Tag: स्कटल्यान्ड

  • नर्विचले लोनमा भित्र्यायो चेल्सीका गिल्मोर

    नर्विचले लोनमा भित्र्यायो चेल्सीका गिल्मोर

    काठमाडौं । नर्विच सिटीले चेल्सीका युवा मिडफिल्डर बिली गिल्मोरलाई आगामी सिजन भरका लागि लोनमा अनुबन्ध गरेको छ । स्कटल्यान्डको प्रतिनिधित्व गर्दै अहिले जारी युरो २०२० मा उत्कृष्ट प्रदर्शन गरेका गिल्मोरले गत सिजन चेल्सीबाट सबै प्रतियोगितामा गरी ११ खेल खेलेका थिए ।

    सन् २०१७ मा रेन्गर्सबाट चेल्सीको युवा टोलीसँग जोडिएका गिल्मोरले लन्डन साइडबाट २०१७-१८ मा यु १८ प्रिमियर लिग तथा एफए कप पनि जितेका थिए । गिल्मोर २०१९-२० सिजनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै चेल्सीको एकेडेमी वर्ष खेलाडी घोषित भएका थिए ।

    ‘ म नर्विचसँग जोडिन पाउँदा एकदमै खुशी छु,’ गिल्मोरले भने , ‘म नयाँ सिजनलाई लिएर एकदमै उत्साहित छु । म सम्भव भएसम्म धेरै खेल खेल्दै नर्विचलाई प्रिमियर लिगमा फाइट गर्नका लागि सहयोग गर्नेछु ।’

    नर्विच गत सिजन प्रिमियर लिगबाट घटुवा भएर फेरि यो सिजन प्रिमियर लिगमा बढुवा भइसकेको छ ।

  • स्कटल्यान्डले युरो २०२० बाट के सिक्यो ?

    स्कटल्यान्डले युरो २०२० बाट के सिक्यो ?

    काठमाडौं । २३ वर्षपछि स्कटल्यान्डले ठूलो प्रतियोगिता- युरो २०२० मा स्मरणीय ९ दिन बितायो ।

    तर, क्रोएसियाविरुद्ध अन्तिम खेलमा पराजित भएसँगै स्कटल्यान्डको युरो २०२० यात्रामो समापन रमाइलो रहेन । ह्याम्पडेनमा पराजित भएसँगै स्टिभ क्लार्कको नेतृत्वमा रहेको स्कटल्यान्डले उच्च मनोबलसहित रोमाञ्चक प्रदर्शन गरे पनि समूह चरणभन्दा अगाडिको यात्रा तय गर्न सकेन।

    तर, प्रतियोगिताका दौरान पिचमा र स्कटल्यान्ड देशभर देखिएको उत्साहले भने स्टिभ क्लार्कको टोलीलाई अझै ठूला उपलब्धि हासिल गर्नका लागि भोक जगाएको छ ।

    युरोको निराशालाई एकातिर राखेर स्कटल्यान्ड विश्वकपमा छनोट हुने बहस अर्कोतिर सुरु भएको छ ।

    २३ वर्षपछि ठूला प्रतियोगितामा फर्किएको स्कटल्यान्डले के सिक्न सक्छ ?

    गिल्मोर खेल्नुपर्छ

    ओके, स्कटल्यान्डले नकआउटमा पुगेर इतिहास बनाउन सकेन तर उनीहरूसँग वेम्ब्ली सधैं रहने छ । इङ्ल्यान्डविरुद्ध एकदमै आवश्यक रहेको गोलरहित बराबरीमा खेल्दा स्कटल्यान्डका लागि पहिलो पटक सुरुआती-११ मा परेका बिली गिल्मोर ‘स्टार अफ दी म्याच’ चुनिए । उनको प्रदर्शन स्कटल्यान्डले हासिल गरेको एक अंकको आधार स्तम्भ थियो । त्यो स्टेज कठिन थियो, न त धेरै अपेक्षा नै थिए । तर, २० वर्षीय गिल्मोरले स्कटल्यान्डलाई त्यो दिए… र त्यसपछि …!

