Tag: जनमुक्ति सेना

  • बहिर्गमित जनमुक्ति सेनाले भेटे प्रधानमन्त्री देउवा

    बहिर्गमित जनमुक्ति सेनाले भेटे प्रधानमन्त्री देउवा

    काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ।

    संगठनका पदाधिकारी र देउवाबीच बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको र उक्त भेटमा आफूहरुले उठाउँदै आएको मुद्दाको विषयमा छलफल भएको अध्यक्ष रमेश बसेलले जानकारी दिए।

    ‘आशा गरौं छलफलले सार्थकता पाउने छ,’ उनले भने, ‘ बाँकी समयको प्रतीक्षमा छ।’ यसअघि अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’सँग पनि बहिर्गमित जनमुक्ति सेनाका पदाधिकारीले १ साउनमा छलफल गरेका थिए।

    अर्थमन्त्रीसँग केपी ओली नेतृत्वको सरकारले शुरु गरेको लोकतन्त्रका योद्धा सम्मान कार्यक्रमको निरन्तरता र द्वन्द्वपीडितका परिवारलाई स्वरोजगार बनाउने कार्यक्रमबारे छलफल भएको थियो।

  • बहिर्गमित जनमुक्ति सेनाको माग- ‘अयोग्य’ को बिल्ला खारेज गर, सम्मान देऊ (भिडियो)

    बहिर्गमित जनमुक्ति सेनाको माग- ‘अयोग्य’ को बिल्ला खारेज गर, सम्मान देऊ (भिडियो)

    काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपालले आफूहरूलाई लगाइएको ‘अयोग्य’ को बिल्ला खारेज गर्दै सम्मानयुक्त शब्दसहित सम्मानपत्र र परिचयपत्र दिनुपर्ने सरकारसँग माग गरेको छ ।

    चौथो राष्ट्रिय सम्मेलनको पूर्णकेन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै सो संगठनले आफूहरूलाई लगाइएको अयोग्यको बिल्ला खारेज गरी राज्यद्वारा सम्मानपत्र र परिचयपत्र वितरण गर्नुपर्ने माग राखेको हो । त्यसैगरी सरकार-माओवादीबीच भएको हतियार र सेना व्यवस्थापनको अनुगमन सम्झौता अनुरूप तत्कालीन समयका १८ वर्षमुनिका बाल सेनाहरूलाई पुन:स्थापनाका लागि आवश्यक र उपयुक्त सहयोग प्रदान गरिनुपर्ने पनि उनीहरूको माग छ ।

    स्वेच्छिक अवकास लिएका जनमुक्ति सेना सरह आफूहरूलाई आर्थिक प्याकेज दिनुपर्ने, जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्नुपर्ने, सम्पूर्ण राजनीतिक आन्दोलनका घाइतेहरूलाई औषधी उपचारसहितको दीर्घकालीन व्यवस्था गरिनुपर्ने र सम्पूर्ण बहिर्गमित जनमुक्ति सेनाका सदस्य तथा तिनका बालबालिकालाई कम्तीमा कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्न कार्यक्रममा राजन थापाले माग गरे ।

    बहिर्गमित जनमुक्ति सेना नेपालका इन्चार्ज असिम आङबुहाङ्ग लिम्बुले जनयुद्धकालका नेतृत्व तथा कमाण्डरहरूले आफूहरूलाई बेवास्ता गरेको बताए । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भने जनमुक्ति सेना र आन्दोलनका योद्धाहरूलाई सम्झिएको उनको भनाइ छ ।

    सरकारले आफूहरूसँग गरेको विभिन्न चरणको वार्ताका सहमतिहरु तत्काल कार्यान्वयन गर्न पनि माग गरिएको छ ।

  • बहिर्गमित लडाकु र सरकारबीच परिचय पत्रबारे समझदारी, सुविधा केही दिनमै टुंग्याइने

    बहिर्गमित लडाकु र सरकारबीच परिचय पत्रबारे समझदारी, सुविधा केही दिनमै टुंग्याइने

    काठमाडौं । बहिर्गमित जनमुक्ति सेना र सरकारबीच उनीहरूलाई दिने परिचय पत्रबारे समझदारी बनेको छ।

    ‘लोकतन्त्रका योद्धा’को सम्मान एवं परिचयपत्रको व्यवस्था गर्न गठित कार्यदलका संयोजक एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बहिर्गमित जनमुक्ति सेनाका पदाधिकारीबीच आइतबार बिहान छलफल भएको हो ।

    मन्त्री निवास पुल्चोकमा भएको छलफलमा बहिर्गमित जनमुक्ति सेनाको संगठनका तर्फबाट १० जना सहभागी थिए । तत्कालीन माओवादीको सेना समायोजन गर्दा उमेर नपुगेको भन्दै ४ हजार ८ जनालाई ‘अयोग्य’ घोषित गरिएको थियो।

