Tag: नयाँ बजेट

  • नयाँ बजेट १८ खर्ब हाराहारीको आउने, कर्मचारीको तलब बढाउने तयारी

    नयाँ बजेट १८ खर्ब हाराहारीको आउने, कर्मचारीको तलब बढाउने तयारी

    काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको तयारी थालेको छ । जेठ १५ गते ल्याउने बजेटका लागि मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग सुझाव संकलन गरिरहेको छ । मन्त्रालयले चैत १ गतेदेखि नै उद्यागी, व्यवसायीसँगै सरोकारवाला निकायसँग बजेटका लागि सुझाव संकलन थालेको छ ।

    मध्यमकालीन खर्च संरचनाअनुसार बजेटका लागि १७ खर्ब ९३ अर्ब रुपैयाँ सिलिङ तोकिएको छ । मस्यौदा लेखन समितिले दिएको खर्च संरचनाअनुसार नै बजेट निर्माण भरिहेको अर्थ मन्त्रालयले बताएको छ । मस्यौदा लेखन समितिमा संयोजक भुपाल बरालसहित पाँच जना सदस्य छन् । अर्थ मन्त्रालयले चैत २ गते उक्त समिति बनाएको थियो ।

    विभिन्न संघसंस्था, अर्थविद्, बिमा क्षेत्र, बैंक, कृषि, भौतिक पूर्वाधार, खेलकुद, महिलालगायतको सुझावका आधारमा बजेट निर्माण भइरहेको जनाइएको छ ।

    बजेट निर्माणमा बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख चक्रबहादुर बुढा, आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख महेश आचार्य, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख ईश्वरी अर्याल र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बाबुराम सुवेदी सक्रिय छन् । बजेट निर्माणमा राष्ट्रिय योजना आयोगलगातले पनि सहयोग गर्नेछन् ।

    चालु आर्थिक वर्षका लागि सरकारले १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

    सरकारले यसपालि लोकप्रिय बजेटको तयारी गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार कर्मचारीको दुई हजारसम्म तलब बढ्नेछ ।

  • गण्डकीले ल्यायो ३० अर्बको बजेट, गत वर्षको भन्दा ४ अर्ब कम (पूर्णपाठ)

    गण्डकीले ल्यायो ३० अर्बको बजेट, गत वर्षको भन्दा ४ अर्ब कम (पूर्णपाठ)

    काठमाडौं । गण्डकी प्रदेश सरकारले ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ ।

    नयाँ बजेटमा चालुतर्फ ४३.५ प्रतिशत र पुँजीगततर्फ ५५.७ प्रतिशत, वित्तिय व्यवस्थापनमा ०.८ प्रतिशत छ ।

    प्रदेश सरकारले खर्च स्रोतमा केन्द्र सरकारबाट वित्तीय समानीकरण अनुदान वापत ७ अर्ब ४२ करोड, सशर्त अनुदानमा ४ अर्ब १८ करोड ४३ लाख, विशेष अनुदानमा ५४ करोड ९० लाख, समपूरक अनुदानमा ८७ करोड ३६ लाख रूपैयाँ प्राप्त गर्ने बजेटमा उल्लेख छ ।

    प्रदेश सरकारलाई नपुग २ अर्ब रकममा आन्तरिक ऋण १ अर्ब र केन्द्र सरकारबाट १ अर्ब व्यवस्थापन गर्ने मुख्यमन्त्री पोखरेलले बताएका छन् ।

    आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारीसमेत आफैंले लिएका कारण मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै आर्थिक वर्ष २०७८/७९ को बजेट वाचन गरेका छन् । गण्डकी सरकारले अघिल्लो वर्ष सार्वजनिक गरेको बजेटभन्दा यो बजेट ४ अर्ब कम हो ।

  • गण्डकीः सरकार बनेको चार दिनमै बजेट भाषण, मुख्यमन्त्रीले नै वाचन गर्ने

    गण्डकीः सरकार बनेको चार दिनमै बजेट भाषण, मुख्यमन्त्रीले नै वाचन गर्ने

    काठमाडौं । ७ वटै प्रदेश सरकारले भोलि नयाँ बजेट ल्याउँदै छन् ।

    सोही क्रममा गण्डकी प्रदेशको बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तुत गर्ने भएका छन् । पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि बहुमत सदस्यको समर्थनमा गण्डकीमा नयाँ सरकार बनेको ४ दिनमात्र भएको छ ।

    आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारीसमेत आफैंले लिएका कारण मुख्यमन्त्रीले नै बजेट वाचन गर्ने भएका हुन् ।

    संविधानत: प्रदेश सरकारले असार १ मै बजेट ल्याइसक्नुपर्ने दबाबका कारण सरकार गठन भएको छोटो समयावधि बीचमै नयाँ बजेट ल्याउनुपर्ने गण्डकी सरकारलाई चटारो परेको छ ।

    गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले मुख्यमन्त्री पोखरेले नै प्रस्तुत गर्ने बताए । उनले भने, ‘आन्तरिक मामिला तथा कानून मन्त्रालय पनि मुख्यमन्त्रीसँग नै भएकोले उहाँले नै नयाँ बजेट प्रस्तुत गर्ने छन् ।’

    खड्काका अनुसार नयाँ बजेटमा कोरोना महामारी नियन्त्रण र विकास निर्माणले प्राथमिकता पाउँनेछ ।

  • वीरेन्द्रनगरको नयाँ बजेट शिक्षा, स्वास्थ्य र स्वरोजगारमा केन्द्रीत हुने : उपप्रमुख ढकाल

    वीरेन्द्रनगरको नयाँ बजेट शिक्षा, स्वास्थ्य र स्वरोजगारमा केन्द्रीत हुने : उपप्रमुख ढकाल