    मैदानमा रहेका सबैभन्दा कान्छा खेलाडी गिल्मोर खेलमा बल मागिरहेका थिए, खेल आफ्नो नियन्त्रणमा लिइरहेका थिए, ट्याकल गरिरहेका थिए । उनको त्यो खेलमा स्कटल्यान्डको भविष्य देखिन्थ्यो ।

    गिल्मोरले चेक रिपब्लिकविरुद्ध २-० गोलको पराजित भएको खलमा पनि स्कटल्यान्डको सुरुआती-११ मा सायद मौका पाउनुपर्थ्यो । जसको नजिता स्कटल्यान्डका लागि अन्त्यमा घातक सावित भयो ।

    इङ्ल्यान्डविरुद्धको उत्कृष्ट प्रदर्शनपछि गिल्मोरले क्रोएसियाविरुद्धको खेल सुरुआत गर्ने निश्चित थियो । तर, कोरोना भाइरस संक्रमित भएसँगै त्यो सम्भावनामा पूर्णविराम लाग्यो । त्यो गिल्मोर र स्कटल्यान्डका लागि परीक्षणको एकदमै निर्दयी पोजिटिभ नतिजा थियो । स्कटल्यान्डले नचाहेएको एक मात्र पोजिटिभ नतिजा त्यही थियो ।

    त्यसलाई बिर्सौं, जब सेप्टेम्बरमा विश्वकप छनोट पुनः सुरु हुन्छ, बिली गिल्मोर स्कटल्यान्डको पहिलो रोजाइमा हुनुपर्छ । उनले इङ्ल्यान्डविरुद्ध खेलेको ९० मिनेट उनी विशेष सदस्य हुन् भन्ने प्रमाणित गर्न पर्याप्त थियो । र, स्कटल्यान्ड गिल्मोरसहित राम्रो टिम हो भन्नेमा शंका छैन ।

    सशक्त आक्रामक क्षमता आवश्यक

    स्कटल्यान्डका लागि गोलका अवसर सिर्जना गर्नु समस्या होइन, तर त्यसलाई सदुपयोग गर्नु चाहीँ ठूलो समस्या हो । क्लार्कको स्कटिस टोलीले युरो २०२० का तीन खेलमा ४१ पटक विपक्षी टोलीमाथि आक्रामण गरेको छ । तीमध्ये १२ प्रहार गोलपोस्टमा परेका थिए भने एक मात्र प्रहार गोलमा परिणत भएको थियो ।

    चेक रिपब्लिकविरुद्धको खेलमा स्कटल्यान्डका खेलाडीले गरेको प्रहार पोस्टमा लागेर फर्र्किको थियो भने इङ्ल्यान्डविरुद्धको खेलमा गोल लाइनबाट बल क्लियर भएको थियो । क्रोएसियाविरुद्धको खेलमा भने जोन म्यागिनले नजिकैबाट गरेको प्रहार बल आकाशिएको थियो ।

    मौका पाए पनि स्कटल्यान्ड त्यसको सदुपयोग गर्न तत्पर र सफल देखिएन । यो स्तरका प्रतियोगितामा त्यस्ता कुराले एकदमै फकर पार्छ । स्कटल्यान्ड दुई स्ट्राइकर खेलाउँदा अझै बढी प्रभावकारी देखिन्थ्यो । पहिलो खेलमा चेक गणतन्त्रविरुद्ध खेलमा चे आडम्सलाई सुरुआती ११ मा नराखेका क्लार्कले आफ्नो निर्णय पहिलो हाफको समाप्तिसँगै परिवर्तन गरेका थिए । त्यसपछि दुई खेलमा पनि क्लार्कले दुवै फरवार्डलाई सुरुआती-११ मा खेलाए ।

    स्कटल्यान्डबाट पहिलो पटक ठूला प्रतियोगिता खेलेका आडम्सले पछिल्लो तीन महिनामा ७ अन्तर्राष्ट्रिय क्याप जितिसकेका छन् । लियोनका फरवार्ड लिन्डोन डाइक्स र आडम्सले आफ्नो सतप्रतिशत नदिएको आशंका छैन । तर, उनीहरूको फिनिसिङमा भने अझै निखार आउनु आवश्यक देखिन्छ ।

    डाइक्सले चेक रिपब्लिकविरुद्धको खेलमा ८ यार्डबाट सोझै चेक गोलकिपर थोमस भाच्लिकलाई प्रहार गर्दा स्कटिस समर्थकको निराशा चरम उत्कर्षमा देखिन्थ्यो ।

    त्यस्तै अवस्थामा आत्मविश्वास नभएर देखिने फिनिसिङमा त्यो समस्या यो स्तरका प्रतियोगितामा मान्य हुँदैनन् । त्यस्तै, पहिलो खेलमा कप्तान एन्डी रोबर्टसनले एउटा सजिलो मौका खेर फालेका थिए । जे भए पनि स्कटल्यान्ड गोल गर्न सक्ने टोलीको रूपमा आफूलाई ढाल्नुपर्ने खाँचो देखिन्छ ।

