गोरखा । उत्तरी गोरखामा हिमचितुवाको आक्रमणबाट १७ घोडा र खच्चडको मृत्यु भएको छ । चुम्चेतको सुलेप लेकमा गएको दुई सातादेखि लगातार हिमचितवाले घोडा र खच्चडमाथि आक्रमण गर्न थालेको चुमनुव्री गाउँपालिका-६ का वडाध्यक्ष लोप्साङ लामाले जानकारी दिए।
‘चुम्चेतको लेकको खर्कमा चराउन छाडिएकामध्ये १६ खच्चड र एक घोडा हिमचितुवाले मारिसकेको छ’, उनले भने,‘अहिले बर्खाका बेला सामान ढुवानी गर्न बाटो नभएकाले लेकमा चराउन खच्चड र घोडा छाडिएका बेला चितुवाले धमाधम आक्रमण गर्न थालेको हो ।’
सडक यातायातको पहुँच नपुगेको उत्तरी क्षेत्रमा खच्चडबाट नियमितरुपमा सामान ढुवानी गर्ने गरिन्छ । ‘जेठ अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण उत्तरी क्षेत्रमा पैदल र खच्चड हिँड्ने बाटोसमेत अवरुद्ध छ’, लामाले भने, ‘चरनका लागि लेकमा छाड्ने चलन छ, चितुवाले आक्रमण गरेर मार्न थालेपछि अब छाड्न पनि डर भएको छ ।’
उनले चरनका लागि खर्कमा छाडिएका खच्चड र घोडा नभेटिएपछि खोजी गर्दा चितुवाले मारेको भेटिएको बताए । वडाध्यक्ष लामाले स्थानीय आङ्दी लामा, बुझिमा लामा र चित्रबहादुर गुरुङले पाल्दै आएका घोडा र खच्चडलाई चितुवाले आक्रमण गरी मारेको जानकारी दिए । रासस
कामीरिता शेर्पा- जसलाई ‘हिमचितुवा’काे नामले पनि चिनिन्छ । यसकारण कि, ५१ वर्षे जीवनकालको अधिकांश समय उनले हिउँसँगै खेलेर, हिमाल चढेर र हिउँमै संघर्ष गरेर विताए ।
२५ पटक विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा चढेर र हिमाल आरोहणकै विभिन्न विधामा पाँचपटकसम्म विश्व कीर्तिमान बनाउन सफल कामीरिताको हिमालसँगको सम्बन्ध, प्रेम र संघर्षका कथा रोचकसँगै उत्प्रेरक छन् ।
सामान्य भरियादेखि पर्यटक पथप्रदर्शक (गाइड) हुँदै हिमाल आरोहणमा रमाएका कमीरितालाई निरन्तरको संघर्ष र लगनशीलताले सबैभन्दा धेरैपटक सगरमाथा चढेको कीर्तिमान बनाउन सहज भयो ।
हिमाल चढ्दा उनले भोगेका कतिपय अनुभव दर्दनाक छन् भने कति प्ररणादायी छन् । ‘हिमाल चढ्नु चानचुने काम होइन, पलपल जीवन–मरणसँग जुध्दै अघि बढ्नु पर्छ’ कामीरिता भन्छन्, ‘तर जब शिखरमा पुग्न सफल होइन्छ, तब सबै दुःख बिर्सिन्छ ।’
उनले कीर्तिमान बनाउनका लागि हिमाल चढ्न सुरु गरेका हाेइनन् । २७ वर्षअघिका दिन सम्झदैं उनी भन्छन्, ‘त्यतिबेला पेट पाल्नका लागि टुरिस्टको भारी बोकेर हिमाल चढेको थिएँ । काम गर्दै जाँदा हिमालप्रति प्रेम बस्यो ।’
२४ वर्षको उमेरमा पहिलोपटक सगरमाथाको चुचुरो चुम्दैगर्दा उनलाई पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पाको सम्झना आयो । पहिलोपटक सगरमाथाको शीर चुमेर विश्वभर नेपाल र नेपालीको नाम राखेका शेर्पालाई सम्झँदा उनको पनि गर्वले छाती फुल्यो । र, उनले पनि हिमाल चढेरै कुनै न कुनै कीर्तिमान बनाएर विश्वभर नाम कमाउने सपना देखे ।
