Tag: एआईजी

  • सशस्त्र प्रहरीका आइजीपी प्रतिस्पर्धीहरू एकै जिल्लाका !

    सशस्त्र प्रहरीका आइजीपी प्रतिस्पर्धीहरू एकै जिल्लाका !

    काठमाडौं । सशस्त्र प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेल नुवाकोटका हुन् ।

    एकै जिल्लाका यी दुवैमध्ये एक जना सोमबारदेखि सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) हुनेछन् । आइतबार आईजीपी शैलेन्द्र खनालको पदावधि सकिँदै छ ।

    सोही दिन सरकारले आईजीपीमा केसी र पौडेलमध्ये एक जनालाई नियुक्त गर्नेछ । आईजीपीको लाइनमा रहेका दुई एआईजी र आईजीपी खनाल एकै ब्याजी हुन् ।

    एकै पटक उनीहरू प्रहरी नायव उपरीक्षक (डीएसपी)भएपछि २०५८ मा सशस्त्र प्रहरीमा गएका थिए । तत्कालीन नेकपा माओवादीलाई परास्त गर्न भन्दै २०५७ मै सशस्त्र प्रहरी गठन गरेको थियो ।

    सोही संगठनमा डीएसपीबाट प्रवेश गरेका खनाल आईजीपको चार वर्षे पदावधि सकेर सेवा निवृत्त हुँदा केसी र पौडेल प्रतिस्पर्धी बनेका हुन् ।

    उनीहरू प्रहरी निरीक्षक २०४९ वैशाख १९ गते भएका थिए । ठीक ३० वर्षपछि आईजीपीको प्रतिस्पर्धीमा होमिएका छन् ।

    २०६१ साल वैशाखमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी), २०६६ साल मंसिरमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), २०६९ जेठमा सशस्त्र प्रहरी महानिरीक्षक (डीआईजी) र २०७४ वैशाखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएका हुन् ।

    हाल एआईजी केसी कार्य तथा सीमा सुरक्षा विभाग प्रमुख छन् । अर्का एआईजी पौडेल भने प्रशासन तथा मानव स्रोत विभाग प्रमुख छन् ।

     

  • एआईजी सिफारिसमा असन्तुष्ट डीआईजीहरू अदालत जाने मुडमा

    एआईजी सिफारिसमा असन्तुष्ट डीआईजीहरू अदालत जाने मुडमा

    काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजीका) लागि भएको सिफारिसमा असन्तुष्ट नायब महानिरीक्षक (डीआईजी) हरूले अदालत जाने तयारी गरेका छन् ।

    वरीयता मिचेर सिफारिस गरेको भन्दै आफूहरू दाबेदार भएको उनीहरूको निष्कर्ष छ। बढुवा समितिले थपिएका तीन एआईजी दरबन्दीमा चैत १ गते डीआईजीहरू वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकको सिफारिस गरेको थियो ।

    समितिको सिफारिसविरुद्ध एक साताभित्र उजुरी गर्न सकिने कानुनी व्यवस्था छ । कसैले उजुरी नगरे उनीहरू एआईजीमा बढुवा हुने छन् ।

    वरीयतामा अगाडि रहेका डीआईजी घनश्याम अर्याल, प्रकाशजङ कार्की र ईश्वरबाबु कार्कीले सिफारिसविरुद्ध तीव्र असन्तुष्ट जनाइरहेका छन् । यी तीनैजना वर्तमान आईजिपी शैलेश थापाका ब्याचीहरू हुन् । उनीहरूले वैशाख १८ बाट अवकाश पाउँदैछन् ।

    सिफारिसमा परेका पन्त पनि आईजीपी थापाका ब्याची हुन् । अन्य दुईजना सिंह र धानुक एआईजी भए उनीहरू दुवै भावी आईजीपीका लागि प्रतिस्पर्धी मानिनेछन् ।

