Tag: सुझाव

  • एमालेका १० टोलीको सुझाव: कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने, ७ उपाध्यक्ष राख्नुपर्ने

    एमालेका १० टोलीको सुझाव: कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने, ७ उपाध्यक्ष राख्नुपर्ने

    काठमाडौं । नेकपा (एमाले)मा कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने र उपाध्यक्ष र सचिव ७-७ जना राख्नुपर्ने सुझाव प्राप्त भएको छ।

    दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफल गर्दा नेताहरुले यस्तो सुझाव दिएका हुन् ।

    १० वटा समूह बनाएर तीन दस्तावेजमाथि छलफल भएको थियो। सबै समूहको निष्कर्ष नेताहरुको व्यवस्थापनका लागि ७ उपाध्यक्ष राखेर प्रदेश र्इन्चार्जको भूमिका दिनुपर्ने रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए।

    हाल प्रस्ताव गरिएको विधान संशोधन प्रस्तावमा उपाध्यक्ष ३ जना मात्रै राख्ने उल्लेख गरिएको छ।

    अध्यक्ष ओली पुनः दोहोरिने भएकाले नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापाहरूको व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्न छ।

    हाइप्रोफाइल नेता भएकाले उनीहरु महासचिवभन्दा तल नबस्ने भएकाले ३ उपाध्यक्ष मात्रै राख्दा अप्ठ्यारो हुने केन्द्रीय सदस्यहरुको सुझाव छ।

    विधान संशोधन प्रस्तावमा पोलिट्यू्रो नराख्ने उल्लेख छ । तर, समूहगत छलफलमा पोलिटब्यूरो कायमै राख्नुपर्ने आवाज उठेको छ।

    त्यस्तै अध्यक्षको नेतृत्वमा रहने गरी प्रस्ताव गरिएको ७ सदस्य रहने केन्द्रीय सचिवालय पनि नराख्न केन्द्रीय सदस्यहरुले सुझाव दिएका छन्।

    विधान संशोधन मस्यौदामा पदाधिकारीमध्येबाट ७ जनाको केन्द्रीय सचिवालय बनाउने प्रस्ताव गरिएको थियो। यो बनाउँदा बनाउँदा अध्यक्षको तजबिज चल्ने र स्थायी कमिटी अर्थहीन हुने चिन्ता कतिपयको थियो।

    यसअघि नेकपामा पनि सचिवालयको अभ्यास गरिएको थियो।

  • फरक कम्पनीको खोप नलगाउन विज्ञको सुझाव, डाक्टर भन्छन्- दोस्रो डोज ढिला भए पनि समस्या हुन्न

    फरक कम्पनीको खोप नलगाउन विज्ञको सुझाव, डाक्टर भन्छन्- दोस्रो डोज ढिला भए पनि समस्या हुन्न

    काठमाडौं । कोभिड-१९ विरुद्धको कोभिसिल्ड खोपको दोस्रो डोज लगाउने प्रतीक्षामा रहेकालाई चिकित्सकले ढिला भएपनि नडराउन सुझाएका छन् ।

    टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले केही समय ढिला भएपनि नआत्तिन सुझाएका छन् । उक्त खोप लगाएको महिनौं बित्दा पनि समयमा दोस्रो डोज आउने सम्भावना नभएकाले चिकित्सकले धैर्य राख्न आग्रह गरेका हुन् ।

    डा. राजभण्डारीले भने, ‘पहिलो डोज लगाइसकेपछि दोस्रो डोज १२ देखि १६ हप्ताको बिचमा लगाउँदा पनि एन्टिबडी प्रशस्त मात्रामा रहने हुँदा खासै असर गर्दैन । हामीले हाम्रो शरीरमा कति समयसम्म एन्टिबडी रहन्छ भनेर हेरेका छैनौं, अन्तर्राष्ट्रियस्तरमा हेर्दा १६ हप्तासम्म एन्टिबडी स्थिर रहिरहन्छ त्यसकारण १६ हप्ताभित्र दिँदा खासै फरक पर्दैन ।’

