Tag: सहयोग

  • हङकङ नेपाली महासंघद्धारा तमु धिंलाई चार वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

    हङकङ नेपाली महासंघद्धारा तमु धिंलाई चार वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

    पोखरा । हङकङ नेपाली महासंघद्धारा आइतवार तमु धिं नेपाललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । कोरोनाको कहरको अवस्थामा कास्कीका स्वास्थ्य केन्द्र र अस्पतालहरुलाई वितरणका लागि महासंघका नेपाल प्रतिनीधि आकास उप्रेतीले तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई एक कार्यक्रमका बिच अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।

    तमु धिं नेपालकी आजीवन सदस्य समेत रहेकी अभियानका संयोजक हङकङ नेपाली महासंघकी निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार, रिता गुरुङका अनुसार कास्कीको ४ मध्ये २ वटा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल(गण्डकी)क्षेत्रीय अस्पताल, १ वटा पोखरा ३० मोहरियास्थित संक्रामक तथा सरुवा रोग अस्पताल र १ वटा पोखरा १६ अर्मलास्थित अर्मला स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने अध्यक्ष गुरुङले बताए।

    कोरोनाभाइरस (कोभिड–१९) महामारीको बिषम परिस्थितीमा मातृभूमि नेपाललाई सहयोग गर्ने उद्देश्यले हङकङ नेपाली महासंघले शुरु गरेको ‘हेल्प नेपाल–फाईट कोभिड–१९ अभियान’ अन्तर्गत २०० वटा अक्सिजन कन्सन्ट्रेटरहरु सहयोग वितरण भइरहेको छ।

    रिता गुरुङको संयोजकत्वमा दातृ संस्था सोअर्स एक्सनको बिशेष सहयोगमा नेपालको ७ वटा प्रदेशमा रहेका ७७ जिल्लाका नेपाल सरकारद्वारा तोकिएको प्राथमिक स्वास्थ्य केन्द्र तथा जिल्ला अस्पतालमा १० लिटर प्रति मिनेट क्षमताको २०० वटा अक्सिजन कन्सन्ट्रेटरहरु निःशुल्क वितरण हस्तान्तरण दोश्रो चरणमा जारी छ।

    वितरणको पहिलो चरण अन्तर्गत नेपालस्थित हङकङ नेपाली महासंघका प्रतिनिधिहरु मार्फत् १०० वटा अक्सिजन कन्सन्ट्रेटरहरु प्रदेश नम्बर ५, ६ र ७ मा वितरण हस्तान्तरण कार्य सम्पन्न भईसकेको छ । दोश्रो चरण अन्तर्गतको थप १०० वटा अक्सिजन कन्सन्ट्रेटरहरु पनि प्रदेश नंम्बर १, २, ३ र ४ मा वितरण हस्तान्तरण अन्तर्गत साउन २३ गते शनिवार तनहुँ र लमजुङ जिल्ला र साउन २४ गते आइतवार कास्की, म्याग्दी, बाग्लुङ लगायतका जिल्लाहरुमा वितरण अन्तर्गत कास्कीका लागि ४ वटा अक्सिजन कन्सन्ट्रेटर वितरण संयोजनका लागि तमु धिं नेपाललाई हङकङ नेपाली महासंघका नेपाल प्रतिनीधि उप्रेतीसहितको टिमले अध्यक्ष गुरुङलाई हस्तान्तरण गरेका हुन् ।

    आकास उप्रेतीले नेपालका ७७ वटै जिल्लामा २, २ वटाको दरले कन्सन्ट्रेटर वितरण गर्दै आएकोमा आवाश्यकताको आधारमा कास्कीलाई ४ वटा सहयोग गरिएको बताए। महासंघले ‘हेल्प नेपाल–फाईट कोभिड–१९ अभियान’अन्तर्गत हङकङमा विभिन्न चरणमा धेरै सहयोग गरिदै आएको र मातृभुमिप्रति महासंघले आफ्नो दायित्व महसुस गरी सहयोग गरेको बताए। कार्यक्रममा उप्रेतिसहित वितरण प्रतिनिधी रचना भण्डारी, गौरब मगर, जेतिन मगरको उपस्थितीरहेको थियो। कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रमको संचालन तमु धिं नेपालका सचिव जुमबहादुर गुरुङले गरेका थिए ।

  • बाढी प्रभावितलाई यूएई, कुवेत र दक्षिण कोरियामा बस्ने नेपालीको सहयोग

    बाढी प्रभावितलाई यूएई, कुवेत र दक्षिण कोरियामा बस्ने नेपालीको सहयोग

    सिन्धुपाल्चोक । सेवा समाज-यूएई, सिन्धुपाल्चोक समाज-दक्षिण कोरिया र सिन्धुपाल्चोक सेवा समाज-कुवेतले बाढी प्रभावित हेलम्बुवासीलाई राहतस्वरुप आर्थिक सहायता गरेका छन् । यसअघि नै मृतकका परिवार र शैक्षिक संस्थालाई सहयोग गरिएको स्थानीय संयोजक कुमारप्रसाद लामिछानेले जानकारी दिए ।

    पूर्ण प्रभावितलाई वडा कार्यालयबाट प्राप्त विवरणअनुसार सहयोग सुरु गरिएको कुवेत संयोजक हरिकृष्ण न्यौपानेले जानकारी दिए । वडा नं १ का २३, वडा नं २ का ४३, वडा नं ३ का २६ र वडा नं ६ का ९ परिवारलाई ५-५ हजार रुपैयाँका दरले सहयोग सुरु गरिएको हो ।

    आर्थिक सहायता प्रदान गर्न सिन्धुपाल्चोक समाज दक्षिण कोरियाबाट पाँच लाख ४० हजार रुपैयाँ, सिन्धुपाल्चोक सेवा समाज-दुवईबाट एक लाख २६ हजार र सिन्धुपाल्चोक सेवा समाज-कुवेतबाट दुई लाख ४० हजार रुपैयाँ सङ्कलन भएको यूएईका सचिव हरि दुलालले जानकारी दिए ।

    वडा नं १ का प्रभावितलाई शनिबार सहयोग हस्तान्तरण गरिएको छ भने वडा नं २ का प्रभावितलाई प्रदान गर्नका लागि वडाध्यक्ष छिरिङग्याल्बु लामालाई रकम हस्तान्तरण गरिएको छ ।

    वडा नं ३ का प्रभावितका लागि प्रदान गर्न वडासदस्य दमैसिं तामाङलाई रकम हस्तान्तरण गरिएको छ । इस्ट पोइन्ट एकेडेमीका प्रधानाध्यापक दामोदर भारतीलाई शनिबार नै सहयोग रकम हस्तान्तरण गरिएको छ ।

  • बाल आइसीयू बनाउन गैरआवासीय नेपालीको सहयोग

    बाल आइसीयू बनाउन गैरआवासीय नेपालीको सहयोग

    काठमाडौं । गैरआवासीय नेपाली संघले नारायणी अस्पताललाई २२ लाख ६० हजार रुपैया आर्थिक सहयोग गरेको छ । गैरआवासीय राष्ट्रिय समन्यव परिषद् जापानले उपलब्ध गराएको उक्त रकम अस्पतालमा बाल आइसीयू बनाउन सहयोग गरेको परिषद् जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले बताए ।

