Tag: सिन्धुली

  • निर्विरोध गाविस अध्यक्षदेखि मन्त्रीसम्म: एक महिनामै ‘यू-टर्न’ भयो पहाडीको राजनीति

    निर्विरोध गाविस अध्यक्षदेखि मन्त्रीसम्म: एक महिनामै ‘यू-टर्न’ भयो पहाडीको राजनीति

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विस्तार गरेको मन्त्रिपरिषद्‍मा नेकपा एमालेको पूर्व माधव नेपाल समूहका गणेश पहाडी पनि सामान्य प्रशासनमन्त्री बने । यो माधव नेपाल समूहका धेरै नेता कार्यकर्ता लागि ‘सरप्राइज’ नै थियो ।

    ठीक एक महिनाअघि पहाडी प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बेला संसदमा अनुपस्थित भएर पार्टीको ह्वीप उल्लंघन गरेका थिए । तर, ठीक एक महिनापछि ओलीकै क्याबिनेटमा पहाडी मन्त्री बने ।

    पार्टी भित्रको विवाद र पछिल्लो राजनीतिक घटनाक्रमले पहाडीलाई पहिलो पटक मन्त्री बन्ने मौका दियो । २०२७ सालमा जन्मिएका पहाडीले १२ वर्षको उमेरमा अनेरास्ववियु- पाँचौँबाट राजनीतिक जीवनको सुरुआत गरेका थिए ।

    जीवनको ३८ वर्ष एमालेको राजनीतिमै बिताइसकेका ४९ वर्षे पहाडीले मौकामा मन्त्री बन्न पाएको देखिन्छ । माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेतालाई मन्त्री बनाउने चर्चा चले पनि उनीहरूले प्रस्ताव अस्विकार गरे । तर, योगेशलगायतका नेताले अस्वीकार गरे पनि उनी निकटकै पहाडी मन्त्री बने ।

    स्नातकोत्तरसम्मको अध्ययन गरेका पहाडीले सक्रिय राजनीति सुरु गरेको ८ वर्षपछि एमालेको संगठित सदस्यता प्राप्त गरेका थिए । त्यसको एक वर्ष नबित्दै एमालेको सिन्धुली-काठमाडौं सम्पर्क मञ्चको संयोजकको जिम्मेवारी पाएका पहाडीले पछिल्लो योगशसँग मिलेर पार्टी एकताको पहलसमेत गरेका थिए ।

    राजनीतिलाई प्रमुख कार्य र नेकपा एमालेलाई माध्यम बनाएका पहाडी २०५४ सालमा सिन्धुलीको खाङसाङ गाविसको अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । १२ वर्षकै उमेरमा राजनीतिक जीवन सुरु गरेका पहाडी ३८ वर्षको उमेरमा २०६५ सालमा एमालेको सिन्धुली जिल्ला कमिटीको सचिव चुनिएका थिए । त्यसको एक वर्ष नबित्दै एमाले सिन्धुलीको संयोजकको जिम्मेवारी पाएका थिए ।

    राजनीतिक रूपमा पहाडीले २०६५ देखि ७० साल सम्ममको समयमा फरक-फरक भूमिका र उचाइ हासिल गरे । २०६६ सालसम्म जिल्लाको राजनीतिमा स्थापित भइसकेका पहाडीले २०६७ सालमा एमालेबाट राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्यता प्राप्त गरेका थिए ।

    २०७१ सालमा भएको नवौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य बनेका पहाडीले सोही वर्ष अर्को राजनीतिक उचाइ हासिल गरेका थिए । २०७० सालको संविधान सभा निर्वाचनमा सिन्धुलीको क्षेत्र नम्बर १ बाट निर्वाचित भएका पहाडी २०७४ सालको दोस्रो निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए ।

    त्यसपछि एमालेको केन्द्रीय कमिटी सदस्य बनेका पहाडीले आजदेखि आफ्नो राजनीतिक ‘पोर्टफोलियो’मा नयाँ अध्याय थपेका छन्, सामान्य प्रशासनमन्त्रीको रूपमा । र, उनले आफ्नो गुटसमेत परिवर्तन गरेका छन् ।

    पहाडी यसबीचमा स्थानीय राजनीतिको दबाबमा पनि थिए । जिल्लाका र विशेषगरि उनको क्षेत्रका अधिकांश कार्यकर्ता ओली पक्षमा छन् । उनकै गाउँपालिका फिक्कलका सबै जनप्रतिनिधि ओली पक्षमा छन् ।

    जिल्लाको राजनीतिले पनि दबाबमा परेका पहाडीलाई आफ्नो अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाएर विपक्षी दलका नेता शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन मनले मानेन । त्यहिँबाट उनको राजनीतिले ‘यू-टर्न’ लियो ।

    सिन्धुलीबाट मन्त्री बन्ने एमालेका पहिलो नेता समेत बनेका छन्, पहाडी । अहिलेसम्म सिन्धुलीबाट एमालेले मदन ढुंगेल, गंगा नेपाल, शंकरनाथ अधिकारी र विषमलाल अधिकारी दनुवारलाई प्रत्यक्ष निर्वाचित गरेको थियो भने गोमा देवकोटा समानुपातिबाट प्रतिनिधिसभा सदस्य छन् ।