    सोही कम्पनीको र उपलब्ध नहुने भए अस्ट्राजेनेका तथा अक्सफोर्ड कम्पनीको खोपको पनि फर्मुला मिल्ने भएकाले सोही कम्पनीले विकास गरेका अन्य खोपको लागि पहल गर्न उनले सुझाए । तर, फरक-फरक कम्पनीको फर्मुला भएका खोपहरु भने लगाउन नहुने उनले बताए ।

    उनका अनुसार कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज लगाइसकेका व्यक्तिले कोरोना लाग्दैन भनेर ढुक्कले बस्न भने हुँदैन । तर उनीहरुलाई जोखिम भने कम हुन्छ । पहिलो डोज खोप लगाउँदाको प्रभाव ३० देखि ३५ प्रतिशत हुन्छ भने दास्रो डोज खोप लगाउँदा यसको प्रभावकारिता ७० देखि ८५ प्रतिशतसम्म रहन्छ ।

    कोभिसिल्ड खोपको पहिलो डोज लगाएका व्यक्तिले भने चिनियाँ खोप (भेरोसेल) लगाउन नहुने उनको भनाई छ । यो खोपले शरीरभित्र प्रवेश गर्ने भाइरसलाई मार्ने नभई एन्टिबडीको निर्माण मात्र गर्ने हँदा पहिलो डोज लगाएपछि एन्टिबडी कायम रहँदै गर्दा अर्को खोप लगाउँदा प्रभावकारी हुन्छ ।

    त्यस्तै टेकु अस्पतालका डा. बाबुराम मरासिनी भन्छन्, ‘भारतबाट ल्याइएको कोरोनाविरुद्धको कोभिसिल्ड खोप पहिलो डोज लगाएकाहरु दोस्रो डोज खोप उपलब्ध नहुँदा अन्यौलमा परेका छन् ।

    भारतमा कोरोना धेरै फैलिएकाले नेपालले खोप पाउन सकेको छैन । भारतबाट खोप प्राप्त हुन सक्दैन भने तत्काल १३ लाख नागरिकलाई दास्रो डोज खोपको लागि अन्य देशबाट आयात गर्ने प्रक्रिया अगाडी बढाउनुपर्छ ।

    मरासिनीले भने, ‘पहिलो र दोस्रो डोज खोपको अन्तर धेरै भयो भने विकसित भएको एन्टीबडी समाप्त हुन्छ । दोस्रो डोज खोप लगाएपछि मात्र पर्याप्त मात्रामा रोगसँग लड्नको लागि शक्ति जम्मा भएको हुन्छ । दोस्रो डोजको समय धेरै भयो भने एन्टिबडी रगतमा हराएर जाने सम्भावना धेरै हुन्छ । धेरै समय ग्याप हुँदा पहिलो डोज खोपको प्रभावकारी हुन सक्दैन ।’

    ‘कोभिसिल्ड खोपको पहिलो डोज लगाएकाहरुको अहिलेसम्म दोस्रो खोपको सुनिश्चितता भने छैन । मन्त्रालयका अनुसार १३ लाख नागरिक अझैपनि कोभिसिल्ड खोपको दोस्रो डोज पर्खाइमा छन्’ मरासिनीले बताए ।

  • कोभिडपछि यस्ता समस्या देखिए ज्यानै जानसक्छ, विशेषज्ञले दिए यस्ता सुझाव

    कोभिडपछि यस्ता समस्या देखिए ज्यानै जानसक्छ, विशेषज्ञले दिए यस्ता सुझाव

    काठमाडौं । कोभिड-१९ संक्रमणबाट मुक्त भइसकेपछि पनि स्वास्थ्यमा देखा पर्नसक्ने केही लक्षणहरुलाई बेवास्ता गर्न नहुने चिकित्सकले सुझाव दिएका छन् । कोभिडपछिका लक्षणहरुलाई बेवास्ता गरिएमा ज्यानै जानसक्ने जोखिम रहेको भन्दै विशेषज्ञ चिकित्सकहरुले बेलैमा स्वास्थ्य संस्थामा जान र आवश्यक चेकजाँच तथा परामर्श लिन आह्वान गरेका छन् ।

