Tag: हवाई सेवा

  • बैतडीको हवाई सेवा डेढ महिनापछि सञ्चालनमा

    बैतडीको हवाई सेवा डेढ महिनापछि सञ्चालनमा

    बैतडी। डेढ महिनादेखि बन्द रहेको बैतडीको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । गत पुस १६ गते धनगढी–बैतडी–धनगढी उडान भए पनि त्यसयता बन्द रहेको थियो ।

    मौसम खराब र यात्रु नपाउँदा डेढ महिनादेखि बन्द रहेको हवाई सेवा सञ्चालनमा आएको समिट एयरका पाटन विमानस्थल सम्पर्क व्यक्ति कृष्ण भट्टले जानकारी दिए । उनले भने, ‘यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा हुन सकेको थिएन, मौसम सुधार भएपछि सञ्चालनमा आएको छ ।’धनगढीबाट १३ यात्रु लिएर आएको र यहाँबाट १८ यात्रु लगेर जहाज गएको भट्टको भनाइ छ ।

    साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको छ । गएको डेढ महिनामा तराईमा हुस्सु नै पडाडमा वर्षा र हिमपातले गर्दा उडान हुन नसकेको हो । मौसम सफा हँुदै गएकोले अबदेखि साताको एकदिन शुक्रबार नियमित उडान हुने जनाइएको छ । गत वर्ष पनि एक महिना खराब मौसमका कारण हवाई सेवा बन्द भएको थियो ।

    पाटन विमानस्थल २६ वर्षपछि २०७७ असोज अन्तिम साताबाट पुनः सञ्चालनमा आएको थियो । २०३२ मा पाटनमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो । पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो ।  रासस

  • काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई सञ्जालमार्फत जोडिए

    काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई सञ्जालमार्फत जोडिए

    चितवन । देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन् । चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरेसँगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवामार्फत जोडिएका हुन् । भरतपुर–भैरहवा उडान शुरु भएसँगै चार गन्तव्य जोडिएका हुन् । बुद्ध एयरले आइतबारदेखि भरतपुर–भैरहवा उडान थालेको हो ।

    बुद्ध एयरलाइन्स भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार भरतपुर–काठमाडौँ दैनिक नौ वटा उडान हुँदै आएको छ । भरतपुर–पोखरा दैनिक एउटा र भरतपुर–भैरहवा हप्ताको तीन उडान भर्न थालिएको छ ।

    आइतबार, बुधबार र शुक्रबार उडान थालिएको उनले जानकारी दिए । बस्नेतले भने, ‘पर्यटकीय गन्तव्यसँगै उपचारका लागि भरतपुर आउन सहज भएको छ ।’ यससँगै नारायणगढ–बुटवल सडक विस्तार भइरहेकाले यात्रुलाई सहज भएको उनको भनाइ छ ।

    क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे भारतीय पर्यटक नेपाल आउन भैरहवा–भरतपुर उडान प्रभावकारी हुने बताउँछन् । देशका चार प्रमुख पर्यटकीय गन्तव्य उडानमार्फत जोडिँदै गर्दा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाइ छ ।

    लुम्बिनीमा ठूलो संख्यामा पर्यटक आएर त्यहीँबाट भारततर्फ फर्कने गरेको भन्दै उनले ती पर्यटकलाई चितवनसहितका गन्तव्यमा ल्याउन उडान महत्वपूर्ण हुने बताए । सडकको यात्रा गर्नु नपरेपछि छोटो समयमा धेरै ठाउँ घुम्न पाउने घिमिरेले बताए ।

    पर्यटनविद् डा. विश्व सुवेदीले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेकाले त्यहाँसँगको हवाई उडान चितवनका लागि निकै महत्वपूर्ण हुने बताए । विभिन्न देशसँग उडानको सम्झौता भइसकेको भन्दै उनले यहाँका लागि निकट अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा हुने विश्वास व्यक्त गरे । विश्वमा एक अर्बभन्दा बढी बौद्ध धर्मावालम्बी भएको भन्दै उनले उनीहरुको पहिलो गन्तव्य लुम्बिनी रहेको जानकारी दिए ।

    त्यसैले त्यहाँसँगको चितवनको सम्बन्ध महत्वपूर्ण हुने सुवेदीको भनाइ छ । चितवन जङ्गल सफारीका लागि देशकै पहिलो गन्तव्य हो । यहाँको चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा जङ्गल सफारी गर्न पर्यटक आउने गर्दछन् । एक सिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोही, चराचुरुङ्गी पर्यटकको रोजाइमा पर्ने गर्दछन् ।

