Tag: सुख्खा पहिरो

  • सुख्खा पहिरोमा पुरिएर एकजना बेपत्ता

    सुख्खा पहिरोमा पुरिएर एकजना बेपत्ता

    रुपन्देही । पाल्पाको तिनाउ–१ कचलमा सुख्खा पहिरोले पुरिएर एक पुरुष मंगलबारदेखि बेपत्ता भएका छन् । कचलफाँट सिँचाई आयोजनाको नहरमा पुरिएर स्थानीय अन्दाजी ५५ वर्षका डिलबहादुर हिस्की बेपत्ता भएका हुन् ।

    नहरमाथिबाट एक्कासी खसेको सुख्खा पहिरोमा पुरिएर मंगलबार दिउँसोदेखि वेपत्ता भएका उनको खोजी कार्य जारी रहेको तिनाउ गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले बताए । डिलबहादुरसँगै गएका अन्य व्यक्तिहरुले भागेर ज्यान बचाउन सफल भएका छन् । घटनास्थलमा स्थानीय तथा नेपाल प्रहरीको टोलीले आज विहानैदेखि खोजी कार्य जारी राखेका छन् ।

    कचल फाँट सिँचाई आयोजना अन्तरगत नहर खन्ने क्रममा सोही ठाउँमा गत वर्ष जेसीबी पुरिएको थियो । करिब १ वर्ष लगाएर पुरिएको जेसीबी निकालिएको स्थानीय सावित्रा रानाले जानकारी दिइन् ।

  • चुरे पहाडमा सुख्खा पहिरो, महोत्तरीको खयरमारासहितका वस्ती जोखिममा

    चुरे पहाडमा सुख्खा पहिरो, महोत्तरीको खयरमारासहितका वस्ती जोखिममा

    महोत्तरी । महोत्तरीको बर्दिबासस्थित खयरमाराको चुरे पहाडमा भीषण पहिरो गएको छ । बुधबार राति खयरमाराको भित्री बस्ती नजिकै तिनतलेबाट भिषण पहिरो खसेको हो ।

    पहिरोले खयरमाराको खोला पुरेको छ भने वरपरको वस्ती जोखिममा परेको छ । स्थानीय युवा इशारा लामाका अनुसार भीषण पहिरो गएसँगै स्थानीयहरू त्रसित भएका छन् । पहिरोले खोला नै पुरेपछि छोडके, पिपलदमा, गुरुङ्ग खोला, चनौटे, गर्दिखोला, भाङग्रे झ्याउरे तथा खयरमाराको मुख्य बजारमा नै जोखिम हुन सक्ने स्थानीयको भनाइ छ ।

    बेमौसमी पहिरोले त्रसित बनाउने गरी ठूलो पहिरो गएपछि वर्षायाममा हुन सक्ने खतराबाट कसरी जोगिने भन्ने विषयमा स्थानीयहरुले चिन्ता लिइरहेको लामाले बताए । अहिले खोलाबाट खयरमारा र बर्दिबास जाने बाटो बन्द भएको उनकाे भनाइ छ । सडक सञ्जालको सुविधा नहुँदा खयरमारास्थित भित्री वस्तीका स्थानीयहरू खोलाबाट नै आवतजावत गर्दै आएका छन् ।

    सुरुमा सानो पहिरो गएको भए पनि राति २ बजेबाट ठूलो पहिरो जान थालेको स्थानीयहरू बताउँछन् । पहिरो गएको नजिक र वरपर मात्र करिब दुई सय घरधुरी बसोबास गर्दै आएका छन् ।

    तराईमा पछिल्लो दुई दिनयता अत्याधिक बढेको तापक्रमका कारण पहिरो गएको हुन सक्ने वातावरणविद्हरूको अनुमान छ । वातावरणविद नागदेव यादवका अनुसार चुरे पहाडमा रहेको खुकुलो चट्टानमा चिसो र तातोको सन्तुलन बन्न नसक्दा पहिरो जाने गर्दछ ।