    सुर्खेत । कर्णाली प्रदेशको एकमात्र सुगम नगरपालिकाको रुपमा रहेको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ सालका लागि ल्याउने बजेट शिक्षा, स्वास्थ्य र स्वरोजगारमा केन्द्रीत गर्ने भएको छ । नेपाल प्रेससँग कुरा गर्दै नगर उपप्रमुख मोहनमाया ढकालले कोभिड महामारी यो वर्ष पनि कायम रहेको बताउँदै कोभिड महामारीबाट नगरवासीलाई जोगाउन शिक्षा, स्वास्थ्य र स्वरोजगारमुखि बजेट ल्याउने बताईन् ।

    ‘कोरोना महामारीले हाम्रो नगरपालिकाको शिक्षा क्षेत्रलाई धरासायी बनाएको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले वैकल्पिक शिक्षा प्रयोग गर्न सकेका छैनन् । यसले बालबालिकाको शैक्षिक क्रियाकलापमा ठूलो क्षति पुर्‍याएको छ । यो क्षतिलाई परिपूर्ण गर्नका लागि सबै विद्यालयमा प्रविधिमैत्री शिक्षक, आवश्यक स्रोत साधन र नेट इन्टरनेटको व्यवस्थापन गर्न बजेटको व्यवस्था गर्नेछौं ।’ उनी भन्छिन्, ‘त्यसपछि स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन हुनेछ । स्वास्थ्य संरचना निर्माण गर्ने, ती संरचनालाई बढिभन्दा बढि प्रयोग गर्ने क्षेत्रमा लगानी गर्ने भएका छौं ।’

    त्यसका अलावा स्वरोजगारलाई प्राथमिकता दिइएको उनको भनाई छ । ‘कोभिडले हजारौं नागरिकलाई बेरोजगार बनाएको छ । महिला, युवाहरु अहिले घरमै बस्न बाध्य भइरहेका छन् । अझ भन्ने हो भने नीजि क्षेत्रमा रोजगारी गर्दै आइरहेका युवाहरु बेरोजगार भएका छन् । सामाजिक सुरक्षा पनि कमजोर बन्दै गइरहेको अवस्था छ ।’ उनी भन्छिन्, ‘त्यस संकटबाट जोगाउन साना-साना स्वरोजगारका कार्यक्रम ल्याउने तयारी गरेका छौं । यी तिन ओटा प्रमुख प्राथमिकतालाई विकास निर्माणसँग जोडेर हामी अघि बढछौं ।’

    अहिले बजेट निर्माणकालागि नगरपालिकाका शाखा, वडा कार्यालयमा तयारी भइरहेको उनको भनाई छ । नगरपालिकाले यो पटक ठूला भौतिक संरचना निर्माणका लागि संघीय र प्रदेश सरकारसँग सहकार्य गर्ने बताउँदै आफ्नो बजेट सबै यी तिनै क्षेत्रमा लगानी गर्ने गरी नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने तयारी गरेको उनको भनाई छ ।

  • बजेटले फर्कायो विद्युतीय सवारीमा आकर्षण, १ करोड पर्ने गाडी अब ७० लाखमै

    बजेटले फर्कायो विद्युतीय सवारीमा आकर्षण, १ करोड पर्ने गाडी अब ७० लाखमै

    काठमाडौं । नेपालमा सरकारले पेट्रोलियम गाडीलाई विद्युतीय गाडीबाट विस्थापित गर्ने भनेर फलाक्न थालेको धेरै भयो । तर, आज पनि विद्युतीय सवारीसाधन सडकमा बत्ती बालेर खोज्नुपर्ने अवस्था छ ।

    सरकारको बोली र व्यवहारमा एकरूपता नहुँदा विद्युतीय सवारीसाधनको प्रवर्द्धन हुन नसकेको हो । तर, यसपाली अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको वार्षिक बजेटबाट भने विद्युतीय सवारीका बिक्रेता र प्रयोगकर्ता उत्साहित छन् । बजेटले यस्ता सवारीको अन्तशुल्क शून्यमा झारेको छ ।

    गत वर्षको बजेटमा भन्सार र अन्तशुल्क वृद्धि गरिएको थियो र त्यसको सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सवारीसाधनमा अन्तशुल्क शून्यबाट बढाएर ६० प्रतिशत बनाएका थिए । उनले भन्सारसमेत वृद्धि गरेर ४० प्रतिशत पुर्‍याएका थिए । त्यसलाई यो वर्षको बजेटले सच्याएको हो ।

    पहिले ६० प्रतिशत रहेको विद्युतीय गाडीको अन्तशुल्क खारेज गर्नुका साथै भन्सार पनि ४० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको छ । यसले आगामी दिनमा विद्युतीय सवारीसाधनको मूल्य ह्वात्तै घट्ने देखिन्छ ।

    नेपाल अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलाल अब १ करोड पर्ने विद्युतीय गाडी ७० लाखमै किन्न सकिने बताउँछन् । आमरुपमा विद्युतीय गाडीको मूल्य ३० प्रतिशत घट्ने उनको भनाइ छ ।

    त्यसो त बजेटले डिजेल र पेट्रोलबाट सञ्चालन हुने गाडीमा प्रयोग हुने केही पार्ट्सको समेत मूल्य घटाएको छ ।

    दुलालले भने, ‘डिजेल र पेट्रोलबाट सञ्चालन हुने गाडीको केही पार्टपुर्जाको मूल्य घटेको छ । सबैखाले गाडी र बाइकमा सडक शुल्क घटेको छ । पहिले सडक प्रयोग गरे वापत ७ प्रतिशत कर तिर्नुपथ्यो भने अब ५ प्रतिशत तिरे पुग्छ ।’

    अटोमोबाइल्स व्यवसायीले राख्दै आएका माग सरकारले बजेटमा सम्वोधन गरेको हो । त्यसैले बजेटबाट गाडी बिक्रेता खुसी भएका छन् ।