  • पूर्वनिर्धारित उडान यथावत् : हवाई सेवा कम्पनी

    पूर्वनिर्धारित उडान यथावत् : हवाई सेवा कम्पनी

    काठमाडौं । मुलुकको आन्तरिक हवाई उडान पूर्वनिर्धारित उडान तालिकाअनुसार सोमबार दिनभर जारी रहने हवाई सेवा प्रदायक कम्पनीले जनाएका छन् ।

    कोभिड-१९ महामारी जोखिम नियन्त्रणका लागि सरकारले यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा लागू गरेको निषेधाज्ञा तथा महामारीको जोखिमलाई दृष्टिगत गर्दै सरकारले आज रातिदेखि आन्तरिक उडान स्थगित गर्ने निर्णय गरेको थियो । यात्रुको सुविधालाई दृष्टिगत गर्दै आजका लागि तोकिएका उडान दिनभर यथावत् रुपमा सञ्चालन हुने कम्पनीले जनाएका छन् ।

    यती एयरलाइन्सले आफ्नो कोटामा परेका १० उडान यथावत् सञ्चालनमा रहेको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । बुद्ध एयरले पनि आफ्ना निर्धारित उडान सञ्चालन भइरहेको जनाएको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले आज २५ उडानमार्फत २ हजार ५०० भन्दा बढी यात्रुले सेवा लिने बताए । यात्रु सङ्ख्याका आधारमा निर्धारित उडान मर्ज हुने सम्भावना रहेको पनि उनले जानकारी दिए ।

    सरकारले आज रातिबाट आन्तरिक तथा यही वैशाख २२ गते मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० तथा अन्तरराष्ट्रियमा तीन नेपालीसहित २० हवाई सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

    –रासस

  • हवाई सेवा र हामीलाई विभेदपूर्ण व्यवहार गरियो : यातायात व्यवसायी महासंघ महासचिव

    हवाई सेवा र हामीलाई विभेदपूर्ण व्यवहार गरियो : यातायात व्यवसायी महासंघ महासचिव

    काठमाडौं । हवाई मार्गबाट यात्रा गर्दा कोरोना नसर्ने तर गाडीमा यात्रा गर्दा कोरोना सर्ने सरकारको व्यवहार विभेदपूर्ण भएको यातायात व्यवसायीले गुनासो गरेका छन् ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले कोरोना नियन्त्रण गर्न सबै क्षेत्र बन्द गर्नुपर्ने बताए ।

    सिटौलाले भने, ‘पहिलेको लकडाउन, निषेधाज्ञाले यातायात क्षेत्रमा खर्बौं रूपैयाँ घाटा भएको र धेरै गाडी लिलाम भएको थियो । सरकारले राम्रोसँग कोरोना नियन्त्रण गर्न खोजेको हो भने सबै क्षेत्रलाई बन्द गराएर कोरोना नियन्त्रण गर्नुपर्छ । कुनै व्यवसायलाई खुल्ला गर्ने कुनै व्यवसायलाई भने बन्द गर्न हुँदैन ।’

    ‘सरकारलाई पनि हामीले सुझाव दिएका थियौं । व्यवसायीले हवाई मार्गबाट यात्रु ओसारपसार पाउने तर बसले किन नपाउने ? भनेर प्रश्न गरेका छन् ।’

    हवाई मार्ग बन्द नभए यातायात व्यवसायीले पनि सीट क्षमता बराबर यात्रु बोकेर देशैभर बस सञ्चालन गर्ने बताएका छन् ।

  • हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढ्यो

    हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढ्यो

    काठमाडौं । हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ ।

    नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाउने निर्णय गरेसँगै वायुसेवा सञ्चालक सङ्घले भाडा वृद्धि गरेको हो ।  हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने निर्णय भएको सङ्घले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ ।

    निर्णयअनुसार सङ्घमा आबद्ध वायु सेवा कम्पनीले फागुन ८ गतेदेखि नयाँ इन्धन मूल्य लागू गर्नेछन् । सो विषयमा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भइ आएकाले हवाई इन्धनको मूल्य समायोजन गरिएको सङ्घले जनाएको छ ।

    नयाँ मूल्यअनुसार साविकको प्रतिलिटर ६५ रुपैयाँबाट वृद्धि भइ ६७ रुपैयाँ कायम गरिएको छ । हवाई इन्धनको मूल्य बढेकाले सबै गन्तब्यको उडानमा थोरै मात्रामा हवाई भाडादर वृद्धि गरिएको सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले बताए ।

    उनका अनुसार हवाई इन्धनको मूल्य बढेअनुरुप सबैभन्दा लामो गन्तब्य अर्थात् काठमाडौं –धनगढीका लागि ९० रुपैयाँ बढेको छ ।

    काठमाडौँबाट सबैभन्दा नजिकको गन्तब्यमा न्यूनतम १० रुपैयाँ वृद्धि गरिएको छ भने काठमाडौँबाट हुने पर्वतीय उडानमा ७० रुपैयाँ बढेको छ ।