जनकपुर । सिरहा नगरपालिका १० को वडा अध्यक्षमा नेकपा एमालेका दीपक मुखियाको प्यानलै विजयी भएको छ । मुखियाले ८५३ मत ल्याएका विजयी भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धनिकलाल कामतीले ३४८ मत पाएका छन् ।
Tag: सिरहा
-

सिरहामा स्रोत नखुलेको ११ लाखसहित एकजना पक्राउ
सिरहा । सिरहाबाट स्रोत नखुलेको ११ लाख दुई हजार नौ सय पचास रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका ४ का ४४ वर्षीय दिलीपकुमार साह रहेाक छन् ।
उनलाई सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता वाहिनी बर्दिवास महोत्तरी र सशस्त्र प्रहरी बल नं. ७ गण हेडक्वाटर सिरहाबाट खटिएको टोलीले लहान–१ मटियर्वाबाट पक्राउ गरेकाे हाे ।
विशेष सूचनाका आधारमा सीमाक्षेत्र भगवानपुरबाट पछ्याउँदै आएको प्रहरी टाेलीले उनकाे साथबाट आठ सय तीन थान हजारको नोट, चार सयवटा पाँच सयको नोट, नौ सय ९९ वटा सयको र एक थान ५० को नोटसहित नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रण लिएका साहलाई रकमसहित आवश्यक अनुसान्धान एवं कारबाहीका लागि जिल्ला भन्सार कार्यालय माडरलाई बुझाएको छ ।
प्रायः सीमाक्षेत्रका भारतीय बजारमा कारोवार भएको नेपाली रुपैयाँ सिरहाको लहान, गोलबजार, सिरहा सदरमुकामका बैंकमा जम्मा गर्न लिएर आउने जानकारहरू बताउँछन् । भारतीय व्यवसायीहरूले नेपालमा रहेका आफन्त वा विश्वासिला व्यवसायीहरूको नाममा खाता खोलेर रकम जम्मा गर्ने र एटिएमको माध्यमबाट भारतमै रकम निकाल्ने गरेको बताइन्छ ।
-

सिरहामा पेस्तोल र गोलीसहित एकजना पक्राउ
सिरहा । सिरहाको धनगढी नगरपालिका–११ आँप चोकबाट एक थान ईटालियन पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रमदेव यादव रहेका छन् ।
उनको साथबाट पेस्तोलसिहत सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र १ थान म्याग्जिन बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यादवको साथबाट उक्त हतियार फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
-

सिरहामा पक्राउ परेका किसान रिहा, सीके राउतका १८ कार्यकर्ता पनि छुट्दै
जनकपुरधाम । सिरहाको औरही गाउँपालिकाले भण्डार गरेको गहुँको बीउ लुटेको आरोपमा पक्राउ परेका किसान मिथिलेश यादव रिहा भएका छन् । उनलाई आज जिल्ला अदालत धनुषाले साधारण तारिखमा रिहा गरेको हो ।
औरही गाउँपालिकाले यादवमाथि जिल्ला प्रहरी कार्यालय सिरहामा आपराधिक उपद्रो मुद्दा दर्ता गरेको थियो । औरही गाउँपालिका-३ घर भएका उनलाई प्रहरीले पुस ६ गते पक्राउ गरेपछि डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन सुरू गरेको थियो ।
चार दिनदेखि सिरहामा आन्दोलन जारी राखेपछि स्थानीय प्रशासनले निषेधाज्ञासमेत जारी गरेको छ । आन्दोलनका क्रममा पक्राउ परेका जनमत पार्टीका १८ कार्यकर्तालाई समेत प्रशासनले रिहा गर्न आदेश दिएको छ ।
सिरहाका प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेले जिल्ला प्रशासन कार्यालयबाट आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई रिहा गर्न आदेश आइसकेको बताए । ६ दलको आग्रहमा उनीहरूलाई रिहा गर्न लागेको उनको भनाइ छ ।
-

