Tag: सुनिता डंगोल

  • काठमाडौंको उपमेयरमा सुनिताको जित निश्चित- गन्न बाँकी २४ हजार, मतान्तर करिब ४० हजार

    काठमाडौंको उपमेयरमा सुनिताको जित निश्चित- गन्न बाँकी २४ हजार, मतान्तर करिब ४० हजार

    काठमाडौं । काठमाडौं महानगरको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित निश्चत भएको छ । गणना हुन बाँकीभन्दा प्रतिस्पर्धीसँगको मतान्तर धेरै भएकाले उनको जित सुनिश्चित भएको छ ।

    काठमाडौंमा कुल खसेको करिब एक लाख ९१ हजार मतमध्ये उनले करिब ६० हजार मत पाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एका रामेश्वर श्रेष्ठले करिब २० हजार मत पाएका छन् । उनीहरुबीच करिब ४० हजारको मतान्तर छ ।

    अब गणना हुन करिब २४ हजार मत सबै श्रेष्ठलाई गए पनि डंगोलले जित्नेछिन् ।

    मेयरमा पनि स्वतन्त्र उम्मेदवार बालेन साहको जित निश्चितप्रायः भएको छ ।

    अहिलेसम्मको गणनाअनुसार स्वतन्त्र उम्मेदवार साहले ५४७३९ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३४५७० मत पाएकी छन् । एमाले उम्मेदवार केशव स्थापितले ३३९२१ मत पाएका छन् ।

  • काठमाडौंको उपमेयरमा सुनिता डंगोल तेब्बरभन्दा बढी मतले अगाडि

    काठमाडौंको उपमेयरमा सुनिता डंगोल तेब्बरभन्दा बढी मतले अगाडि

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिँदा एमलोका केशव स्थापित दोस्रो स्थानमा रहेकोमा उपमेयरतर्फ भने एमालेकी सुनिता डंगोलको अग्रता झनै फराकिलो बन्दै गएको छ ।

    निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ४ हजार ४४४ मत गणना सकिँदा एमालेकी सुनिता डंगोलले १७४३ मत प्राप्त गरेकी छन् ।
    उनीसँग प्रतिस्पर्धामा रहेका सत्ता गठबन्धनका नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठले ५१६ मतका साथ पछ्याइरहेका छन् ।

    तेस्रो स्थानमा राप्रपाले ४१३ मत प्राप्त गरेको छ । उपमेयरका सबै प्रत्याशीहरुको जोड्दा पनि सुनिता अग्रस्थानमा छिन् ।

  • शासक होइन जनताको सेवक बन्छु, जितको आशिष दिनुसः सुनिता डंगोल (भिडिओ)

    शासक होइन जनताको सेवक बन्छु, जितको आशिष दिनुसः सुनिता डंगोल (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेकी मेयर उम्मेदवार सुनिता डंगोलले आफूले जितेको खण्डमा जनताको शासक होइन, सेवक बन्ने बताएकी छन् । काठमाडौंलाई सांस्कृतिक नगरीका रुपमा विकास गर्ने योजना आफूसँग रहेको उनले दावी गरिन् ।

    आज काठमाडौंमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै डंगोलले आफ्नो उम्मेदवारी घोषणादेखि नै जनताको माया पाएको भन्दै खुशी व्यक्त गरिन् ।

    उनले भनिन्, ‘डे वान देखि नै तपाईंहरुको माया पाएको छु । जति दिन वित्दै गयो, त्यति धेरै माया बढेको महसुस गरेको छु । तपाईंहरुको यो माया नै मेरो जितको सबैभन्दा बलियो आधार हो । चुनाव जितेर म शासक होइन सेवक बन्नेर तपाईंहरुको सेवा गर्नेछु ।’

    काठमाडौंलाई अरु देशका शहरहरुसँग तुलना गर्न आवश्यक नरहेको उनले बताइन् । काठमाडौंलाई काठमाडौंजस्तै सांस्कृतिक नगरी बनाउनुपर्नेमा उनको जोड छ ।

    डंगोलले भनिन्, ‘काठमाडौंलाई अरु सहरसँग तुलना गरेर त्यस्तै बनाउनुपर्छ भन्ने गर्छन् कसैले । तर, मलाई लाग्छ काठमाडौंलाई अरु सहरजस्तो बनाउनु आवश्यक छैन । यसलाई काठमाडौं र कान्तिपुर नगरी बनाउने योजनासहित आफ्नो पाइला अघि सार्नेछु ।’

