Tag: सामुदायिक वन उपभोक्ता महासंघ

  • सामुदायिक वन उपभोक्ता महासंघ भन्छ- तत्काल तेहेरो कर हटाइयोस्, नत्र कडा आन्दोलन

    सामुदायिक वन उपभोक्ता महासंघ भन्छ- तत्काल तेहेरो कर हटाइयोस्, नत्र कडा आन्दोलन

    रुपन्देही । सामुदायिक वनको अधिकारमाथि आघात पर्नेगरी सरकारले लगाएको तेहेरो कर खारेज गर्न सामुदायिक वन उपभोक्ता महासंघले आग्रह गरेको छ ।

    सामुदायिक वनमाथि संघ सरकारले १०, स्थानीय तहले १० र प्रदेश सरकारले २५ प्रतिशत वन पैदावार शुल्क लगाएको छ । तीन तहकै सरकारले लगाएका करविरूद्ध महासंघ लामो समयदेखि आन्दोलित छ ।

    संघीय वन ऐन २०७६ र लुम्बिनी प्रदेशको वन ऐन २०७८ तत्काल संशोधन गरी सामुदायिक वन उपभोक्ता समूहको अधिकार सुनिश्चित गर्न महासंघले सरकारसँग आग्रह गरेको हो । सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष मीना पाण्डेले संघीय वन नियमावली र प्रदेश वन ऐन संशोधन गरी वन सरक्षणकर्मीको अधिकार सुनिश्चित गर्न माग गरिन् ।

    महासंघका केन्द्रीय सदस्य रिता घिमिरेले सामुदायिक वन उपभोक्ता महासंघले दिएको सुझाव विपरीत ल्याइएको कानुनले लामो समयदेखि बन संरक्षणमा लागेका अभियानकर्ताको ठूलो अपमान भएको बताइन् । उनले सरकारको यस्तो गलत नीतिका कारण उपभोक्ताले संरक्षण गरेका बनको सदुपयोग गर्न नपाएको बताइन् ।

    महासंघ पश्चिम नवलपरासीका अध्यक्ष कमल परियारले वन संरक्षणकर्मीलाई राज्यले दास बनाउने ऐन आफूहरूलाई स्वीकार नगर्ने बताए । उनले मान्छेको मृत्यु हुँदासमेत दाउरा दिन नसक्ने अवस्थामा सामुदायिक बन पुगेको तर वनमा कुहिएका दाउरा दिन सक्ने अवस्था नरहेको बताए ।

    उनले लुम्बिनी प्रदेशको बन ऐन ०७८ मा चक्ला बन व्यवस्थापन सम्बन्धी व्यवस्था हटाउनसमेत माग गरे । महासंघ रुपन्देहीका अध्यक्ष दिननाथ आचार्यले दीगो वन व्यवस्थापनको माध्यमबाट सामुदायिक वनको संरक्षण र सदुपयोग गर्ने व्यवस्था समावेश गर्न आग्रह गरेका छन् ।

    संविधान र वन ऐन २०७६ विपरीत लुम्बिनी प्रदेशले वन ऐन २०७८ मा सामुदायिक वन अधिकारमा आघात पार्नेगरी समावेश गरिएका व्यवस्थाहरु खारेज तथा संशोधन गर्नुपर्ने उनको भनाइ छ ।

    वनको संरक्षण र दीगो व्यवस्थापनमा महासंघको महत्वपूर्ण योगदान रहेको बताउँदै वनको माध्यमबाट वन तथा जैविक विविधता र वातावरणको संरक्षण, गरिवी न्यूनीकरण, वन उद्यम र पर्यटनको विकासमा महासंघले देन पुर्याउँदै आएको उनले बताए । त्यस्तै ऐन संशोधन वा खारेज नहुँदासम्म आन्दोलन जारी रहने कपिलवस्तुका अध्यक्ष हुमनाथ भट्टराईले बताए ।

  • सामुदायिक वन उपभोक्ता महासंघद्धारा घोषणापत्र जारी

    सामुदायिक वन उपभोक्ता महासंघद्धारा घोषणापत्र जारी

    काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आफ्नो घोषणापत्र जारी गरेको छ । महासंघले छैठौँ बैठकबाट सामुदायिक वनको सन्दर्भमा देखिएका चुनौती तथा सवालको सम्बोधनका लागि नेपाल सरकार र सबै सरोकारवालाको ध्यानाकर्षण गर्दै आफ्नो घोषणापत्र जारी गरेको हो ।

    वन ऐन २०७६ तर्जुमापछि लामो समयसम्म नयाँ वन नियमावली तर्जुमा नगरिएको र देशभरिका सामुदायिक वनको प्रतिनिधिमूलक छाता संस्था सामुदायिक वन उपभोक्ता महासंघ नेपालले समुदायसँगको परामर्शबाट नियमावलीमा समावेश गर्ने गरी दिएको महत्वपूर्ण सुझाबलाई सरकारले वेवास्ता गरेको महासंघकी अध्यक्ष भारती पाठकले बताईन ।

    उनले स्थानीय समुदायको नियमन र नियन्त्रण हुने गरी नेपालमा सामुदायिक पर्यटनको विस्तार भइरहेको बताउँदै नाफामूलक पर्यटन व्यवसायीको प्रभावमा परी सरकारी निकायबाट तर्जुमा हुने कार्यविधिमा पर्यापर्यटन विकासका लागि समुदायले बाध्यात्मक रूपमा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने व्यवस्था गरिएको बताइन् ।

    अध्यक्ष भारतीले पर्यटनको सम्भावना रहेका सामुदायिक वनमा नाफामुखी निजी क्षेत्रको पकड बिस्तार भएको भन्दै उपभोक्ता समूह निरीह बन्नुपर्ने अवस्था आएको भन्दै कार्यविधिमा तत्काल सुधार गरी सामुदायिक वन उपभोक्ता समूहका माध्यमबाट नै पर्यटनका कार्य गर्ने सुनिश्चितता गर्न पनि माग गरेकी छन् ।