    दुलालले भने, ‘कर बढेपछि नेपालमा विद्युतीय गाडीको बिक्री ठप्प जस्तै थियो । अब फेरि यसले बजार लिनसक्ने वातावरण बनेको छ ।’

    कर वृद्धि हुनुभन्दा पहिले नेपालमा विभिन्न कम्पनीका १ हजार थान विद्युतीय गाडी बिक्री हुने गरेको थियो । तर गत करवृद्धिसँगै मूल्य बढेपछि उपभोक्ताले विद्युतीय गाडीमा चासो राख्न छोडे । अब फेरि विद्युतीय गाडीमा आकर्षण फर्किने व्यवसायीको अपेक्षा छ ।

    नेपालका लागि हुण्डाइ गाडीको अधिकृत बिक्रेता लक्ष्मी हुण्डाइका निर्देशक निराकार श्रेष्ठले कर घटाएर सरकारले विद्युतीय गाडीलाई प्रोत्साहन गरेको बताए ।

    उनले भने, ‘यो राम्रो कुरा हो । नेपालभर पहिले करिब १ हजारको हाराहारीमा विद्युतीय गाडी बिक्री हुने गरेकोमा गत वर्षको बजेटपछि ठप्प जस्तै भएको थियो । अब फेरि माग बढ्ने आशा गरेका छौं ।’

    नेपालमा गाडी एसेम्बल गर्ने १२ अर्ब ६२ करोड ५५ लाख लगानीका उद्योग दर्ता भएकोमा विदेशी कम्पनीका मात्रै १० अर्ब ४४ करोड ५० लाखको लगानी हुने विभागको तथ्याङ्कमा उल्लेख छ । दर्ता भएका उद्योगहरुमध्ये सबैभन्दा धेरै लगानी कोरियाको मोट्रेक्स कम्पनी प्रालिको हुनेछ । यो उद्योगको मात्रै १० अर्ब ५४ करोड लगानी छ ।

    अब भन्सार र अन्तशुल्क घटेको आधारमा गाडीको मूल्य घट्ने उनले बताए । अहिले नै यति मूल्य घट्यो भन्न नसकिने उनको भनाइ छ ।

    हुण्डाइले ६८ लाख मूल्यको कोना विद्युतीय गाडी बिक्री गरिरहेको छ ।

    सरकारले साझा यातायासँग मिलेर एक सय वटा विद्युतीय बस काठमाडौंमा सञ्चालन गर्ने र निजी क्षेत्रसँग मिलेर देशैभर चार्जिङ स्टेसन निर्माण गर्ने बजेटमार्फत घोषणा गरेको छ । अर्थमन्त्रीले पेट्रोलियम पदार्थबाट चल्ने हलुका सवारी साधनलाई २०८८ सम्ममा विद्युतीय सवारीसाधनले विस्थापित गर्ने रणनीतिक योजना समेत अघि सारेका छन् ।

    नेपालमा विद्युतीय सवारी साधनको प्रयोग सन् १९९३ देखि हुन थालेको हो । उपत्यकामा सञ्चालित बिक्रम टेम्पोले प्रदूषण बढाएपछि विकल्पका रुपमा अमेरिकी नियोगको सहयोगमा ब्याट्रीबाट सञ्चालन हुने सफा टेम्पो सञ्चालनमा ल्याइएको थियो ।

    अहिले उपत्यकामा विद्युतीय बस, विद्युतीय टेम्पो र त्यसका लागि ३१ वटा चार्जिङ्ग स्टेशन छन् । एक स्टेशनमा दैनिक २० देखि ३० वटा टेम्पोको ब्याट्री रिचार्ज गर्न मिल्छ । तर, पाँच वर्षयता भने विद्युतीय टेम्पोको नयाँ दर्तामा रोक लगाइएको छ । नेपालम पछिल्लो समय विद्युतीय रिक्सा पनि सञ्चालन भइरहेका छन् ।

    बजेट भाषणमा अर्थमन्त्रीले विश्वका १० ठूला विद्युतीय कार उत्पादक कम्पनीलाई नेपाल ल्याउन प्रयास गर्नेसमेत बताएका छन् । उनले नेपालमा नै गाडी उत्पादन गर्न प्रोत्साहित गर्ने भन्दै सवारीसाधनका पार्टसहरू उत्पादन गर्ने उद्योगका लागि कर सहुलियत र निःशुल्क गर्ने नीति अघि सारेका छन् ।

    नेपालमा गाडी उत्पादन गर्न पछिल्लो समय केही कम्पनी अघि सरेका पनि छन् । कोरियाको मोट्रेक्स कम्पनीले नेपालमा गाडी उत्पादन गर्न अनुमति लिएपछि उद्योग विभागमा धेरै कम्पनी दर्ता भएका थिए ।

    उद्योग विभागका अनुसार अहिलेसम्म २३ वटा कम्पनी दर्ता भएका छन् । यीमध्ये १५ वटामा विदेशी कम्पनीले लगानी गर्दैछन् । २३ वटामध्ये धेरैले विद्युतीय मोटरसाइल र स्कुटर उत्पादनको लक्ष्य राखेका छन् । तर, ती कम्पनीले कहिलेबाट उत्पादन थाल्छन् भन्ने यकिन छैन ।

    नेपालमा गाडी एसेम्बल गर्ने १२ अर्ब ६२ करोड ५५ लाख लगानीका उद्योग दर्ता भएकोमा विदेशी कम्पनीका मात्रै १० अर्ब ४४ करोड ५० लाखको लगानी हुने विभागको तथ्याङ्कमा उल्लेख छ । दर्ता भएका उद्योगहरुमध्ये सबैभन्दा धेरै लगानी कोरियाको मोट्रेक्स कम्पनी प्रालिको हुनेछ । यो उद्योगको मात्रै १० अर्ब ५४ करोड लगानी छ ।

