Tag: साफ च्याम्पियनसिप फुटबल

  • साफ च्याम्पियनसिपमा नेपालले भारतको सामना गर्दै, जिते फाइनल पक्का

    साफ च्याम्पियनसिपमा नेपालले भारतको सामना गर्दै, जिते फाइनल पक्का

    काठमाडौं । माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले महारथी टोली भारतको सामना गर्दैछ ।

    पाँच टोली सम्मिलित साफ च्याम्पियनसिप राउण्ड रोविन प्रणालीमा सन्चालन भएको छ र लिगका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

    यसअघिका दुवै खेल जितेर अंकतालिकाको शीर्ष स्थानमा रहेको नेपालले साफको ऐतिहासिक फाइनल यात्रा तय गर्नका लागि आजको जित महत्वपूर्ण हुनेछ । नेपाल साफ च्याम्पियनसिपमा अहिलेसम्म फाइनलमा पुगेको छैन ।

    माल्दिभ्सको राजधानीस्थित राष्ट्रिय रंगशालामा नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार आज राती पौने १० बजे हुनेछ । त्यसअघि पौने ५ बजे हुने दिनको पहिलो खेलमा माल्दिभ्स र श्रीलंका आमने सामने हुनेछन् ।

    नेपालले आफ्नो पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो भने त्यसको तीन दिनपछि भएको दोस्रो खेलमा श्रीलंकालाई ३-२ गोलअन्तरले हराएको थियो ।

    कीर्तिमानी सातपल्टको उपधि विजेता भारत भने सुरुआती दुई खेलमा बराबरीको नतिजामा रोकिएको थियो । त्यसैले आजको नेपालविरुद्धको खेल भारतका लागि दवावपूर्ण रहनेछ । आज पराजित भएको अवस्थामा भारतलाई प्रतियोगिताको फाइनलमा पुग्न निकै नै कठिन हुनेछ ।

    नेपाललाई भने कम्तिमा बराबरीले पनि फाइनलको नजिक पुर्‍याउनेछ । लिग चरणको अन्तिम खेलमा नेपालले बुधबार बंगलादेशसँग खेल्नेछ ।

  • साफ च्याम्पियनसिप: फाइनल पुग्न सकेको छैन नेपाल, सर्वाधिक सफल को ?

    साफ च्याम्पियनसिप: फाइनल पुग्न सकेको छैन नेपाल, सर्वाधिक सफल को ?

    काठमाडौं । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता साफ च्याम्पियनसिपको आगामी संस्करण अक्टोबरमा माल्दिभ्समा सुरु हुँदैछ । र, त्यसैको तयारी स्वरुप भारतविरुद्ध दुई मैत्रीपूर्ण खेलपछि नेपाली टोली कतारमा अभ्यास गरिरहेको छ ।

    अक्टोबर १ तारिखदेखि मालेमा हुने प्रतियोगिताका लागि त्यहाँसँग मिल्दो मौसम भएको कतारमा अभ्यासका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले कतारमा नेपाली टोलीलाई तयारी गराइरहेका छन् ।

    वैशाखमा घरेलु मैदानमा भएको थ्री नेसन्स कपपछि नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका कुवेती नागरिक अल्मुताइरीले आफ्नो प्रमुख लक्ष्य साफ च्याम्पियनसिपको फाइनल पुर्‍याउने रहेको बताउँदै आएका छन् ।

    साफ च्याम्पियनसिपका १२ संस्करण खेलिसकेको नेपालले हालसम्म फाइनल यात्रा तय गर्न सकेको छैन । तर, नेपाललाई पहिलाेपल्ट फाइनलमा पुर्‍याउने दाबी गरिरहेका प्रशिक्षक अब्दुल्लाहले लामो समयदेखि तयारी गरिरहेका छन् । उनकै नेतृत्वमा विश्वकप छनोटका बाँकी खेलसँगै इराकसँग मैत्रीपूर्ण खेल खेलिसकेको नेपाली टोलीले साफका लागि पनि असार दोस्रो सातादेखि निरन्तर तयारी गरिरहेको छ ।

    गत साता दशरथ रंगशालामा आयोजित भारतविरुद्धका दुई मैत्रीपूर्ण खेल पनि सोही प्रतियोगिताको तयारीका लागि थिए । जसमा आफूभन्दा माथिल्लो स्तरको भारतविरुद्ध नेपालले पहिलो खेलमा १–१ गोलको बराबरी नतिजा निकालेको थियो । तर, दोस्रो खेलमा भने २–१ गोलको नतिजामा पराजित भएको नेपालको गोल स्कोरिङमा समस्या देखिएको थियो । मैत्रीपूर्ण खेलपछि प्रशिक्षक अब्दुल्लाहले पनि स्कोरिङमा देखिएको समस्या स्वीकार्दै गोलका लागि फरक रणनीति अपनाउन सकिने बताएका थिए ।

