Tag: टप न्यूज

  • माओवादीले प्रचण्डकै संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने

    माओवादीले प्रचण्डकै संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विघटन गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव गरेको छ । आज बसेको पदाधिकारी बैठकले यो प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय गरेको प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।

    सापकोटाका अनुसार प्रचण्डकै संयोजकत्वमा आयोजक समिति बनाउने पदाधिकारी बैठकको प्रस्ताव छ । आगामी ९ असोजमा बस्ने केन्द्रीय समिति बैठकमा यो प्रस्तावमाथि छलफल हुने सापकोटाले जानकारी दिए । त्यसअघि ८ गते स्थायी समिति बैठक बस्ने छ ।

    माओवादी बैठकले फागुन २१ मा घोषित मितिमा निर्वाचन गराउन पार्टीको तर्फबाट भूमिका खेल्ने निर्णय पनि गरेको छ ।

  • सजाइयो शक्ति पीठहरु (तस्बिरहरु)

    सजाइयो शक्ति पीठहरु (तस्बिरहरु)

    काठमाडौं । हिन्दूहरुको महान चाड बडा दशैंको आगमनसँगै विभिन्न शक्ति पीठहरुमा झिलिमिली बत्तीहरु सजाइएको छ ।

    नक्साल भगवती मन्दिर, मैतीदेवी मन्दिर, कालिका स्थान लगायत देवी मन्दिर सजाइएको छ । फोटोमा मैतीदेवी मन्दिरलगायत मन्दिरहरु छन् ।

    तस्बिरः नेपाल फोटो लाइब्रेरी

  • युएईपछि साउदी, कतार र मलेसियामा पनि नेपालीलाई जान कडाइ

    युएईपछि साउदी, कतार र मलेसियामा पनि नेपालीलाई जान कडाइ

    काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जेलबाट कैदीहरु भागेको विषयलाई लिएर विभिन्न देशले नेपालीहरुलाई कडाइ गर्न थालेका छन् । अहिलेसम्म आधिकारिक रुपमा कुनै पनि देशले नेपालीलाई भीसा रोकेको नभने पनि अघोषित तवरबाट कडाइ गरिएको हो ।

    नेपालीहरुको प्रमुख श्रम गन्तव्य युएईले नेपालीलाई भिसा दिन पूर्णरुपमा बन्द गरेको छ । पछिल्ला दिनमा नेपालीले युएईको भिजिट भिसा र वर्किङ भिसा समेत पाएका छैनन् । नेपाल सरकारलाई कुनै पनि जानकारी नगराइकन भिसा दिन बन्द गरिएको हो ।

    यूएईले भिसा रोक्दा नेपाली क्रिकेट टिमको भ्रमण समेत प्रभावित बनेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले धेरै प्रयास गरेपछि बल्लतल्ल खेलाडीलाई भिसा दिइएको छ । नेपाली टिम भोलि यूएई प्रस्थान गर्दैछ । तर, यूएईमा नेपाल र वेस्ट इन्डिजको खेल हेर्न जान चाहनेहरुले भने भिसा पाउन सक्ने अवस्था छैन ।

    एनआरएनएका कोषाध्यक्ष ठाकुर ढुङ्गानाले दुबईमा नेपालबाट घुम्न र काम गर्न आउने कामदारलाई भिसा नदिएको बताए ।

    उनले भने, ‘अहिले दुबईमा नेपालबाट घुम्न र काम गर्न आउनेहरुका लागि भिसा रोकिएको छ ।’

    यसअघि बङ्गलादेश, पाकिस्तान र श्रींलकामा पनि आन्दोलन हुँदा यसैगरि भिसा रोकिएको ढुंगाना बताउँछन् ।बङ्गलादेश र पाकिस्तानको भिसा अझै खुलेको छैन । श्रींलकाबाट कामदार आउन थालेका छन् । नेपालको पनि त्यस्तै अवस्था हुन सक्ने ढुंगानाको चिन्ता छ । पहिला भिजिट भिसामा आएर कामदार भिसामा परिवर्तन गर्न चाहनेहरुको भिसा परिवर्तन भने भइरहेको उनले जानकारी दिए ।

    अहिले नेपालबाट दुबईले भिजिट र कामदार भिसा केही समयका लागि रोकेको छ । तर, आधिकारिक कति समयको लागि भन्ने कसैलाई थाहा छैन । केही समयको लागि होल्ड गरिएको भनेर त्यहाँका अधिकारीहरुले बताइरहेका छन् ।

    ‘नेपालमा अवस्था सामान्य हुँदै गएमा करिब १ महिना जतिमा कुनै सूचना निकालेर नेपालीलाई भिसा दिन्छ होला,’ ढुंगानाले आशा व्यक्त गर्दै भने ।

    यूएई मात्र नभएर साउदी, कतार र मलेसियाले पनि नेपालीहरुलाई कडाइ गरेको छ । परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘साउदी, कतार र मलेसियाले पनि नेपाली कामदार लैजान कडाइ गरिरहेको जानकारी आएको छ । ती देशहरुले पनि औपचारिक जानकारी भने दिएका छैनन् ।’

    वैदेशिक रोजगार व्यवसायी सङ्घका तत्कालीन अध्यक्ष राजेन्द्र भण्डारीले दुबईमा भिजिट र कामदार भिसा रोकिएपछि कतार र साउदीले पनि कडाइ गर्न थालेको बताए ।

    उनले भने, ‘नेपालमा कैदी भागेपछि कतार र साउदीले पनि नेपाली कामदार लैजान कडाइ गरेका छन् । नेपालको अवस्था हेरेर ती देशले पनि रोक्न सक्छन् । यी लगायत अन्य देशमा पनि नेपालीलाई कडाइ गर्ने वा रोक्ने स्थिति छ ।’

    कतार र साउदीमा करिब ४/४ लाख नेपाली काम गरिरहेका छन् । दुबई, साउदी र कतार नेपालीको प्रमुख श्रम गन्तव्य हो ।

    संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले भिजिट र कामदार भिसा रोकिएको विषयमा कुनै जानकारी दुबईले नदिएको नेपाल प्रेससँग बताए ।

     

  • प्रधानमन्त्री कार्यालय पुगे सुधन गुरुङ

    प्रधानमन्त्री कार्यालय पुगे सुधन गुरुङ

    काठमाडौं । जेनजी पक्षधर अभियन्ता सुधन गुरुङ सिंहदरबार पुगेका छन् । आज दिउँसो सिंहदरबारभित्र प्रधानमन्त्री कार्यालयमा उनीविरुद्ध नारावाजी भएको थियो ।

    जेनजी आन्दोलनका घाइतेहरुले सुधनमाथि गालीगलौज र नारावाजी गरेका थिए । उनले जेनजी आन्दोलनलाई हाइज्याक गरेको आरोप लगाइएको छ । आन्दोलनमा स्वयम्सेवकका रुपमा सहभागी गुरुङ अहिले जेनजीका नेता बनेर उदाएका छन् ।

    गुरुङ प्रधानमन्त्री कार्यालयमा जानुको प्रयोजन खुलेको छैन । अहिले प्रधानमन्त्री कार्यालयमा मन्त्रीपरिषद वैठक चलिरहेको छ ।

  • रविको भवितव्य-पुरानाले हाकाहाकी पेले, नयाँले लुकेर खेले

    रविको भवितव्य-पुरानाले हाकाहाकी पेले, नयाँले लुकेर खेले

    सुरूमै प्रष्ट पारौं, म रास्वपाको सदस्य, शुभेच्छुक वा शुभचिन्तक होइन । विगतको मतदाता पनि होइन, सायद भविष्यको पनि ।

    म रवि लामिछानेको समर्थक पनि होइन । न मैले विगतमा उनका कुनै टेलिभिजन कार्यक्रम पूरापूर हेरेको छु, न राजनीतिमा आएपछि उनका पूरै भाषण सुनेको छु । मोवाइल स्क्रोल गर्दा फाट्टफुट्ट आउने क्लिपले एउटा व्यक्तिबारे सम्पूर्ण धारणा बनाउन सहयोग गर्दैनथ्यो, मलाई पनि गरेन । समाज विभक्त हुँदा पनि मसँग रविबारे ठोस धारणा थिएन । मैले नै बनाउन सकिन भनौं न ।

    जब रवि सहकारी प्रकरणमा प्रक्राउ परे, तब मैले उनीबारे हल्का चासो दिन थालेँ । क्रिया-प्रतिक्रियालाई अलि गहिरिएर सुन्न र विश्लेषण गर्न थालेँ । पूर्णतः निष्कर्षमा अझैँ पुगिसकेको छैन । त्यसैले अझै उनीबारे प्रष्ट धारणा बनाउन सकेको छैन ।

    तर, करिब एक वर्षयताका घटनाक्रम विश्लेषण गर्दा एउटा निष्कर्षमा चाहिँ पुगेको छु- राजनीतिमा नआएको भए रविमाथि यो झमेला आउने थिएन । अझ, राजनीतिमा आएर पनि पुराना दल/नेतालाई नदुत्कारेको भए उनले यो हदको हैरानी र मुद्दा-मामिला खेप्नु पर्दैन्थ्यो नै ।

    चितवन-२ ले रविलाई ऐतिहासिक मतान्तरले मात्रै जिताएन, देशभरका मतदाताले उनी नेतृत्वको दल रास्वपालाई स्थापनाको ६ महिनामै चौथो राजनीतिक शक्तिको पहिचान दिए । रास्वपा र रविलाई जनस्तरले न्यानो स्वागतसहित सम्भावित विश्वासको आधार तयार गर्दासमेत अधिकांशलाई भने उनको राजनीतिक उपस्थिति पचेको थिएन ।

    रविको सेखी र लोकप्रियता झार्न सारा शक्तिले मोर्चाबन्दी गरे । हुँदा-हुँदा तत्कालीन प्रधानमन्त्री ओलीसँग विछट्टै बिच्किएका र पानी बाराबारको अवस्थामा पुगेका बालेन्द्र साहले समेत रविलाई थुनिरहँदा क्रेज बढ्यो, मिलाएर छोड्दिनु पर्‍यो भनेर बालुवाटारतिर दूतसमेत पठाएका थिए रे !

    पुराना भनिने राजनीतिक दल/नेताले आफ्नो भाग खोस्न आएजसरी चित्रित गरे, (कु) प्रचार गराए । सत्ताको अंशियार बनाएर बिटुल्याए समेत । सञ्चार माध्यमको बहुसंख्यक हिस्सा खलपात्रका रूपमा स्थापित गराउन हातै घोएर लाग्यो । कथित विचार निर्माता वा प्रवुद्ध भनिनेहरूले जेलेनेस्कीको नेपाली स्वरूप भन्दै बद्ख्वाइँ गरिरहे ।

    चौतर्फी प्रहारबीच पनि जनस्तरमा बढ्दो रविको लोकप्रियताको ग्राफले औडाहा भएको राजनीतिक नेतृत्वले मुद्दा लगायो । र, मुद्दा उनको कमजोरीका लागि हो वा प्रतिरोधका लागि हो, यसमा गहिरो अध्ययन नभएका कारण यसै भन्न सक्दिन । तर, उस्तै प्रकृतिका आरोप लाग्ने नेताहरू खुलेआम रहेकाले रविविरुद्ध मात्रै गलत नियत राखियो कि भन्ने आशंका मेरो अन्तर मनमा कतै न कतै छ ।

    तत्कालीन सरकारको नियत गलत हुँदैनथ्यो भने लाग्नै पर्दा पनि रविविरुद्ध सहकारी सम्बद्ध मात्रै मुद्दा लगाइन्थ्यो होला । ठाउँ-ठाउँका अदालतमा विचाराधीन रहेको र अन्तरबस्तुमा धेरै ज्ञान नभएको कारण मुद्दाबारे म धेरै भन्न सक्दिनँ । तर, मुद्दा दर्ताको नियतबारे चाहिँ जोसुकैसँग पनि तथ्य र तर्कसहित बहस गर्न सक्छु।

    गएको कात्तिक २ गते यताको अधिकांश समय रवि कि प्रहरीको हिसारतमा छन् कि थुनुवाको रूपमा कारागारमा । पाँच-पाँचवटा अदालतमा मुद्दा खेपिरहेको र सर्वोच्च अदालतले समेत पुर्पक्षका लागि थुनामा पठाएको निरीह रविविरुद्ध सामूहिक प्रहार चाहिँ हिजोभन्दा आज झन् बढे/बढाइएको छ । किन ?

    किनकि, रवि शक्तिमा आउलान् भन्ने डरले दपेटेको छ सबै-सबैलाई । सबै भनेको- नयाँ-पुराना राजनीतिक दल, राजनीतिमा संगठित हुने प्रयासमा रहेका स्वतन्त्र समूह, सञ्चार माध्यम, कथित विचार निर्माता वा प्रवुद्ध समूह आदि ।

    रवि कारागारमा थिए/छन् । तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हरेक सार्वजनिक कार्यक्रममा उनको चर्को आलोचना गर्थे । कांग्रेस र एमालेले उनकै निन्दाबाट संसद बैठक सुरूआत गर्थे ।

    पत्रपत्रिकाले हेडलाइन मात्र होइन सम्पादकीय र ओपेडसम्मका पाना रविको आलोचनाको खर्चिए । न्यूजपोर्टलहरूले अर्कै लोकको रहस्यमय पात्र झैँ काल्पनिक कथाका प्लट लेखिरहे । टेलिभिजनका रिपोर्ट हुन् या अन्तर्वार्ता वा बहस रविबिना अधुरा भए ।

    कथित विचार निर्माता वा प्रवुद्ध भनिनेहरूले रविकै चर्चा गरेर चियाको कपमा तुफान सिर्जना गर्न खोजे ।

    रविको सेखी र लोकप्रियता झार्न सारा शक्तिले मोर्चाबन्दी गरे । हुँदा-हुँदा तत्कालीन प्रधानमन्त्री ओलीसँग विछट्टै बिच्किएका र पानी बाराबारको अवस्थामा पुगेका बालेन्द्र साहले समेत रविलाई थुनिरहँदा क्रेज बढ्यो, मिलाएर छोड्दिनु पर्‍यो भनेर बालुवाटारतिर दूतसमेत पठाएका थिए रे !