    डाइरेक्ट अप्रोचको नतिजा अपेक्षाकृत भएन

    स्कटल्यान्डका दुई हारमा एउटै कुरा- फरवार्डका लागि सप्लाई भएका लामा पास देखिन्थ्यो ।

    चेक रिपब्लिक र क्रोएसियाविरुद्धको खेलमा प्रयोग गरिएको रणनीति वेम्ब्लीमा इङ्ल्यान्डविरुद्धको ‘टाइट पासिङ’ ट्याकटिसभन्दा विल्कुल फरक थियो । स्कटल्यान्डको मिडफिल्ड बलियो पक्ष हो । तर, दुई खेलमा डाइरेक्ट लामो पासको एप्रोचले त्यसलाई किल गर्‍यो । गिल्मोर, म्याकगिन, कालुम म्याकग्रेगोर बल पोसेसनमा लिएर पास खेल्नमा कम्फर्टेबल छन् ।

    पास खेलेर आक्रामणका अवसर सिर्जना गर्नमा पनि स्कटिस मिडफिल्ड सक्षम देखिन्छ ।

    स्कटल्यान्डले अपेक्षा गरेअनुसार नतिजा हासिल गर्न टोलीमा क्षमतावान् खेलाडीको प्रयोग गरेर आफ्नो स्ट्रेन्थको फुटबल खेल्नु उचित हुन्छ ।

    खेलको अवस्था रिड गर्न नसकेको स्पष्ट देखियो

    दोस्रो हाफमा क्रोएसियाले स्कटल्यान्डलाई परास्त गर्दै आफ्नो भाग्य चम्कायो । लुका मोड्रिकको उत्कृष्ट प्रदर्शन प्रेरित क्रोएसियाले सन् २०१८ विश्वकपको फाइनलसम्म पुगेको टोलीको क्लास पनि देखायो ।

    त्यो खेल दुवै टोलीका लागि जित्नै पर्ने थियो । जब स्कटल्यान्डले पहिलो हाफ सकिन लाग्दा खेलमा बराबरी गर्‍यो, क्रोएसिया अत्तालिएन । बरु, क्रोएसिया पुनः खेलमा हाबी भयो र खेलमा प्रभुत्व जमायो ।

    पाँच जना डिफेन्डर खेलाए पनि रक्षापंक्तिमा भएका गल्तीले स्कटल्यान्डको हार टार्न सकेन । चेक रिपब्लिकविरुद्धको खेलमा पनि स्कटल्यान्डले त्यहि भोगेको थियो । प्याट्रिक शिकले मैदानको बीचभागबाट गरेको गोलमा स्कटिस गोलकिपर डेविड मार्सलले आफ्नो स्थान नछाडेको भए अवस्था फरक हुन्थ्यो ।

    प्रतियोगिताअघि स्कटल्यान्डका लागि सबैभन्दा महत्त्वपूर्ण खेल चेक रिपब्लिकविरुद्धको र त्यो खेलमा नतिजाको पनि अपेक्षा गर्न सक्ने आंकलन गरिएको थियो । र, अन्त्यमा त्यो खेल महत्त्वपूर्ण थियो भन्ने पनि सावित भयो ।

    यी सबै पीडादायी क्षणहरू स्कटल्यान्डका लागि नयाँ पाठ सिक्ने अभ्यास भयो । त्यसका अतिरित्त स्कटल्यान्डले २३ वर्षपछि ठूला प्रतियोगिताको अनुभव लिने मौका पनि पायो ।

    अनुभव बटुलेको स्कटल्यान्डले यस्ता प्रतियोगितामा कहिले काहीँ घुम्न आउने टोली मात्रै हाइन भन्ने प्रमाणित गर्न युरो २०२० बाट धेरै कुरा सिकेको छ ।

    नयाँ सुरुआतको आधार

    स्कटल्यान्डको युरो २०२० को समूह चरणसम्मको मात्रै यात्रा- कम नआँकिएको टोली र सम्हालिन नसकेको टोलीको रूपमा मिश्रित रह्यो ।

    तीन मध्ये दुई खेल घरेलु मैदानमा खेलेको र तेस्रो स्थानमा रहेर पनि नकआउटमा पुग्ने सम्भावना भएको स्कटल्यान्डले समूह चरण पार गरेर इतिहास रच्ने सुन्दर मौका गुमायो । क्लार्कको ट्याक्टिस र खेलाडी छनोट पनि नजिकबाट एक्सपोज भयो ।

    यी सबै निराशाका बाबजुद स्कटल्यान्डले  सन् १९९८ पछि पहिलो पटक ठूला प्रतियोगिताको अनुभव लियो । र, यो अनुभव एउटा नयाँ उचाईसम्म पुग्नका लागि नयाँ सुरुआत हुन सक्छ ।