सिरहामा निषेधाज्ञा : तरकारी व्यापारीमाथि प्रहरीको ज्यादती (भिडिओ)
गोलबजार (सिरहा) । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलनलाई लक्षित गर्दै स्थानीय प्रशासनले आज र भोलि दुई दिन निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा कार्यान्वयन गराउने नाममा प्रहरीले तरकारी व्यापारीमाथि बल प्रयोग गरेर बजार बन्द गराएको छ । आज बिहान गोलबजार राजमार्ग क्षेत्रको साप्ताहिक तरकारी बजारमा प्रहरीले व्यापारीमाथि ज्यादती गरेको पीडितहरूले बताएका छन् । राजमार्ग आसपास ५ सय मिटरभित्र निषेधाज्ञा जारी भएको भन्दै प्रहरीले जबरजस्ती बजार बन्द गराएको हो ।
सटरमा तरकारी बेच्ने किसानलाई समेत प्रहरीले दुर्व्यवहार गरे । तरकारी बिग्रिने भनेर बिन्ती गर्दै गर्दा आफूमाथि कुटपिट गरेको गोलबजार- ३ का किसान मनोज लामाले बताए । ‘सटर बन्द गर नत्र पक्रेर लान्छु भनेर चेतावनी दिँदै सडकमै घिसारे । सटर बन्द गर्न बाध्य भएँ’, उनको गुनासो छ ।

असनपुरकी सेलोदेवी महतोले प्रहरी प्रशासनले तरकारी बेच्न नदिएको गुनासो गरिन् । उनी भन्छिन्, ‘साँझमै खेतबाट टिपे । अहिले शिव मन्दिर नजिकै ४ बोरा तरकारी राखेको छु । तर, प्रशासनले बेच्न दिइरहेका छैन ।’ बिक्री गर्न नदिए तरकारी सडेपछि क्षतिपूर्ति कसले दिन्छ ? उनले प्रश्न गरिन् ।
इलाका प्रहरी कार्यालय गोलबजारको टोलीले निषेधाज्ञा पालना गर्न बजार बन्द गराउँदै हिँडेका छन् । बजार बन्द भएपछि जनजीवन प्रभावित बनेको छ । समस्या समाधानको नाममा प्रशासनले जारी गरेको निषेधाज्ञाले झन समस्या बल्झाएको छ । सीके राउतको आन्दोलनलाई नै प्रशासनले सघाएको व्यापारीहरूको आरोप छ ।
निषेधाज्ञाका कारण सडकमा जनमत पार्टीका कार्यकर्ता देखिएका छैनन् । सवारीसाधन भने निर्वाध चलिरहेका छन् । राजमार्गमा पर्ने गोलबजार, मिर्चैया, बन्दीपुर, लहान, धनगढी, जिरोमाइललगायतका बजार बन्द गराइएको छ ।

औरही गाउँपालिकाले वितरणमा ढिलाइ गरेपछि गोदाममा राखेको साढे तीन सय बोरा गहुँको बीउ किसानले कब्जा गरेका थिए । अध्यक्ष सिद्धार्थ यादवले उजुरी गरेपछि प्रहरीले एक किसान पक्राउ गरेको विरोधमा सीके राउतको पार्टी आन्दोलनमा छ ।
आइतबार आमहड्ताल उल्लंघन गरेको भन्दै लाठीसहित सडकमा निस्किएका जनमत पार्टीका कार्यकर्ताले सवारीसाधन तोडफोड गरेका सो क्रममा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । कार्यकर्ता पक्राउको विरोधमा जिल्लाभर चक्काजाम आव्हान गरिएको थियो । आन्दोलन आन्दोलन ध्वंसात्मक बनेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
सोमबार साँझ सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आज र भोलि दुई दिन बिहान ५ देखि बेलुका ७ बजेसम्म पूर्वपश्चिम राजमार्ग र सिरहा-चोहर्वा सडक खण्डमा सडक संचालनबाहेक निषेधाज्ञाको घोषणा गरेका हुन् ।
-

