Tag: गैँडा

  • चितवनमा १० महिनामा ३४ गैँडा मरे

    चितवनमा १० महिनामा ३४ गैँडा मरे

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा साउनयता ३४ गैँडा मरेका छन् । दुई चोरी शिकारीबाट मारिएको अनुमान छ भने अन्य प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जमा गत आर्थिक वर्षमा प्राकृतिक कारणबाट ३३ गैँडा मरेका थिए । सबैभन्दा बढी एकै वर्षमा प्राकृतिक कारणबाट ४३ सम्म गैँडा मरेको तथ्यांक छ ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सबैभन्दा बढी जुधेर गैँडा मरेका छन् । बुढो भएर, बाघको आक्रमणबाट, दलदलमा फसेर र खाल्डोमा परेर गैँडा मरेको उनले जानकारी दिए।

    गैँडाको सङ्ख्या बढेसँगै प्राकृतिक कारणले मर्ने सङ्ख्या पनि बढ्दै गएको उहाँको भनाइ छ । निकुञ्जले प्राकृतिक कारणबाट गैँडाको मृत्यु घटाउन आवश्यक सावधानी अपनाउने काम भइरहेको तिवारी बताउनुहुन्छ । वर्षाको समयमा प्राकृतिक कारणबाट धेरै गैँडा मर्ने गर्दछन् । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी हुँदा प्राकृतिक मृत्यु त्यसै क्षेत्रमा बढी हुने गरेको छ ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले पश्चिमी क्षेत्रका गैँडालाई पूर्वमा स्थानान्तरण गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो । पानी र घाँसे मैदान व्यवस्थापन राम्रो गरेर पश्चिमका केही गैँडा पूर्व लैजानसकेमा प्राकृतिक मृत्यु केही घटाउन सकिने निकुञ्ज प्रशासनको अनुमान छ ।

    पछिल्लो गणना अनुसार चितवनमा ६९४, बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा तीन गैँडा रहेका छन् । कूल सङ्ख्या ७५२ रहेको छ । रासस

  • गैँडा मरेको घटनामा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी

    गैँडा मरेको घटनामा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी

    चितवन । सडक विस्तारका क्रममा निर्माणाधीन नालीको खोँचमा परेर गैँडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले अनुसन्धान अधिकृत तोकेर सो निर्माण कम्पनीका सञ्चालक खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो । निकुञ्जले सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ ।

    गत आइतबार नालीको खोँचमा परेर गैँडा मरेको थियो । त्यसलगत्तै वन तथा वातावरण मन्त्रालयले वन विभागका उपमहानिर्देशक डा राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, विभागका योजना अधिकृत दिलबहादुर उर्जापुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल सदस्य रहेको छ ।

    समितिले १० दिनभित्र प्रतिवेदन बुझाउनेछ । बिहीबारबाट समितिले घटना भएको चितवन जिल्लामा सरोकारवालाहरुसँग छलफल थालेको छ । निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार बिहीबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसँग छुट्टाछुट्टै छलफल गरेको थियो । आज सामुदायिक वनका पदाधिकारी र सरोकारवालाहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

    डिभिजन सडक कार्यालय चितवनले पुल्चोकदेखि गोन्द्राङसम्म ६ लेन सडकका लागि ठेक्का लगाएको थियो । सोही ठेक्काअन्तर्गत सगुनले काम गरेको हो । सडकले वन्यजन्तु कोरिडोरमा निर्माण गर्दा पालना गर्नुपर्ने ऐन कानुन अवलम्बन नगरी काम गर्दा घटना भएको निकुञ्जले जनाउँदै आएको छ ।

  • गैंडा मारेको अभियोगमा पुर्पक्षका लागि थुनामा

    गैंडा मारेको अभियोगमा पुर्पक्षका लागि थुनामा

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैंडा मारेको अभियोगमा पक्राउ परेका राजमान मगर भनिने राजमान थापा मगर कारागार चलान भएका छन् । चालु आर्थिक वर्ष २०७७/७८ मा निकुञ्जमा चोरी शिकारीका कारण मरेका चार वटा गैंडा मुद्दाका फरार उनलाई आइतबार जेल चलान गरिएको हो ।

    नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैंडाकोट नगरपालिका-३ का ३० वर्षीय मगरलाई आइतबार पुर्पक्षका लागि जेल चलान गरिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए ।

    स्थानीय संरक्षणकर्मीहरूको सहयोगमा मगरलाई पक्राउ गरी नवलपुर जिल्ला अदालतसमक्ष हाजिर गराइएको अधिकारीको भनाइ छ । अदालतको आदेशानुसार मगरलाई पुर्पक्षका लागि कारागार पठाइएको अधिकारीले बताए ।

    आइतबार कारागार पठाइएका थापाको नाममा गैंडा मारेर खाग बिक्री गरेको आरोपमा नवलपुर जिल्ला अदालतमा दुई तथा चितवन जिल्ला अदालतमा एउटा मुद्दा दायर गरिएको अधिकारीले बताए ।