    भारतविरुद्धको दोस्रो खेलमा नेपालका लागि मिडफिल्डर तेज तामाङले पेनाल्टी एरिया बाहिरबाट लङरेन्जर प्रहार गर्दै सुन्दर गोल गरेका थिए । सोही गोलको उदाहरण दिँदै प्रशिक्षक अब्दुल्लाले गोलका लागि त्यस्ता रणनीति पनि तयार गर्ने बताएका थिए ।

    यद्यपि, १२ पटकसम्म असफल भइरहेको नेपाली टोलीका लागि मालेमा हुने साफ च्याम्पियनसिपको फाइनल यात्रा सहज देखिँदैन । कोरोना भाइरसका कारण पटक–पटक स्थगित हुँदै र आयोजक राष्ट्र परिवर्तन हुँदै माल्दिभ्स पुगेको यो प्रतियोगितामा यसपाली पाँच टोली मात्रै सहाभागी हुँदैछन् ।

    पाकिस्तान र भुटान प्रतियोगितामा अनुपस्थित भएसँगै नेपाल, भारत, श्रीलंका, माल्दिभ्स, बंगलादेशमात्रै हुनेछन् । पाकिस्तानमाथि फिफाले लगाएको प्रतिबन्धका कारण प्रतियोगितामा सहभागी हुनेछैन भने भुटान सरकारले अनुमति नदिएकाले आसन्न साफ च्याम्पियनसिप पाँच टोलीमा खुम्चिएको हो ।

    पाँच टोली मात्रै हुने भएसँगै प्रतियोगिताको फर्म्याट पनि लिगकम नकआउटबाट राउन्ड रोबिन पद्दतिमा परिवर्तन भएको छ । यसको अर्थ पहिलो चरणका खेलपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् ।

    दक्षिण एसियाली फुटबलमा भारतपछि नेपाल चर्चित टोली मानिने भए पनि साफमा भने खराब नतिजाको शिकार बन्दै आएको छ । हालसम्म नेपाल फाइनलसम्म पुग्न नसक्दा प्रतियोगिताको सर्वाधिक सफल टोली निकटतम प्रतिद्वन्दी भारत हो ।

    अक्टोबर ४ मा हुने बंगलादेशविरुद्धको खेलसँगै भारतले आसन्न संस्करणको सुरुआत गर्नेछ । अक्टोबर १ देखि १६ सम्म हुने तय भएको साफ च्याम्पियनसिप पछिल्लो पटक २०१८ मा बंगलादेशमा भएको थियो । हरेक दुई वर्षमा आयोजित हुने भए पनि कोरोना भाइरसका कारण एक वर्षपछि सरेको आसन्न १३औं संस्करणमा माल्दिभ्स साविक विजेताको रूपमा सहभागी हुँदैछ ।

    बंगबंधु रंगशालामा भएको अन्तिम संस्करणको फाइनलमा भारतलाई २–१ गोलको नतिजामा पराजित गर्दै माल्दिभ्सले तीन वर्षअघि आफ्नो दोस्रो उपाधि जितेको थियो ।

    हालसम्म साफ च्याम्पियनसिप विजेताहरू

    वर्ष च्याम्पियन स्कोर उप-विजेता
    १९९३ भारत राउन्ड-रोबिन पद्दति श्रीलंका
    १९९५ श्रीलंका १-० भारत
    १९९७ भारत ५-१ माल्दिभ्स
    १९९९ भारत २-० बंगलादेश
    २००३ बंगलादेश १-१ (५-३ पेनाल्टी) माल्दिभ्स
    २००५ भारत २-० बंगलादेश
    २००८ माल्दिभ्स १-० भारत
    २००९ भारत ०-० (३-१ पेनाल्टी) माल्दिभ्स
    २०११ भारत ४-० अफगानिस्तान
    २०१३ अफगानिस्तान २-० भारत
    २०१५ भारत २-१ (अतिरिक्त समयमा) अफगानिस्तान
    २०१८ माल्दिभ्स २-१ भारत

     साफको सर्वाधिक सफल टोली

    सात पटकको च्याम्पियन भारत प्रतियोगिताको सबैभन्दा सफल टोली हो । त्यस्तै आसन्न संस्करणको आयोजक मुलुक माल्दिभ्स दोस्रो सफल टोली हो । बंगलादेश र श्रीलंकाले हालसम्म एक/एक पटक साफ च्याम्पियनसिपको उपाधि जितेका छन् भने नेपाल, पाकिस्तान र भुटान हालसम्म उपाधिविहीन छन् ।

    टोली उपाधि संख्या उपविजेता जितेको वर्ष
    भारत १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५)
    माल्दिभ्स २००८,२०१८
    बंगलादेश २००३
    अफगानिस्तान २०१३
    श्रीलंका १९९५
  • अब्दुल्लाह भन्छन्- भारतसँगको मैत्रीपूर्ण खेल साफ च्याम्पियनसिपको राम्रो तयारी

