Tag: साइबर सेना

  • ‘साइबर सेना’ को नाम फेरियो, ओलीले ८ गते ‘साइबर सर्कल’ घोषणा गर्ने

    ‘साइबर सेना’ को नाम फेरियो, ओलीले ८ गते ‘साइबर सर्कल’ घोषणा गर्ने

    काठमाडौं । नेकपा (एमाले) को युवा संगठनअन्तर्गत रहने भनिएको ‘साइबर सेना’ को नाम परिवर्तन हुने भएको छ ।

    एमाले युवा नेता महेश बस्नेतले प्रस्ताव गरेको साइबर सेना सेनाको नाम परिवर्तन गरेर ‘साइबर सर्कल’ बनाइने भएको छ । बस्नेतले सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिने भएकाले नाम परिवर्तन गरिएको जानकारी दिए ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कलको ८ गते घोषणा गर्ने भएका छन् ।

    ‘जनताको मुखमा साइबर सेना भन्ने थियो,’ बस्नेतले नेपाल प्रेससँग भने, ‘यसलाई औपचारिकता दिँदा सेना शब्द राख्दा अलि द्वन्द्व, हिंसा जोड्लान । त्यही भएर साइबर सर्कल राखौं भन्ने भयो ।’

    साइबर सर्कल युवासंघ अन्तर्गत एउटा विभागका रूपमा रहने पनि बस्नेतले बताए । ‘यो युवासंघको एउटा विभागका रूपमा जान्छ,’ उनले भने, ‘युवासंघको मातहतका कमिटीमा विभागकारूपमा काम गर्छ ।’

  • कांग्रेसले बनायो साइबर सेना- विपक्षी प्रहारको प्रतिवाद गर्न ‘वार रुम’

    कांग्रेसले बनायो साइबर सेना- विपक्षी प्रहारको प्रतिवाद गर्न ‘वार रुम’

    काठमाडौं । एमालेको सिको गर्दै सत्तारुढ नेपाली कांग्रेसले पनि साइबर संगठन खडा गरेको छ । एमालेले संस्थागत मान्यता नदिए पनि साइबर सेना र आइटी आर्मी गठन भएका छन् ।

    त्यसको काउन्टरमा कांग्रेसले नेपाली कांग्रेस वाइड इन्फरमेसन नेटवर्क (एनसी वीन) गठन गरेको हो । कांग्रेसको सूचना,संचार तथा प्रचार विभागको सोमवार भर्चुअलरूपमा सम्पन्न भएको बैठकले एनसी वीन गठन गरेको हो ।

    प्रवक्ता विश्वप्रकाश शर्मा नेतृत्वको सो समितिको बैठकले प्रविधीमैत्री कांग्रेसको लागि इन्जिनियर दिपेश विष्टको संयोजकत्वमा २७ सदस्यीय एनसी वीन गठन गरेको छ । यसका संरचना सातै प्रदेशमा रहने विभागका सचिव दिनेश थापा मगरले विज्ञप्ति मार्फत जनाएका छन् ।

    एनसी वीनले तत्कालका लागि तीनै तहको आगामी निर्वाचनमा प्रविधि र आन्तरिक रणनीतिर्फत विपक्षीको प्रहारको प्रतिवाद गर्नेछ । वार रुमको संगठित अवधारणाबमोजिम पार्टीको प्रचार र विपक्षीमाथि प्रहार हुने उनले बताएका छन् ।

    दीर्घकालीन रूपमा भने यसले पार्टीको विभिन्न तहलाई प्रविधि मार्फत सहज बनाउँदै सामाजिक संजालबाट प्रचार गर्नेछ ।

     

  • गोकुल बास्कोटा भन्छन्- जनतामा विश्वास नहुनेले हाे साइबर सेना बनाउने

    गोकुल बास्कोटा भन्छन्- जनतामा विश्वास नहुनेले हाे साइबर सेना बनाउने

    काठमाडौं । सत्तारुढ नेकपाका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले केपी ओली नेतृत्वको नेकपालाई साइबर सेनाको जरुरत नभएको र त्यसरी संगठित साइबर वारियर बनाउने कुरा राजनीतिक दिवालीयापनमात्र हुने बताएका छन् ।

    बास्कोटाले साइबर वारियरहरु खडा गरेको विपक्षीहरुको आरोप र मिडियामा प्रश्न उठाइएपछि सामाजिक संजालबाटै ओली नेतृत्वको नेकपा साइबर सेनाको टुकडीमा होइन सम्पूर्ण जनताको विवकमाथि भर पर्ने दावी गरे ।

    उनले भनेका छन्- ‘म राज्यको सेनामाथि विश्वास गर्छु, अरु कुनै नाम वा प्रकारको सेनामाथि होइन । सामाजिक सञ्जाल चलाउने स्वतन्त्रता सबैलाई छ । कसले कसलाई समर्थन गर्छ वा लेख्छ व्यक्तिको स्वविवेक र जवाफदेहीताको कुरा हो ।’

    नेपालप्रेससँग कुरा गर्दै बास्कोटाले जसलाई जनतामाथि विश्वास छैन उसलेमात्र विभिन्न प्रकारका सेना गठन गर्ने भन्दै ओली नेतृत्वको नेकपाले राज्यको सेना बाहेक अरुको उपादेयता कहिल्यै नदेख्ने बताए ।

    बास्कोटाले भने- ‘मलाई विभिन्न मिडियाले पनि सोधे त्यसैले प्रष्ट पार्न बाध्य भएको हुँ । खुला समाजमा सानो कोठाभित्रको टुकडीमा भर परेर षडयन्त्रका पासा फाल्ने कुरामा विश्वास छैन । जसले साइबर सेना गठन गर्छौं भन्छ त्यो राजनीतिक दिवालीयापन हो ।’

    आफू राजनीतिक मान्छे भएकाले सेनामा विश्वास नरहेको भन्दै बास्कोटाले खुला समाजमा हरेक जनताले विश्लेषण गर्ने र मत प्रकट गर्ने क्षमता राख्ने बताए । ओली नेतृत्वको नेकपा ३ करोड जनताको विवेकमा विश्वास गर्ने भएकाले कुनै प्रकारका फोर्स आवश्यक नरहेको उनको भनाइ छ ।