    स्वदेशीमा सबैभन्दा धेरै लक्ष्मी मोटर कर्पोरेशन प्रालिले गर्ने भएको छ । सो उद्योगको कूल पुँजी १ अर्ब ३२ करोड रहेको छ । उद्योग विभागको तथ्याङ्कअनुसार ११ वटा उद्योगमा विदेशीको पूर्ण लगानी रहेको छ भने दर्ता भएका मध्ये ८ वटा उद्योगमा मात्रै नेपाली कम्पनीको पूर्ण लगानी हुनेछ । ४ वटा उद्योगमा नेपाली र विदेशी कम्पनीले संयुक्त लगानी गर्नेछन् ।

    नेपालमा हाल गोल्छा अर्गनाइजेसन र जगदम्बा मोटर्सले कम्पनीले पेट्रोलबाट चल्ने बाइक एसेम्बल गर्छन् । उनीहरुले टीभीएस र बजाज ब्रान्डका केही सेगमेन्टका बाइकहरु एसेम्बल गर्दै आएका छन् ।

  • तलबवृद्धिबारे कर्मचारी संगठनः कोही खुशी, कोही अझै असन्तुष्ट

    तलबवृद्धिबारे कर्मचारी संगठनः कोही खुशी, कोही अझै असन्तुष्ट

    काठमाडौं । कोरोना महामारीले उत्पन्न गरेको संकटकै बीच सरकारले बजेटमार्फत सबै राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्‍यो । सबै तहका कर्मचारीको तलब २ हजार रूपैयाँ बढाउँदै अन्य सुविधाहरू पनि थप हुँदा कर्मचारी संगठनहरूको प्रतिक्रिया भने मिश्रित छ ।

    निजामती कर्मचारीको आधिकारिक ट्रेड यूनियनसँगै अन्य कर्मचारी संगठनले बजेटको स्वागत गरेका छन् । तर, केही संगठनले चाहिँ तलब वृद्धि अपर्याप्त भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

    यसअघिका वर्ष कर्मचारीको दर्जा अनुसार समान अनुपातमा तलब बढाइने गरेको थियो । तर, यसपाली एउटै अंकमा तलब वृद्धि हुँदा तल्ला तहका कर्मचारीलाई बढी फाइदा भएको छ । कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मका निजामती कर्मचारीको तलबमा उत्तिकै वृद्धि भएको छ । साथै सरकारले सबै सरकारी कर्मचारीलाई घुमघामका लागि १० दिन विदा दिने आकर्षक योजना पनि अघि सारेको छ ।

    के भन्छन् कर्मचारी संगठन

    निजामती कर्मचारीको आधिकारिक ट्रेड यूनियनले प्रतिकूल अवस्थामा पनि सरकारले तलब बढाएकोमा स्वागत गरेको छ । युनियनका कार्यबाहक अध्यक्ष भोलानाथ पोखरेलले तलब बढाउने मात्र नभई अन्य सेवा सुविधा पनि सरकारले थपेको भन्दै खुशी व्यक्त गरे ।

    उनले भने, ‘तलब नबढाएर अन्य सेवा-सुविधा बढाउन हाम्रो माग थियो, तर सरकारले भने बढाउने निर्णय गर्‍यो । यो एकदमै राम्रो हो ।’ यद्यपि उनले २ हजार तलब बढाएर अब २ वर्ष कर्मचारीको तलब बढाउने बाटो रोकेको नेपाल प्रेससँग बताए ।

    उनले भने, ‘अर्को बर्ष धेरै बढाउन सकिन्थ्यो । अब अर्को वर्ष सरकारले यस वर्ष बढाएको हो भनेर बढाउँदैन ।’

    युनियनले राखेका मागमध्ये अधिकांश सम्बोधन भएको भन्दै उनले सबै कर्मचारीको कोभिड बीमा भने नगरेकोप्रति दुखेसो गरे ।

    नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनले पनि समान हिसावले २ हजार तलब वृद्धि गरेकोमा स्वागत गरेको छ । यसले आफुहरु सबै कर्मचारी खुशी भएको संगठनका अध्यक्ष केदार प्रसाद देवकोटाले बताए ।

    उनले भने, ‘निजामती अस्पतालको सेवामा विस्तार भएको छ । प्रदेशमा पनि निजामती कर्मचारीले सेवा पाउने भएका छन् । कर्मचारीका सन्तान पढाउनका लागि विद्यालयमा छात्रवृत्ति पाउनेछन् । यस्तो कार्यक्रम ल्याउनु एकदमै राम्रो हो ।’

    अहिलेको बजेटमा केही गुनासो छ कि भन्ने प्रश्नमा उनले भने, ‘अहिलेको बजेटमा विरोध गर्नुपर्ने कुनै ठाउँ नै छैन ।’

    नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन संघले पनि तलब बढाएकोमा स्वागत गरेको छ । आफूहरूले स्वास्थ्य सेवा, शिक्षामा बढी जोड दिन माग गरे पनि त्यसरी भने नआएकोमा संघका अध्यक्ष गोपाल प्रसाद पोखरेलले गुनासो गरे ।

    उनले भने, ‘देशमा मध्यावधी चुनावका लागि त्यति धेरै खर्च गर्न मिल्ने, तर कर्मचारीको मनोबल बढाउनका लागि त्यो खालको सुविधा अझै पनि नदिएको महसुश मैले र हाम्रो संघले गरेको छ । घरजग्गाका लागि सञ्चयककोषबाट लिने ऋणमा सहुलियत गरिदिएको भए राम्रो हुन्थ्यो ।’

    कर्मचारीका लागि राम्रो बजेट आए पनि कार्यान्वयनमा समस्या देखिन सक्ने उनले शंका व्यक्त गरे ।

    पोखरेलले भने, ‘बजेटले राम्रै बोलेको छ तर कार्यान्वयनमा कसरी आउँछ भन्ने प्रमुख कुरा हो । साउनबाट लागू भए त राम्रो भो फेरि बजेटमा मात्र सीमित हुने स्थिति नहोस् ।’

    नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले भने सरकारले कर्मचारीको तलब बढाएर नागरिकलाई महंगीको मारमा पार्न खोजेको आरोप लगाएको छ । तलब बढाएकोमा संगठनको अलोचनात्मक समर्थन भएको अध्यक्ष हरी रावलले बताए ।

    उनले भने, ‘सरकारले कोठा भाडा, खाजा खर्च, सवारी भाडा, सवारीसाधन खरिदका लागि भनेर बजेटबाट सम्बोधन गर्न सक्थ्यो । तर २ हजार बढायो । बढाएजस्तो मात्र गरियो । यसबाट नागरिक महंगीको मारमा पर्ने भए ।’

    आन्तरिक पर्यटन प्रवर्द्धनका लागि १० दिन बिदा दिने निर्णयको भने रावलले स्वागत गरे ।

    नेपाल मधेसी निजामति कर्मचारी मञ्चले तलब बढेको महसुश नभएको जनाएको छ । यस वर्ष नबढाएर अर्को वर्ष बढाएको भए अहिलेको भन्दा धेरै बढ्ने अवस्था आउने मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले बताए ।

    उनले भने, ‘तलब बढाउने नै हो भने कम्तिमा ५ देखि १० हजारसम्म बढाउनुपर्थ्यो । यति थोरै बढाउनुभन्दा त नबढाएको भए नै राम्रो हुन्थ्यो नि ।’ उनले पनि २ हजार तलब बढाउनुको साटो अन्य सुविधा थपेको भए कर्मचारीका लागि राम्रो हुने बताए ।

    कर्मचारीका लागि अरु के छन् ?

    सरकारले अहिले उपलब्ध गराउँदै आएको महंगी भत्तालाई निरन्तरता दिएको छ । निजामती कर्मचारीको सेवा सुविधालाई दक्षिण एसियाका अन्य मुलुकसँग तादम्यता कायम गर्नका लागि तलबमान सम्बन्धमा अध्ययन गर्न पे कमिसन गठन गरिने बजेट भाषणमा उल्लेख छ ।

    प्रादेशिक तहका अस्पतालसँगको सहकार्यमा निजामती अस्पतालको सेवा विस्तार गरिने, निजामती कर्मचारीबाट संकलन भएको सामाजिक सुरक्षा करवापतको ५० प्रतिशत रकम निजामती सेवा अस्पतालको पूर्वाधार विकास तथा सेवाको विस्तारका लागि उपलब्ध गराइने पनि घोषणा गरिएको छ ।

    निजामती अस्पतलामा निजामती कर्मचारीका लागि शैय्याको संख्या निश्चित गरिनुका साथै विषेश बहिरंग सेवा सञ्चालन गरिने छ । निजामती कर्मचारीका सन्ततिलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न सबै प्रदेशमा निजामती विद्यालय स्थापना गरिने भएको छ ।

    प्रदेशसँगको साझेदारी र सहयोगमा धनकुटा र दिपायलमा सञ्चालित निजामती विद्यालयको स्तरोन्नती गरिने छ । निजामती कर्मचारीका सन्ततीका लागि प्रदेशगत रुपमा प्रतिस्पर्धा गराई स्नातक वा त्यसभन्दा माथिल्लो तहको अध्ययनका लागि ५ लाखसम्म छात्रवृती उपलब्ध गराइने छ ।

    बजेटमार्फत नै सरकारले निजामती कर्मचारीलाई सहुलियत दरमा आवास सुविधा प्रदान गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट सबै प्रदेशमा सामुहिक लगानीबाट आवास निर्माण गर्ने व्यवस्था मिलाएको छ । १० लाख निजामती कर्मचारीको सामूहिक दुर्घटना बिमा र १ लाखको स्वास्थ्य बीमा प्रिमियमवापतको रकम नेपाल सरकारले व्यहोर्ने व्यवस्था मिलाइएको पनि अर्थमन्त्री पौडेलले घोषणा गरेका छन् ।

    अघिल्लो वर्ष कोभिडका कारण लोक सेवा आयोगको विज्ञापन रोकिएको र आर्थिक वर्षको अन्तिममा आएर आयोग पदाधिकारीबिहिन भएका कारण कर्मचारी भर्ना प्रक्रिया पुर्णरुपमा अवरुद्ध भएको भन्दै अर्थमन्त्री पौडेलले निजामती सेवाको पद ६ महिनाभित्र पदपूर्ति गरिसक्ने व्यवस्था मिलाइने पनि घोषणा गरिएको छ ।

  • नयाँ बजेटबारे यस्तो छ कांग्रेसको धारणा (वक्तव्यसहित)

    नयाँ बजेटबारे यस्तो छ कांग्रेसको धारणा (वक्तव्यसहित)

    काठमाठौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमार्फत सरकारले जनमत प्रभावित गर्ने दुराशय राखेको आरोप लगाएको छ । सरकारले बजेटमा राखेका भ्रमपूर्ण योजना कार्यान्वयन हुन नसक्ने चेतावनी पनि कांग्रेसले दिएको छ ।

    सोमबार पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै कांग्रेसले बजेटबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको हो ।

    पत्रकार सम्मेलनमा पार्टीका नेता डा. मिनेन्द्र रिजालले लिखित वक्तव्य पढेर सुनाएका थिए ।

    नयाँ बजेटबारे कांग्रेसको आधिकारिक धारणा यस्तो छ (पूर्णपाठ)

  • नयाँ बजेटमा पूर्वाधार : कुन आयोजनामा कति रकम ?

    नयाँ बजेटमा पूर्वाधार : कुन आयोजनामा कति रकम ?