    उनले भगवानरुपी जनताको आफूलाई आशिष चाहिएको बताइन् । ‘जनता भगवान हुन् । भगवानरुपी जनताले मेरो निधारमा आशिष दिनुहुने आशा लिएको छु,’ उनले भनिन् ।

  • पूर्वमिस नेवाः सुनिताको घोषणा- काठमाडौंको मेयरमा उठ्छु, मसँग सहर विकास गर्ने योजना छन्

    पूर्वमिस नेवाः सुनिताको घोषणा- काठमाडौंको मेयरमा उठ्छु, मसँग सहर विकास गर्ने योजना छन्

    सन् २०११ मा मिस नेवाःको ताज पहिरिन सफल सुनिता डंगोलको परिचय त्यतिमा मात्रै सीमित छैन । उनी अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने रन्जना लिपीलाई नवीन सोचका साथ विश्वभरका नेपालीलाई सिकाउँदै आएकी एक जुझारु युवा पनि हुन् ।

    सुनिता लिपी क्वीनको उपनामले समेत चिनिन्छिन् । बहुआयामिक प्रतिभा भएकी सुनिता अहिले विभिन्न कार्यक्रमहरुको संचालन, मोडरेट गर्दै नेपाल टेलिभिजनमा शैक्षिक कार्यक्रम समेत सञ्चालन गर्दै आएकी छिन् ।

    सुनिताले क्याली जात्रामार्फत विश्वभरका नेपालीलाई भर्चुअल प्रविधिबाट सिकाउँदै लिपीको सम्बद्र्धन गर्दै आएकी छिन् । जापान, कोरिया, जर्मनीलगायत एक दर्जन मुलुकको भ्रमण गरी नेपालको संस्कृृतिलाई विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा प्रचार गर्दै आएकी सुनिता काठमाडौँ महानगरकी आदिवासी हुन् ।

    ‘सोसियल साईन्स’मा स्नातकोत्तर गरेकी सुनिता अन्तर्राष्ट्रिय संघसंस्थामा आवद्धहुँदै सांस्कृतिक अभियन्ताको रुपमा विश्वभर नेपालको संस्कृतिको प्रर्वद्धन गर्न योगदान पुर्याउँदै आएकी छिन् । सुनिताले आगामी स्थानीय तहको निर्वाचनमा मेयर पदको दाबी गरेकी छिन् । डंगोलसँग यही विषयमा केन्द्रित रहेर गरेको संक्षिप्त कुराकानी, नेपाल टकमाः

    किन काठमाडौंको मेयरको उम्मेदवार बन्ने सोच बनाउनुभयो ?

    काठमाडौँ म जन्मिएको सहर हो । म यहिँको माटो जन्मिएँ, हुर्किएँ र धेरै कुरा सिक्ने अवसर पनि यहिँको माटो र परिवेशबाट प्राप्त गरेँ । त्यसैले मेरो ज्ञान, सीप र क्षमताको उच्चतम् उपयोग गर्दै म जन्मेको सहरलाई सुन्दर र समृद्ध बनाउने सपनालाई मूर्तरुप दिन मैले काठमाडौँको मेयर बन्ने सोच राखेकी हुँ । मुलुक समृद्ध बनाउन नयाँ सोच र जोस भएका युवा चाहिन्छ ।

    अहिलेको यो सूचना–प्रविधिको युगमा त्यसको उच्चतम उपयोग गर्दै मुलुक समृद्ध बनाउने हो भने युवाकै आवश्यकता देखिन्छ । त्यसका लागि युवाहरु नै नेतृत्वमा आउन आवश्यक छ । यो मुलुक समृद्ध बनाउने हो भने मुलुकको नेतृत्वको जिम्मा पनि भिजन भएका योग्य र जुझारु यूवालाई नै दिनुपर्दछ ।

    मेयर पदको दाबी गर्दै गर्दा मेरा प्रष्ट भिजन लिएर अघि बढ्ने मैले योजना बनाएकी छु । मसँग सुन्दर र समृद्ध काठमाडौँ बनाउने भिजन छ । मैले विदेश भ्रमणका सिलसिलामा त्यहाँको विकास र समृद्धिलाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेकी छु । म त्यो अनुभव यहाँ पनि लागु गर्न चाहन्छु । त्यो भिजनलाई पूरा गर्न हरेक यूवाको साथ लिएर अघि बढ्ने छु ।

