Tag: सिमेन्ट उद्योग

  • सिमेन्ट उद्योगलाई विद्युत आपूर्ति गर्ने स्वीचिङ स्टेसन सञ्चालनमा

    सिमेन्ट उद्योगलाई विद्युत आपूर्ति गर्ने स्वीचिङ स्टेसन सञ्चालनमा

    काठमाडौं । धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत आपूर्ति गर्ने स्वीचिङ स्टेसन सञ्चालनमा आएको छ । मस्र्याङदी–स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६मा निर्माण गरिएको स्वीचिङ स्टेसनलाई शुक्रबार चार्ज गरी सञ्चालनमा ल्याइएको छ ।

    तनहुँस्थिति तल्लो मस्र्याङदी विद्युतगृहबाट आएको प्रसारण लाइन स्वीचिङ स्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । प्रसारण लाइनलाई स्वीचिङ स्टेसनमा लुप इन गराएर हुवासिन सिमेन्टलाई विद्युत आपूर्ति दिइने छ । हुवासिन सिमेन्टले २० मेगावाट विद्युत लिने छ ।

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दशैंको वेलामा विद्युतको माग कम हुने मौका पारेर स्वीचिङ स्टेसनलाई चार्ज गर्न अनुमति दिइएको बताए ।

    ‘अन्य समयमा मस्र्याङदी–स्यूचाटार १३२ केभी ट्रंक लाइन बन्द गर्ने सक्ने अवस्था नै थिएन, त्यसैले दशैंको वेलामा मिलाएर चार्ज गर्न दियौं र टीकाको दिन स्वीचिङ स्टेसन चार्ज भयो,’ कार्यकारी निर्देशक घिसिङले भने। ‘अब हुवासिन सिमेन्टले चाहेको दिन १३२ केभी लाइनबाट विद्युत जडान गर्न सक्ने छ ।’

    धादिङको बेनिघाट रोराङ गाउँपालिकामा निर्माणाधीन हुवासिन सिमेन्टले आफ्नै खर्चमा स्वीचिङ स्टेसन निर्माण गर्न गत वर्ष सुरु गरेको थियो । कम्पनीले स्वीचिङ स्टेसनबाट कारखानासम्म करिब १४ किलोमिटर प्रसारण लाइन र कारखाना परिसरभित्र १३२÷१० केभीको सबस्टेसन निर्माण गरेको छ । प्राधिकरणले स्वीचिङ स्टेसन निर्माणको सुपरीवेक्षण गरेको थियो ।

    कार्यकारी निर्देशक घिसिङका अनुसार, स्वीचिङ स्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ३३ र ११ केभीका लाइन निकालिने छन् । ‘स्वीचिङ स्टेसनको निर्माणपछि गल्छी, नौबिसे क्षेत्रमा खुल्न लागिरहेका उद्योगहरुलाई विद्युत उपलब्ध गराउन पूर्वाधार तयार भएको छ, साथै त्यहाँबाट स्थानीय रुपमा विद्युत आपूर्ति गरिने छ’, उनले भने । ‘यसबाट त्यस क्षेत्रको विद्युत आपूर्तिसमेत विश्वसनीय हुने छ ।’

  • माग घटेपछि सिमेन्ट सस्तियो, उद्योगी भन्छन्- ३० अर्ब बजारमा फस्यो

    माग घटेपछि सिमेन्ट सस्तियो, उद्योगी भन्छन्- ३० अर्ब बजारमा फस्यो

    काठमाडौं । नेपालमा सबै वस्तुको मूल्यवृद्धि भइरहेको समयमा सिमेन्टको मूल्य भने सस्तिएको छ । चर्को प्रतिष्पर्धा र कमजोर मागका कारण अहिले उत्पादन लागतभन्दा कममा सिमेन्ट बिक्री गरिरहेको उद्योगीले बताएका छन् ।

    अहिले औसतमा पीपीसी सिमेन्ट ६५० रूपैयाँ र ओपीसी ५५० रुपैयाँ कम्पनी मूल्य रहेको छ । यो अहिलेसम्मकै सबैभन्दा सस्तो कम्पनी मूल्य भएको दावी उत्पादकहरूले गरेका छन् ।

    नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले न्यूनतम मूल्यमा उद्योगले सिमेन्ट बिक्री गरिरहेको बताए । नेपालमा विकास निर्माणको काम शुरू हुने समयमा सिमेन्टको मूल्य घटेको उनको भनाइ छ ।

    थापाले भने, ‘उद्योगले उत्पादन मूल्यभन्दा पनि कममा सिमेन्ट बिक्री गरिरहेका छन् । बजारमा प्रतिस्पर्धा धेरै भएकाले नेपालमा सञ्चालित सिमेन्ट उद्योगमध्ये आधा जतिले आफ्नो उत्पादन मूल्यभन्दा पनि कममा सिमेन्ट बिक्री गरिरहेका छन् ।’

    लकडाउनको समयमा धेरै घाटा भएको र अझै  त्यो घाटा बढ्ने अवस्था आएकोले कम मूल्यमा बिक्री गरिएको उनले बताए ।

