Tag: छठ

  • छठको रौनक : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (भिडिओ)

    छठको रौनक : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (भिडिओ)

    काठमाडौं । छठ पर्वको आज तेस्रो तथा मुख्य दिन । आज बिहानदेखि पानीसमेत नपिएका व्रतालुहरू साँझपख जलाशयमा पानीमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घ्यसहित पूजा गरिरहेका छन् ।

    यसैक्रममा काठमाडौंका विभिन्न जलाशयहरूमा छठको रौनक बढेको छ । सिंगारिएर राखिएका कमलपोखरी, गौरीघाट, गुह्येश्वरीलगायतका जलाशयमा व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिरहेका छन् ।

    अब भोलि उदाउँदो सूर्यलाई अर्घ्य चढाइन्छ । अर्घ्य चढाउनुअघि रातभर त्यही जलाशय किनारमा जाग्राम बस्ने परम्परा छ । आजको रात भजन कीर्तन र नाचगान गरेर जाग्राम बस्ने गरिन्छ ।

    भोलिपल्ट बिहानै ब्रह्ममुहूर्तमा जलाशयमा गएर पूजा सामग्री तयार पारी सूर्योदय भएसँगै अञ्जुलीमा पानी लिएर चढाइन्छ । तराई क्षेत्रमा मात्र सीमित यो पर्व पछिल्लो समय देशभर मानाउन थालिएको छ ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    तस्बिरहरू : सरोज बैजु/गौरव पौडेल ।
  • छठ अवलोकनका लागि काठमाडौंका जलाशयमा राष्ट्रपति (तस्बिर/भिडिओ)

    छठ अवलोकनका लागि काठमाडौंका जलाशयमा राष्ट्रपति (तस्बिर/भिडिओ)

    काठमाडौं । आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा काठमाडौंका विभिन्न जलाशयहरूमा गएकी छन् ।

    राष्ट्रपति भण्डारी छठका लागि सिंगारिएको काठमाडौंको गुहेश्वरी-गौरीघाट र कमलपोखरीमा दर्शन तथा अवलोकनका लागि सहभागी भएकी हुन् ।

    गत वर्षका पर्वहरूमा कोरोना महामारीका कारण राष्ट्रपतिले शक्तिपीठको भ्रमण गरेकी थिइनन् ।

    छठका अवसरमा जलाशय दर्शनका लागि निस्किएकी राष्ट्रपतिका केही तस्बिरहरू :-

    तस्बिरहरू: सरोज बैजु / गौरव पौडेल ।

     

     

  • आज छठको प्रमुख दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

    आज छठको प्रमुख दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

    काठमाडौं । छठ पर्वको आज तेस्रो तथा मुख्य दिन । आजको दिनलाई छठ भनिन्छ । यस दिन व्रतालुहरू पानी पनि नपिइ निर्जला व्रतको रुपमा बस्दछन् । कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ ।

    आज बिहानदेखि पानीसमेत नपिएका व्रतालुहरू साँझपख जलाशयमा पानीमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घ्यसहित पूजा गर्छन् । अस्ताउँदो सूर्यलाई पूजा गरिसकेपछि भोलिपल्टको उदाउँदो सूर्यलाई अर्घ्य चढाउनुअघि रातभर त्यही जलाशय किनारमा जाग्राम बस्ने परम्परा छ।

    आजको रात भजन कीर्तन र नाचगान गरेर जाग्राम बस्ने गरिन्छ । भोलिपल्ट बिहानै ब्रह्ममुहूर्तमा जलाशयमा गएर पूजा सामग्री तयार पारी सूर्योदय भएसँगै अञ्जुलीमा पानी लिएर चढाइन्छ । साथै चढाउनको लागि तयार पारिएको ठकुवा, भुसुवा, फलफूल तथा मिठाइहरू अर्पण गरिन्छ । त्यसपछि सबै व्रतालुहरू आआफ्नो घर गएर चढाएका ठकुवा, भुसुवा, फलफुल तथा मिठाइहरू प्रसादको रुपमा ग्रहण गरी व्रत समापन गर्दछन् ।

    छठमा विशेष गरी प्रकृतिको छैटौं अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ । देवी भागवत्‌मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ ।