    हेर्नुस् त पुरानादेखि नयाँ भनिनेसम्मको मोर्चाबन्दी ।

    ०००

    सत्य स्वीकार्न गाह्रो हुन्छ । तर, सत्य- सत्य नै हुन्छ ।

    रवि नेतृत्वको दल रास्वपा संसदमा आएपछि नै हो, पुराना राजनीतिक दलहरूले शासन, सत्ता र शक्तिका लागि गरेका सानाभन्दा साना हर्कत एक्सपोज भएको । रवि सम्भवतः पहिलो मन्त्री होलान्, जसले पच्चीस वटा ठूला काण्ड र राजनीतिक नेतृत्व एवं उच्च पदस्थहरूको सम्पत्ति छानबिन गराउँछु भनेर संसदको रोष्टमबाटै उद्घोष गर्ने ।

    अर्थात्, भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा जनस्तरलाई जागरणको पछिल्लो उचाइमा पुर्‍याउने श्रेय रास्वपा र रविलाई जान्छ नै, जस दिन जति नै कञ्जुस्याइँ गरे पनि ।

    तर, जनताबीच लुक्ने, पर्दाभित्र बस्ने र अरुकै इसारामा चल्ने एक रहस्यमय पात्रलेसमेत सामाजिक सञ्जालमा ‘गो ब्याक रवि’ अभियान चलाउन अगुवाइ गरे । यसले पुष्टि गर्छ, उनले पनि रविलाई सहकर्मी होइन, प्रतिस्पर्धी ठानिरहेका छन् । र, रवि कमजोर नभई आफू बलियो भइन्न भन्ने निष्कर्षमा पुगेका छन् ।

    हिजो पुरानाहरूले रविको खेदो खन्थे, आज नयाँहरू पनि मिसिएका छन् ।

    अर्थात्, कारागारमा रहेको एक निरीह रविविरुद्ध घोषित-अघोषित रूपमा सबै एकै ठाउँमा छन् । तर, यसको प्रतिवाद असंगठित नागरिकले भने निरन्तर गरिरहेका छन्। करिब चालीस लाख हस्ताक्षर जनप्रतिवादकै अंश हो ।

    पछिल्लो समय रविलाई थप बद्नाम गराउन दुईवटा विषय उछालिएको छ- नख्खु प्रकरण र अदालतमा आगजनी ।

    यहाँ मैले रविको वकालत गर्न खोजेको होइन, देखेका-बुझेका तथ्य र घटनाक्रम राख्दिन मात्रै खोजेको हुँ । कुप्रचारलाई न्यूनीकरण गरेर रविलाई केही फाइदा भयो भने संयोग मात्र हुनेछ ।

    भदौ २४ गते सुरक्षाका कारण रविलाई नख्खु कारागारबाट निकालियो । आन्दोलनका कारण सुरक्षा संवेदनशीलता बढेको र उनको सुरक्षामा समेत थ्रेट हुन सक्ने भन्दै कारागार प्रशासनले बुझ्न आउन परिवार र पार्टीलाई खबर गरेको रहेछ ।

    कागजी प्रक्रियासमेत पूरा गरेर उनी निस्किए । उनलाई प्रहरीको एक समूहले गेटसम्म छोड्न आएको दृष्यसमेत बाहिरिसकेको छ । त्यसैले भागे भनेर कुप्रचार गर्नुको उद्देश्य उनको थप बद्नाम गर्नुमात्र हो ।

    बाहिरको घटनाक्रम, परिस्थिति, सुरक्षा अवस्थाबारे भित्र रहेका रविलाई जानकारी हुने कुरै भएन । कारागार प्रशासनले प्रक्रिया पुर्याएर जिम्मा लगाएपछि उनी निस्किए त के भयो ? यहाँ पठाउनेबाट ठूलो गल्ती भएको छ कि निस्किनेबाट, सोच्नुस् ।

    आन्दोलन चर्किएको र कारागारसमेत असुरक्षित रहेको भनिएका बेला रास्वपाका नेता र सदस्य रविकै सुरक्षाका लागि नख्खु पुग्नु के अनौठो थियो र ? पार्टी सभापतिलाई व्यवस्थित र सुरक्षित गन्तब्यमा पुर्‍याउन खोज्नु अपराध हो ?

    कारागार प्रशासनले बुझ्न आउन नभनेको भए न परिवारका सदस्य नख्खु पुग्थे, न रास्वपाका नेता/कार्यकर्ता ।

    पार्टीका सदस्य, शुभेच्छुक भेला भएको ठाउँमा रविले हात हल्लाए, धन्यवाद भने, गाडीमा जाँदा निस्किएर अभिभावदन गरे, त्यत्ति होइन ? के रविमा सामान्य मानवीय संवेदना हुनु नै अपराध हो ?

    कारागारले प्रक्रिया पूरा गरेर बाहिर पठाएको छ । पार्टीका नेता/सदस्यले हार्दिकतापूर्वक स्वागत र सुरक्षा दिएर गन्तब्यमा लगेका छन् । भएको यत्ति होइन?

    कारागारबाट बाहिर पठाइएको दोस्रो दिन रविले भिडिओमा भनेका छन्- ‘प्रक्रिया पूरा भयो भनेपछि आफैँ निस्किएको पनि होइन, निकालिएको हो । बाहिर आएपछि पनि प्रहरी-प्रशासनसँग सम्पर्क गरेको छु । परिस्थिति केही सहज भएपछि र उहाँहरूले जानकारी दिएपछि फर्किन्छु ।’

    उनी फर्किसके पनि ।

    सुरक्षाका कारण बाहिर पठाइयो । र, सुरक्षा संवेदनशीलता हटेपछि रवि भित्र गए । भएको यत्ति होइन ? अनि, यहाँ रविबाट के अपराध भयो हँ ?

    रविमाथि अर्को आरोप पनि लगाइयो- उनी नख्खुबाट निस्किएका कारण देशैभरका कारागारबाट कैदी, बन्दी, थुनुवा निस्किए ।

    रविलाई सुरक्षा दिन नसकेजस्तै अन्यलाई पनि सुरक्षाको प्रत्याभूति भएन होला, निस्किए त । सुरक्षा दिन नसक्नु राज्यको कमजोरी कि रविको ?

    राज्यको कमजोरीमा समेत रविमाथि आक्षेप, अन्यायको हद भनेको यही हो ।

    नख्खुबाट रवि निस्किनुअघि नै कैलाली कारागारबाट कैदी, बन्दी बाहिरिएका थिए । तर, प्रचार चाहिँ रवि निस्किएपछि सारा कैदी निस्किए भनेर गराइयो ।

    ०००

    अर्को, रविको मुद्दा भएका जति अदालतमा आगजनी गरियो भन्ने हल्ला ।

    सर्वसाधारण भएका कारण स्रोतसम्म पुगेर औपचारिक सूचना माग्न सकिन । तर, अनौपचारिक रूपमा खोज्दा चौध वटा अदालतमा आगजनी र तोडफोड भएको रहेछ ।

    रविको मुद्दा त पाँचवटा जिल्ला अदालतमा छ क्यारे । अरु अदालतमा चाहिँ कसले र किन आगजनी र तोडफोड गर्‍यो त ?

    सर्वोच्च अदालतमा त रविको मुद्दा थिएन, किन आगजनी गरियो ?

    जहाँ–जहाँका सरकारी कार्यालयमा धेरै क्षति पुर्‍याइयो, त्यहाँका अदालत पनि स्वतः आन्दोलनकारीको निसानामा परे, यही होइन र यथार्थ ?

    आन्दोलन चर्किएको र कारागारसमेत असुरक्षित रहेको भनिएका बेला रास्वपाका नेता र सदस्य रविकै सुरक्षाका लागि नख्खु पुग्नु के अनौठो थियो र ? पार्टी सभापतिलाई व्यवस्थित र सुरक्षित गन्तब्यमा पुर्‍याउन खोज्नु अपराध हो ?

    यो तथ्य स्वीकार्न गाह्रो हुनेले शंकास्पद हल्ला गरिरहेका हुन् ।

    कास्की जिल्ला अदालतमा रविको मिसिल रहेको तीन नम्बर फाँटमा पहिला आगजनी गरियो रे !

    कतिपयले समाचार पनि बनाए- ‘आन्दोलनकारीले सुरूको निशाना नै अदालतको ३ नम्बर फाँटलाई गराएका थिए । जहाँ रविको मुद्दाका मिसिल थिए । रविले तारिख बुझ्ने फाँटसमेत त्यही थियो ।’

    अनि, पुष्टि गर्न राखिएको अदालतका सूचना अधिकारी रामबहादुर किसानले चाहिँ भनेका छन्, ‘सीसीटिभी फुटेज रहेको हार्डडिक्स हेरेपछि थप पुष्टि हुन्छ ।’

    यसबाट प्रष्ट हुन्छ, अपुष्ट कुरालाई हल्लाको आधार बनाइयो । र, हल्लाकै भरमा समाचारसमेत लेखियो/लेखाइयो।

    अर्को कुरा, अदालतमा रहेको मिसिल जलाएर मुद्दा कमजोर हुने वा सकिने हो र ?

    अदालतसँग मिसिल डिजिटल पनि होला । नभए, सरकारी वकीलसँग हुन्छ नै। सरकारी वकीलसँगको पनि सुरक्षित नरहेको भए प्रतिवादी पक्षसँग होला । रविका वकीलसँग त पक्कै छ ।

    अदालतले रविका वकीलसँग भएको मिसिल झिकाएर मुद्दाको सुनुवाइ गर्न सक्छ भन्ने सामान्य ज्ञानसमेत नराखी प्रचार गराउनुको उद्देश्य के, रविको थप बद्नामी होइन ?

    ०००

    जेनजी आन्दोलनपछि ध्यान दिनुपर्ने मूल विषय के हो ?

    भदौ २३ गते भएका मानवता विरोधी अपराध र २४ गतेको विध्वंशको छानबिन र निर्वाचनको वातावरण निर्माण होइन ?

    भदौ २३ को निर्मम घटनाका नाइके केपी ओली र रमेश लेखकहरूले टाउको उठाइसके । जेनजी विद्रोहका उपलब्धीलाई संस्थागत गर्न नदिन पुराना दलहरूले मोर्चाबन्दीको कसरत थालिसके । तर, नेपालका सञ्चार माध्यम, कथित विचार निर्माता र सदावहार निन्दक र केही विचौलिया भने खबरदारी गर्नुपर्नेप्रति क्रमशः चुप लाग्दै छन् । अनि, रवि लामिछानेको पछि लागेका छन् । तिनलाई देश बर्बाद गर्ने ओली, देउवा वा दाहाललाई होइन देश बनाउँछु भनेर आएका रवि लामिछानेलाई सक्न हतार भएको छ । किन ?

    किनकि, तिनीहरू यथास्थितिवादी हुन् । अग्रगमनका विरोधी हुन् । मुलुक अग्रगमनमा गए, आफ्नो गोरखधन्दामा धक्का लाग्ला भन्ने चिन्ता छ । देशमा विधिको शासन स्थापित भए, सुशासन कायम रहे, भ्रष्टाचार नियन्त्रण भए कसरी पालिने भन्नेमा चिन्तित छन् तिनीहरू ।

    एक वर्षयताका घटनाक्रम विश्लेषण गर्दा एउटा निष्कर्षमा चाहिँ पुगेको छु- राजनीतिमा नआएको भए रविमाथि यो झमेला आउने थिएन । अझ, राजनीतिमा आएर पनि पुराना दल/नेतालाई नदुत्कारेको भए उनले यो हदको हैरानी र मुद्दा-मामिला खेप्नु पर्दैन्थ्यो नै ।

    तिनीहरूलाई देशको होइन, जनताको पनि होइन सिर्फ आफ्नो चिन्ता छ ।

    मान्नुस्-नमान्नुस्, यो देशको एउटा शक्ति रास्वपा हो, रवि हो । सबैलाई मिलाएर संक्रमणकाल छिटो टुंग्याएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुपर्ने छ । तर, एउटा शक्ति र त्यसको नेतृत्वको निरन्तर बद्ख्वाइँ वा निन्दा गरेर, अनावश्यक शंका गरेर, हुँदै नभएको आरोप लगाएर के गर्न खोजिरहेका छन् केही स्वार्थ समूह, त्यो शक्तिलाई थप बिच्काउन हो ?

    यो या त्यो कारणले करिब चालीस लाख मान्छेले विश्वास व्यक्त गरेको शक्ति र व्यक्तिमाथि मात्र शंकाको भरमा भइरहेको निरन्तर प्रहारले अर्को विद्रोहको बीऊ रोप्न सक्छ । के यो देशका सञ्चार माध्यम, कथित विचार निर्माता, सदावहार निन्दक र केही विचौलियाहरूले चाहेकै त्यही हो ?

    हो भने परिस्थिति त्यसैतर्फ उन्मुख हुन सक्छ ।

    एक जिम्मेवार नागरिकका रूपमा मैले सम्भावित खतरा औंल्याइदिएको मात्रै हुँ, रवि वा रास्वपाको समर्थन गरेको होइन, पटक्कै होइन ।

    फेरि भन्छु, म रास्वपाको सदस्य, शुभेच्छुक वा शुभचिन्तक होइन । विगतको मतदाता पनि होइन, सायद भविष्यको पनि नहुन सक्छु ।

  • सिंहदरबारमा आन्दोलनका घाइतेको बबण्डर, सुधन गुरुङले जेनजीको बदनाम गरेको आरोप (भिडिओ)

    सिंहदरबारमा आन्दोलनका घाइतेको बबण्डर, सुधन गुरुङले जेनजीको बदनाम गरेको आरोप (भिडिओ)

    काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरूको विरोध र नाराबाजीले आज दिनभरजसो सिंहदरबार अस्तव्यस्त बनेको छ । सुरूमा छिर्न नपाएका उनीहरू दक्षिण गेटअगाडि धर्ना बसेका थिए । आलो घाउ लिएर पुगेका युवाहरूको हातमा अस्पतालको रिपोर्ट देखिन्थ्यो । केही बैशाखीको सहारामा पुगेका थिए ।

    दिनभर सिंहदरबारको मुख्यद्वार बाहिर बसेर प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका जेनजी आन्दोलनका घाइतेहरूले प्रधानमन्त्री कार्यालयबाहिरै अवसरवादी मुर्दावादको नाराबाजी गरेका छन् । आफूहरू जेनजी आन्दोलनको घाइते भए पनि सुधन गुरुङलगायत १० जना अवसरवादी र नक्कली आन्दोलनकारी सरकार गठनमा हाबी भएको आरोप उनीहरूले लगाएका छन् ।

    आफूले खुट्टामा गोली खाएको देखाउँदै प्रधानमन्त्री कार्यालयबाहिर मिडियासँग बोलेकी एक आन्दोलनकारी युवतीले मृतक र घाइतेका परिवारलाई बेवास्ता गरेर अवसरवादीले सरकार गठन गरेको बताइन् । उनले जेनजीको नाम खराब गर्ने काम सुधन गुरुङले गरेको आरोप लगाइन् ।

    आफूहरू अस्पतालमा भएका बेला विभिन्न व्यक्तिले जेनजी आन्दोलनको नेतृत्वको दाबी गरे पनि उनीहरू नक्कली आन्दोलनकारी भएको आरोप उनीहरूको थियो ।

    हेर्नुस् भिडिओ

    यो पनि पढ्नुहोस्

    सिंहदरबार छिर्न नदिएपछि गेटमा धर्ना बसे जेनजी आन्दोलनका घाइते (तस्बिरहरू)

  • जेनजीका नाममा ‘अवाञ्छित समूह’ सक्रिय– स्थानीय तहका जनप्रतिनिधिलाई धम्की !

    जेनजीका नाममा ‘अवाञ्छित समूह’ सक्रिय– स्थानीय तहका जनप्रतिनिधिलाई धम्की !