    परिषद्ले केही समयअघि नारायणी अस्पतालसँग सहकार्य गर्न अस्पताल व्यवस्थापन समितिलाई प्रस्ताव पेश गरेको थियो । हालै सोही प्रस्तावलाई अस्पताल व्यवस्थापन समितिले स्वीकृत गरेपछि बाल आइसीयू बन्ने काम अगाडि बढेको हो ।

    गैरआवासीय नेपाली संघका केन्द्रिय कोषाध्यक्ष महेश श्रेष्ठलाई संघका पूर्वअध्यक्ष भवन भट्टले उक्त रकम र अन्य स्वास्थ्य सामग्री राष्ट्रिय परिषद् जापानको कार्यलयमा हस्तारण गरेका थिए । देशमा आपत विपत पर्दा विदेशमा रहेर पनि नेपालमा निरन्तर सहयोग गर्ने गैरआवासीय नेपाली संघप्रति नारायणी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. वीरेन्द्रबहादुर प्रधानले धन्यपाद व्यक्त गरेका छन् ।

  • एनआरएनएद्वारा हेलम्बुका बाढी प्रभावितलाई सहयोग

    एनआरएनएद्वारा हेलम्बुका बाढी प्रभावितलाई सहयोग

    सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकालाई गैरआवासीय नेपाली संघ जापान तोचिगि क्षेत्रीय समितिले एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।

    सो रकम हेलम्बुको राहत तथा पुनःस्थापना कोषमा सुजन दुलाल र बिमलबहादुर बिसीले जम्मा गरेको समितिका संयोजक मन्दीप क्षेत्रीले जानकारी दिए ।

    यही असार १ को बाढीले प्रभावित भएका हेलम्बु बासीलाई यस सहयोगले केहि राहत हुने समितिको विश्वास रहेको छ । समितिले प्रकोपबाट मृत्यु भएकालाई श्रद्धाञ्जली व्यक्त गर्दै र घाइते भएकाको शीघ्र स्वास्थ लाभको कामनासमेत गरेको छ ।

    असार १ को इन्द्रावती तथा मेलम्ची खोलाको बाढीले ५ जनाको मृत्यु भएको छ भने ४०० भन्दा धेरै घर परिवार विस्थापित भएका छन् ।

  • बाढीपहिरो प्रभावितलाई अमेरिकामा बस्ने नेपालीद्वारा सहयोग

    बाढीपहिरो प्रभावितलाई अमेरिकामा बस्ने नेपालीद्वारा सहयोग

    सिन्धुपाल्चोक । मेलम्ची-इन्द्रावती बाढी प्रभावितलाई अमेरिकामा बसोवास गर्ने नेपालीले आर्थिक सहयोग जुटाएका छन् । थाङ्पालकोटका दिलबहादुर श्रेष्ठ र मेलम्चीका रामकृष्ण श्रेष्ठको संयोजनमा त्यहाँ रहेका ३५ जनाबाट पाँच लाख ७७ हजार रुपैयाँ सङ्कलन गरिएको थियो ।

    सो रकम आज रामकृष्णकी सुपुत्री सुजता श्रेष्ठ सहित दिनेश श्रेष्ठ र प्रकाश अधिकारीले मेलाम्ची नगर प्रमुख डम्बर अर्याललाई हस्तान्तरण गरे । यस रकममध्येबाट रेडियो मेलम्चीलाई ७७ हजार रुपैयाँ प्रदान गरिएको छ । रकम बुझ्दै नगर प्रमुख अर्यालले सबैको सहयोगले मात्र बाढी प्रभावितलाई व्यवस्थापन गर्न सकिने र सहयोगका हात जारी राख्न आह्वान गरे ।

    रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले यस किसिमको सहयोगले पुनः रेडियो सञ्चालनमा मद्दत पुग्ने बताए । वाग्गमती प्रदेशसभा सदस्य इन्द्रमाया गुरुङ, मेलम्ची-११ का वडाध्यक्ष रुद्रप्रसाद दुलालको पनि सहभागिता रहेको थियो ।

  • कोरियाका नेपालीद्वारा रामेछापलाई स्वास्थ्य सामग्री सहयोग

    कोरियाका नेपालीद्वारा रामेछापलाई स्वास्थ्य सामग्री सहयोग

    काभ्रे । रामेछाप सम्पर्क समिति दक्षिण कोरियाद्वारा रामेछाप जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकालाई ६ लाख ६९ हजार ४०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

    गत शुक्रबार, शनिबार र आइतबार गरी जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकामा अक्सिजन कन्सन्ट्रेटर वा मिनी भेन्टिलेटर मध्ये एक/एक थान, ग्लुकोमिटर एक/एक थान, मास्क १०० थान, पञ्जा १०० थान र स्यानिटाइजर प्रत्येक नगरपालिका तथा गाउँपालिकाकामा पुगी वितरण गरिएको संस्थाका पूर्वअध्यक्ष तथा सहयोग अभियानका संयोजक भीम खड्काले बताए ।

    स्वास्थ्य सामग्री खरिद गर्नुअघि प्रत्येक पालिकाका अस्पताल तथा स्वास्थ्य केन्द्रसँग समन्वय गरी आवश्यक सामग्री अनुरुप खरिद गरी सहयोग गरिएको संयोजक खड्काले बताए । कोभिड नियन्त्रणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्लाको तामाकोशी सेवा समितिद्वारा सञ्चालित तामाकोशी अस्पताललाई पनि पालिकालाई दिए बराबर स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

    पछिल्लो समय जिल्लामा पनि कोरोनाको दोस्रो भेरियन्ट देखिएपछि कोरोनाका कारण अस्वस्थ हुने तथा ज्यानै गुमाउनेको संख्या बढ्न थालेको थियो । उक्त विपत्जन्य अवस्थालाई मध्यनजर गर्दै यहाँ रहेका जिल्लावासी तथा नेपालीसँग सहयोग सङ्कलन अभियान चलाइएको थियो । अभियानबाट ६ लाख ६२ हजार २८४ रुपैयाँ उठेको थियो ।

    त्यस्तै यही अभियानमा थपिने गरी नेपालमा ३५ हजार ५३४ रुपैयाँ सङ्कलन भएको थियो । संकलित जम्मा रकम मध्येबाट ती सामग्री खरिद गरिएको हो ।यस कार्यका लागि विशेषतः रामेछाप सम्पर्क समितिका तर्फबाट दक्षिण कोरियामा रहेका नेपालीमाझ एक महिनासम्म सहयोग सङ्कलन अभियान चलाइएको थियो ।
    रासस

  • विश्व बैंकको सहयोगमा खरिद गरिएका ९८२ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

    विश्व बैंकको सहयोगमा खरिद गरिएका ९८२ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

    काठमाडौं । कोरोना महामारीविरुद्ध स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धि गर्न विश्व बैकको सहयोगमा खरिद गरिएका १० लिटर क्षमताका ९८२ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

    नेपाल, मालद्विभ्स र श्रीलङ्काका लागि बैंकका देशीय निर्देशक फारिस हादाद जेर्भोसले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई आज राजधानीमा आयोजित एक कार्यक्रममा ती उपकरण हस्तान्तरण गरे ।