    छठलाई एउटा कठिन व्रत र उपवासको रुपमा हेरिन्छ । छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास रही आएको छ ।

    परापूर्वकालदेखि नै छठ पर्व मनाउने गरेको इतिहास छ । त्रेतायुगमा राजा दशरथकी रानी कौशल्याले छठको व्रत लिएको कुरा रामायणमा उल्लेख गरिएको छ । त्यस्तै, द्वापर युगमा चौध वर्षको वनवास बसेको समयमा कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको प्रसंग महाभारतमा उल्लेख छ ।

    यो पर्व नेपालमा मात्र नभइ भारतमासमेत धुमधामका साथ मनाइन्छ । नेपालको तराई क्षेत्रमा मात्र मनाइने गरिएको यस पर्व अहिले नेपालभर मानाइने गरिएको छ ।

  • छठ पर्वको दोस्रो दिन आज खरना विधि पूरा गरिँदै

    छठ पर्वको दोस्रो दिन आज खरना विधि पूरा गरिँदै

    काठमाडौं । छठ पर्वको आज दोस्रो दिन । छठको दोस्रो दिनलाई ‘खरना’ भनिन्छ । छठका व्रतालुहरूले आज नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउँछन् ।

    चन्द्रमालाई चढाएपछि खीर तथा लौकाको तरकारी व्रतालुले भोजनको रूपमा ग्रहण गर्दछन् । आज सबै व्रतालुहरूले बिहानदेखि निर्जला भएर बेलुकी एक छाक मात्र भोजन गर्दछन् ।

    सोमबारदेखि व्रत बसेका व्रतालुले सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदीको भोजन गर्दैनन् । यो चार दिन व्रतालुले सात्विक भोजन मात्र गर्दछन् । कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ ।

    छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ । देवी भागवत्‌मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ ।

    छठलाई एउटा कठिन व्रत र उपवासको रूपमा हेरिन्छ । छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास रही आएको छ ।

    कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य चढाइ छठ पर्वको व्रतलाई समापन गरिन्छ ।

  • छठ पर्व आजबाट शुरु, पहिलाे दिन ‘नहाय-खाय’ गरिँदै

    छठ पर्व आजबाट शुरु, पहिलाे दिन ‘नहाय-खाय’ गरिँदै

    महोत्तरी । मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा छन् । पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् ।

    यसो त कात्तिक शुक्ल तृतीयाकै दिन व्रतालुले उसिनेको चामल, कोदो, मुसुरो, माछा मासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि आइतबार नै सुरु गरेका हुन् । निरामिष ९साविक० भोजन सुरु गरेर तृतीयाकै दिन व्रत विधि सुरु हुने पर्व परम्परा छ ।

    छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी)  देवीको महिमा गाइएका गीत गुञ्जदैछन् । कोरोना सङ्क्रमण अलि मत्थर भएपछि यसपालि धक खोलेर पर्व मनाउन पाइएको व्रतालुको भनाइ छ । गत वर्ष कोरोना सन्त्रासले घरआँगनमै छठ मनाउनुपरेको सम्झना गर्दै यसपालि भने महाव्याधि कम भएपछि पर्व मनाउन सहज भएको व्रतालु बताउँछन् ।

    छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन् । पर्वमा महिला/पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत संकल्प गर्ने गरेका देखिन्छ । पर्व सुरु भएको मानिने आज कात्तिक शुक्ल चौथीका दिन व्रतालुले पवित्र स्नान गरी व्रत संकल्प गरेर चोखोनितो खानेछन् । यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको छ । पर्वले घरघरमा व्यस्तता बढाएको छ । पूजा सामग्रीको जोरजाम र व्यवस्थापनमा सबै केन्द्रित देखिँदा छन् ।

    श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घ्यूमा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ । यी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो) सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषिउपजले राम्रो बजार पाउने गरेका छन् ।

    आइतबार (कात्तिक शुक्ल तृतीया) का दिन ‘अरबा–अरबाइन’ र आज (चौथी तिथि) ‘नहाय–खाय’ विधि गर्ने व्रतालुले भोलि कात्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठी देवीलाई चढाएर प्रसादस्वरुप खानेछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।