    नर्भिक इन्टरनेशनल हस्पिटलका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवालका अनुसार पछिल्लो समय नेपालमा पोस्ट-कोभिड अर्थात कोभिडपछिको समस्या विकराल बन्दै गएको छ । कोभिड संक्रमणबाट मुक्त भएपछि पनि विभिन्न समस्या देखापर्ने र ती समस्यालाई बेवास्ता गर्दा ज्यानै जानेहरुको संख्या समेत बढ्न थालेको छ । यस्तो अवस्थामा कोभिड संक्रमणबाट मुक्त भएपछि देखिने समस्याहरुको समयमै निदान अत्यावश्यक हुन्छ ।

    के-के हुन् लक्षण ?

    डा. जैसवालका अनुसार कोभिड संक्रमणबाट मुक्त भएको चार हप्ताको अवधिमा केही लक्षणहरु देखिए त्यसलाई ‘पोस्ट कोभिड सिन्ड्रोम’ भएको ठान्नुपर्छ । अर्थात कोभिड ठीक भएपछि अस्पतालबाट डिस्चार्ज भएको वा क्वारेन्टिनबाट निस्किएको ४ हप्ताको अवधिमा स्वास्थ्यमा विभिन्न समस्या देखिए सचेत हुनुपर्ने उनको सुझाव छ ।

    डा. जैसवालका अनुसार थोरै समय हिँड्दा नै स्वाँ–स्वाँ हुने, सास फेर्न गाह्रो हुने, धेरै नै थकाई लाग्ने र कमजोरी महसुस हुने, एकाएक रक्तचाप बढ्ने वा घट्ने, निद्रा नलाग्ने, झर्को लाग्नेजस्ता डिप्रेसनका लक्षण देखा पर्ने जस्ता लक्षणहरु देखा पर्न थाले भने तत्काल अस्पताल जानुपर्ने हुन्छ ।

    ज्यानै जानसक्छ !

    डा. जैसवालका अनुसार यस्ता लक्षणहरुप्रति बेवास्ता गरिए बिरामीको ज्यानै जानसक्छ । कोभिड ठीक भएपछि पनि कतिपयको मुटुमा रगतका थक्काहरु जमेर हृदयघात हुने समस्या देखिएको छ ।

    यस्तै, जसलाई थोरै हिँड्दा नै स्वाँ-स्वाँ हुन्छ, त्यस्ताको समेत हार्ट फेलियर हुने समस्या देखिएको छ । कतिपयलाई क्षारे रोगको जस्तो लक्षण तथा समस्या पनि देखिनसक्छ ।

    यस्तै, कतिपयलाई पार्किन्सन्स हुँदाको लक्षण पनि देखिनसक्छ । यस्ता लक्षणहरुले ब्रेनमा समेत दीर्घकालीन समस्या ल्याइदिनसक्छ ।
    डा. जैसवालका अनुसार कोभिडको उपचारका लागि धेरै दिनसम्म आइसीयू र सीसीयूमा बसेर बाहिर निस्किएकाहरुलाई ट्रमाबाट निस्किएजस्तो समस्या देखिने गरेको छ । यस्ता समस्यालाई पनि बेवास्ता गर्नुहुन्न । यस्तो समस्या बढ्दै गए स्ट्रोक र प्यारालाइसिस हुनेसम्मका खतरा हुन्छन् ।

    कसरी रोकथाम गर्ने ?

    डा. जैसवालकाअनुसार शरीरमा तागत नै नभएजस्तो महसुस भयो, दमको जस्तो समस्या भयो र माथि उल्लेख गरिएका लक्षणहरु देखिए तत्काल अस्पताल जानुपर्छ र विशेषज्ञबाट उचित परामर्श लिन आवश्यक छ ।

    उनले नर्भिक अस्पतालमा समेत कोभिडपछि हुनसक्ने जोखिमलाई ध्यानमा राखेर ‘पोस्ट कोभिड क्लिनिक’ सुरुवात भएको उल्लेख गर्दै त्यहाँ आएर समेत सेवा लिन सकिने बताएका छन् ।

    नर्भिकले यसअघि नै पोस्ट कोभिडको उपचारका लागि २ खालको प्याकेजको घोषणा गरिसकेको छ ।