    त्यस अवसरमा उनले प्राप्त सहयोगका निम्ति बैंकप्रति कृतज्ञता व्यक्त गर्दै ती उपकरण यथाशक्य चाँडो सातवटै प्रदेशस्थित स्वास्थ्य प्रतिष्ठानहरुमा पुर्‍याइने बताए । निर्देशक जेर्भोसले अहिलेको असहज अवस्थामा विकासका साझेदारसँग मिलेर नेपाल र नेपालीलाई सघाउन बैंक प्रतिबद्ध रहेको समेत बताए ।

    बैंकको कोभिड-१९ आपत्कालीन प्रतिकार्य तथा स्वास्थ्य प्रणाली तयारी परियोजनाअन्तर्गत प्रदान गरिएको रकमबाट परियोजना सेवाका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले ती अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको हो । उक्त कार्यालयले आगामी छ देखि १५ साता भित्रमा सातवटै प्रदेशस्थित प्रदेश अस्पतालमा अक्सिजन उत्पादन गर्ने उपकरण जडान एवं सञ्चालन गरिसक्ने बैंकले जनाएको छ ।

  • आम्दा अस्पताल स्तरोन्नतिका लागि बुटवल उपमहानगरको ५० लाख सहयोग

    आम्दा अस्पताल स्तरोन्नतिका लागि बुटवल उपमहानगरको ५० लाख सहयोग

    रुपन्देही । बुटवलको आम्दा अस्पताललाई बुटवल उपमहानगरपालिकाले ५० लाख बराबरको सहयोग गरेको छ । महिला तथा बालबालबालिकाको उपचार हुने यो अस्पतालमा कोभिड संक्रमितको पनि उपचार हुन थालेको छ ।

    स्वास्थ्य विज्ञहरुले महामारीका नयाँ-नयाँ भेरिएन्ट आउनसक्ने र त्यसले जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने बताइरहेका बेलामा बुटवलले महामारीको पूर्वतयारीलाई प्राथमिकता दिएको जनाएको छ ।

    कोभिड-१९ को महामारीका नयाँ र खतरनाक लहरलाई लक्षित गर्दै जनस्वास्थ्यका क्षेत्रमा प्रभावकारी पूर्वतयारी थाल्न बुटवल उपमहानगरले पहल थालेको छ ।

    महामारीमा बालबालिका र सुत्केरीका लागि लक्षित गरेर उपचारका सबै प्रबन्ध मिलाउन तथा पूर्वतयारीलाई प्रभावकारी बनाउन सबै पक्षसँग समन्वय एवम् सहकार्य भइरहेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

    बुटवल उपमहानगरपालिका मातहत रहेको सिद्धार्थ बाल तथा महिला अस्पताललाई बाल तथा प्रसूती अस्पतालमा रुपान्तरण गर्ने गरी पहल भइरहेको र तत्कालका लागि कोभिड विशेष सेवा थप गर्न लागिएको प्रमुख सुवेदीको भनाइ छ ।

    सेवालाई विस्तार गर्दै कोभिड प्रभावित बालबालिका र सुत्केरीलाई लक्षित आधुनिक उपकरण जडित सुविधासम्पन्न उपचार केन्द्र बनाउन लागिएको अस्पतालका मेसु डा।राजेन्द्रप्रसाद बस्यालले बताए । अहिले भइरहेको सेवालाई जनशक्ति र आवश्यक उपकरणसहित थप विस्तार र व्यवस्थित बनाउन सुरु गरिएको बताए ।

    उनले उपमहानगरबाट ५० लाख बारबरको स्रोत सुनिश्चित गर्ने गरी ३० लाख प्राप्त भइसकेको र अस्पालमा निर्माणका काम पनि अगाडि बढिरहेको जानकारी दिए । अस्तालमा विशेष कक्ष निर्माण गरेर आवश्यक बेड र उपकरण थप गर्न लागिएको छ ।

  • कोशी अस्पताललाई जापानमा रहेका पूर्वेली नेपालीको सहयोग

    कोशी अस्पताललाई जापानमा रहेका पूर्वेली नेपालीको सहयोग

    काठमाडौं । पूर्वी नेपाल घर भई जापानमा रहेकाहरूले विराटनगरको कोशी अस्पताललाई पीपीई सहयोग गरेका छन् ।

    विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीमार्फत ५० थान पीपीई सहयोग गरिएको हो । मेयर पराजुलीले अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष साजेन मल्ल र मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासलाई ती सामग्री हस्तान्तरण गरे ।

    विपदको समयमा प्रवासमा रहेर पनि आफ्नो जन्मभूमि सम्झिने सहयोगी हातलाई मेयर पराजुलीले धन्यवाद दिएका छन् ।

    यसैगरी मेची अस्पतालमा समेत कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने सामग्री सहयोग गर्ने तयारी भइरहेको पुर्वेली सेवा समाजका संयोजक भूषण कोइरालाले जानकारी दिए ।

  • आइएमई फाउन्डेशनद्वारा तीन करोडको स्वास्थ्य उपकरण सहयोग

    आइएमई फाउन्डेशनद्वारा तीन करोडको स्वास्थ्य उपकरण सहयोग

    काठमाडौं । आइएमई फाउन्डेशनले कोभिड-१९ को रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण सरकारलाई प्रदान गरेको छ ।

    आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री हृदयेश त्रिपाठीलाई संयुक्तरुपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका छन् ।

    फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल पोखरा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, सेती प्रादेशिक अस्पताल, धनगढी र निजामती कर्मचारी अस्पताल (सिभिल) काठमाडौंलाई ८० थान अक्सिजन कन्सन्ट्रेटर (हरेकलाई २० थान) सहयोग गरेको हो ।

    त्यसैगरी, फाउन्डेसनले समुदायद्वारा सञ्चालित आइशोलेसन सेन्टरलाई १५ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

    यसका अतिरिक्त फाउन्डेसनले शुक्रराज सरुवा रोग अस्पताल टेकुमा करिब एक करोड २८ लाख रुपैयाँ बराबरको अक्सिजन प्लान्ट स्थापनाको लागि पनि आवश्यक प्रक्रिया शुरु गरिसकेको छ ।

    यस अघि फाउन्डेसनले वैदेशिक रोजगारीमा रहँदा देहावासन भएका नेपालीको घरपरिवारहरूको सहयोगार्थ ‘भरोसा कोष’ को स्थापना गरी करिव एक सय प्रभावित घरपरिवारलाई प्रतिव्यक्ति ५८ हजार रुपैयाँका दरले झण्डै ६० लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराएको छ ।

    फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकूदलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र नाफारहित संस्था भएको सो समूहले जनाएको छ ।

  • कोरोना नियन्त्रणका लागि प्रदेशहरुलाई निफ्राको ४९ लाख रुपैयाँ सहयोग

    कोरोना नियन्त्रणका लागि प्रदेशहरुलाई निफ्राको ४९ लाख रुपैयाँ सहयोग

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकमा फैलिरहेको कोभिड १९ को दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेश अस्पताल तथा आइसोलेसन केन्द्रहरुलाई आर्थिक सहयोग गरेको छ ।

    बैंकले सातै प्रदेशका प्रति अस्पताल र आइसोलेसन केन्द्रलाई ७ लाखका दरले कुल ४९ लाख रुपैंया सहयोग दिएको हो ।

