Tag: सहयाेग

  • विपन्नलाई आत्मनिर्भर बनाउन स्थानीय सरकारको अग्रसरता

    विपन्नलाई आत्मनिर्भर बनाउन स्थानीय सरकारको अग्रसरता

    रुपन्देही । नीति तथा कार्यक्रम र बजेटमा कृषिलाई प्राथमिकतामा राखेका स्थानीय सरकारले विपन्न समुदायलाई आत्मनिर्भर बनाउन केही नयाँ कामको शुरुवात गरेका छन् ।

    बुटवल उपमहानगरपालिकाले नगरक्षेत्रका विपन्न परिवारका लागि व्यवसायिक बाख्रापालनमा आकर्षित गर्न निःशुल्क बाख्रा वितरण गरेको छ । निःशुल्क बाख्रा र पालनका लागि खोर बनाउनसमेत रकम पाएपछि आफूलाई नकै खुशी लागेको बुटवल १३ का किसान मिलन थापाले बताए ।

    लगानी नहुँदा आफ्नो दैनिकी चलाउनका लागि अन्य काम गर्न नसकेको समयमा पाएको सहयोगले अब व्यवसयिक रुपमा बाख्रा पालन गर्ने हौसला मिलेको उनले बताए ।

    टोलटोलमा टोली खटाएर गरिब तथा विपन्न परिवारको पहिचान गरी त्यही आधारमा टोल विकास संस्थामार्फत विपन्न परिवारलाई बाख्रा वितरण गरिएको नगर उपप्रमुख गोमा आचार्यले जानकारी दिइन् ।

    बुटवलका वडा नं. १३, १६, १७ र १९ का अतिविपन्न समुदायका १९ घर परिवारलाई टोल विकास संस्थामार्फत आयआर्जनमा टेवा पुर्‍याउने र स्वरोजगार गराउने भन्दै बाख्रा वितरण गरिएको कार्यक्रम संयोजक मधुकला कुवँरले बताइन् ।

    विपन्न समुदायलाई आयआर्जनमा जोड्ने, स्वरोजगार र उद्यमी बनाउने उद्देश्यले प्रति परिवार पाँच वटा बाख्रा र त्यसका लागि खोर बनाउन प्रति परिवार १५ हजारका दरले उपलव्ध गराइएको नगर प्रमुख शिवराज सुवेदीले बताए ।

    सुवेदीले कृषिमा आकर्षण बढाउने, कृषिलाई व्यवसायिक बनाउन र साना साना कामबाटै उद्यमी बन्ने बाटो देखाउने उद्देश्यले यसप्रकारका कार्यक्रम गरिएको बताए ।

    उपमहानगरको चालु आवको कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश सरकारको सहकार्यमा साना किसानलाई बाख्रा पालन गर्ने र त्यसलाई व्यवसायिक बनाउन किसानमा हौसला बढाउने योजना थपेको उपमहानगरको भनाइ छ । बुटवल १३ की प्रेमकली गुरुङ, सोही वडाका धनबहादुर गुरुङ, कृष्णबहादुर थापा, धनमाया गुरुङ, कृष्णबहादुर विक, वडा नं. १६ का परशुराम थारु, धनमाया नेपाली, केशमाया जैशीलगायतलाई व्यवसायिक बाख्रा पालनका लागि भन्दै माउ र पाठापाठी वितरण गरिएको हो ।

    लागत साझेदारीमा ५० जना किसानलाई गाई

    तिलोत्तमा नगरपालिकाको वडा नं. १२ का ५० जना किसानले लागत साझेदारीमा एक/एक वटा गाई प्राप्त गरेका छन् । किसानलाई व्यवसायिक पशुपालनमा अग्रसर गराउन तिलोत्तमा नगरपालिकाले ५० प्रतिशत लागत साझेदारीमा किसानलाई गाई खरिद गर्नेगरी अनुदान उपलब्ध गराएको हो ।