    काठमाडौं । जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन भइसकेको छ । प्रतिनिधि सभा र तत्कालीन सरकार भंग भएपनि तीन तहका सरकारमध्ये प्रदेश र स्थानीय तह भंग भएका छैनन् । संविधानतः ती भंग पनि हुँदैनन् ।

    प्रदेश र स्थानीय तह यथावत् रहँदा जेनजीका नाममा विभिन्न व्यक्ति र अवाञ्छित समूहले स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई धाकधम्की दिन थालेको गुनासो आएका छन् ।

    अब जेनजी व्यवस्था र जेनजी सत्ता आएको भन्दै ठाउँठाउँमा युवाको माग भन्दै वडा तथा पालिका कार्यालयमा गएर थर्काउने र भौतिक हमलाको प्रयाससमेत हुन थालेका छन् । कतिपय पालिकामा जनप्रतिनिधिलाई राजीनामा गर्न धम्की समेत आइरहेका छन् ।

    देशव्यापी रूपमा फैलिएको जेन–जी आन्दोलनको विध्वंसबाट पुन निर्माण र राहतमा जुटेका स्थानीय तहलाई तारो बनाउन थालिएपछि त्रसित छन्, जनप्रतिनिधि । प्रारम्भमा तीन वटा मागसहित सुरु गरिएको आन्दोलनले सरकार परिवर्तनसम्म पुर्‍याएको विजयपछि हौसिएका जेन–जीहरू अहिले विभिन्न जिल्लामा आफ्ना अनुकूलका माग राख्दै पुरा नभए आन्दोलन गर्ने चेतावनी दिन थालेका छन् ।

    विशेषगरि स्थानीय सरकारका प्रमुख, उपप्रमुख र वडा अध्यक्षलाई लक्षित गरेर राजीनामा माग गर्न थालिएपछि जनप्रतिनिधिहरू त्रसित बन्नुपर्ने अवस्था रहेको उनीहरूले बताएका छन् । उनीहरूले यसको जानकारी गाउँपालिका महासंघ र नगरपालिका संघलाई गराइरहेका छन् ।

    ‘कतिपय माग जायज छन्, तर गाउँपालिका अध्यक्षकै राजीनामा माग्ने कुरा कति सान्दर्भिक होला ?’ गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी प्रमुख राजेन्द्रप्रसाद प्याकुरेलले भने, ‘जेन–जीको नाममा अरू समूहले पनि आफ्नो स्वार्थ पूरा गर्न धम्की दिने क्रम बढेको छ ।’

    सल्यानको दार्मा गाउँपालिकामा ‘दार्मा जेन–जी’ समूहले ६ बुँदे माग पत्र पेश गर्दै पहिलो नम्बरमै गाउँपालिका अध्यक्षको राजीनामा माग गरेका छन् । त्यस्तै, भूकम्पपीडितलाई प्राप्त सहयोग सार्वजनिक गर्नुपर्ने, सबै करार कर्मचारी हटाउनुपर्ने लगायतका माग पनि उनीहरूले राखेका छन् ।

    सङ्खुवासभामा समेत यस्तै प्रकृतिका चेतावनीयुक्त माग पत्र प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको छ । फरक–फरक मुद्दा राखिएपनि स्थानीय सरकारलाई धम्कीपूर्ण भाषामा प्रस्तुत हुन थालेको भन्दै गाउँपालिका महासंघले आपत्ति जनाएको छ ।

    सुरुवातमै सिन्धुपाल्चोकमा जेन–जिले ४५ मेगावाटको भोटेकोशी जलविद्युत कम्पनीमाथि दबाब सिर्जना गर्दै गाउँवासीलाई १० प्रतिशत शेयर दिनुपर्ने माग अघि सारेका थिए । एक सातासम्म पावर हाउस बन्द गराएर आन्दोलन गरेपछि अन्ततः कम्पनीले गाउँवासीलाई १० प्रतिशत शेयर दिने लिखित सहमति गर्न बाध्य भएको थियो ।

    तर त्यस क्रममा भोटेकोशी गाउँपालिका कार्यालयमा तोडफोड र आगजनी समेत भएको अध्यक्ष पासाङ नोर्बु शेर्पाले जानकारी दिए ।

    हाल देशका धेरै स्थानीय तहमा असहमति वा रिस उठ्नासाथ जेन–जिको नाममा धम्की दिने प्रवृत्ति मौलाउँदै गएको देखिएको छ । यसले जनप्रतिनिधि मात्र होइन, सम्पूर्ण स्थानीय शासन प्रणालीलाई असुरक्षित बनाइरहेको गुनासो जनप्रतिनिधिहरूले गर्दै आएका छन् ।

     

  • ४५ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

    ४५ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

    चितवन । पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ। ४५ घण्टापछि अपरान्ह सवा ४ बजेबाट सडकखण्ड एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    शुक्रबार बेलुका ६ बजेदेखि नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत पर्ने तुइन खोलामा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो ।

    पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध हुँदा सयौँ सवारी साधनहरु सडकमै रोकिएका थिए। अहिले सडक एकतर्फी खुलेसँगै सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन्।

    सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको छ । सडक डिभिजन भरतपुरले सडक दुईतर्फी खुलाउनको लागि डोजर, रोलर प्रयोग गरेर बाटो खुलाउने प्रयास गरिरहेको छ ।

  • जेनजी आन्दोलनमा जेलबाट भागेका सन्तबहादुरले घर फर्केर लिए श्रीमतीको ज्यान

    जेनजी आन्दोलनमा जेलबाट भागेका सन्तबहादुरले घर फर्केर लिए श्रीमतीको ज्यान

    काठमाडौं । नख्खु कारागारबाट गत जेनजी आन्दोलनका बेला भागेका एकजना कैदीले घरमा फर्केर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

    श्रीमतीको हत्या गरेर घरको करेसामा गाडेका सन्तबहादुर तामाङ फरार भएको प्रहरीले जनाएको छ ।

    काभ्रेपलाञ्चाकको पनौती नगरपालिका वडा नम्बर १२ कलाँती स्थित घरको पछाडी करेसामा गाडिएको अवस्थामा श्रीमती जमुनाको शव फेला परेको छ ।

    ३१ वर्षीया जमुना तीन दिनदेखि सम्पर्कमा नआएपछि खोजी गर्दा गाडिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । सन्तबहादुर बलत्कार मुद्दामा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका थिए ।

  • ४५ घण्टापछि पन्छाइयो तुइन खोलाको पहिरो, एकतर्फी सवारी खुलाउने तयारी

    ४५ घण्टापछि पन्छाइयो तुइन खोलाको पहिरो, एकतर्फी सवारी खुलाउने तयारी

    चितवन । नारायणगढ– मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाएर बाटो छिचोलिएको छ ।शुक्रबार साँझ ६ बजे खसेको पहिरो ४५ घण्टापछि पन्छाइएको हो ।

    पहिरो तत्काल नझरेकोको अवस्था केहीबेरमै एकतर्फी बाटो खुलाउने तयारी भइरहेको चितवनका सिडिओ गणेश अर्यालले नेपाल प्रेसलाई बताए ।

    उनले भने,‘पहिरो पन्छाएर बाट‍ो छिचोलेको छ । पहिरो तत्काल खसेन भने केहीबेरमा एकतर्फी बाटो खुलाउने तयारीभइरहेको छ ।’ पहिरोको कारण उक्त सडकखण्ड ४५ घण्टादेखि पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

    शुक्रबार रातिदेखिनै  पहिराे खस्ने क्रम नराेकिएकाले सडक पूर्ण रुपमा अवरुद्ध हुँदा सयाै‌ँ सवारी साधन बीच बाटाेमै अलपत्र परेकाे छ भने यात्रुहरु पनि विचल्लीमा परेका छन् ।

    सडक डिभिजन भरतपुरको टोलीले  बिहानैदेखि एक्टाभेक्टर रोलर र डोजर प्रयोग गरी पहिरो पन्छाइरहेको  छ ।

  • तालिम केन्द्र छेउमा मृत भेटिए प्रहरी जवान

    तालिम केन्द्र छेउमा मृत भेटिए प्रहरी जवान

    रूपन्देही । नेपाल प्रहरीका एक जना जवानले प्रहरी तालिम केन्द्रकै छेउमै आत्महत्या गरेको अवस्थामा भेटिएका छन् ।

    बाँकेको राप्तीसोनारी गाउँपालिका ३ स्थायी घर भएका २४ वर्षीय श्याम चौधरी बुटवलस्थित प्रहरी तालिम केन्द्रको छेवैमा रहेको रुखमा झण्डिएर आत्महत्या गरेका हुन्।

    उनका छिमेकी समेत रहेका राप्ती सोनारी गाउँपालिका ३ का वडाध्यक्ष मिनकुमार चौधरीले शुक्रबार राति तालिम केन्द्र नजिकै झुन्डिएको अवस्थामा भेटिएको र शनिबार घरमा ल्याएर आइतबार दाहसंस्कार गरिएको नेपाल प्रेसलाई बताए ।

    उनका अनुसार सामान्य परिवारमा रहेका श्याम तीन भाईमध्ये माइलो हुन् बुवाआमा र दाजुभाई गाउँमै मजदुरी गर्दछन् । गाउँलेका अनुसार श्यामको पहिले कोहलपुरको एक युवतीसँग प्रेम सम्बन्ध थियो पछि उनलाई जानकारी नै नदिई अर्को युवतीसँग पनि प्रेम सम्बन्ध राखेका कारण दुवै पक्षबाट तनावमा थिए । यो विषय स्थानीयबाट आफूले पनि सुनेको वडाध्यक्ष मिनकुमार चौधरीले जनाए ।

    शुक्रबार ड्युटीमा रहेका उनी कार्यरत प्रदेश प्रहरी तालिम केन्द्रको उत्तर पूर्वी कुनामा रहेको बहुउद्देश्यीय भवनको पछाडिको भागमा रहेको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्।

    चौधरी २०७९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए। सोही प्रहरी तालिम केन्द्रमै आधारभूत तालिम लिएका चौधरीको तालिम सकिएपछि प्रहरी तालिम केन्द्रमै प्रशिक्षकको रूपमा दरबन्दी कायम भएको थियो।

    शुक्रवार तालिम केन्द्रमै रात्रिकालीन ड्युटी गरेका चौधरी शनिवार बिहान तालिम केन्द्रकै खेलमैदानको छेवैमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

    कति वेला आत्महत्या गरे भन्ने यकिन भएन तर ड्युटि सकिएपछि बिहान पख तन्नाको पासो बनाएर झुण्डिएको अवस्थामा फेला परेका थिए ।

  • ओस्कार सिफारिसमा बबण्डर, छनोट समितिले अब के गर्छ ?

    ओस्कार सिफारिसमा बबण्डर, छनोट समितिले अब के गर्छ ?

    काठमाडौंं । आउँदो ९८ औं अन्तर्राष्ट्रिय ओस्कर अवार्डमा नेपालको तर्फबाट ‘अन्जिला’ छनोट भएपछि ‘गुन्युचाेलो’ टिमले विरोध जनायो । प्रेसमिट नै आयोजना गरेर ‘गुन्युचोलो’ टिमले समितिको वैधानिकतामाथि समेत प्रश्न उठाएको थियो ।

    नेपालको ओस्कर छनोट समितिमा निर्देशक विमल पौडेल अध्यक्ष छन् । सदस्यमा चिरन्जिवी गुरागाईं (चलचित्र विकास बोर्डका पूर्वकर्मचारी), जीवन पराजुली (पत्रकार), कपिल पराजुली(कलरिस्ट) छन् । यो समितिले जुन चलचित्रलाई सिफारिस गर्यो, त्यही चलचित्रले नेपालको तर्फबाट ओस्करमा सहभागिता जनाउने गरेको छ ।

    कसरी बन्छ ओस्कर छनोट समिति ?

    नेपालको ओस्कर छनोट समिति आफैंमा स्वतन्त्र छ । यसलाई नियमन गर्ने कुनै पनि निकाय नेपालमा छैन । चलचित्र विकास बोर्डले पनि यो समितिलाई नियमन गर्नसक्ने कानुनी व्यवस्था छैन ।

    साथै अन्तर्राष्ट्रिय ओस्कर आयोजक संस्था एकेडेमी अफ मोसन पिक्चर आर्ट एण्ड साइन्सेसले पनि नियमन नगर्ने ओस्कर छनोट समिति (नेपाल)का पूर्वसदस्य सामिप्यराज तिमल्सेना बताउँछन् । तिमल्सेनाका अनुसार यो समितिलाई अन्तर्राष्ट्रिय ओस्कर छनोट समितिले नियमन गर्दैन । तर, यो समितिले सिफारिस गरेको चलचित्रलाई वैधता भने दिने गरेको छ ।

    यो समिति सन् १९९९ मा गठन भएको थियो । त्यसवेला फ्रान्सेली निर्देशक एरिक भ्यालीद्धारा निर्देशित चलचित्र क्याराभान ओस्करमा पठाउनलाई समिति गठन भएको थियो । साथै नेपालको तर्फबाट ओस्करमा भिडेको ‘क्याराभान’ एक्लो चलचित्र हो, जसले शीर्ष पाँचसम्म पुगेर सर्वोत्कृष्ट विदेशी फिचर फिल्ममा प्रतिस्पर्धा गर्यो ।

    ‘क्याराभान’लाई एकेडेमी अवार्डमा पठाउनलाई गठन भएको समितिले नै अहिले पनि नेपालको तर्फबाट चलचित्र सिफारिस गर्दै आएको छ । यसपटक भने यो समितिको वैधानिकतामाथि नै तड्कारो रुपमा प्रश्न उठेको छ ।

    समितिले कसरी काम गर्छ ?

    समितिमा एकजना अध्यक्षको मताहतमा अन्य सदस्यहरु नियुक्त गरिन्छ । सामान्यतया समितिमा जोडिएका व्यक्तिहरु चलचित्र सम्बन्धी प्राविधिक ज्ञानमा अब्बल हुनुपर्ने हुन्छ । त्यस्तै चलचित्रले सम्प्रेषण गर्न खोजेका विचार र यसको कलापक्षसँग पनि उत्तिकै विशेषज्ञता हासिल गरेको हुनुपर्छ ।

    तर, छनोट समितिको यही विशेषज्ञतामाथि ‘गुन्यु चोलो’का निर्देशक समुन्द्र भट्ट र कलाकारहरुले प्रश्न उठाएका छन् । भट्टको भनाइ अनुसार छनोट समितिमा रहेका सदस्यहरुको गतिविधि नै शंकास्पद छ ।

    भट्टले भनिन्, ‘त्यहाँ सदस्य रहनुभएको व्यक्ति आफैं ‘अन्जिला’को मिडिया कोअर्डिनेटर हुनुहुन्छ । आफैं सदस्यमा बसेर आफ्नै चलचित्र सिफारिस गर्नुभएको छ । साथै अर्का सदस्य अमेरिकामा हुनुहुन्छ । उहाँले कसरी चलचित्र हेरेर सिफारिस गर्नुभयो ?’