    अनुभवी र विज्ञहरुको टीम बनाएर काठमाडौंलाई पर्यटकीय र सांस्कृतिक सहरको रुपमा विकास गर्नेछु । काठमाडौँ महानगर भनेको मुलुकको राजधानी रहेको नगर हो । यहाँको पूर्वाधार विकाससँगै सुन्दर सहर मुलुकका लागि नमूना हो । त्यसैले यो नगरलाई मुलुककै नमूना सहरका रुपमा विकास गर्न पनि मेयर पदको उम्मेदवारी दिने सोच बनाएकी हुँ ।

    तपाईँको उम्मेदवार स्वतन्त्र हुन्छ कि कुनै राजनीतिक दलबाट ?

    राजनीति भनेको राज्यको शासन–व्यवस्थासम्बन्धी नीति निर्माण र राज्य सञ्चालन गर्ने प्रणाली हो । राजनीति भनेको राज्य र प्रशासनसँग सम्बन्धित एक सामाजिक सिद्धान्त पनि हो । त्यसैले राजनीतिलाई फोहोरी खेलको रुपमा विकास गर्नुहुन्न भन्नेमा म सचेत छु ।

    राजनीति व्यापार होइन, यो समाजसेवा र विकास निर्माणसँग जोडिनुपर्छ । समाजसेवा मेरो जीवनको मूल उद्देश्य हो । त्यसलाई मूर्तरुप दिन मैले राजनीतिमा आउन चाहेको हो । आर्थिक समृद्धि, उन्नत समाजको विकास र सुशासनलाई प्राथमिकतामा राख्ने हो भने राजनीति पनि उन्नत बन्छ । म उन्नत किसिमको राजनीतिमा विश्वास गर्छु ।

    मेयर पदको उम्मेदवार बन्दै गर्दा तपाईँसँग केही प्रष्ट योजना त होलान नि ?

    अवश्य, काठमाडौंलाई सांस्कृतिक नगर र राजधानीको रुपमा विकास गर्ने मसँग धेरै योजना छन् । म यहाँ केही संक्षिप्तमा उल्लेख गर्न चाहन्छु ।

    पहिलो, फोहरबाट ऊर्जा उत्पादन गर्ने प्रविधिबाट फोहोर मैलाको उचित व्यवस्थापन गर्न सकिन्छ । मैले जापान, जर्मनीआदि देशहरुको भ्रमण गर्दा यो देखेकी छु । उक्त प्रविधि नेपालमा ल्याएर फोहरलाई रुपैयाँमा ढाल्न सकिन्छ ।

    अहिले काठमाडौंवासीले फोहर घरबाट निकालेबापत प्रतिघर चार सय रुपैयाँ मासिक बुझाउनु परेको यथार्थ हाम्रासामू छ । हामीले उक्त प्रविधि प्रयोग गर्न सक्यौं भने महानगर आफैंले बिजुली उत्पादन गरेर सहर झिलिमिली बनाउन सकिन्छ भने महानगरवासीबाट फोहर उठाउँदा उल्टै पैसा दिनसक्ने अवस्था सिर्जना हुन्छ ।

    दोस्रो, काठमाडांै महानगरपालिकालाई संस्कृति र सम्पदाको सहर भनि चिनिन्छ । महानगरपालिका क्षेत्र भित्र रहेका मूर्त–अमूर्त संस्कृतिक सम्पदा, मौलिक भाषा, लिलि, कला तथा ऐतिहासिक संस्कृतिक सम्पदाहरुलाई नविन सोँच र रणनीतिबाट युवाहरु मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा संरक्षण सम्बर्धन र प्रवर्धन गर्न सकिन्छ ।

    तेस्रो, यस्तै ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुशासन पालना गर्ने कार्यको कार्यान्वयन गराउने स्पष्ट योजना म सँग छ । त्यो विषयमा मात्रै यहाँ उल्लेख गर्दा लामो हुन्छ । त्यो भिजन मसँग छ ।

    चौथो, अहिलेको युग सूचना र प्रविधिको हो । नयाँ–नयाँ सूचना प्रविधिको विकास भैरहेको छ । त्यसको सदुपयोग गर्दै युवाहरुलाई समग्र महानगरको आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय सन्तुलित विकासका लागि विभिन्न कार्यक्रमसहित दीगो विकास व्यवस्थित सहरीकरणको लागि आवश्यक योजना बनाइ काम गर्ने योजना म सँग छ ।

