्द पौड्यालले हरेक विमान उड्नु भन्दाअघि इन्जिनियरहरुले चेक गरेपछि मात्रै उड्ने भएकोले हालै भएको बुद्ध एयरको घटना अपवादमा भएको बताए । कहिलेकाहीँ यस किसिमका घटनाहरु सबै परीक्षण गरिसकेपछि पनि हुने उनले बताए ।

    श्री एयरलाइन्स प्रा.लि.का अध्यक्ष सुधिर मित्तलले गाडीको जस्तै जहाजको पनि टेक्निकल समस्या आउने भएकोले हालै भएको बुद्ध एयरमा त्यही समस्या दोहिरिएको बताए । उनले सधैँ आइरहनु ठूलो समस्या भएको तर कहिलेकाहीँ देखिनुलाई ठूलो समस्या भन्न नसकिने बताए । उनले १५ वर्षको इतिहासमा पहिलोपटक पाङ्ग्रा ननिस्किने समस्या आएको भन्दै यसै समस्यालाई लिएर दण्ड दिन नमिल्ने बताए ।

    अध्यक्ष मित्तलले अन्तर्राष्ट्रिय स्तरमा हेर्दा पनि विगत ५ वर्ष यता नयाँ जहाज दुर्घटना र समस्या आइरहेको बताउ । एथ्री २० नियोमा इतिहासमै सबैभन्दा धेरै उड्दा उड्दै जहाजको इन्जिन बन्द हुने समस्या आएको बताउँदै अध्यक्ष मित्तलले नियमन निकायले तोकेको भन्दा धेरै उडान भरेमा समस्या आइरहने उनको भनाइ छ ।

     

  • बुद्ध एयर प्रकरणः जहाज आकाशमा, पाइलट ग्राउण्डेड

    बुद्ध एयर प्रकरणः जहाज आकाशमा, पाइलट ग्राउण्डेड

    काठमाडौं । प्राविधिक समस्या देखिएको जहाजलाई सुरक्षित अवतरण गराएको भनेर सामाजिक सञ्जालमा प्रशंसा कमाइरहेका बुद्ध एयरका पाइलटलाई कम्पनीले ‘ग्राउन्डेड’ गरेको छ । क्याप्टेन आङ्गेलु शेर्पालाई छानविन प्रतिवेदन नआउँदासम्मका लागि विमान चलाउन रोक लगाइएको हो ।

    नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार पाइलटलाई ग्राउन्डेड गरिएको कम्पनीले जनाएको छ । कम्पनीका प्रवक्ता दीपेन्द्र कर्णले उक्त घटनाका सम्बन्धमा क्यान र कम्पनीले समेत छानविन गरिरहेकाले पाइलटलाई नियमानुसार ग्राउन्डेड गरिएको बताए ।

    ‘जहाज उडानको समयमा कुनै समस्या आएमा क्यानले पाइलटमाथि पनि छानविन गर्ने भएकाले केही समय उहाँको लाइसेन्स प्रयोग नभएको हो,’ उनले भने ।

    क्यानका अनुसार छानविनको रिपोर्ट नआउँदासम्म शेर्पाले आफ्नो लाइसेन्स प्रयोग गर्न पाउने छैनन् ।

    क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले छानविनका क्रममा तथ्य–प्रमाण सबै जुटाउनु पर्ने भएकाले क्याप्टेन शेर्पाको लाइसेन्स केही दिनलाई होल्ड भएको बताए ।

    ‘यसरी भयो होला भनेर अनुमानका आधारमा हुँदैन, प्रमाणका आधारमा निर्णय लिनुपर्ने हुन्छ,’ उनले भने, ‘क्यानले अन्तर्राराष्ट्रिय मापदण्ड अपनाएर छानविन प्रक्रिया पूरा गर्नुपर्छ ।’

    तर प्राधिकरणले प्राविधिक समस्या देखिएको जहाजलाई २४ घन्टाभित्रै उडान अनुमति दिइसकेको थियो । सो विमान अहिले पनि पूर्ववतरुपमा यात्रु ओसारिरहेको छ ।

    गत सोमबार बिहन ८:३० मा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको नाइन–एनएनआईको एटिआर विमान चक्का नखुलेर अवतरणमा आएको थियो ।