सिरहामा सीके राउतका कार्यकर्ता लाठीसहित सडकमा, दर्जनौं गाडी तोडफोड (भिडिओ)
सिरहा । किसानलाई पक्राउ गरेको विरोधमा घोषणा गरिएको आमहड्तालको अवज्ञा गरेको भन्दै जनमत पार्टीका कार्यकर्ता तोडफोडमा उत्रेका छन् । बन्दकर्ताले सिरहाको गोलबजार र मिर्चैयामा दर्जनौं गाडी तोडफोड गरेका छन् ।
गाडीहरू तोडफोड हुन थालेपछि नियन्त्रणमा लिने क्रममा प्रहरी र बन्दकर्ताबीच झडपसमेत भएको छ । बन्दकर्तालाई तितरवितर पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो ।
जनमतका कार्यकर्ता लाठी बोकेर सडकमा उत्रेपछि पूर्व-पश्चिम राजमार्गमा सवारी चल्न सकेको छैन । बिहान केहिबेर गाडी चले पनि अहिले पूर्णरुपमा ठप्प भएको छ ।

आमहड्तालका कारण अत्यावश्यक बाहेक शैक्षिक संस्था, बजार, उद्योग, कलकारखाना र यातायात ठप्प छ । सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले भने राजमार्ग संचालनमा रहेको दाबी गरे । उनले आन्दोलनकारीले तोडफोड गरेको सवारीको विवरण आउन बांकी रहेको बताए ।
औरही गाँउपालिकाले थन्क्याएर राखेको गहुँको बीउ किसानहरुले कब्जामा लिएपछि गाउँपालिकाले चार किसानमाथि मुद्दा दर्ता गराएको र प्रहरीले एक किसानलाई पक्राउ गरेको विरोधमा जनमत पार्टीले आन्दोलन घोषणा गरेको हो ।
पक्राउ परेका किसानलाई रिहा, दर्ता भएको मुद्दा फिर्ता, औरही गाँउपालिकामा भएको भ्रष्टाचारको छानबिन, किसानलाई सहज रुपमा मलखाद उपलब्ध नगराए अझ कडा आन्दोलनको घोषणा गर्ने जनमत पार्टीका नेता दिपेन्द्र यादवले बताए ।



-

लहानमा १७ वर्षीया किशोरी बलात्कृत, आरोपी फरार
सिरहा । सिरहामा एक किशोरी बलात्कृत भएकी छन् । लहान नगरपालिका १४ की १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २४ वर्षीय शिवा पासवानविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा उजुरी परेको छ ।
पीडित किशोरीमाथि बिहीबार बलात्कार गरेको आरोपमा कारबाहीका लागि उजुरी परेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डाक्टर तपन दाहाले जानकारी दिए ।
पीडित किशोरीको स्वास्थ्य परीक्षण गरिएको र आरोपितको खाजीकार्य भइरहेको जनाको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
-

लहानमा २ दिनअघि नै एमाले अधिवेशन, यस्तो बन्यो नवनिर्वाचित नगर कमिटी
सिरहा । नेकपा एमालेले गाउँपालिका र नगरपालिकाहरुको अधिवेशनको मिति मंगलवार तोके पनि सिरहाको लहान नगरपालिकामा भने आइतवार नै अधिवेशन सम्पन्न भएको छ ।
लहान नगरको प्रथम अधिवेशनले राजकुमार साहको अध्यक्षतामा सर्वसम्मत रुपमा नगर कमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा पविना कुमारी सिन्हा,सचिव वीरेन्द्र प्रसाद चौधरी उपसचिवमा राम अधीन यादव र प्रथमलाल चौधरी चयन भएका छन् ।
कमिटीका सदस्यमा ललित नारायण चौधरी, जितेन्द्र यादव, रामसेवक ठाकुर, मोहम्मद जब्बारुल मिया, जनार्दन प्रसाद साह, भरतकुमार साहनी, जागेश्वर पसमान, राम कुमार मण्डल, राजकुमार मल्ल, महेश राम, नथुनी पसमान्, झौली राम, राम नारायण महतो, देव नारायण यादव, अशोक प्रसाद ढुंगाना, चतुर नारायण सिंह, मो। हफेजुल, सिमिल महतो, भोगेन्द्र साह, महावीर साह, रसलाल मोचि, मुसहरु यादव, रमु यादव, मो। समशेर, आशा कुमारी साह, कञ्चन देवी चौधरी, मन्टुन चौधरी, निर्मला मोते, सहनाज खातुन, भोलबती चौधरी, पदमा चौधरी, सुनिता चौधरी, सोमवती राम, भिखनी चौधरी, विना थापा मगर, शिव कुमार पसमन्, पुनम महतो, हृदय नारायण यादव छन् ।
नगर अधिवेशनमा केन्द्रीय सदस्य गंगा यादव, रामरती राम, राजेन्द्र चौधरी, लहान नगरपालिकाका मेयर मुनी साह, उपमेयर सरियारकुमारी चौधरी लगायतले सम्बोधन गरेका थिए ।
-

