Tag: स्थापना दिवस

  • क्रियाशिल दलित पत्रकार संघ नेपाल तीन वर्षमा प्रवेश, स्थापना दिवसका अवसरमा वेवसाइट सार्वजनिक

    क्रियाशिल दलित पत्रकार संघ नेपाल तीन वर्षमा प्रवेश, स्थापना दिवसका अवसरमा वेवसाइट सार्वजनिक

    काठमाडौं । दलित समुदायका पत्रकारको छाता संगठन क्रियाशिल दलित पत्रकार संघ तीन वर्षमा प्रवेश गरेको छ । दलित समुदाय भित्रका पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशिल रहेका पत्रकारको छाता संस्थाका रुपमा रहेको संघ दुइ वर्ष अघि २०७६ साल मंसिर ३ गते स्थापना भएको थियो ।

    संघले दुइ वर्ष पुरा गरेर तीन वर्षमा प्रवेश गरेको अवसरमा वेवसाइट पनि सार्वजनिक गरेको छ । www.aadjon.org डाेमेन रहेकाे वेवसाइट शुक्रबार एक कार्यक्रमका विच राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले संयुक्त रुपमा सुभारम्भ गरेका हुन् । वेवसाइटमा संस्थाले गरेका गतिविधि रहने संघका महासचिव विश्वास खड्काथोकीले जानकारी दिए ।

    स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष विश्वकर्माले संघलाई स्थापना दिवसको अवसरमा शुभकामना दिदैँ क्रियाशिल दलित पत्रकार संघ एक सक्रिय र निरन्तर पत्रकारिता गरिरहने पत्रकारको संस्था भएकाले आयोग सहकार्य गर्न तयार रहेको बताए । उनले भने, ‘क्रियाशिल दलित पत्रकार संघ एक सक्रिय दलित समुदायका पत्रकारको संस्था भएको मैले पाएको छु । त्यसैले आयोग सहकार्य गर्न आतुर छ ।’

    काउन्सिलका अध्यक्ष बस्नेतले पनि संघलाई स्थापना दिवसका अवसरमा शुभकामना दिदैँ काउन्सिल संघसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । उनले भने, ‘काउन्सिल सञ्चारमाध्यमलाई नियमन गर्ने निकाय हो । तर पनि यसले विभिन्न खालका अनुसन्धानमुलक काममा सघाउने भएकाले यहाँहरु प्रस्ताव ल्याएर आउनुस । काउन्सिल सहयोग र सहकार्य गर्न तयार छ ।’

    संघले स्थापनाको तीन वर्षमा सात वटै प्रदेशमा प्रदेश समिति र केहि जिल्लामा जिल्ला समिति पनि गठन गरिसकेको छ । संस्था स्थापना भएलगत्तै कोरोना महामारी फैलिएकाले केहि गतिविधि कम भए पनि अब संघले आफ्ना क्रियाकलाप संगठन बिस्तारलाई निरन्तरता दिने संघका अध्यक्ष पवित्रा सुनारले बताईन ।

    कार्यक्रममा लेखक तथा बरिष्ठ पत्रकार हिरा विश्वकर्माले नेपालमा दलित पत्रकारको अवस्था र यसको विकासका लागि चाल्नुपर्ने कदमका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा  बरिष्ठ पत्रकार बाबुराम विश्वकर्मा लगायतले स्थापना दिवसका अवसरमा संघलाई शुभकामना दिएका थिए ।

  • राप्रपाले भर्चुअल माध्यमबाट मनायो पार्टी स्थापना दिवस

    राप्रपाले भर्चुअल माध्यमबाट मनायो पार्टी स्थापना दिवस

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो ३१औं पार्टी स्थापना दिवस भर्चुअल माध्यमबाट कार्यक्रम आयोजना गरी आज मनाएको छ । पार्टी अध्यक्ष कमल थापाले सञ्चालन गरेको कार्यक्रममा पार्टीका संस्थापक अध्यक्ष पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आफ्नो भक्तपुर लोकन्थलीस्थित निवासमा दिप प्रज्ववल गरि समुद्घाटन गरेका थिए ।

    नेता चन्दले राप्रपालाई बलियो राष्ट्रबादी शक्ति बनाउनको निमित्त सबैले मेहनत गर्नुपर्ने र अहिले मुलुकलाई वैकल्पिक शक्तिको आवश्यकता रहेको विचार व्यक्त गरे । पार्टी अध्यक्ष पशुपतिशमशेर राणाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा बोल्दै राणाले कोभिड महामारी नियन्त्रणको निमित्त राज्यको सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।

    राजा सहितको प्रजातन्त्र र सनातन हिन्दुराष्ट्रलाई स्थापित गर्नको निमित्त जनता केन्द्रित हुँदै संगठन निर्माणमा जुट्न राणाको आग्रह थियो । अध्यक्ष कमल थापाले पार्टी स्थापनाकालदेखी यहाँ सम्म ल्याउन महत्त्वपूर्ण योगदान दिने नेताहरुमा सम्मान प्रकट गरेका थिए भने दिवङ्गत नेताहरूप्रती श्रद्धा सुमन अर्पण गरेका थिए ।