भरियादेखि भान्छाकाे सहयाेगी र पथप्रदर्शकहुँदै विश्व कीर्तिमानसम्म
उनी सन् १९८२ मा भरियाका रुपमा विदेशी पर्यटकसँग हिमाल चढ्दा १२ वर्षका थिए । सकिनसकी पर्यटकको भारी बोकेर हिमाल उक्लन्थे । उनी जति भारी बोकेर हिमालका चुचुरा पुग्थे, त्यतिनै अनुभव संगाल्दै गए ।
अनुभवी गाइड हुनका लागि उनले कम्ति दुःख गरेनन् । हिमाल चढ्दाका शुरुवाती दिन सम्झँदै उनी भन्छन्, ‘काम पाउनलाई ८ हजार मिटरमाथिका हिमाल चढ्नै पर्थ्याे । जो भरिया वा गाइड ८ हजार मिटर माथिका हिमाल चढेर सकुशल फर्कन्छ, त्यसलाई योग्य र अनुभवी मानिन्थ्यो ।
सुरुमा त उनलाई भरियाबाट गाइडमा रुपान्तरित हुनु थियो । हिउँमै हुर्के बढेकाले हिमाल चढ्न कम गाह्रो भए पनि गाइड हुन सजिलो नभएको उनी बताउँछन् । सोलुखुम्बुको थामेमा जन्मिएका उनले हिमाल चढ्नुअघि नै गाउँका अरुले पनि हिमाल चढेर विश्व कीर्तिमान बनाइसकेका थिए । त्यसले उनलाई हौसला मिलेकै थियो ।
हुनतः उनमा पढेर ‘ठूलो’ मान्छे बन्ने धोको थियो । तर, ,गाउँमा पढ्ने वातावरण नभएकाले उनले भरिया पेसा अंगालेका हुन् । वाध्यताले रोजेको पेसाले नै आज उनलाई विश्वभर चिनिने बनाएको छ ।
उनका बुवा मिङमाछिरिङ सरदारले दार्जेलिङबाट गाइडको प्रशिक्षण लिएका थिए । र, दाजुले पनि हिमाल चढ्न शुरु गरिसकेका थिए । उनका दाजु लाक्पारीता शेर्पाले पनि १७ पटक सगरमाथा चढिसकेका छन् । भरियाबाट शुरु भएको उनको यात्रा किचन ब्वाइहँदै सिनियर गाइडसम्म पुग्यो ।
अहिले उनले सगरमाथालगायत ८ हजार मिटरमाथिका हिमाल ३८ पटक चढिसकेका छन् । जसमा उनले पाँचपटक त गिनिज बुकमा आफ्नो नाम समेत लेखाइसकेका छन् । वर्ष दिनमा आधा समय नेपाल र आधा विदेशमा बिताउने उनी अधिकांश समय हिउँसँगै लुकामारी गर्छन् ।
अझै पुगेको छैन धोको
कोरोनाका कारण काठमाडौं कपनस्थित घरमै बसिरहेका कामीरिता स्थिति सहज हुनेबित्तिकै रुसको हिमाल ‘माउण्ट एलब्रुस’ (५ हजार मिटरमाथि) चढ्ने तरखरमा छन् । सन् २०१९ मा उनले उक्त हिमाल चढिसकेका छन् । दोस्रोपटक सोही हिमाल चढ्नका लागि उनी केही दिनमै रुस जाने योजनामा छन् ।
सन् २०१७ देखि २०२७ सम्ममा सातवटा महादेशका ७ वटा उच्च हिमाल चढ्ने उद्देश्यका साथ अघि बढेका उनले दुईवटा हिमाल आरोहण गरिसकेका छन्, सगरमाथा र ‘माउण्ट एलब्रुस’ । आउँदो अगष्टमा उनले दाजुसहित पाकिस्तानको ‘केटु हिमाल’ आरोहण गर्ने पक्कापक्की भएको छ ।
वर्षमा ८ हजार मिटरमाथिका दुईदेखि चारवटासम्म हिमाल चढ्दै आएका कामीरिता सबै याममा चढ्ने खुबी राख्छन् ।