सिरहामा दुई किशोरीलाई बेच्न लैजाँदै गरेका दुई महिला पक्राउ
जनकपुरधाम । दुई किशोरीलाई बेच्न भारततर्फ लैजाँदै गरेका दुई महिलालाई सिरहा प्रहरीले शनिबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका ११ की २८ वर्षीया ललिता चौधरी र सिरहाको धनगढीमाई नगरपालिका १ की ३५ वर्षीया उषादेवी मलाह रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार १६ र १९ वर्षीया दुई किशोरीलाई बेच्ने उद्देश्यले माडर नाकाबाट भारत लग्ने योजना पक्राउ परेकी दुबै महिलाले बनाएकी थिइन् । तर चोहर्वामै उनीहरू पक्राउ परेकी छन् ।
लहान आश्रममा मासिक ५० हजारको जागिर लगाइदिने आश्वासन दिएर दुबै किशोरीलाई महिलाहरूले लहान ल्याएकी थिइन् । लहान आइसकेपछि जनकपुरमा अझ बढी रुपैयाँ कमाउने भन्दै झुक्याएर भारततर्फ लग्न खोजेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले किशारीलाई भारततर्फ लान ठिक्क पारेको अवस्था दुई महिला पक्राउ परेको जानकारी दिए ।
उनले जिल्ला अदालतबाट म्याद थप गरी दुबै महिलामाथि आवश्यक अनुसन्धान अगाडी बढाएको बताए । प्रहरीले दुबै महिलामाथि मानव बेचविखन तथा ओसारपसार कसुरमा मुद्दा अगाडि बढाएको छ । उद्धार गरिएकी दुबै किशोरीलाई अभिभावकको जिम्मा लगाउने प्रहरीको भनाई छ ।
-

विजुलीको पोल पोखरीमा ढल्दा करेन्ट लागेर एक जनाको मृत्यु
जनकपुरधाम । सिरहाको धनगढीमाई नगरपालिका–६ विष्णुपुरकट्टीमा विजुलीको पोल ढल्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
तारमा करेन्ट प्रवाह भइरहको पोल ढलेर पोखरीमा खसेपछि चौपायलाई पानी खुवाउन पुगेका बौका भनिने तुलसी यादवको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर उनको एउटा भैंसी पनि मरेको छ ।
जीर्ण पोल नहटाउँदा दुखद् घटना भएको भन्दै स्थानीयले प्रशासनको विरोध गरेका छन् ।
घटनास्थलमा पुगेका प्रहरीले कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ ।
-

भासिएको कमला पुलबारे छानविनको माग गर्दै सिरहामा प्रदर्शन
जनकपुरधाम । १० वर्ष लगाएर निर्माण गरिएको हुलाकी सडकअन्तर्गतको कमला पुल भासिएपछि सिरहामा आन्दोलन सुरू भएको छ ।
पुल भासिएको विषयमा छानविन गर, अविलम्ब पुल निर्माण गर, दोषीलाई कारबाही गरलगायतका नारा उल्लेखित प्लेकार्ड बोकेका युवाहरूले सिरहा सदरमुकाममा प्रदर्शन गरेका हुन् । सरकारको उदासिनताले ठेकेदार गुणस्तरहीन काम गरेको र त्यही कारण पुल भासिएको उनीहरूको भनाइ छ ।
यसैबीच, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले भासिएको पुलको निरीक्षण गरेका छन् । उनले पुल पुन: निर्माण ठेकेदार कम्पनीलाई गर्नुपर्ने भन्दै समयमा पुल संचालन नहुनु राज्यलाई घाटा भएको उनले बताए ।

