Tag: एसइई

  • काठमाडौं महानगरले भन्याे- एसईईको नतिजाअघि भर्ना नलिनू

    काठमाडौं महानगरले भन्याे- एसईईको नतिजाअघि भर्ना नलिनू

    काठमाडौं । काठमाडौं महानगरपालिकाले एसईईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

    महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन निमावाली २०७४ को नियम ४८ (६) मा भएको व्यवस्थाविपरीत कतिपय माध्यमिक विद्यालय र कलेजले शैक्षिकसत्र २०७७ को एसईईको परीक्षा नतिजा प्रकाशन नहुँदै कक्षा ११ को भर्ना नलिन सबै मावि कलेजलाई आग्रह गरेको हो ।

    शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जारी गरेको सूचनामा भनिएको छ, ‘कक्षा ११ मा भर्ना गर्दाको समयमा नै ११ र १२ मा विद्यार्थीसँग लिने शुल्क तोक्नुपर्ने, विद्यार्थीसँग रजिस्टे«सन दस्तुर, परीक्षा शुल्क लिँदा राष्ट्रिय परीक्षा बोर्डले तोकेको शुल्क मात्र लिनुपर्ने, विद्यार्थीलाई किताब, कपी, पोशाक र शैक्षिक सामग्री विद्यालयले भनेकै स्थानमा किन्नका लागि बाध्य नबनाउनु ।’

    त्यसैगरी कक्षा ११ र १२ मा विद्यार्थीलाई दिइने सेवा र उनीहरुबाट लिइने शुल्क केकति हो यही साउन १५ गतेभित्र विभागलाई बुझाउनुपर्ने र कलेजले तोकेबमोजिम छात्रावृत्ति अनिवार्यरुपमा प्रदान गराउने तथा उक्त सुविधा पाउने विद्यार्थीको विवरण शैक्षिकसत्र शुरु भएको दुई महिनाभित्र विभागमा बुझाउन भनिएको छ ।

  • एसईईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन

    एसईईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गर्दै असार २० गतेसम्ममा सबै विद्यालयले आफ्ना विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरी पठाउने समयसीमा निर्धारण गरेको बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

    विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र समन्वय समितिले राष्ट्रिय परीक्षा बोर्डमा पठाइसक्नुपर्ने भएको छ ।

    असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसईईको अन्तिम नतिजा प्रकाशन गर्ने र प्रमाणपत्र जारीलगायतको काम बोर्डले गर्ने भएको छ । कुनै अवरोध नभए बोर्डले एसइईको नतिजा आगामी साउन १५ भित्र पूरा सार्वजनिक गर्न सक्ने र भदौदेखि कक्षा ११ को पढाइ शुरु गर्न सक्ने गर्ने गरी बोर्डले नतिजा प्रकाशनको तयारी गरेको जनाएको छ ।

    बोर्डले विद्यार्थीको आन्तरिक मूल्याङ्न गर्न मुख्य विषय शिक्षकहरूलाई जिम्मेवार बनाउँदै विद्यालयका प्रधानाध्यापक, वरिष्ठ शिक्षक, अङ्ग्रेजी, गणित र विज्ञान शिक्षक गरी पाँच जना सम्मिलित पाँच सदस्यीय समिति बनाएर उनीहरुले गरेको हस्ताक्षरसहितको अन्तिम मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गर्ने भएको छ ।

    गत वर्ष प्रधानाध्यापक एक्लैले गरेको र जथाभावी नम्बर हालेर पठाएको गुनासो आएपछि यस पटक पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको हो । विद्यार्थीको अत्यधिक मूल्याङ्कन गरिए कारण खोल्नुपर्ने प्रावधान बोर्डले राखेको छ ।

    त्यसमा सहमत हुन नसकिएको अवस्थामा उक्त मूल्याङ्कनलाई फिर्ता गर्न सक्ने प्रावधान परीक्षासम्बन्धी कार्यविधिमा राखिएको बोर्डले जनाएको छ । रासस

  • बहसमा एसइई : खारेज गर्नुपर्ने शिक्षाविद्को राय, वैकल्पिक कानुन चाहिने बोर्डको अडान

    बहसमा एसइई : खारेज गर्नुपर्ने शिक्षाविद्को राय, वैकल्पिक कानुन चाहिने बोर्डको अडान

