Tag: निर्वाचन

  • निर्वाचनको दिन कुन सञ्चारमाध्यमले कति–कति सवारीसाधन प्रयोग गर्न पाउँछन् ?

    निर्वाचनको दिन कुन सञ्चारमाध्यमले कति–कति सवारीसाधन प्रयोग गर्न पाउँछन् ?

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन हुने दिन वैशाख ३० गते विभिन्न सञ्चारमाध्यमले प्रयोग गर्ने सवारीसाधन सञ्चालनका लागि मापदण्ड जारी गरेको छ ।

    सवारी साधन प्रयोग गर्ने अनुमतिपत्रका लागि सिफारिस गर्ने तथा अनुमतिपत्र दिने अधिकारीक र सवारीको संख्यासमेत समावेश गरेर आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ जारी गरेको हो ।

    मापदण्ड अनुसार काठमाडौं उपत्यकाभित्रका सञ्चारमाध्यम अन्तरगत ब्रोड सिटका दैनिक पत्रिकाले प्रत्येक संस्थालाई कार्यालय प्रयोजनका लागि बढीमा पाँच र समाचार संकलनका लागि बढीमा २० गरेर बढीमा २५ वटासम्म सञ्चालनका लागि अनुमति दिइने छ । सूचना तथा प्रशारण विभागको सिफारिसमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीले सवारी साधन सञ्चालनका लागि अनुमति दिनेछन् ।

    दैनीक पत्रिकाको हकमा प्रत्येक संस्थालाई कार्यालय प्रयोजनका लागि बढीमा पाँच र समाचार संकलनका लागि बढीमा १० गरेर बढीमा १५ वटासम्म सवारी साधन सञ्चालन गर्नका लागि अनुमति पाउनेछन् ।

    साप्ताहिक पत्रिकाको हकमा प्रत्येक संस्थालाई बढीमा तीन वटासम्म, टेलिभिजनलाई क्यामेरा संख्याका आधारमा प्रत्येक संस्थालाई १० वटासम्म, रेडियो तथा एफएमलाई प्रत्येक संस्थालाई कार्यालय प्रयोजनका लागि एक र समाचार संकलनका लाग बढीमा सात वटासम्म सवारी साधन सञ्चालनका लागि अनुमति दिईनेछ ।

    यस्तै अनलाइन समाचारका लागि प्रत्येक संस्थालाई कार्यालय प्रयोजनका लागि दुई र समाचार संकनलका लागि बढीमा पाँच वटासम्म, फोटो पत्रकारको हकमा प्रत्येक संस्थालाई बढीमा पाँच वटासम्म, राष्ट्रिय समाचार समितिलाई बढीमा पाँच वटासम्म सवारी साधन सञ्चालनका लाग अनुमति दिईने मापदण्डमा व्यवस्था गरिएको छ ।

    टेलिभिजन प्रशारण संस्थाको हकमा भने बढीमा दुई वटासम्म सवारी साधन र प्रेस काउन्सिल नेपालको हकमा बढीमा पाँच वटासम्म सवारी साधन सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सिफारिसमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीले सवारी साधन सञ्चालनका लागि अनुमति दिनेछन् ।

    काठमाडौं उपत्यका भन्दाबाहिरका सञ्चारमाध्यमको हकमा सूचना तथा प्रसारण विभागले तोकेको स्थानीय सञ्चार गृह वा जिल्लास्थित पत्रकार महासंघको कार्यालयको सिफारिसमा प्रत्येक संस्थालाई बढीमा पाँच वटासम्म सवारी साधन सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर सञ्चालन गर्न पाइनेछ ।

    अन्तराष्ट्रिय सञ्चार माध्यमको हकमा सूचना तथा प्रसारण विभागकै सिफारिसमा आवश्यकता अनुसार प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिएर सञ्चालन गर्नुपर्नेछ ।

  • अछाममा कुन दलको अवस्था कस्तो? निर्वाचनकाे आन्तरिक तयारीमा दलहरू

    अछाममा कुन दलको अवस्था कस्तो? निर्वाचनकाे आन्तरिक तयारीमा दलहरू

    अछाम । आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचनका लागि अछाममा राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटेका छन् । अछाममा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहितका दलहरू निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका हुन् ।

    २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणामअनुसार अछाममा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो शक्तिका रुपमा देखिन्छन् ।

    अछामका १० वटा स्थानीय तहमा कांग्रेसले पाँचवटा, एमालेले तीनवटा र माओवादी केन्द्रले दुईवटा स्थानीय तहमा प्रमुखमा जित हात पारेका थिए । त्यस्तै ९१ वटा वडामध्ये कांग्रेसले ४८, एमालेले ३६ र माओवादी केन्द्रले सातवटा वडामा विजयी हासिल गरेको थियो ।

    अछाममा कम्युनिष्ट पार्टी विभाजित हुँदा त्यसको फाइदा कांग्रेसले पाएको छ । कम्युनिष्ट पार्टीे बहुमतलाई गुम्न नदिनको लागि आन्तरिक प्रयासरत छन् । पार्टी विभाजन व्यहोरेको एमालेलाई आगामी स्थानीय तहको निर्वाचनमा त्यसको असर कति पर्ने हो भन्ने प्रष्ट छैन ।

    एमाले विभाजन भएर बनेको दल एकीकृत समाजवादीले सबै तहमा कमिटी बनाएर चुनावी तयारी थालेको छ । याे पटककाे निर्वाचनमा एकीकृत समाजवादी जनताबीच परीक्षण हुने तयारीमा छ ।

    एकीकृत समाजवादीमा एमालेकै पूर्व कार्यकर्ता रहेका कारण पनि सो पार्टीले एमालेकै मत खोस्ने निश्चित छ । यो अवस्थामा एमालेका लागि जित त्यति सहज नहुने आंकलन गरिएको छ ।

    कांग्रेसमा अन्तर्घात पनि पुरानै रोगका रुपमा देखिएका कारण केही स्थानमा माओवादी केन्द्रलाइ फाइदा पुग्ने आश‌का गरिएकाे छ ।

     

