
हरेक राजनीतिक आन्दोलन जनताको सामाजिक, आर्थिक र राजनीतिक जीवनसँग गहिरो रूपमा गाँसिएको हुन्छ । नेपालले विगत सात दशकमा असङ्ख्य आन्दोलन बेहोर्यो । राणा शासनविरुद्धको विद्रोह, २०३६ सालको जनमत सङ्ग्रह, २०४६ सालको प्रजातान्त्रिक आन्दोलन, २०६२/०६३ को गणतान्त्रिक आन्दोलन र अहिलेको युवा पुस्ताको जेनजी आन्दोलन । यी सबैले नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक परिदृश्यमा महत्त्वपूर्ण प्रभाव पारेका छन् ।
तर, बारम्बार उठ्ने प्रश्न के हो भने, आन्दोलनले पहिले नै ठोस एजेन्डा तय गरेर अघि बढ्छ, कि आन्दोलनकै क्रममा मात्रै एजेन्डा जन्मिन्छ ? यो प्रश्न बुझ्न नेपालका विगतका आन्दोलन, विश्व सन्दर्भ र हालको जेनजी आन्दोलनको विश्लेषण आवश्यक छ ।
नेपालमा हरेक ठूला आन्दोलन कुनै न कुनै एजेन्डासँग जोडिएको पाइन्छ । उदाहरणका लागि २०४६ सालको जनआन्दोलनले बहुदलीय प्रजातन्त्र स्थापना र नागरिक अधिकार सुनिश्चित गर्ने स्पष्ट लक्ष्य राखेको थियो । आन्दोलनको सफलता सँगसँगै त्यो कार्यान्वयन पनि भयो । २०६२/०६३ को दोस्रो जनआन्दोलनले राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना गरेको थियो ।
यी आन्दोलनले सुरूमा नै स्पष्ट एजेन्डा लिएर अघि बढेका थिए । आन्दोलन सफल भए र तत्कालीन लक्ष्यहरू पूरा भए । तर, समस्याको जरा आन्दोलनपश्चात् देखापर्यो । नयाँ एजेन्डा अघि बढाउन राजनीतिक दल सक्षम भएनन् । संविधान निर्माण ढिलाइ भयो, राजनीतिक अस्थिरता बढ्यो, भ्रष्टाचार बढ्यो र दीर्घकालीन सुशासन कार्यान्वयनमा चुनौती आयो । यो आन्दोलनपछिको एजेन्डा प्रभावकारिताको अभाव हो ।
विश्वका विभिन्न मुलुकमा आन्दोलन दुई प्रकारका देखिन्छन् । एक त एजेन्डाका लागि आन्दोलन, जहाँ शुरूमै स्पष्ट लक्ष्य र रणनीति तय हुन्छ । अमेरिकाको नागरिक अधिकार आन्दोलन जातीय विभेद अन्त्य र समान अधिकार सुनिश्चित गर्ने उद्देश्यले अगाडि बढ्यो । भारतको स्वतन्त्रता आन्दोलनले अङ्ग्रेज शासक हटाएर स्वाधीन राष्ट्र स्थापना गर्ने स्पष्ट लक्ष्य राख्यो । यस प्रकारका आन्दोलनले दीर्घकालीन कानूनी र संस्थागत सुधार ल्याए ।
दोस्रो, आन्दोलनकै लागि एजेन्डा हो, जहाँ आन्दोलन सुरुमा मात्र असन्तोष वा विरोधको रूपमा देखा पर्छ र एजेन्डा आन्दोलनकै क्रममा जन्मिन्छ । अमेरिकामा ‘अकुपाई वाल स्ट्रिट’ आन्दोलनमा आर्थिक असमानताविरुद्ध विद्रोह भयो, तर दीर्घकालीन नीति स्पष्ट थिएन ।
एजेन्डाका लागि आन्दोलनले दीर्घकालीन सुधार र स्थायित्व सुनिश्चित गर्दछ । आन्दोलनकै लागि एजेन्डा प्रायः तत्कालीन असमानता वा अधिनायकवादविरुद्ध हुने भए पनि स्थायी समाधान र संस्थागत सुधारमा चुनौती आउँछ । नेपालमा जेनजी आन्दोलन पनि यसै श्रेणीमा पर्छ । असन्तोष आन्दोलनको शक्ति बनेको छ, तर दीर्घकालीन एजेन्डा अझै अस्पष्ट छ ।