    निर्देशक समाजका एक पूर्वअध्यक्षले गुरागाईंले विकास बोर्डको कर्मचारी हुनुको नाताले ओस्कर छनोट समितिमा शक्तिको दुरुपयोग गरिरहेको बताए ।
    उनले भने, ‘अलिअलि अंग्रेजी जान्ने भएकाले सबैले उसलाई पत्याए । विकास बोर्डको अधिकृत पनि थिए । यही कारण उसले १४÷१५ वर्षदेखि समितिमा रजगज गरिरहेको छ । रिटायर्ड भएपछि पनि उसको प्रभाव कम छैन । मनलाग्दी मान्छे नियुक्त गरिरहेको छ ।’

    गुरागाईं अहिले अमेरिकामा छन् । उनले ग्रीनकार्ड पनि पाइसकेको बताइएको छ ।

    अहिले रहेको छनोट समितिका सदस्यले तलब भत्ता पाउँदैनन् । आवेदन खुलाएपछि चलचित्रले दर्ता शुल्क छनोट समितिलाई बुझाउनुपर्छ । अलि अगाडिसम्म प्रतिचलचित्र पाँच हजार लिइन्थ्यो । गत वर्षबाट १० हजार रुपैयाँ शुल्क स्वरुप लिने गरिएको छ ।

    दर्ता वापत् प्राप्त भएको रकमलाई नै छनोट समितिले बाँडचुँड गरेर लिने गरेको पूर्वसदस्य तिमल्सेना बताउँछन् । साथै फोटोकपीदेखि अन्य प्रशासनिक काममा पनि दर्ता भएको रकम खर्च हुने गरेको छ । यद्यपि यो शुल्क पनि अहिलेसम्म समितिको अध्यक्षकै खातामा हाल्नुपर्ने अवस्था रहेको भन्दै धेरैले प्रश्न उठाएका छन् । समितिले आफ्नै संस्थाको खाता प्रयोग गर्नुपर्नेमा सबैको जोड छ ।

    समुन्द्र भट्टले उठाएको बहस

    निर्देशक भट्टको एक सूत्रीय माग छ, ‘यो समिति पुनर्गठन गरेर चलचित्र छनोट प्रक्रियाको कार्यविधि बनाउनुपर्छ ।’

    भट्टको मागमा सबै चलचित्रकर्मीले ऐक्यबद्धता जनाइसकेका छन् । निर्देशक केपी पाठकका अनुसार पनि यो ठाउँमा चलचित्रसम्बन्धी गहिरो ज्ञान भएका व्यक्तिहरु रहनुपर्छ ।

    उनले थप भने, ‘चलचित्र के आधारमा छनोट गरिएको हो, त्यो पनि स्पष्ट खुलाउनुपर्छ । चलचित्रसम्बन्धी गहिरो ज्ञान हुनुपर्ने कुरा पहिलो प्राथमिकता हो ।’

    ओस्कर छनोट समितिको काम कारवाहीप्रति पहिलेदेखि नै असन्तुष्टि रहेको र यसपटक त्यो असन्तुष्टि सतहमा आएको पाठकले बताए । उनले भने, ‘अब क्रमभंग हुनसक्छ ।’

    अहिले निर्देशक भट्ट चलचित्र विकास बोर्डमा उजुरी दिन पुगिसकेकी छन् । छनोट समितिलाई बोर्डले नियमन नगर्ने भए पनि देशको प्रतिनिधित्व गर्ने विषय भएकाले बोर्डले समन्वय गरिदिनुपर्ने भट्टको माग छ । उनले बोर्डका अध्यक्ष दिनेश डिसीको हातमा उजुरी थमाइसकेकी छन् ।

    ओस्कर छनोट समिति पनि अब के गर्ने भनेर अन्यौलमा देखिन्छ । आउँदो सेप्टेम्बर ३० भित्र ओस्कर एकेडेमीलाई चलचित्र बुझाइसक्नुपर्ने छ । अब बाँकी ८/९ दिन मात्रै छ । यो छोटो समयमा फेरि आवेदन मागेर चलचित्रहरु छनोट गर्न समितिलाई सकस पर्ने देखिन्छ ।

    यस विषयमा बुझ्न खोज्दा समितिका अध्यक्ष विमल पौडेलले भने, ‘अहिले बहस उठिरहेको छ । हामी छलफलमै छौं । के गर्ने के नगर्ने भन्ने विषयमा निर्णय लिइसकेका छैनौं ।’

    आज छलफल गरेर निर्णय लिने पौडेलले बताए । तर, समितिको वैधानिकतामाथि प्रश्न उठेपछि अन्तर्राष्ट्रिय रुपमा राम्रो सन्देश नजाने निर्देशक पाठक बताउँछन् ।

    अहिले नेपालबाट ओस्करमा जुन चलचित्र छनोट भए पनि कुनै विधामा शीर्ष पाँचभित्र छनोट भएर प्रतिस्पर्धा नगरेसम्म ओस्करको लोगो प्रयोग गर्न पाइन्न । यदि त्यस्तो गरियो भने ट्रेडमार्क भायोलेसनको मुद्दा लाग्न सक्ने निर्देशक दिपेन्द्र लामा बताउँछन् । पछिल्लो समय शीर्ष पाँचमा पुगेर नेपाली चलचित्रले कुनै पनि विधामा प्रतिस्पर्धा गर्न सकेका छैनन् ।

  • माओवादी केन्द्रीय समिति भंग गर्ने प्रचण्डको प्रस्ताव, विशेष महाधिवेशनमा जाने

    माओवादी केन्द्रीय समिति भंग गर्ने प्रचण्डको प्रस्ताव, विशेष महाधिवेशनमा जाने

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौजुदा केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव पेश गरेका छन् ।

    केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा प्रचण्डले मंसिरमै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व निर्माणको प्रस्ताव गरेका हुन् ।

    पदाधिकारी बैठकमा प्रचण्डले तत्काल केन्द्रीय समिति बैठकबाट महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका छन् ।

    उपमहासचिव जनार्दन शर्माले पार्टीमा पुनर्गठन र नेतृत्व हस्तान्तरणको माग गरिरहेका बेला प्रचण्डले निरन्तरतामा क्रमभंगको पूरानै नीति अनुसार केन्द्रीय समिति नै भंग गर्ने प्रस्ताव राखेका हुन् ।

  • आन्दोलनका देखिएका नकाबधारी ‘हाम्रो नेपाल’ कै सदस्य भएको दाबी, अनुसन्धान गर्दै प्रहरी

    आन्दोलनका देखिएका नकाबधारी ‘हाम्रो नेपाल’ कै सदस्य भएको दाबी, अनुसन्धान गर्दै प्रहरी

    काठमाडौं । जेनजी आन्दोलनमा घुसपैठ भएको चर्चा र आशंकाबीच एउटा तस्बिर र भिडिओ क्लिप सामाजिक सञ्जालमा निकै भाइरल छ । कमब्याट पोशाक र अनुहारमा मास्क लगाएका एक युवक आन्दोलनकारीको बीचमा देखिएका छन् । वाकिटकीसमेत बोकेका यी युवक को हुन् भन्ने कौतुहल छ ।

    युवकको छेवैमा ‘हामी नेपाल’ टीमको ज्याकेट लगाएका युवक पनि देखिएका छन् । त्यसैले कतिपयले ‘हामी नेपाल’ को प्रतिनिधि हुन सक्ने भनिरहेका छन् त कसैले उक्त संस्थाका संस्थापक सुधन गुरुङ नै पो हुन् कि भनेर पनि लख काटेका छन् ।

    नेपाल प्रेसको सम्पर्कमा आएका सुधन भने यी सबै हल्ला र अफवाहमात्रै भएको बताउँछन् । उनले ती युवक आफ्नो संस्था स्वयंमसेवक जेनिस महर्जन भएको बताए ।

    ‘जेनिस महर्जन भाइ १३ वर्षदेखि हामी नेपालसँग जोडिएको थियो । ऊ जाजरकोट भूकम्पको बेलादेखि यो संस्थामा छ,’ सुधनले भने, ‘त्यो भाइले भूकम्पकै बेला आर्मीबाट कमब्याट गिफ्ट पाएको थियो । उसले कमब्याट धेरै मन पराएपछि आर्मीले ‘ल लैजाऊ’ भनेर गिफ्ट दिएको हो ।’

    सुधनका अनुसार अहिले जेनिसले लगाएको त्यही कमब्याट हो । वाकिटकी चाहिँ भिडमा राम्रोसँग संचार गर्नका लागि बोकेको सुधनले बताए ।

    तस्बिर : विवेक थपलिया ।

    उनले भने, ‘त्यस्तो भिडमा जोसुकैलाई जे पनि हुनसक्थ्यो । हामीले छेवैमा मेडिकल टीम राखेका थियौं । घाइतेहरूलाई मेडिकल टीमसम्म पुर्‍याउनलाई वाकीटकी प्रयोग गरेका थियौं ।’

    हामी नेपाल र आफूहरूलाई जताततैबाट सुरक्षा थ्रेट आइरहेकाले जेनिसले मास्क लगाएको सुधनले दाबी गरे । अरुले नचिनुन् भनेर उनले त्यस्तो मास्क लगाएको उनको भनाइ छ । हामी नेपालको तर्फबाट त्यसरी कमब्याट लगाउने र वाकीटकी बोक्ने व्यक्ति जेनिसमात्रै भएको सुधनले बताए ।

    उनले भने, ‘पार्टीका झोलेहरूले हामीलाई बदनाम गराउनलाई अनेक गरिरहेका छन् !’

    वाकीटकी बोकेको, कमब्याट लगाएको भिडिओ व्यापक भएपछि अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को आईटी टीम र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको एक टोलीले अनुसन्धान गरिरहेका छन् । सीआईबीका एसएसपी होविन्द्र बोगटीका अनुसार पनि ती व्यक्ति आन्दोलनकारी पक्षकै हुन् भन्नेमा कुनै सन्देह छैन ।

    उपत्यका प्रहरीबाट अनुसन्धानरत एक अधिकृतले ती व्यक्ति सुधन गुरुङसँग निकट रहेको र सञ्चार सेट बोकेको कुरासम्म गुरुङ पक्षले स्वीकार गरेको बताए । तर, सञ्चार सेट सञ्चालनका लागि उनीहरूले अनुमति नलिएको उनले उल्लेख गरे ।

    कानूनतः सञ्चार सेट सञ्चालनका लागि नजिकैको प्रहरी कार्यालयबाट मुचुल्का उठाएर सञ्चार मन्त्रालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ । अनुमतिबेगर सञ्चार सेट बोक्न नपाइने उपत्यका प्रहरीका ती अधिकृतले बताएका छन् ।

    जेनजीको आन्दोलनमा हामी नेपाल र सुधन गुरुङहरू स्वयंसेवकको भूमिकामा थिए । पानी वितरण गर्ने तथा घाइतेहरूको तत्काल प्राथमिक उपचार गर्नलाई मेडिकल टीम नै खडा गरेका थिए । तर, आन्दोलन मत्थर भएपछि सुधन गुरुङ आन्दोलनको नेताको रूपमा देखिए । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन प्रक्रियामा निर्णायक भूमिकामा समेत थिए ।

  • जेनजीलाई भोटको मौका–कात्तिकसम्म मतदाता नामावली दर्ता खुलाउन निर्वाचन आयोगको प्रस्ताव

    जेनजीलाई भोटको मौका–कात्तिकसम्म मतदाता नामावली दर्ता खुलाउन निर्वाचन आयोगको प्रस्ताव

    काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता प्रक्रिया खुलाउन गृह मन्त्राललाई प्रस्ताव गरेको छ ।

    आयोगले निर्वाचन आयोगले तोकेको दिनसम्म मतदाता नामावली दर्ता गर्न पाउने व्यवस्था गर्नेगरी अध्यादेश ल्याउन आइतबार गृह मन्त्रालयमा प्रस्ताव पेश गरिएको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाल प्रेससँग बताए ।

    आयोगले मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ पछि उपदफा २ क थप गर्दै निर्वाचन आयोगले तोकेको दिनसम्म मतदाता नामावली दर्ता गर्न पाउने व्यवस्था गर्न पत्राचार गरेको छ । ऐनको दफा ४ को उपदफा २ मा निर्वाचनको मिति घोषणा भइसकेकोपछि उक्त निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नपाइने व्यवस्था छ ।

    आयोगले प्रस्ताव गरेको उपदफा २ क मा संविधानको धारा ८५ को उपधारा १ तथा धारा १७७ को उपधारा १ बमोजिम प्रतिनिधि सभा तथा प्रदेश सभा विघटन भएको विषम परिस्थितिमा मतदाता नामावली दर्ता कार्य फुकुवा गनुपर्ने भन्दै अध्यादेशमार्फत ऐनलाई संशोधन गर्न प्रस्ताव गरेको हो ।

    मन्त्रालयमा प्रस्ताव अघि बढेसँगै अब गृह मन्त्रालयले त्यसमा आवश्यक छलफल गरेर निर्णय गरेपछि मन्त्रिपरिषद्मा प्रस्ताव लगेर ऐनलाई अध्यादेशको रुपमा पारित गरिनेछ । उक्त अध्यादेश पारित भएपछि उक्त अध्यादेश कार्यान्वयन प्रक्रियामा अघि बढ्नेछ ।

    निर्वाचन आयोगले अहिले मतदाता नामावली प्रक्रिया खुलाउनेगरी मात्रै अध्यादेश संशोधन गर्न प्रस्ताव गरेको भए पनि गृह मन्त्रालयले निर्वाचनसँग सम्बन्धित अन्य विभिन्न कानून पनि संशोधन गर्न सक्ने अनुमान गरिएको छ । गृह एवम कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले गत शुक्रबार निर्वाचन आयोगमा पुगेर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

    यद्यपी कानूनी व्यवस्था नभएको र उक्त निर्णय गर्नका लागि आयोगले कार्यदल बनाएर अध्ययन गरेर मात्रै निष्कर्ष निकाल्न सकिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताएका थिए । आयोगका उच्च अधिकारी आगामी फागुन २१ कै निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदाता नामावली दर्ता गराउने निर्वाचन गराउन सम्भव नहुने बताउछन् ।

    संविधानको धारा ८५ को उपधारा १ मा संविधान बमोजिम अगाबै विघटन भएकोमा बाहेक प्रतिनिधि सभाको कार्यकाल ५ वर्षको हुने व्यवस्था छ । यस्तै संविधानको धारा १७७ को उपधारा १ मा संविधान बमोजिम आगामी विघटन भएकोमा बाहेक प्रदेश सभाको कार्यकाल ५ वर्षको हुने व्यवस्था छ ।

    आयोग उच्च स्रोतका अनुसार निर्वाचन आयोगले मतदाता नामावली दर्ता नभएका नागरिकले आगामी कात्तिक २० गतेसम्म मतदाता नामवली दर्ता गर्न पाउने व्यवस्था गर्नेगरी गृह मन्त्रालयलाई प्रस्ताव गरेको छ । आगामी फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन तोकिएको र उक्त निर्वाचनको निर्वाचन कार्यतालिका कात्तिक २० पछि सुरु हुने भएकाले त्यसलाई मध्यनजर गर्दै उक्त प्रस्ताव गरेको हो ।

    आयोग उच्च स्रोतका अनुसार निर्वाचन सम्पन्न गराउने सबै पुरा गर्न कम्तिमा १२० दिन लाग्ने अनुमान गरिएको छ । फागुन २१ मा निर्वाचन तोकिएकाले कात्तिक २० सम्म निर्वाचन गर्ने मिति आउन १२० दिन अर्थात ४ महिना बाँकी रहन्छ । त्यो ४ महिनाको अवधिमा आयोगले मतदाता नामावली अध्यावधिकदेखि राजनीतिक दल दर्तादेखि मनोनयन दर्ता हुदै निर्वाचन कार्य सम्पन्न गर्नुपर्नेछ ।

    मतदाता नामावली दर्ता खुलाउनेगरी आयोगले पत्राचार गरेसँगै सबै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता गर्नै कार्य सुरु हुने भएकाले कम्प्यूटर अपरेटर उपलब्ध गराउन पनि गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

    आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले करिव एक दर्जन भन्दा बढी जिल्ला निर्वाचन कार्यालयमा कम्प्यूटर अपरेटर नभएका कारण मन्त्रालयलाई उपलब्ध गराउने व्यवस्था गर्न पत्राचार गरिएको हो ।

