Tag: अत्यावश्यक सेवा

  • ‘जोर-बिजोर’ भन्दै अत्यावश्यक वस्तुको आपूर्तिमा समेत ट्राफिकको अवरोध

    ‘जोर-बिजोर’ भन्दै अत्यावश्यक वस्तुको आपूर्तिमा समेत ट्राफिकको अवरोध

    काठमाडौं । सरकारले आजबाट लकडाउन खुकुलो बनाउँदै जोर-बिजोरका आधारमा निजी सवारी सञ्चालन गर्न अनुमति दिएको छ । तर, यसअघि कडा निषेधाज्ञामा पनि रोक नलगाइएका अत्यावश्यक वस्तुको ढुवानीमा भने ट्राफिक प्रहरीले अवरोध गर्न थालेका छन् ।

    ५४ दिन लामो निषेधाज्ञामा अत्यावश्यक वस्तुभित्र पर्ने दूध र तरकारी बोक्ने गाडीलाई निस्फिक्री चलिरहेका थिए । तर आज ट्राफिकले गते ‘जोर-बिजोर नमिलेको’ भन्दै धेरै गाडीलाई होल्ड गरेर दु:ख दिएको हो ।

    बिहान ५ बजे भक्तपुरबाट तरकारी र दूध ल्याएको गाडीलाई बानेश्वरमा ट्राफिकले करिब २ घन्टा होल्ड गरेको थियो । नेपाल डेरी फामर्स एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रदिपराज पन्त आफैले दूध र तरकारी ल्याएको गाडीलाई ट्राफिक प्रहरीले २ घन्टा रोकेको बताए ।

    पन्तले भने, ‘आज बिहान बानेश्वर चोकमा दुध र तरकारी बोकेको गाडीलाई जोर बारको दिन जोर नम्बरका गाडीमात्रै चल्न दिने भनेर करिब दुई घन्टा ट्राफिक प्रहरीले रोक्यो । मैले तरकारी र दुध बोकेको गाडी हो भनेर भन्दा पनि उनीहरुले छोडेनन् ।’

    पसलसम्म दुध पुर्‍याउनका लागि प्रहरीको खुट्टा समाउनु पर्ने आवस्था आएको उनको भनाइ छ ।

    ‘ऋण गरेर खरिद गरेको गाडी बिजोर नम्बरको भयो, अब फेरि अर्को जोर नम्बरको गाडी कहाँबाट ल्याउँ भनेर धेरैबेर अनुनय गरेपछि मात्र प्रहरीले छाडिदियो,’पन्तले भने ।

    उनले दैनिक ७ सय लिटर दूध र अर्गानिक तरकारी भक्तपुरबाट काठमाडौंको विभिन्न पसलमा ल्याएर बिक्री गर्ने गरेका छन् ।

    काठमाडौं जिल्ला प्रशासनले निकालेको सूचनामा औषधी, खाद्यान्न, दूध तथा दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु, पसल बिहान ११ बजेसम्म सञ्चालन गर्न सकिने उल्लेख छ । सरकारले लकडाउनलाई केही खुकुलो पार्ने क्रममा जोर-बिजोर नम्बरका आधारमा गाडी चलाउन दिएको हो ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले दूध र तरकारी ढुवानीको लागि पनि समय तोकिएको बताए । बिहान ९ बजेसम्म अत्यावश्यक वस्तुभित्र पर्ने दूध र तरकारी बोकेको गाडी ट्राफिक प्रहरीले नरोकेको उनको दावी छ । धेरै भीडभाड भएमा ट्राफिक प्रहरीले रोकेर सुधबुझ गर्ने गरेको उनले जानकारी दिए ।

    अधिकारीले भने, ‘तोकेको समयअनुसार गाडी गुड्दा सबैका लागि राम्रो हो । हामीले पनि सडकमा गुडेका गाडीलाई के बोकेको भनेर सोध्ने गरेका छौं । अहिलेसम्म अतिआवश्यक बस्तु बोकेको गाडीलाई समाएर राखेका छैनौं । सडकमा जाम नै हुने अवस्था आइसकेको छ ।’

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अत्यावश्यक सवारीसाधनलाई जोरबिजोर लागू गर्न खोजिएकोमा गुनासो बढेकोले पहिलेकै जस्तो निर्वाध चल्न दिने विषयमा छलफल भइरहेको नेपाल प्रेसलाई बताए ।

  • पाठ्यपुस्तक ढुवानीलाई अत्यावश्यक सेवामा राखिने

    पाठ्यपुस्तक ढुवानीलाई अत्यावश्यक सेवामा राखिने

    काठमाडौं । शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा रहेको पाठ्यपुस्तक अनुगमन केन्द्रीय समितिको आजको बैठकले पाठ्यपुस्तकलाई अत्यावश्यक सेवामा समावेश गरी ढुवानी गराउने निर्णय गरेको छ ।

    आगामी असार १ गतेदेखि नयाँ शैक्षिकसत्र सुरु गर्ने तयारी भएकामा निःशुल्क उपलब्ध हुनुपर्ने पाठ्यपुस्तक अझै सबै विद्यालयमा पुग्न सकेको छैन । कोरोना महामारीका कारण जारी निषेधाज्ञाको अवधीमा ढुवानीमा समस्या देखिएको छ ।

    समितिका सदस्य एवं अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले पाठ्यपुस्तक ढुवानी सेवालाई अत्यावश्यकीय सेवामा राख्न अनुरोध गर्ने तथा कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नक्सा तहगत कक्षाका पुराना छापिसकिएका पुस्तकका पाठका (नयाँ पाठ्यपुस्तक बाहेक) पेज छापेर पाठ्यपुूस्तकमा समावेश गरी तत्काल वितरण गर्न सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।

    केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याललको सम्पन्न बैठकले शिक्षक तथा पुस्तक बिक्रेतालाई कोभिड-१९ बिरुद्धको खोप उपलब्ध गराउने व्यवस्थाका लागि पनि आग्रह गरेको छ ।

    यसैगरी पाठ्यक्रम विकास केन्द्रले सूचना जारी गरी स्वीकृत पाठ्यपुस्तक मात्रै बिक्री वितरण र शिक्षण गराउन तथा नेपालको नयाँ नक्सा समावेश भएका पुस्तक मात्रै प्रयोग गर्न सबैमा आग्रह गरेको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले अनाधिकृत पाठ्यपुस्तक बिक्री वितरण गरेको पाइएमा कानूनबमोजिम कारबाही गर्न केही दिन अघि निर्देशन दिएका थिए ।
    -रासस