अरब स्प्रिङमा अधिनायकवादको विरोध भयो, तर दीर्घकालीन राजनीतिक एजेन्डा नहुँदा कतिपय देशमा अस्थिरता बढ्यो । हालसालैको श्रीलङ्का र बङ्गलादेश स्पष्ट एजेन्डामा चुक्यो । जुन परिवर्तनका लागि विद्यार्थी आन्दोलन भयो । आन्दोलन त सफल भयो, तर एजेन्डा कार्यान्वयनभन्दा सत्ता शक्तिमा देश रुमल्लिन पुग्यो ।
नेपालमा अहिलेको जेनजी आन्दोलन यसै वर्गमा पर्छ । सुरुमा कुनै स्पष्ट राजनीतिक एजेन्डा थिएन । आन्दोलनको शक्ति ‘नेपो बेबी’, ‘असन्तोष’, ‘भ्रष्टाचार’ र ‘भविष्यप्रतिको निराशा’ बाट उत्पन्न भयो । आन्दोलनकै क्रममा नयाँ विचार र नारा सतहमा आए ।
नेपालमा विगतका ठूला आन्दोलनले तत्कालीन लक्ष्य प्राप्त गरे पनि नयाँ एजेन्डा कार्यान्वयनमा समस्या देखा पर्नु सामान्य बन्यो । २०६२/०६३ को आन्दोलनपछि गणतन्त्र स्थापना भए पनि स्थिर सरकार, सुशासन र विकासको एजेन्डा कार्यान्वयनमा राजनीतिक दल असक्षम भए । पछिल्लो समय भ्रष्टाचार मौलाइरहे पनि सुशासनको अभ्यास बिस्तारै भइरहेको थियो ।
आर्थिक रूपान्तरणमा कछुवा गति भए पनि अघि बढिरहेको थियो । अर्थतन्त्र बिस्तारै बलियो हुँदै थियो । निजी लगानी बढ्दै थियो । तर, त्यो सीमितता आम युवा र बढिरहेको बेरोजगारीले चित्त बुझाउन सकेन । र, त्यसैको जगमा रहेर असन्तुष्टिको विषयलाई आधार मानेर जेनजी आन्दोलन सुरु भयो । जसमा सामाजिक सञ्जाल नियमन अप्रत्यक्ष विरोधको रूपमा जोडियो ।
जेनजी आन्दोलन पुराना आन्दोलनभन्दा पूर्णतः फरक छ । यस आन्दोलनमा सुरुमा कुनै स्पष्ट राजनीतिक नारा थिएन । नेपालमा सामाजिक सञ्जाल नियमन गर्न खोज्दा सञ्जाल बन्द गरिएको विषयले उत्पन्न आवाज नै यस आन्दोलनको विशेषता र प्रमुख सहभागिता हो । आन्दोलनकै लागि भीपीएन, क्यूआर कोडमार्फत सूचना आदानप्रदान र भिड व्यवस्थापन भयो ।
‘नेपो किड्स’, भ्रष्टाचार, सुशासन र अवसर असमानताविरुद्ध युवा पुस्ताले आवाज उठाए । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीलाई सतही माग बनाइयो । तत्कालीन प्रधानमन्त्रीको राजीनामा, संसद् विघटन र अन्तरिम सरकार गठन यस आन्दोलनको तत्कालीन प्रभाव हुन् । तर, यो नै आन्दोलनको दीर्घकालीन लक्ष्य भने होइन ।