    उनले भने, ‘मतदाता नामावली दर्ता प्रक्रिया खुलाउने प्रक्रिया अघि बढेको अवस्थामा सबै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली दर्ता कार्य गर्नुपर्छ । त्यसका लागि कम्प्यूटर अपरेटर जरुरी हुन्छ । हामीलाई प्राप्त विवरण अनुसार करिव १२ देखि १३ जिल्ला निर्वाचन कार्यालयमा कम्प्यूटर अपरेटरको अभाव छ । मन्त्रालयलाई व्यवस्थापन गर्नका लागि पत्राचार गरेका छौ ।’

    आयोगले पत्राचार गरेसँगै अब गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई कम्प्यूटर अपरेटर नभएका जिल्ला निर्वाचन कार्यालयलाई कम्प्यूटर अपरेटरको व्यवस्था गर्न पत्राचार गर्नेछ । मन्त्रालयले पत्राचार गरेपछि सम्बन्धित प्रमुख जिल्ला अधिकारीले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयलाई जिल्लाका कुनै पनि कार्यालयमा कार्यरत रहेका कम्प्यूटर अपरेटरलाई काजमा जिल्ला निर्वाचन कार्यालयमा व्यवस्थापन गर्नुपर्नेछ । निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मागेका कर्मचारी सरकारले उपलब्ध गराउनुपर्ने कानूनी व्यवस्था छ ।

  • विराटनगरका अधिकांश वडा कार्यालय ध्वस्त : अध्यक्ष भन्छन्- सेवा दिने जाँगरै हरायो

    विराटनगरका अधिकांश वडा कार्यालय ध्वस्त : अध्यक्ष भन्छन्- सेवा दिने जाँगरै हरायो

    विराटनगर । भदौ २४ गते विराटनगर महानगरपालिका वडा नम्बर १३ को कार्यालयमा केही युवाहरू आए । नारा जुलुस सुरू भएपछि वडाध्यक्ष सूर्यलाल यादवले प्रहरी निरीक्षकलाई फोन गरेर प्रहरी पठाइदिन भने । प्रहरीबाट जवाफ आयो- ‘अध्यक्ष ज्यू तपाईँ अहिले तत्काल मोबाइल स्वीच अफ गरेर सुरक्षित स्थानमा जानु होला । हामी आउन सक्ने अवस्थामा छैनौं । आफ्नो सुरक्षा आफै गर्नु होला ।’

    यादवले फोन गर्नुअघि वडा कार्यालयको अवस्था भड्किएको थिएन । तोडफोड भएको थिएन । उनले मोरङका प्रहरी प्रमुखलाई फोन गरे । अध्यक्ष यादवलाई प्रहरी प्रमुखले भने,‘तपाईँ सुरक्षित स्थानमा जानु होला । हामी आउन सक्दैनौं ।’

    अध्यक्ष यादवले सुनाए, अब आफ्नो घर र गाउँ छाडेर कहाँ जाने ? यहाँ भन्दा सुरक्षित स्थान कहाँ होला ? उनले आफन्तहरूलाई बोलाए र कोही आए प्रतिकार गर्ने भनेर घरमै बसे । केही बेरमा उनलाई खोज्दै घरसम्म आए । गाउँलेसहित आफन्तहरू प्रतिकारमा उत्रिएपछि जोगिए । उनको घरमा आगजनी र तोडफोड भने नभए पनि वडा कार्यालय भने ध्वस्त पारियो । कार्यालयमा आगो लगाइएको छ । सामान लुटेर लगियो ।

    आन्दोलनका क्रममा अराजक समूहले महानगर कार्यालयसँगै अधिकांश वडा कार्यालय र वडाध्यक्षको घरमा समेत आगो लगाएका छन् । अहिले ती वडा कार्यालयको नागरिक सेवा ठप्प छ ।

    स्थानीय तह र वडा स्तरमा सेवा पुनः सञ्चालन कसरी गर्ने भन्ने विषयमा कोशी प्रदेश संवाद समूहले आइतबार आयोजना गरेको छलफलमा सहभागी वडाध्यक्षहरूले तत्काल सेवा सुरू गर्न सक्ने अवस्था नभएको बताएका छन् । उनीहरूले वडाको मर्मत सम्भार गरी सेवा प्रवाह गर्न कम्तीमा तिहारसम्म समय लाग्ने बताए ।

    वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरीले कार्यालयमा अहिले केही पनि नभएको बताए । कार्यालय सञ्चालनका लागि आवश्यक फर्निचर, कम्प्युटर, प्रिन्टर लगायतका सामाग्री नहुँदा सेवा प्रवाह गर्न नसकिएको उनको भनाइ छ ।

    गिरी भन्छन्, ‘नागरिकहरू अहिले नै सेवा लिन आउन थाल्नु भएको छ । हामी काम गर्न सक्ने अवस्थामा नै छैनौ । यसले गर्दा नागरिकमा थप निराशा पैदा भएको छ ।’

    ४ का अध्यक्ष जितन थापाले भदौ २४ गते नै राजीनामा दिए । घरमा तोडफोड गर्न थालेपछि आन्दोलनकारीले राजीनामा दिन बाध्य बनाएको उनको भनाइ छ ।

    ‘बिहानदेखि रातिसम्म नागरिकको सेवामा खटिँदा पनि घरमा तोडफोड भएपछि के का लागि अध्यक्ष भएर काम गर्ने ? कसका लागि काम गर्ने । काम गर्न सक्ने अवस्थामै छैनौं’, थापा सुनाउँछन् ।

    अत्यावश्यक काम सुरू

    आन्दोलनका क्रममा प्रदेशको राजधानी विराटनगर महानगरपालिकाको मूल कार्यालयमा आगो लगाइएको छ । आगजनीका कारण महानगरको प्रशासनिक कार्यालयमा रहेको कागजपत्र, फर्निचर र कम्प्युटर जलेका छन् । केही फुटाइएका छन् भने आन्दोलनपछि लुटपाट भएको छ । जसका कारण सेवा प्रवाह ठप्प छ ।

    क्षतिग्रस्त विराटनगर महानगरपालिकाको कार्यालय ।

    वडाध्यक्ष गिरीले वडाको दुई भवन जलेर पूर्ण रूपमा ध्वस्त भएको बताए ।

    ‘स्वास्थ्य र प्रशासनिक भवन दुवै जले, अत्यावश्यक सामग्रीसमेत जलाइयो, धारादेखि शौचालयसम्म तोडफोड गरियो,’ उनले भने।

    वडा नं ७ का अध्यक्ष मधुबाबु तिवारीले छापसहितका सबै कागजात जलेको बताए । लेटर प्याड र छाप बनाएर सिफारिसलगायतका अत्यावश्यक काम गर्न थालिएको उनको भनाइ छ ।

    तिवारी भन्छन्, ‘विदेश जाने सिफारिसबाहेक कुनै सेवा दिन सकिएको छैन । स्वास्थ्य सेवा चाहिा निरन्तर छ । नागरिकता, नापी, बसाइसराइ, नाता प्रमाणितजस्ता काम गर्न सकिएको छैन ।’

    वडा नं ८ का अध्यक्ष राम पोखरेलले छात्रवृत्ति र स्वास्थ्यसम्बन्धी सिफारिस जारी रहेको बताए । एउटा वडाले सेवा दिने अर्कोले नदिँदा जनतामा थप समस्या भएको उनको भनाइ छ ।

    पोखरेलले भने,‘हामी अहिले काम गर्न सक्ने अवस्थामा नै छैनौं । कसरी काम गर्ने ? के का लागि काम गर्ने जस्तो भएको छ ।’

    २ का अध्यक्ष कुमार पोखरेलले कार्यालयमा भएका कम्प्युटर, प्रिन्टर र दर्ता-चलानी सामग्री चोरी भएपछि काम ठप्प भएको बताए । ‘यी उपकरण खरिदको जिम्मेवारी सरकारले लिनुपर्छ, वडाले मात्रै सम्हाल्न सक्दैन,’ उनले भने ।

    वडा नं १२ का अध्यक्ष हीरालाल कामतले आन्दोलनकारीबाट वडा कार्यालय जोगाउन दिनभरि प्रयास गरे ।

    ‘प्रहरी नै विस्थापित भएपछि म कार्यालय छाडेर हिँडे । प्रहरीले सुरक्षा दिन सक्दैनौं भन्यो । वडा अध्यक्षको घर नै खोजी हुन थालेपछि म पनि भागेर ज्यान जोगाएँ’, कामत भन्छन् ।

    विशेष नगरसभाको माग

    वडा कार्यालय भवनमा आगजनी र तोडफोड भएपछि अधिकांश कार्यालय बस्न नहुने अवस्थामा पुगेका छन् । ती कार्यालय अस्थायी रूपमा सञ्चालनका लागि कम्तीमा १५ लाख रूपैयाँ लाग्ने बताइएको छ । तर, वडा कार्यालय मर्मतका लागि बजेट नभएकाले समस्या भएको वडाअध्यक्षहरू बताउँछन् ।

    बजेट विनियोजन भइसकेको अवस्थामा खर्च गर्ने अवस्था नभएको वडा नम्बर ११ का अध्यक्ष तिर्थेन्द्र न्यौपानेले बताए । उनको कार्यालयमा सबैभन्दा बढी क्षति पुगेको छ ।

    न्यौपाने भन्छन्, ‘ढोका भत्काइएको छ । खानेपानीको पाइप फुटाइएको छ । शौचालयहरू तोडफोड भएका छन् । यस्तो अवस्थामा मर्मत कसरी गर्ने यसका लागि कम्तीमा महानगरले बजेट विनियोजन आवश्यक छ । उनले विशेष नगर सभाको आयोजना गरी मर्मत सम्भारका लागि बजेट विनियोजन हुन पर्छ । उनले आफ्नो कार्यालयमा लेटर प्याड र छाप समेत नभएको बताए ।

    ‘अहिले वडाध्यक्षले नै सबै खाइसके भन्ने भाष्य स्थापित गरिएको छ । महानगरमा आउने दस्तुर र शुल्क पनि अध्यक्षले नै चलाएको जस्तो भएको छ’, ११ का अध्यक्ष श्याम घिमिरे भन्छन्, ‘हामीसँग कार्यालय मर्मत गर्ने बजेट छैन । चन्दा उठाएर अफिस चलाउन सक्ने अवस्था पनि रहेन । उनले नगर सभाबाट खरिद प्रक्रियालाई सहज बनाइनु पर्छ ।’

    घिमिरेले अहिले सेवा दिन जनताले दबाब दिइरहेको बताए । कार्यालयमा सुरक्षाको पनि महसुस नभएको उनले सुनाए ।

    आन्दोलनमा घुसपेठ हुँदा अराजक समूहले विराटनगरका अधिकांश सरकारी कार्यालयमा लगाए । जिल्ला प्रशासन कार्यालय अहिले टेन्टबाट चलाइएको छ । छ । कार्यालयमा तोडफोड र आगजनीका कारण जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक कुनै पनि सिफारिस नगर्न भनेको छ ।

    अर्को सूचना जारी नभएसम्म सेवा रोक्न भनिएकाले काम हुन नसकेको वडाध्यक्षहरू बताउँछन् ।

    उनीहरू भन्छन्,‘जनतामाझ थप अन्योल सिर्जना भएको छ । जनप्रतिनिधिलाई अपराधी ठहर्‍याउने प्रयासले मनोबल कमजोर बनेको छ ।’

    विराटनगर महानगरका प्रवक्ता समेत रहेका वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपानेले सुरक्षाको प्रत्याभूति बिना सेवा दिन नसकिने बताए ।

    उनले भने, ‘अहिले जनताले दबाब दिइरहेका छन् तर कसरी काम गर्ने भन्ने अन्योल छ ।’

    ३ का वडाध्यक्ष बासुबहादुर बस्नेतले तिहार अगाडि सेवा दिन सक्ने अवस्था नै नरहेको बताए । उनले काम सुचारु गर्नका लागि काम थालेको भए पनि समय लाग्ने बताए ।

    ‘हामी अपराधी होइनौं’

    वडाध्यक्ष जितन थापाले जनप्रतिनिधिलाई अपराधीकरण गर्ने प्रवृत्ति बढेको बताए ।

    उनले भने, ‘हामी जनताको सेवक हौँ, तर वातावरण बिना सेवा दिन सक्दैनौँ । प्रदेशले कुनै पहल गरेको छैन, प्रशासनले पनि सुरक्षा दिन सकेको छैन ।’

    उनीसँगै अन्य वडाध्यक्षहरूले आन्दोलनको नाममा आपराधिक गतिविधि भएको, व्यक्तिगत रिसिइबीका आधारमा कार्यालय जलाइएको जिकिर गरे ।

    ‘जहाँ वडावासीले सक्रिय भूमिका खेले, त्यहाँ कार्यालय सुरक्षित रहे, तर सुरक्षा दिने निकाय भाग्दा वडाहरू जले,’ उनीहरूको भनाइ थियो ।

    संवादमा सहभागी सबै वडाध्यक्षहरूले विशेष नगर सभा बोलाएर मात्र नयाँ वातावरण बनाउन सकिने निष्कर्ष निकालेका छन् । उनीहरूको भनाइमा, सबै दल, टोल विकास संस्था र सरोकारवालासँग छलफल गरेर मात्रै सेवा पुनः सुरु गर्न सकिन्छ ।

    वडाध्यक्ष कुमार पोखरेल सेवा दिने जाँगर नै मरेर गएको बताउँछन् । उनी भन्छन्, ‘विभिन्न आन्दोलन देखेको भए पनि अहिलेको जस्तो अराजक र हिंसात्मक कुनै देखिएन ।’

  • युएईले दियो क्रिकेट खेलाडीलाई भिसा, भोलि उड्ने

    युएईले दियो क्रिकेट खेलाडीलाई भिसा, भोलि उड्ने

    काठमाडौं । नेपाली क्रिकेट टीमले युएईको भिसा पाएको छ ।

  • तुइनखोलाको पहिरो रोकियो- आज साँझसम्म सडक खुलाउने तयारी

    तुइनखोलाको पहिरो रोकियो- आज साँझसम्म सडक खुलाउने तयारी

    चितवन । तुइनखोलामा खसेको पहिरो पन्छाउने काम लगातार गर्न पाउँदा नारायणगढ र मुग्लिनतर्फको बाटो देखिन थालेको छ ।

    डिभिजन सडक कार्यालय भरतपुरको नारायणगढ-मुग्लिन सडक हेर्ने इन्जिनियर अर्जुन घिमिरेका अनुसार केहीबेर यता पहिरो खसेको छैन ।

    दुवैतर्फबाट लगातार पहिरो पन्छाउन पाएको कारण सडकमा थुप्रिएको पहिरो घट्दै गएको छ ।

    उनले आज साँझसम्म पहिरो पन्छाएर एकतर्फी भए पनि सडक सञ्चालन गर्ने गरी काम गरिएको जानकारी दिए ।

    उनले अहिले पहिरो नखसेकोले यही अवस्था रहेमा आज साँझसम्म बाटोमा रोकिएका यात्रुलाई गन्तव्यमा पठाउने गरी पहिरो पन्छाउन काम गरिरहेको जानकारी दिएका छन् ।

  • राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

    राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

    संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको उक्त विधेयक पौडेलले आज प्रमाणीकरण गरेको शीतल निवासले जनाएको छ ।

