Tag: स्वास्थ्य

  • सूर्यविनायक नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई प्राथमिकता दिने

    सूर्यविनायक नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई प्राथमिकता दिने

    भक्तपुर । सूर्यविनायक नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई उच्च प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सूर्यविनायकमा आयोजित नवौँ नगरसभामा नगरप्रमुख वासुदेव थापाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्वाचनको घोषणा पत्रमा उल्लेख भएका सबै प्रतिबद्धतालाई आगामी एकवर्षमा पुरा गरिने बताए ।

    नगरपालिको अहिलेसम्म ६७ किमी पक्की र ११ किमी कच्ची सडक निर्माण, १२ वटा पुल निर्माण, १० खानेपानी आयोजना निर्माण, १५०० सडक बत्ती जडान, ११ सिंचाई कूलो निर्माण, पाँच पर्यटकीय स्थल र त्यहाँसम्म पुग्ने पहुँचमार्ग निर्माण, १७ हजार ५१७ घर नक्सा पास, ५३ कानून निर्माण, न्यायिक समितिबाट १३३ विवादको निरुपण, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २०० जनालाई १०० दिन बराबरको रोजगारी र सात हजार ९०१ जनालाई राहत वितरण भएको छ ।

    त्यस्तै १० सामुदायिक भवन र ३४ विद्यालय निर्माण, २५ मठ मन्दिर निर्माण तथा जीर्णोद्दार, नौ स्वास्थ्य केन्द्रको स्तरोन्नति, १६ हजार ८३७ निगरबासीको निःशुल्क पीसीआर परीक्षण, सरकारले तोकेबमोजिमको उमेर समूहका छ हजार १०० जनालाई कोभिशिल्ड र २१ हजारलाई भेरोसिल खोप लगाउने कार्य सम्पन्न भएको नगर प्रमुख थापाले बताए ।

    नपाले आगामी आवमा कृषि, उद्योग, शिक्षा, पर्यटन र पूर्वाधार विकासको माध्यमबाट नगरपालिकालाई मुलुककै उत्कृष्ट, व्यवस्थित,सुन्दर एवं हराभरा नगर बनाई ‘हाम्रो रहर, समृद्ध नगर’ बनाइने भएको छ । कोभिड महामारी नियन्त्रण गर्न सङ्क्रमितको खोज, निःशुल्क स्वाब संकलन एवं परीक्षण र खोप कार्यक्रमलाई चरणबद्ध अभियानको रुपमा सञ्चालन गर्ने भएको छ ।

    नगरक्षेत्रका आफ्ना सबै नागरिकलाई स्वास्थ्य बीमा गराउन लाग्ने शुल्कमा एक हजारका रुपैयाँको दरले अनुदानको व्यवस्था गर्ने, ‘निरोगी नगर’ बनाउन सुलभ र गुणस्तरीय सेवाको पहुँच सुनिश्चित गर्न जनसंख्याको अनुपातमा आवश्यक जनशक्ति र अत्यावश्यक औषधिको व्यवस्था, आधुनिक प्रविधि तथा उपकरण प्रयोग, गुणस्तरीय र विस्तारित प्याथोलोजी सेवा सञ्चालन गरिने भएको छ । ६० वर्ष उमेर पूरा गरेका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन सहित सेवाबाट बिदा दिने, स्वास्थ्य घुम्ति शिविर गरिने, नगरका १६ वर्षमुनिका क्यान्सर बिरामीको उपचारमा आर्थिक सहायता दिने भएको छ ।

    त्यस्तै शिक्षक दरबन्दी मिलान सम्पन्न गरिने, सामुदायिक विद्यालयमा शुद्ध पिउने पानीको व्यबस्था गरिने, प्रत्येक सामुदायिक विद्यालयमा इन्टरनेट जडान गरिने, सबै बालबालिकालाई विद्यालय भर्ना गराउने, स्थानीय विषयबस्तु समेटेको स्थानीय पाठ्यक्रम लागू गर्ने, उत्कृष्ट सामुदायिक विद्यालय, एसइईमा दुई र उच्च शिक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने जेहन्दार विद्यार्थीलाई पुरस्कृत गरिने भएको छ । सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने, निःशुल्क खाजाको व्यवस्था गरिने, छात्राहरुलाई विद्यालयमा सेनेटरी प्याड व्यवस्था गरिने भएको छ ।