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको करिब साढे १६ खर्बको बजेटमा भौतिक तथा पूर्वाधारलाई १ खर्ब ६३ अर्ब ३७ करोड रूपैयाँ छुट्याएका छन् । यो रकम आर्थिक वर्ष २०७७/७८ भन्दा २४ अर्ब ५७ करोडले बढी हो ।

    आव २०७७/७८ मा भौतिक तथा पूर्वाधार मन्त्रालयका लागि एक खर्ब ३८ अर्ब ८० करोड छुट्याइएको थियो । नयाँभन्दा निर्माणाधिन आयोजनालाई प्राथमिकतामा राखेर सरकारले बजेट विनियोजन गरेको छ ।

    आर्थिक वर्ष २०७८/७९ मा प्राथमिकतामा परेका आयोजना र तिनमा छुट्याइएको बजेट हेर्नुस् :- 

    सुरुङमार्ग

    बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले आधुनिक सुरुङमार्ग नेपालीको सपना नभई वास्तविकता भएको बताएका छन् । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि ९ अर्ब ८५ करोड छुट्याइएको छ । साथै, काठमाडौंको तीनकुने-जडिबुटी सुरुङमार्गका लागि १ अर्ब ८० करोड विनियोजन गरिएको छ । सुरुङमार्ग निर्माण र अध्ययनको थप कामका पनि योजना अघि सारिएका छन् ।

    राजमार्ग

    पूर्व-पश्चिम राजमार्गलाई सुरक्षा मापदण्डसहितको चार लेनमा विस्तार गर्ने अर्थमन्त्री पौडेलले बताएका छन् । यसका लागि १५ अर्ब ३४ करोड विनियोजन गरिएको छ ।

    पुष्पलाल (मध्यपहाडी) राजमार्गलाई चारलेनमा नै विस्तार गर्ने गरी ८ अर्ब १३ करोड छुट्याइएको छ । विनियोजन गरिएको छ ।

    मदनभण्डारी राजमार्ग अन्तर्गत चतरा-हेटौंडा खण्डको निर्माण कार्य तथा शान्तिनगर-धरान र भेडावारी-धुलियाविट सुर्खेत खण्डको निर्माणका लागि ३ अर्ब २० करोड बजेट छ ।

    सिद्धार्थ र कोहलपुर-सुर्खेत राजमार्गलाई डेडिकेटेड डबल लेनमा स्तरोन्नती गर्न ७ अर्ब रकम छ । पृथ्वीराजमार्गको नागढुंगा-मुग्लिन सडक खण्ड र आँवुखैरेनी-पोखरा सडकलाई चार लेनमा विस्तार गर्न ७ अर्ब छुट्याइएको छ ।

    पूर्व-पश्चिम राजमार्गमा पर्ने तराई-मधेसका १८ जिल्लामा जिल्ला सदरमुकामहँदै दक्षिण सीमा जोड्ने सडकलाई चार लेनमा विस्तार गर्न अर्थमन्त्रीले २ अर्ब ६६ करोड विनियोजनको घोषणा गरेका छन् । अरनिको राजमार्गमा पर्ने धुलिखेल-दोलालघाट-कोदारी खण्डको स्तरोन्नतीका लागि १ अर्ब १३ करोड विनियोजन गरिएको छ ।

    त्यस्तै आर्थिक वर्ष २०७८/७९ को बजेटमा कर्णाली राजमार्गका लागि १ अर्ब २० करोड बजेट विनियोजन गरिएको छ ।

    भेरी सडक करिडोर जाजरकोट-दुनै खण्डको स्तरोन्नती र तिन्जे धो खण्डको ट्रयाकका लागि ७१ करोड विनियोजन गरिएको छ । महाकाली करिडोरका लागि १ अर्ब ३ करोड छुट्याइएको छ ।

    उत्तर-दक्षिण सडक करिडोर

    मेची कोरिडोरको देउराली-भैंसे खण्ड, तमोर, चतरा-ओलाङचुङगोला खण्ड, कोशी करिडोरलगायत टीकापुर-साँफे खण्डका लागि ६ अर्ब ५० करोड बजेट छुट्याइएको छ ।

    सरकारले नयाँ बजेटमा हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड विनियोजन गरेको छ ।

    काठमाडौं-तराई मधेश द्रूत मार्ग

    काठमाडौं-तराई मधेश द्रूत मार्गको निर्माणलाई तीब्रता दिन सुरुङमार्ग र उचाइयुक्त पुल निर्माणका लागि ८ अर्ब १५ करोड छुट्याइएको छ ।

    ३०० पुल बनाइने

    नयाँ बजेटमा ३०० पुल निर्माण गर्न ११ अर्ब १० करोड रूपैयाँ छुट्याइएको छ । यसमा पूर्व-पश्चिम राजमार्गका कोशी, नारायणी, राप्तीलगायतका १० सम्भाव्य सडक पुललाई आकर्षक सिग्नेचर ब्रिजमा प्रतिस्थापन गर्ने सरकारको योजना छ ।

    चक्रपथ विस्तार

    काठमाडौंस्थित दोस्रो चरणको चक्रपथ विस्तारको लागि २ अर्ब ६४ करोड विनियोजन गरिएको छ ।

    सरकारले देशभित्र आधुनिक प्रविधियुक्त रेल यातायात सञ्जाल विकासका लागि १० अर्ब ३ करोड छुट्याएको छ ।

  • निर्वाचनलाई खोइ बजेट ? अर्थमन्त्रीले दिए यस्तो जवाफ

    निर्वाचनलाई खोइ बजेट ? अर्थमन्त्रीले दिए यस्तो जवाफ

    काठमाडौं । सरकारले संसद विघटन गरी कात्तिक २८ र मंसिर ३ गतेका लागि निर्वाचन मिति घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा निर्वाचनका लागि कति रकम छुट्याइँदै छ भन्ने कौतुहल थियो । तर, बजेटमा चुनावी बजेटको अंक आएन ।

    अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा ‘निर्वाचनको लागि आवश्यक बजेटको व्यवस्था गरिएको’ उल्लेख भए पनि अंक तोकिएको छैन । यसलाई लिएर कतिपयले सरकार आफैं चुनाव हुनेमा विश्वस्त नभएकाले चुनावका लागि बजेट नतोकेको आशंका समेत गरेका छन् ।