  • हितेन्द्रले कुलमानलाई गरे ब्रिफिङ, राजीनामा दिन इन्कार

    हितेन्द्रले कुलमानलाई गरे ब्रिफिङ, राजीनामा दिन इन्कार

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग आज बिहान ब्रिफिङ गरेका छन् ।

    कुलमानले प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले जेनजीको आन्दोलनको भावना बुझेर छाड्नु पर्ने भनिरहेको बेला भेट भएको बेला केही भनेनन् । आज ऊर्जा मन्त्री कुलामान, मन्त्रालयका सचिव र सहसचिवलाई शाक्यले ब्रिफिङ गरेका थिए ।

    हितेन्द्रले आज मन्त्रालयमा ब्रिफिङ गरेको बताए । उनले भने, ‘आज मन्त्रालयमा गएर ऊर्जामन्त्री, सचिव र सहसचिवहरूलाई प्राधिकरणको विषयमा ब्रिफिङ गरेको छु । मलाई अहिलेसम्म कसैले पनि राजीनामा दिनु भएको छैन । मैले राजीनामा किन दिने हो र ? अहिलेसम्म कसैले राजीनामा दिन भनेको पनि छैन । म सरकारको निर्णय कुर्छु ।’

    बाहिर चर्चा भए जस्तो प्राधिकरणबाट राजीनामा दिनु आवश्यक नरहेको बताए ।

    पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला प्राधिकरणको कार्यकारी निर्देशक कुनामान बनेका थिए । भने, केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला हितेन्द्रले प्राधिकरणमा कार्यकारीको जिम्मेवारी पाएका थिए ।

    प्राधिकरणको तत्कालीन कार्यकारी निर्देशक नै ऊर्जामन्त्री भएर आएपछि दुबै जनाले विषयवस्तु बुझेकाले काम गर्न सहज हुने भन्ने चर्चा भइरहेको छ । भने अर्को तिर मन्त्री कुलामानले नयाँ कार्यकारी निर्देशक बनाउन लागेको पनि चर्चा रहेको छ ।

  • सिंहदरबार छिर्न नदिएपछि गेटमा धर्ना बसे जेनजी आन्दोलनका घाइते (तस्बिरहरू)

    सिंहदरबार छिर्न नदिएपछि गेटमा धर्ना बसे जेनजी आन्दोलनका घाइते (तस्बिरहरू)

    काठमाडौं । जेन्जी आन्दोलनका घाइतेहरू सिंहदरबारको दक्षिण गेटमा धर्ना बसेका छन् ।

    आन्दोलनको बलमा प्रधानमन्त्री, मन्त्री भएकाहरूलाई आफ्नो माग राख्न छिर्न खोज्दा प्रवेश नदिइएपछि उनीहरू गेटमै धर्ना दिएर बसेका हुन् । आलो घाउ बोकेका घाइतेहरू अस्पतालको रिपोर्टसहित सिंहदरबार गेट पुगेका थिए । केही वैशाखीको सहारामा समेत छन् ।

    आफूहरूका सरोकार अवगत गराउन जान लाग्दा पास नदिएपछि धर्नामा बसेको एक घाइतेले जानकारी दिए ।

    तस्बिरहरू: NPL

  • रुपेश श्रेष्ठको बयान- कान्तिपुर टेलिभजनमा जब हमला भयो…

    रुपेश श्रेष्ठको बयान- कान्तिपुर टेलिभजनमा जब हमला भयो…

    काठमाडौं । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले केही मिडिया हाउसलाई समेत निशाना बनाए । सबैभन्दा ठूलो आक्रमण कान्तिपुरमा भयो । कान्तिपुर टेलिभिजन र कान्तिपुर दैनिक दुवैका कार्यलयमा आगजनी र तोडफोड गरिएको थियो ।

    आक्रमणपछि बन्द हुन पुगेको कान्तिपुर टेलिभिजन २७ घन्टापछि भग्नावशेषबाटै पुन सुचारु गरिएको छ । त्यस दिनको त्रासदीलाई कान्तिपुर टेलिभिजनका डेपुटी न्यूज चिफ रुपेश श्रेष्ठले यसरी वर्णन गरेका छन् :

    नोबल पुरस्कार विजेता लेखक अर्नेस्ट हेमिङ्वेले हाम्रा लागि उहिल्यै लेखिदिएको पंक्ति हो यो- मान्छे विनष्ट हुन सक्छ, तर पराजित हुन सक्दैन ।

    २४ भाद्रको दिन ती आतंकवादीहरूले हामी कार्यरत कान्तिपुर टेलिभिजनमाथि आक्रमण गरे, आगो लगाए, बुताले भ्याएको तोडफोड गरे । जेनजी आन्दोलनको मौका छोपेर ती आतंककारीहरूले आक्रमण गर्दा हामी आन्दोलनको घटनाक्रम, सरकारको अकर्मण्यता, देशभरको जनजीवनबारे प्रत्यक्ष प्रसारण गर्दै थियौं ।

    लेख्दालेख्दैको समाचार, बोल्दाबोल्दैको अपडेट, देखाउँदा-देखाउँदैको दृश्य सबै छोडेर हामी कार्यस्थलबाट निस्कियौं । निस्किने बेला ज्यान जोगाउने कि काम जोगाउने कि कार्यालय प्राङ्गणमा रहेका अनेक सरसामान जोगाउने ? मैले देखेका ती आतंकीहरू केहीको कम्मरमा खुकुरी थियो, धेरैका हातमा लाठी, केहीका हातमा पेट्रोल अनि केहीका हातमा पेस्तोलसमेत ।

    दुवै हात आकाशतिर फर्काएर हाम्रा साथीहरू त्यो भिडलाई अनुरोध गर्दै निस्किएँ । पुछारमा रहेको म गेटबाट निस्किनेवित्तिकै आतंकवादीहरूले ममाथि सांघातिक हमला गरे । अनुहारमा मुक्का बर्साए । पछाडीबाट कसैले बजारेको लात्तीले म पछारिएँ । चस्मा उछिट्टियो ।

    मलाई प्रहार गर्नेहरूको अनुहार चिन्न सकिएन । केही केटाहरूले उठाएर मलाई छोपे । तर, ममाथि प्रहार रोकिएन । लगाइरहेको कोट र टाइ तानेर खोल्दै तिनै केही केटाहरूले मलाई तान्दै र दौडाउँदै भिडभन्दा पर पुर्‍याए । त्यतिञ्जेल मलाई कतिले कताकता प्रहार गरे, गन्न सकिनँ, कहाँ दुख्यो- चाल पाइनँ । तर म जोगिएँ । ती केटाहरू आतंककारीका सहयोगी थिए कि मेरो लागि सहयोगी थिए, सोध्न भ्याइनँ ।

    मानिसहरूको चहलपहल कम भएको एउटा गल्लीमा पुगेर आफूलाई टकटक्याएँ, हातखुट्टा ठिक छन् भन्ने पक्का गरेँ । अनि अनुहार छामेँ, अलि दह्रो नाक कुच्चुक्क परेको थाहा पाएँ । समथर निधारमा केही डाँडा बनेको चाल पाएँ । आँखा वरिपरि डिल परेछन्, ढाडको एकापट्टी ऊँटको ढाडजस्तो उम्रिएको महसुस भयो । कसरत गरेर बलियो बनाएको कम्मरको जाली अलि कमजोर भएछ । तर, म ठिकठाक रहेछु ।

    म एक्लै नजिकको एउटा घरमा पसेँ र आश्रय लिएर बसेँ । तितरबितर भएका साथीहरूलाई भएसम्म फोन गरेँ र को कहाँ पुगे भन्ने अपडेट बुझेँ । सबै ठिक छन् भन्ने पक्का भएपछि मोबाइलमा तिनै आतंकीहरूले देशैभरी मच्चाएको तवाही हेरेपछि आफ्नो अवस्थासँग तुलना गरेर मैले आफूलाई सान्त्वना दिएँ । पछि थाहा पाएँ, ती आतंकीहरू कार्यालयमा ४ पटक फर्किएर आए । हरेक पटक आगो थपेर गए । त्यसमा कम्पाउण्डमा रहेका हाम्रा साथीहरूका मोटरसाइकल र चारपांग्रे गाडीहरू खरानी भए । त्यसमा मेरो पनि गाडी पर्‍यो । सुन्निएको अनुहार, डाँडी भाँच्चिएको नाक र जिउमा निलडाम बोकेर अर्को दिन कार्यालय हेर्न पुग्दा तंग्रन नसक्ने कार्यालय देखियो ।

    तर, ७२ घण्टापछि हामीले २७ गते अपरान्ह प्रसारण फेरि सुरु गर्‍यौं । निस्किँदा ढोकाको सिसा फुटाउँदा हातमा लागेको चोटसहित विजय पौडेल दाइले समाचार सुरू गर्नुभयो । अरू साथीहरू क्यामरा ट्राइपड लिएर फिल्डमा खटिए । इन्जिनियर र प्राविधिक साथीहरूले बाँकी भएर सरसामान जोडेर प्रसारणको व्यवस्था मिलाए । यस्तो अवस्थामा पनि काममा फर्किने मेरा साथीहरूको हौसला देखेर म आजित भएँ । मैले बुझेँ कि ती आतंकीहरूले जति भौतिक सम्पत्ति नष्ट गरे पनि हाम्रो मनोबललाई भत्काउन सकेनन् । अनि सुन्निएको अनुहार र आँखावरिपरि निलडाम बोकेरै प्रसारण सुरु भएको ५ घण्टापछि म पनि प्रसारणमा मिसिएँ ।

    हामीले फेरि मुसुक्क हाँसेरै भन्यौं, ‘कान्तिपुर समाचारमा स्वागत छ !’ अनि खोज्यौं एउटा नयाँ गतिको विश्वास ।

    (श्रेष्ठको सामाजिक सञ्जालबाट साभार)

  • जेन-जी विद्रोहमा वर्षमानले देखाए दुई कारण

    जेन-जी विद्रोहमा वर्षमानले देखाए दुई कारण

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गत वर्षको असारमा विघटित प्रतिनिधिसभाका पहिलो र दोस्रो ठूलो दल कांग्रेस-एमाले मिलेर सरकार बनाएपछि जेन-जी आन्दोलनको पृष्ठभूमि तयार भएको बताएका छन् ।

    दुई ठूला दल सम्मिलित केपी ओली नेतृत्वको सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कामलाई कम तथा बिचौलिया र स्वार्थ समूहको सेवालाई बढी प्राथमिकतामा राखेका कारण जन्मिएको असन्तोष जेन-जी विद्रोहमार्फत विस्फोट भएको बताए ।

    प्रमुख प्रतिपक्षी हैसियतमा आफूहरूले पटक पटक बिचौलिया वर्गको सेवा छाडेर जनताको सेवामा लाग्न दबाब तथा ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरिँदाको खराब परिणाम कांग्रेस-एमालेले मात्र नभई सिंगो मुलुकको भोग्नुपरेको उनको भनाइ थियो ।

    उनले मुलुकको धरोहरका रूपमा रहेका राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतसहित देशभरका सरकारी कार्यालय आन्दोलनका क्रममा खरानी पारिएको भन्दै त्यसको नैतिक जिम्मेवारी कुशासनका मतियारहरूले लिनुपर्ने तर्क गरे ।

    जेन-जी आन्दोलनको पहिलो र निर्णायक कारण मुलुकको आन्तरिक राजनीतिक, सामाजिक र आर्थिक कारण भएको चर्चा गर्दै उनले सहायक कारणका रूपमा भू-राजनीति पनि रहेको उल्लेख गरे ।

    ‘भ्रष्टाचार, अनियमितता, कुशासन र बिचौलिया वर्गको स्वार्थमा नलागेर मुलुक र जनताको स्वार्थमा केन्द्रित हुन प्रमुख प्रतिपक्षका हैसियतमा हामीले संसदभित्र र बाहिरबाट एक वर्षसम्म पटक पटक सरकारको ध्यानाकर्षण गरायौँ, दबाब दियौँ’, पार्टी सम्बद्ध जन प्रगतिशील मञ्च जापानका पदाधिकारीसँगको भर्चुअल अन्तरक्रियाका क्रममा पुनले भने, ‘तर, सत्तामा बसेका काँग्रेस र एमालेले सुनेनन् । दुई तिहाइको शक्ति पुरै स्वार्थ समूहको सेवामा समर्पित भयो । हामीले निकट विगतका बंगलादेश, श्रीलंकाजस्ता मुलुकमा जस्तो खराब अवस्था आउन सक्नेबारे भनेकै हौँ । हाम्रो जिम्मेवारीपूर्ण खबरदारीलाई अन्देखा गरियो र अर्कै अर्थमा प्रचार गर्ने काम पनि भयो । त्यही पृष्ठभूमिमा बढेको असन्तोष जेन-जी आन्दोलनको रूपमा प्रकट भयो ।’

    जेन-जी आन्दोलनको मौका छोपेर प्रतिगामी र प्रतिक्रियावादी शक्तिले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरूका निवास तथा पार्टी कार्यालयमा आगजनी र लुटपाट गरेको र उनीहरूले नै माओवादी र अरू दल उस्तै भन्ने स्थापित गराउने कोसिस गरिरहेको भन्दै आपत्ति जनाए ।

    पुनले अमेरिका, रुस, चीन र भारतजस्ता शक्ति राष्ट्रबीच विद्यमान शक्ति संघर्षको बाछिटा पनि नेपालका परेको उल्लेख गरे ।

    अत्यन्तै तरल अवस्थामा रहेको देशको विद्यमान अवस्थामा हुन सक्ने भू-राजनीतिक चलखेललाई निरुत्साहित गर्न तथा राष्ट्रिय स्वाधीनता तलमाथि हुन नदिन मुलुकका सबै पक्षबीच सहकार्य र एकतामा पुनले जोड दिए ।

    फरक प्रसंगमा पुनले जेन-जी आन्दोलनले पार्टीहरूका विद्यमान नेतृत्व, संरचना तथा राज्यका निकायहरूमा आमूल रूपान्तरण जरुरी रहेको रहेको जबर्जस्त सन्देश दिएको औँल्याए ।

  • नेपाली खेलाडीलाई भिसा दिन यूएई सकारात्मक, वेस्ट इन्डिजसँगको सिरिज नरोकिने क्यानको भनाइ

    नेपाली खेलाडीलाई भिसा दिन यूएई सकारात्मक, वेस्ट इन्डिजसँगको सिरिज नरोकिने क्यानको भनाइ

    काठमाडौं । यूएईले आसन्न नेपाल र वेस्ट इन्डिजको क्रिकेट सिरिजका लागि नेपाली खेलाडीहरूलाई भिसा दिने संकेत गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले इमरेट्स क्रिकेट बोर्डमार्फत गरेको पहलमा यूएईले सकारात्मक प्रतिक्रिया दिएको हो ।

    नेपालमा जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू जेलबाट निस्किएपछि यूएईले नेपालीहरूलाई भिसा दिन रोकेको छ । खेलाडीहरूले केही दिन अगाडि भिसाका लागि आवेदन गरे पनि अहिलेसम्म पाएका छैनन् । शुक्रबार नेपाली क्रिकेट टीम यूएई प्रस्थान गर्ने तालिका भए पनि भिसा नआएकाले रोकिएका छन् ।

    नियमित प्रक्रियाबाट भिसा नआएपछि क्यानले इमरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा समेत पहल गरेको थियो । यूएईको बोर्डबाट भिसा प्राप्त हुने प्रत्याभूति गराइएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