    सामाजिक सञ्जालमा सक्रिय देखिने ईश्वरबाबु कार्कीले सिफारिसविरुद्ध तीव्र असन्तुष्टि जनाउँदै अदालत जाने संकेत गरेका छन् ।

    ‘अन्तिम आशा त न्यायालयकै रह्यो । हेरौँ जाम कि नजाम’ भन्दै ट्वीटरमा भोटिङ पोल बनाएका कार्कीले जाम भन्ने पक्षमा ८४ प्रतिशतभन्दा बढी मत आएपछि आइतबार लेखेका छन्, ‘फाइनल्ली ! डेमोक्रेसीमा बहुमतको कदर त गर्नैपरो । ‘ओखली में सिर दिया तो मूसल का क्या डर ।’

  • प्रहरीको कार्यसम्पादन मूल्यांकन : एआईजीपीमा पाल पहिलो

    प्रहरीको कार्यसम्पादन मूल्यांकन : एआईजीपीमा पाल पहिलो

    काठमाडौं । एक वर्षअघि २०७७ असार २३ गते सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) वरीयतामा पहिलो नम्बरमा रहेका शैलेस थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्‍यो ।

    थापालाई प्रहरी संगठनको प्रमुखमा सरकारले नियुक्त गर्दा दोस्रो वरीयतामा रहेका एआईजीपी हरिबहादुर पाल आईजीपीको फुली लगाउने लाइनबाट सधैँका लागि बाहिरिए । तर, प्रहरी संगठनको दोस्रो बरियतामा भने उनी अहिले पनि कायमै छन् ।

    थापा प्रहरी महानिरीक्षक बनेको ठीक एक वर्षपछि प्रहरी प्रधान कार्यालयले गत वर्षको साउनमा भएको प्रहरी अधिकृतको कार्यसम्पादन मुल्यांकन सम्झौताको नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार एआईजीपी पाल पाँच जना एआईजीपीमध्ये उत्कृष्ठ हुन सफल भएका छन् ।

    बुधबार प्रहरी प्रधान कार्यालयले प्रहरी मुख्यालयमा पत्रकार सम्मेलन गर्दै आईजीपीदेखि एआईजीपी र डीआईजीपीसम्मका प्रहरी अधिकारीको एक वर्षे कार्यसम्पादन मूल्यांकन सार्वजनिक गरेको हो । मूल्यांकनमा पाल एक नम्बरमा पर्न सफल भएका छन् ।

    भर्खरै एआईजीपीमा बढुवा भएका सहकुलबहादुर थापालाई छोडेर त्यतिबेला नेपाल प्रहरीका पाँचजना एआईजीपी र प्रहरी संगठन प्रमुख आईजीपी थापाको कार्यसम्पादन मूल्यांकन सम्झौताको सार्वजनिक भएको नतिजामा पाल उत्कृष्ट नम्बर ल्याउन सफल भएका हुन् ।

    सात महिनादेखि महानगरीय प्रहरी कार्यालय रानीपोखरीको जिम्मेवारी सम्हालिरहेका पालले नेतृत्व गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरी ९५ दशमलव ८९ प्रतिशत ल्याएर उत्कृष्ठ हुन सफल भएको हो । पाँचजना एआईजीपी तथा सातै प्रदेशका डीआईजीपीले प्रहरी महानिरीक्षक थापासँग एक वर्षअघि गत साउनमा कार्यसम्पादन सम्झौता गरेका थिए ।

    गृहसचिव महेश्वर न्यौपानेसँग कार्यसम्पादन सम्झौता गरेका प्रहरी महानिरीक्षक थापाले कार्यसम्पादनको मूल्यांकनमा ९०.५ प्रतिशत अंक ल्याएका छन् । उनले एक सय पूर्णाङ्कमा ९०.५ नम्बर ल्याएका हुन् ।