    क्लार्कको नेतृत्वमा स्कटल्यान्डले २ वर्षमा २४ खेल खेलिसकेको छ । क्लार्कको टोलीका लागि यो अन्तिम अवसर होइन । बरू स्कटिस टोली अझै सुधार गरेर आफूलाई सशक्त बनाउन सक्ने परिस्थितिमा छ ।

    गिल्मोर, नाथान प्याटरसन र डेभिड टर्नबल स्कटिस टोलीका उज्ज्वल भविष्यका रूपमा उदाएका छन् । र, रेगुलर टोलीमा स्थान बनाएर आफूलाई अझै उत्कृष्ट सावित गर्न पनि सक्नेछन् ।

    युरो २०२० मा क्लार्कले छनोटका गरेका २६ मध्ये तीन गोलकिपर र सेन्टर ब्याक डेक्लान गल्लाघर मात्रै ३० वर्ष नाघिसकेका खेलाडी थिए ।

    यो युरोले स्कटल्यान्डलाई नयाँ पाठ पढाएको छ । र, स्कटल्यान्डको यो टोलीबाट उत्कृष्टताको प्रदर्शन अझै बाँकी छ ।

    बिबिसीबाट
  • स्कटल्यान्डसँग बराबरीमा रोकियो इङ्ल्यान्ड

    स्कटल्यान्डसँग बराबरीमा रोकियो इङ्ल्यान्ड

    काठमाडौं । स्कटल्यान्डसँग गोलरहित बराबरीमा रोकिएसँगै इङ्ल्यान्ड एक खेल अगावै युरो २०२० को नकआउटमा स्थान सुरक्षित गर्नबाट चुकेको छ ।

    शुक्रबार राति लन्डनस्थित वेम्ब्ली स्टेडियममा भएको समूह ‘डी’ अन्तर्गत आफ्नो दोस्रो खेलमा इङ्ल्यान्ड पुरानो प्रतिद्वन्दी स्कटल्यान्डलाई पराजित गर्न असफल रह्यो ।

    खेलको सुरुआतदेखि नै बल पोसेसनमा प्रभुत्व जमाएको इङ्ल्यान्डले गोलका लागि अवसरको सिर्जना गरे पनि प्रभावकारी फिनिसिङ नहुँदा बराबरीमा चित्त बुझाउनु पर्‍यो । पहिलो खेलमा चेक गणतन्त्रसँग २-० ले पराजित भएको स्कटल्यान्डको बराबरीसँगै समूह चरण पार गर्ने सम्भावना बढेको छ ।

    यस्तै पहिलो खेलमा क्रोएसियालाई १-० ले पराजित गरेको इङ्ल्यान्डको पनि नक आउट प्रवेश सम्भावना प्रवल छ ।

  • २५ वर्षपछि ठूला प्रतियोगितामा भिड्दै इङ्ल्यान्ड र स्कटल्यान्ड

    २५ वर्षपछि ठूला प्रतियोगितामा भिड्दै इङ्ल्यान्ड र स्कटल्यान्ड

    काठमाडौं । युरोपियन च्याम्पियनसिप (युरो २०२०)को समूह चरण अन्तर्गत शुक्रबार राति तय भएको इङ्ल्यान्ड र स्कटल्यान्डबीचको भेट ठूला प्रतियोगितामा २५ वर्षपछि हुन लागेको हो । गारेथ साउथगेटको नेतृत्वमा रहेको इङ्ल्यान्ड स्कटल्यान्डलाई पराजित गर्दै एक खेल अगावै नकआउटमा स्थान सुरक्षित गर्न चाहन्छ ।

    अर्कातिर स्कटल्यान्ड इङ्ल्यान्डलाई हराउँदै प्रतियोगितामा समूह चरण पार गर्ने सम्भावना जिवितै राख्न चाहन्छ । इङ्ल्यान्डले पहिलो खेलमा क्रोएसियालाई १–० को नतिजामा पराजित गरेको थियो । स्टिभ क्लार्कको नेतृत्वमा रहेको स्कटल्यान्डले भने पहिलो खेलमा चेक रिपब्लिकसँग २–० को पराजय भोगेको थियो ।

    नेपाली सयमअनुसार शुक्रबार राति १२ः ४५ बजे वेम्ब्लीमा हुने ११५औं भेटमा २२ हजार ५ सय समर्थकको उपस्थिति रहने छ । यद्यपि, प्रतिस्पर्धात्मक खेलमा भने यो १००औं भेट हुनेछ ।