    उल्लेखित सहयोग रकम प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, वागमती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपलिका र प्रदेश ७ मा महाकाली अस्पताललाई प्रदान गरिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले जनाएको छ ।

  • वागमती सरकारलाई कोभिडविरुद्ध लड्न पौने दुई करोडका स्वास्थ्य सामग्री सहयोग

    वागमती सरकारलाई कोभिडविरुद्ध लड्न पौने दुई करोडका स्वास्थ्य सामग्री सहयोग

    हेटौंडा । वागमती प्रदेश सरकारलाई ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

    संस्थाले कोभिड-१९ को उपचार तथा व्यवस्थापनमा सहयोग हुने करिब १ करोड ७० लाख रुपैयाँ बराबरका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

    संस्थाले प्रदेश सरकारलाई कोभिड उपचार तथा व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ एक करोड ७० लाख रुयैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

    शनिवार प्रदेशको सामाजिक विकास मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर स्वास्थ्य सामग्री प्रदेशका मुख्यमन्त्री, डोरमणि पौडेललाई हस्तान्तरण गरेको हो ।

    संस्थाले अक्सिजन कन्सेन्टेटर, हाई फ्रिक्वेन्सीको मोबाइल एक्सरे, पीपीई, मास्कलगायतका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको मुख्यमन्त्री पौडेलका प्रेस सम्योजक प्रकाश दाहालले जानकारी दिए ।

    संस्थाले अक्सिजन कन्सन्ट्रेटर र १८ थान, हाई फ्रिक्वेन्सीको मोबाइल एक्सरे २ थान, पल्स अक्सो मिटर ६० थान, सिरिन्ज पम्प, ईन्फेसन पम्प ५/५ थान, मास्क ६ हजार थान, सर्किजल मास्क एक लाख थान, फेससिल्ड २७०० थान, पीपीई ११०० थान, मोनीटर ३० थान, इलेक्ट्रो कार्डियोग्राम १० थान स्वास्थ्य सामग्री मुख्यमन्त्री पौडेललाई हस्तान्तरण गरेको प्रेस सम्योजक प्रकाश दाहालले जानकारी दिए ।

    स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतलगायतको सहभागिता थियो ।

    जर्मनीको अन्तर्राष्ट्रिय संस्था ब्याक टु लाइफले नेपालमा सन् २००९ देखि शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ ।

  • नेपालमा सहयोग जुटाउन एनआरएनए अमेरिकासँग माग

    नेपालमा सहयोग जुटाउन एनआरएनए अमेरिकासँग माग

    काठमाडौं । अमेरिकाको विभिन्न शहरमा बस्ने नेपालीले नेपालमा नयाँ भेरिएन्टसहितको कोरोनाको दोस्रो लहर तीव्र भइरहेका बेला गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिका शाखाको अधिवेशन स्थगित गर्न माग गरेका छन् ।

    एनआरएनए अमेरिकाको सदस्यसमेत रहेका गैर आवासीय नेपालीले नेपालमा तीव्र संक्रमण फैलिएका बेला अधिवेशन रोकेर नेपालमा कोरोना पीडितका लागि स्वास्थ्य सामग्री एवं राहत जुटाउन सहयोग गर्न नेतृत्वसँग माग गरेका हुन् ।

    अर्को साता हुने अधिवेशनका लागि प्रचारप्रसार तीव्र भएको भन्दै विज्ञप्तिमा प्रचारप्रसारको खर्च नेपालमा स्वास्थ्य सामग्री जुटाउन खर्च गर्नुपर्नेमा जोड दिइएको क्यालिफोर्नियामा रहेका नेपाली युवा महेन्द्र सुवेदीले जानकारी दिए।

    नेपालमा महामारी तीव्र रुपमा फैलिएका बेला अमेरिकामामात्र नभई संसारका जुनसुकै कुनामा रहेका नेपाली र तिनका संस्था सहयोग जुटाएर नेपालीलाई बचाउने अभियानमा लाग्नुपर्नेमा जोड दिइएको उनले बताए। एनआरएनए राजनीतिक नभई सामाजिक संस्था भएकाले अहिलेको विषम परिस्थितिमा अधिवेशन गर्नुपर्ने आवश्यकता नरहेको विज्ञप्तिमा उल्लेख छ । मानवीय संवेदनशीलतालाई ध्यान दिँदै यतिबेला सबैले सहयोग जुटाउन सक्दो लाग्नुपर्नेमा विश्वभर फैलिएका नेपालीसमक्ष आह्वान गरिएको छ ।

    हाललाई अधिवेशन स्थगित गरी पछि उपयुक्त समयमा गर्न एनआरएनए अमेरिकाका १० जना साधारण सदस्यले जोडदार माग गरेका हुन्। विज्ञप्ति प्रकाशित गर्नेमा सुवेदी, अशोक खड्का, विजय खड्का, रविन्द्रबहादुर सिंह, अर्जुन लामा, दिनेश लामा, दिपेन्द्र तिमल्सिना, राजेश शर्मा, आदित्य खड्का र सन्देश खड्का छन् ।
    –रासस

  • कोरोनाविरुद्ध लड्न भारतलाई अहिलेसम्म ४० देशको सहयोग

    कोरोनाविरुद्ध लड्न भारतलाई अहिलेसम्म ४० देशको सहयोग

    दिल्ली । कोरोनाभाइरसको महामारी विरुद्ध लड्न भारतलाई अहिलेसम्म ४० देशले विभिन्न प्रकारका सहयोग गरेका छन् ।

    महामारीबाट अति नराम्रोसँग प्रभावित भएको भारतलाई ती देशहरुले कोरोनाभाइरसको महामारीविरुद्ध जुध्न आवश्यक पर्ने सामग्रीहरु, उपकरण तथा औषधी पठाएका हुन् ।

    ती सहयोग सामग्रीहरु भारतीय रेडक्रस सोसाइटीमार्फत् भारत सरकारलाई उपलब्ध गराइएको भारतको विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।

    भारतमा अहिले फैलिएको दोस्रो चरणको महामारीका कारण दैनिक हजारौको मृत्यु हुने गरेको छ भने लाखौँ संक्रमित हुने गरेका छन् ।

    भारतमा विहीबार मात्रै दुई लाख ७६ हजार ११० जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या दुई करोड ५७ लाख ७२ हजार ४४० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सहयोग गर्ने देशहरुमा अमेरिका, रुस, बेलायत, फ्रान्स, जर्मनी, जापानलगायत रहेको पनि विदेश मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

  • अफगानिस्तानमा रहेका नेपालीबाट ११ लाख सहयोग संकलन

    अफगानिस्तानमा रहेका नेपालीबाट ११ लाख सहयोग संकलन

    काठमाडौं । नेपालमा द्रुत गतिमा फैलिरहेको कोभिड-१९ बाट संक्रमित व्यक्तिहरू तथा उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका लागि अक्सिजन कन्सन्ट्रेटर तथा पीपीई लगायतका स्वास्थ्य उपकरणहरू उपलब्ध गराउन अफगानिस्तान तथा इराकमा कार्यरत नेपालीहरूले करीब ११ लाख ५५ हजार रुपैयाँ सहयोग राशी संकलन गरी राष्ट्रिय आविस्कार केन्द्रलाई हस्तान्तरण गरेका छन्।