    उनले नेपाल प्रेससँग भने, ‘भिसा आउने कुरामा निश्चिन्त छौं, वेस्ट इन्डिजसँसगको सिरिज निर्धारित तालिकामा नै आयोजना हुन्छ ।’

    लामाले आजभोलिमै खेलाडीहरूले भिसा प्राप्त गर्न सक्ने आशा व्यक्त गरे । वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि क्यानले शारजाह क्रिकेट रंगशाला बुक गरेर टिकट बिक्री गर्न थालिसकेको छ । अस्तिबाट अनलाइनमार्फत टिकट बुकिङ खुला गरिएको हो ।

    नेपालले २७, २९ र ३० सेप्टेम्बरमा तीनवटा टी २० म्याच वेस्ट इन्डिजसँग खेल्नेछ । प्रतियोगिताको सबै खर्च र व्यवस्थापन नेपाल क्रिकेट संघको हुनेछ ।

  • हितेन्द्रदेवलाई राजीनामा दिन दबाब, कुलमानको रोजाइमा छन् मनोज सिलवाल

    हितेन्द्रदेवलाई राजीनामा दिन दबाब, कुलमानको रोजाइमा छन् मनोज सिलवाल

    काठमाडौं । आन्दोलनपछि ऊर्जा मन्त्री बनेका कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशमा मनोज सिलवाल ल्याउने तयारी गरेका छन् । आफूलाई हटाएर नियुक्त भएका हितेन्द्रदेव शाक्यलाई उनले बदलिएको अवस्था बुझेर आफैँ बाटो लाग्न सन्देश पठाइसकेका छन् ।

    उनले नेपाल प्रेससँगको कुराकानीमा शाक्यले आफैँ बाटो खुला गर्ने अपेक्षा जनाएका थिए । शाक्यले राजीनामा नदिएमा उनलाई हटाउने वा मन्त्रालयमा हाजिर गराउने तयारी छ । घिसिङ मन्त्री बन्न उनी विदेशमा थिए,त्यसैले मन्त्रीको पदभार ग्रहणमा उनी उपस्थित थिएनन् ।

    केही दिन अघि मात्रै घिसिङले जेनजीको भावना अनुसार बाटो खुला गर्न अप्रत्यक्ष रूपमा शाक्यलाई निर्देशन दिएका थिए । शाक्यले भने मिलेर काम गर्न सकिने बताएका थिए । शुक्रवार मात्र स्वदेश फर्केका शाक्य आज मात्रै कार्यालयमा फर्किँदै छन् ।

    शाक्यको ठाउँमा प्राधिकरणबाटै अवकाश भएका मनोज सिलवाललाई कार्यकारी निर्देशक बनाउने तयारी घिसिङको छ । घिसिङ प्राधिकरणको प्रमुख हुँदा सिलवालले उनी निकट भएर घिसिङलाई सफल बनाउने काम गरेका थिए ।

    सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ गुम्बाका स्थायी बासिन्दा सिलवाल २०५१ सालमा प्राधिकरणमा पाँचौँ तहबाट सेवा प्रवेश गरेका थिए । उनी १२ औ तह (एमडी) भएपछि २०८१ माघमा प्राधिकरणबाट अवकाश भएका थिए । प्राधिकरणमा वितरण तथा ग्राहक सेवा निर्देशनालयमा बसेर काम गरेका सिलवाल इन्जिनियर हुन् ।

    सिलवाल निकट स्रोतले पनि घिसिङबाट अनौपचारिक रूपमा कार्यकारी प्रमुख बनाउने भनेर प्रस्ताव आएको र सम्भवतः दशैं अगाडी नै सिलवाललाई प्रमुख बनाउने गरी तयारी भइरहेको स्रोतको दाबी छ ।

    प्राधिकरणका एक उच्च अधिकारीका अनुसार अहिले प्राधिकरण भित्र पनि आफूहरूले यस्तै हल्ला सुनेको र ऊर्जा मन्त्री घिसिङ र शाक्यबीच सम्बन्ध राम्रो नभएकाले पनि सिलवाल ल्याउने कुरामा सत्यता भएको बताए ।

  • महावीर पुन विज्ञान प्रविधि मन्त्री बन्न तयार, भगवान कोइरालाले के भने ?

    महावीर पुन विज्ञान प्रविधि मन्त्री बन्न तयार, भगवान कोइरालाले के भने ?

    काठमाडौं । अन्तरिम सरकारको मन्त्री बन्न विभिन्न क्षेत्रका विज्ञहरूलाई गरिएको अफर कतिपयले अश्वीकार गरेका छन् । डा. सन्दुक रुइतसँगै स्वास्थ्यमन्त्री बन्न आग्रह गरिएका डा. भगवान कोइरालाले पनि आफू त्यसका लागि इच्छुक नभएको बताएका छन् ।

    कोइरालालाई सरकारको तर्फबाट र यो सरकार गठनमा संलग्नहरूले समेत अन्तरिम सरकारमा सहभागी भएर सघाउन आग्रह गरेका थिए । तर, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइरालाले आफू इच्छुक नरहेको जवाफ दिएको संवादमा सहभागीले बताएका छन् । कोइरालालाई पहिलो चरणमै अफर गरिएको थियो ।

    बाल अस्पताल निर्माण अभियानमा लागेका डा. कोइरालाका सबैभन्दा ठूला दातामध्येको एक भाटभटेनी आन्दोलनकारीको निशानामा परेर ध्वस्त भएका बेला उनी मन्त्री बन्न अनिच्छुक भएको अनुमान छ । जेनजी आन्दोलनकारीमध्येकै केहीले डा. कोइराला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक रहेको आरोप समेत लगाएका थिए । कोइरालालाई मन्त्री बनाउनका लागि अहिले पनि विभिन्न सूत्रबाट कुरा भइरहेको छ ।

    त्यस्तै आविष्कार केन्द्रमार्फत काम गरिरहेका महावीर पुनलाई पनि मन्त्री बन्न अफर गरिएको छ । पुनले भने विज्ञान तथा प्रविधि मन्त्रालय चलाउन इच्छा व्यक्त गरेका छन् । अहिले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय एउटै रहेकाले उनको चाहना विज्ञान प्रविधिमा मात्र देखिएको गाँठो फुकाउनुपर्ने हुन्छ । अहिले मन्त्री बनाउन खोजिएकाहरू तर्किने र मन्त्री बन्न खोज्नेहरूको लर्को लागेकाले प्रधानमन्त्री सुशीला कार्की आजित बनेको निकट स्रोतले जनाएको छ ।

    सानो आकारको मन्त्रीपरिषदलाई पूर्णता दिन ढिला भइसकेको भन्दै उनी दबाबमा छिन् । जेनजीका नाममा विभिन्न समूहले कार्कीमाथि दबाब थपिरहेका छन् भने बालेन साहले आफ्नो कोटाबाट गृहमन्त्री बनाएको भन्दै अरुले पनि आ-आफ्नो भाग मागिरहेका छन् ।

    केही विज्ञ र पूर्वप्रशासकका साथै जेनजीको समेत प्रतिनिधित्व गरेर सरकारलाई पूर्णता दिने र न्यायिक छानबिन आयोग गठन गर्ने तयारी रहेको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । आजै मन्त्रिपरिषद बैठक बसेर आयोग गठन हुने सम्भावना छ ।

  • तुइनखोला पहिरो- जोखिममा यसरी काम गर्दैछन् सडकका कर्मचारी, पैदलै हिँड्न थाले यात्रु

    तुइनखोला पहिरो- जोखिममा यसरी काम गर्दैछन् सडकका कर्मचारी, पैदलै हिँड्न थाले यात्रु

    चितवन । दश दिनयता साना साना ढुङ्गा खसेर जोखिम बढाइरहेको नारायणगढ-मुग्लिन सडक खण्डको तुइनखोला पुल नजिक शुक्रबार बेलुका साढे ६ बजेदेखि यातायात नै ठप्प हुनेगरि पहिरो खस्यो ।

    तत्कालै सडक डिभिजनका कर्मचारीहरु चितवनका प्रहरी प्रशासनको समन्वयसहित पहिरो पन्छाउने काम थालनी भयो । तर, ७० मिटर माथिदेखि लगातार खसिरहेको पहिरोका एक पटक खसेर रोकिएको छैन ।

    सडकबाट ७० मिटरसम्म उचाइ रहेको पहाडबाट निरन्तर पहिरो खसिरहेको छ । पहिरो एकपटक खसेर रोकिएको भए हिजो वा शुक्रबार राती नै सडक सञ्चालनमा आइसक्थ्यो । तर, पत्रे चट्टान निरन्तर खसिरहेको छ ।

    सडकमा पहिरो पन्छाउन लोडर र डोजर गरेर ६ वटा सवारी साधन तयारी छन् । तर, नारायणगढतर्फ दुई र मुग्लिनतर्फ दुई वटाले मात्रै लोडर र एक्साभेटरले काम गर्न पाएका छन् ।

    हिजो बिहानै सडक जसरी पन्छाउनुपर्छ भनेर चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी प्रमुख गोविन्द पुरीसहितका सुरक्षाकर्मीको टोली सडकमा नै थिए ।

    तर, बिहानै माथिबाट पहिरोको पहाडै हुनेगरि सडकमा पत्रे चट्टान थुप्रियो । त्यसपछि लगातार दिनैभरी पहिरो झरिरह्यो । बेलुका ६ बजेसम्म पनि काम रातभर गरेर पहिरो एकतर्फी मात्रै भएपनि पन्छाउने तयारी गरेको प्रशासनले निरन्तर खसेको पहिरोका कारण काम रोक्नुपर्ने अवस्था आयो ।

    बेलुका पनि चितवनका प्रमुख जिल्ला अधिकारी सहितको टोली पहिरो खसेको स्थलमा नै थियो । प्रमुख जिल्ला अधिकारी अर्यालले पहिरो खसेको कारण पन्छाउने सडकका कर्मचारीमाथि नै जोखिम हुने भएकोले पहिरो हटाउने काम रोक्नुपरेको बताए ।

    आज पनि बिहान झिसमिसेदेखि नै सडकका कर्मचारी काममा छन् । तर, पहिरो नरोकिएको कारण लगातार पाँच मिनेटसम्म पनि पहिरो पन्छाउन सक्ने अवस्था छैन । पहिरो पन्छाउन गएको एक्साभेटर एकपटक पहिरो फाल्नेबित्तिकै ढुङ्गा खसेपछि सुरक्षित ठाउँतर्फ कुँदाउनुपर्ने अवस्था छ ।

    नारायाणगढ-मुग्लिन सडक खण्ड हेर्ने इन्जिनियर अर्जुन घिमिरेले अहिले पहिरो ठूलो परिमाणमा खस्ने भन्दा पनि आजदेखि भने ठूला ढुङ्गाको कारण काम गर्नै जोखिम भएको बताए ।

    ‘मिनेट मिनेटमा ठूला ढुङ्गा खसिरहेको छ, उनले नेपाल प्रेससँग भने, ‘ठूलो ढुङ्गाको कारण हाम्रो अपरेटरहरु जोखिममा छन् । हामीले लगातार काम गर्नै पाएका छैनौँ ।’

    उनले यहि अवस्थामा आज पनि दुईतर्फी नै बाटो खुलाउन भने सकिने संभावना कम रहेको बताए । अहिले प्रहरी प्रशासन र डिभिजन सडकको पनि प्रयत्न एकतर्फी भएपनि सडक खुलाएर सडकमा अलपत्र परेका सवारी र यात्रुलाई गन्तव्यमा पठाउने तयारी छ । तर, तीब्र गतिमा ठूला ढुङ्गसहितको पहिरोका कारण काम गर्न भने जोखिम बढिरहेको देखिन्छ ।

    ३९ घण्टासम्म पन्छाउन नसकेपछि यात्रुहरु पैदलनै सुरक्षित स्थानतर्फ हिँड्न थालेका छन् । सरकारले पहिरो पन्छाइदेला र गन्तव्यतर्फ जाँउला भन्ने आसले रातदिन सडकमै अलपत्र परेका यात्रुहरु घण्टौँ हिँडेर सुरक्षित स्थानतर्फ लागेका छन् ।

    असोज ३ गते काठमाण्डौंबाट धनगढी हिँडेका ललित चन्द ३९ घण्टादेखि सडकमै छन् उनी रातमाटेदेखि घण्टौ हिँडेर असोज ५ गते विहान साढे ९ बजे मुग्लिङ पुगेका छन् ।

    उनका अनुसार बाटोमा हजारौँ यात्रुहरु अलपत्र छन् कतिपय विरामी, बुढापाका, महिला बालबालिकाहरुछन् सबैको बेहाल छ ।

    लामो समय सडक जाम हुँदा खाद्यान्नको समस्या परेको छ । यसैक्रममा मुग्लिङका स्थानीयले पहल गरेर असोज ४ गते समस्यामा परेका यात्रु तथा मजदुरहरुलाई खानाको व्यवस्था गरिएको थियो ।

    अझैपनि पहिरो खसिरहेकाले पन्छाउने कार्य जटिल भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

    यता नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले सरकारले सबै शक्ति प्रयोग गरेरै भएपनि पहिरो पन्छाउनु पर्ने माग गरेका छन् ।

  • गगनप्रति डा. महतको आक्रोश- अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचारसम्म पनि पर्खिन नसक्ने ?

    गगनप्रति डा. महतको आक्रोश- अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचारसम्म पनि पर्खिन नसक्ने ?

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी पुनर्गठनको मुद्दा उठाइरहेका महामन्त्री गगन थापाप्रति तीव्र आक्रोश प्रकट गरेका छन् । अहिले पार्टीमा सबै जना एक हुनुपर्ने बेलामा घाउ लागेको बेला नुन छर्न खोजिएको उनले आरोप लगाए ।

    आन्दोलनमा जलाइएको आफ्नो घरको भग्नावशेषबाटै सम्बोधन गर्दै उनले गगनको नाम नलिईकन उनीप्रति असन्तुष्ट र आक्रोश पोखेका हुन् । सभापति शेरबहादुर देउवा उपचारकै क्रममा रहँदा नेतृत्व परिवर्तनको बहस गर्न खोज्नु ठिक नभएको उनको भनाइ छ ।

    डा. महतको भनाइ:

    अहिले हामी सबै एक भएर आफ्ना कमीकमजोरी हटाउने र आन्तरिक एकता बलियो बनाउने बेला हो । तर घाउ लागेको बेलामा नुन छर्ने गलत प्रवृत्ति देखिएको छ ।

    २३ गतेभन्दा चार दिन अगाडिसम्म त्यही सभापति अत्यन्त ठिक हुने… हामी त बरु अलि टाढा भएका थियौँ । जुन साथीहरूले अहिले प्रश्न उठाइरहनुभएको छ । तत्काल नेतृत्व परिवर्तनको कुरा गरिरहनुभएको छ । उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो । बोली, बचन, वक्तव्य, उठबस हेर्ने हो भने उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो । हामीले भन्या थियौँ । कतिपय कुरा ठिक भइरहेको छैन । ओलीजीको सोच र शैलीले ठिक बाटोमा अघि बढ्दैन । अहिले नयाँ परिस्थिति बन्ने बित्तिकै अब त एक छिन पनि हुँदैन भनेको के हो ? अभिभावकमाथि सांघातिक प्रहार हुँदा हामी उपचार पनि पूरा पर्खन सक्दैनौँ ? आकाश नै झरिहाल्छ ?