    कृषितर्फ प्रत्येक वडाहरुमा कम्तिमा एउटा नमूना कृषि पकेट क्षेत्र बनाउने, युवाहरुलाई कृषिमा लगाउन आफ्नो ठाउँ आफै बनाऔँ अभियान सुरु गर्ने, बाँझो जमिन राख्न नपाइने, एक घर दुई फलफूलका विरुवा लगाउने, कम्तीमा पाँचजनाको सामूहिक खेती गर्ने कृषक समूहलाई तीन लाखसम्म अनुदान दिइने भएको छ ।

    नगरको उत्पादन नगरमै उपभोगको नीति लिने, बीउबिजन बैंक, कृषि, प्राङ्गारिक मल उत्पादन, बजार तथा भण्डारण, चिस्यान केन्द्र, कृषि प्रयोगशाला सञ्चालन गरिने, आवास तथा बस्ती विकासका लागि निजीक्षेत्रसँगको सहकार्यमा जग्गा एकीकरण आयोजना सञ्चालन गरिने छ । नगरप्रमुख उज्यालो कार्यक्रममार्फत सडक, चोक तथा सार्वजनिक स्थलमा सडक बत्ति जडान गरिने, उद्योगग्राम निर्माण गरिने, वर्ष उद्यमी सम्मानबाट उत्कृष्टलाई पुरस्कृत गरिने, श्रम सूचना बैंक मार्फत रोजगारीको व्यवस्था गरिने छ ।

    नगरपालिकामा खाद्य सङ्कट हुन नदिन साझेदारीमा फुड बैंक स्थापना गरिने, नगरक्षेत्रभित्रको जैविक विविधता, ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पर्यटकीय सम्पदाहरुको पहिचान गरी त्यसको अभिलेखीकरण गर्दै प्रचारप्रसार, संरक्षण गरिने, राष्ट्रिय प्राणी उद्यानको जैविक विविधता संरक्षण गर्दै पर्या–पर्यटकीय पूर्वाधारहरुको निर्माण गरिनेछ ।

    त्यस्तै पर्यटनको विकासका लागि मनोरञ्जनस्थल, साहसिक खेल, पदमार्ग, आराम क्षेत्रलगायत मानव निर्मित पर्यटकीय संरचनाको पूर्वाधार निर्माण, सफा र हरित शहरको सपना साकार अभियान सफल पारिने, नगरक्षेत्रमा वातावरणीय मापदण्ड पुरा नगरेका ईटा उद्योगलाई विस्थापित गरिनेछ ।

    नगरपालिकाले प्रत्येक घरमा धारा पुर्याउन एक घर, एक धाराको नीतिलाई सम्पन्न गरिने, विपद् जोखिमबाट सुरक्षित शहरको नीति लिइने, प्रत्येक वडामा एकवटा ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिने र नगरक्षेत्रभित्र स्थायी बसोबास गर्ने ८० वर्ष भन्दा माथि उमेरका नागरिकलाई योगदानको आधारमा नागरिक मेयर सम्मान कार्यक्रम गरिने भएको छ ।

    त्यस्तै अपाङ्ता, अशक्त, आर्थिक रुपले विपन्न व्यक्तिलाई बैशाखी, सेतो छडी, ह्विल चियरआदि वितरण गर्दै जीविकोपार्जनमा सहयोग गर्न नगरप्रमुख राहत कोष स्थापना गरिने, बालमैत्री नगरको रुपमा विकास गर्दै बालश्रम मुक्त नगर बनाइने भएको छ । सडक मानवमुक्त नगर बनाउन असहाय, अलपत्र परेका, आश्रयहिन व्यक्तिको उद्दार तथा पुर्नस्थापना कार्य गरिने भएको नगर प्रमुख थापाले बताए ।
    रासस

  • निषेधाज्ञामा यसरी गरौं मानसिक स्वास्थ्यको स्याहार

    निषेधाज्ञामा यसरी गरौं मानसिक स्वास्थ्यको स्याहार

    काठमाडौं । अहिले राजधानी काठमाडौंसहितका अधिकांश जिल्लामा कोभिड-१९ महामारी रोकथामका लागि निषेधाज्ञा जारी भएको छ ।

    लामो समय घरमै रहँदा धेरैजनामा मानसिक समस्या देखिने गरेको छ । फुर्सदको समयलाई सदुपयोग गर्न, स्वस्थ र सकारात्मक रहनको लागि स्वास्थ्य मन्त्रालयले नागरिकलाई केही सुझाव पनि दिएको छ ।