    थापासहित यस वर्ष गैँडा मुद्दामा २७ जनालाई पक्राउ गरी कानूनी कारबाही गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

    रासस

  • नेपाली गैँडा भारत पुग्ने चिन्ता

    नेपाली गैँडा भारत पुग्ने चिन्ता

    रासस । चितवन राष्ट्रिय निकुञ्जबाट भारततर्फ दुर्लभ एकसिङ्गे गैँडा जाने चिन्ता बढेर गएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको चाप बढेपछि सीमा जोडिएको भारततर्फ जाने चिन्ता बढेर गएको हो ।

    केही वर्षअघि बर्सातको समयमा बगेर भारत पुगेका १० वटा गैँडा उद्धार गरी ल्याइएको भए पनि अन्य केही गैँडा ल्याउन सकिएको छैन । त्यसपछिका वर्षहरुमा पनि बाढीले बगाएर गैँडा भारत पुर्याएको अनुमान छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार हाल निकुञ्जको मुख्य कार्यालय कसराबाट पश्चिमतर्फ झण्डै ७० प्रतिशत हाराहारी गैँडा रहेको अनुमान छ । आउँदो चैत ९ गतेबाट गैँडा गणना गरिँदै छ । गणनापश्चात् यकिन तथ्याङ्क आउने उनले बताए । सानो ठाउँमा उच्च चाप छ । निकुञ्जको पश्चिमी क्षेत्रमा भारतीय सीमामा वाल्मीकी टाईगर रिजर्ब रहेको छ । पर्साको ठोरीदेखि त्रिवेणीसम्म भारतीय सीमामा पर्सा र चितवन राष्ट्रिय निकुञ्ज जोडिएका छन् ।

    सीमा क्षेत्रमा चुरे पहाड, खोला, जङ्गल र मानवबस्तीसमेत छ । बरालले नारायणी नदी हुँदै र चुरे पहाडबाट समेत गैँडा भारत जाने सम्भावना रहेको बताए । उनका अनुसार नदीबाट बगेर गण्डक ब्यारेज हुँदै गएका गैँडा फर्किन असम्भव छ । गण्डक ब्यारेजपछि नदीको दुवैतर्फ ठूला तटबन्ध रहेकाले नदीबाट बाहिरिनसमेत कठिन हुने उनले बताए। पुनः फर्किएर आउन पनि बाँधका कारण सम्भावना छैन । ‘गण्डक ब्यारेज र त्यसपछिको नदी क्षेत्र वन्यजन्तुमैत्री नहुँदा समस्या भएको छ ।’ गैँडा गणनापछि अवस्था हेरेर आन्तरिक स्थानान्तरण गर्नुपर्ने उनको भनाइ छ ।

    निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत एवं प्रदेश नं २ का वन सचिव रामचन्द्र कँडेल सीमा क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएको भन्दै भारततर्फ जाने खतरा बढेको बताउँछन् । घाँसे मैदान र पानीका पोखरी निर्माण गरी आन्तरिक स्थानान्तरण गरेर पूर्वको खगेन्द्र मल्ली र पदमपुर क्षेत्रमा ल्याउनुपर्ने कँडेलको भनाइ छ । उनले भने, ‘निकुञ्जको पूर्वी क्षेत्रमा गैँडाको बासस्थानका लागि राम्रो व्यवस्थापन गर्नुपर्छ ।Œ राप्ती नदीमा भएको उत्खनन र नदीको पानी खेतीमा सिँचाइका लागि ल्याउँदा निकुञ्जमा पानीको अभाव भएको उनको भनाइ छ ।

    नदीको पानी घटेर निकुञ्जमा चिसोपन कम हुँदा घाँसे मैदान र पानीको पोखरी व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । यसबाट निकुञ्जका गैँडा पश्चिमतर्फ केन्द्रित भएको उहाँको भनाइ छ । निकुञ्जको पूर्वी क्षेत्रबाट बाढीमा नदीमा बगेर केही तल पुगेर उत्रिन सक्ने भए पनि सीमा क्षेत्रबाट बगेका गैँडा भने भारत पुग्ने गरेका छन् ।

    कँडेल यसै निकुञ्जमा प्रमुख संरक्षण अधिकृत हुँदा बगेर भारत पुगेका १० वटा गैँडा भारतसँग समन्वय गरी उद्धार गरेर ल्याइएको जनाए। पछिल्लो समय भारतले समेत गैँडा फिर्ता गर्न आनाकानी गर्दै आएको छ । निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत कमलगञ्ज कुँवर सीमा क्षेत्रको भेलौजी आसपासका क्षेत्रमा गैँडाको सङ्ख्या बढेकाले भारत जाने सम्भावना पनि उत्तिकै रहेको बताउँछन् । एक दिनमा गैँडा ४० किलोमिटरभन्दा बढी आवातजावत गर्ने भन्दै उनले पूर्वी क्षेत्रको हेटौँडा, रौतहट र सर्लाहीसम्म गैँडा पुग्ने गरेको बताए। उनले भने, ‘नेपाली क्षेत्रमा गएका गैँडा उचित बासस्थानको अभावमा फर्किएर आउँछन् तर भारत पुगेका भने आउन असम्भवजस्तै छ ।’

