Tag: सिद्धबाबा सुरुङ मार्ग

  • सिद्धबाबा सुरुङ मार्गमा विदेशी कम्पनीको चासो, ग्लोबल टेण्डरमा चिनियाँ कम्पनीको धेरै आवेदन

    सिद्धबाबा सुरुङ मार्गमा विदेशी कम्पनीको चासो, ग्लोबल टेण्डरमा चिनियाँ कम्पनीको धेरै आवेदन

    रुपन्देही । रुपन्देही र पाल्पाको सीमा क्षेत्रस्थित सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डमा निर्माण गरिने सुरुङमार्गमा विदेशी कम्पनीले बढी चासो देखाएका छन् ।

    ग्लोबल टेण्डरमार्फत गरिएको आवेदनमा स्वदेशीभन्दा विदेशी धेरै कम्पनीको आवेदन परेको सडक विभागको भनाइ छ । डेढ महिनाअघि गरिएको टेण्डरमा परेका ९ वटा आवेदनमध्ये धेरै चिनियाँ कम्पनी र एक भारतीय कम्पनी रहेको विभागको भनाइ छ ।

    यसअघि अर्थमन्त्री विष्णु पौडेलको कार्यकालमा सुरुङमार्ग निर्माण गर्न अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँको बजेट सुनिश्चित भइसकेपछि जेठ ९ गते यसको टेण्डर आह्वान गरिएको थियो । छनोट भएका कम्पनीले पाँच वर्षभित्र सुरुङमार्गको निर्माण सम्पन्न गरिसक्नुपर्ने हुन्छ ।

    सुरुङमार्गका लागि चालु आर्थिक वर्षमा ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सरकारले गत तीन आर्थिक वर्षदेखि बजेट विनियोजन गर्दै आए पनि यो सुरुङमार्ग निर्माण कार्य अगाडि बढ्न नसक्दा बजेट फिर्ता भइरहेको थियो ।

    सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीले सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि नौवटा अन्तर्राष्ट्रिय कम्पनीले आवेदन दर्ता गराएको बताए्  ।

    ‘आवेदन दिएका कम्पनीहरूको प्राविधिक प्रस्तावको अहिले मूल्यांकन भइरहेको छ । प्राविधिक मूल्यांकनमा उत्कृष्ट कम्पनीको मात्र आर्थिक प्रस्तावको समेत मूल्यांकन गरिने छ । दुईवटै मूल्यांनमा उत्कृष्ट भएका कम्पनीसँग सम्झौता गरी निर्माण कार्य अगाडि बढाइने छ’, जैसीले भने ।

    उनका अनुसार अहिले उनीहरुले पठाएका कागजातको अध्ययन भइरहेको छ । ‘उनीहरुले पठाएका कागजपत्र अध्ययन शुरु भएको छ, अपुग भएका कागजपत्रका विषयमा पनि अध्ययन गर्नुपर्ने हुन्छ, अनि मात्र प्रकृयामा जान्छौं, समयमै काम गर्न सकिए दुई महिनामा अगाडि बढ्न सकिन्छ’, उनले भने ।

    आवेदन दिएका कम्पनीहरूले बोलपत्रको मापदण्ड पूरा गरेको अवस्थामा अबको दुई महिनाभित्र कम्पनी छनोट प्रक्रिया पूरा हुने उनले जनाएका छन् । छनोट भएका निर्माण कम्पनीले इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा सुरुङमार्ग निर्माण गर्ने निर्देशक जैसीले बताएका छन्  ।

    त्यसैगरी सुरुङमार्ग निर्माण सम्पन्न भएको एक वर्षसम्म ‘डिफेक्ट लायबिलिटी पिरियड (डीएलपी) सम्बन्धित निर्माण कम्पनीले नै गर्ने बताए ।
    यो सुरुङमार्गको पोर्टल बुटवल–तानसेन सडकखण्डमा रहेको सिद्धबाबा मन्दिरस्थित चिडियाखोला नजिकै हुनेछ । दुई लेनको हुने यस