    जहाजमा ६८ वयस्क, ५ बच्चा र चालक दलका ४ जना थिए । आन्तरिक उडानमा पहिलो नम्बरमा रहेको बुद्ध एयरमा समय–समयमा समस्या आइरहेको भए पनि कम्पनीले यसलाई गम्भीर रुपमा नलिएको जानकारहरु बताउँछन् ।

    समस्या आएको जहाजको छानविन रिपोर्ट नआउँँदै जहाज पुनः उडाउनुले पनि कम्पनी जिम्मेवार नदेखिएको भनेर आलोचना भएको छ ।

  • प्राविधिक रिपार्ट नआई उड्यो बुद्धको जहाज

    प्राविधिक रिपार्ट नआई उड्यो बुद्धको जहाज

    काठमाडौं । सोमबार बुद्ध एयरको समस्या देखिएको जहाज आज विहानै उडान भरेको छ । बुद्ध एयरले जहाजमा के कसरी समस्या आयो भन्ने कुराको रिपोर्ट नआई आज विहानबाटै उडान भरेको हो ।

    बुद्धको ९ एन–एएनआइकलसाइनको जहाज विराटनगर जँदा समस्या देखिएपछि पुनः पाइलटले काठमाडौं ल्याएर सफल अवतरण गराएका थिए । जहजसमा समस्या देखिएपछि पर्यटन मन्त्रालय, नेपाल उड्डयन प्राधिकरण (क्यान) तथा स्वयम बुद्ध एयरले नै त्यसको जाँचबुझ गर्ने भनेका थिए ।

    क्यानले त प्राविधिक टोलीसहितको छानविन समिति नै खडा गरेको थियो तर, छानविनको रिपोर्ट नआउँदै जहाजले उडान भरेको छ । जहाजले उडान भर्नुमा क्यानको प्राविधिक टोलीले जहाजको प्राविधिक अवस्था हेरेर उड्न योग्य भएकाे  भनेकाले उडान अनुमति दिएको त्रिभुवन विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए ।

    उनका अनुसार हिजो नै क्यानको प्राविधिक टोलीले समस्या आएको बुद्ध एयरको जहाजको प्राविधिक निरीक्षण गरेको थियो । ‘सायद टोलीले जहाज ग्राउण्डेड गर्नु पर्ने समस्या नदेखेकाले होला उडान अनुमति दिएको,’ उनले भने । प्राविधिक टोलीले अनुमति नदिइकन कुनै पनि हालतमा जहाज नउड्ने उनको जिकिर थियो ।

    टीआईएका प्रवक्ताले प्राविधिक टोलीको अनुमतिसँगै जहाज उडेको भनिरख्दा यता सरोकार वालाले भने कम्पनीले जर्वजस्ती छानविन कमिटीको रिपोर्ट नआइकन जहाज उडाएको बताएका छन् । बुद्ध एयरले कम्पनीले यात्रुको सुरक्षामा कुनै संझौता नगर्ने भने पनि हिजो विहान पोखरा उडेको विमानमा समस्या देखिएपनि त्यसलाई ढाकछोप गर्ने प्रयास गरेको टीआइएका कर्मचारी बताउँछन् ।

  • बुद्धको विमानमा देखिएको प्राविधिक समस्याबारे छानविन हुने

    बुद्धको विमानमा देखिएको प्राविधिक समस्याबारे छानविन हुने

    काठमाडौं । बुद्ध एयरका दुई विमानमा एकैदिन समस्या देखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणको फ्लाइट सेफ्टी स्टाण्डर्ड डिपार्टमेन्टले छानविन गर्ने भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका फ्लाइट अप्रेसन डिपार्ट प्रमुख तथा प्रवक्ता रिञ्जी शेर्पाले विमानमा के कसरी समस्या आयो भन्नका लागि हाम्रो डिपार्टमेन्टले छानविन गर्नेछ । ‘क्यानको फ्लाइट सेफ्टी स्टाण्डर्ड डिपाटमेन्टमा दक्ष इन्जिनियर तथा पाइलट भएकाले यसको छानविन चाँडै हुन्छ ।’

