Tag: डुबान

  • वर्षाले २ लाख हेक्टरको धान सोत्तर, जीडीपीमा धक्का पुग्न सक्ने

    वर्षाले २ लाख हेक्टरको धान सोत्तर, जीडीपीमा धक्का पुग्न सक्ने

    काठमाडौं । नेपालमा धेरै उत्पादन हुने कृषिजन्य बालीमध्ये धान एक हो । तर अहिले त्यही धानबाली वर्षाको कारणले सखाप भएको छ । धान भित्र्याउने समयमा नै देशभर परेको पानीले धान बगाएपछि कृषकहरू पीडामा परेका छन् ।

    कृषि मन्त्रालयका अनुसार यस वर्ष १३ लाख ४२ हजार ८ सय १९ हेक्टर जमिनमा धान रोपिएको थियो । हालसम्म देशैभर गरेर करिब २ लाख हेक्टरमा फलेको धान पानीले डुबाएको छ । धान उत्पादनमा भएका क्षतिले देशको आर्थिक वृद्धिदरमा समेत असार गर्ने अर्थविद्हरू बताउँछन् ।

    तराईका जिल्ला बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत लगायतका स्थानको धान बाढील बगाएको हो । कृषकले दसैंको बेलमा काटेर सुकाएको र कुन्यु लगाएको धानलाई बाढीले सोत्तर बनाएको छ । सात प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार वर्षाका कारण धान उत्पादनमा करिब ८ प्रतिशत क्षति भएको छ । केही प्रदेशले भने थप तथ्यांक संकलन गरिरहेका छन् ।

    कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले सबै प्रदेशका कृषि मन्त्रालयसँग क्षतिको विवारण मागिएको बताए ।

    ‘त्यो विवरण आएपछि कृषि क्षेत्रका लागि सरकारले राहत प्याकेज ल्याउने छ । त्यही विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग हामी छलफलमा छौं,’ उनले भने । कृषकको समस्यालाई सरकारले बुझेको मन्त्री यादवले बताए ।

    अर्थविद् रामेश्वर खनाल वर्षाको कारणले धानमा भएको क्षतिले देशको कुल ग्रास्थस्त उत्पादनमा नै असर गर्ने बताउँछन् । अघिल्लो वर्ष ५५ लाख मेट्रिक्कटन धान उत्पादन भएकोमा यस वर्ष उल्लेख्य कमी आउनसक्ने उनको भनाइ छ ।

    खनालले भने, ‘धान उत्पादन घट्दा हाम्रो जीडीपीमा ०.५ प्रतिशतले कमी ल्याउँछ । अहिले पहाडमा भन्दा पनि तराइमा धान भित्र्याउने बेला हो । त्यहाँ धेरै क्षति भएको छ ।’

    अब सरकारले कृषकलाई अनुदान दिनुपर्ने खनालको भनाइ छ । धान उत्पादन घटेको कारण खाद्यान्नको अभाव हुने अवस्था आयो भने सरकारले खाद्य संस्थान मार्फत अभाव भएका जिल्लामा खाद्यान्न पुर्‍याउने व्यवस्था मिलाउनु पर्ने उनले बताए ।

    ‘धान उत्पादन घट्दा विदेशबाट चामाल आयात हुने भएकाले बैदेशिक व्यापार घाटा पनि केही वृद्धि हुन्छ,’ उनले भने ।

    किन गर्दैनन् कृषकले कृषि बीमा ?

    सरकारले कृषकको लागि भनेर कृषि बीमा कार्यक्रम पनि अघि सारेको छ । तर यसमा आकर्षण देखिएको छैन । कृषकले अहिले कृषि बीमा गरेको भए वर्षाको कारण क्षति भएको धानको बीमा भुक्तानी पाउने थिए ।

    सरकारले सहुलियतसहित कार्यक्रम सञ्चालन गर्दा पनि कृषक त्यसमा आकर्षित छैनन् । बीमा कम्पनीहरूले पनि कृषि बीमाबाट धेरै मुनाफा नआउने भएकाले कम चासो दिएका छन् । बीमा समितिले बीमा कम्पनीहरूलाई जिल्ला तोकेर नै कृषि बीमा गर्न भनेको हुन्छ । तर कृषि बीमा गर्न न कम्पनीले चासो दिन्छ, न त कृषकले नै ।