    पाँचौं, कोभिड–१९ पछिको आर्थिक, सामाजिक र वातावरणीय पुनरुत्थान र सन्तुलन गर्ने, काठमाडाै महानगर पर्यटन विकास र प्रवद्र्धन, विश्व सम्पदादेखि विश्वसम्पदासम्म पदमार्ग निर्माण गर्ने, रोजगारीे सिर्जना गर्ने प्रष्ट योजना पनि मसँग छ ।

    छैटौँ, महानगरलाई हाईटेक, डिजिटलाईज्ड स्मार्ट सहरको रुपमा विकास गर्ने । जनतालाई वडा–वडामा अनावश्यक रुपमा धाउन लगाएर दुःख दिइरहनु पर्ने युगको अन्त्य गर्न चाहन्छु । त्यसका लागि डिजिटल प्रविधिबाट अधिकांश सेवा घरमै बसेर यहाँका जनताले लिन सक्ने वातावरण बनाउने मसँग प्रष्ट योजना छ ।

    स्वतन्त्र उम्मेदवार बनेर चुनाव जित्न त मुस्किल होला नि ?

    काठमाडौंका जनताले सधैं न्यायको पक्षमा मतदान गरेको इतिहास छ । म यहिँको माटोमा जम्मिएकी, हुर्केकी ज्यापु जातिको नेवार समुदायको छोरी हुँ । मैले सांस्कृतिक अभियन्ताका रुपमा योगदान गरेकी छु । मैले धेरै मुलुकको भ्रमण गरेर त्यहाँको विकासको मोडेललाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेकी छु । मैले त्यहाँको विकासको अनुभवलाई यहाँको माटो सुहाउँदो विकास गर्ने योजना बनाएकी छु ।

    सांस्कृतिक सहर काठमाडौँ कस्तो हुनुपर्छ र यहाँको विकास कसरी गर्नुपर्छ भन्ने बारेमा जानकार भएको व्यक्ति हुँ । यहाँका युवाहरुको सोच, भावना र भिजनको प्रतिनिधित्व गर्ने युवा हुँ । त्यति मात्रै होइन आफूभन्दा अग्रजहरुको विज्ञता, अनुभवीहरुको ज्ञान, सल्लाह र सबै जनताको सद्भावलाई आत्मसाथ गरेर अघि बढ्नेछु ।

    मलाई यो आशीर्वाद अवश्य प्राप्त हुनेछ भन्ने ठानेकी छु । यी मेरा प्रारम्भिक योजनाहरु हुन् । मेयरको तयारीसँगै बृहद् योजनासहित अघि बढ्नेछु । मलाई विश्वास छ, मेरो योग्यता, क्षमता र जनताप्रति समर्पित हुँदै गर्दैै आइरहेको समाजसेवाले गर्दा पनि यसपालि काठमाडौंवासीले मेयरका रुपमा विजयी बनाउने छन् भन्ने कुरामा म विश्वस्त छु ।

    राजनीतिमा आउन मन गर्दैगर्दा तपाईँलाई मनपर्ने नेताका बारेमा केही भनिदिनुस् न !

    म समाजवादमा विश्वास गर्छु । नेता भनेको कुनै राजनीतिक दल वा जनसमुदायलाई असल बाटो देखाउने व्यक्ति वा कुनै समाजलाई नेतृत्व दिनसक्ने भन्ने हुन्छ । लिक्वानले सिंगापुर बनाए । महाथीरले मलेसिया बनाए । अहिले पनि महाथीर मलेसियाली जनताको मनमुटुमा बसेका छन् ।

    महात्मा गान्धी मरेर गएको धेरै वर्ष भयो तर भारतीय जनताको अपार स्नेह अहिले पनि उहाँमाथि उतिकै उच्च छ । विश्वका धेरै नेताहरु मरेर गए पनि त्यहाँको विकास र समृद्धिमा गरेको योगदानले जीवित छन् ।

    बिपी कोइराला, मनमोहन अधिकारी, पुष्पलाल, मदन भण्डारी, गणेशमान सिंहहरु अहिले हाम्रो बीचमा हुनुहुन्न । तर, उहाँहरुको योगदान अहिले पनि हरेक जनताको मानसपटलमा ताजा छ । नेता भनेको मुर्छित सपनालाई जगाउने पनि हो । अहिलेका जीवित नेतामा मुर्छित सपनालाई जगाउनसक्ने क्षमता नेकपा(एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीमा देखेको छु ।