    अफगानिस्तान तथा इराकका लागि संयुक्त राष्ट्र संघीय सहायता मिसन, अफगानिस्तानमा रहेका संयुक्त राष्ट्रसंघ अन्र्तरगतका विभिन्न स्थाइ निकायहरू, एसियालि विकास बैंकको लगानिमा संचालित परियोजना, अन्तर्राष्ट्रिय रेडक्रस लगायतका बिभिन्न संघ-संस्थाहरू मार्फत त्यहां कार्यरत ३२ जना नेपालीहरूले सो रकम संकलन गरेका हुन् ।

    त्यसरी संकलित रकम हाल काठमाण्डौंमा रही संयुक्त राष्ट्र संघको इराक तथा अफगानिस्तानमा कार्यरत धर्मानन्द जोशी, कुलेन्द्र नाथ सुवेदी लगायतले राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महाविर पुनलाई आज हस्तान्तरण गरेका छन्।

  • महामारी नियन्त्रणमा जर्मनीले नेपाललाई सहयोग गर्ने

    महामारी नियन्त्रणमा जर्मनीले नेपाललाई सहयोग गर्ने

    नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड स्याफरले कोरोना महामारी नियन्त्रणका लागि जर्मनी र युरोपेली संघले नेपाललाई निरन्तर सहयोग गर्ने बताएका छन् ।

    एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले जर्मनेली दूतावास र गोथे जेन्ट्रम काठमाडौंसँगको सहकार्यमा आज भर्चुअलरुपमा आयोजित अन्तरसञ्जाल सम्मेलनमा उनले भने, ‘म भविष्यमा नेपालमा सीपयुक्त इन्जिनीयरहरू देख्न इच्छुक छु । अन्तर्राष्ट्रिय अवसरका लागि हामी विद्यार्थीलाई जर्मनीका प्रतिस्पर्धी इन्जिनीयरिङ कलेजसँग सहकार्य गरेर अघि बढ्न उत्प्रेरित गर्नेछौं ।’

    गोथे जेन्ट्रम काठमाडौंका निर्देशक सेबस्टेन वैस्टेकले गोथे नेतृत्वदायी भाषा केन्द्र रहेको र विश्वका २ सयभन्दा बढी संस्था रहेको सञ्जालको पनि यो एउटा हिस्सा रहेको बताए । गोथे जेन्ट्रम काठमाडौंका भाषा विभागका विभागीय प्रमुख बेन्जामिन म्याट्रेन र संस्थाका परीक्षा विभागका विभागीय प्रमुख विनम कर्माचार्यले जर्मनीको संस्कृति, इतिहास, ऐतिहासिक स्थल, उत्कृष्ट चाडपर्व, पृथक सभ्यता तथा त्यहाँको समृद्ध भाषाका बारेमा प्रस्तुति दिएका थिए ।

    एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टका अध्यक्ष रमेशकुमार सिलवालले जर्मन भाषाको महत्त्वबारे उल्लेख गर्दै यस किसिमका सम्मेलनले इच्छुक विद्यार्थीलाई मात्रै नभएर सम्पूर्ण सहभागीलाई लाभान्वित गराउने बताए ।

    जर्मनीको म्युनिचस्थित टेक्निकल विश्वविद्यालयबाट इन्जिनीयरिङ विषयमा स्नातकोत्तर पूरा गरेका सोजन प्रजापतिले उक्त सम्मेलनको सहजीकरण गरेका थिए । एड्भान्स्ड कलेजका कार्यकारी निर्देशक कपिल रेग्मीले विश्वस्तरका शिक्षा, कला र विपद् व्यवस्थापनबारे यस प्रकारको अनुभव आदान प्रदान कार्यक्रमलाई निरन्तरता दिने बताए ।

  • न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्रीद्वारा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल

    न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्रीद्वारा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल

    काठमाडौं । न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले कोभिड-१९ सँग जुधिरहेको नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेकी छिन् ।

    न्युजिल्यान्डकी ३७ औ प्रधानमन्त्री क्लार्कले नेपालमा दैनिक संक्रमण दर ९ हजार पुगेको र ४० प्रतिशत पोजेटिभ देखिएकोले नेपाललाई अत्यन्तै धेरै सहयोगको आवश्यकता रहेकोे क्लार्कले ट्विट गरेकी छिन् । ‘नेपाल कमजोर क्षमताको स्वास्थ प्रणाली भएको अतिकम विकसित देश हो’, क्लार्कले लेखेकी छिन, ‘नेपाललाई खोप आपूर्तिसहितको अत्यन्तै धेरै सहयोगको आवश्यकता छ।’

    सन् १९९९ देखि २००८ सम्म लिबरल पार्टीको तर्फबाट न्युजिल्यान्डको प्रधानमन्त्री भएकी क्लार्क संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)को उच्च पदमा समेत पुगेकी थिइन। उनी सन २००९ देखि २०१७ सम्म यूएनडीपीको प्रशासक भएकी थिइन।

  • सभापति देउवाद्वारा अन्तर्राष्ट्रिय निकायलाई सहयोगका लागि अपिल

    सभापति देउवाद्वारा अन्तर्राष्ट्रिय निकायलाई सहयोगका लागि अपिल

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर कोभिड-१९ को संक्रमणले उग्र रूप लिइरहेको विषम परिस्थितिमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरुलाई आवश्यक सहयोगका लागि अपिल गरेका छन्।

    साथै उनले सरकारसँग भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरी सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सिजन, आइसीयू शय्या र खोपलगायतका औषधिको व्यवस्था गर्न माग गरेका छन् ।

    सभापति देउवाले आज वक्तव्यमार्फत कोभिड-१९ को संक्रमण तीव्र भई देशभरका अस्पतालहरुमा अक्सिजन, भेन्टिलेटर सहितका आइसीयू शय्या र औषधिको अभाव भएको उल्लेख गर्दै सरकार यस विषयमा गम्भीर र जिम्मेवार नदेखिएको आरोप लगाएका छन् ।

    उनले देशमा व्याप्त यस विषम घडीमा सबैमा स्वास्थ्यका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अनुरोध गर्दै देशभरिका कांग्रेस सदस्य तथा शुभेच्छुकहरुलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै सङ्कटमा परेकालाई सक्दो सहयोग गर्न अपिलसमेत गरेका छन् ।

  • स्वास्थ्य उपकरणमा सहयोग गर्न जर्मनीका एनजीओ तयार

    स्वास्थ्य उपकरणमा सहयोग गर्न जर्मनीका एनजीओ तयार

    नेपालमा कोरोनाको दोस्रो भेरिएन्टको संक्रमणबाट स्वास्थ्यसम्बन्धी उपकरणको अभावका कारण जनजीवन नराम्ररी प्रभावित भएपछि नेपाल सरकारको आह्वानअनुसार जर्मनीमा कार्यरत विभिन्न गैरसरकारी संस्था(एनजिओ)हरुले आवश्यक सहयोग गर्ने तत्परता देखाएका छन् ।

    जर्मन­ नेपाल मैत्री सङ्घको संयोजनमा एनजीओ फोरम नेपालले आज आयोजना गरेको वेबिनारमा सहभागी झण्डै ६० वटा गैरसरकारी संस्थाले मानवीय सहयोगअन्तर्गत नेपाललाई आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरु उपलब्ध गराउने निर्णय गरेका हुन् ।