  • लोकतन्त्रको नयाँ भाष्य- चुनाव गराउनु प्रतिगमन, जनप्रतिनिधिविहीन शासन अग्रगमन

    लोकतन्त्रको नयाँ भाष्य- चुनाव गराउनु प्रतिगमन, जनप्रतिनिधिविहीन शासन अग्रगमन

    काठमाडौं । २०५९ सालतिर हो, हामी केही पत्रकार पूर्वीनेपालको ओखलढुंगातिर जाँदै थियौं । एउटा गाउँमा माओवादी जनअदालत बसिरहेको छ भनेपछि हाम्रा पाइला त्यता मोडिने नै भए ।

    जनअदालतमा वहुविवाहको मुद्दाको पेसी रहेछ । जनअदालतका प्रमुखले दोस्रो बिहे गरेको भनेर एकजना स्थानीयलाई भाटे कारबाही गर्दै रहेछन् । बारीको डिलमाथि बसेका एकजना स्थानीयले जनअदालतका प्रमुखलाई प्रश्न गरे- ए तैंले नि त दुईटा बिहे गरेका छस् नि, यसरी थिलथिलो हुनेगरी भाटा हान्नु त भएन नि ।

    त्यसपछि ती कमरेड जंगिदै भने- हाम्रो त माओले चारवटी गर्नुभएको थियो, हामीलाई सिकाउने ? तँलाई पनि सुम्ल्याइदिउँ ?

    करिब २० वर्षअघिको यो प्रसंग अहिले मिथकजस्तो लाग्न सक्छ कतिपयलाई । आज त्यो घटना स्मरण गर्नुको कारण चाहिँ चुनाव अग्रगमन कि प्रतिगमन भन्ने विगत एक वर्षदेखि नेपाली राजनीतिमा चलिरहेको बहसले हालै निर्वाचन आयोगमा क्लाइमेक्सको रूप लिएपछिको सन्दर्भ हो ।

    पछिल्लोपटक निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति तोक्न ताकेता गर्ने उद्देश्यले सर्वदलीय बैठकको आयोजना गरेको थियो । बैठकमा वडादेखि संघसम्म कतै जनप्रतिनिधि जिताउन नसकेको जनता दलदेखि तीनै तह (प्रदेश २, र सुदूपश्चिमबाहेक) को सबैभन्दा ठूलो दल एमालेसम्म सहभागी थिए ।

    वैशाखमा स्थानीय तह निर्वाचन गर्नका लागि कम्तीमा १२० दिनअघि नै सरकारले मिति घोषणा गर्नुपर्छ । चुनाव गराउने हो भने सरकारले ढिलोमा यही माघ महिनाको दोस्रो सातासम्म निर्णय गर्नुपर्छ । अब देउवाले सत्ता गठबन्धनका आफ्ना सहयात्री दलको दबाब मान्छन् वा संवैधानिक व्यवस्था पालना गर्छन् ? अहिले प्रश्न उनैमाथि छ ।

    त्यो बैठकमा सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र),नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका नेताहरू क्रमशः लीलामणी पौडेल, रामकुमार भट्टराई र हिमलाल पुरीले प्रष्ट शब्दमा स्थानीय तहको निर्वाचन कम्तीमा असोजअघि गर्नु हुँदैन । केही समय जनप्रतिनिधि रिक्त भए कर्मचारीबाट व्यवस्थापन गर्न सकिन्छ ।

    सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका प्रतिनिधि रमेश लेखक विगतमा (माधव नेपालकाल) एमालेले लिने जस्तै लाइन ‘भए पनि ठीक छ, नभए पनि ठीक छ’ भन्ने ढंगले प्रस्तुत भएका थिए । कुनै बेला बाबुराम भट्टराईले एमालेलाई दिएको ‘न भाले, न पोथी’को संज्ञा स्थानीय तहमा चुनाव गराउने कि खाली गर्ने भन्ने सन्दर्भमा कांग्रेसमा लागू भएको छ ।

    नत्र त्यस बैठकमा उपस्थित हरिचरण शाहदेखि एमालेका विष्णु रिमालसम्ममात्र होइन निर्वाचन आयोगका पदाधिकारीहरूको पनि भनाइ एउटै थियो- स्थानीय तहमा आगामी २०७९ जेठ ६ गते नयाँ जनप्रतिनिधिले कार्यभार सम्हाल्नुपर्छ । नत्र मुलुकमा संवैधानिक संकट आउनेछ ।

    यहाँ हालै प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट जाँदाको सन्दर्भ पनि जोड्न उपयुक्त हुन्छ । लामो समयको संवादहीनता र सत्ता तथा प्रतिपक्षबीचको तिक्तता तोड्न प्रधानमन्त्री देउवा गत साता विपक्षी दलका नेता केपी ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

    दुई नेताबीच अन्तरंग के-के कुराकानी भए, त्यो विषय यो आलेखमा सान्दर्भिक छैन । तर, ओलीले आफूनिकट नेताहरूलाई सुनाएको एउटा प्रसंग चाहिँ यहाँ उल्लेख गर्नु उपयुक्त होला । त्यस भेटमा ओलीले देउवालाई स्थानीय तह जनप्रतिनिधिविहीन बनाएर लोकतन्त्र सिध्याउने २० वर्षअघिको विगत नदोहोर्‍याउन सुझाव दिएका थिए ।

    सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नै स्वीकार गरिसके सत्ता गठबन्धनमा वैशाखमै चुनाव गर्ने कि नगर्ने भन्नेबारे विमति छ भन्ने कुरा । नेकपा एस र माओवादीका नेताहरूले असोजमा भएको प्रदेश २ को स्थानीय चुनावलाई ५ वर्ष मानेर थप ६ महिना थप्न सकिने प्रावधानमा टेक्दै अर्को चैत वैशाखसम्म चुनाव नगर्ने कुरा ल्याइसकेका छन् ।