    थापाका अनुसार बजारमा करिब ३० अर्ब रूपैयाँ बाँकीमध्ये उद्योगहरूले आउँदो असारसम्म १२ अर्ब जतिमात्र उधारो उठ्ने आंकलन छ ।

    थापाले भने ‘पहिले सिमेन्ट उत्पादक कम्पनीहरूले डिलरलाई बिक्री बढाउन उधारोमा नै सिमेन्ट दिए । अहिले त्यही उद्यारो दिएको पैसा कसरी उठाउने भन्ने चिन्तामा छन् । यस आर्थिक वर्षभित्र १२ अर्ब जतिमात्रै पैसा उठ्ने अवस्था रहेको छ ।’

    अहिले उद्योगहरूले कम मूल्य तर नगदमा सिमेन्ट बिक्री गर्ने रणनीति लिएको उनको भनाइ छ । लकडाउनको समयमा उद्योगहरूले दैनिक ६५ करोड घाटा खाएको पनि थापाले दावी गरे ।

    उद्योग विभागका अनुसार नेपालमा १ सय ३० वटा सिमेन्ट उद्योग दर्ता छन् । तर, हाल ६५ वटामात्रै सञ्चालनमा छन् ।

    थापाका अनुसार लोडसेडिङको बेला नेपालमा सिमेन्टको कम्पनी मूल्य सबैभन्दा उच्च थियो । सो समयमा पीपीसी सिमेन्टको ८०० र ओपीसीको ९०० रुपैयाँ कम्पनी मूल्य थियो ।

    पछिल्लो समय नेपालमा सिमेन्ट उद्योगको स्थापना गर्ने क्रम बढेको छ । अहिले घाटामा चलेका विभिन्न सिमेन्ट उद्योगले आईपीओ ल्याउने तयारी गरिरहेका छन् ।

    नेपालका सबैभन्दा पुरानो सिमेन्ट उद्योग हिमाल सिमन्ट उद्योग हो । वि.सं २०३१ सालमा हिमाल सिमेन्ट उद्योग स्थापना भएको थियो । तर अहिले बन्द भइसकेको छ ।

    त्यसपछि २०३२ सालमा हेटौंडा सिमेन्ट र २०४४ सालमा उदयपुर सिमेन्ट उद्योग स्थापना भएको थियो । हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्ट अहिले पनि सञ्चालनमा छन् । नेपालमा सिमेन्ट उद्योगको शुरूआत सरकारले नै गरेको थियो । अहिले दर्ता भएका उद्योगमध्ये १ सय २८ वटा सिमेन्टमा निजी क्षेत्रको लगानी रहेको छ ।

    सरकारले सिमेन्ट उद्योगमा लगानी गरेको १९ वर्षपछि मात्रै निजी क्षेत्रले सिमेन्ट उद्योगमा लगानी गर्न सुरु गर्‍यो । अध्यक्ष थापाका अनुसार नेपालको सिमेन्ट क्षेत्रमा स्वदेशी र विदेशी गरी करिब ३ सय अर्ब लगानी रहेको छ । नेपालीले सिमेन्ट उद्योगमा करिब २ सय २० अर्ब लगानी गरेका छन् ।

    कसरी फस्यो ३० अर्ब ?

    पछिल्लो समय नेपालमा सिमेन्टको उद्योग स्थापना धेरै भए । सिमेन्ट मागभन्दा धेरै उत्पादन हुन थालेपछि बिक्री गर्नका लागि कम्पनीहरूले आफ्ना डिलरहरूलाई उधारोमा नै सिमेन्ट दिएका थिए ।

    पहिले सिमेन्ट दिँदा पैसा तिर्ने भाकामा डिलरले सिमेन्ट उद्योगलाई पैसा तिरेनन् । गत वर्ष सिमेन्ट उत्पादक संघले नै आधिकारिक सूचना निकालेर सिमेन्ट उधारो बिक्री बन्द गरेको थियो ।

    मोतिलाल दुगड उद्योग राज्यमन्त्रीले मन्त्री भएको बेला उद्योगीलाई पैसा उठाइदिने आशा देखाएका थिए । तर, उद्योगीहरुले भने मन्त्रीले भाषणमात्रै गरेको तर पैसा उठाउनका लागि केही पनि सहयोग नगरेको बताए ।

    एक सिमेन्ट उद्योगीले भने, ‘मन्त्रीले उधारो पैसा उठाउन सहयोग गर्ने भन्दा खुसी लागेको थियो । तर, भाषण गरेको करिब १ वर्ष भइसकेको छ । उठाउनको लागि केही पहल गर्नु भएन । हामीले लकडाउनभन्दा अगाडि नै उधारो दिएको सिमेन्टको पैसा उठाउन सकेका छैनौ । लकडाउनको समयमा पनि धेरै घाटा भयो ।’

    उद्योगले उत्पादन मूल्यमा बिक्री गरेको सिमेन्टमा डिलरले भाडा र अन्य खर्च जोडेर बिक्री गर्ने गर्छन् । सिमेन्टको मूल्य घट्दा घर बनाउनेहरुलाई भने फाइदा भएको छ ।