    नयाँ परिस्थितिबारे पार्टीमा अवश्य पनि मन्थन हुन्छ । गम्भीर छलफल गर्छौंं । कसरी घटना घट्यो । मूल्यांकन गर्छौँ । सुधार पनि गर्छौँ । तर त्यसका लागि पनि नपर्खने ? आधिकारिक निर्णय कार्यसम्पादन समितिले गरेको भन्दा छुट्टै बहस थाल्ने ? यसे हाम्रो पार्टीलाई मजबुत गर्दैन ।

  • तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना, २० भन्दा बढी घाइते

    तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना, २० भन्दा बढी घाइते

    काठमाडौं । काठमाडौं तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।

    प्रहरीका अनुसार बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटना भएको हो ।

    माछापोखरी बाइपासको उकालो चोकमा मोटरसाइकललाई जोगाउन खोज्दा बस पल्टिएको स्थानीय प्रत्यक्षदर्शी बताउँछन् ।

    तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

  • देशभरिका यी ७ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध

    देशभरिका यी ७ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध

    काठमाडौं । बाढी र पहिरोका कारण देशभरिका आधा दर्जनभन्दा बढी राजमार्गहरू अवरुद्ध भएका छन् ।

    तुइनखोलामा पहिरो जाँदा नारायणगढ मुग्लिङसडकसहित ७ वटा मुख्य राजमार्ग अवरुद्ध भएका हुन् ।

    नेपाल प्रहरीका अनुसार कोशीमा संखुवासभाको भोटखोला ४ वरुण र मकालु ३ एकुवामा अवरुद्ध भएको छ ।

    बागमती प्रदेशमा रसुवाको गोसाइकुण्ड २ नेपाल चीन जोड्ने पुल नहुँदा बन्द छ । उत्तरगया ५ नौविसेमा सडक एकतर्फी सञ्चालनमा छ । यस्तै सिन्धुपाल्चोकको भोटेकोशी २ कोदारीमा पहिरोले बाटो अवरुद्ध रहेको छ ।

    उता म्याग्दीको बेनी ४ घुमाउने भीरमा पूर्णरुपमा सडक अवरुद्ध हुँदा नवलपरासी पूर्वको गैँडाको ३ तरङ्खोला विनयी त्रिवेणी २ विश्वकर्मा मन्दिर पैसठ्ठी मोडमा एकतर्फी रुपमा बाटो सञ्चालनमा छ ।

    जाजरकोटको नलगाड ११ भिरकुनामा पनि बाटो पूर्ण रुपमा अवरुद्ध छ भने रुकुमपूर्व भुमे ४ काँडाबगर र तानसेनको धोविधारामा सडक एकतर्फी सञ्चालनमा छ ।

  • ३६ घण्टा सडकको बास- न गाँस न सरकारको आस

    ३६ घण्टा सडकको बास- न गाँस न सरकारको आस

    काठमाडौं । मुग्लिङ-नारायणगढ सडक अन्तर्गत तुइनखोला पुल नजिकै खसेको पहिरो पन्छाउन नसक्दा ३६ घण्टादेखि यात्रु, सवारीसाधन र यातायात श्रमिकहरू सडकमा बिचल्लीमा छन् ।

    असोज ३ गते साँझ साँढे ६ बजेदेखि आज असोज ५ गते बिहान ८ बजेसम्म सडक अवरुद्ध छ।

    तुइन खोलादेखि भरतपुर करिब ३५ किलोमिटर र मुग्लिङदेखि नागढुङ्गासम्म करिब सय किलोमिटरसम्म सडकमा सवारीसाधन, यात्रु र मजदुरहरू अलपत्र छन् ।

    असोज ५ गते बिहान ७ बजे देखिनै सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने काम सुरू गरेको छ । तर, पहिरो खस्ने क्रम निरन्तर भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको जनाएको छ ।

    पहिरो खसिरहेकाले यातायात आवागमन सुचारु हुन अझै समय लाग्ने जनाएको छ ।

    बाटोमा फसेका हजारौँ यात्रुहरू र यातायात मजदुरहरू ठाउँ ठाउँमा समस्यामा परेका छन् । कतिपय स्थानमा यात्रुहरू र सुरक्षाकर्मीबीच वादविवाद भएको छ । सवारीसाधन र सडकमै रात गुजारेका यात्रु र मजदुरहरू खाद्यान्न र पानीको समस्यामा छन् ।

    नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले तत्काल सबै स्रोत साधनको प्रयोग गरी पहिरो पन्छाउँदै आवागमन सुचारु गर्न सरकारसँग माग गरेका छन् ।

    अध्यक्ष राईले यातायात आवागमन नभएसम्मका लागि विपद्मा परेका यात्रु र मजदुरहरूलाई खानेपानी, खाद्यान्न उपलब्ध गराउन र तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेको छ ।

    तस्वीरहरू: भरतपुरबाट- केशव थापा (निरू)
    चुम्लिङटार र रातमाटेबाट- ललित चन्द

  • कांग्रेस पुनर्गठनका लागि २ विकल्प अघि सार्दै गगनले भने- म साधारण सदस्यमात्र भएर भुइँमा बस्न तयार छु

    कांग्रेस पुनर्गठनका लागि २ विकल्प अघि सार्दै गगनले भने- म साधारण सदस्यमात्र भएर भुइँमा बस्न तयार छु

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको व्यापक पुनर्गठन जरुरी भएको बताउँदै दुईवटा विकल्प सुझाएका छन् ।

    शनिबार राति एक भिडिओ सन्देशमार्फत उनले पार्टीको नीति, नियम, पार्टीसँग जोडिएका प्रश्नहरूको उत्तर दिने, कमजोरी र गल्तीलाई सच्याउने, सुधार्ने र नयाँ कुरालाई संकल्प गर्ने यो मौका पनि हुने बताए ।

    महामन्त्री थापाले भने, ‘पार्टी रुपान्तरण र पार्टी पुनर्गठनको यो अभियानमा लाग्दै गर्दा त्यसको जस्तोसुकै मूल्य चुकाउन म तयार छु । म पार्टीको साधारण सदस्यमात्र भएर बस्न तयार छु, भुइँमा बस्न तयार छु । किनकि यो मेरो विषय होइन । मभन्दा माथि पार्टी छ भन्ने मलाई थाहा छ तर पार्टीभन्दा माथि देश छ ।’

    पार्टीको व्यापक पुनर्गठनका निम्ति उनले दुईवटा बाटो देखाएका छन् । पहिलो विकल्पमा पुरानो क्रियाशील सदस्यता नवीकरण, एकरदुई महिनाका लागि नयाँ क्रियाशील सदस्यता खोलेर विधानको सबै धारा निलम्बन गर्ने र पार्टीको सदस्यहरूबाट सिधा चुनाव गरेर पार्टीको नेतृत्व छान्ने अरु गर्दै जाने थापाको भनाइ छ । अर्को विकल्पमा विशेष महाधिवेशन गर्नुपर्ने उनले सुझाएका छन् ।

    सभापति उपचार गराइरहेको बेला यस्तो असान्दर्भिक कुरा गर्न सुहाउँछ रु भन्दै कतिपयले प्रश्न गरेको भन्दै थापाले भने, ‘हामी कोही पनि संवेदनशीलहीन छैनौं । सभापतिको स्वास्थ्यको बारेमा निरन्तर जानकारी लिइरहेका छौं । सभापति अस्पतालमा भइरहेको बेलामा यो कुरा गरौँ भनेको होइन । सभापतिलाई सोधेर, सभापतिसँग सल्लाहले नै यो कुरा गरौँ भनेको । अझ सभापतिलाई नै तपाईंले पहिलो कदम चाल्नुस् भनेको । तर, एउटा कुरा चाहिँ हो, मनाउने हो, फकाउने हो, तर मान्नुभएन, कोही फकिनुभएन भनेदेखि भने त्यसको आधारमा अब हात उठाउने होइन। अगाडि बढ्ने हो, त्योभन्दा अर्को हामीसँग कुनै बाटो छैन ।’

    देश दनदन्ती जलिरहँदा निभाउन सक्ने तागत राख्नपर्ने भन्दै उनले भने, ‘देश सँगसँगै यो पनि बिर्सनुहुन्न । नौजवानहरूले जुन आगो ओकलेका छन्, त्यसको मर्म हामीले बुझ्नुपर्छ । उनीहरूले चेन्ज खोजेका छन् ।’

    थापाले पार्टी पंक्तिसहित आफैँलाई सोधेका छन्, ‘यत्रो उथलपुथल हुँदा पनि हामीले पार्टीलाई जस्ताको तस्तै राखेर हुन्छ रु टिकाउन सक्छौं रु टिकाउने प्रयत्न गर्नुहुन्छ रु आन्दोलनमा व्यक्त भावनालाई बोकेर हिँड्न सक्ने पार्टी हामीले बनाउनुपर्ने छ कि छैन ?’

    यसको दोष कसैलाई नदिने भन्दै उनले थपे, ‘म आफैँ कांग्रेसको महामन्त्री छु । मेरो भागको मात्र होइन, म अरु दोष लिन पनि तयार छु । मेरो र अर्का महामन्त्रीको सबैभन्दा ठूलो आजको दिनमा दोष भनूँ, कमजोरी भनूँ, हामीले यो बीचमा सही विषयहरु उठायौँ । मुद्दाहरू उठायौँ । तर, आफूले उठाएको मुद्दालाई कहिले पनि टुंगोमा पुर्‍याउन सकेनौँ । बीचमै छाड्यौँ, त्यो हाम्रो सबैभन्दा ठूलो कमजोरी भयो । तर, यो पटक छाड्दैनौँ ।’

    उनले आफूलाई कतिपयले घाइते र सहिद परिवारलाई किन भेट्न नगएको भनेर सोधेको भन्दै आफूलाई अप्ठ्यारो लागेकाले अहिले जान नसकेको प्रष्टीकरण दिए ।

    ‘भ्रष्टाचारको अन्त्य र सुशासनको माग राख्दा राख्दै उनीहरू लडेर ढले । यो माग पूरा गर्ने सन्दर्भमा मेरो प्रयत्नले केही ठोस परिणाम ल्याउन सक्यो भने बल्ल म त्यो परिवारलाई भेट्नको लागि आफूलाई योग्य ठान्छु’, थापाले भने ।

    स्वच्छ र स्वतन्त्र इलेक्सन चुनावका लागि अन्तरिम सरकारलाई सबैले सहयोग गर्नुपर्नेमा थापाको जोड छ । सँगै उनले
    भदौ २३ को दमनको छानबिन गरी दोषीले सजाय पाउनुपर्ने र २४ गते आन्दोलनको मौका छोपेर प्रतिशोध साँध्ने, आगजनी, तोडफोड र लुटपाट गर्ने क(कसले किन गरे त्यसको पनि खोजी हुनुपर्ने विषय उठाएका छन् ।

    ‘यदि यिनले सजाय पाएनन् भने अलि पछाडि जब भाद्र २३ र २४ को सम्झना हुन्छ, त्यो बेलामा यत्रो त्याग र बलिदान दिएर युवाहरूले गरेको आन्दोलनलाई बदनाम गराउनका निम्ति यिनै कुराहरु प्रयोग हुन्छ ।’

    थापाले आफूसहित ४६ पछि जिम्मेवारीमा रहेका नेता, अड्डा, अदालत, प्रहरी, प्रशासन, सेना सबैको सम्पत्ति, त्यसको स्रोत, जग्गा जमिन, व्यापार व्यवसाय, कतिपय काण्डहरू बिना प्रतिशोध दूधको दूध पानीको पानी छुट्याएर सजायको भागीदार बनाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

  • झिसमिसेदेखि नै पन्छाउन सुरु भयो तुइनखोलाको पहिरो

    झिसमिसेदेखि नै पन्छाउन सुरु भयो तुइनखोलाको पहिरो

    चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको तुइनखोलामा गएको पहिरो हटाउन झिसमिसेबाट सुरु गरिएको छ ।

    डिभिजन सडक कार्यालय भरतपुरको ३ वटा मेसिनले बिहानैदेखि पहिरो पन्छाउन सुरु गरिएको हो ।

    अस्ति बेलुका साढे छ बजेदेखि पहिरोको कारण बन्द भएको सडक ३६ घण्टासम्म पनि खुलाउन सकिएको छैन ।

    बाटो बन्द हुँदा यो सडक खण्ड हुँदै यात्रा गर्ने यात्रुहरू गन्तव्यमा पुग्न नसकेर रोकिएका छन् ।

    आज लगातार पहिरो खस्ने क्रम रोकियो भने मध्यान्हसम्म सडक सञ्चालनमा ल्याउन सकिने यो सडक हेर्ने इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिएका छन् ।

  • पितृपक्ष समापन गरिँदै

    पितृपक्ष समापन गरिँदै

    काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ ।

    आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा)को श्राद्ध भने सोमबार गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्धसमेत भनिन्छ ।

    पितृपक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश अड्किएर आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् ।

    यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ ।

    आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका प्रा डा भट्टराईले बताए । त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत वैदिक मन्त्रले दैनिक १०८ जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् भट्टराईले जानकारी गराउनुभयो । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

    चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । पितृपक्षका बेलामा पितृलोकबाट दिवङ्गत पितृहरू पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको छ । यस अवसरमा शास्त्रीय रूपमा दिइएका विकल्पअनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरूको भनाइ छ ।

    यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्ध, औँसी तिथि सोह्र श्राद्धमा मृत्यु भएका पुरुषको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपालीजस्ता श्राद्धहरू प्रचलित छन् ।

    यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको छ । सोह्रश्राद्ध अपराह्नकालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको छ । यस अवसरमा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको घुइँचो लाग्छ । पितृपक्षको समाप्तिसँगै दुर्गापक्ष अर्थात् बडादसैँ सुरु हुन्छ । असोज ६ गते सोमबार घटस्थापना गरेसँगै दुर्गापक्ष सुरु हुन्छ ।

  • हमासद्वारा ४८ बन्धकहरूको तस्बिर सार्वजनिक, नेपालका बिपिन पनि

    हमासद्वारा ४८ बन्धकहरूको तस्बिर सार्वजनिक, नेपालका बिपिन पनि

    काठमाडौं । हमासको सशस्त्र टोलीले गाजामा रहेका ४८ इजरेली बन्धकहरूको ‘बिदाइ तस्बिर’भन्दै एक तस्बिर सार्वजनिक गरेको छ ।

    ४८ जनाको उक्त तस्बिरमा नेपालका विपिन जोशी समेत छन् ।  तस्बिरमा मैन बत्ती बालिएको छ । इजरायलले उक्त क्षेत्रलाई कब्जा गर्ने र ध्वस्त पार्ने काम जारी राख्दा बन्धकहरूको तस्बिर सार्वजनिक भएको हो ।

    शनिवार सार्वजनिक तस्बिरमा जीवित र मृत दुवै बन्धकहरूको अनुहार देखाइएको जनाइएको छ । इजरायलले गाजा कब्जा गर्न अघि बढेपछि बन्धकहरूको बिदाइ तस्बिर भन्दै सार्वजनिक गरिएको हो ।

    जसलाई रोन अराड भनेर शीर्षक दिइएको थियो, जुन १९८६ मा लेबनानमा हराएका इस्रायली वायुसेनाका क्याप्टेनको सन्दर्भ हो ।