    ओलीको भनाइको सार थियो- इतिहासमा कांग्रेसमाथि लोकतन्त्र सिध्याएको आरोप लाग्दै आएको छ । जे सुकै कारणले भए पनि कांग्रेसकै पालामा पहिलो जननिर्वाचित संसद भंग भएर वीपी कोइरालाको सरकार अपदस्त भयो । तपाईंले २०५९ सालमा स्थानीय निकायको चुनाव गराउनुभएन र म्याद थप पनि नगरेर २० वर्षसम्म जनप्रतिनिधिविहीन बनाउनुभयो र लोकतन्त्र खोसियो । यसपटक पनि (मेरा भाइहरूको) गठबन्धनका प्रचण्ड-माधवहरूको भाउँतोमा परेर इतिहासको गल्ती नदोहोर्‍याउनुस् ।

    ओलीको भनाइलाई आफूले गम्भीरतापूर्वक लिएको भनेर बालुवाटार फर्किएका प्रधानमन्त्री अहिले सायद संकटमा छन् । स्थानीय चुनाव वैशाखमै गराउनुपर्ने संवैधानिक बाध्यता निर्वाचन आयोगले उनलाई बुझाइसकेको छ । तर, आफ्नै पार्टी र गठबन्धनका साझेदारलाई बुझाउन सकेका छैनन् ।

    यो पनि पढ्नुहोस् : नियमित निर्वाचन नगर्न प्रधानमन्त्रीलाई गठबन्धनभित्रै दबाब, प्रवक्ता भन्छन्– उपयुक्त समयमा निर्णय लिन्छौं

    चुनाव र प्रतिगमनलाई पर्यायवाची शब्दका रूपमा व्याख्या गरेर स्थापित भएको अहिलेको सत्ता गठबन्धनले जनप्रतिनिधिमूलक संस्थाहरूलाई रिक्त गराएर अग्रगमनको अभिभारा पूरा गर्न खोजेको हो ? निर्वाचन आयोगमा देखिएका दृष्य र सत्ता गठबन्धनका पिलर मानिएका ‘वृहत नागरिक आन्दोलन’देखि ‘बार आन्दोलन’सम्मका कम्फरटेबल अवयवहरूको जोड-कोण मिल्नुले यो प्रश्न उब्जिएको छ ।

    बार आन्दोलनको अग्रभागमा देखिने अनुहारमध्येका एक स्थापित वकिल टीकाराम भट्टराईले हालै फेसबुक स्टाटस लेखे- मौसम हेरेर संविधानको व्याख्या गर्न कहिल्यै जानिएन । कुनै पनि तर्क र बहानामा स्थानीय तहको निर्वाचन पाँच वर्षभन्दा एक दिन पनि बढाउन सकिन्न । खबरदारी गरौं ।

    एक वर्षअघि प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जाने तत्कालीन प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध न्यायिक लडाइँको अग्रभागमा थिए भट्टराई । त्यसपछि संविधानको धारा ७६ (५) बमोजिम दोस्रो पटकको विघटनविरुद्धको कानूनी लडाइँको पनि उनी अग्रभागमा थिए ।

    २०७९ जेठ ५ गतेभित्र नयाँ चुनाव भएर स्थानीय तहमा नयाँ जनप्रतिनिधि आउनुपर्छ । यदि कानूनका कुनै छिद्र खोजेर चुनाव टार्न वा सार्न खोजियो भने जेठ ६ गतेबाट ७५३ स्थानीय तह रिक्त हुनेछन् । त्यो भनेको संवैधानिक संकट नै हो ।

    आफैंले लडेर ल्याएको सरकारसँग उनले स्थानीय तहको निर्वाचन वैशाखभन्दा उता नसार्न खबरदारी गर्नुले पनि अग्रगमनको आडमा प्रतिगमन हुन खोज्दैछ भन्ने संकेत हो । भट्टराईले भनेजस्तै संविधानको व्याख्या मौसम हेरेर नगरियोस् ।

    अहिलेको सरकारले मंसिरअघि नै प्रतिनिधिसभा चुनाव गरायो भने त्यो प्रतिगमन हुने कि अग्रगमन हुने भन्ने प्रश्न बरु अहिले नै उठाउने बेला भएको छैन । तर, स्थानीय तहको चुनावको लागि भने दबाब दिन टीकारामजस्तै अहिलेको सत्ता गठबन्धनका स्टेक होल्डरहरूले दिने बेला आएको छ । ती स्टेक होल्डर जो संविधान र लोकतन्त्रको नियमित अभ्यासको पक्षमा छन् ।

    अहिलेको सत्ता गठबन्धनका मुख्य ‘स्टेक होल्डर’ नेपाल बार, वृहत नागरिक आन्दोलन, आन्तरिक र बाह्य जनमत निर्माण गर्ने एलिट वर्ग, मूलधारको मिडियाको नेतृत्व गरिरहेको बहुसंख्यक हिस्सा र असार २८ को परमादेश जारी गर्ने संवैधानिक इजलास नै हुन् ।

    केपी ओलीले चुनाव गराउन खोज्दा प्रतिगमन भनिएकै कारण अब हुने कुनै पनि तहका चुनाव प्रतिगामी हुनेछन् भन्ने भाष्य स्थापित गर्न खोजिएको हो भने अलग कुरा भयो । नत्र जनप्रतिनिधिमूलक निकायहरूलाई रिक्त गराएर चुनावबाट भाग्ने कुरा कसरी अग्रगमन हुन्छ ? यो प्रश्न जो-जोसँग जे माध्यम छन् ती माध्यमबाट सरकारलाई गरिएन भने वास्तविक प्रतिगमन सुरू हुनेछ ।

    सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नै स्वीकार गरिसके सत्ता गठबन्धनमा वैशाखमै चुनाव गर्ने कि नगर्ने भन्नेबारे विमति छ भन्ने कुरा । नेकपा एस र माओवादीका नेताहरूले असोजमा भएको प्रदेश २ को स्थानीय चुनावलाई ५ वर्ष मानेर थप ६ महिना थप्न सकिने प्रावधानमा टेक्दै अर्को चैत वैशाखसम्म चुनाव नगर्ने कुरा ल्याइसकेका छन् ।

    साउनमा आँखा फुटेको गोरुले सधैँ हरियो देख्छ भन्ने नेपाली उखानजस्तै केपी ओलीले चुनाव घोषणा गर्दा प्रतिगमन देख्ने दलहरूले आवधिक चुनावलाई पनि प्रतिगमन देखेर त्यसलाई टार्न, सार्न र त्यसबाट भाग्न खोज्नु सम्भावित पराजयको डरमात्र नभएर प्रतिगामी सोच पनि हो । किनकी संविधानले जनप्रतिनिधिविहीन सत्ताको परिकल्पना गरेको छैन ।

    अहिले सत्ता गठबन्धनका कतिपय दलका आफ्ना बाध्यता होलान् । नेकपा एस भर्खरै फुटेको दल भएकाले वडासम्म उसको संगठन फैलिन फैलिन सकेको छैन । नेकपा एसको बाध्यता वा माओवादीको कष्ट केही पर सार्न संवैधानिक व्यवस्थालाई कुल्चन मिल्छ ?