पहिलाभन्दा अहिले हिमाल चढ्न निकै सजिलो भएको उनी सुनाउँछन् । ‘२०/२२ वर्षअघि हिमाल चढ्न त्यति सजिलो थिएन । न त अहिलेको जस्तो सुविधायुक्त प्रविधि नै थिए, वर्षमा एकपटक हिमाल चढ्न पनि निकै मुस्किल हुन्थ्यो’, उनी अनुभव सुनाउँछन्, ‘हिउँमा पाइला चिप्लियो भने सास भेट्न निकै मुस्किल पर्थ्याे, अक्सिजन पनि सबै आरोहीसँग पर्याप्त हुँदैनथ्यो । यात्रा गर्ने बाटो पनि निकै जोखिम थियो । तर, अहिले प्रविधिले आरोहण निकै सहज बनाएको छ ।’
जसले बहराइनका राजकुमारलाई पनि सगरमाथा चढाए
उनी आफूमात्रैले हिमालका चुचुरा चुमेका छैनन्, आफूसँगै विश्वका ख्यातिप्राप्त व्याक्तिसहित उच्च घरनाका व्याक्तिलाई समेत चुचुरोमा पुर्याएका छन् । उनले यो वर्षको ‘समर सिजन’मा बराइनका राजकुमारलाई सगरमाथाको चुचुरोमा पुर्याए ।
आफ्नो कमान्डमा आरोहीलाई सगरमाथाको चुचुरोमा पुर्याउँदा यो र ऊ भनेर छुट्याउँदैनन् । ‘सबै आरोहीले आफ्नो जीवनरक्षाको जिम्मा गाइडलाई दिएको हुन्छ । सबैको जीवन रक्षा गर्दै शिखरसम्म पुर्याउनु मेरो पहिलो कर्तव्य हो ।’
उनीसँग हिमाल चढ्दाचढ्दै सहयात्री गुमाउनुपरेका दुखद अनुभूति पनि छन् । कहिलेकाहीं उद्दार गर्दागर्दै कतिको पिठ्यूँमा प्राण गएको अनुभव पनि उनले सुनाए । हिमाल चढ्न र परेका बेला उद्दार गर्नका लागि कामीरिताले आफूलाई सधैं शारीरिकरुपमा फिट राखेका छन् । उनको दैनिकी खेलाडीको जस्तै हुन्छ । सामान्य दालभातमै रमाउँछन् । उनी विलासी गाडी चढेर कमै यात्रा गर्छन् । छोटो दूरीको यात्रा पैदलै गर्छन् ।
कठिन नै भए पनि हिमाल आरोहणप्रति उनी सन्तुष्ट छन् र अझै थप विश्व रेकर्ड बनाउने सोचका साथ निरन्तर अघि बढिरहेका छन् ।
कोरोना भाइरसबाट संक्रमण हुने जनावरको सूचिमा अमेरिकाको केन्टुकीस्थित एउटा चिडियाखानाको हिमचितुवा पनि थपिएको छ । यो पोथी चितुवालाई भाइरस पजेटिभ देखिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । त्यहाँको राष्ट्रिय प्रयोगशालाले यसलाई पुष्टि गरेको छ ।
पजेटिभ पाइएको हिम चितुवालाई कफ आउने र छिटो श्वासप्रश्वास आउने लक्षण भेटिएको छ । गत अप्रिलमा न्यूयोर्कस्थित ब्रांक्स चिडियाखानामा बाघ र सिंहलाई पनि भाइरस संक्रमणको पुष्टि भएको थियो । ती बाघ र सिंह कुनै समस्या बिना स्वस्थ भएका थिए । हिम चितुवा पनि यसरी नै स्वस्थ हुने अपेक्षा छ ।
विज्ञहरुले जनावरमा समेत भाइरस संक्रमण हुनुमा भाइरसको परिवर्तित चरित्र जिम्मेवार रहेको बताएका छन् । उनीहरुका अनुसार यस्तो हुँदा भ्याक्सिनको प्रभावकारितामा कमी आउँछ । अहिलेसम्म कुकुर र बिरालोबाट मान्छेमा भाइरस सरेको पुष्टि भएको छैन ।