    नेपालकै विभिन्न ठाउँमा गैँडा पुग्ने भए पनि राम्रो बासस्थान खोज्दै पुनः निकुञ्जमै फर्किने गरेका छन् । कुँवरले भारतसँग समन्वय गरेर त्यहाँबाट आउनका लागि जैविक मार्गको व्यवस्थापन गर्नुपर्ने बताए । एउटा देशबाट अर्को देशमा वन्यजन्तु आवतजावत गर्न रोक्न नमिल्ने भए पनि यहीँ उचित बासस्थानको व्यवस्थापन गर्न सके गैँडा भारत जानबाट रोकिने उनको तर्क छ ।

    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले सीमा क्षेत्रको चुरे क्षेत्रबाट जाने सम्भावना कम भए पनि अमुवा खोला र ठोरीतर्फबाट गैँडा भारत जान सक्ने बताए । वर्षातको समयमा बगेर जाने खतरा सबैभन्दा बढी रहेको उनको भनाइ छ । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा रहेका छन् । यसै वर्ष गणना गरिँदै छ ।

    निकुञ्जमा हुर्काएर राप्ती र नारायणी नदीमा छाडिएका गोही भारत पुग्ने गरेका छन् । जसका कारण बर्सेनि नदीमा गोही छोडिएको भए पनि सङ्ख्या बढाउन सकिएको छैन । भारततर्फ गएका गोही ब्यारेजका कारण नेपाल फर्किन कठिन हुने गरेको छ ।

  • चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला

    चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला

    चितवन । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्र अन्तर्गत निकुञ्जको मुख्य क्षेत्रमा भाले गैँडा मृतावस्था फेला परेको छ । निकुञ्जको शहरी क्षेत्रमा पर्ने नारायणी नदीको कलकत्ता टापुमा करीब ३० वर्षीय भाले गैँडा मृत फेला परेको हो ।

    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले सहरी क्षेत्रमा दुईवटा भाले गैँडा जुधेर घाइते हुँदा एउटा गैँडा मरेको जानकारी दिए । उनका अनुसार यही फागुन २४ गते उक्त गैँडा मृतावस्थामा फेला परेको थियो । मृतावस्थामा भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेकोसहायक संरक्षण अधिकृत समेत रहेका उनले बताए ।

    चालू आर्थिक वर्ष २०७७÷७८ मा निकुञ्जमा २२ प्राकृतिक र चार चोरी शिकारीले गैँडा मरेका थिए । हरेक पाँच वर्षमा हुँदै आएको राष्ट्रिय गैँडा गणना यस वर्ष आगामी चैत ९ गतेदेखि हुने जनाइएको छ । गैँडा गणनाको तयारी शुरु भइसकेको छ ।

    निकुञ्जमा पाटे बाघसमेत मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारीका अनुसार यही फागुन २३ गते सौराहा क्षेत्रमा पर्ने निकुञ्जको मुख्य क्षेत्र चपरचुली खहरे खोलामा करीब चार वर्षीय पाटेबाघ मृतावस्थामा भेटिएको हो ।

    प्राकृतिक कारणबाट मरेको सो पाटेबाघको लिङ्ग पहिचान हुन नसकेको निकुञ्जले जनाएको छ । चालू आव २०७७÷७८ मा निकुञ्जमा मृत्यु भएको यो पहिलो पाटेबाघ हो ।

  • चितवन राष्ट्रिय निकुञ्जमा दुई वर्षको गैँडा मृत फेला

    चितवन राष्ट्रिय निकुञ्जमा दुई वर्षको गैँडा मृत फेला

    चितवन राष्ट्रिय निकुञ्जमा चोरीशिकारी र प्राकृतिक कारणले निरन्तर गैँडा मर्ने क्रम रोकिएको छैन । बुधबार दुई वर्षको पोथी गैँडा (केटी) मृत फेला परेको हो ।

    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती नगरपालिका-१७ स्थित अमलटारीअन्तर्गत गुन्द्राही ढकाह मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा करिब दुई वर्ष उमेरको पोथी बच्चा गैँडा मृतावस्थामा फेला परेको छ । सो गैँडाको बच्चा प्राकृतिक कारणले मरेको प्रारम्भिक अनुमान गरिएको उनले जानकारी दिए ।

    मृत्युको कारणबारे थप अध्ययनका लागि आवश्यक नमूना सङ्कलन गरी भेटेरिनरी शाखामा पठाइएको उनले बताए । उक्त बच्चाको ब्रह्म खाग खुर सुरक्षित रहेका छन् । चालु आर्थिक वर्षको हालसम्म योसहित २५ गैँडा मरेका छन् । तीमध्ये चार वटा शिकारीले मारेका हुन् भने २१ प्राकृतिक कारणले मरेका हुन् ।