    एआईजीपीको कार्यसम्पादन मुल्यांकन नेपाल प्रहरी अस्पतालका निर्देशक एवम् एआईजीपी डा. आशा सिंह ७९ दशमलव १७ नम्बर ल्याएर उत्कृष्टको दोस्रो नम्बरमा पर्न सफल भएकी छन् । यस्तै ६७ दशमलव ११ अंक ल्याएर तेस्रो नम्बरमा मानव स्रोत तथा प्रशासन विभागका एआईजी निरजबहादुर शाही, चौथो नम्बरमा ६६ दशमलव ५२ अंक ल्याएर कार्य तथा अपराध अनुसन्धानका विश्वराज पोखरेल, ६६ दशमलव ७९ प्रतिशत अंक ल्याएर पाँचौ  तथा एआईजीपीको अन्तिम नम्बरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजीपी प्रद्युम्न कार्की पर्न सफल भएका छन् ।

    डीआईजीपीमा लामा उत्कृष्ट

    सात प्रदेशमध्ये वागती प्रदेशका डीआईजी उत्कृष्ट भएका छन् । अहिले प्रहरी महानिरीक्षकको सचिवालयमा रहेका वागमती प्रदेशका तत्कालीन डीआईजीपी वसन्त लामा ९७ दशमलव तीन नम्बर ल्याएर उत्कृष्ट हुन सफल भएका हुन् ।

    त्यस्तै तत्कालीन लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजीपी रविन्द्रबहादुर धानुक ९६ दशमलव ५६ अंक ल्याएर दोस्रो हुन सफल भएका छन् । उनी लुम्बिनी प्रदेशबाट सरुवा भएर अहिले प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागको कार्य निर्देशनालयमा कार्यरत छन् ।

    यस्तै ९६ दशमलव ०३ अंक प्राप्त गरेर तत्कालीन गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजीपी घनश्याम अर्याल तेस्रो नम्बरमा पर्न सफल भएका छन् । उनी त्यहाँबाट सरुवा भएर अहिले प्रहरी प्रधान कार्यालय विशेष व्यूरोमा कार्यरत छन् ।

    चौथोमा भने तत्कालीन प्रदेश नम्बर १ का प्रहरी प्रमुख ईश्वरबाबु कार्की ९५ दशमलव ९० अंक ल्याउन सफल भएका छन् । कार्की अहिले प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत छन् ।

    पाँचौमा तत्कालीन प्रदेश २ का प्रहरी प्रमुख डीआईजीपी धिरज प्रताव सिंह ९५ दशमलव ७४ प्रतिशत ल्याउन सफल भएका छन् । सिंह अहिले केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीमा कार्यरत छन् ।

    सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख छँदा चर्चा कमाएका उत्तमराज सुवेदी भने ९५ दशमलव २१ अंक प्राप्त गरेर छैठौंमा परेका छन् । उनी अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् । ९४ दशमलव ९६ अंक ल्याएर सबैभन्दा पछि अर्थात सातौ नम्बरमा कर्णाली प्रदेशका प्रमुख डीआईजीपी वसन्तकुमार पन्त परेका छन् । उनी अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखामा कार्यरत रहेका छन् ।

    नेपाल प्रहरीको समग्र कार्यसम्पादन सम्झौताको कार्यान्वयन अवस्था ८७ दशमलव ४६ प्रतिशत रहेको छ । प्रहरी प्रधान कार्यालय आफैंले गरेको कार्यसम्पादन मूल्यांकनमा नेपाल प्रहरी ८७ दशमलव ४६ अंक ल्याउन सफल भएको जनाइएको हो ।

    प्रहरी प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरका अनुसार आफैंले यति काम गर्छु भनेर जनाएको प्रतिवद्धता र त्यसमा हासिल सफलताको अवस्थालाई कार्यसम्पादन मूल्यांकनले देखाउँछ । यसले प्रहरी अधिकारीको वृत्तिविकासमा भने खासै फरक नपार्ने उनको भनाइ छ ।