    देशैभर कृषकले धान मात्रै होइन, अन्य कृषि बालीको बीमामा चासो दिएका छैनन् । अहिले कृषि बीमाका लागि सरकारले ५० प्रतिशत अनुदान दिएको छ । प्रदेश सरकारले समेत केन्द्र सरकारले दिएको कृषि बीमा अनुदामा केही थप्ने गरेको छ ।

    बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कृषि बीमा गरेका कृषकले बीमा भुक्तान पाउने बताए ।

    सिलवालले भने, ‘सरकारले कृषि बीमामा ५० प्रतिशत अनुदान दिने गरेको छ । तर, पनि कृषकलाई कृषि बीमाको बारेमा राम्रोसँग ज्ञान छैन् । बीमाको जिम्मा पाएका बीमा कम्पनीहरूले पनि कृषि बीमामा त्यति धेरै ध्यान दिएका छैनन् ।’

  • डुबानले रुपन्देहीका दर्जनौ उद्योग प्रभावित, करोडौंको क्षति

    डुबानले रुपन्देहीका दर्जनौ उद्योग प्रभावित, करोडौंको क्षति

    रुपन्देही । निरन्तरको वर्षका कारण रुपन्देहीको धेरै क्षेत्र ढुबानमा पर्यो । डुबानका कारण सयौं घर डुबे, कतिपय विस्थापित भए । त्यस्तै बाढी तथा डुबानका कारण यहाँका दर्जनौं उद्योगमा करोडौंको नोक्सान भएको छ ।

    अधिकांश उद्योग डुबानमा पर्दा कच्चा पदार्थ एवम् तयारी सामानहरु कामै नलाग्नेगरी बिग्रिएका छन् भने मेशीनरी समानमा पनि क्षति पुगेको छ ।

    रुपन्देहीमा औद्योगिक करिडोरको रुपमा रहेको भैरहवा–बुटवल, भैरहवा–लुम्बिनी र भैरहवा–परासी सडकखण्डमा रहेका ठूला तथा साना अधिकांश उद्योगहरु डुबानमा परेका थिए ।

    वर्षाको समय सकिन लागेको र चाडपर्व नजिक आइरहेकाले खाद्यान्न तथा उद्योगहरुले धेरै तयारी वस्तु उत्पादन गरेर राखेका थिए तर एक्कासी आएको बाढीबाट भएको डुबानले निकै ठूलो क्षति पुगेको उद्योगीहरुले बताएका छन् ।

    वर्षापछि आएको बाढीका कारण आवास ग्रुपले रुपन्देहीमा संचालन गरेका उद्योगहरुमा करोडौंको क्षति पुर्याएको छ । विभिन्न ६ वटा उद्योगहरुमा बाढी पसेर करोडौंको क्षति भएको गु्रपका प्रबन्ध निर्देशक महेश थैवले जानकारी दिए ।

    करिब पाँच करोड मूल्य बराबरको स्टक र कच्चापदार्थ क्षति भएको अनुमान छ । तिलोत्तमा नगरपालिका– १७ स्थित कोटिहवामा आफ्नो ग्रुपले संचालन गरेका ६ वटा उद्योगहरुमा क्षति पुगेको थैवको भनाइ छ ।

    शुक्रबार डुबानमा परेका ती उद्योगहरुमा शनिबार बिहानसम्म पनि जलमग्न रहेका कारण उद्योग छिर्न नसकिएको थैवले बताए ।

    थैवका अनुसार उद्योगमा रहेका हाइभोल्टेजका मोटरहरु पानीमा डुबेका छन् भने करोडौंको कच्चा पदार्थ बाढीमा डुबेर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

    शुक्रबार रातिबाट वर्षा रोकिए पनि उद्योग क्षेत्रमा पानीको सतह नघटेको उद्योगी थैवले बताए । ‘वर्षा रोकिएपनि उद्योग क्षेत्रमा पानीको सतह नघटेको कारण क्षति भएको स्थानसम्म पुग्न सकिएको छैन’, थैवले भने, ‘कोटिहवामा रहेको आवास ग्रुपको एभरेष्ट फूड एण्ड वेभरेज इन्डष्ट्रिज, लक्ष्मी स्टिल इन्डष्ट्रिज, शुभलक्ष्मी पोलिमर्स इन्डष्ट्रिज, नेशनल रबर इन्डस्ट्रिज, मिराज इन्डस्ट्रिज र निर्माणाधीन ज्याकर पाइप्स एण्ड फिटिङ इण्डष्ट्रिजमा बाढीले बढी क्षति पुर्याएको छ ।’