    यस्ता छन् स्वास्थ्य मन्त्रालयका सुझाव :
    – नियमितरुपमा शारिरिक व्यायाम, योग तथा ध्यान गर्रौ ।
    – घरायसी काम तथा पारिवारिक छलफलमा सहभागी हौं ।
    – रुचिका खेल खेल्ने, किताब पढ्ने, लेख्ने, रचनात्मक चलचित्र हेर्ने गरौं ।
    – सजिलोसँग पच्ने र पोषणयुक्त खानेकुरा खाऔं ।
    – पर्याप्ता मात्रामा सुतौं ।
    – तनाव व्यवस्थापन गर्न गाह्रो परे मनोचिकित्सक वा मनोविदसँग परामर्श गरौं
    – टाढा भएपनि आफन्त र साथिभाईसँग नियमित सम्पर्कमा रहौं ।
    – सामाजिक सञ्जालको प्रयोग घटाऔं र अधिक समाचार नहेरैं ।
    – दैनिक कार्यतालिका बनाएर आफ्नो दिनचर्यालाई व्यस्त तथा सक्रिय राखौं ।

  • नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार

    नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार

    काठमाडौं । नेपाली कंग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ ।

    शुक्रबार बिहान मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना भएका नेता जोशीको नर्भिक अस्पतालको आइसियूको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।

    शनिबारको तुलनामा उनको स्वास्थ्य अवस्था आइतबारसम्ममा निकै सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए ।

    झाका अनुसार शनिवारभन्दा आइतबार नेता जोशीले दाहिने हात र खुट्टा बढी चलाएका छन् । जोशीलाई आइतबार बिहानदेखि नै बेहोस् पार्ने औषधि दिन छाडिएको छ । तर, पनि उनले आँखा भने खोलेका छैन ।

    यस्तै, आइतबार जोशीको सिटी स्क्यान पनि गरिएको छ । जसअनुसार उनको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानी समेत लगभग सफा भएको पाइएको छ ।

    ‘उहाँको अवस्था अझै खतरामुक्त भने छैन ।’ डा. झाले भने–‘उहाँको अहिलेको अवस्थालाई जटिल, तर सुधारोन्मुख भन्नुपर्छ ।’

  • गर्भ रोक्न वार्षिक २५ लाख ट्याबलेट पिल्स, के भन्छन् विशेषज्ञ ? (भिडियोसहित)

    गर्भ रोक्न वार्षिक २५ लाख ट्याबलेट पिल्स, के भन्छन् विशेषज्ञ ? (भिडियोसहित)

    काठमाडौं । पछिल्लो समय महिलाहरुले आकस्मिक गर्भनिरोधक साधन पिल्सको अत्यधिक प्रयोग गर्न थालेका छन् । तथ्यांकअनुसार अविवाहित युवतीले समेत गर्भनिरोधक ‘७२ घण्टे’ पिल्सको अधिक प्रयोग गर्न थालेका छन् । वार्षिक २५ लाख ट्याब्लेट आकस्मिक गर्भनिरोधक पिल्स बिक्री हुने गरेको तथ्यांकले देखाएको छ ।

    औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीका अनुसार नेपालमा आकस्मिक गर्भनिरोधक ७२ घण्टे पिल्स अर्थात् लिभोनोरजेस्ट्रेल औषधि बिक्री गर्न स्वदेशी र विदेशी गरी १८ वटा कम्पनीले अनुमति लिएका छन् । सबै कम्पनीको गरी वार्षिक २५ लाख ट्याब्लेट आकस्मिक गर्भनिरोधक ७२ घण्टे पिल्स नेपाली बजारमा बिक्री हुने गरेको छ ।

    स्वदेशी कम्पनी ओएचएम फर्मास्युटिकलको मात्रै अनवान्टेड नामक ७२ घण्टे पिल्स वार्षिक एक लाख ८० हजार ट्याब्लेट बिक्री हुने गरेको कम्पनीले जनाएको छ ।

    त्यस्तै अन्य स्वदेशी र केही भारतीय कम्पनीको गरी नेपालमा वार्षिक करीब २५ लाख ट्याब्लेट आकस्मिक गर्भनिरोधक ७२ घण्टे पिल्स बिक्री हुने गरेको देखिएको छ ।

    फर्मासिष्टहरूका अनुसार नेपालमा ७२ घण्टे पिल्स खरीद गर्न विशेषगरी १८ देखि ३० वर्ष उमेर समूहका महिला बढी आउँछन् ।

    के हो आकस्मिक गर्भनिरोधक ७२ घण्टे पिल्स ?