    वडासम्म एमाले विभाजित नहुनु भनेको कांग्रेसलाई स्थानीय चुनाव अनुकूल नहुनु हो । माओवादी पनि विभाजित भएको छ । वडादेखि केन्द्रसम्मका नेता कार्यकर्ताको ठूलो पंक्ति नेकपाकालमै विभाजित भएर केपी ओली पक्षमा लागेको थियो र त्यो पंक्ति अहिले एमालेमा समाहित भएको छ । यसको अर्थ स्थानीय चुनाव नगरी कर्मचारीबाट चलाउने कुरा संवैधानिक र कानूनीरूपमा प्रतिगमन हो ।

    केपी ओलीले चुनाव गराउन खोज्दा प्रतिगमन भनिएकै कारण अब हुने कुनै पनि तहका चुनाव प्रतिगामी हुनेछन् भन्ने भाष्य स्थापित गर्न खोजिएको हो भने अलग कुरा भयो । नत्र जनप्रतिनिधिमूलक निकायहरूलाई रिक्त गराएर चुनावबाट भाग्ने कुरा कसरी अग्रगमन हुन्छ ? यो प्रश्न जो-जोसँग जे माध्यम छन् ती माध्यमबाट सरकारलाई गरिएन भने वास्तविक प्रतिगमन सुरू हुनेछ ।

    २०७९ जेठ ५ गतेभित्र नयाँ चुनाव भएर स्थानीय तहमा नयाँ जनप्रतिनिधि आउनुपर्छ । यदि कानूनका कुनै छिद्र खोजेर चुनाव टार्न वा सार्न खोजियो भने जेठ ६ गतेबाट ७५३ स्थानीय तह रिक्त हुनेछन् । त्यो भनेको संवैधानिक संकट नै हो ।

    के जनादेशमा जाने कुरालाई प्रतिगमन भनेर परमादेशबाट सत्ता प्राप्त गरेका दलहरू जानीजानी संवैधानिक संकट निम्त्याउन चाहन्छन् ? लोकतन्त्रको कपिराइट दाबी गर्ने नेपाली कांग्रेसले सम्भवतः यस्तो प्रश्न उठ्ने ठाउँ दिने छैन । गठबन्धनको दबाब झेलिरहेका प्रधानमन्त्रीले नै यसबारेमा बोल्ने समय आइसकेको छ ।

    वैशाखमा स्थानीय तह निर्वाचन गर्नका लागि कम्तीमा १२० दिनअघि नै सरकारले मिति घोषणा गर्नुपर्छ । चुनाव गराउने हो भने सरकारले ढिलोमा यही माघ महिनाको दोस्रो सातासम्म निर्णय गर्नुपर्छ । अब देउवाले सत्ता गठबन्धनका आफ्ना सहयात्री दलको दबाब मान्छन् वा संवैधानिक व्यवस्था पालना गर्छन् ? अहिले प्रश्न उनैमाथि छ ।

    नत्र प्रश्न त जनताले गर्ने नै छ- जनादेशमा लिन जाने कुरालाई प्रतिगमन भनेर परमादेश माग्न जानेहरूले के अब तीनै तहमा परमादेशकै शासन चलाउने हुन् ? यो समय त बितेर जानेछ, तर प्रश्नले चाहिँ धेरै समयसम्म लखेट्न छाड्ने छैन ।

  • मेटमणिले भने- नेकपा एसले उम्मेदवारी दिएकाे ठाउँमा कांग्रेस र माओवादीले छाड्ने सहमति भएको छ

    मेटमणिले भने- नेकपा एसले उम्मेदवारी दिएकाे ठाउँमा कांग्रेस र माओवादीले छाड्ने सहमति भएको छ

    रुपन्देही । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् लुम्विनी प्रदेश कमिटी अध्यक्ष मेटमणि चौधरीले आगामी निर्वाचनमा आफ्नो पार्टीले उम्मेदवारी दिएको ठाउँमा कांग्रेस र माओवादीले उम्मेदवारी नदिने गठबन्धनसँग सहमति भएको खुलासा गरेका छन् ।

    रुपन्देहीको देवदह नगर भेलामा बोल्दै नेता चौधरीले नेकपा एमालेलाई सबै ठाउँबाट हराउनका लागि गठबन्धनमा सहमति गरेर उम्मेदारी दिने सहमति यसअघि नै भएको बताएका हुन् ।

    चौधरीले आगामी निर्वाचनमा एकीकृत समाजवादी पार्टी देशको ठूलो पार्टी बन्ने दावी गर्दै अबको निर्वाचनमा ओलीले नेतृत्व गरेको एमालेले कुनै ठाउँमा चुनाव नजित्ने दावी गरेका छन् ।

    कम्युनिष्ट आन्दोलन र संविधान रक्षाको लागि नयाँ पार्टी निर्माण गर्नुपरेको बताउँदै उनले एकीकृत समाजवादी पार्टी निर्माण नभएको भए कम्युनिष्ट आन्दोलन समाप्त हुने तर्क गरेका थिए ।

    दाङबाट प्रतिनिधि सभा सदस्य रहेका नेता चौधरीले ओलीले दुई पटक संसद विघटन गरेर संविधान विपरीत काम गरेको आरोप लगाउँदै भने– ‘संविधान रहँदासम्म कसैले संसद विघटन गर्न सक्नदैन तर ओलीले पटक पटक यही प्रकृयामा गएर कानुनको ध्वजी उडाए ।’