    ठूला प्रतियोगितामा यी दुई टोलीको अन्तिम भेट १९९६ को समूह चरणमा भएको थियो । उक्त खेलमा इङ्ल्यान्डलाई २–० गोलको नतिजामा जित दिलाउन एलेन सेरर र पौल ग्यासकोइग्नेले एक÷एक गोल गरेका थिए । उक्त खेलमा अहिले इङ्लिस टोलीका मुख्य प्रशिक्षक साउथगेट पनि खेलेका थिए ।

    आजको खेल स्कटल्यान्डले लागि जित्नै पर्ने दबाब भने छैन । वेम्ब्लीमा पराजित भए पनि स्कटिस टोलीको समूह चरण पार गर्ने सम्भावना बाँकी रहने छ । पहिलो चरणबा समूह विजेता र उपविजेतासँगै राम्रो नतिजा भएका तेस्रो स्थानमा रहेर समूह चरण कटाएका ६ टोलीले पनि नकआउटमा स्थान बनाउने छन् ।

    यदि स्कटल्यान्डले इङ्ल्यान्डलाई पराजित गर्न सकेन तर क्रोएसियासँग तीन अंक बटुल्न सक्यो भने तेस्रो स्थानमा रहँदा अर्को चरणमा जान सक्ने सम्भावना बाँकी नै रहन्छ ।

    इङ्ल्यान्डले थप तीन अंक हासिल गर्‍यो भने एक खेल अगावै अन्तिम–१६ मा स्थान सुरक्षित गर्नेछ । यदि इङ्ल्यान्डले जित निकाल्यो र क्रोएसियाले चेक गणतन्त्रलाई हराउन सकेन भने उनीहरू समूह विजेता बन्ने पनि निश्चित हुनेछ ।

    दुवै प्रशिक्षकलाई खेलाडी छनोटमा द्वुविधा छ ?

    चोटका कारण क्रोएसियाविरुद्धको पहिलो खेल गुमाएका म्यानचेस्ट युनाइटेडका डिफेन्डर ह्यारी म्यागुएर स्कटल्यान्डविरुद्धको खेलका लागि तयार रहेको बताइसकेका छन् । पहिलो खेलमा एस्टन भिल्लाका टायरोन मिङ्गस र जोन स्टोन्सले इङ्ल्यान्डको रक्षापंक्ति सम्हालेका थिए ।

    यस्तै, लेफ्ट ब्याकमा केइरोन ट्रिपियरले स्थान बनाएका थिए । ‘योर्कशायरका पिर्लो’ अर्थात् लिड्स युनाइटेडका मिडफिल्डर काल्भिन फिलिप्सले क्रोएसियाविरुद्धको खेलमा सम्झनलायक प्रदर्शन गरेका थिए । उनले मिडफिल्डमा म्यासन माउन्ट र डेक्लान राइससँगै सुरुआती ११ मा स्थान बनाएका थिए ।

    तर, एस्टन भिल्लाका प्लेमेकर ज्याक ग्रेलिस र लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले स्कटल्यान्डविरुद्धको खेलमा स्थान बनाउने सम्भावना देखिन्छ । यस्तै, स्कटल्यान्डविरुद्ध फाइनल थर्डमा मार्कोस रासफोर्ड र जाडोन सान्चोले पनि स्थान बनाउन सक्नेछन् ।

    अर्कातिर आर्सनलका केइरन टिर्ने टोलीमा फर्किएसँगै स्कटल्यान्डको टोलीमा ऊर्जा थपिएको छ । यद्यपि, स्कटिस गोलकिपर डेभिड मार्सलले चेक फरवार्ड प्याट्रिक शिकलृ गरेको दोस्रो गोलपछि सर्वव्यापी आलोचना बेहोरिरहेका छन् ।

    शिकले गोलकिपर अगाडि बढेको अवस्थामा मैदानको बीचभागबाट प्रहार गरेका बलले सोझै जाली चुमेको थियो । उनलाई प्रशिक्षक क्लार्कले खेलाउनेमा धेरै शंका नभए पनि उनको स्थान क्र्याग गोर्डनले स्थान बनाउँदा आश्चर्य हुनेछैन ।

    चेक टोलीविरुद्ध स्कटल्यान्डले १९ पटक गोलपोस्टमा प्रहार गरे पनि गोल गर्न असफल भएको थियो । चेक गणतन्त्रविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेर प्रभावशाली प्रदर्शन गरेका चे आडम्सले सुरुआती ११ मा स्थान बनाउने प्रवल सम्भावना छ ।