    यता बुद्ध एयरले पनि ‘कम्पनीको शुरक्षा निर्देशिकाअनुसार सबै सुरक्षाको मापदण्ड पूरा गरी विमान अवतरण गराएको भन्दै आफूहरू सधैँ सुरक्षित हवाइ यात्राको प्रतिबद्धतामा रहेको बताएको छ । साथै कम्पनीले इन्टरनर्ल रूपमा के कारणले विमानमा समस्या आयो भन्ने विषयमा छानविनसमेत गर्ने बताएको छ ।

    आज काठमाडौंबाट विराटनगर उडेको विमानमा प्राविधिक समस्या आएपछि अवतरण हुन नसकेर पुन: काठमाडौं ल्याएर फोर्स ल्याण्डिङ गरिएको थियो । सो विमानमा ९ एनएएनटीआई कलसाइन विमानभित्र वयस्क ६८, र बच्चा ५ जना गरी ७३ यात्रु सवार थिए ।

    आजै बिहान ७ बजे बुद्ध एयरको पोखराका लागि उडान भरेको अर्को ‘एटीआर-७२ ९ एन-एजेओ’ कलसाइनको विमानमा पनि उडानका क्रममा समस्या देखिएको थियो विमानको ककपिटमा समस्या देखिएपछि त्यो विमान काठमाडौं फिर्ता भएको थियो । काठमाडौंमा अवतरणपछि आवश्यक परीक्षणपछि विमान पुन: पोखराका लागि उडेको थियो ।

  • बुद्ध एयरको विमानभित्र तनावका २ घण्टा : ‘ढोका खोल्दिनुस्, हाम्फाल्छौं’ भन्दैथिए यात्रु (भिडिओ)

    बुद्ध एयरको विमानभित्र तनावका २ घण्टा : ‘ढोका खोल्दिनुस्, हाम्फाल्छौं’ भन्दैथिए यात्रु (भिडिओ)

    काठमाडौं । सोमबार बिहान काठमाडौंबाट विराटनगर उडेको वुद्ध एयरको विमान प्राविधिक समस्याका कारण विराटनगर विमानस्थलमा ल्याण्ड हुन नसकी काडमाडौंमा आएर अवतरण गर्‍यो । यसक्रममा जहाजले झण्डै १० पटकसम्म आकाशमै फन्को मारेको थियो ।

    उडिरहेको विमानभित्र सामान्य समस्या आउँदा पनि त्यसलाई निकै संवेदशनशील मानिन्छ । एक-पटक, दुई पटक होइन पटक-पटक ल्यान्ड गराउने प्रयास असफल भएपछि विमानमा सवार यात्रुहरू अत्तालिनु स्वभाविक थियो । केही यात्रु रुन कराउन थालिसकेका थिए । एयरहोस्टेसहरूले उनीहरुलाई सम्झाउने प्रयास गरे पनि उनीहरु आफैं ‘नर्भस’ थिए ।

    काठमाडौंबाट केही मिनेटको यात्रापछि विराटनगर ओर्लनुपर्ने यात्रुहरू दुई घन्टासम्म आकाशमै रहे । त्यो बेला उनीहरूको मनोदशा पक्कै सहज भएन ।

    एक यात्रु भन्छन्, ‘मैले त बाँच्ने आशा नै मारिसकेको थिएँ ।’

    काठमाडौंबाट विराटनगर उडेको जहाज कलसाइन ९ एनएएनटीआई विमानभित्र वयस्क ६८, र बच्चा ५ जना गरी ७३ यात्रु सवार थिए । विमान काठमाडौंमा फर्केर सुरक्षित अवतरण गरेपछि बल्ल उनीहरूले सन्तोकको सास फेरे ।

    के भएको थियो ?

    बुद्ध एयरका अनुसार जहाज विराटनगर अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको थियो । टावरले पनि गियर नझरेको जानकारी दिएपश्चात् जहाजलाई क्याप्टेनले पुनः काठमाडौं फर्काउने निर्णय गरेका थिए ।

    काठमाडौं आउनेबेलासम्म मलाई त केही भएको थिएन, ढुक्क नै थिएँ । अब जहाज अवतरण हुन्छ होला भन्ने भयो । तर, काठमाडौं आएपछि पनि जहाज ८/१० पटक घुमाएको घुमाइ गर्दाखेरी चाहिँ मनमा चिसो लाग्न थाल्यो । बाहिर हेर्दा नेपाली सेनालगायत सुरक्षाकर्मी रेडि पोजिसनमा हुनुहुन्थ्यो । त्यसपछि चाहिँ जिन्दगी यति नै रहेछ जस्तो लाग्यो ।