    देवदह नगर भेलाले टंकप्रसाद पोखरेलको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा शुसिला भट्टराई, डिल्लीराम सापकोटा, सचिवमा छवि भट्टराई, सहसचिवमा सिता विक, कुलबहादुर दर्लामी रहेका छन् ।

    यसैगरी नगर भेलाले शंकर पंगेनीको अध्यक्षतामा ५१ सदस्यीय युवा संघ नेपाल नगर कमिटी गठन गरेको छ । त्यसैगरी पवन खरेलको अध्यक्षतामा ५१ सदस्यीय अनेरास्ववियू देवदह नगर कमिटी गठन गरेको सो पार्टीले जनाएको छ ।

     

  • माओवादीले वडादेखि केन्द्रसम्मको नेतृत्व निर्वाचनबाट चयन गर्ने

    माओवादीले वडादेखि केन्द्रसम्मको नेतृत्व निर्वाचनबाट चयन गर्ने

    काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले वडादेखि केन्द्रसम्मको नेतृत्व निर्वाचनबाट चयन गर्ने भएको छ।

    सोमबार केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमूखीकरण कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वर्षमान पुनले सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने बताएका थिए।

    माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्न गर्दै छ।

    वडा, प्रदेश, संघीय निर्वाचन क्षेत्र, जिल्ला, र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चयन गर्ने कार्यविधि बनाएको माओवादीमा दुई लाख ८५ हजार पदहरुमा निर्वाचन हुने छ।

  • चुनावको तयारी थाल्न कार्यकर्तालाई सीके राउतको निर्देशन

    चुनावको तयारी थाल्न कार्यकर्तालाई सीके राउतको निर्देशन

    जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले कात्तिक २६ र मंसीर ३ मा हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीमा जुट्न नेता/कार्यकर्तालाइ निर्देशन दिएका छन् ।

    विज्ञप्तिमार्फत उनले सुरक्षित तरिकाले निर्वाचनलक्षित घरदैलो, प्रचार-प्रसार जस्ता कार्यक्रमलाई निरन्तरता दिन भनेका छन् । ‘पार्टीको विजय नै हाम्रो विजय हो भन्ने भावना आत्मसात् गरी निर्वाचनको तयारीमा लाग्न सम्पूर्ण नेता तथा कार्यकर्ताहरूमा अनुरोध छ’, विज्ञप्तिमा उल्लेख छ ।

    जेष्ठ २२ मा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचनको तयारीमा जाने निर्णय भएको अध्यक्ष डा. राउतले जनाएका छन् ।

  • निर्वाचनलाई खोइ बजेट ? अर्थमन्त्रीले दिए यस्तो जवाफ

    निर्वाचनलाई खोइ बजेट ? अर्थमन्त्रीले दिए यस्तो जवाफ

    काठमाडौं । सरकारले संसद विघटन गरी कात्तिक २८ र मंसिर ३ गतेका लागि निर्वाचन मिति घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा निर्वाचनका लागि कति रकम छुट्याइँदै छ भन्ने कौतुहल थियो । तर, बजेटमा चुनावी बजेटको अंक आएन ।

    अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा ‘निर्वाचनको लागि आवश्यक बजेटको व्यवस्था गरिएको’ उल्लेख भए पनि अंक तोकिएको छैन । यसलाई लिएर कतिपयले सरकार आफैं चुनाव हुनेमा विश्वस्त नभएकाले चुनावका लागि बजेट नतोकेको आशंका समेत गरेका छन् ।

    अर्थमन्त्री पौडेलले मन्त्रालयमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा चुनाव खर्चको विषयमा जवाफ दिएका छन् । यद्यपि, उनको जवाफ टालटुले थियो । उनले सरकार निर्माणका सबै सम्भावना सकिएपछि संसद विघटन भएको भन्दै नयाँ निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे ।

    ‘निर्वाचन स्वतन्त्र र निष्पक्ष गर्न सरकारको ध्यान छ,’ उनले भने, ‘त्यसमा हाम्रो सबै सामर्थ्य परिचालन गर्छौं । निर्वाचन लोकतन्त्रको प्राण हो । निर्वाचनका निम्ति हामीले आवश्यक बजेट छुट्याएका छौं ।’

    अर्थसचिव शिशिर ढुंगानाले पनि चुनावका लागि अर्थमन्त्रालय बजेटको व्यवस्थापन गर्न सक्षम रहेको बताए ।
    उनले भने, ‘सरकारले चुनाव घोषणा गरिसकेपछि त्यसका लागि आवश्यक रकमको कमी हुन दिँदैनौं ।’

    यसअघि गत पुसमा पहिलोपटक प्रतिनिधिसभा विघटन हुँदा चालु खर्च कटौति गर्दै निर्वाचन खर्चको व्यवस्था गर्ने बजेटको अर्धवार्षिक समीक्षामा बताइएको थियो । तर, सर्वोच्चले प्रतिनिधिसभा विघटन गरेपश्चात निर्वाचन आयोगले माग गरेको बजेट खर्च सरेण्डर भएको थियो ।

    आयोगले खर्च गरेको बाहेकको रकम निर्वाचन आयोगलाई निकासा गरिएको थिएन ।

  • नेपाल पत्रकार महासंघको निर्वाचन आज, दुई प्यानलबीच मुख्य प्रतिस्पर्धा

    नेपाल पत्रकार महासंघको निर्वाचन आज, दुई प्यानलबीच मुख्य प्रतिस्पर्धा

    काठमाडौं । नेपाल पत्रकार महासंघको आगामी तीन वर्षे कार्यसमितिका लागि आज निर्वाचन हुँदैछ । महासंघको झण्डै ७ दशकको इतिहासमा पहिलोपल्ट प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन हुन लागेको हो ।

    महासंघको केन्द्रीय नेतृत्वमात्र होइन, प्रदेश, प्रतिष्ठान, एसोसियट र जिल्ला शाखाहरुको नेतृत्वका लागि पनि आजै मतदान हुनेछ । महासंघले भ्रममा नपरी आफूले मतदान गर्न पाइनेहरुलाई मात्र मतदान गर्न आग्रह गरेको छ । मतदान आन विहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ । देशभरबाट १३ हजारभन्दा बढी पत्रकारले मतदान गर्न पाउनेछन् ।