    काठमाडौं । अघिल्लो वर्ष चैत्रमा सञ्चालन हुने एसइई परीक्षा कोरोना महामारीका कारण स्थगित भयो । परीक्षा रोकिएपछिको अन्योलका बेला शिक्षाविद्हरूले सुझाए, आन्तरिक मूल्यांकनको विकल्प । एसइईमा विद्यार्थीको मूल्यांकन गर्ने अधिकार र जिम्मेवारी सम्बन्धित विद्यालयलाई दिनुपर्ने उनीहरुको प्रस्ताव थियो ।

    तर, नियमित एसइई र कक्षा १२ को परीक्षा गराउँदै आएको राष्ट्रिय परीक्षा बोर्ड यो सुझाव मान्न तयार थिएन । परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले यो प्रस्तावलाई व्यवहारमा लागू गर्न नसकिने अडान लिए ।

    उनले भनेका थिए, ‘स्कुलले मूल्यांकन गरिदिए हुन्छ भन्ने सैद्धान्तिक कुरा मात्र हो । बोर्ड परीक्षाको आफ्नै नियम र कानुन छ ।’

    उनी राष्ट्रिय परीक्षा बोर्डले नै परीक्षा सञ्चालन गर्नुपर्छ भन्ने पक्षमा थिए । तर महामारीमा परीक्षा सञ्चालन सम्भव भएन । विज्ञहरूको निरन्तर दबाबपछि सरकारले आन्तरिक मूल्यांकनमै जाने निर्णय गर्‍यो । पछि कार्यविधि बनाएर आन्तरिक मूल्यांकन गराउन उनी बाध्य बने ।

    यो वर्ष पनि लकडाउनका कारण आन्तरिक मूल्यांकनकै विधिमा जाने निर्णय मन्त्री परिषदले गरिसकेको छ । तर, पौडेल यसमा सन्तुष्ट देखिँदैनन् । उनीजस्तै सरोकारवाला विभिन्न पक्ष आन्तरिक मूल्यांकनका आधारमा एसइईको नतिजा प्रकाशित गर्ने कुराको विपक्षमा छन् । ‘महामारीमा मात्र आन्तरिक मूल्यांकन गर्ने हो, त्यसपछि परम्परागत नै हुन्छ’ भन्ने उनीहरूको भनाइ छ ।

    नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा परीक्षा बोर्ड अध्यक्षको व्यापारिक सोचका कारण एसइई परीक्षा भौतिकरुपमै गराउन चाहेको आरोप लगाउँछन् ।

    ‘उहाँको व्यापारिक सोच हो । परीक्षा सञ्चालन गरे शक्तिमा रहिन्छ र पैसा उठाउन पाइन्छ भन्ने विश्वास उहाँमा छ,’ थापा कटाक्ष गर्छन् ।

    शिक्षाविद् विद्यानाथ कोइराला पनि परिवर्तन र शिक्षामा सुधार नचाहनेहरूले एसइईलाई पुरानै ढर्राबाट सञ्चालन गर्न चाहेको बताउँछन् ।

    ‘एसइई परीक्षा बोर्डले सञ्चालन गरेन भने त कसरी शक्तिमा रहन्छ र ! विद्यार्थीको भविष्य अन्योल हुन्छ भन्नेबारे सोच आउनुपर्‍यो नि,’ उनले भने, ‘परम्पराभन्दा बाहिर जान नचाहने र जागिरमा टाँसिरहन चाहने प्रवृत्ति देखियो ।’

    एसइई खारेजीको बहस
    महामारीभन्दा अगाडि देखि नै नेपालमा एसइई खारेज गर्नुपर्ने बहस सुरु भएको थियो । त्यसमा कुनै प्रतिक्रिया नजनाएको सरकारले महामारीयता भने आन्तरिक मूल्यांकनमा जान बाध्य भयो ।

    संसदको शिक्षा तथा स्वास्थ्य समितिको ०७७ साल जेठताका बसेको बैठकले एसइई खारेजीको लागि शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो । समितिको सभापति जयपुरी घर्तीको सभापतित्वमा बसेको बैठकले १० र ११ का परीक्षा स्थानीय तहबाटै सञ्चालन गर्न मन्त्रालयलाई लिखित निर्देशन दिएको थियो ।

    ‘१२ कक्षाको परीक्षा बोर्डले लिने भएपछि बीचमा एसइई नराख्दा राम्रो हुन्छ भनेर सुझाव दिएका हौं । यसले बच्चालाई टेन्सन मात्र हुन्छ,’ घर्ती भन्छिन् ।