    उनले भने, ‘यसले छुट्टै त्यस्तो कुनै अर्थ त राख्दैन । त्यो कार्यालय प्रमुख र कार्यालयले आफूले यो-यो गर्छु भनेर गरेको प्रतिबद्धतामा कति सफल भयो भन्ने मात्र हो ।’

  • प्रहरी अस्पतालमा कोभिड बिरामीलाई निःशुल्क उपचार र खाना : एआईजी डा. आशा सिंह (भिडियो)

    प्रहरी अस्पतालमा कोभिड बिरामीलाई निःशुल्क उपचार र खाना : एआईजी डा. आशा सिंह (भिडियो)

    कोभिड-१९ को दोस्रो लहरले नेपालमा दिनानुदिन संक्रमित संख्या उच्च भइरहेका छन् । निजी तथा सरकारी अस्पतालले बिरामीको चाप थामिननसक्नुको छ । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा पनि संक्रमितहरूको चाप अत्याधिक छ । अन्त भन्दा फरक के छ भने , सर्वसाधारण र प्रहरी लगायत सबैलाई प्राथमिकतामा राखेर कोभिडको उपचार गरिरहेको प्रहरी अस्पतालले बिरलै मात्र बिरामी फर्काउनुपर्ने अवस्था आएको अस्पतालको निर्देशक एआईजी डा. आशा सिंह बताउँछिन् ।

    उनका अनुसार प्रहरी अस्पतालले कोभिडको बिरामीलाई निःशुल्क उपचार गरिरहेको छ र औषधि र खाना पनि निःशुल्क गरेको छ । उनै डा. सिंहसँग कोभिड-१९ को महामारीमा अस्पतालले गरिरहेको उपचार र सेवासुविधाबारे नेपाल प्रेसले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

    कोभिड-१९को दोस्रो लहर आएसँगै धेरैजसो सरकारी र निजी अस्पतालको व्यवस्थापन कमजोर भएको गुनासा आइरहेका छन् । नेपाल प्रहरी अस्पतालको हकमा व्यवस्थापकीय पाटो कस्तो छ ?

    हामीले कोरोनाका बिरामी राख्ने व्यवस्था गरेका छौं । कोभिड इमर्जेन्सी व्यवस्थापन गरेका छौं । बेड पनि निकै बढाएका छौं । बेड नपुगेर टेन्टमा बिरामी राखेर र बन्दै गरेको नयाँ भवनमा बेड थपेर सेवा सुरु गरेका छौं ।

    अक्सिजन दिने व्यवस्था गरेका छौं । त्यसबाहेक २ सय ६४ बेड कोभिडका लागि डेडिकेट गरेका छौं । २० वटा आईसीयू छ, ५० वटा एचडीओ छ । बाँकी १ सय ३५ बेड छ । त्यसबाहेक नर्मल अक्सिजन पनि नभएको बेड । त्यसमा पनि अक्सिजन राखेर उपचार दिने व्यवस्था मिलाएका छौं ।

    हाम्रो फिभर क्लिनिक चलिरहेको छ । पीसीआर नियमित गरिरहेका छौं । ननकोभिड इमर्जेन्सी चालू छ । नन कोभिड आईसीयूमा बिरामी हुनुहुन्छ । इमर्जेन्सी अप्रेसन गरिरहेका छौं । नर्मल ओपीडी सेवााचाहिँ बन्द छ । जनशक्तिको व्यवस्थापनमा सम्पूर्ण चिकित्सकलाई टिममा विभाजन गरेका छौं । डीआईजीहरूलाई पनि ड्युटीमा खटाएका छौं । अहोरात्र खटिरहनुभएको छ सबै जना ।

    सर्वसाधारणलाई नेपाल प्रहरी अस्पताल भन्नेबित्तिकै ‘यहाँ प्रहरीको मात्र उपचार हुन्छ’ भन्ने बुझाइ छ । प्रहरीलाई मात्र हो कि सर्वसाधराणलाई प्राथमिकताका साथ उपचार गरिरहनुभएको छ ?