    अब्दुल्लाह भन्छन्- भारतसँगको मैत्रीपूर्ण खेल साफ च्याम्पियनसिपको राम्रो तयारी

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण खेल साफ च्याम्पियनसिपका लागि राम्रो तयारी हुने बताएका छन् ।

    अक्टोबर १ देखि माल्दिभ्समा हुने साफ च्याम्पियनसिपका लागि अहिले राष्ट्रिय टोली पोखरामा प्रशिक्षण गरिरहेको छ । सोही क्रममा प्रशिक्षक अब्दुल्लाहले अखिल नेपाल फुटबल (एन्फा) मिडियासँग कुरा गर्दै भारतविरुद्ध आगामी १७ र २० गते हुने खेल फाइदाजनक हुने बताएका हुन् ।

    साफ च्याम्पियनसिपको उद्‍घाटन खेलमा नेपाल र आयोजक माल्दिभ्स भिड्ने

    ‘भारतविरुद्धक दुई खेल साफ कपको तयारीका लागि फाइदाजनक छन्,’ उनले भने, ‘विश्वकप छनोट खेलेको टोलीमा धेरै परिवर्तन हुन सक्छ । किनभने, मैले खेलाडीहरूसँग धेरै समय बिताउने मौका पाएँ । हामीले धेरै क्लास गरेका छौं ।’

    नेपालले घरेलु मैदानमा भदौ १७ र २० गते भारतसँग खेल्दै छ । साफ च्याम्पियनसिपको उद्‍घाटन खेलमा नेपालले अक्टोबर १ मा आयोजक माल्दिभ्सको सामना गर्नेछ ।

    ‘नेपालले च्याम्पियनसिपको पहिलो खेलमा माल्दिभ्ससँग खेल्ने छ,’ प्रशिक्षक अब्दुल्लाहले भने, ‘त्यो ठूलो खेल हुनेछ । किनभने, माल्दिभ्स साविक विजेता र आयोजक राष्ट्र पनि हो ।’

    राष्ट्रिय टोलीका खेलाडीहरूलाई प्रशिक्षक एएफसी डी लाइसेन्सका लागि पनि तयार गरिरहेको उनले बताए । राष्ट्रिय टोलीका खेलाडीसँग ए लाइसेन्स हुनुपर्ने र त्यसले रिटायरमेन्टपछि फुटबल बुझ्न अझै सजिलो हुने बताए ।

  • साफ च्याम्पियनसिप फुटबल नेपालमा नहुने

    साफ च्याम्पियनसिप फुटबल नेपालमा नहुने

    काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण माल्दिभ्समा आयोजना हुने भएको छ । आगामी अक्टोबर १ देखि शुरु हुने साफसाफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने भएको हो ।

    सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव इन्द्रमान तुलाधारले जानकारी दिए ।

    १३ औं साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने पक्का भईसकेको छ भने भुटानले तीन दिनपछि निर्णय दिने जनाएको एन्फाले जानकारी दियो ।

    वर्ष दिन पछि धकेलिएको प्रतियोगिता यस अघि सेप्टेम्बर १४ देखि २५सम्म ढाकामा हुने तालिका रहेको थियो । तर आयोजक बंगलादेशले कोभिड–१९ महामारीका कारण आयोजना नगर्ने जानकारी गराएपछि आयोजकको अनिश्चित भएको थियो । अन्तत माल्दिभ्समा हुने पक्का भएको हो । बंगलादेशले कोरोना महामारीका कारण आयोजना गर्न नसक्ने जनाएपछि नेपाल र माल्दिभ्सले आयोजनाका लागि चासो देखाएका थिए ।

    साफ च्याम्पियनसिप अहिले सम्म नेपालमा दुई पटक आयोजना भएको छ । १९९७ मा पहिलो पटक र २०१३ मा नेपालले आयोजना गरेको थियो । दुबै संस्करणमा नेपाल अफगानिस्तानसँग सेमिफाइनलमा पराजित भएको छ । प्रतियोगिताका लागि नेपाली टोली बन्द प्रशिक्षणमा रहेर अभ्यास गरिरहेको छ । अभ्यासका लागि नेपाली टोली मंगलबार पोखरा प्रस्थान गर्ने तालिका छ ।

    अक्टोटर १ देखि १३ गते सम्म जारी रहने साफ च्याम्पियनसिप नेपालमा गर्ने प्रस्ताव अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले गरेको थियो ।

    बंगलादेश फुटबल महासंघले देशमा बढ्दो कोरोना भाइरस संक्रमणका कारण आयोजना नगर्ने भएपछि सदस्य देशहरूबीच २३ जुलाइमा आयोजक देशको बारेमा बैठक भएको थियो ।

    २०१३ मा नेपाल अफगानिस्तानसँग सेमिफाइनलमा पराजित भएको थियो । भारत अहिलेसम्म सातपटक उपाधि जितेर च्याम्पियनसिपको सबैभन्दा सफल देश भएको छ भने नेपाल अझै फाइनल पुग्न सकेको छैन ।