    तर मन्त्रालयले समितिको सुझावलाई चासो दिएन । पटक-पटक घच्घच्याउँदा पनि मन्त्रालयले यो विषयमा कुनै निर्णय गरेको छैन । घर्ती अहिले सरकारले गरेको आन्तरिक मूल्यांकनको निर्णयबाट पनि असन्तुष्ट छिन् ।

    ‘अहिले पनि एसइईको नतिजा आन्तरिक मूल्यांकनबाट निकाल्ने भनेर निर्णय गरेको रहेछ । तर एकदम गलत गरिरहेको छ । यतिबेलै बरु कक्षा १० बनाइदिए हुन्छ नि । आखिर १२ को परीक्षा त राष्ट्रिय स्तरमै भइहाल्छ,’ उनी भन्छिन् ।

    सरकारले विद्यार्थीको करिअरलाई ब्रेक गरिदिने खालको शिक्षा दिएको घर्तीको गुनासो छ । यसरी एसइई गराएर विद्यार्थीहरूलाई तल्लो कक्षामै रोकिदिनाले विद्यार्थीहरूको भविष्य अन्योल हुने उनले चिन्ता व्यक्त गरिन् ।

    ‘यसको सबैभन्दा बढी मारमा सरकारी स्कुलमा पढेका विद्यार्थीहरू हुन्छन्,’ उनले भनिन् ।

    एसइईबारे अघिल्लो वर्ष तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग आफ्नो बहस भएको सुनाउँदै उनी भन्छिन्, ‘एसइईमा २० हजार विद्यार्थी फेल भए । पहिला सि ग्रेड ल्याएकाले पनि साधारण विषय पढ्न पाउने थिए । पछिचाहिँ भर्ना नगर्ने भनेर शिक्षामन्त्रीले भन्नुभएको रहेछ । मैले निकै बहस गरेँ । सि ग्रेड ल्याएकोले पनि भर्ना पाउनुपर्छ भनेर भनेँ । एसइईनै खारेजीका लागि पटक-पटक भनेँ ।’

    शिक्षाविद् बालचन्द्र लुइँटेल सरोकारवालाहरू विद्यालयलाई उत्तरदायी बनाउन उदासिन देखिएको बताउँछन् । एसइईबारे सही चेतना नै उनीहरुमा नरहेको उनको बुझाइ छ ।

    ‘हाम्रौ शैक्षिक चेतनामा ठूलो समस्या छ । त्यो समस्या आधुनिक शिक्षाको नाममा एसएलसी बोर्डको स्थापना गरेदेखि नै आएको हो । त्यो बोर्डको परिकल्पना तत्कालीन अवस्थामा इस्ट इण्डिया कम्पनीले भारतमा चलाएको शिक्षा प्रणालीको नक्कल थियो । यसले मूल्यांकनलाई सांघुरो बनायो,’ उनी भन्छन् ।

    अझै पनि एसइईको नाममा सोही नक्कलको निरन्तरता दिँदै आएकाले विद्यार्थीहरूको सिकाइमा यसले असर पारेको उनी बताउँछन् ।

    ‘त्यसकारण विद्यालयलाई नै उत्तरदायी बनाउँदै लैजानुपर्छ । एसइई खारेज गर्नुपर्छ,’ उनको तर्क छ ।

    शिक्षक महासंघका अध्यक्ष थापा कक्षा १० देखि १२ सम्म नै अहिले माध्यमिक तह भएकाले कक्षा १० को छुट्टै परीक्षा लिन आवश्यक नरहेको बताउँछन् ।

    ‘अहिलेको ऐनले ९–१२ लाई माध्यमिक तह मान्छ । त्यसैले कक्षा १० को छुट्टै परीक्षा दिइरहनु आवश्यक छैन । १० र ११ को परीक्षा पनि ९ कक्षासम्म लिएजस्तै गरी लिनुपर्छ । राष्ट्रिय रुपमा लैजानुको आवश्यकता छैन ।’

    शिक्षाविद् कोइराला पनि कक्षा १० को परीक्षा कक्षा ९ जसरी नै गर्न सकिने तर्क राख्छन् । ‘यो निर्णय त सरकारले गर्न सक्छ नि । एसइईलाई कक्षा १० बनाउँदा कहाँनिर समस्या देखिन्छ ? एक दुई जनाको स्वार्थ हेरेर मात्र हुन्छ ?’ उनी थप्छन् ।