    महासंघका पदाधिकारी र सदस्यलाई देशभरका सदस्यले मतदान गर्न पाउँछन् । त्यसबाहेक प्रदेशका लागि सम्बन्धित प्रदेशमा सदस्यता भएकाले मात्र पाउनेछन् । उपत्यका, एसोसियट र प्रतिष्ठानमा सदस्यता हुनेले केन्द्रका बाहेक आआफ्नो प्रदेशका उम्मेदवारलाई मतदान गर्न पाउनेछन् । त्यस्तै उनीहरुले आआफ्नो प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सदस्यका उम्मेदवारलाई पनि मतदान गर्न पाउँछन् ।

    जिल्ला, प्रदेशका विभिन्न स्थानमा मतदान स्थल तोकिएको छ । उपत्यकाको हकमा प्रतिष्ठान, उपत्यका र एसोसियटका लागि छुट्टाछुट्टै मतदानस्थल छ । महासंघको चुनाव सहज र मर्यादिन रुपमा सम्पन्न गराउन महासंघले केन्द्रीय पदाधिकारीलाई सबै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

    यसपल्टको निर्वाचनमा मुख्य गरी दुई प्यानलबीच प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि अध्यक्ष पदमा तीनजना उम्मेदवार छन् ।

    नेकपा एमाले सम्बद्ध प्रेस चौतारीले निर्मला शर्मा अध्यक्ष र बालकृष्ण बस्नेत महासचिवको उम्मेदवारका रुपमा प्यानल बनाएर चुनावी मैदानमा होमिएको छ । यो समूहमा माधव नेपाल वरिष्ठ उपाध्यक्षको उम्मेदवार छन् ।

    नेपाली कांग्रेस सम्बद्ध नेपाल प्रेस युनियन र नेकपा माओबादी केन्द्र सम्बद्ध प्रेस सेन्टरको संयुक्त गठबन्धमा विपुल पोखरेल अध्यक्ष र रोशन पुरी महासचिवको उम्मेदवार छन् । महासंघका वर्तमान महासचिव रमेश विष्ट यो समूहमा वरिष्ठ उपाध्यक्षको उम्मेदवार छन् । यो समूहमा एशोसियट सचिवमा पवन आचार्य छन् ।

    अध्यक्षमा गजेन्द्र बुढाथोकी पनि चुनावी मैदानमा छन् । राजनीतिक आस्थाभन्दा बाहिर स्वतन्त्र हैसियदमा उम्मेदवारी दिएका उनीप्रति पनि स्वतन्त्र पत्रकारहरुको साहनुभूति हुन सक्छ ।

  • अर्थ मन्त्रालयलाई राहत- संसद पुनःस्थापनाले ५० अर्बको बोझ हट्यो

    अर्थ मन्त्रालयलाई राहत- संसद पुनःस्थापनाले ५० अर्बको बोझ हट्यो

    काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनको मुद्दालाई बदर गरिदिएपछि राज्यलाई चुनावी खर्चको भार घटेको छ । चुनावका लागि निर्वाचन आयोगले ४० देखि ५० अर्ब रुपैयाँ खर्च हुने बताउँदै आएको थियो ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अर्धवार्षिक समीक्षामार्फत निर्वाचन आयोगले प्रारम्भिक रूपमा ७ अर्ब बजेट माग गरेकोमा स्रोतको सुनिश्चितता भइसकेको बताएका थिए । १७ र २७ वैशाख २०७८ मा हुने भनिएको निर्वाचन रद्द भएपछि यो रकम निर्वाचन आयोगमा पठाउनुपर्ने छैन । साथै, अरू ठूलो रकमको जोहो गर्नुपर्ने बोझबाट अर्थ मन्त्रालय मुक्त भएको छ ।

    यस वर्ष चुनावको नियमित तालिका नभएकाले चालु आर्थिक वर्षको बजेटमा यसका लागि कुनै रकम छुट्याइएको थिएन । तर, प्रधानमन्त्रीले हठात् संसद भंग गरेपछि राष्ट्रिय ढुकुटीमा दबाब परेको थियो ।

    बजेट खर्चकै जोहोका लागि अर्थ मन्त्रालयले अर्धवार्षिक समीक्षामार्फत चालु खर्च ९६.४ प्रतिशतमा सीमित गर्ने रणनीति लियो । त्यसबाट बचेको रकम तथा चैत १५ गतेसम्म ‘सरेन्डर’ भएका परियोजनाको रकम निर्वाचनका लागि दिने योजना बनाइएको थियो ।

    चुनाव नहुने भएपछि निर्वाचन आयोगले सृजना गरेको दायित्व बाहेक अन्य रकम निकासा दिनु नपर्ने अर्थ मन्त्रालयले जानकारी दिएको छ । हालसम्म आयोगले निर्वाचनको तयारीका लागि करीब ३२ देखि ३५ करोड रुपैयाँ खर्च गरिसकेको छ ।

    अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख धनीराम शर्मा निर्वाचन आयोगको निर्देशिकामा मात्रै सहमति जनाएको तर बजेट निकासा नदिएको बताउँछन् ।

    ‘७ अर्बमध्ये आयोगले तत्काल करीब ३२ करोड रुपैयाँ माग भएको थियो । आयोगले सिर्जना गरेका खर्चको दायित्वको भुक्तानी अर्थ मन्त्रालयले दिन्छ । त्योबाहेक दिनुपर्दैन’, शर्माले भने ।

    सरकारले यो आर्थिक वर्ष कुल बजेटको ९१.१९ प्रतिशत अर्थात् १३ खर्ब ४४ अर्ब मात्रै खर्च हुने बताइसकेको छ । त्यसैले सरकारले चुनावका लागि स्रोत व्यवस्थापन गरेको खर्च अब नियमित बजेट खर्चमा रूपान्तरण हुने अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

    चुनाव भएको भए ?