    आजको दिनमा हामीले सर्वसाधारणलाई उपचार सेवा दिइरहेका छौं । २०७४ सालसम्म प्रहरी अस्पताल प्ररहीको लागि मात्र थियो । बहालवाला प्रहरी, भूपू प्रहरी र उनीहरूको परिवार ।

    ०७४ पछि भने सर्वसाधारणहरूको पनि इच्छा देख्यौं । सबै सुविधा हेर्दा प्रहरीको सेवा नभई सिभिललाई पनि दिन सक्छौं भनेर धारणा बनायौं । त्यही अन्तर्गत पहिलो कोभिडको लहर आउँदा प्रहरी अत्यधिक मात्रामा संक्रमित भएका थिए । प्रहरी धेरै संक्रमित भएर उनीहरूलाई उपचार गर्नेमा प्रहरी अस्पताल पर्दछ । त्यतिखेर पनि सिभिललाई उपचार गरेका थियौं, संख्या कम थियो ।

    कोभिडका बिरामी आउँदा बेड छैन भन्नुपर्दा निकै मन दुख्छ । सकेसम्म गरेको छ । सामाजिक सञ्जालमा जथाभावी लेखिदिएको हुन्छ । चुनौती सबैको लागि छ । त्यही भएर यो महामारी हो । विकसिकत मुलुकले त बेड नपुगेर सडकमा टेन्ट हालेर उपचार गरे । हामी यो बेला एकजुट हौं । अवश्य हामी महामारीबाट बाहिर निस्कन्छौं ।

    दोस्रो लहर आउँदा त सिभिल र प्रहरी दुवैलाई उतिकै प्राथमिकतामा राखेर गरिरहेका छौं । व्यवस्थापकीय कठिनाइ अथवा अक्सिजन अभावका कारण समस्या भइरहेको छ । आशा गरौं, अक्सिजनको सप्लाइ नर्मल हुन्छ । अहिले पनि आईसीयूमा २० जना हुनुहुन्छ, त्यसमा १७ जना त सिभिल नै हुनुहुन्छ । इमर्जेन्सीमा पूरैै बेड थपेर अक्सिजन दिइरहेका छौं । कोटाचाहिँ अहिलेसम्म प्रहरी र सिभिललाई भनेर छुट्याएका छैनौं ।

    अहिले नेपालका धेरै अस्पतालमा अक्सिजन र आईसीयू नै नपाएर बिरामीहरूले मृत्युवरण गर्नुपरेको अवस्था छ । यहाँ त्यस्तो अवस्था भोग्नुपरेको छ कि छैन बिरामीले ?

    अहिले अत्यन्तै चुनौतिपूर्ण अवस्था छ । जस्तो बेड छ भनेर सोध्नुहुन्छ । हामी बेड त छ, अक्सिजन छैन भन्छौं । त्यही पनि भर्ना हुनुहुन्छ । उहाँको हालत अलिकति बिग्रन्छ । अक्सिजन बेडमा जानुहुन्छ । झन् बिग्रन्छ अनि आईसीयूमा लानुपर्ने हुन्छ । ती सबै भरिएका छन् । वार्डकै बिरामी त्यहाँ छन् । २२ दिनसम्म पनि आइसियु खाली हुने अवस्था हुन्न । लामो प्रक्रिया जान्छ । त्यो अवस्थामा आईसीयूमा एकदमै गम्भीर बिरामी आए भने हामीले उपचार त दिन्छौं । तर आईसीयू अपुग छ । त्यसकारण ज्यान त गुमेको छ ।

    अहिलेसम्म कतिजना जतिने गुमाउनुपरेको छ त्यसरी ?