    बोर्ड भन्छः अन्तर्राष्ट्रिय अभ्यास पनि हेर्नुपर्छ
    परीक्षा बोर्डकै सदस्यसचिव दुर्गालप्रसाद अर्याल एसइईबारे अन्तर्राष्ट्रिय अभ्यास पनि हेर्नुपर्ने बताउँछन् ।

    ‘बाह्य देशका अभ्यास हेर्दा कतिपय अवस्थामा १० को परीक्षा विद्यालयले लिएको देखिन्छ त कहिले बोर्डले लिएको देखिन्छ । कतिपय देशमा भने दुईवटैको परीक्षा बोर्डले नै लिएको अवस्था छ । कतिपयको १० र १२ को परीक्षा लिने छुट्टै बोर्ड छन् । ती सबै अभ्यास हेरेको आधारमा पनि हामीले सिक्न सक्छौं,’ उनले भने ।

    पहिले विद्यालय शिक्षामा चार वटा तह थिए । आठौं संशोधन भएर हाल दुई वटा तह छन–् आधारभूत र माध्यमिक । अहिले आभारभूत तहको अन्तिम परीक्षा कक्षा ८ को परीक्षा हो, जुन स्थानीय तहअन्तर्गत नै हुन्छ ।

    अर्याल पनि माध्यमिक तहमा एउटा मात्र परीक्षा बोर्डले सञ्चालन गर्दा हुने भन्ने कुरामा सकारात्मक देखिन्छन् ।

    ‘माध्यमिक तहमा कक्षा १२ को मात्र परीक्षा केन्द्रले गर्दा हुन्छ भन्ने मत आएको छ । त्यो मत सकारात्मक पनि छ । एउटै तहमा विद्यार्थीहरूलाई फरक फरक समयमा किन दुःख दिने भन्ने हो,’ उनी भन्छन् ।

    तर यसको लागि ऐनमा व्यवस्था भए मात्र सहज हुने उनले तर्क गरे ।

    ‘राष्ट्रिय परीक्षा बोर्डलाई दिएको कानुनको आधार छ, त्यही काम मात्र बोर्डले गर्छ । अहिले भइरहेको ऐनमा बोर्डले कक्षा १० र १२ को परीक्षा सञ्चालन गर्ने कुरा छ । विकल्पको लागि जबसम्म ऐनमा व्यवस्था हुँदैन तबसम्म सम्भव हुन्न,’ उनी भन्छन् ।

    शिक्षक महासंघका अध्यक्ष थापा आफूहरू शिक्षा ऐन २०७८ ल्याउने प्रयासमा रहेको बताउँछन् ।

    ‘अध्यादेशमार्फत् पनि त्यो ल्याउन दबाब दिँदैछौं । अहिलेको ऐनमा १० कक्षाको काम पनि भनेको हुँदा बोर्डका पदाधिकारी लागेका हुन् । अब ऐनमा ११ सम्मको परीक्षा विद्यालय तहले गर्ने कुरामा जोड दिन लागिरहेका छौं,’ उनी भन्छन् ।

  • एसइई परीक्षाबारे चाँडै निर्णय गरिने

    एसइई परीक्षाबारे चाँडै निर्णय गरिने

    काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिड-१९ को महामारीका कारण स्थगन भएको २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० को ढाँचाबारे चाँडै टुङ्गोमा पुगिने जनाएका छन् ।

    गत वर्ष सम्बन्धित विद्यालयलाई आन्तरिक मूल्याङ्कन गराई प्रमाणीकरण गरिएको थियो । मन्त्री श्रेष्ठले आज सिंहदरबारस्थित कार्यकक्षमा पद बहालीपछि निर्देशन दिँदै महामारी रोकथाममा शिक्षा क्षेत्रले गर्न सक्ने सहयोगका विषयमा पनि चाँडै छलफल गरिने बताए।

    मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा वयावसायीक तालिम परिषद् (सिटिइभिटीको) सन् २०२१-२०२५ को पाँच वर्षे रणनीतिसम्बन्धी अध्ययन गर्न कार्यदल बनाउने विषयको फाइलमा हस्ताक्षर गरी बहाली गरेका हुन् ।

    मन्त्री श्रेष्ठलाई मन्त्रालयका सचिवहरु रामप्रसाद थपलिया र डा. सञ्जय शर्मालगायतले स्वागत गरेका थिए ।