सिरहा-धनुषा जोड्ने कमला पुल निर्माणको ठेक्का २०६८ मै पप्पु-लुम्बिनी जेभीले पौने २५ करोडमा ठेक्का लिएको थियो । तर, पछि पप्पुले काम छाडेपछि लुम्बिनी बिल्डर्सले बाँकी काम गराएको छ ।
-

मधेसका महिलाको आर्थिक क्रान्ति ! ३ हजार बचतले डेढ करोडको जेथा
लहान । बिहान बेलुकाको छाक टार्न र एक सरो आङ छोप्नका लागि लहान-१ की ५५ वर्षीया घुरनीदेवी रामले बनिबुतो गर्दा गर्दै आधा जीवन गयो । घामपानी, दुख बिराम नभनी रातदिन मेहनत गर्दा पनि पेटभरी खाने दिन कहिल्यै आएन ।
‘साहू महाजनका घरमा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म कामगर्दा ३ किलो धान पाइन्थ्यो,’ उनी सम्झिन्छिन् ।
रामजस्तै गरीव विपन्न सयौं महिलाहरूको जीवन यस्तै ‘कठोर परिश्रम गर्ने तर भोकै मर्ने’ अवस्थामा छन् । कमाइ भए खाने, नभए भोकै सुत्ने परिवार कति छन् ? भन्ने वास्तविक तथ्यांक कसैसँग छैन ।
४ छोरी, १ छोरासहित ६ जनाको परिवारकाे जिम्मा एक्लै घुरनीदेवीकाे काँधमा थियो । छोराछोरीलाई आफ्नाे एक्लो कमाइले पेट भरी खुवाउन पनि कहिल्यै नसकेको उनको अनुभव छ ।
भन्छिन्, ‘श्रीमानले जति कामयो, त्यति रक्सी खाएर सक्थे ।आफ्नो परिवार बस्ने फुसले छाएको सानो घर छ । न त पानी छेक्थ्यो, न त घाम नै । टाउको लुकाउने ठाँउ थिएन ।’
अहिले रामको अवस्था सुध्रिएको छ । उनको जीवनमा कुनै चमत्कारै भएको भने होइन । २० बर्ष अघि लहानमा खोलिएको स्वावलम्बन विकास बैंक कालान्तरमा उनको जीवनको काेशेढुंगा बनिदियाे ।
बैंकले त्यतिबेला ऋण लगानीका लागि घर-घरमा गएर महिलाहरूलाई संगठित गर्ने काम गर्थ्याे। चरम गरीवीसँग जुधिरहेकी घुरनीदेवी र उनका छिमेकीलाई बैंकले समूहमा बसेर ऋण लिन र सानो व्यवसाय गर्न प्रेरित गर्यो ।
उनी भन्छिन्, ‘बैंककै सल्लाहमा तीन हजार रूपैयाँ किस्तामा ऋण लिएर लहान बजार चाेकमा फलफुल पसल शुरु गरेकाे हुँ ।’
उनले तीन हजार रूपैयाँ कर्जा लिएबापत हप्ताको तीस रुपैयाँ किस्ता तिर्नुपर्थ्याे । पहिलो चरणमा लिएकाे कर्जा तिरेपछि दोस्रो चरणमा ६ हजार रूपैयाँ लिएको रामले बताइन् ।
उनले भनिन्, ‘त्यसपछि हप्ताको ६० रूपैयाँ किस्ता तिर्नुपर्थ्याे । किस्ता तिर्दै ‘सदाउदै’, गएँ,’ उनले थपिन, ‘तीन हजारबाट शुरू गरेको व्यापार त्यसैमा थप्दै गएँ, थप्दै गए, अहिले चार लाख रूपैयाँकाे लगानी पुग्याे ।’
खुसीको अनुभुति गर्दै उनी स्मरण गर्छिन्, ‘व्यापार औधी चल्यो, एउटा पसलले थेग्न सकेनौं र दुईवटा पसल एकै पटक चलायौं ।’ उनको अर्काे एउटा पसल छोरीहरूले चलाएर साथ दिएका छन् ।