    दुई जना । उहाँहरूलाई हामीले तपाईंहरू आईसीयू खोज्नुस् भनेका थियौं । उहाँहरूलाई इमर्जेन्सीमा तीन दिन राख्यौं । खाली भएपछि आईसीयू सिफ्ट त गर्‍यौं । तर ढिलो भइसकेको थियो ।

    प्रहरी अस्पतालले भेन्टिलेटर र आईसीयूमा उपचार गरेर कति बिरामीलाई निको पारेको छ ?

    अस्पतालमा भर्ना भएका कोभिडका बिरामीमध्ये ७५ प्रतिशतलाई निको पारेका छौं । गुमेका बिरामीहरू पनि उहाँहरू ढिलो आउनुभयो । घरमै अक्सिजा लिएर बस्नुभयो । अस्पताल आउँदा निमोनिया फैलिसकेको अवस्थामा आउनुभयो । त्यसरी आउँदा आईसीयूमै राखेर उपचार गर्दा पनि रिजल्ट त्यति राम्रो नआउने रहेछ ।

     बेड भए पनि अक्सिजन अभावको कुरा भन्नु नै भयो । यसर्थ उपचार गर्न ल्याइएका बिरामी फर्काउनुपर्ने अवस्था आयो आएन ?

    आईसीयूका लागि आउनुहुन्छ कतिपय । हामीले छैन भनेका छौं । प्रायः समन्वय गरेर आउनुभएको छ । आइपुग्नु भएकोलाई चाहिँ सकेसम्म फर्काएका छैनौं फर्काउन भन्दा पनि आईसीयू फूल छ बेड छैन भन्छौं । अक्सिजनको एकदमै अभाव भएको बेलामा हामीलाई नर्मल अक्सिजन सिलिण्डर आईसीयू चलाउन चाहियो । नपुगेको अवस्थामा त अक्सिजन छैन भन्ने बाध्य अवस्थामा छौं हामी ।

    बेड नभएपछि बाहिर टेन्टमा राखेर उपचार गर्‍यौं भनेर भन्नुभएको थियो । त्यसलाई कसरी व्यवस्थापन गर्नुभयो ?

    टेन्टमा हामीले ६ वटा बेड राखेका छौं । बन्दै गरेको नयाँ भवनलाई पनि बेड नपाउन्जेलसम्म ४० वटा बेड राखेका छौं ।

    यहाँ उपचार गर्न ल्याइएका बिरामीले तिर्नुपर्ने शुल्कबारे पनि बताइदिनुस् न ?

    सबै निःशुल्क छ । नेपाल सरकारले हामीलाई सहयोग गरिरहेको छ । खाना पनि दिन्छौं, औषधि पनि दिन्छौं । कहिलेकाहीँ रेमडिसिभिर थिएन । बाहिरबाट ल्याउनु भन्थ्यौं । त्यो पनि अहिले हामीसँग छ । यहीँबाट उपलब्ध गराउँछौं । नन कोभिडको हकमाचाहिँ सर्वसाधारणलाई साधारण शुल्क तिर्नुपर्छ ।

    अहिले अस्पतालको नेतृत्व गरिरहनुभएको छ । कोभिडको पहिलो चरणदेखि नै तपाईंले कस्ता चुनौति सामना गर्नुपर्‍यो ?

    २०७६ सालको चैत्रमा नै कोभिडको पहिलो वेभको लागि लकडाउन भयो । त्यतिबेला सरकारले कोभिड अस्पताल बलम्बुमा सुरु गर्‍यो । त्यहाँ हाम्रो डाक्टर नर्सले गएर पनि ड्युटी गर्नुभयो ।

    त्यस अवधिमा कालीमाटी वृत्तमा एकैपटक प्रहरीको १७ जना संक्रमित भए । पोजेटिभ भएपछि आइसोलेट गरेर राखियो । एक हप्तासम्म पीसीआर रिपोर्ट आइपुगेन । त्यसपछि लाग्यो, प्रहरी त जहाँ पनि ड्युटी गरिरहेको छ ।