  • सिन्धुलीको दुधौलीका तीनवटा वडा एक हप्ता लकडाउन

    सिन्धुलीको दुधौलीका तीनवटा वडा एक हप्ता लकडाउन

    सिन्धुली । जिल्लाको दुधौली नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न एक हप्ताका लागि लकडाउन घोषणा गरेको छ । यही वैशाख ९ गते बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगरका तीनवटा वडामा आजदेखि लकडाउन गर्ने घोषणा गरेको नगर प्रमुख घनश्याम राउतले जानकारी दिए ।

    उनले भने, ‘हामीले नगरका तीनवटा वडामा कोरोना भाइरस सङ्क्रमण बढी फैलन सक्नेतर्फ सचेत हुँदै लकडाउन गर्ने निर्णय गरेका हौँ ।’ उनका अनुसार नगरपालिकाका वडा १, २ र ४ मा वैशाख १० देखि १७ सम्म लकडाउन घोषणा गरिएको छ ।

    बुधबार दुधौली नगरपालिका-१ का एक व्यक्तिमा कोरोना पोजेटिभ पुष्टि भएपछि नगरको विपद् व्यवस्थापन समितिको बैठकले लकडाउन घोषणा गर्ने निर्णय गरेको हो । लकडाउनको घोषणा भएका क्षेत्रमा अति आवश्यक सेवा एम्बुलेन्स, दमकल, स्वास्थ्य सेवा, दूध, तरकारी फलफूल, खाद्यान्न पसलबाहेक शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, वडा कार्यालय (वडा नं ४ बाहेक) बजार, होटल, यातायातका सेवा र अन्य व्यवसाय पनि बन्द रहनेछ । लकडाउनको उल्लङ्घन गरेमा कानूनबमोजिम कारबाही गरिने पनि उल्लेख गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालयले पनि जिल्लाभर सभा सम्मेलन, गोष्ठी सङ्घसंस्थाका कार्यक्रममा सरकारले तोकेको मापदण्डअनुसार २५ भन्दा बढी मानिस सहभागी नगराई सामाजिक दूरी कायम गरी कार्यक्रम नगर्न आग्रह गरेको छ । जिल्लाको गोलन्जोर गाउँपालिकाले पनि कोरोनाको सङ्क्रमण फैलनसक्ने जनाउँदै साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको जोखिम हुन नदिन खनियाँखर्क, खुर्कोट, ग्वाल्टार र च्याकुटार बेँसीमा लाग्ने साप्ताहिक हाटबजार बन्द गर्ने गाउँपालिकाले जनाएको छ ।

    ती क्षेत्रमा रहेका विद्यालय, सरकारी तथा गैरसरकारी सङ्घसंस्था, सम्बद्ध निकायका कर्मचारीलगायत सबैमा सेवा लिँदा–दिँदा र सामाजिक गतिविधि गर्दा स्वास्थ्य संवेदनशीलतालाई समेत ध्यानमा राख्दै सेवा आदानप्रदान निर्देशन दिइएको छ ।

  • सिन्धुली जिप दुर्घटनामा चारको मृत्यु, सात घाइते

    सिन्धुली जिप दुर्घटनामा चारको मृत्यु, सात घाइते

    सिन्धुली । सिन्धुलीमा जिप दुर्घटना हुँदा चार जनाको घटनास्लथल मै मृत्यु भएको छ । कमलामाइ नगरपालिका–७ करङडाँडामा बा १७ च १११७ नम्बरको जिप दिउँसो पौने ४ बजे सडकबाट ५० मिटर तल खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको हाे ।

    मृत्यु हुनेमा कमलामाइ नगरपालिका ७ बाँसकटेरीका करिव ६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षका रीता इस्माली, १९ वर्षका दुर्गा श्रेष्ठ र उनका छोरा २ वर्षका मनिष श्रेष्ठको रहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार सिन्धुली सदरमुकाम सिन्धुलीबाट बासकटेरीतर्फ जाँदै गरेको जिप अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । जिपमा ११ जना सवार रहेकोमा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन्

    ७ जना घाइतेमा ४ जना काठमाडौं रिफर गरिएको र ३ जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रअिज न्यौपानेले बताए । उनका अनुसार घाइतेमध्ये दुइ जनाको अवस्था गम्भिर रहेको छ । घाइते हुनेमा ३० वर्षका जिप चालक भोजविक्रम थापा, २७ वर्षका धनबहादुर श्रेष्ठ, २२ वर्षका कविता श्रेष्ठ, ५० वर्षका सुनमाया थिङ, ३० वर्षका सुकमाया पुलामी, २८ वर्षका विनिता श्रेष्ठ र दुइ वर्षका रेमन पुलामी रहेका छन् ।

    जसमध्ये गम्भिर अवस्थामा रहेका चालक थापा र कविता श्रेष्ठसहित थप दुइ जना धनबहादुर श्रेष्ठ र विनिता श्रेष्ठ गरेर ४ जनालाई थप उपचारका लागि काठमाडौ रेफर गरिएको स्थानीय प्रशासनले जनाएको छ ।