आफ्नै कमाइले बनाएकाे पक्की घरमा घुरनीदेवी । तस्बिर: यमुना अहिले उनले पसलकै आम्दानीबाट १० धुर जग्गामा एक तल्ले पक्की घर बनाएकी छन् । पाँच कठ्ठा खेत किनेकी छन् । अरु घडेरी पनि जोडेकी छन् । घर, घडेरी र खेती गरेर अहिलेको मूल्यमा डेढ करोड रूपैयाँ बराबरकाे हुन्छ । बाँकी आम्दानीले तीन छोरीको बिबाह समेत गरिन् । यो सबै त्यही ३ हजारको बिउ पूँजीबाट सम्भब भएको हाे ।
000
लहान नगरपालिका-२० की ३५ बर्षीया उर्मिला महतोलाई पनि ज्यालादारीको कमाइले ४ जनाको परिवार चलाउन धौ-धौ थियो । जमिनका नाममा घरघडेरी मात्रै थियो । ‘श्रीमान् काठ फर्निचरमा काम गर्दा दिनको पाँच सय रूपैयाँ ‘रोजी’ मिल्थ्यो, म हाट बजारबाट तरकारी किनेर ल्याई बजारमा बेच्थें ,’ महताे भन्छिन् ।
उर्मिलाका अनुसार उनीहरू दुबैजनाको कमाईबाट ‘आश्रम’ (दैनिकी) चलेको छ । थपिन्, ‘चामल, ‘आँटा’ किनेरै खान्छौं, हरेक सामान नुनदेखि हर्दि सम्म सबै थोक किनेर खान्छौं । दुःखले दुई जनाको कमाइबाट गाँस कटाएर त्यतिबेला केही रूपैयाँ बचत गर्यौं, अहिले त्यही हाम्रोलागि मुख्य आधार बनेको छ ।’
महतो दम्पत्तीले ‘जनबनी’ले परिवार चलाउन गाह्रो भएपछि छिमेकी बैंकबाट किस्ता उठाउने सल्लाह गरे । आफूले कमाएको पैसा र बैंकबाट लिएको दुबै जोडेर श्रीमानका लागि सिटीरिक्सा किने । श्रीमान्ले सिटी रिक्सा चलाउन थालेपछि उनीहरूको परिवारमा ठूलो राहत भयो ।
‘रिक्साले दैनिक हजार रूपैयाँदेखि कहिलेकाही त दुई हजारसम्म कमाइ हुन थाल्यो । दुबैजनाको आम्दानीले बिस्तारै सिटी रिक्सा किन्न लिएको किस्ता पनि ‘फर्याइ’ दियौ,’ उनले आफ्नै लवजमा भनिन्, ‘गाडी चलाक पेटो चलेलियै आ किस्तो सदादेलियै (गाडी चलाएर पेट पनि चलायौं र गाडीको कर्जा पनि ‘सदायौं’ ) ।’
रिक्साको कमाक्ष र बैंकको सहयोगले परिवारलाई आम्दानी मात्रै दिएन खुशी, आँट र हिम्मत पनि दियो । फेरी बैंकबाट ऋण लिएर एक लाख २० हजारमा किनेको भैंसीले अहिले दैनिक सात लिटर दुध दिन्छ ।