    सुरुङमार्गको कुल लम्बाइ १.१२६ किलोमिटर हुनेछ । सुरुङमार्गको निर्माण ‘एसियन हाइवे स्ट्यान्डर्ड’को हुने निर्देशक जैसीले जानकारी दिए  । सिद्धबाबाको अति जोखिम झण्डै पाँच किलोमिटर क्षेत्रमध्ये उपल्लो सिद्धबाबादेखि रामापिथेकस पार्कसम्म सो सुरुङमार्ग गरिनेछ ।

    ‘मृत्यु मार्ग’का रुपमा चिनिने यो सडक पहिरोको उच्च जोखिमपूर्ण क्षेत्र हो । जोखिमयुक्त सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बनाउन संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रक्रिया थालेको थियो ।

    गतवर्ष मंसिर १ को अर्थमन्त्रीस्तरीय बैठकले सुरुङका लागि बहुवर्षीय योजनामा काम गर्ने गरी बजेट स्वीकृति दिएको हो । सुरुङमार्ग ५ वर्षभित्र बनाइसक्ने टेण्डरमा उल्लेख छ । करिब ५ कि.मी. को यो सिद्धबाबा सुरुङमार्ग आयोजनामध्ये ११२६ मिटरको टनेल, ७८० मिटरको डबल लेन रक सेड, माथिल्लो भागमा रक नेट, स्लोप पोटेक्सन लगायतका कामहरु हुनेछन् ।

    सिद्धबाबामा सुरुङ मार्ग बनाउने विषयमा केही वर्षयता बहस भइरहेको थियो । लुम्बिनी–पोखरा जोड्ने महत्वपूर्ण सडक भएकाले सुरुङ नै समस्याको समाधान भएकाले निर्माण प्रक्रिया थालिएको हो ।

    तत्कालीन अर्थमन्त्री तथा रुपन्देहीबाट प्रतिनिधिसभाका सदस्य विष्णु पौडेलले सुरुङ मार्गसँगै डबल लेनको सडकसमेत निर्माण हुने बताउदै आएका छन् । ‘सुनौली–कोरला सडकको दीर्घकालीन सोचसहित सिद्धबाबामा सुरुङ बनाउने निष्कर्ष निकालिएको हो’ उनले भनेका छन्, ‘रुपन्देही र पाल्पाबासीका लागि मात्र होइन यो देशकै पहिलो र नमूना योजनाका रुपमा अगाडि बढेको योजना हो, सबैको साथले समयमै निर्माण सम्पन्न हुनेछ, यसका लागि बजेटको अभाव हुनेछैन ।’

    यसअघि रुपन्देही र पाल्पाको सिमानामा पर्ने सिद्धबाबा क्षेत्रमा स्वीस सरकार विकास सहयोगमार्फत सुरुङ मार्गको भौगर्भिक अध्ययन गरिएको थियो । ड्रिलिप नेपालले प्लानेट टेस्ट प्रालिमार्फत गरेको अध्ययनले सुरुङ मार्ग बनाउन सकिने प्रतिवेदन दिएको थियो ।

  • बहुप्रतीक्षित सिद्धबाबा सुरुङ मार्गको टेण्डर आह्वान

    बहुप्रतीक्षित सिद्धबाबा सुरुङ मार्गको टेण्डर आह्वान

    रुपन्देही । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको विशेष योजनामा रहेको रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा रहेको सिद्धबाबा सुरुङ मार्गको टेण्डर आह्वान गरिएको छ ।

    यसअघि अर्थमन्त्री भएको समयमा यो सुरुङमार्गलाई प्राथमिकता साथ योजनामा राखेर बजेट बिनियोजन गर्न थालेका अर्थमन्त्री पौडेलले दोस्रोपटक अर्थमन्त्री भएपछि बजेट सुनिश्चित गरी अगाडि बढाएका हुन् ।

    सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डमा सुरुङमार्ग बनाउन बजेट सुनिश्चित भएपछि आज टेण्डर भएको हो । ‘मृत्यु मार्ग’का रुपमा चिनिने यो सडक पहिरोको उच्च जोखिमयुक्त क्षेत्र हो । जोखिमयुक्त सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बनाउन संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रक्रिया थालेको थियो ।