    मजदुर मारमा

    बाढीले रातिको सिफ्टमा काम गरिरहेका मजदुरहरु समस्यामा परेपछि उनीहरुलाई उद्योगकै अग्लो स्थानमा बस्ने व्यवस्था मिलाइएको छ । करिब ७ सय मजदुर रहेका ती उद्योगहरुमा बाढी आउने समयमा पनि करिब १ सयजना भित्रै थिए । बाढीले उद्योगहरुमा भएको क्षतिपछि भित्र बसेका मजदुरहरुलाई पनि बस्न समस्या परेको छ ।

    भैरहवा–बुटवल सडकखण्ड अन्तर्गत पञ्चकन्या कोरिडोरको पञ्चकन्या समूहअन्तर्गतको उद्योगमा मात्रै करोडौंको नोक्सान भएको सो उद्योगले जनाएको छ । उद्योगका महाप्रबन्धक देवेन्द्र साहुका अनुसार उद्योगमा प्लािष्टक बनाउनका लागि राखिएका कच्चा पदार्थहरु डुबानका कारण बिग्रिएको छन् । पञ्चकन्यामा मात्रै करिब १० करोडको क्षति पुगेको उनको दावी छ ।

    उद्योग परिसर नै डुबानमा पर्दा मोटरलगायतका मेशिनरी समानहरु बिग्रेका छन् । मेशिनरी समान बिग्रिएको र कच्चा पदार्थ पनि बिग्रिएका कारण केही दिन उद्योग सञ्चालन गर्ने अवस्था नरहेकाले धेरै नोक्सानी ब्यहोर्नु परेको साहुले बताए ।

    एभरेष्ट रोलिङ इण्डष्ट्रिज प्रालि, श्याम मोडर्न दाल मिल, रत्ना आइरनलगायतका उद्योगहरु डुबानमा पर्दा क्षति भएको छ । एभरेष्ट रोलिङ इण्डष्ट्रिज प्रालिका सञ्चालक अरुणकुमार गोयन्काले आफ्नै उद्योगमा मात्र प्लाण्ट, मेशिनरी र तयारी सामान गरी डेढ करोडभन्दा बढीको नोक्सानी भएको बताए ।

    सिद्धार्थनगर उद्योग वाणिज्य संघको उपाध्यक्षसमेत रहेका उनले भैरहवा–बुटवल सडक बनाउँदा गरिएको लापरवाहीका कारण वर्षाको पानी बग्ने ठाउँ रोकिएकाले यहाँ बर्सेनि डुबानका कारण करोडौंको नोक्सान ब्यहोर्नुपरेको बताए ।

    डुबानबाट भैरहवा–परासी सडकखण्डमा पर्ने सिद्धी बिनायक एग्रो इण्डष्ट्रिज, श्री स्टिल, शंकर ग्यास उद्योग, जय माता दी पाइप उद्योगलगायतका दर्जनभन्दा बढी उद्योगहरु प्रभावित भएका छन् ।

    सिद्धी बिनायक एग्रो इण्डष्ट्रिजका सञ्चालक राम थापाले बाढीबाट उद्योगको पर्खाल भत्केको र उद्योगमा राखेको करोडभन्दा बढीको धान नोक्सान भएको बताए । यस्तै मोटर, कम्प्रेसरलगायतका मेशीनरी समानहरु पनि बाढीका कारण डुबेर बिग्रेको उनको भनाइ छ ।

    बाढीले रुपन्देहीमा उद्योग–व्यवसायमा कति क्षति भयो भन्ने पूरै विवरण आएको छैन । सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेले विवरण संकलन गर्ने काम भइरहेको बताए ।

    उनले तथ्यांकका आधारमा प्रभावित साना उद्योगलाई राहतका कार्यक्रम ल्याइने र ठूला उद्योगका हकमा उनीहरुको बीमा रकमलगायतका प्रकृयाहरुबारे सहजीकरण गरिने जानकारी दिए ।

    रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले संघमा आवद्ध तथा अन्य सानाठूला उद्योगमा करोडौंको क्षति भएको उद्योगीहरुले सूचना दिए पनि सबैको विवरण संकलन कार्य जारी रहेको बताए ।