  • युरो २०२०: अब बेन्चमा थन्क्याउन नहुने ५ खेलाडी

    युरो २०२०: अब बेन्चमा थन्क्याउन नहुने ५ खेलाडी

    एजेन्सी । एक वर्ष ढिलो सुरु भएको युरो २०२० को पहिलो चरणमा प्राय देशले टिम छनोटमा रिस्क लिन चाहेनन् । तर, केही टोलीले सुरुआती-११ मा नयाँ प्रयोग गर्न खोज्दा चाहेजस्तो नतिजा निकाल्नबाट चुके ।

    हुनत खेलाडी छनोट र टोली निर्माणको सम्पूर्ण निर्णय र स्वामित्व पनि फुटबल संघले मुख्य प्रशिक्षकलाई सुम्पिएको हुन्छ । र, प्रशिक्षकहरूले आफ्नो टोली हरतरहले बलियो बनाउन कुनै कसर बाँकी राख्दैनन् ।

    यद्यपि, युरोका सुरुआती खेल हेर्ने हो भने सुरुआती-११ छनोटमा प्रशिक्षकहरू चुकेको स्पष्ट हुन्थ्यो । जसको ज्वलन्त उदाहरण स्पेनका प्रशिक्षक लुइस इनरिके हुन् । २४ जनाको टोली घोषणा गर्दा केही अपेक्षित नाम समावेश नगरेपछि चौतर्फी आलोचनाको शिकार भएका इनरिकेले पुन: एक पटक स्वीडेनविरुद्धको सुरुआती-११ लाई लिएर आलोचित हुनुपर्‍यो ।

    युरो २०२० मा सहभागी सबै टोलीले कम्तिमा एक खेल खेलिसकेका छन् । र, समूह चरणको पहिलो खेल खेलिसकेपछि केही प्रशिक्षकले यदि आफ्नो टोलीलाई नक आउटमा पुर्‍याउन सुरुआती-११ को छनोटमा पुनर्विचार गर्नुपर्ने देखिन्छ । पहिलो चरणको समाप्तिसँगै यसरी बेन्चमा राख्न नहुने पाँच खेलाडी यसरी सूचीकृत गर्न सकिन्छ ।

    गेरार्ड मोरोनो, स्पेन

    बार्सिलोनाका कप्तान लियोनेल मेसीले (३०) मात्रै स्पेनिस लालिगामा गत सिजन स्पेनिस फरवार्ड जेरार्ड मोरोनो (२३) भन्दा धेरै गोल गरेका थिए । आफनो करियरकै उत्कृष्ट फर्ममा रहेका मोरोनोले अप्रत्यासित रूपमा युरो २०२० को पहिलो खेलमा स्वीडेनविरुद्ध सुरुआती-११ मा मौका पाएनन् । मुख्य प्रशिक्षक लुइस इनरिकेले उनको स्थानमा युभेन्टसका फरवार्ड अल्भारो मोराटालाई स्ट्राइकरको जिम्मेवारी दिएका थिए । मोरेनोभन्दा मोराटालाई सुरुआती-११ मा नराख्नु उनका लागि घाटा भयो । घरेलु मैदानमा भएको खेलमा पनि फिनिसिङमा चुक्दा स्पेन स्वीडेनसँग गोलरहित बराबरीमा रोकिँदा ६६ मिनेट मौका पाएका मोराटाले तीन पटक मात्रै पोस्टमा आक्रमण गर्न सफल भएका थिए । तीमध्ये कुनै पनि प्रहारले विपक्षी गोलकिपरलाई अप्ठेरोमा पार्न सकेनन् ।

    यद्यपि, एक पटक गोल गर्नसके अल्भारो मोराटा आत्मविश्वासी खेलाडी हुन् । एक पटक उनले गोल गर्नसके गोलले नै उनलाई पछ्याउने छ । स्विडेनविरुद्धको बराबरीसँगै इनरिकेले पक्कै मोरोनोलाई छनोट गर्नेछन् ।

    ज्याक ग्रेलिस, इङ्ल्यान्ड

    आइतबार क्रोएसियामाथि १-० को जित हासिल गरेको इङ्ल्यान्डले विश्वकप २०१८ को बदलामात्रै लिएन, युरोपियन च्याम्पियनसिपमै पहिलो पटक उद्घाटन खेलमा पूरा तीन अंक लिन सफल भयो । वेम्ब्लीमा इङ्ल्यान्डले ऐतिहासि जित निकालेसँगै प्रतियोगितामा उत्कृष्ट सुरुआत पनि गर्‍यो । निरन्तर गोलका अवसरको खोजीमा रहे पनि इङ्लिस खेलाडीले गोल गर्नका लागि उचित मौकाका लागि धेरै समय पर्खनु परेको थियो ।