दूध विक्रीका लागि साइकलमा बजार जाँदै उर्मिला । तस्बिर: यमुना । ‘दुई लिटर दुध घरमा खान्छौं, पाँच लिटर दुध दैेनिक बजार लगेर बेच्छु ।’ दुध बेचेर दिनको पाँच सय रूपैयाँ थप कमाइ हुन्छ,’ मख्ख पर्दै उनले सुनाइन् ।
श्रीमानले सिटीरिक्सा चलाउँछन् । उनी दुध बिक्री गरेर बाँकी समयमा तरकारी पनि बिक्रि गरिरहेकी छिन् । दुबैको मिहिनेतले परिवार मात्र चलेको छैन, बचत गर्ने र सरकारी विद्यालयमा पढीरहेका छोराछोरीलाई नीजि विद्यालयमा सारेका छन् ।
महतोको परिवारमा महिलाले नै घरको काम गर्नु पर्ने, वस्तु स्याहार्नु पर्छ भन्ने परम्परागत मान्यता छैन । दुबैजनाले मिलेर घर र बाहिरको काम सम्हाल्छन् । दुबैजना ४ बजे बिहानै उठ्छन् । एक जनाले खाना बनाउने र अर्कोले भैंसीको स्याहार गर्छन् । दुई छोराछोरी लहानको काठमाडौं एकेडेमी स्कूलमा अध्ययन गर्दैछन् ।
श्रीमती विहान लहान बजारमा विभिन्न मानिसहरुको घरघरमा गएर दुध पुर्याउँछिन् । श्रीमान मंगल महतोले बजारमा सिटीरिक्सा चलाउँछन् । रिक्सा लिएर बजार जानेबेलामा छोराछोरी र श्रीमतीलाई गाउँबाट तीन किलोमिटर पर रहेको लहान बजारसम्म पुर्याउँछन् ।

श्रीमती दुध बेच्न थाल्छिन् । छोराछोरी स्कूल जान्छन् । सिटी रिक्साले गर्दा छोराछोरीलाई आफै स्कूल पुर्याउने र लिएर घरजाने काम गरिरहेका छन् । श्रीमतीलाई समेत बजार आउन सजिलो भएको छ । उनीहरूको परिवारका दैनिकी हिजो आज स्वर्ग जस्तै चलेको महतोकाे अनुभव छ । उनले भनिन्,‘यो सबै छिमेक विकास बैंकको सहयोगले सम्भव भएको हो ।’
०००
घुरनीदेवी र उर्मिलाजस्तै धेरै महिलाहरूले सिरहा जिल्लामा बिभिन्न सहकारी र विकास बैंकहरूमा आबद्ध भएर ऋण सुविधाको उपयोग गरिरहेका छन् । महिलाहरूले सहकारी या अन्य वित्तीय संस्थामा सानो रकम जम्मा गरेर बचत गर्ने गरेको पाइएको छ । महिलाहरु ऋण लिएर उत्पादनमुलक काम गर्न थालेका लहान नगरपालिका-१ मा संचालित राधाकृष्ण उद्यमशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिमला केसीले बताइन् ।
केसीले शुरूमा महिला विकास कार्यलयको लहान शाखाले बनाएको समूहमा आबद्ध भएर लामो समयसम्म समूह बचत गरेको बताइन् । उनका अनुसार उक्त समूहलाई समिति बनाएर वि.सं. २०६७ सालमा बचत तथा ऋण सहकारी संस्थामा परिणत गरेका हुन् ।
केसी भन्छिन्, ‘शुरूवातमा हामी पनि महिनाको २० रूपैयाँ जम्मा गर्थ्याैं, अहिले त्यही संस्थामा एक सय ३० जना महिला र ९० जना किशोरीहरू सेयर सदस्य छन् ।’
केसीले संस्थामार्फत बिभिन्न किसिमका तालिम दिने, बचत गर्ने बानीको बिकास गराउने र ऋण लगानी गर्ने काम गरिँदै आएको बताइन् । यसले स्थानीय महिला संगठितसमेत भएका छन् ।
‘आर्थिक रूपमा महिलाहरूले सानो ठूला व्यापार व्यवसाय गरेर आर्थिक रूपमा सवल भएका छन्,’ केसीले थपिन् ।
संस्थाबाट ऋण लिने महिलारू अहिले धेरै छन् । धेरैजसो महिलाहरूले फलफूल तथा तरकारी पसल सन्चालन गरेका छन् । कोही सिटीरिक्सा किन्न, कोही छोरा वा श्रीमानलाई वैदेशिक रोजगारीमा पठाउन त कोही पसल व्यवसाय गर्न ऋण लिन्छन् ।
समूहमा बस्न थालेदेखि महिलाहरुको संगठित हुने, आफ्ना समस्याबारे बोल्ने बानीको विकाससँगै आर्थिक सशक्तीकरण हुने माध्यम भएको उदाहरण आफू स्वयं भएको उनले बताइन् ।
श्रमजीवि बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष सुशीलचन्द्र अधिकारीले पनि समूहमा बसेर महिलाहरूले ठूलो उन्नति गरेको बताए । अधिकारी २०५४ सालदेखि सहकारीको अध्यक्षको रूपमा रहेका छन् । उनका अनुसार समूह सहकारीमा बसेर महिलाहरूले उल्लेख्य प्रगति गरेका छन् । महिलाहरूको शिक्षा, स्वास्थ्यमा पहुँच बढ्नु , संस्कार र जीवन शैलीमा आउने परिवर्तन पनि सहकारीमा आवद्ध भएकोले नै हो भन्ने उनकाे ठम्याइ छ ।
‘पुरुषकाे तुलनामा महिलाहरु इमानदार हुन्छन्, उनीहरूको क्षमताभन्दा बढी ऋण सुबिधा दिए मात्रै खराब हुन्छ,’ अधिकारीले आफ्नाे अनुभव सुनाए । ९९ प्रतिशत महिलाहरू असल ऋणीका रूपमा पाएको उनले बताए । ऋण लगानी गर्दा उनीहरूको योग्यता, आम्दानी खर्च गर्न सक्ने क्षमता हेरेर मात्र लगानी गर्नु पर्ने सुझाव अधिकारीको छ ।
-