    संघीय कार्यक्रमअनुसार नगरपालिकाले लागत साझेदारीमा गाई प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको पशु विकास शाखाले जनाएको छ ।
    किसान समेतको लागत साझेदारीमा कुल ४३ लाख ६० हजारको बजेटमा किसानलाई गाई खरिदमा अनुदानको अतिरिक्त पशुबीमा, आवश्यक औषधि, औजारसमेत उपलब्ध गराइएको पशु विकास शाखाले जनाएको छ । वडा नं. १२ का पाँच वटा पशुपालन समूहमार्फत् किसानले लागत साझेदारीमा गाई खरिद गरेका हुन् ।

    सोमबार किसानलाई औषधि तथा कृषि औजार वितरण गर्दै कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीले अनुदान रकमको सदुपयोग गर्न किसानलाई आग्रह गरिन् । तिलोत्तमा नगरपालिका दुधमा आत्मनिर्भर रहेको र किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले दूधमा प्रतिलिटर एक रुपैंयाँ अनुदानसमेत दिने गरेको बताउँदै उनले नगरपालिकाले उपलब्ध गराएका सेवा/सुविधा लिन किसानलाई आग्रह गरिन् ।

    यस्तै वडाध्यक्ष सहदेव थारुले जनप्रतिनिधिहरु सधै किसानको पक्षमा रहेको चर्चा गर्दै व्यवसायिक पशुपालन गर्न किसानलाई आग्रह गरे । लागत साझेदारीमा गाई प्रवद्र्धन कार्यक्रम सञ्चालन समिति संयोजक कृष्णप्रसाद पौडेलले गाई खरिदका अतिरिक्त औषधि र उपकरणमा किसानलाई प्राप्त सहयोगले किसानलाई कृषि कर्ममा लाग्न अभिप्रेरित गरेको उल्लेख बताए ।

     

  • महामारीमा पल शाहको ‘हिरोगिरी’- हुन् त उनी रियल हिरो ?

    महामारीमा पल शाहको ‘हिरोगिरी’- हुन् त उनी रियल हिरो ?

    काठमाडौं । कोरोनाभाइरस महामारीको बीचमा नायक पल शाह तीन कारणले ट्रेन्डिङमा छन् । पहिलो– उनी अभिनित म्युजिक भिडिओ ‘को होला त्यो’ यूट्युवको शीर्ष स्थानमा छ । दोस्रो– अक्सिजनका सिलिन्डर र खाना बोकेर उनी सुदूर भूगोलहरुमा पुगिरहेका छन् । तेस्रो– उनले हालै एक टेलिभिजन कार्यक्रमबाट रियल हिरोको उपाधि पाएका छन् ।

    दाङका पूर्णविक्रम शाह काठमाडौंको मायानगरीमा आउँदा कसरी पल शाहमा रुपान्तरण भए र मध्यमवर्गीय समाज किन उनलाई ‘आदर्श’ मान्छ भन्ने जान्न यी तीन ‘ट्रेन्डिङ टपिक’ भित्र पस्नुपर्ने हुन्छ । पलले एकैसाथ रिल, रियल र सेलेव्रिटीहुडको भूमिका निर्वाह गरिरहेका छन् ।

    सन् २०१२ मा सुनिल गिरीद्वारा स्वरबद्ध ‘को होला त्यो’ मेल भर्सनको म्युजिक भिडियोमा डेब्यु गरेका पल अहिलेसम्म आइपुग्दा नेपाली मनोरञ्जन ल्यान्डस्केपमा ठूलो परिवर्तनका साक्षी बने । त्यसयता म्युजिक भिडियो बजारमा उनले आफ्नो निकै ठूलो स्पेस बनाएका छन् । २०७३ सालमा रिलिज भएको विकासराज आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नू ल ४’ बाट उनको फिल्मी करिअर सुरु भयो । केही हिट फिल्ममार्फत उनको स्टारडम थप मजबुत बन्दै थियो ।