    अर्थमन्त्री पौडेलले मन्त्रालयमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा चुनाव खर्चको विषयमा जवाफ दिएका छन् । यद्यपि, उनको जवाफ टालटुले थियो । उनले सरकार निर्माणका सबै सम्भावना सकिएपछि संसद विघटन भएको भन्दै नयाँ निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे ।

    ‘निर्वाचन स्वतन्त्र र निष्पक्ष गर्न सरकारको ध्यान छ,’ उनले भने, ‘त्यसमा हाम्रो सबै सामर्थ्य परिचालन गर्छौं । निर्वाचन लोकतन्त्रको प्राण हो । निर्वाचनका निम्ति हामीले आवश्यक बजेट छुट्याएका छौं ।’

    अर्थसचिव शिशिर ढुंगानाले पनि चुनावका लागि अर्थमन्त्रालय बजेटको व्यवस्थापन गर्न सक्षम रहेको बताए ।
    उनले भने, ‘सरकारले चुनाव घोषणा गरिसकेपछि त्यसका लागि आवश्यक रकमको कमी हुन दिँदैनौं ।’

    यसअघि गत पुसमा पहिलोपटक प्रतिनिधिसभा विघटन हुँदा चालु खर्च कटौति गर्दै निर्वाचन खर्चको व्यवस्था गर्ने बजेटको अर्धवार्षिक समीक्षामा बताइएको थियो । तर, सर्वोच्चले प्रतिनिधिसभा विघटन गरेपश्चात निर्वाचन आयोगले माग गरेको बजेट खर्च सरेण्डर भएको थियो ।

    आयोगले खर्च गरेको बाहेकको रकम निर्वाचन आयोगलाई निकासा गरिएको थिएन ।

  • गभर्नरको दावी- ‘भी सेप’ होइन, ‘भीर सेप’ मा पुनरुत्थान हुन्छ

    गभर्नरको दावी- ‘भी सेप’ होइन, ‘भीर सेप’ मा पुनरुत्थान हुन्छ

    काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीको प्रभाव कम हुनेवित्तिकै बजेटको लक्ष्य प्राप्त गर्न सकिने बताएका छन् ।

    अर्थमन्त्रायमा आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले गत मंसिरदेखि चैतसम्मको कर्जा प्रवाहको तथ्याङक प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

    उनले सो अवधिमा ७०० अर्ब कर्जा प्रवाह भएको बताए । उक्त अवस्थालाई हेर्ने हो भने ‘भी’ सेपको होइन ‘भीर सेप’ को आर्थिक पुनरुत्थान हुने अधिकारीको दावी छ ।

  • आर्थिक वृद्धिमा राहत कार्यक्रमले टेवा पुग्नेछ : अर्थसचिव ढुंगाना

    आर्थिक वृद्धिमा राहत कार्यक्रमले टेवा पुग्नेछ : अर्थसचिव ढुंगाना

    काठमाडौं । अर्थसचिव शिशिर ढुंगानाले कोभिड-१९ पुनरुत्थानसम्बन्धी पर्याप्त कार्यक्रमहरू सहितको बजेट व्यवस्था गरिएकाले ६.५ प्रतिशतको आर्थिक वृद्धि भेट्टाउन सहयोग पुग्ने बताएका छन् ।

    शनिबार सार्वजनिक नयाँ बजेट सम्बन्धमा अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव ढुंगानाले चालु आर्थिक वर्षको पछिल्लो चार महिनामा भएको आर्थिक क्रियाकलापले पनि उक्त आर्थिक वृद्धिदर भेट्न गार्हो नहुने दावी गरे ।

    बजेट मार्फत खोप खरिदका लागि पर्याप्त बजेट व्यवस्था गरिएकाले महामारीको प्रभाव कम हुनेवित्तिकै अर्थतन्त्रले गति लिने उनको विश्वास छ ।

    ‘कोभिडको प्रभाव कम हुनेवित्तिकै बस्तु तथा सेवाको एकीकृत माग बढ्ने भएकाले उक्त आर्थिक वृद्धि हासिल हुनेछ’, ढुंगानाले भने । कर छुट दिँदैमा राजस्वमा कमी नआउने ढुंगानाको भनाइ छ । कमजोर उद्योग/व्यवसायलाई मात्रै कर छुट दिएको भन्दै उनले भने, ”मन्त्रालयले आवश्यक विष्लेषण गरेर मात्रै करमा छुट दिएको छ’ ।

  • पूर्णबजेटको विकल्प थिएन, कार्यान्वयन गरेर देखाउँछौं : अर्थमन्त्री

    पूर्णबजेटको विकल्प थिएन, कार्यान्वयन गरेर देखाउँछौं : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयन गरेर देखाउने बताएका छन् ।

    बजेटको कार्यान्वयनमाथि विपक्षी दल तथा विज्ञहरुले प्रश्न उठाइरहेका बेला अर्थमन्त्री पौडेलले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

    आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले भने, ‘धेरैले यो बजेटको कार्यान्वयनमा आशंका व्यक्त गर्नुभएको छ । म भन्न चाहन्छु कि यो बजेट सुनाउनका लागि मात्र होइन, कार्यान्वयनका लागि हो । कार्यान्वयन गरेर देखाउँछौं ।’

    उनले सरकारले संविधान बमोजिम पूर्णबजेट ल्याएको बताए । जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्थाबाट सरकार पन्छिन नमिल्ने उनको भनाइ छ ।

    ‘योभन्दा अर्को वैधानिक विकल्प थिएन । यस्तो संकटको घडीमा कामचलाउ बजेट मात्र ल्याएर देश र जनताप्रतिको जिम्मेवारीबाट हामी पन्छिन मिल्दैनथ्यो,’ उनले भने ।