जेनजी समूह, अर्थात् नेपो बेबी र सामाजिक सञ्जालको असन्तुष्टमा रहेका युवाहरूले आन्दोलनमा जानको लागि जुन एजेन्डा तय गरे, त्यसले आन्दोलनलाई दीर्घकालीन समाधानमा पुर्याउने रोडम्याप बनाउन सकेन । आन्दोलनले सत्ता त ढाले, तर त्यसपछिको लक्ष्यमा आन्दोलन चुक्यो ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको नारा प्रतिनिधिसभाको विघटन र अन्तरिम सरकारको गठनसँगै सङ्कटमा परेको छ । यसले देखाउँछ, आन्दोलन सफल भए पनि दीर्घकालीन एजेन्डाबिना स्थिरता र विकास सम्भव हुँदैन । हरेक सफल आन्दोलनले नयाँ असन्तोषको बीऊ बोकेको हुन्छ ।
तर, आन्दोलनमा हिंसात्मक घटना, तोडफोड र ७३ जनाले ज्यान गुमाउनु दुःखद पक्ष हो । राष्ट्रपति कार्यालय, संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतदेखि देशभरका अधिकांश सरकारी संरचना र निजी सम्पत्तिमा आगजनी र क्षति भयो । यसकै प्रभावले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका तीनै अंगको कामकाज प्रभावित भयो ।
तर, दीर्घकालीन एजेन्डा र राजनीतिक सुधारको अभावमा आन्दोलनले स्थायी परिवर्तन ल्याउन चुनौती भोगिरहेको छ । एकातिर, जसले आन्दोलनको सुरुवात गरे, तिनीहरू सडकबाट धेरै पर उछिट्टिएका छन् । जो सडकको किनारामा थिए, उनीहरू मध्य सडक हुँदै आन्दोलनको नेतृत्व सम्हाल्न आए । जेनजी आन्दोलन जेनजी समूहबाट ‘हाईज्याक’ भएको छ र कसैले रिमोटबाट त्यसलाई नियन्त्रण गरिरहेको छ । आन्दोलनकारीका बीचमा दोषारोपण र मनमुटाब बढिरहे । यी सबै स्पष्ट एजेन्डा बनाउन नसक्नुका परिणाम हुन् ।
नेपाल मात्र होइन, विश्वका विभिन्न आन्दोलनले पनि यस्ता दुई ढाँचाको विश्लेषण देखाउँछन् । एजेन्डाका लागि आन्दोलनले दीर्घकालीन सुधार र स्थायित्व सुनिश्चित गर्दछ । आन्दोलनकै लागि एजेन्डा प्रायः तत्कालीन असमानता वा अधिनायकवादविरुद्ध हुने भए पनि स्थायी समाधान र संस्थागत सुधारमा चुनौती आउँछ । नेपालमा जेनजी आन्दोलन पनि यसै श्रेणीमा पर्छ । असन्तोष आन्दोलनको शक्ति बनेको छ, तर दीर्घकालीन एजेन्डा अझै अस्पष्ट छ ।
आन्दोलन र एजेन्डा आपसमा पूरक हुन् । एजेन्डाबिनाको आन्दोलनबाट दीर्घकालीन परिवर्तन सम्भव हुँदैन । आन्दोलनबिना एजेन्डा जनतासम्म पुग्दैन । नेपालमा समस्या तब देखा पर्छ, जब आन्दोलन सफल भए पनि नयाँ एजेन्डा संस्थागत गर्न सक्दैन । नेपालका आन्दोलनले तत्कालीन लक्ष्य पूरा गरेका छन्, प्रजातन्त्र ल्याउने, गणतन्त्र घोषणा गर्ने । तर, अहिलेको आन्दोलन सफल भए पनि एजेन्डा कार्यान्वयनमा नीतिगत तयारी नहुँदा जनता फेरि असन्तुष्ट हुने भएका छन् ।
नयाँ पुस्ता, विशेष गरी जेनजी, समानता, अवसर र सुशासनलाई प्राथमिकता मानेका छन् । तर, उनीहरूमा दीर्घकालीन योजना अझै कमजोर छ । त्यही कमजोरीलाई अरुले फाइदा उठाएका छन् । देशी-विदेशी शक्तिको हस्तक्षेप, अवसरवादी र दक्षिणपन्थीहरूको संलग्नता जेनजी आन्दोलनमा रहेको आरोप छ । यसको सत्यता समयसँगै खुल्नेछ ।