    त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा पसेर नुहाएसँगै अस्ताउँदा सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ ।

    यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदा सूर्यलाई अघ्र्य दिएर देखाइएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ ।

    मिथिलामा ‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडी अघिदेखि पानीमा चोबलिएर व्रतालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन् । सबैजसो घाटमा रातभरि जाग्राम बस्न गीत, सङ्गीत, नाटक र मनोरञ्जनका अन्य साधन व्यवस्था गरिन्छन् ।

    केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै बनिसकेको छ । पहाड, मधेसको सांस्कृतिक घुलमिलले छठपर्व अब साझा पर्व बन्दै गएको यस क्षेत्रका बुद्धिजीवी बताउँछन् । जनजन परिचालित हुने यो पर्व मिथिला संस्कृतिको अभिन्न अंगका रुपमा स्थापित भएको देखिन्छ ।

  • आयो छठ : सिंगारिँदै जलाशय, बजारमा किनमेल गर्नेको घुइँचो (भिडिओसहित)

    आयो छठ : सिंगारिँदै जलाशय, बजारमा किनमेल गर्नेको घुइँचो (भिडिओसहित)

    जनकपुरधाम । तिहार सकिएसँगै श्रद्धा र निष्ठापूर्वक मनाइने लोकआस्थाको पर्व छठको तयारी सुरू भएको छ । तराई-मधेशमा जलाशय (घाट) सिंगार्न स्थानीय व्यस्त छन् ।

    जनकपुरको गंगासागर, धनुष सागर, अरगजासगर, दशरथ तलाउ, नोचा पोखरीलगायतका जलाशयलाई दुलही झैं सिंगारिएको छ । सिरहाको लहानस्थित ललकु मावि पोखरीबीचमा सूर्यदेवको विशाल मूर्ति बनाइँदैछ ।

    जनकपुरसहित मधेशका बजारमा छठ पर्वमा प्रयोग हुने सामग्री किनमेल गर्नेहरूको भीड लाग्न थालेको छ । बजारमा नाङ्लो (सुपा), केरा, उखु, माटोबाट बनेको हात्तीसहितका समानको माग अधिक छ । यसवर्ष छठका हरेक समानको भाउ महंगिएको किनमेल गर्नेहरू बताउँछन् ।

    कात्तिक शुक्ल चतुर्थी अर्थात् भोलिदेखि विधिवतरूपमा छठ सुरू हुँदैछ । सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो अर्थात् चौथी तिथिका दिन ब्रतालुले हातगोडाका नङ काट्छन् । त्यसपछि स्नान गर्दै चोखोनितो खाएर ब्रत संकल्प गर्छन् । स्थानीय भाषामा यसलाई ‘नहाय-खाय’ भनिन्छ ।

    दोस्रो दिन ब्रतालुले दिनभर निराहार व्रत बसी राति सक्खर हालेर पकाइएको अरवा चामलको खीर इष्टदेवलाई चढाउने चलन छ । चढाएको खीर ब्रतालुसहित परिवारका सदस्यहरु प्रसादस्वरूप खाने गर्छन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।

    तेस्रो दिन षष्टी तिथिमा ब्रतालुले निराहार व्रत बसेर साँझपख जलाशयमा अस्ताउँदो सूर्यदेवलाई अर्घ्य दिन्छन् । ठकुवा, भुसुवा (कसार), अन्य मिष्ठान्न परिकार, केरा, दहीसहितका सामग्री सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ भनिन्छ ।

    त्यसपछि धेरै ठाउँमा सूर्यदेव र षष्ठीमाता (सूर्यदेवकी पत्नी) को आराधना गर्दै घाटमै रात बिताउने चलन छ । कतिपय ठाउँमा घर पुग्छन् र पुनः सप्तमी तिथिका दिन बिहान जलाशय घाटमा पुगेर ब्रतालुले उदाउँदो सूर्यदेवलाई अर्घ चढाउँछन् । त्यसपछि छठ विधिवत समापन हुन्छ ।

    छठ पर्व मनाउँदा सन्तान सुख प्राप्त हुनुका साथै परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने गरेको जनविश्वास छ । सूर्यको उपासनाले चर्मरोग पनि निको हुने विश्वास गरिन्छ ।