    ‘म यस्तो गीत गाउँछुको रोमान्टिक चरित्रदेखि जोनी जेन्टलम्यानको लडाकु चरित्रलाई दर्शकले बिर्सेका छैनन् । तर, कोरोनाका कारण फिल्म क्षेत्र सुनसान बनेपछि फेरि उनी म्युजिक भिडियोमा केन्द्रित छन् । उनका धेरै म्युजिक भिडियोहरु ट्रेन्डिङमा आइरहेका छन् । महामारीपछि पनि व्यस्त हुने थोरै सेलिब्रिटीमा पर्छन् पल ।

    ३० वर्षिय पलको करिअरले बल्ल पालुवा हाल्दैछ । नेपाली फिल्ममा मल्टिप्लेक्स कल्चर विकास भएको र म्युजिक भिडिओमा भिडिओ साझेदारी साइट युट्युवको प्रभुत्व विकास सुरु हुने छेकोमा उदाएका हुन् उनी । महामारी सुरु भएयता उनको चर्चा यतिसम्म चुलिएको छ कि सामाजिक सञ्जालमा सर्वाधिक पछ्याइने सेलेव्रिटीमा उनी पर्छन् । पछिल्लो समय फिल्ममा उनको प्रतिस्पर्धा फिल्ममा अनमोल केसी र प्रदीप खड्कासँग थियो । म्युजिक भिडिओमा भने उनको एकछत्र राज छ । एउटा फिल्म खेलेबापत उनी १५ देखि १८ लाख रुपैयाँ लिन्छन् भने एउटा म्युजिक भिडियोमा ‘फिचर्ड’ गरेको डेढ लाखसम्म ।

    १० वर्षअघि तराई टेलिभिजनको भिजुअल एडिटरबाट काठमाडौंमा जागिर सुरु गरेको ठिटोले कलाकारितामा हासिल गरेको सफलता लोभलाग्दो नै छ । यसका अतिरिक्त उनले आफूलाई समाजसेवामा पनि चिनाउन खोजेका छन् । कोरोना महामारीमाले सबै सेलेव्रिटी फुर्सदिलो बनेको बेला पलले ‘हाम्रो टीम नेपाल’ र पल शाह फाउन्डेसनमार्फत समाजसेवामा सक्रियता देखाएका छन् । यही सक्रियतालाई ध्यानमा राख्दै गत सोमबार रजतपट नामक टेलिभिजन कार्यक्रमले उनलाई ‘रियल हिरो’को उपाधि प्रदान ग¥यो ।

    के ‘रियल हिरो’ नै हुन् ?

    कोरोना महामारी सुरु भएपछि धेरै कलाकार घरमै सुतेर बसे । केही ख्यातिप्राप्त कलाकारहरुको निस्क्रियतालाई लिएर प्रश्न पनि उठ्यो । पल भने सुरुदेखि नै राहत वितरणमा जुर्मुराए ।

    कोरोनाको पहिलो लहरको लकडाउनमा रोजगारी गुमाएका फिल्म प्राविधिकलाई उनले ५ लाख बराबरको खाद्य तथा नगद सहयोग प्रदान गरे । दोस्रो लहरमा समेत उनले विपन्न फिल्म प्राविधिकलाई राहत र खाद्यान्न बाँडिरहेका छन् । काठमाडौंसहित तराईका विभिन्न जिल्ला पुगेर राहत लकडाउन र बाढीले थलिएका नागरिकलाई राहत वितरणमा सक्रिय भए ।

    हाम्रो टीम नेपाल र पल शाह फाउन्डेसन नामक सामाजिक संस्थाबाट उनले खाद्यन्नसहित अक्सिजन सिलिन्डर वितरण गरेका छन् । अक्सिजन सिलिन्डर बोकेर उनी केही साताअघि कर्णालीको कालिकोटस्थित रास्कोट सामुदायिक अस्पताल पुगेका थिए ।