    जहाजमा ल्याण्डिङ गियरका लागि दुईवटा इन्डिकेटर रहेको हुन्छ- प्राइमरी र सेकेन्डरी । प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखिएको थियो । यसरी सेकेण्डरी इन्डिकेटरमा बत्ती बलेको अवस्थामा पनि ल्याण्डिङ गियर खुलेकै मानिन्छ ।

    ‘सुरक्षामा शून्य सहनशीलता’ को सिद्धान्तअनुसार क्याप्टेनले जहाज तुरून्तै काठमाडौंमा फर्काउने निर्णय लिए । काठमाडौं आकाशमा आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दिएका थियो ।

    सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केहीबेर काठमाडौंको आकाशमा फन्को मारी पाइटलले सुरक्षित अवतरण गराएको बुद्ध एयरले जनाएको छ ।

    सम्भावित दुर्घटनाको खतरा बुझेर नेपाल प्रहरी, नेपाल सैनिक, नागरिक उडड्डयन प्राधिकरण, अग्नि नियन्त्रक टोली सुरक्षित अवतरणका लागि तयारी अवस्थामा रहेको थियो । जहाजभित्रका यात्रुहरू त्रिभुवन विमानस्थलमा प्रहरी र एम्बुलेन्स देखेपछि झन् आत्तिएका थिए । बुद्ध एयरले यात्रुमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

    यात्रुको बयानः ‘ढोका खोल्दिनुस्, हाम्फाल्छौं’ समेत भन्यौं

    बिराटनगरमा ल्यान्ड हुन नसकेपछि हामीले सोध्दा प्लेनमा थोरै समस्या निस्किएको छ भनियो । त्यहाँ क्याप्टेन साहेवले धेरै दुःख गर्नु भयो । ६/७ पटक नै प्रयास गर्नु भयो तर सक्नु भएन । फेरि काठमाडौं ब्याक गर्नु भयो ।

    काठमाडौं आउनेबेलासम्म मलाई त केही भएको थिएन, ढुक्क नै थिएँ । अब जहाज अवतरण हुन्छ होला भन्ने भयो । तर, काठमाडौं आएपछि पनि जहाज ८/१० पटक घुमाएको घुमाइ गर्दाखेरी चाहिँ मनमा चिसो लाग्न थाल्यो । बाहिर हेर्दा नेपाली सेनालगायत सुरक्षाकर्मी रेडि पोजिसनमा हुनुहुन्थ्यो । त्यसपछि चाहिँ जिन्दगी यति नै रहेछ जस्तो लाग्यो । यो प्लेनमा दुर्घटना हुन्छ नै भन्ने भयो ।

    जहाजभित्र रुवाबासी नै चलेको थियो । हामीले त ढोका खोल्दिनुस्, हामी हामफाल्छौं समेत भन्यौं । तर, एयरहोस्टेज धेरै राम्रो हुनुहुँदो रहेछ । उहाँहरुले नआत्तिनुस्, तपाईंहरूलाई बचाउने सक्दो प्रयास गर्छौं भन्नु भयो । फ्यूल माथि सकेर तल पानी राखेर फर्म ओछ्याएर सेफ ल्याण्डिङ गर्छौं भन्नुभएको थियो । फ्यूल सकेपछि आगो लाग्दैन भनेर हामीलाई भनिरहनु भयो ।

    त्यसपछि क्याप्टेनले लास्ट एकपटक ट्राइ गर्छु भन्नु भयो । र, सेफ ल्याण्डिङ भयो । मान्छेहरु १/२ जना बेहोस पनि भए । त्यो अवस्थामा जस्तोसुकै मुटु दरो भएको मान्छे पनि कमजोर बन्छ । एयरहोस्टेसको आँखामा पनि आँशु आएको देख्न सकिन्थ्यो । आजको यात्रामा हामी सफल भयौं ।

    मैले त घरमा म्यासेज गरिसकेको थिएँ, यति नै रहेछ भनेर । बाँचे भने भेटौला, मर्‍यो भने यति नै भनेर ।