    गणतन्त्र ,धर्मनिरपेक्षता, संघीयताको बाटो बाट नभई राप्रपाले अवलम्वन गरेको मार्गचित्रबाट मात्र नेपालले स्वाभिमान कायम राख्दै समृद्धिको यात्रा तय गर्न सक्ने थापाको दाबी थियो । अर्का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनिले विगतका कमि कमजोरी , सफलता असफलताको समीक्षा गर्दै पार्टीलाई गन्तव्यतर्फ अगाडि बढाउनु पर्ने चर्चा गर्दै काङ्ग्रेस कम्युनिस्टको असफलता र अकर्मण्यताले मुलुक समस्याको दलदलमा भासिएको बताए । मुलुकलाई सहि दिशा दिनको निमित्त राप्रपा बलियो हुनुपर्ने लोहनीले बताए ।

    कार्यक्रममा जनबर्गिए संगठनको तर्फबाट महिला संगठनकि अध्यक्ष कुन्ती शाही, प्रदेश अध्यक्षहरुको तर्फबाट प्रदेश -१ का अध्यक्ष राम थापा, जिल्ला अध्यक्षहरूको तर्फबाट सप्तरी अध्यक्ष उम्देश्वर साह र प्रबास संगठनको तर्फबाट प्रेम कुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

    कार्यक्रममा पार्टीका वरिष्ठ नेताहरू, सचिवालय कार्य व्यवस्था समिति, सचिवालय सदस्यहरू, जनवर्गीय संगठनका प्रमुखहरू ,जिल्ला अध्यक्षहरू लगायतको सहभागिता रहेको र स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदानसहित पार्टीलाई सशक्त रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरिएको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

  • तदर्थमै स्थापना दिवस मनाउँदै नेविसंघ

    तदर्थमै स्थापना दिवस मनाउँदै नेविसंघ

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आज आफ्नो ५२ औं स्थापना दिवस मनाउँदै छ । नेपाली विद्यार्थी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेविसंघको स्थापना २०२७ साल वैशाख ६ गते भएको थियो ।

    विभिन्न राजनीतिक परिवर्तन र शैक्षिक आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भएपनि पछिल्लो समय नेविसंघ अस्थिर र प्रभावहीन बन्दै गएको आरोप लाग्न थालेको छ । हरेक २–२ वर्षमा हुनुपर्ने नेविसंघको महाधिवेशन नियमित हुन सकेको छैन ।

    २०७३ सालमा पछिल्लोपटक नेविसंघको ११ औ महाधिवेशन सम्पन्न भएको थियो । सो महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले महाधिवेशन गराउन नसकेपछि २०७५ माघ २८ मा राजीनामा दिएका दिए ।

    त्यसपश्चात लामो समय नेतृत्वविहीन रहेको नेविसंघमा २०७६ माघ १६ गते राजीव ढुंगानालाई अध्यक्ष मनोनित गरिएको थियो । कांग्रेस शीर्ष नेताहरुले नेविसंघमा भागबण्डा गरेपनि हालसम्म कार्यसमितिले पूर्णता पाएको छैन ।

    ६ महिनामा महािधवेशन गराउन मनोनित ढुंगाना नेतृत्वको कार्यसमितिको म्याद २ पटक थपिसकिएको छ । थप गरिएका समयमा पनि नेविसंघ महाधिवेशन हुने निश्चित छैन । नेविसंघमा विधानविपरीत सहमति गर्दै कांग्रेस नेताहरुले ९ जना महामन्त्री राख्ने निर्णय गरेका थिए । जसमध्ये ६ जना मनोनित भइसकेका छन् ।

    हाल नेविसंघमा अध्यक्ष ढुंगाना, उपाध्यक्षहरु तुलसा पन्त र मुक्ति पौडेल तथा महामन्त्रीहरुमा उर्मिला थपलिया, दीपक भट्टराई, प्रभातकुमार दाहाल, मनोज वैद्य, बलदेव तिमिल्सिना, महेश्वरी कुँवर र युवराज पाण्डे रहेका छन् । नेविसंघका पदाधिकारीहरु केन्द्रीय समितिले पूर्णता नपाएको कारण १२ औं महाधिवेशनको तयारी गर्न कठिन भइरहेको बताउँछन् ।

    नेपाली कांग्रेसमा कुनैबेला नेता उत्पादन गर्ने कारखानाका रुपमा नेविसंघ परिचित थियो । नेविसंघका संस्थापक सभापति विपीन कोइराला हुन् भने हाल कांग्रेस सभापति रहेका शेरबहादुर देउवा नेविसंघको दोस्रो सभापति हुन् ।