    पोस्टकोभिड क्लिनिकमा आउने बिरामीहरुको छातिको सिटी स्क्यान वा एक्स-रे गरेर फोक्सो वा संभावित निमोनियाको अवस्था हेर्ने काम गरिने डा. जैसवाल बताउँछन् । त्यस्ता बिरामीहरुको शरीरमा रोगप्रतिरोधी क्षमता कति छ भन्ने कुरा समेत एन्टीबडी जाँचबाट हेरिन्छ । रगत बाक्लो भएको छ कि छैन भन्नेजस्ता समस्या समेत विशेष जाँचबाट हेरिन्छ । यस्तै, हेमाटोलोजी प्रोफाइल, सीआरपी लगायतका जाँच पनि गरिन्छ।

    जाँचहरुबाट आएको रिजल्टका आधारमा उचित परामर्श दिई आवश्यक औषधि र अन्य विषयमा चिकित्सकहरुले परामर्श सेवा उपलब्ध गराउनेछन् ।

    डा. जैसवाल भन्छन्- ‘पोस्ट कोभिडपछि देखिने समस्याहरुको बेवास्ता नगर्नुहोस् । यसले ज्यानै जानसक्छ । समयमै अस्पताल आएर विज्ञले सुझाएको जाँच गरी परामर्शका आधारमा औषधि लिन थाले ज्यान जोगिनसक्छ ।’

  • राष्ट्रियसभा निर्वाचनबारे आजै सहमति गर्न ओली र नेपाललाई सुझाव

    राष्ट्रियसभा निर्वाचनबारे आजै सहमति गर्न ओली र नेपाललाई सुझाव

    काठमाडौं । नेकपा एमालेका नेता तथा वागमती प्रदेशका प्रदेशसभा सदस्य अरुण नेपालले वार्ता टोलीले पार्टीका विवाद समाधान गर्दै गर्दा राष्ट्रियसभा निर्वाचनका बारेमा शीर्ष तहमा आजै साँझसम्म सहमति हुनुपर्ने बताएका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै माधव नेपाल पक्षधर नेता नेपालले भोलि मतदानका बेला एमालेका मतदातालाई एकै ठाउँमा उभिने वातावरण केपी ओली र माधव नेपालले बनाइदिनुपर्ने बताए ।

    नेपालले भने, ‘वार्ता टोली बस्दै गर्छ, आजको भोलि समाधान हुँदैन । तर राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा अध्यक्ष र बरिष्ठ नेता आजै बसेर साझा निष्कर्ष निकाल्नुपर्छ र उहाँहरुले निकालेको निष्कर्ष मान्न सबै तयार हुन्छन् । विवेक प्रयोग गर भनेरमात्र हुँदैन ।’

    एमालेले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई उम्मेदवार बनाएको छ । माधव नेपाल पक्षले कांग्रेस र माओवादी गठबन्धनबाट उम्मेदवार बनेका खिमलाल देवकोटालाई समर्थन जनाएको छ ।

    नेपालको सचिवालयले मंगलवार साँझ वक्तव्य जारी गर्दै देवकोटा नै उम्मेदवार रहेको र मतदातालाई स्वविवेक प्रयोग गर्न दिने बादलको प्रस्तावमा समर्थन जनाएको बताएको थियो ।

    तर, नेपाल पक्षधर नेताहरू अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे लगायत देवकोटालाई जिताउदन हेटौंडामा बसेका छन् । हेटौंडामा मतदाताहरु पुग्ने क्रम जारी छ ।

    यसैबीच एमाले महासचिव ईश्वर पोखरेलले माधव पक्षधर नेताहरुलाई फोन गरेर पार्टीका आधिकारिक उम्मेदवार बादलको पक्षमा उभिन आग्रह गरेका छन् । केही नेताले समर्थन जनाए पनि केहीले ओली र माधव नेपालबीच सहमति गराउन आग्रह गरेका छन् ।

    महासचिव पोखरेलले प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई पत्र लेखेरै बादलको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् । एमालेका सबै मतदाता एक ठाउँमा उभिदा बादलको जित सहज हुनेछ ।