Tag: चेपाङ

  • राप्ती नगरपालिकाको योजना- वालविवाह राेक्न चेपाङ छात्रालाई वार्षिक १५ हजार प्रोत्साहन

    राप्ती नगरपालिकाको योजना- वालविवाह राेक्न चेपाङ छात्रालाई वार्षिक १५ हजार प्रोत्साहन

    चितवन । चितवनको राप्ती नगरपालिकाले आफ्नो नगर क्षेत्रमा चेपाङ समुदायमा वालविवाह रोक्न र साक्षारता दर बढाउन प्रोत्साहनसहितको विशेष योजना ल्याएको छ ।

    नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को बजेटमा वीस वर्षको उमेरसम्म अध्ययन गर्ने चोपाङ छात्रालाई वार्षिक १५ हजार रुपैयाँ प्रोत्सहन पुरस्कार दिने उल्लेख छ । त्यसका लागि नगरपालिकाले दुईवटा सर्तसहितको कार्यविधि बनाउँदैछ । छात्राको विवाह नभएको हुनुपर्ने र नियमित अध्ययन गरिरहेको (बीचमा छाडेर फेरि सुरु गर्न नहुने) सर्तहरु हुनेछन् ।

    नगरप्रमुख प्रभा बरालले १९/२० वर्षका केटीहरु तीन वटासम्म सन्तान बोकेर नगरपालिका आउने गरेको भन्दै बालविवाह रोक्न कार्यक्रम ल्याइएको बताइन्। उनले भनिन्, ‘यहाँ बच्चाले बच्चा पाउँछन्, यसलाई रोक्नु हाम्रा लागि चुनौति भएको छ ।’

    रोजगार र उत्पादनमूलक कार्यक्रमका लागि नगरपालिकाले एक करोड रुपैयाँ विनियोजन गरेको छ । साझेदारी कार्यक्रमका लागि तीन करोड र अधुरा कार्यक्रम सम्पन्न गर्न एक करोड रुपैयाँ विनियोजन गरेको छ । बरालका अनुसार स्वास्थ्य स्वयंसेविकालाई साइकल कार्यक्रम तथा विपन्नहरुका लागि वास कार्यक्रमअन्तर्गत एक करोड विनियोजन गरिएको छ ।

    दूधमा अनुदान दिन ५० लाख छुट्याइएको छ भने क्यान्सर र मिर्गौलाको डाइलासिसका लागि १० लाख छुट्याइएको छ । पहाडमा प्राथमिकता हुने गरी कृषक लक्षित कार्यक्रमका लागि ३५ लाख तथा चेपाङ, दलित, विपन्न, असहाय, अपाङ्गलाई स्वास्थ्य बीमा कार्यक्रमका लागि १० लाख बजेट छुट्याइएको उनले जानकारी दिइन् ।

    कोभिड र विपत् व्यवस्थानका लागि एक करोड विनियोजन गरिएको छ । असहाय आमा, बुबा र टुहुरा छोराछोरी संरक्षण कार्यक्रम सञ्चालन गरिँंदै छ ।

    नगरपालिकाले भण्डारा अस्पताल र आधारभूत स्वास्थ्य चौकीका लागि एक करोड बजेट विनियोजन गरेको छ । नगरपालिकाले विद्यार्थीको प्रतिभा पहिचान कार्यक्रम, सुत्केरी बिदामा रहेका शिक्षिकाको सट्टा स्वयंसेवी शिक्षिका कार्यक्रम, कक्षा ९ देखि १२ सम्मका लागि छात्रवृत्ति, गरिब तथा जेहेन्दार छात्रवृत्ति कार्यक्रम, बाख्रा, पकेट विकास कार्यक्रम, मागमा आधारित पशु विकास कार्यक्रम गर्ने छ ।

    यस्तै पशु शिविर कार्यक्रम, बर्थिङ सेन्टरमाा सुत्केरी हुने महिलालाई रु दुई हजार प्रोत्साहन भत्ता, लैंगिक हिंसा कोष स्थापना, बाल कोष स्थापना, महिला तथा बालबालिका आयआर्जन कार्यक्रम, व्यावसायिक महिला समता विकास कार्यक्रम, मागमा आधारित कृषि कार्यक्रम पनि नगरपालिकाले ल्याएको छ ।

    महिला प्रमुख भएकाले पनि कार्यक्रम महिला, बालबालिका, पिछडिएको वर्गको हितमा बढी केन्द्रित भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ९२ करोड ९७ लाख ३६ हजार ४२९ को बजेट ल्याएको छ ।

  • ‘घरमा अन्न छैन, जंगलमा कन्दमूल’

    ‘घरमा अन्न छैन, जंगलमा कन्दमूल’

    धादिङ । धादिङको दक्षिणी भेगका चेपाङहरुको घरमा चैत लागेदेखि कहिलेकाँही मात्रै घरमा खानेकुरा पाक्छ, धेरै छाक कन्दमूलको भर पर्नुपर्ने बाध्यता छ ।  यतिवेला चेपाङवस्तीमा खाद्यन्नको अभाव सुरु भएको छ ।

    आफ्नो खोरियाको उब्जनीले मुस्किलले ६ महिना खान पुग्ने चेपाङ बस्तीमा चैत लागेपछि कन्दमूलले छाक टार्र्नुपर्ने वाध्यता रहेको नेपाल चेपाङ संघ धादिङ अध्यक्ष भिमबहादुर चेपाङ बताउँछन् ।

     