    नेविसंघको राजनीतिक पृष्ठभूमीबाट कांग्रेस राजनीतिमा स्थापित भएका नेताहरु धेरै भएपनि नेविसंघ भने नेताहरुकै स्वार्थको शिकार बन्दै आएको छ । महाधिवेशन आयोजना गर्नकै लागि ढुंगाना नेतृत्वको कार्यसमिति बनाइएपनि डेढ वर्ष बित्न लागिसक्दा सम्मा समितिले पूर्णता पाउन सकेको छैन ।

    नेविसंघको ५२ वर्ष लामो इतिहासमा हालसम्म १९ जना केन्द्रीय अध्यक्ष बनेका छन् । जसमध्ये ६ जना मात्रै महाधिवेशनबाट निर्वाचित भएका हुन् । ५ जना अध्यक्ष महाधिवेशनको हलबाट सर्वसम्मत भएका थिए भने अरु सबै तदर्थ समितिका अध्यक्ष हुन् ।

    स्थापना दिवसको अवसरमा नेविसंघ केन्द्रीय समितिले काठमाडौंको वाल्मिकी क्याम्पसमा पार्टी सभापति शेरबहादुर देउवाको आतिथ्यतामा कार्यक्रम आयोजना गरेको छ ।

  • ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई साकार रूप दिनेछौं : मुख्यमन्त्री गुरुङ

    ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई साकार रूप दिनेछौं : मुख्यमन्त्री गुरुङ

    कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाले साकार रूप पाउने अभियानमा प्रदेश सरकार अघि बढेको बताएका छन् ।

    गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका प्रदेशवासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

    यस ऐतिहासिक अवसरमा राजनीतिक परिवर्तनका लागि भएका सम्पूर्ण शान्तिपूर्ण र सशस्त्र सङ्घर्षमा आफनो अमूल्य जीवन बलिदान गरेका अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मुख्यमन्त्री गुरुङले सङ्घर्षका क्रममा घाइते र बेपत्ता भएका योद्धा परिवारप्रति सम्मान प्रकट गरेका छन् ।

    नेपालको संविधानले व्यवस्था गरेको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित रहेर तीन तहका सरकारबीचको सहकार्य र सम्बन्धलाई घनीभूत बनाउन सक्दा मात्र आर्थिक समृद्धि प्राप्त हुने विश्वास व्यक्त गर्दै शुभकामना सन्देशमा उनले समावेशी, सन्तुलित र सामाजिक न्यायसहितको दिगो सामाजिक, आर्थिक र भौतिक विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

    समृद्धिको लक्ष्य हासिल गर्न तय गरिएका दीर्घकालीन सोच, अन्तर्राष्ट्रिय प्रतिबद्धता र दिगो विकास आवश्यक रहेको उल्लेख गर्दै उनले प्रदेशका नागरिकको चाहना, जननिर्वाचित प्रतिनिधिमार्पत मुखरित जनभावना, विज्ञ तथा सरोकारवालाबाट प्राप्त सुझावलाई आत्मसात गरी उपलब्ध स्रोत र साधनको अधिकतम र दक्षतापूर्वक उपयोग गर्दै गण्डकी प्रदेश सरकार समृद्धिको पक्षमा निरन्तर लागिपरेको स्पष्ट पारे ।

    ‘भौगोलिक विविधता, प्राकृतिक सुन्दरता, बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त समाजमा सामाजिक सद्भाव र सांस्कृतिक सहअस्तित्व कायम गर्ने दिशामा प्रदेश सरकारका नीति तथा कार्यक्रम परिलक्षित छन्’, मुख्यमन्त्री गुरुङले सन्देशमा भनेका छन्, ‘सबै प्रकारका विभेद, उत्पीडन र वञ्चितीकरणले पारेका प्रभावहरुको समूल अन्त्य गर्ने अभियानमा सरकार सदैव प्रतिबद्ध छ ।’

    प्रदेश सरकारको तीनवर्षे यात्राका क्रममा सम्पूर्ण राजनीतिक दल, सङ्घसंस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी एवं आम नागरिकबाट प्राप्त साथ, समर्थन, सहयोग र रचनात्मक सुझावप्रति हार्दिक आभार प्रकट गर्दै सन्देशमा उनले भने, ‘रचनात्मक सुझावको निरन्तरताले मात्र प्रदेश सरकारलाई पूर्णरूपमा सफल बनाएरै छाड्ने हाम्रो निष्ठापूर्ण प्रतिबद्धताले सार्थकता प्राप्त गर्नेछ भन्ने विश्वास लिएको छु ।’

    गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा प्रदेश राजधानी पोखरामा आजै स्थापना दिवसका अवसरमा औपचारिक कार्यक्रमको आयोजना गरिने भएको छ । कार्यक्रममा शुभकामना आदान–प्रदानसहित सरकारका विगतका समीक्षा एवं भावी कार्यक्रमका बारेमा जानकारी गराउने बताइएको छ । रासस