    सुरुङ मार्ग निर्माण गर्न अर्थ मन्त्रालयले १० अर्ब बजेटको सुनिश्चितता दिएको र सोही आधारमा प्रकृया अगाडि बढाइएको सडक विभागका उपमहानिर्देशक विजय जैसीले नेपाल प्रेसलाई बताए ।

    ‘अहिले ५ वर्षको समय तोकेर टेण्डर आह्वान भएको छ, यसका विभिन्न संरचनागत सम्झौताहरुमा स्पष्ट उल्लेख छन्, ४५ दिनको समय राखेर सूचना सार्वजनिक गरिएको छ, त्यसपछि निर्माणको काम अगाडि बढ्नेछ,’ उनले भने ।

    मंसिर १ गतेको अर्थमन्त्रीस्तरीय निर्णयले सुरुङका लागि बहुवर्षीय योजनामा काम गर्ने गरी बजेट स्वीकृति दिएको हो । ‘ग्लोबल टेन्डर आह्वान गर्छौं, आर्थिक वर्षभित्रै निर्माण सुरु हुनेछ,’ उनले भने । सुरुङमार्ग ५ वर्षभित्र बनाइसक्ने टेण्डरमा उल्लेख छ । करिब ५ कि.मी. को यो सिद्धबाबा सुरुङमार्ग आयोजनामध्ये ११२६ मिटरको टनेल, ७८० मिटरको डबल लेन रक सेड, माथिल्लो भागमा रक नेट, स्लोप पोटेक्सन लगायतका कामहरु हुनेछन् ।

    सिद्धबाबामा सुरुङ मार्ग बनाउने विषयमा केही वर्षयता बहस भइरहेको थियो । लुम्बिनीबाट गण्डकीको राजधानी पोखरा जोड्ने महत्वपूर्ण सडकमा सुरुङ नै समस्याको समाधान भएको निष्कर्षसहित निर्माण प्रक्रिया थालिएको हो ।

    अर्थमन्त्री तथा रुपन्देहीबाट प्रतिनिधिसभाका सदस्य विष्णु पौडेलले सुरुङ मार्गसँगै डबल लेनको सडकसमेत निर्माण हुने बताएका छन् ।

    ‘सुनौली–कोरला सडकको दीर्घकालीन सोचसहित सिद्धबाबामा सुरुङ बनाउने निष्कर्ष निकालिएको हो,’ उनले भने, ‘रुपन्देही र पाल्पावासीका लागि मात्र होइन यो देशकै पहिलो र नमुना योजनाका रुपमा अगाडि बढेको योजना हो, सबैको साथले समयमै निर्माण सम्पन्न हुनेछ ।’

    रुपन्देही र पाल्पाको सीमानामा पर्ने सिद्धबाबा क्षेत्रमा स्वीस सरकार विकास सहयोगमार्फत सुरुङ मार्गको भौगर्भिक अध्ययन गरिएको थियो । ड्रिलिप नेपालले प्लानेट टेस्ट प्रालिमार्फत गरेको अध्ययनले सुरुङ मार्ग बनाउन सकिने प्रतिवेदन दिएको थियो ।

    सुरुङ मार्ग पाल्पाको सिद्धबाबा मन्दिरको उत्तरतर्फको चिडियाखोलाको छेउबाट सुरु हुनेछ । चिडियाखोला खोंचबाट सुरु हुने सुरुङ दोभाननजिकै रामापिथेकस पार्कको उत्तरतर्फ निस्कनेछ । यो करिब ११ सय मिटरको हुने अनुमान छ ।

    सिद्धार्थ राजमार्ग सिद्धबाबा क्षेत्रकै पहिरोका कारण असुरक्षित मानिन्छ । यहाँ पछिल्ला पाँच वर्षमा करिब डेढ सयको मृत्यु भएको छ भने सयौंको अंगभंग भएको छ । सिद्धबाबा क्षेत्र पत्रे चट्टानको भएकाले यो सडकमा पहिरो खस्नका लागि पानी पर्नुपर्दैन ।