अज्ञात व्यक्तिको गोली प्रहारबाट सिरहामा एकजना घाइते
जनकपुरधाम । सिरहाको मिर्चैया नगरपालिका-५ मा एक पुरुषमाथि अज्ञात समूहले गोली प्रहार गरेका छन् । गोली लागेर सोही ठाउँका रामसागर साफी घाइते भएका हुन् ।
साँझ करिब ८ बजेतिर उनीमाथि दुई गोली हानेर अपरिचित व्यक्तिहरु भागेका छन् । साफीको हात र तिघ्रामा गोली लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
साफीको उपचार मिर्चैयाकै एक अस्पतालमा भइरहेको छ । गोली चलाउने व्यक्तिहरुको खोजी सुरु गरेको प्रहरीले जनाएको छ ।
-

रक्सी चोरेको आरोप लागेपछि असईसहित तीन प्रहरी निलम्बित
जनकपुरधाम । निषेधाज्ञाका बेला बन्द रहेको पसलबाट रक्सी चोरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय सिरहाले असईसहित तीन प्रहरीलाई निलम्बन गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सहायक निरीक्षक नवल किशोर ठाकुर, प्रहरी जवानद्वय अन्नु कुमार राय र नरेशकुमार राय निलम्बनमा परेका हुन् । चोरीको आरोप लागेपछि तीनै जनालाई निलम्बन गरी अनुसन्धान सुरु गरिएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी शालिग्राम शर्माले जानकारी दिए ।
लहान नगरपालिका-२३ गढिया चोकमा रहेको पूजा मदिरा पसलमा जेठ ९ मा होहल्ला भइरहेको थाहा पाएपछि प्रहरी टोली पुगेको थियो । प्रहरीलाई देखेपछि पसल सञ्चालकसहित सबै भागे । त्यसपछि तिनै प्रहरीले पसलबाट भाेड्का निकालेर चाैकी फर्किएकाे सीसीटिभी क्यामरामा कैद भएकाे थियाे । ।
पुलिसले भोड्का चोरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । डीएसपी शर्माले भने, ‘तीन हाफमात्र चोरेका रहेछन् । तर बर्दीमा भएको बेला पसलबाट मदिरा पकेटमा राख्नु आचरण विपरित कार्य हो । त्यसैले निलम्बन गरी अनुसन्धान थालेका छौं ।’
