Tag: हाेली

  • मिथिला माध्यामिकी परिक्रमाको आज अन्तिम दिन, हजारौं सहभागी

    मिथिला माध्यामिकी परिक्रमाको आज अन्तिम दिन, हजारौं सहभागी

    जनकपुरधाम । महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन आज जनकपुरधामको अन्तरगृह परिक्रमा गरि विधिवत सम्पन्न हुँदैछ ।

    १३३ किलोमिटरको यात्रा गरी शनिवार जनकपुरधाम आइपुगेको राम–सीताको डोलीसँगै पदयात्रा गर्ने हजारौं श्रद्धालुहरुले आज अन्तरगृह परिक्रमा गरिरहेका छन् । शनिवार मध्यराति होलिका दहन गरेपछि अन्तरगृह परिक्रमा सुरु भएको हो । परिक्रमाका कारण जनकपुरको मुख्य सडक नै अबरूद्ध बनेको छ ।

    श्रद्दालुहरु खाली खुट्टा मन्दिर परिक्रमा गर्ने गर्छन् । सरकारले काेराेना महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन भने पनि सहभागीहरुले सामाजिक दूरी र मास्ककाे प्रयाेग गरेकाे देखिँदैन।

    मध्यरातदेखि नै साधुसन्त, महन्थ र श्रद्धालुहरु परिक्रमा गर्न सुरू गरेका थिए । अहिले पनि यहाँ लामो लाइन देखिन्छ । विहान करिब १० बजेसम्म सडक खाली नहुने देखिएको छ । परिक्रमामा करिब १० लाखको सहभागिताको अनुमान गरिएको छ ।

    होलिका दहन गरेको खरानीलाई परिक्रमामा सहभागीहरु पुज्ने गरेका छन् । धेरैले त खरानी घर लग्ने गर्छन् । कुनै पनि शुभकार्य गर्नुपूर्व खरानीको टीका लगाउँदा दशा टर्ने तथा सफलता मिल्ने जनविश्वास छ । परिक्रमामा सहभागी भएपछि पापबाट मुक्ति पाउने महन्थ रामशरण दास बताउँछन् ।

    परिक्रमामा सहभागीले आज दान गर्ने गर्छन् । परिक्रमा सडकमा जताततै गरिब परिवारले कपडा ओछ्याएका छन् । उक्त कपडामाथि परिक्रमा गरिरहेका श्रद्धालुहरु चामल दान गरिरहेका छन् । आजको दिन दान गर्दा पूण्य प्राप्ति हुने जनविश्वास छ ।

    फागुन औंसीको दिन धनुषाको ठेरा कचुरीबाट मिथिला बिहारीको डोला तथा जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजीको डोलासहित माध्यमिकी परिक्रमा शुरु भएको थियो । परिक्रमा बासीहरु यस अवधिभरीको लागि आफ्नो गास, वास र कपासको व्यवस्था गरेर हिड्नुपर्दा ठूलो कष्ट झेल्नुपर्छ ।

    आज अन्तरगृह परिक्रमा सकेपछि तराई–मधेसमा भोली होली मनाइने छ ।

  • वसन्तपुरमा चीर ठड्याइयो- फागु पर्व सुरु

    वसन्तपुरमा चीर ठड्याइयो- फागु पर्व सुरु

    काठमाडौं । वसन्तपुर हनुमानढोकामा तीन खण्डे चीर ठड्याइएसँगै यस वर्षको फागु पर्व अर्थात होली सुरु भएको छ ।

    आज विहान ८ बजेर २६ मिनेटको साइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा रंगीविरंगी ध्वजापताकासहितको ३२ फिट अग्लो तीनखण्डे चीर ठड्याइएको हो । योसँगै देशभर औपचारिक रुपमा फागु पर्व सुरु भएको छ ।

    भगवान कृष्णले गोपिनीहरु नुहाउन गएका बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहिआएको छ ।

    प्रत्येक वर्षको फागुन शुल्क अष्टमीको दिन चीर ठड्याएसँगै फागु पर्व आरम्भ हुन्छ । यस वर्ष फागु पूर्णिमा चैत १५ गते परेको छ । तराई मधेशका जिल्लामा १६ गते फागू पर्व परेको छ । फागु पूर्णिमाको दिन सरकारले सार्वजनिक विदा दिने गर्छ ।