    राजनीतिक क्षेत्र र जनमानसमा तीव्र विरोध भएपछि चुनावलाई लिएर निजी क्षेत्रको एउटा पंक्ति चाहिं उत्साहित थियो । आमचुनावले देशको अर्थतन्त्रलाई चलायमान बनाउने र उद्योग–व्यवसाय मौलाउने आशा उनीहरूले गरेका थिए ।

    राज्यको ढुकुटीबाट चुनावका लागि हुने खर्चको ठूलो हिस्सा देशभित्रै रहन्छ । करीब ५० अर्बको हाराहारी रकम यसरी बजारमा प्रवाहित हुँदा कोरोनाले सुस्ताएको अर्थतन्त्र गतिमान बन्न सक्ने विश्लेषण कतिपय अर्थशास्त्रीले पनि गरेका थिए । तर, त्योभन्दा राज्यको ५० अर्ब जोगिनु सुखद कुरा भएको बताउँछन् अर्थविद् केशव आचार्य ।

    ‘सरकारले ५० अर्ब खर्च गर्दा त्यही अनुसारका आर्थिक गतिविधि हुनेथिए । निर्वाचनको प्रचारप्रसारका लागि राजनीतिक दलहरूले मुलुकभर चुनावी कार्यक्रम गर्ने भएकाले शहरदेखि ग्रामीण क्षेत्रको अर्थतन्त्र चलायमान हुनसक्थ्यो ।

    चुनावले वस्तु तथा सेवाको माग बढाउने भएकाले आयात पनि बढ्न सक्थ्यो । सँगै सरकारलाई भन्सारबाट प्राप्त हुने राजस्व पनि बढ्न सक्थ्यो । तर अर्थतन्त्रमा उत्पादन र उत्पादकत्व भने बढाउने थिएन ।

    बरु चुनाव भएको भए अर्थतन्त्रमा चर्को मूल्यवृद्धिको सम्भावना थियो । अनौपचारिक तथा अवैध रकमहरू अर्थतन्त्रमा आउँदा त्यसले अस्थिरता बढाउने संभावना थियो । राज्यको ढुकुटीको रकम जोगिएको छ । यसलाई निर्वाचन नहुँदाको फाइदाको रूपमा लिन सकिन्छ, उनले भने ।

    अर्का अर्थविद् चन्द्रमणि अधिकारी भने चुनाव हुनु र नहुनुले नेपालको अर्थतन्त्रमा खासै तात्विक फरक नपार्ने बताउँछन् ।

    ‘अहिले कोभिडको कारण विश्व अर्थतन्त्र नै ऋणात्मक अर्थात् मन्दीको गहिरो चपेटामा छ । नेपालको अर्थतन्त्रमा पनि कोभिडले ठूलो क्षति पुर्‍याएको छ । त्यसैले ५० अर्ब रुपैयाँ खर्च हुनु हात्तीको मुखमा जीरा जस्तै हो,’

    उनले थपे, ‘म गणितीय रूपमा अर्थतन्त्रमा यही हुन्छ भन्न सक्दिनँ तर पछिल्लो राजनीतिक अस्थिरतासँग निर्वाचन जोडिएको थियो । त्यसले उद्योगी/व्यवसायी तथा लगानीकर्तामा उत्साहको अवस्था थिएन । फेरि नेपालको प्रशासन संयन्त्र पनि ठीक छैन र यसले स्थायी सरकारको रूपमा काम गर्न सकेको छैन । निर्वाचन भएको भए कर्मचारीतन्त्रमा विचलन आउने हुँदा त्यसले अर्थतन्त्रमा नराम्रो असर गर्न सक्थ्यो ।’

  • चुनाव नगराउन प्रचण्ड-माधवले निर्वाचन आयोगलाई थर्काउँदैछन् : उपप्रधानमन्त्री पोखरेल

    चुनाव नगराउन प्रचण्ड-माधवले निर्वाचन आयोगलाई थर्काउँदैछन् : उपप्रधानमन्त्री पोखरेल

    पोखरा । उपप्रधान तथा ओलीपक्षीय नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले प्रचण्ड-माधव पक्षले चुनाव नगराउन निर्वाचन आयोगलाई धम्की दिइरहेको टिप्पणी गरेका छन् ।

    प्रधानमन्त्रीले ताजा जनादेशका लागि संसद विघटन गरेको जिकिर गर्दै पोखरेलले प्रचण्ड-माधव निर्वाचन नगराउन लागिपरेको आरोप लगाए । ‘प्रचन्ड र माधव नेपाल निर्वाचन आयोगमा गएर थर्काउँदै चुनाव गराउन पाइँदैन भन्दै थर्काउनुहुन्छ’, पोखरामा आइतबार आयोजित ओलीपक्षीय प्रेस संगठनको प्रदेश भेलामा पोखरेलले भने ।

    जनताको ताजा जनादेशका लागि जाने कुरा कुनै पनि हालतमा असैंवधानिक र अलोकतान्त्रिक नहुने उनको तर्क छ । माधव-प्रचण्डको सत्ता तृष्णाको मनोरोगका कारण संसद विघटन गर्नुपरेको उपप्रधानमन्त्री पोखरेलको दाबी छ ।

    उपप्रधान पोखरेलले तत्कालीन माओवादीको राजनीति सकिएकोबेला एमालेको शरणमा आएको दाबी गरे । उनले भने, ‘माओवादीको पोलिटिक्स सकिएकोथ्यो । उहाँहरू पावरबाट बाहिर हुनुहुन्थ्यो । मानवताविरोधी कार्यका लागि टाउकोमा तरवार थियो । त्योबाट छुटकारा पाउन पार्टी एकता गर्नु भयो ।’उनले माधव नेपाल पनि प्रचण्डको मुंग्रो समाएर केपी विरोधी काम गरेको आरोप लगाए ।

    ‘टू इन वान भएर ओल्टेकोल्टे हुन पाइँदैन’

    पोखरेलले पार्टीनिकट पत्रकारलाई पार्टी र पेशा दुवैमा कटिबद्ध भएर लाग्न सुझाव दिए ।