विश्वका विभिन्न मुलुकमा आन्दोलन दुई प्रकारका देखिन्छन् । एक त एजेन्डाका लागि आन्दोलन, जहाँ शुरूमै स्पष्ट लक्ष्य र रणनीति तय हुन्छ । अमेरिकाको नागरिक अधिकार आन्दोलन जातीय विभेद अन्त्य र समान अधिकार सुनिश्चित गर्ने उद्देश्यले अगाडि बढ्यो । भारतको स्वतन्त्रता आन्दोलनले अङ्ग्रेज शासक हटाएर स्वाधीन राष्ट्र स्थापना गर्ने स्पष्ट लक्ष्य राख्यो । यस प्रकारका आन्दोलनले दीर्घकालीन कानूनी र संस्थागत सुधार ल्याए ।
अहिलेसम्मका आन्दोलनले ठोस एजेन्डा स्थापित गरेका छन् । तर, आन्दोलनपछिका ती एजेन्डा कार्यान्वयनमा असफल भएकाले जनतामा असन्तोष निरन्तर बढिरहेको छ । यही असन्तोषकै परिणामस्वरूप जेन-जी आन्दोलन जन्मिएको हो, जहाँ पहिले एजेन्डा भन्दा आन्दोलन नै अगाडि आएको छ ।
विश्वका उदाहरणले देखाउँछ, केवल आन्दोलनले दीर्घकालीन परिवर्तन सम्भव हुँदैन । त्यसका लागि स्पष्ट, ठोस र कार्यान्वयनयोग्य एजेन्डा आवश्यक छ । नेपालमा पनि अब आन्दोलनपछिका एजेन्डा हराउने परम्परा तोडेर संस्थागत, दिगो र दीर्घकालीन एजेन्डा निर्माण गर्नु अनिवार्य छ ।
फेरि पनि प्रश्न यही हो, हामी आन्दोलनकै लागि एजेन्डा खोज्ने कि स्पष्ट एजेन्डाका लागि आन्दोलन गर्ने ? इतिहासले प्रमाणित गरिसकेको छ । आन्दोलनले व्यवस्था परिवर्तन त सम्भव बनाउँछ, तर स्थिरता, समृद्धि र सुशासनजस्ता दीर्घकालीन लक्ष्यबिना त्यो परिवर्तन अधुरो रहन्छ ।
नेपालको सन्दर्भमा, विगतका आन्दोलनले स्पष्ट एजेन्डा तय गरेर अघि बढेका थिए, जसले तत्कालीन लक्ष्य प्राप्त गरे । तर, आन्दोलनपछिका ती एजेन्डा कार्यान्वयनमा राजनीतिक दलहरूको असक्षमता र अस्थिरताका कारण दीर्घकालीन परिवर्तन सम्भव भएको छैन । यसले देखाउँछ, केवल आन्दोलनले प्रभावकारी परिवर्तन गर्न सक्दैन, त्यसका लागि स्पष्ट र कार्यान्वयनयोग्य एजेन्डा आवश्यक छ ।
विश्वका अन्य देशको सन्दर्भमा पनि यस्तै देखिन्छ । फ्रान्समा, ‘ब्लक एभ्रिथिङ’ प्रोटेस्टले सरकारको नीति र नेतृत्वको विरोध गर्दै व्यापक प्रदर्शन गरेको छ, जसले सरकारको स्थिरता र आर्थिक वृद्धिमा असर पुर्याएको छ । जापानमा ‘सानसेइटो’ पार्टीको उदयले राष्ट्रवादी र परिवर्तित राजनीति पुनः सक्रिय गरेको छ, जसले देशको राजनीतिक परिस्थितिमा नयाँ मोड ल्याएको छ ।
यसरी, आन्दोलन र एजेन्डाबीचको सम्बन्ध बुझ्न आवश्यक छ । आन्दोलनले असन्तोष र परिवर्तनको आवश्यकता जनाउँछ भने एजेन्डाले त्यो परिवर्तनको मार्गदर्शन गर्दछ । यसले दीर्घकालीन परिवर्तनका लागि केवल आन्दोलनमात्र पर्याप्त छैन भने स्पष्ट पार्दछ । त्यसका लागि स्पष्ट र कार्यान्वयनयोग्य एजेन्डा आवश्यक रहन्छ ।