    संगठनका अध्यक्ष रमेश बसेलले भने, ‘११ वर्षदेखि हामीले उठाउँदै आएको विषयबारे ध्यानाकर्षण गराउन एउटा प्रस्तावना बनाएका थियौं । हाम्रो र मन्त्रीज्यूको ठ्याक्कै कुरा मिल्यो । परिचयपत्र दिएर मात्रै हुन्न कि परिचय पत्र देखाएर स्वास्थ्य, शिक्षामा सुविधालगायत राज्यले त्यो परिचपत्रका आधारमा के के सुविधा दिन सक्छ भन्ने कुरा हामीले राख्यौं । उहाँले सोचेको कुरा पनि खास त्यही रहेछ ।’

    करिब आधा घण्टाको छलफलमा मन्त्री ज्ञवालीले बहिर्गमित जनमुक्ति सेनाका पदाधिकारीहरूको कुरा सुनेपछि आफ्नो भनाइ राखेका थिए। मन्त्री ज्ञवालीले बहिर्गमित जनमुक्ति सेनालाई दिइने परिचयत्र पत्रका आधारमा सरकारले दिन सक्ने सुविधाबारे पनि केही उल्लेख गरेका थिए।

    मन्त्री ज्ञवालीको भनाइ उद्धृत गर्दै अध्यक्ष बसेलले भने, ‘उहाँले मैले सोचेको पनि त्यही हो, तपाईंहरुलाई परिचयपत्र दिंदा विभिन्न सेवामा छुटको व्यवस्था, रोजगारीमा प्राथमिकता, त्यही परिचय पत्र राखेर बैंकबाट ऋण दिने लगायत राज्यले के के सुविधा दिन सक्छ त्यही अनुसार परिचय पत्रमा समावेश गरौंला भन्नुभयो ।’

    यो विषयलाई मूर्त रुप दिन एक/दुई दिनभित्रै पुनः छलफल हुने बताइएको छ ।

    ज्ञवालीको संयोजकत्वमा गठित तीन सदस्यीय कार्यदलले विगतका शान्तिपूर्ण र सशस्त्र आन्दोलन, जनसंघर्ष, विद्रोह र विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान गर्ने शहीद परिवार, घाइते, बेपत्ता, अंगभंग भएकाको सम्मान एवं परिचयपत्रको व्यवस्थाबारे अध्ययन गरी सिफारिस गर्ने क्षेत्राधिकार पाएको छ ।

    के छ बहिर्गमित जनमुक्ति सेनाको प्रस्तवनामा ?

    संगठनले विभिन्न ९ बुँदे माग पूरा गर्न कार्यदल गर्न गनुपर्ने भन्दै त्यसको प्रस्तावना पनि मन्त्रीलाई बुझाएको हो ।

    राखिएका मागमा ‘अयोग्य’ को बिल्ला खारेज गर्नुपर्ने, समान्नयुक्त शब्द प्रयोग गनुपर्ने र परिचय पत्र प्रदान गनुपर्ने विषय उल्लेख छ। त्यस्तै विगतमा भएका सहमति पनि कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ ।

  • ‘प्रधानमन्त्रीबाट संकेत आइसक्यो, अब पूर्व जनमुक्ति सेनालाई न्याय हुन्छ’ (भिडियो)

    ‘प्रधानमन्त्रीबाट संकेत आइसक्यो, अब पूर्व जनमुक्ति सेनालाई न्याय हुन्छ’ (भिडियो)

    काठमाडौं । धेरैलाई आश्चर्यचकित तुल्याउँदै माओवादीका लडाकुहरुको संगठन पूर्व जनमुक्ति सेना तथा वहिर्गमित बाल सेनाको संगठन शनिबार नेकपाको ओली पक्षमा समाहित भयो । बालुवाटारमा प्रधानमन्त्री केपी ओलीकै उपस्थितिमा भएको छलफलपछि उनीहरुले आफ्नो कित्ता स्पष्ट पारेका थिए ।

    पूर्व लडाकुहरुलाई ओली समूहमा पुर्याउने कामको संयोजन चाहिं पहिले प्रचण्ड–माधव पक्षीय नेकपाको केन्द्रीय सदस्य रहेका लीलबहादुर थापाले गरेका हुन् । ओली नेतृत्वको नेकपामा जाने निर्णयपछि अहिले पूर्व जनमुक्ति सेना र वहिर्गमित बाल सेनाको संगठन आन्तरिक छलफलमा जुटेको छ । त्यसको संयोजन पनि थापाले गरिरहेका छन् ।

    नेपाल प्रेससँगको भिडियो टकमा थापा प्रधानमन्त्री ओलीबाट अब पूर्व जनमुक्ति सेनामाथि ‘न्याय’ हुन्छ भन्नेमा आश्वस्त देखिए । थापाका अनुसार अब केही दिनमा औपचारिक रुपमा पार्टी प्रवेश कार्यक्रम हुनेछ ।

    जनयुद्धका धेरै घाइते र अपाङ्गलाई आश्वासन दिने धेरै काम भए पनि व्यवहारमा त्यो अनुवाद नभएको भन्दै थापा अब भने धोका नहुने बताउँछन् । आफूहरुको माग सम्वोधनको विषयमा प्रधानमन्त्रीबाट सकारात्मक संकेत आएको पनि उनले उल्लेख गरे ।