    महामारीमा योगदान दिएको भन्दै गत सोमबार रजतपट टीमले उनलाई रियल हिरोको उपाधिले सम्मान गरेको हो । उनी यो उपाधिका लायक हुन् कि होइनन् भन्ने कोणबाट बहस भइरहेको छ । तर, जुन कार्यक्रमले उनलाई उपाधि दिए, त्यो पछिल्लो समय चलचित्रकर्मीका बीच निकै विवादित छ । रजतपट कार्यक्रम र यसका प्रस्तोता चलचित्र क्षेत्रमा अलोकप्रिय बनिरहेका छन् । त्यसले यो उपाधिलाई दर्शकले मात्र नभएर चलचित्रकर्मीले नै महत्व दिएका छैनन् । यद्यपि, चलचित्रकर्मीहरु यसबारे खुलेर भने बोल्दैनन् ।

    स्मरणीय के छ भने यही रजतपटले नै यसअघि राजेश हमाललाई ‘महानायक’ उपाधि दिएको थियो । त्यसबेला यो कार्यक्रम खासै विवादमा थिएन । त्यसैले राजेश हमाल महानायककै रुपमा दर्शकमाझ स्थापित भए । पल शाहलाई उपाधि दिनेबेलासम्म आइपुग्दा भने ‘रजतपट’को साख रसातलमा पुगिसकेको छ ।

    चलचित्रकर्मी के भन्छन् ?

    पललाई ‘रियल हिरो’ मान्ने वा नमान्नेबारे चलचित्रकर्मीको मत विभाजित छ । कतिपयले सेलेव्रिटी हुनुको दायित्व उनले महामारीको कालखण्डमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरेका छन् । कतिपयले अरुबाट उठाएको पैसा बाँडेर अभियन्ता बन्न खोजेको आरोप पनि लगाएका छन् ।

    हालैको एक टेलिभिजन अन्तर्वार्तामा पलसँग कुनैबेला नाम जोडिएकी अभिनेत्री आँचल शर्माले पल रियल हिरो नै भएको बताएकी थिइन् । साथै, उनले राजेश हमालको साटो पल महानायकभन्दा माथि रहेको भन्दै प्रशंसा गरेकी थिइन् । पलले जोखिम उठाएर महामारीमा काम गरेको भन्दै उनले प्रशंसा गुथेकी थिइन् । पललाई रियल हिरोको उपाधि दिने कार्यक्रममा समेत आँचलको उपस्थिती थियो ।

    फिल्म लेखक प्रदीप भारद्धाज अभिनयभन्दा पनि महामारीमा बाहिर निस्किएर समाजसेवामा सक्रिय भएकाले पललाई रियल हिरो भनिएको हुनसक्ने बताउँछन् ।

    ‘आफ्नै बलुबुतामा खटेका हुन् भने उनी रियल हुन् तर, अरु कसैको बलबुतामा सक्रिय भएका हुन् भने उनीमाथि प्रश्न उठाउने ठाउँ हुन्छ’ भारद्धाजले नेपाल प्रेसलाई भने, ‘कतिपयले सेलेव्रिटीले सहयोग गरेर पनि मिडियामा नआएका हुनसक्छन् ।’

    देश दुःखेको बेला मल्हम लगाउने जोसुकै पनि रियल हिरो हुने तर्क गर्दै भारद्धाज महामारीको बेला देखाएको सामाजिक योगदानको कारण उनलाई महामारीपछि पनि करिअरमा फाइदा पुग्ने बताउँछन् ।

    ‘उनको अहिलेको हिरोगिरी महामारीपछि उनको करियरमा लाभदायक हुनेछ’ भारद्धाजको विश्लेषण छ, ‘मान्छेको नजरमा देखिने गरी काम गरेको हुनाले पल हिरो बनेका हुनसक्छन् । उनी एक्टिङभन्दा पनि एक्टिभिज्म कार्यमा हिट भएका हुन् ।’

    पललाई विभिन्न फिल्ममा निर्देशन गरिसकेका निर्देशक सुदर्शन थापा पल रियल हिरोका लागि योग्य भएको दाबी गर्छन् ।

