Tag: सर्जियाे रामाेस

  • पीएसजीको लगातार जित, मेस्सीले डेब्यू गर्न बाँकी

    पीएसजीको लगातार जित, मेस्सीले डेब्यू गर्न बाँकी

    एजेन्सी । गएराति स्टार्सवर्गसँगको जितअघि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन् (पीएसजी)ले लियोनल मेस्सीसहित यो सिजन अनुबन्ध भएका खेलाडीलाई समर्थकसामू सार्वजनिक गरेको छ ।

    मेस्सीले रंगशालामा बसेर पीएसजीको लिग वानमा लगातार दोस्रो जित हेरे । बार्सिलोनाका पूर्व सुपरस्टार मेस्सीसहित यो सिजन सर्जियो रामोस, इटलीका गोलरक्षक जियानलुगी डोनारुम्मा, नेदरल्याण्ड्सका जर्जिन्हो विज्नाल्दम र मोनाकोका अचरफ हाकिमी यो सिजन पीएसजी पुगेका हुन् ।

    यीमध्ये विज्नाल्दम र हाकिमीलाई टिममा राखिएको थियो भने तीनजनाले रंगशालामा बसेर खेल हेरे । गत महिना अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका मेस्सी त्यसयता विदामा थिए । पर्याप्त प्रशिक्षण नभएकै कारण उनले डेब्यू गर्न हतारो नगरेको बताइएको छ ।

    लगातार दोस्रो जित निकाल्ने क्रममा स्टार्सवर्गलाई ४–२ गोलले हराएको पीएसजीका लागि माउरो इकार्डी, केलियन एम्बाप्पे, जुलियन ड्रक्सलर र पाउलो सारावियाले गोल गरेका हुन् । खेलको अन्त्यतिर स्टार्सवर्ग १० खेलाडीमा समेटिएको थियो ।

  • १६ वर्षपछि रियल मड्रिड छाड्दै सर्जियो रामोस

    १६ वर्षपछि रियल मड्रिड छाड्दै सर्जियो रामोस

    एजेन्सी । सर्जियो रामोसले रियल मड्रिड छाड्ने निश्चित भएको छ । क्लबले लामो समयदेखिको कप्तानको विदाई पत्रकार सम्मेलन विहीबार आह्वान गरेको छ ।

    सन् २००५ मा सेभियाबाट अनुबन्धित भएयता ३५ वर्षीय रामोसले रियलमा ५ ला लिगा, ४ च्याम्पियन्स लिग उपाधि जितेका छन् । उनले रियलका लागि ६ सय ७१ खेलमा १ सय १ गोलसमेत गरेका छन् । सेन्टर डिफेण्डरका रुपमा उनी सर्बाधिक गोल गर्ने खेलाडीसमेत हुन् ।

    क्लबले आफ्नो विधानअनुसार सम्मान र विलाईका लागि पत्रकार सम्मेलनको आयोजना गरेको बताएको छ । रामोसको रियलसँगको सम्झौता जुनको अन्तिममा सकिँदैछ ।

    सेभियाबाट करिअर सुरु गर्न थालेका यी स्पेनिस डिफेण्डरलाई फ्लोरेन्टिनो पेरेजले पहिलोपल्ट रियलको अध्यक्षता संहालेपछि कीर्तिमानी रकममा अनुबन्ध गराएका थिए । त्यसपछि उनी आफ्नो समयको महान सेन्टर डिफेण्डर बने । रामोसले सान्टियागो बर्नबाउमा रहेर २२ उपाधि जिते ।

    सन् २०१४ को च्याम्पियन्स लिग फाइनलमा चीर प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडविरुद्ध ९३ औं मिनेटमा गरेको बराबरी गोलका लागि रामोसलाई सबैभन्दा धेरै सम्झिइन्छ । रियलले दशौंपल्ट च्याम्पियन्स लिग जित्ने क्रममा अतिरिक्त समयमा ४–१ को जित पाएको थियो ।

    रियलको प्रस्तावमा सहमत नभएपछि फ्री ट्रान्सफरमार्फत रामोस बाहिरिन लागेका हुन् । उनी कुन क्लबबाट खेल्नेछन् भन्ने नश्चित भएको छैन ।

    रामोसलाई फिटनेसको कारण देखाउँदै लुइस इनरिकेले युरो २०२० का लागि स्पेनिस टिममा राख्न अस्वीकार गरिदिएका थिए । यी डिफेण्डरले स्पेनका लागि पनि १ सय ८० खेल खेलेका छन् र सन् २००८ र २०१२ को युरो तथा सन् २०१० को विश्वकप उपाधि जितेका छन् ।

     

  • युरोका लागि घोषित स्पेनिस टोलीमा कप्तान नै परेनन् !

    युरोका लागि घोषित स्पेनिस टोलीमा कप्तान नै परेनन् !

    एजेन्सी । नियमित कप्तान सर्जियो रामोसलाई टिमबाट बाहिर राख्नै प्रशिक्षक लुइस इनरिकेले आसन्न युरो–२०२० का लागि स्पेनिस राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका छन् ।

    रियल मड्रिडका सेन्टर ब्याक रामोस अहिले चोटसँग जुधिरहेका छन् र यो वर्ष स्पेनिस टोलीका लागि एकमात्र खेल मार्चमा खेलेका छन् ।

    उनको अनुपस्थितिको अर्थ के पनि हो भने बार्सिलोनाका पूर्व प्रशिक्षक इनरिकेले नेतृत्व गरेको स्पेनिस टोलीमा रियल मड्रिडका एकजना पनि खेलाडी समावेश छैनन् ।

    उमेर समूहमा फ्रान्सको राष्ट्रिय टोलीबाट खेलेका म्यानचेस्टर सिटीका डिफेण्डेर एमेरिक लापोर्टे यसपल्ट २४ सदस्यीय स्पेनिस टोलीमा समेटिएका छन् । दुवै देशको नागरिकता रहेका उनले हालै मात्र फिफाबाट अनुमति पाएका थिए ।

    उनी स्पेनिस टोलीमा पुगेका प्रिमियर लिग खेल्ने १० खेलाडीमध्ये एक हुन् । इनरेकेले म्यानचेस्टर सिटीका ४, बार्सिलोनाका ३ खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश गरेका छन् ।

    रामोसले मार्चमा भएको विश्वकप छनोटअन्तर्गतको खेलमा ग्रिसबिरुद्धको बराबरीमा सब्स्टिच्युडका रुपमा मैदान छिरेका थिए भने कोसोभोविरुद्धको जितका क्रममा सुरुआती टोलीमा रहेका थिए ।

    त्यसयता रामोस मे ५ मा चेल्सीसँगको च्याम्पियन्स लिग दोस्रो लेगमा रियलको टोलीबाट मैदानमा उत्रिएका थिए । त्यो उनको यो सिजनमै क्लबका लागि पाँचौं खेल थियो ।

    रामोससँग उनकै सल्लाहमा टिममा नराखिएको प्रशिक्षक इनरिकेले प्रष्ट पारेका छन् । इनरिकेले रामोस निकै नै व्यवसायिक खेलाडी भएको र टिममा उनको अनुभव तथा नेतृत्व अभाव रहनेसमेत बताए ।