    कार्यक्रममा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खडकाले कोरोनाको बढ्दो संक्रमणका कारण अस्पताललगायत स्वास्थ्य संस्थाहरुमा आवश्यक पीसीआर परीक्षण सामग्री, एन्टिजेन सामग्री, भ्यान्टिलेटर, आइसीयू शय्या, पोर्टेबल डिजिटल एक्स रे, थर्मल गन, अक्सिनेटर, पीपीईलगायतका उपकरण र सामग्रीहरुको अभाव हुँदा उपचारमा समस्या आएको बताए ।

    उनले यस्तो विपद्को अवस्थामा आवश्यक सहयोग गरिदिन नेपाल सरकारले सबै मित्र राष्ट्र तथा दातृसंस्थाहरुसँग आग्रह गरेको उल्लेख गर्दै जर्मनीमा कार्यरत संस्थाहरुबाट पनि विगतमा जस्तै यसपटक पनि सहयोग रहने विश्वास व्यक्त गरे । राजदूत खडकाले जर्मनीबाट उपलब्ध हुने सहयोगलाई नेपाल सरकारले विमानस्थलमा आवश्यक समन्वय गर्ने र सम्बन्धित निकायलाई उपलब्ध गराइनेछ भने ।

    सो अवसरमा नेपालका लागि जर्मनीका राजदूत रोल्याण्ड सेफरले नेपालमा हाल कोरोनाको संक्रमण व्यापकरुपमा फैलिएकाले अक्सिजनलगायत अन्य स्वास्थ्य सामग्रीको अभावका कारण धेरैले ज्यान गुमाउनु परेको अवस्थाका बारेमा अवगत गराएका थिए।

    उनले जर्मनी नेपालको एक असल मित्र राष्ट्र भएकाले यस विषम समयमा पनि विगतमा जस्तै गैरसरकारी संस्थाहरुले एकमुष्ट सहयोग उपलब्ध गराउन आवश्यक रहेको बताए । राजदूत सेफरले नेपालको अर्थतन्त्रमा कुनै असर नहुने गरी हप्तामा एक÷दुईवटा उडानको प्रबन्ध मलाउन आग्रह गरे ।

    मैत्री सङ्घका अध्यक्ष तथा जर्मनीका लागि नेपाली महावाणिज्यदूत रामप्रताप थापाले नेपालमा उत्पन्न स्वास्थ्य समस्याका कारण सिर्जित विकराल अवस्थामा नेपालमा सहयोग गर्दै आएका जर्मनीका गैससहरुबीच समन्वय गरी आवश्यक सहयोग जुटाउन वेबिनार आयोजना गरिएको जानकारी दिए ।

    गैरआवासीय नेपाली सङ्घ(एनआरएन) फाउण्डेशनका अध्यक्ष जीवा लामिछानेले एनआरएनले विश्वभरि रहेका आफ्ना च्याप्टरहरुमार्फत सहयोगको आह्वान गरिसकिएको र चीन, ओमानलगायत केही देशबाट स्वास्थ्य उपकरणहरु ल्याइएको उल्लेख गरे ।

    कार्यक्रममा सहभागी विभिन्न गैससका प्रतिनिधिहरुले कोरोनाका बिरामीको उपचारमा आवश्यक सामग्रीहरु एकमुष्ठरुपमा उपलब्ध गराउन आफूहरु तयार रहेको र ती सामग्री पठाउन हवाइ उडानको प्रबन्ध मिलाउन आग्रह गरेका थिए । कतिपयले यसअघि नै व्यक्तिगत र संस्थागत रुपमा पनि नेपालका केही स्वास्थ्य संस्थाहरुलाई सहयोग गरिसकेको जानकारी दिएका थिए ।

  • नेपाललाई सहयोग गर्न बेलायतलाई लन्डन डायस्पोराको आग्रह

    नेपाललाई सहयोग गर्न बेलायतलाई लन्डन डायस्पोराको आग्रह

    लन्डन । नेपालमा कोरोनाभाइरस संक्रमणको अवस्था भयावह बनेको भन्दै सहयोगका लागि बेलायतसँग आग्रह गरिएको छ ।

    लन्डन बरो अफ बार्टेनका उपमेयर काउन्सिलर लक्ष्य गुरुङले डा. म्याथ्यू अफोर्डलाई एक पत्र लेख्दै ब्रिटिस सरकारसँग सहयोगका लागि आग्रह गरेका छन् ।

    गुरुङले भारतमा बढिरहेको नयाँ भेरिएन्टले नेपाललाई पनि प्रभावित गर्ने र नेपालमा बिरामीले भरिएका अस्पताल र अक्सिजन अभावले मृत्यु भएको परिस्थितीबारे ध्यानाकर्षण पनि गराएका छन् ।

    बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले संक्रमण बढेपछि भारतलाई सहयोग पठाएको र कठिन अवस्थामा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको गुरुङको पत्रमा उल्लेख गरिएको छ ।

    कोभिड संक्रमण तीव्ररुपमा फैलिएसँगै बेलायत सरकारले नेपाल र भारतलाई रेड लिस्टमा राखेको स्मरण गराउँदै उनले नेपालले कोरोना महामारी नियन्त्रण गर्न अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध र निषेधाज्ञा लगाएको पनि अवगत गराएका छन् ।

     

     

  • नेता पौडेलद्वारा कोरोना उपचारमा अन्तर्राष्ट्रिय सहयोगको अपिल

    नेता पौडेलद्वारा कोरोना उपचारमा अन्तर्राष्ट्रिय सहयोगको अपिल

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना संक्रमणबाट नेपाललाई जोगाउन मित्र राष्ट्र, विदेशस्थित नेपाली र नेपालमा रहेका विदेशी नियोग, दातृ निकाय, गैरआवासीय नेपाली संघलगायतसँग आग्रह गरेका छन् ।

    उनले आज सामाजिक सञ्जालमार्फत नेपालमा अहिले देखिएको कोरोनाको संकट देशले आफ्नै बलबुताले पार पाउने अवस्था नदेखिएको जनाउँदै जीवन रक्षाका लागि मानवीयताका आधारमा नेपालीलाई सहयोग गर्न आग्रह गरेका छन् ।

    नेता पौडेलले अक्सिजन र अस्पतालका अभावमा उपचार नै नपाएर दिनहुँ ज्यान गुमाउनेको संख्या सयौँ पुग्न लागेकामा चिन्ता पनि व्यक्त गरे ।

  • नेपालमा सघाउन जापानमा कोभिड-१९ प्रतिकार्य समिति

    नेपालमा सघाउन जापानमा कोभिड-१९ प्रतिकार्य समिति

    जापानस्थित नेपाली दूतावासले नेपालमा कोभिड-१९ को नियन्त्रण र रोकथाममा सघाउन पहल शुरु गरेको छ । दूतावासले ‘मातृभूमिका लागि कोभिड-१९ संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ गठन गरी पहल लिएको हो ।

    जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको अध्यक्षतामा यही वैशाख २६ मा सम्पन्न सरोकार भएकाको बैठकले नेपालमा सहयोग गर्न गैह्रआवासीय नेपाली सङ्घ (एनआरएन) को सहभागितामा उक्त समिति गठन गरेको हो । समितिको संयोजकमा भवन भट्ट, उपसंयोजकमा महेश श्रेष्ठ (कोषाध्यक्ष, एनआरएनए-आइसीसी), सदस्यमा गोविन्द श्रेष्ठ रोविन्द (एशिया प्यासिफिक संयोजक), पारसमणि पोख्रेल (एशिया प्यासिफिक उपसंयोजक) र देवीलाल भण्डारी (अध्यक्ष, एनआरएनए, जापान ) र एनआरएनए जापानका महासचिव सदस्यसचिवमा चयन भएका छन् ।

    समितिका अन्य सदस्यमा जापानस्थित एनआरएनए आइसीसीका निवर्तमान तथा पुर्व पदाधिकारी तथा सदस्य, एनसीसी जापानका पूर्वाध्यक्ष, नेपाल पत्रकार महासङ्घको शाखा, यहाँस्थित विभिन्न राजनैतिक दलका भातृ संस्थाका प्रमुख र संघ संस्था प्रमुखहरु सदस्य रहनेछन् ।

    समितिले जापानवासी सम्पूर्ण नेपालीलाई सक्दो सहयोग गरी नेपाललाई सहयोग पठाउने अभियानमा सहयोगी बन्न आव्हान गरेको छ । संयोजक भट्टले आफÞना तर्फÞबाट यस अभियानमा १० लाख जापनी येन सहयोग गर्ने घोषणा गरे । एनआरएनए, जापानले तीन लाख येन, एनबिए जापानले एक लाख, मोना जापानले ५० हजार येन र दोलखा समाज, जापानले ५० हजार येन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

  • हुन्डाईद्वारा गण्डकी प्रदेशलाई ५० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

    गण्डकी । प्रदेश सरकारलाई नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी हुन्डाईले आज निःशुल्क स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

    प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरलाई लक्ष्मी हुन्डाईका प्रबन्धक भीमसिंह खत्रीले कोरोना उपचारका बेला स्वास्थ्यकर्मीलाई अत्यावश्यक दुई हजार सेट पिपिईलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

    कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुन नदिन र संक्रमण रोकथाममा मद्दत पुगोस् भनेर हुन्डाई मोटर्स कम्पनी दक्षिण कोरियाको सहयोगमा ५० लाख रुपैयाँ मुल्य बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको प्रबन्धक खत्रीले जानकारी दिए ।

    हुन्डाईले गत वर्ष प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा एक करोड रुपैयाँ र ‘फिभर क्लिनिक’ स्थापनाका लागि पनि सहयोग उपलव्ध गराएको थियो ।

    कार्यक्रममा सामाजिक विकासमन्त्री पुनले सार्वजनिक तथा निजी सङ्घसंस्थाको सहयोग र सहकार्यबाट सरकारले नागरिकलाई कोरोनाबाट बचाउने कार्य गर्दै आएको जनाउँदै हुन्डाई कम्पनीले स्वास्थ्यकर्मीले प्रयोग गर्ने गरी पिपिई सेट उपलब्ध गराएकोमा आभार व्यक्त गरे ।

    गण्डकी प्रदेशमा कोरोना संक्रमण वृद्धि भएसँगै अक्सिजन सिलिन्डरको अभाव भएकाले सहयोगी संस्थाबाट सहयोगको अपेक्षा सरकारले गरेको उनले बताए ।उनले भने, ‘गण्डकी प्रदेशमा अक्सिजन प्लान्ट रहे पनि सिलिन्डरको अभाव रहेको छ, सरकारको बजेट प्रयोग गरेर खरीद गर्दा लामो प्रक्रियामा जानुपर्ने हुन्छ, त्यसैले तत्कालका लागि सहयोगी संस्थाबाट हामीले सिलिन्डर सहयोगको अपेक्षा गरेका छौँ ।’

    मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले पीपीई सेट आवश्यकताका आधारमा प्रदेशका ११ वटै जिल्लाका स्वास्थ्य संस्थामा खटिएका स्वास्थ्यकर्मीका लागि उपलब्ध गराइने जानकारी दिए । मन्त्रालयले प्राप्त स्वास्थ्य सामग्री तत्कालै जिल्लाहरुमा पुग्ने व्यवस्थाका लागि प्रदेश आपूर्ति व्यवस्थापन कार्यालयलाई हस्तान्तरण गरेको छ ।

  • कोरोनाविरुद्ध नेपाललाई सहयोग गर्न अमेरिकालाई एनआरएनको पत्र

    कोरोनाविरुद्ध नेपाललाई सहयोग गर्न अमेरिकालाई एनआरएनको पत्र

    न्यूयोर्क । गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकासहित विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठित व्यक्तिले अमेरिकी सरकारका अङ्गहरुमार्फत कोभिड-१९ को कहरले प्रभावित नेपाललाई सहयोग गर्न अनुरोध गरेका छन् ।

    एनआरएनए अमेरिकासहित एसोसीएशन अफ नेपलीज इन द अमेरिका (एएनए), नेपाली वेमन ग्लोबल नेटवर्क (एनडब्लुजिएन), अमेरिका नेपाल मेडिकल फाउन्डेशन र नेपाल राइजिङले संस्थागत रुपमा अमेरिकी राष्ट्रपति जो वाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई खुल्ला पत्रसहित अमेरिकी विदेश मन्त्रालय, अमेरिकी सिनेटको वैदेशिक सम्बन्ध समिति र दक्षिण एशिया हेर्ने सिनेटको उपसमितिलाई सहयोगका लागि अनुरोध पत्र पठाएको हो ।

    एनआरएनए अमेरिकाका तर्फबाट अध्यक्ष सुनिल साह, एएनएका तर्फबाट अध्यक्ष विजयराज भट्टराई, अमेरिका नेपाल मेडिकल फाउन्डेशनका तर्फबाट अध्यक्ष डा. भूपेश खड्का, एनडब्लु जी एनका तर्फवाट अध्यक्ष एर्टोनी अभिमा उप्रेती, नेपाल राइजिङका तर्फबाट अध्यक्ष डा. आरती मलेखुले हस्ताक्षर गरी संयुक्त अनुरोध पत्र पठाएका हुन् । संस्थाहरुका साथै यस अभियानमा नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट एच डेलीसीले पनि साथ दिँदै पत्रमा हस्ताक्षर गरेका छन् ।

    नेपालमा आवश्यक कोभिडविरुद्धको खोप उपलब्ध गराउन तथा आवश्यक अन्य स्वास्थ्य सामग्री उपलब्ध गराउन अनुरोध गरिएको छ । यसैबीच गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले गैरआवासीय नेपाली सङ्घ, अन्तररष्ट्रिय समन्वय परिषद्सँगको सहकार्यमा आइसीसीमार्फत २५ हजार अमेरिकी डलर सहयोग गरेको छ ।

    सङ्घका अध्यक्ष साहको अध्यक्षतामा बसेको कार्यसमितिको बुधबारको बैठकले २५ हजार डलर तत्काल सहयोग गर्ने तथा अवस्था हेरेर उक्त सहयोग रकमलाई ५० हजार डलरसम्म बढाउन सकिने निर्णय गरेको छ । सङ्घका महासचिव पशुपति पाण्डेका अनुसार सङ्घले गो फन्ड मी मा अकाउन्ट बनाएरसमेत आर्थिक सहयोग सङ्कलनलाई अघि बढाएको छ ।