    अध्यक्षका अनुसार ‘टाँकीको मुन्टा, कोइरालो, सिब्लिगान र सिस्नोका साथै गिठ्ठा, भ्याकुर, प्यांल्याङ, तरुल, चोया, भर्लाङ, ट्याकुना लगायत कन्दमुलको भरमा चेपाङहरु छन् ।

    ‘चेपाङ बस्तीमा जेठ र असार महिना अन्न बाली भित्रिइसकेको हुँदैन, साग सिस्नु पनि बारीमा हुँदैन । कन्दमूल पनि सकिन्छ ।’ नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष चेपाङले भन्छन, ‘मंसिरमा भित्रिएको अन्न जेनतेन चैत वैशाखसम्म चल्छ । साउनमा मकै नपाकुन्जेल हरेक वर्ष चेपाङ गाउँमा भोकमरी नै हुन्छ’ ।

    कूलमान चेपाङ बेनीघाट रोराङ गाँउपालिका ८ का निर्वाचित वडा सदस्य हुन । ६ जनाको परिवार भएका कुलमानको घरमा हिजोआज खाने कुराको अभाव छ । अघिल्लो बर्षमा पनि समस्या नभएको होइन ,यो वर्ष निषेधाज्ञा भएपछि झन समस्या थपिएको उनी बताउँछन् ।

    ज्यालामजदुरी गरेर खानलाई बजार झर्न पाएका छैनन् । कमाई गर्ने आधार नभएपछि साहुसँग उधारो माग्न पनि अप्ठेरो भएको उनले वताए ।
    जेठ र असार महिना बाँच्न कठिन हुने पीडा सुनाउँदै उनले भने, ‘कसैका पनि घरमा अन्नपात छैन, जंगलमा गिठा भ्याकुर पनि राम्रोसँग पाइँदैन परिवारलाई के खुवाउने भन्ने चिन्ता गाउँलेहरुमा छ ।’

    महाभारत लेकमा रहेका चेपाङ बस्तीका मानिसहरु खाने कुराको खोजी गर्न जंगल जान थालेको बेनीघाट रोराङ गाँउपालिका ८ का वडा अध्यक्ष विर बहादुर श्रेष्ठले बताए । घरमा खानेकुराको अभाव भएपछि चेपाङबस्तीमा घरपिच्छे मानिसहरु विरामी भएका छन् । वडामा तीन सय ५० चेपाङ परिवार छन् ।

    जिल्लाको यारवाङ, भारिङटार, जिरवाङ, केततुङ,दुङवाङ, जिरवाङ, धाङमाङ, साचाक, मिजार गाँउ र ब्रुसबाङ लगायतका चेपाङ बस्तीमा खानेकुराको अभाव हुने थालेको छ ।

    चेपाङहरुको एकै परिवार पाँच जना देखि १४ जनासम्म छन् । गत वर्ष कोरोना माहामारीको संक्रमण रोक्न गरिएको वन्दावन्दीले रासायनिक मल अभाव हुदाँ यहाँका चेपाङहरुले बारीको मकैमा मल हाल्न पाएनन् । मल नहालेका कारण मकै उव्जाउ पनि कम भयो ।

    वर्षौदेखि चेपाङहरु भोक र रोगसँग मात्र लडिरहनु परेको छ । ३७ वर्षसम्म प्रजा विकास कार्यक्रम चल्यो तर ९९ प्रतिशत चेपाङहरुको अवस्था उस्तै रहेको अध्यक्ष चेपाङले बताए ।

     

  • चेपाङको आयआर्जन वृद्धिका लागि बोयर बोका वितरण

    चेपाङको आयआर्जन वृद्धिका लागि बोयर बोका वितरण

    चितवन । बाख्रापालनबाट चेपाङको आयआर्जन वृृद्धिका लागि उन्नत जातका बोयर बोका वितरण गरिएको छ । चितवनको इच्छाकामना गाउँपालिका-१ काउले र कालिङडाँडाका चेपाङलाई चितवनको सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट र गाउँपालिकाले बोका वितरण गरेका हुन् ।

    चेपाङ समुदायको जीवनस्तर उकास्ने उद्देश्यले ‘सबै यात्राको सुरुवात एक सपनाबाट हुन्छ’ नामक परियोजना शुरु गरेको इम्प्याक्टले फलफूलका विरुवापछि मंग लबार बोयर जातको बोका वितरण गरेको हो । गाउँपालिकाको ३० र इम्प्याक्टको ७० प्रतिशत लगानीमा बोका वितरण गरिएको हो ।

    परियोजनाअन्तर्गत यहाँका चेपाङ समुदायलाई ११ समूहमा विभाजन गरी प्रत्येक समूहलाई दुई/दुईवटाका दरले २२ बोका वितरण गरिएको छ । चेपाङ बस्तीमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले संयुक्तरूपमा समूहका अगुवालाई बोका हस्तान्तरण गरे ।

    गाउँपालिका अध्यक्ष गुरुङले चेपाङ समुदायको आर्थिक तथा सामाजिक विकासका लागि गाउँपालिकाले चेपाङ उत्थान कार्यविधि तयार गरेको र कार्यविधिअनुसार नै चेपाङ समुदायलाई सपना भिलेज सोसल इम्प्याक्टको सहकार्यमा बोयर जातका बोका वितरण गरिएको बताए । ‘अब मागेर होइन गरेर खानुपर्छ’ भन्ने नाराका साथ गरेर खाने वातावरण बनाउन विभिन्न आयआर्जनमूलक कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

    रासस