  • बुद्धको विमान विराटनगरमा अवतरण गर्न सकेन, काठमाडौंमा फोर्स ल्यान्डिङ (भिडिओ)

    बुद्धको विमान विराटनगरमा अवतरण गर्न सकेन, काठमाडौंमा फोर्स ल्यान्डिङ (भिडिओ)

    काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्याण्ड हुन नसकेपछि फोर्स ल्याण्डिङ् गराइएकाे छ । जहाज विराटनगरमा अवतरण हुन नसकेपछि काठमाडौं फर्काइएको हो ।

    त्रिभुवन विमानस्थलमा हाइ एलर्ट गरेर विमानलाई सकुशल अवतरण गरिएको छ । ल्याण्डिङ गियरमा समस्या आएपछि जहाज विराटनगरमा ल्याण्ड हुन नसकेको हो ।

    विमान अवतरण गराउनुअघि अग्नि नियन्त्रन्त्रक,एम्बुलेन्स लगायतका सबै सुरक्षा उपाय तैनाथ गरिएको थियो । विमानस्थलका एक अधिकारीका अनुसार केही समय आकाशमै होल्ड भएको विमान सुरक्षित अवतरण भएको हो।

     

     

  • धनगढी उडेको बुद्ध एयरको जहाज भरतपुरबाट डाइभर्ट, काठमाडौंमा आपतकालीन अवतरण

    धनगढी उडेको बुद्ध एयरको जहाज भरतपुरबाट डाइभर्ट, काठमाडौंमा आपतकालीन अवतरण

    काठमाडौं । काठमाडौबाट धनगढीतर्फ उडेको बुद्ध एयरको जहाज आपतकालीन अवतरण भएको छ । 9N-AMD जहाज भरतपुर क्षेत्रबाट डाइभर्ट गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरिएको हो ।

    हाइड्रोलिक फेल भएर आपतकालीन अवतरण गर्न लाग्दा फायर भेहिकल तथा एम्बुलेन्सहरु समेत हाइ अलर्ट अवस्थामा राखिएको थियो ।

    साँझको उडान आपतकालीन अवतरण गरिएपछि अर्को विमानमा यात्रीलाई राखेर उडाउने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ ।

  • पोखरा-नेपालगञ्ज उडान भर्दै बुद्ध एयर

    पोखरा-नेपालगञ्ज उडान भर्दै बुद्ध एयर

    काठमाडौं । बुद्ध एयरले पोखरा-नेपालगञ्जको सीधा उडान भर्ने भएको छ ।

    आज उडान तालिका सार्वजानिक गर्दै बुद्ध एयरलाइन्सले आगामी साउन १७ बाट हप्ताको तीन दिन उडान भर्ने जानकारी दिएको हो ।
    शुरूआतमा आइतबार, बुधबार र शुक्रबार उडान संचालन गरिनेछ । त्यसपछि यात्रुको चाप हेरेर उडानको थपघट निर्णय हुने एयरलाइन्सले जनाएको छ । आफ्नो उडान सेवा विस्तार गर्दै प्रदेशस्तरीय बनाइएको कम्पनीको भनाइ छ ।

  • एटीआर-७२ जहाजमार्फत तुम्लिङटारमा बुद्धको परीक्षण उडान

    एटीआर-७२ जहाजमार्फत तुम्लिङटारमा बुद्धको परीक्षण उडान

    काठमाडौं । बुद्ध एयरले एटीआर-७२ जहाजबाट संखुवासभाको तुम्लिङटार विमानस्थलमा परीक्षण उडान गरेको छ ।

    क्याप्टेन रञ्जनकुमार शर्मा नेतृत्वमा सो उडान भरिएको हो । तुम्लिङटार परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीसहित विमान कम्पनीका अपरेसन तथा प्राविधिक टिमका अधिकारी सहभागी थिए । एटीआर-७२ उडान गर्दा संचालन खर्च कम हुने र यात्रु पनि बढी बोक्ने हुँदा हवाई भाडा अझ सहज र सरल हुने बुद्ध एयरले जनाएको छ ।

    बुद्ध एयरको ७२ र ४२ सिटे एटीआर विमानको साथै दुईवटा वीच क्राफ्टको जहाजमार्फत भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगंज, भरतपुर र पोखरालगायतका ठाउँमा आन्तरिक उडान भर्दै आएको छ ।