    यसैबीच सो आर्थिक सहयोग सङ्कलन अभियानमा सङ्घका उपाध्यक्ष बुद्धिसागर सुवेदीसहितका अभियानकर्मीले १० हजार डलर सहयोग गरेका छन् । अमेरिकामा अहिले विभिन्न सङ्घसंस्थाले आर्थिक सहयोग सङ्कलन शुरु गरेका छन् ।

    एनआरएनए ग्लोबल गायन प्रतियोगिताका लागि डिजिटल अडिशनमार्फत अर्को चरणका लागि अन्तिम साठी प्रतियोगी छनोट गरिएको छ । डिजिटल अडिशनमार्फत २५० प्रतियोगी सहभागीमध्ये उत्कृष्ट प्रस्तुतिका आधारमा ६० प्रतियोगिको छनोट गरिएको हो । छनोट भएका प्रतियोगीमा दीपेश सिग्देल, खेमबहादुर बिके, निपोन लामा, सौरभ पाख्रिन तामाङ, शिवबहादुर घाताङस्वाङ, वामदेव भट्ट, भीमराज गुरुङ, अङ्किता घतानी, दीप्ति थापा, सोनाम महर्जन, कपिल पैजा पुन मगर, इभा नेपाल, जिके पूर्ण लिम्बू, कल्पना श्रीपाल, प्रजिता बाँस्तोला, राजीव थापा, मिग्मा तामाङ, निसान ढकाल, आकाश न्यौपाने र हिमन राई रहेका छन् ।

    यस्तै पारस आचार्य, प्रतीक शिवा, राधिकाकुमार गोले, आयुषा डोटेल, किशोर लम्साल, अविषेक लकान्द्री, वसन्त बिष्ट, सुमन चेम्जुङ (घनश्याम गुरुङ), नरेन्द्र मल्ल, शहर विश्व, रेसु स्याङ्दान, रुद्र सुनदास, सुरज घर्ती, शतिश थापा, पवन पौडेल, अविषेक भण्डारी, तीर्थराज निरौला, सुरज बिके, लक्ष्मण दर्जी र निशान्तकुमार विश्वकर्मा रहेका छन् ।

    यसैगरी गोविन्द गुरुङ, कविता आरबिएम, निमा दोर्जे तामाङ, रुपक दाहाल, नवराज श्रेष्ठ, सुन्दर लिम्बू, अमित बिष्ट, कृष्ण खवास, सन्देश गुरुङ, इन्दिरा शाह, समीर भट्टराई, बिबी मल्ल ठकुरी, योसिका कुँवर, आयुसा मैनाली/समृद्धि श्रेष्ठ, हर्ष भण्डारी, श्रेयस श्रेष्ठ, दीपा भट्टराई, शर्मिला दर्जी, देवकी न्यौपाने खत्री र विशाल श्रेष्ठ रहेका छन् ।

    सङ्घको मध्य पूर्व क्षेत्रीय युवा विभागले आयोजना गरेको प्रतियोगिताका विजेताले सात लाख, फस्ट रनरअपले चार लाख, सेकेन्ड रनर अपले दुई लाख, थर्ड रनर अपले एक लाख र सान्त्वनाले ५० हजार रुयैयाँ नगद प्राप्त गर्नेछन् ।

    यसैबीच अनेसासको सहकार्यमा गैरआवासीय नेपाली सङ्घले आयोजना गरेको दोस्रो पुस्ताको कविता प्रतियोगितासमेत सम्पन्न भएको छ । प्रतियोगितामा बङ्गलादेशबाट प्रतिनिधित्व गरेकी इभान्जलिना बलले प्रथम, जापानबाट प्रतिनिधित्व गरेका अभिनव गिरीले दोस्रो, पोर्चुगलबाट प्रतिनिधित्व गरेका मानस्वी खरालले तेस्रो पुरस्कार प्राप्त गरेका छन् । अङ्ग्रेजी विद्यातर्फ अमेरिकाबाट ओजस्वी पस्छेले पुरस्कार प्राप्त गरेका छन् ।

  • कोरियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई चार लाख ५० हजार सहयोग

    कोरियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई चार लाख ५० हजार सहयोग

    सोल । कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सक्रियतामा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि दक्षिण कोरियाबाट चार लाख ५२ हजार ६३० रुपैयाँ सहयोग गरिएको छ ।

    यहाँ रहेका नेपालीहरूबाट ‘एक घण्टाको कमाइ, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई’ भन्ने सहयोग अभियान सञ्चालन गरी पहिलो चरणमा सङ्कलित उक्त रकम धुर्मुस सुन्तली फाउन्डेशनलाई प्रदान गरिएको हो ।

    उक्त रकम कोरियामा रहेका १०७ नेपालीको सहभागितामा जम्मा भएको थियो । रकम फाउन्डेसनको खातामा प्राप्त भएको धुर्मुस सुन्तली फाउन्डेशनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएको छ ।

    पहिलो चरणको उक्त रकम पठाए पनि सहयोग अभियान भने निरन्तर रहने र रकम जम्मा गरी पुनः पठाउने जानकारी यहाँका अभियानकर्मीहरूले बताएका छन् । अभियानकर्मीहरूले कोरियाबासी सम्पूर्ण खेलप्रेमी दाजुभाइ तथा दिदीबहिनीमा सहयोगको अपिलसमेत गरेका छन् ।

    क्रिकेट रङ्गशाला निर्माणमा विविध अवरोधहरू देखिए पनि नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण सम्पन्न गराई छाड्ने अठोट लिएर अगाडि बढिरहेको धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्नुपर्ने कुरामा एकजुट हुन आह्वान समेत गरिएको छ ।।

  • ट्याक्सी जलेपछि अलपत्र परेका चालकलाई विद्यार्थीको आर्थिक सहयोग

    ट्याक्सी जलेपछि अलपत्र परेका चालकलाई विद्यार्थीको आर्थिक सहयोग

    काठमाडौं । प्रचण्ड-माधव नेतृत्वको नेकपाले आह्वान गरेको आम हड्तालको बिहानै ट्याक्सी जलाइएपछि अलपत्र परेका ट्याक्सी चालक कुम्भनारायण श्रेष्ठलाई एकजना विद्यार्थीले ८ हजार रूपैया आर्थिक सहयोग गर्दै उनको सहयोगका लागि बैंक खाता खोलिदिएका छन् ।

    ट्याक्सी जलेपछि चारजनाको परिवार पाल्न गाह्रो परेका कारण उनको सहयोगमा विद्यार्थी समुन्द्र तिमिल्सिनाले अभियान चलाएका हुन् ।

    ट्याक्सी जलेपछि अलपत्र परेका उनलाई सकेको सहयोग गर्न भन्दै लक्ष्मी बैंकमा खाता खोलिएको तिमिल्सिनाले बताए । उनले आफू पनि नेकपाकै शुभेच्छुक रहेको भन्दै घनश्याम भुसाल, जनार्दन शर्मा र योगेश भट्टराइजस्ता नेताहरूले यो घटनाबारे बोल्नुपर्ने बताए ।