    असुरक्षित यौन सम्पर्कको ७२ घण्टाभित्र सेवन गरिसक्नुपर्ने भएकाले यसलाई ७२ घण्टे पिल्स भनिएको हो । यो औषधि नेपाली बजारमा आइपिल, अनवान्टेड ७२, इ–७२ म्याक्स, इकोन, ओके, एमटीपी प्रिग्नो, एमटी पिल्स जस्ता ब्राण्डनेममा बिक्री भैरहेको छ ।

    स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालका अनुसार आकस्मिक गर्भनिरोधक चक्कीमा लिभोनोरजेस्ट्रेल वा युलिप्रिस्टल एसिटेट नामक हर्मोन हुन्छ । यो हर्मोनले महिलाको डिम्बाशयबाट निस्कने डिम्बलाई रोक्ने, यदि डिम्ब निस्किसकेको छ भने शुक्रकीटसँग सेचन भई भ्रूण बन्न नदिने र यदि भ्रूण बनिसकेको छ भने पाठेघरमा टाँसिन दिंदैन । तर यसको सेवनले शतप्रतिशत गर्भ बस्दैन भन्ने चाहिं ग्यारेन्टी हुँदैन ।

    ७२ घण्टे पिल्स सेवन गरिसकेपछि वाक्वाकी आउने, रिंगटा लाग्ने, टाउको दुख्ने, थकान महसूस हुने, स्तन भारी महसूस हुने जस्ता लक्षण देखिन्छ । यी समस्या त एक दुई दिनमा हराएर जान्छ तर यसले पार्ने दीर्घकालीन समस्या भने पछिसम्म रहिरहन्छ ।

    आकस्मिक रूपमा एक–दुई पटकको प्रयोगमा त्यति असर नगरे पनि पटक–पटकको प्रयोगले स्वास्थ्यमा गम्भीर असर देखिन सक्छ ।

    स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्योती अग्रवालका अनुसार पछिल्लो समय आकस्मिक गर्भनिरोधक ७२ घण्टे पिल्स सेवन गरेर स्वास्थ्यमा समस्या देखिएर अस्पताल आउनेहरू बढेका छन् ।

    पटकपटक आकस्मिक गर्भनिरोधक साधनको प्रयोगले निम्त्याएको स्वास्थ्य समस्या विकराल बन्दैछ ।

    महीनावारी गडबड, महीनावारीको समयमा धेरै रगत बग्ने, तल्लो पेट दुख्ने र बाझोपनको समस्यालगायत महिलाको प्रजनन् स्वास्थ्यमै गम्भीर असर निम्त्याएको कारणहरू मध्ये पटकपटकको आकस्मिक गर्भनिरोधक साधन पनि एक हो ।

    डा. अग्रवालका अनुसार आकस्मिक गर्भनिरोधक साधन आकस्मिक अवस्थाको प्रयोगको लागि मात्र हो पटकपटक प्रयोग गर्ने औषधि होइन । बलात्कारबाट गर्भ बस्न सक्ने हुँदा, सन्तानको रहर पुगेका दम्पतीको असुरक्षित सम्पर्क हुँदा, कण्डम फुटेर योनीभित्रै वीर्य स्खलन भएमा या नियमित परिवार नियोजनको चक्की बिर्सेर वा परिवार नियोजनका अस्थायी साधन उपलब्ध नहुने ठाउँमा आकस्मिक यौन सम्पर्क भएमा अनावश्यक र अनिच्छित गर्भ रोक्न आकस्मिक गर्भनिरोधकको चक्की सेवन गर्ने हो । तर यौन सन्तुष्टि नपाइएला भनेर कण्डम प्रयोग नगरी असुरक्षित यौनसम्पर्क गर्ने र त्यसपछि गर्भ रोक्न ७२ घण्टे पिल्स खानेहरूले आकस्मिक गर्भनिरोधक औषधिको दुरुप्रयोग गरेको विज्ञहरू बताउँछन् ।

    डा. भोला रिजाल नेपालमा यो औषधिको ‘मिसयुज’ बढेको बताउँछन् । गर्भपतनले वैधानिकता पाउनुपर्छ भनेर वर्षौं आवाज उठाएपछि गर्भपतनसम्बन्धी कानून बन्यो । यसले मातृ मृत्युदर घट्ला भन्ने विश्वास थियो त्यो पनि हुन सकेन ।

    गर्भपतन र गर्भपतन गराउने औषधिको दुरुप्रयोग झन् बढ्यो र यसले महिला स्वास्थ्यको स्थिति नाजुक बनाउँदै लगेको छ । अहिले आकस्मिक गर्भनिरोधक औषधिको दुरुप्रयोगले पनि बाँझोपनको समस्या बढेको छ । यस्ता औषधिको प्रयोग यही हिसाबले बढ्दै गए अबको केही वर्षपछि बाँझोपनको समस्याले विकराल रूप लिन सक्ने डा. रिजाल बताउँछन् ।

    आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गर्नेहरू शिक्षित वर्ग नै बढी छन् । अहिलेको नयाँ जेनेरेसन नै यो औषधिको दीर्घकालीन असर थाहा हुँदाहुँदै पनि प्रयोग गरिरहेका छन् ।

    फर्माशिष्ट अमित श्रेष्ठ भन्छन्, केही युवतीहरू ५०औं पटकसम्म ७२ घण्टे औषधि खरीद गर्न आउने पनि छन् । यो औषधि धेरै सेवन गर्नुहुँदैन भन्दा आफ्नो पार्टनरले कण्डम प्रयोग गर्न नमान्दा यसरी पिल्स सेवन गर्न बाध्य भएको सुनाउँछन् ।

    आकस्मिक गर्भनिरोधक साधनलाई कण्डम जस्तो जत्ति पटक यौन सम्पर्क भयो त्यति पटक प्रयोग गर्ने ट्रेन्ड नै छ । केही युवतीहरू त हप्तैपिच्छे खरीद गर्न आउने गरेको श्रेष्ठ बताउँछन् ।

    स्त्री रोग विशेषज्ञ डा. ज्योती अग्रवाल यो औषधिलाई सरकारले प्रेसक्रिप्सन विना खरीदबिक्री हुन् दिन नहुने बताउँछिन् । चिकित्सकको सल्लाह विना यो औषधि सेवन गर्दा पहिल्यै स्वास्थ्य समस्या भएका कतिपय महिलाको ज्यान पनि जान सक्छ । अन्य रोग भएका र त्यसको औषधि सेवन गरिरहेका महिलाले आकस्मिक गर्भनिरोधक पिल्स सेवन गर्नै हुँदैन ।

    अन्तर्राष्ट्रिय मेडिकल जर्नलमा प्रकाशित भएको अध्ययन अनुसार आकस्मिक गर्भनिरोधक औषधिले एस्ट्रोजोन हर्मोनमा गडबडी ल्याइदिन्छ, जसले गर्दा शरीरमा क्यान्सरका कोष वृद्धि हुने जोखिम बढ्छ । भविष्यमा स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर जस्ता जटिल समस्या देखिन पनि सक्छ ।
    आकस्मिक गर्भनिरोधक साधनको धेरै प्रयोगले पाठेघरको भित्ता पातलो बनाइदिन्छ । जसका कारण भविष्यमा सन्तान चाहिंदा गर्भ तुहिने सम्भावना बढेर जान्छ । आकस्मिक गर्भनिरोधक साधन धेरै प्रयोग गरे हर्मोन असन्तुलित भई मूड परिवर्तन भइरहने, तौल बढ्ने, टाउको दुखाइ हुने जस्ता समस्या पनि देखिन सक्छ । आकस्मिक गर्भनिरोधक साधनको प्रयोग गर्नेले कन्डमको प्रयोग गर्दैनन्, जसका कारण यौनरोग लाग्न सक्छ ।

    गर्भनिरोधक प्रयोग नगरे विकल्प के त ?

    गर्भनिरोधक पिल्स नखाने, परिवार नियोजनका साधन प्रयोग नगर्ने, कण्डम नलगाउने र गर्भ रहन पनि नदिने हो भने सुरक्षित चक्र राम्रो विकल्प हो । नियमित रूपमा महीनावारी हुने महिलामा महीनावारी भएको कतिऔं दिनमा यौन सम्पर्क राखे गर्भ रहँदैन भन्ने जानकारी हुनुपर्छ ।
    महीनावारी गडबड नभएका महिलामा महीनावारी भएको ८ दिन अघि र २२ दिनपछि कुनै साधन विना सम्पर्क राखे पनि गर्भ रहँदैन ।

    महीनावारी भएको आठदेखि बाइस दिनसम्म यौनसम्पर्क राख्दा गर्भ रहन सक्छ । यस अवधिमा यौनसम्पर्क राख्नुपर्ने भए कण्डम, फेमिडोम अर्थात् महिला कण्डम, अन्य अस्थायी साधनहरू प्रयोग गर्नुपर्छ । तर महीनावारी अनियमित हुने महिलामा यो विधि भरपर्दो हुँदैन ।

    पिल्सलाई आकास्कि स्थितिमा मात्रै प्रयोग गर्न सुझाउँछिन् डाक्टर श्रेयसी अर्याल । पिल्सको नियमित प्रयोग प्रजनन् स्वास्थ्यका लागि घातक हुने उनको भनाइ छ ।

    हेर्नुहोस्, पिल्स प्रयोगबारे डाक्टर श्रेयसी अर्यालको सुझाव