    ‘विरोधका लागि विरोध हुनु राम्रो होइन । तर, जुन इमान्दारितापूर्वक उनले महामारीको समयमा योगदान दिएका छन्, सोहीअनुसार उनी रियल हिरोका लागि योग्य छन्’ थापा भन्छन्, ‘फिल्म खेलेर मात्र भएन, कलाकारले सामाजिक दायित्व निर्वाह गर्न सक्नुपर्छ, जुन दायित्व पलले गरेका छन् । जसले समाजलाई योगदान दिन्छ, उसलाई उपाधि दिइनुलाई अन्यथा लिन मिल्दैन ।’

    समाजसेवामा अझै सक्रिय हुन्छु: पल

    रियल हिरोको उपाधि लिइसकेपछि पलले यसलाई लाइफटाइम अवार्डभन्दा पनि ठूलो सम्मान भएको बताएका छन् । आफू फिल्म करियरसँगै समाजसेवामा पनि उत्तिकै रुपमा सक्रिय हुने उनको प्रतिवद्धता छ ।

    ‘मैले अझै समाजसेवा गर्नुछ । मेरो खुशीको लागि पनि अझै धेरै जनतासँग नजिक हुनुछ । यसकारण यो सम्मान मेरा लागि लाइफटाइम अवार्डभन्दा पनि महत्वपूर्ण कुरा हो,’ उनले भने ।

    समाजसेवा व्यक्तिगत रुचिको कुरा भएकाले कसैले दबाब दिन नमिल्ने र फेसबुकमा फोटो राख्नको लागि समाजसेवा गर्न नहुने तर्क कतिपयको छ । अभिनेता प्रदीप खड्काले चर्चामा आउनैका लागि आफूले समाजसेवा नगर्ने टिप्पणी गत साता फेसबुकमा गरेका थिए । उनको यो टिप्पणीको कतिपयले समर्थन र कतिपयले विरोध गरे ।

    ‘कतिपयले मिडियामा नआएर पनि सहयोग गरेका हुनसक्छन्,’ फिल्म लेखक भारद्धाज भन्छन्, ‘सहयोग गर्ने भन्ने कुुरा नितान्त व्यक्तिगत रुचिको कुरा हो । कसैलाई दबाब दिन मिल्दैन ।’

    पल समाजसेवामा सक्रिय भएपछि उनका प्रतिस्पर्धी मानिने अभिनेताहरु अनमोल केसी र प्रदीप खड्कामाथि पनि पनि मानसिक दवाव परेको छ । महानायक भन्ने गरेका राजेश हमालले पनि महामारीमा कुनै योगदान नदिएको भन्दै विरोध समेत हुने गरेको छ । फिल्म लेखक भारद्धाज सेलेव्रिटी पर्दामा जस्तै सामाजिक रुपमा पनि आदर्शवान बन्नुपर्ने बताउँछन् ।

  • चीनले दिएका २० थान पोर्टेबल भेन्टिलेटरसहितका सामग्री तातोपानीमा हस्तान्तरण

    चीनले दिएका २० थान पोर्टेबल भेन्टिलेटरसहितका सामग्री तातोपानीमा हस्तान्तरण

    काठमाडौं । चीनले महामारीविरुद्ध लड्न नेपाललाई सहयोग गरेका थप स्वास्थ्य सामग्री तातोपानी ल्याएर हस्तान्तरण गरेको छ ।

    चिनियाँ राजदूत होउ यान्छीका अनुसार चिनियाँ विदेश मन्त्रालयमार्फत प्रदान गरिएका २० वटा पोर्टेबल भेन्टिलेटसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

    नेपाल आइपुगेका अन्य सामग्रीमा दश वटा डीआर मेसिन, २० वटा पोर्टेबेल अल्ट्रासाउण्ड र ३० वटा ऐनेस्थेसिया मेसिन छन् । चीनले यसअघि पनि विभिन्न राज्यहरुमार्फत मेडिकल सामग्री सहयोग गरिरहेको छ ।

    चीनले अनुदानमा दिएको १० लाखमध्ये ८ लाख डोज खोप आजै नेपाल ल्याइँदैछ