Tag: सरस्वती चाैधरी

  • ओलम्पिक एथलेटिक्सको सुरुआती चरणबाटै बाहिरिइन् सरस्वती

    ओलम्पिक एथलेटिक्सको सुरुआती चरणबाटै बाहिरिइन् सरस्वती

    काठमाडाैं । टोकियो ओलम्पिक अन्तर्गत आजबाट सुरु भएको एथलेटिक्सको १ सय मिटर स्पर्धामा नेपाली धाविका सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छन् । योसँगै ओलम्पिकका खेल्ने अवसर पाएका नेपालका पाँचै खेलाडीको खेल सकिएको छ ।

    आज विहान भएको प्रतिस्पर्धामा दोस्रो हिटमा परेकी सरस्वतीले १ सय मिटर दूरी पूरा गर्न १२.९१ सेकेण्ड लगाइन् । ९ खेलाडी सम्मिलित त्यो चरणमा उनी आठौं भइन् । म्याराथनका लागि छनोट गरिएका गोपी चन्द्र पार्कीले अन्तिम समयमा खेल्न नपाएपछि सो स्थानमा सरस्वतीलाई पठाइएको हो ।

    मुस्किलले २ साताको तयारीमा उनी टोकियो उडेकी थिइन् । सायद त्यही कारण उनले आफ्नो लक्ष्यअनुसार राष्ट्रिय कीर्तिमान कायम गर्न सकिनन् ।

    यसअघि शुटिङकी कल्पना परियारले १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । जुडोकी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी थिइन् । पौडीतर्फ १ सय मिटर फ्रिस्टाइलमा गौरिका सिंह र एलेक्स शाह दुवैले आफ्नो कीर्तिमान सुधार गरेका थिए । पाँचै जना खेलाडी पहिलो चरणबाट माथि उक्लन सकेनन् ।

  • सरस्वतीको कप्तानीमा ललितपुर मेयर ११ को टोली घोषणा

    सरस्वतीको कप्तानीमा ललितपुर मेयर ११ को टोली घोषणा

    काठमाडौं । ललितपुर मेयर वुमेन्स च्याम्पियनसिप टी–२० प्रतियोगिताका लागि ललितपुर मेयर ११ को टोली घोषणा भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यानक) को आयोजनामा चैत्र २१ देखि २८ सम्म त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताका लागि ललितपुर मेयर ११ ले सरस्वती चौधरीको कप्तानीमा १४ खेलाडीको नाम सार्वजानिक गरेको हो। सरस्वतीको टोलीमा अनुराधा चौधरी, कविता गौतम, सोभा आले, बिमला मगर, बिन्दु कटवाल, सुमन खतिवडा, कन्चन श्रेष्ठ, आरती बिडारि, अश्मिना कर्माचार्य, केनुका बस्नेत, सृष्टि पौडेल, अलिशा लामिछाने र निशा पराजुली समेटिएका छन् ।

    राउन्ड रोबिन पद्धतिमा हुने प्रतियोगितामा पीएम कपको विजेता प्रदेश नम्बर १, विभागीय टोली नेपाल एपीएफ क्लब, लुम्बिनी र सुदुरपश्चिम प्रदेश र मेयर–११ सहित पाँच टोलीको सहभागिता रहने छ ।

    त्रिवि क्रिकेट मैदानमा हरेक दिन प्रतियोगिताका दुई खेल हुने र समूह चरणका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार रुपैँयाँ प्राप्त गर्ने क्यानले बताएको छ ।

    त्यस्तै, प्लेयर अफ दी सिरिजले २५ हजार र विधागत–ब्याटिङ र बलिङतर्फ उत्कृष्ट खेलाडीले १५/१५ हजार पाउने छन् । हरेक खेलको प्लेयर अफ दी म्यचले ३ हजार र प्रत्यक खेलाडीले म्याच फि बापत १ हजार रुपैयाँ प्राप्त गर्ने क्यानले जानकारी दिएको छ ।