    सरकारले महामारीलाई ध्यानमा राखेर नै बजेटमा कर छुटको व्यवस्था तथा राहातको कार्यक्रम प्रस्तुत गरेको अर्थमन्त्रीको भनाइ थियो । ‘ मतदातालाई रिझाउन नभई सरकारले जनता तथा राष्ट्रको जिम्मेवारी पूरा गर्नका लागि बजेट ल्याएको हो’, पौडेलले भने ।

    सरकारले जनताको जीवनरक्षा गर्ने हिसावले बजेट प्रस्तुत गरेको उनको भनाइ थियो ।

  • सरकारले खारेज गर्‍यो विवादित स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम

    सरकारले खारेज गर्‍यो विवादित स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम

    काठमाडौं । सरकारले विवादित बन्दै आएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणमार्फत सो घोषणा गरेका हुन् ।

    ‘स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम’ को बजेट सदुपयोग हुन नसकेको भनेर विरोध हुँदै आएको थियो । अर्थमन्त्री पौडेलले बजेटमा स्रोत अभावका कारण यो  कार्यक्रम खारेज गरिएको बताए ।

    यस वर्ष संसद विघटित अवस्थामा रहेकाले यो कार्यक्रममा रकम विनियोजन नहुने निश्चित थियो । सरकारले भने कार्यक्रम नै सदाका लागि खारेज गरिदिएको छ ।

    चालु आर्थिक वर्षका लागि सरकारले संघीय संसद निर्वाचन क्षेत्रका लागि ४ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो ।

  • बजेट २०७८/७९ : काठमाडौंमा १०० विद्युतीय बस थपिने

    बजेट २०७८/७९ : काठमाडौंमा १०० विद्युतीय बस थपिने

    काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्दै काठमाडौंमा नयाँ १ सय वटा विद्युतीय बस संचालन गर्ने भएको छ ।

    नयाँ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साझा बससँग मिलेर सरकारले विद्युतीय बस संचालन गर्ने बताए । विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न देशैभर चार्जिङ स्टेसन खोलिने पनि उनले घोषणा गरे ।

  • नयाँ बजेट : मौसम सम्बन्धी जानकारीका लागि छुट्टै टिभी च्यानल

    नयाँ बजेट : मौसम सम्बन्धी जानकारीका लागि छुट्टै टिभी च्यानल

    काठमाडौं । मौसम सम्बन्धी सूचना प्रवाहका लागि सरकारले छुट्टै टेलिभिजन सञ्चालन गर्ने भएको छ ।

    मौसम सम्बन्धी सूचना संकलनका लागि पाल्पा र उदयपुरमा मौसमी राडार र काठमाडौं उपत्यकामा एक्स बेन्ट राडार जडान गरिने अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत जानकारी दिए ।

    ‘टेलिभिनजनमा मौसमी च्यानल सञ्चालन गरिने छ’, उनले भने ‘थप स्थानमा जल तथा मौसम मापन केन्द्र स्थापना गर्न बजेट व्यवस्था गरेको छु ।’

  • नयाँ बजेटका लागि चेम्बरको १९ बुँदे सुझाव, आर्थिक पुनरुत्थानमा जोड

    नयाँ बजेटका लागि चेम्बरको १९ बुँदे सुझाव, आर्थिक पुनरुत्थानमा जोड

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नयाँ बजेटका लागि १९ बुँदे सुझाव पेस गरेको छ ।

    अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८/७९ बजेट निर्माण गर्न माग गरेको हो ।

    कोरोना महामारीको प्रकोपबाट समग्र अर्थतन्त्र र जनजीवन लामो समयसम्म प्रभावित हुने अवस्था रहेकाले आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर बजेटको लक्ष्य निर्धारण गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा कोरोना प्रभावित अर्थतन्त्रका लागि दिएका सम्पूर्ण सहुलियतपूर्ण व्यवस्थाहरूलाई आगामी वर्षमा पनि निरन्तरताको लागि चेम्बरले माग गरेको छ ।

    अर्थमन्त्री पौडेलले चेम्बरको सुझावहरू अध्ययन गरी बजेटमा सम्बोधन गर्न प्रयास गरिने जवाफ दिएका थिए । ‘हामी नेपालको निजी क्षेत्रसँग मैत्रीपूर्ण सम्बन्ध बनाई सहकार्य गर्न चाहन्छौं । चेम्बर निजी क्षेत्रकै पुरानो संस्था पनि भएकोले तपाईंहरूका सुझाव बजेटका लागि महत्वपूर्ण छन्’, पौडेलले भने ।

    चेम्बरका तर्फबाट अध्यक्ष राजेन्द्र मल्ल, निवर्तमान अध्यक्ष राजेश काजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, उपाध्यक्षहरू दीपक मलहोत्रा, दीपक श्रेष्ठ र सुरेन्द्रकुमार श्रेष्ठ तथा राजश्व समितिका सभापति परशुराम दाहाल र मन्त्रालयबाट अर्थमन्त्री, अर्थसचिव शिशिरकुमार ढुंगानासहितका अधिकारी छलफलमा थिए ।

    कोरोना महामारीको दोस्रो लहर खतरनाक भएको भन्दै यसको रोकथाम तथा नियन्त्रण गरी अर्थतन्त्रलाई बचाउन निजी क्षेत्रलाई बजेटलाई खोप आयातको प्रबन्ध बजेटमार्फत व्यवस्था गरिदिन चेम्बरको आग्रह छ ।

    चालु आर्थिक वर्षको बजेटमा व्यवस्था सरकारले ल्याएको ५० अर्बको स्टिमुलस प्याकेज पूर्णरुपमा कार्यान्यवनमा नभएको भन्दै चेम्बरले आगामी आर्थिक वर्षको बजेटमा जीडीपीको ५ प्रतिशत राहत प्याकेज ३ प्रतिशत ब्याजदरमा गर्न आग्रह गरेको छ ।