    ‘पत्रकारले आफ्नो पेशागत दक्षता भने प्रदर्शन गर्नैपर्छ । दक्षता भएन भने अघि बढ्न सकिँदैन । विचारको पनि स्पष्टता हुन जरुरी छ,’ पोखरेलले भने, ‘पेशागत दक्षता नभएर पार्टीमा लाग्छु भन्ने सोच्नु हुँदैन ।’

    पोखरेलले कार्य दक्षता भएर पनि विचारमा स्पष्टता भएन भने अन्तिममा ‘नागरिक समाजको अगुवा’ भइने आरोप लगाए । ‘धेरैलाई देखेको छु । कार्य दक्षता भएर अग्रज भएका छन् । तर, अन्तिममा विचार खुइलिँदै गएर उनीहरु नागरिक समाजमा परिणत भएका छन्,’ उनले भने, ‘विचार र दक्षतासहित अघि बढिसकेपछि ओल्टेकोल्टे हुनै पाइँदैन ।’

  • प्रधानमन्त्रीसँगको छलफलमा निर्वाचन आयोगले राखेका ६ सरोकार

    प्रधानमन्त्रीसँगको छलफलमा निर्वाचन आयोगले राखेका ६ सरोकार

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका प्रभावशाली मन्त्रीहरूसँगको छलफलमा निर्वाचन आयोगले आगामी निर्वाचनका सन्दर्भमा आफ्ना आधा दर्जन सरोकार राखेको छ । आयोगले औपचारिक विषयबाहेक अरुमा चासो नराख्ने भन्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउन सकिने समेत जनाएको छ ।

    आयोगले वैशाख १७ र २७ मा निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि १ करोड ६३ लाख ४५ हजार मतदाताको नाम संकलन भएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पुस ६ देखि नै शुरू भएको मतदाता नामावली संकलन सकिएको बताएका हुन् ।

    पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेका नागरिक मतदाता सूचीमा समेटिएका छन् । फागुन २१ गते अन्तिम मतादाता नामावली सार्वजनिक गरिने जानकारीसमेत आयोगले सरकारलाई गराएको छ । अहिले मतदान केन्द्र निर्धारणको गृहकार्य भइरहेको र निर्वाचन प्रयोगजनका लागि दल दर्ता तथा आचारसंहिताको मस्यौदा तयार भइरहेको थपलियाले बताए ।

    आयोगका तर्फबाट प्रमुख आयुक्तले प्रधानमन्त्रीसमक्ष मुख्यगरी ६ वटा सरोकार राखिएको स्रोतले जनाएको छ । प्रमुख आयुक्त थपलियाले बुँदागतरूपमा प्रधानमन्त्रीसँग आयोगको धारणा राखेका थिए ।

    छलफलमा सहभागी स्रोतले नेपाल प्रेसलाई उपलब्ध गराएको नोट अनुसार आयोगको सरोकार यसप्रकार छन् ।

    १. कानून- निर्वाचन सम्पन्न गराउन कानुनी समस्या नरहेको भन्दै आयोगले कार्यविधि,निर्देशिका,आचारसंहिताजस्ता आन्तरिक कामहरू गरिरहेको थपलियाले बताएका छन् ।

    २. बजेट- कोभिड महामारीका कारण यो चुनावमा अतिरिक्त खर्च लाग्न सक्ने भन्दै आयोगले करिब ७ अर्ब रूपैयाँ माग गरेको जानकारी थपलियाले गराएका थिए ।

    ३. सुरक्षा- आयोगले निर्वाचनको लागि सुरक्षाा योजना बनिरहेको भन्दै स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न पूर्णसुनिश्चितता गर्ने थपलियाले बताए ।

    ४. प्राविधिक कार्य- आयोगको तर्फबाट गर्नुपर्ने प्राविधिक कार्यमा कुनै कमी नहुने थपलियाले बताए ।

    ५. अन्तर्राष्ट्रिय मान्यता- प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक बोलाउने तयारी भइरहेको बताए । त्यसका लागि आवश्यक कार्य अघि बढाउने थपलियाको भनाइ थियो ।

    ६. राजनीतिक वातावरण- आगामी प्रतिनिधिसभा निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्ने थपलियाले बताए । उनले नेकपा विवादको सन्दर्भमा माघ ११ गते आयोगले एउटा निर्णय गरिसकेको भन्दै एउटा पक्षले माघ २० गते राजनीतिक दल सम्बन्धी दफा ४३ र ४४ बमोजिम निवेदन दिएको जानकारी गराएका थिए ।

    थपलियाले निर्वाचन आयोग औपचारिक जानकारी बाहेकका विषयमा नअल्मलिने भन्दै वैशाख १७ गते शुक्रवार र २७ गते सोमवारका लागि तोकिएको निर्वाचन सम्पन्न गर्न दृढ रहेको जानकारी दिएका थिए ।

    प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेल, कानूनमन्त्री लिलानाथ श्रेष्ठसहितको छलफलमा निर्वाचन तयारीकै विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनले नेकपा विवादको बारेमा कुनै छलफल नभएको दाबी गरे ।

  • चुनावबारे छलफल गरेर निर्वाचन आयोगबाट फर्किए प्रधानमन्त्री

    चुनावबारे छलफल गरेर निर्वाचन आयोगबाट फर्किए प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचनको तयारीबारे छलफल गरेर निर्वाचन आयोगबाट फर्किएका छन् ।

    वैशाख १७ र २७ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफल गर्न प्रधानमन्त्री आफैं निर्वाचन आयोगमा पुगेका थिए ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र नेता सुवास नेम्वाङसहित निर्वाचन आयोग पुगेका ओलीले सोमबार मन्त्रिपरिषदले गरेको निर्णय अनुसार पहिलो र दोस्रो चरणको चुनाव हुने जिल्लाको बारेमा छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

    पत्रकारसँग कुराकानी गर्दै थापाले भने, ‘आयोगका अधिकारीले निर्वाचनको तयारीमा गरिरहेको कामको प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनुभएको छ । छलफल निर्वाचनसँग मात्र केन्द्रित भएको छ । ‘

    छलफलमा आवश्‍यक सुरक्षा र बजेट व्यवस्थाबारे पनि छलफल भएको थापाले बताए ।