    एउटा प्रहरी संक्रमित हुने बित्तिकै अर्को प्रहरी संक्रमित हुन्छ । हप्तादिनसम्म रिपोर्ट कुर्नुपर्‍यो भने प्रहरीको लागि निकै चुनौती हुन्छ । त्यसकारण मैले हेर्डक्वार्टरसँग समन्वय गरेर पीसीआर ल्याबको स्थापना गराएँ । त्यतिबेला पनि हाम्रो अस्पताल कोभिड अस्पताल थिएन । मेरो मान्यताचाहिँ कोभिडका लागि हामी रेडी हुनुपर्छ भन्ने थियो ।

    हाम्रो एउटा भवन ब्लक बी लाई पूरै खाली गराएर कोभिडका लागि डेडिकेट बनायौं । अचानक साउनको २० गतेतिर हुनुहुपर्छ, १ जना प्रहरी संक्रमित भए । ५ दिनको अवधिमा ५ सय हाराहारीमा प्रहरी संक्रमित थिए । सरकारले पनि एकाएक कोभिड अस्पताल घोषणा गरिदियो । त्यो भन्दा पहिला त हामीलाई लागेकै थिएन, प्रिपिरेसन गर्नुपर्छ । तर १ सय १४ बेड जतिचाहिँ कोभिडका लागि छुट्याएका थियौं । त्यसले नपुगेर दुई नम्बर गनमा पूरै लगभग ४ सय ५० बेड स्थापना गर्‍यौं । सबै प्रहरीलाई भर्ना गर्‍यौं । त्यो बेलामा पनि आईसीयू चलायौं । यो दोस्रो लहरजस्तो थिएन । डेथ पनि कम थियो । लगभग २२ जनाको मृत्यु भएको थियो । त्यो मेरो लागि ठूलो चुनौति थियो । पार पाइयो ।

    दोस्रो लहर वैशाखको दोस्रो हप्तामा बढ्न थाल्यो । यो धेरैमा चुनौती छ । यसको प्रकृति एकदमै फरक छ । युवा उमेरका बिरामी कोभिड भए पनि सुरुमा खासै लक्षण देखिएको हुन्न । ५ दिन जति आइसोलेसनमा बस्नुहुन्छ । आउँदा पूरै निमोनिया भइसकेको हुन्छ । यो समयमा २० वटा आईसीयू, ५० वटा एचडीओ, अक्सिजन प्लान्ट बनायौं । यो सबै काम गर्न चुनौती थियो । सबैको सहयोगले गरिएको छ ।

    प्रहरीहरू अघिल्लो चरणको तुलनामा अहिले कति संक्रमित छन् ?

    अहिले कम छ निकै । केही दिनसम्म ७० जना पुग्नुभएको थियो । निको हुनेको क्रम बढी छ । अहिलेसम्म एक जना बहालवाला प्रहरीको निधन भएको छ । बहालवाला दुई जना आईसीयूमा हुनुहुन्छ ।

    अन्त्यमा,अस्पताल प्रमुखको हैसियतमा अहिलेको यो महामारीमा के भन्न चाहानुहुन्छ ?

    कोभिडका बिरामी आउँदा बेड छैन भन्नुपर्दा निकै मन दुख्छ । थाहा छ त्यो बिरामीले आईसीयू पाएन भने मर्छ । एउटा स्वास्थ्यकर्मीको लागि त्यो जतिको दुःखदायी क्षण अरु हुन्न । आफू पनि संक्रमित हुने खतरा छ । आम नागरिकले उनीहरूलाई सम्मान गर्नुपर्‍याे । कतै कतै तोडफोड भएको सुनियो । सामाजिक सञ्जालमा जथाभावी लेखिदिएको हुन्छ । चुनौती सबैको लागि छ । त्यही भएर यो महामारी हो । विकसिकत मुलुकले त बेड नपुगेर सडकमा टेन्ट हालेर उपचार गरे । हामी यो बेला एकजुट हौं । अवश्य हामी महामारीबाट बाहिर निस्कन्छौं ।