    इङ्लिस टोलीको उक्त प्रतिक्षाको फल स्वरूप राहिम स्टर्लिङ गरेको गोलसँगै पाएको थियो । गेराथ साउथगेटको आलोचना गर्न त कठिन छ । तर, पहिलो खेलको प्रदर्शन हेर्ने हो भने विपक्षी टोलीविरुद्ध फाउल जित्न र फ्रि-किकको मौका सिर्जना गर्न इङ्लिस खेलाडी त्यति सफल रहेनन् ।

    र, इङ्ल्यान्डको यो कमी पूरा गर्न ग्रेलिस एकदम उचित विकल्प हुने अनुमान सहजै गर्न सकिन्छ । किनभने, चोटका कारण १२ खेल गुमाएका ग्रेलिसले गत सिजन प्रिमियर लिगमा सर्वाधिक ११० पटक फाउल जितेका थिए । त्यस्तै, प्रभावशाली पासमा भने म्यानचेस्टर सिटीका केभिन डी ब्रुयनाले मात्रै उनलाई उछिनेका थिए ।

    फिल फोडेन इङ्लिस टोलीका युरो २०२० मा ‘गोल्डेन ब्वाइ’ हुनसक्छन् । तर, क्रोएसियाविरुद्धको खेलमा भने उनको प्रभाव देखिएन । साउथगेटले शुक्रबार हुने स्कटल्यान्डविरुद्धो खेलमा टोलीमा धेरै परिवर्तन गर्ने सम्भावना त देखिँदैन, यद्यपि, उनले ग्रेलिसलाई एक मौका दिनु उपयुक्त हुन्छ ।

    निकोला भ्लासिच, क्रोएसिया

    वेम्ब्लीमा आइतबार इङ्ल्यान्डसँग पराजित भएसँगै क्रोएसियाको खराब लयले निरन्तरता पाएको छ । विश्वकप २०१८ को उपविजेता क्रोएसियाले पछिल्ला १० मध्ये दुई खेलमा मात्र जित निकाल्न सकेको छ । र, ती दुई जित पनि युरोपेली फुटबलमा स्थापित भइनसकेका साइप्रस र माल्टाविरुद्ध निस्किएको थियो ।

    विश्वकपको उपविजेता पहिलो खेलमै पराजित भएसँगै क्रोएसियालाई शुक्रबार हुने खेलमा चेक गणतन्त्रसँग जित्नै पर्ने दबाब बढेको छ । क्रोएसियाली प्रशिक्षक ज्लाट्को डालिचलाई ह्याम्पडेनमा सशक्त प्रदर्शन गर्न निकोला भ्लासिचको उपस्थितिले पक्कै सहयोग पुग्नेछ ।

    मार्सेलो ब्रोजोभिच, माटेओ कोभासिच र लुका मोड्रिकले मिडफिल्डबाट फाइनल थर्डसम्म प्रभावकारी बल सप्लाई गर्न समस्या भइरहेको देखिन्छ । यस्तो अवस्थामा आवश्यक देखिएको मिडफिल्ड र अट्याकबीचको पुल भ्लासिच बन्न सक्छन् ।

    इङ्ल्यान्डविरुद्धको खेलमा २० मिनेट मौका पाएका भ्लासिचले क्षमताअनुसारको प्रदर्शन गर्न पर्याप्त समय थिएन । गत सिजन रसियन प्रिमियर लिगमा ११ गोल र पाँच असिस्ट गरेका भ्लासिचले २३ वटा ठूला मौका सिर्जना गरेका थिए । पहिलो खेलमा जित हासिल गरेको चेक गणतन्त्रले स्कटल्यान्डविरुद्ध १९ प्रहार सहनु परेको थियो ।

    यस्तै मौका सिर्जना भए क्रोएसियाका लागि भ्लासिचले गोल गर्ने सम्भावना पनि देखिन्छ । त्यसैले चेक गणतन्त्रविरुद्धको खेलमा उनलाई मौका दिनु उचित देखिन्छ ।

    चे आडम्स, स्कटल्यान्ड

    चेक गणतन्त्रविरुद्धको पराजयमा एन्डी रोबर्टसनले मात्रै चे आडम्सको भन्दा धेरै पास खेलेका थिए । जबकी आडम्स पहिलो हाफपछि मात्रै मैदानमा प्रवेश गरेका थिए । उक्त खेलमा स्कटल्यान्डले प्रहार गरेका १९ मध्ये १३ प्रहार आडम्सको उपस्थितिपछि मात्रै सम्भव भएका थिए ।

    गत वर्ष आडम्सले स्कटल्यान्डबाट खेल्ने घोषणा गरेपछि उनले स्कटिस टोलीको अट्याकिङ थर्डमा ल्यान्डन डाइक्ससँग सहकार्य गर्ने सम्भावना थियो । तर, प्रशिक्षक स्टिभ क्लार्कको निर्णय यसको विपरीत रह्यो ।

    यसअघिका सात खेलमा एक गोल मात्रै खाएको इङ्ल्यान्डविरुद्ध स्कटल्यान्डलाई कम चुनौती हुनेछैन । र, प्रिमियर लिगमा व्यावसायिक फुटबल खेल्ने आडम्स इङ्लिस डिफेन्डरसँग परिचित छन् । त्यसैले आडम्सको उपस्थिति स्कटल्यान्डका लागि फाइदाजनक हुन सक्छ ।

    एन्ड्रे सिल्भा, पोर्चुगल

    साविक विजेता पोर्चुगलले मंगलबार राति समूह चरणको पहिलो खेलमा हंगेरीलाई ६७ हजार दर्शकसामु उसकै मैदानमा ३-० ले पराजित गर्‍यो । उक्त खेलमा पोर्चुगलका लागि राफाएल गुरेरो र कप्तान क्रिस्टियानो रोनाल्डोले गरेका तीनै गोल सिल्भाको आगमनपछि सम्भव भएका थिए ।

    सिल्भा मैदानमा प्रवेश गरेसँगै रोनाल्डो सेन्ट्रल स्ट्राइकरबाट लेफ्ट फ्लान्कमा स्वीच भएका थिए । जसको कारण पोर्चुगिज टोली हंगेरियन डिफेन्स ब्रेक गर्न सफल भएको थियो ।

    आइनट्राच्ट फ्रान्कफर्टमा उत्कृष्ट सिजन बिताएका सिल्भाले गत सिजन बुन्डेसलिगामा २८ गोल गरेका थिए । उत्कृष्ट फर्ममा रहेका सिल्भालाई मैदानमा उतार्नु पोर्चुगिज प्रशिक्षक फर्नान्डो सान्तोषका लागि फाइदाजनक रह्यो । उनको अट्याकिङ हाफमा उपस्थितिसँगै हंगेरियन डिफेन्डर व्यस्त हुँदा रोनाल्डोले गोल गर्ने मौका पाएका थिए ।

    त्यसैले, शनिबार हुने खेलमा जर्मनीविरुद्ध सिल्भाको उपस्थितिले रोनाल्डोका लागि जर्मनीको डिफेन्सिभ हाफमा धेरै ठाउँ उपलब्ध हुन सक्छ । यसका कारण गोल स्कोरिङ र विपक्षी डिफेन्डरलाई व्यस्त राख्न पनि सिल्भा प्रभावकारी हुने भएकाले उनी सुरुआती-११ मा स्थान बनाउन डिजर्भ गर्छन् ।

    दी गार्जियनबाट
  • युरो २०२०: चेक गणतन्त्रको जितमा प्याट्रिक शिकको २ गोल

    युरो २०२०: चेक गणतन्त्रको जितमा प्याट्रिक शिकको २ गोल

    काठमाडौं । प्याट्रिक शिकको दुई गोलप्रेरित चेक गणतन्त्रले युरो २०२० को समूह ‘डी’ अन्तर्गत सोमबार भएको खेलमा स्कटल्यान्डलाई २-० को नतिजामा पराजित गरेको छ ।

    स्कटल्यान्डको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा शिकले गोल गर्दै भ्रमणकारी चेक टोलीलाई अग्रता दिलाएका थिए ।

    प्रतिस्पर्धात्मक खेलको ५२औं मिनेटमा स्कटल्यान्डले अट्याक गरिरहेको थियो । तर, सोही समयमा चेक खेलाडीले क्लियर गरेको बलमा शिकले मैदानको बीचभागबाट गरेको प्रहारले सोझै जाली चुमेको थियो ।

    सोही गोलमार्फत खेलमा अग्रता लिएको चेक टोलीले सहज बचाउ गर्दै प्रतियोगिताको सुखद् सुरुआत गर्‍यो ।

    जितसँगै प्रतियोगिताको सुरुआत गरेको चेक टीमले आफ्नो अर्को खेलमा शुक्रबार क्रोएसियासँग खेल्ने छ । त्यस्तै स्कटल्यान्डले आइतबार इङ्ल्यान्डसँग खेल्ने छ ।